चिनियाँ नजरमा नेपाल

नेपाली ज्वाइँ खोज्ने यी चिनियाँ पर्यटक


Infocus



वाङ चिङयुन
वाङ चिङयुन

‘सानो भएपनि मेरो मनमा नेपालको ठूलो चित्र सजिएको छ। फेरि पनि समय मिलाएर नेपाल जान्छु। अब जाँदा चाहिं छोरीलाई पनि लिएर जानुपर्ला, कतै नेपाली ज्वाइँ पो भेटिहालिन्छ कि!’

NIC ASIA

तीनताका घनीभूत भैसकेको सम्बन्ध पातलिन थालेको महसुस भएपछि मैले नै उनलाई मेरो अपार्टमेन्टमा आउन कर् कर् गरिरहेको थिएँ। दुईटा भोगटे बोकेर मेरो उनले मेरो कोठाको ढोका ढक्ढक्याउँदाको त्यो दिन बेइजिङ लगभग सुनशानप्रायः थियो।

राष्ट्रिय दिवसको ७ दिन लामो विदाका कारण पर्यटकीय स्थलहरूमा मानव सागर उर्लिएको थियो तर कार्यालय, विद्यालय लगायत बन्द भएकाले तुलानात्मक रूपमा वरपरका सडकमा मानिसहरूको घुइँचो थिएन। बाह्य प्रान्तबाट बेइजिङ आएकाहरू लामो विदा मनाउन जन्मथलो फर्किएका हुन्थे भने बेइजिङका धनाढ्यहरू विदेशतिर घुमघामका लागि। झण्डै ७० लाख चिनियाँले विदेश घुम्ने त प्रारम्भिक अनुमान नै थियो। यातायातको रफ्तार कम भएकाले हामीलाई दशैंको काठमाडौं जत्तिकै बेइजिङ पनि उराठलाग्दो भैरहेको थियो।

कार्यव्यस्तता थान्को लगाएर चिनियाँहरू अन्य मुलुकका लागि पर्यटनको श्रोत बन्ने सिजन थियो। यस्तै एकजना पर्यटक थिइन्, बेइजिङकी ५० वर्षीया अधवैंशे वाङ चिङयुन। १० हजार चिनियाँ आरएमबी अर्थात् नेपाली डेढ लाख रूपैयाँ जति खर्चिनका लागि जो ४ वर्षअघि नेपाल उत्रिएकी थिइन्। सन् २०१४ को मार्चमा, अर्थात् विनाशकारी भूकम्पको अघिल्लो वर्ष उनले नेपालमा ९ दिन बिताएकी थिइन्। उनले मनमा सँगालेका पर्यटकीय सम्पदाहरू थिए, काठमाडौं, भक्तपुर र पाटनको दरबार स्क्वायर, स्वयंभू अर्थात् चिनियाँहरूको भाषामा ‘हौ म्याओ’ (बाँदरको मन्दिर), पोखरा र चितवन। उनले अरू ठाउँका नाम पनि चिनियाँमा भनिन् तर मैले खुट्याउन सकिनँ। शायद त्यति प्रचलित ठाउँ थिएनन् कि? चिनियाँ भाषामा ‘पो खा ला’ भनेपछि पोखरा, ‘छि था वाङ’ भनेपछि चितवन भन्ने त सजिलै थाहा पाइहालियो।

सन् २०१५ मा एकजना नेपाली गाइड आतु बेइजिङ उत्रिएका थिए। उनीसँगै पहिलोपटक भेटिएकी थिइन् श्रीमती वाङ। गाइडलाई लिनका लागि विमानस्थलसम्म पुगेकी। आतु उनका लागि गाइड भएपनि हाम्रा लागि एक नेपाली साथी थिए। नेपाल घुम्दाताका आतुको सहृदयी व्यवहार उनको हृदयबाट उत्रिसकेको रहेनछ। त्यसो त अधिकांश चिनियाँहरू ‘मनी माइण्डेड’ हुन्छन्, चाहिञ्जेल साथी नत्र कोही न कोही। धेरै नेपालीले बुझेको चिनियाँ आकृति यस्तैखाले हो।

श्रीमती वाङ पहिलो पटक नेपाल गएकी थिइन्। एक्लै किन गएको त भन्ने जिज्ञासामा उनले छरितोसँग जिब्रो फुत्काइन्, ‘श्रीमानसँग पैसा थिएन। छोरीको छुट्टी थिएन। तैपनि हामी साथी साथी मिलेर गएका थियौं नि।’

उनको यो भनाइ रोचक लाग्यो। चिनियाँ आनीबानीको एउटा प्रतिध्वनि पनि आयो त्यसमा। महिला पुरूष जोसुकै होस्, आफैं कमाउने, कमाउनेले आफैं मस्ती गर्ने।

कति आत्मवादी!

नेपाली भए त श्रीमान, श्रीमती वा छोराछोरी इत्यादिका लागि भाग पुर्याएरै घुम्न गइन्थ्यो होला तर उनले सजिलै भनिन्, ‘ऊ (श्रीमान्) सँग पैसा थिएन, त्यसैले गएन।’

छोरी केन्द्रीय टेलिभिजन (सीसीटिभी) को बालबालिका च्यानलमा कार्यरत छिन्। अघिल्ला भेटमा नै उनले छोरीको बारेमा बताएकी थिइन् तर सामाजिक सञ्जाल वीच्याटका फोटो देखाएर मात्रै। अहिलेसम्म पनि प्रत्यक्ष भेटाउने अवसर नमिलेकोप्रति मैले पनि व्यंग्य गरिदिएँ, ‘छोरीलाई अहिलेसम्म भेटाउने संयोग जुरेन। ल अब मैले विहे गरिहालें, परेन फसाद?’

अघिल्तिर नेपाली चिया हातमा टक्रयाउन लागेकी मेरी श्रीमतीतर्फ पुलुक्क नजर लगाइन् वाङले, र बेपर्बाह हाँसिन्। अनि मुख खुम्च्याएर भनिन्, ‘त्यही त भन्या। बर्बादै भयो नि। एउटा विदेशी ज्वाइँ बनाउने रहर पनि यत्तिकै भयो।’

अघिल्लै भेटमा उनले नेपाल घुम्दाका फोटोहरू देखाउँदै भनेकी थिइन्, ‘अहो, नेपाली बच्चाहरूका क्या ठूल्ठूला आँखा हुन्छन्, मेरो छोरीले तिमीसँग विहे गरे त बच्चाका आँखा पनि त्यस्तै ठूल्ठूला हुन्छन् होला, नाक पनि चुच्चो चुच्चो हुन्छ होला है।’

यसपाली भने यो हँस्सीमज्जाक मात्रै रह्यो। वास्तवमा आफ्नै समाजको केटी ठीक हुने मेरो भनाइमा उनको समर्थन नै रह्यो। त्यसैले उनकी छोरीले पनि चिनियाँ केटा नै खोज्ने मेरो भनाइमा आश्वस्त भइन्, ‘तर खै, अहिलेसम्म लभ परेको छैन छोरीको। चिन्ताले मर्न लागें।’

उनको यो निराशा भावलाई मोड्दै मैले नेपाल भ्रमणका किस्सा केलाउन प्रस्ताव राखें। त्यसपछि उनी सम्झिन थालिन् नेपाल घुम्दाका क्षणहरू। उनले मोबाइलमा भएका फोटोहरू एकपछि अर्को सार्दै गइन्। यति लामो समय बितिसक्दा पनि उनलाई मन परेका केही फोटाहरू मेटाइएका रहेनछन्। कति चाहिं वीच्याट मोमेन्टबाट पनि देखाइन्।

बाटोघाटोमा बच्चा बुइ लगाएको, बुढा मान्छेहरू गल्लीचोकमा विश्राम गरिरहेको, बिहानै उठेर मन्दिरमा जानु, घण्टहरू बज्दा संगीतमय वातावरण बन्नु, मन्दिर वरिपरि पशुपंछी र मान्छेहरू झुम्मिनु, आमाले बच्चा खेलाउनु, मान्छेहरू सडक किनारामा किनमेल गर्नु, एकअर्कासँग मैत्रीभावका साथ गफिनु, गन्दर्भले सारंगी रेट्नु, बुढी आमै, मुस्लिम महिला तथा स्कुले केटाकेटीहरू, मानिसहरूले हात जोडेर नमस्कार गर्नु इत्यादि। सबै फोटोको विश्लेषण गर्दै उनले जनजीवनको जीवन्ततासँग तुलना गरिन्।

उनले मानवीयता मात्रै नभएर विशेषगरी धार्मिक आस्थाका संरचनाहरू अर्थात् मठ मन्दिरमा कलात्मकता र प्राचीनता भरिएको व्याख्या गरिन्। उनको मनमा गढेको राजधानीका तीन दरबार स्क्वायर मुख्य थिए। मानिसहरूबीच आत्मीयताको न्यानोपन बाँडिएको फोटो हेर्दाहेर्दै उनले जोगीको फोटो देखाइन्। भनिन्, ‘फोटो खिच्न दिएन नि जोगीले। परैबाटै लेन्सले तानेर, लुकेर पो खिचेको त, पैसा माग्छ नत्र।’

नेपालको पर्यटन क्षेत्रमा उनले मन नपरेको कुरा धेरै खोतल्न चाहिनन्। चिनियाँले नेपाल गएपछि मानवीयता देख्छ। सक्रिय वा फूर्सदिलो जनजीवन शैली देख्छ। धार्मिकस्थलमा विश्वास र समर्पण देख्छ। नमस्कार पनि गर्न सिक्छ। उनले हात जोडेर नमस्कार गरेर देखाइन्। नेपालमा गएर सिकेको एउटै शब्द रे।

नेपाल तुलानात्मक रूपमा पिछडिएको मुलुक भएकाले यहाँको पर्यटकीय स्तर पनि कमजोर छ। बाटोहरू साह्रै साँघुरा छन्। झण्डै २०० किलोमिटर दूरी कटाउन गाडीले सारा दिन नै बिताएको याद रहेछ।

‘विकासमा पछि परेको जस्तो भएपनि नेपाल साँच्चै मनमोहक छ है। चितवनमा हात्ती चढेकी थिएँ’, उनले झट्पट् भनिन्, ‘अँ हात्तीमाथि बसेको बेला अँचेटिएर झण्डै मरेकी थिइनँ, हा हा हा।’

स्मृतिको दुनियाँमा चक्कर लगाउँदै गर्दा उनी त्रिभुवन विमानस्थलमा अवतरण गर्दाको क्षणमा पुगिन्, ‘त्यति नै बेला विमानस्थलमा थुप्रै मान्छे थिए। शायद केही कारणले विमानस्थल बन्द थियो। मान्छेहरू खचाखच थिए, बस्ने ठाउँ थिएन। मान्छेहरू भुइँमा पनि बसेका, उनीहरूलाई नाघ्दै हिँड्नुपर्ने। विमानस्थलको एक छेउबाट विमान धावनमार्ग छोडेर बाहिरिएको थियो, मान्छेहरू सकीनसकी त्यही तानिरहेका। अनि त्यतिबेलै मैले चाल पाएँ, नेपाल साँच्चिकै पिछडिएको रहेछ। उपकरण थिएन कि? नत्र त मान्छेहरूले त्यत्रो जहाजै धकेल्ने रहर नगर्नुपर्ने।’

तर पनि उनको मनबाट नेपालप्रतिको मोह अझै घटेको रहेनछ। नेपाल कत्रो नै त होला? उनले पाण्डाको राजधानी भनिने चीनको एउटा प्रान्त सछ्वान जत्रै होला भन्ने ठहर गरिन्। तर सछ्वान प्रान्तको क्षेत्रफल १ लाख ८७ हजार वर्ग किलोमिटर छ।

अनि श्रीमती वाङले थपिन, ‘सानो भएपनि मेरो मनमा नेपालको ठूलो चित्र सजिएको छ। फेरि पनि समय मिलाएर नेपाल जान्छु। अब जाँदा चाहिं छोरीलाई पनि लिएर जानुपर्ला, कतै नेपाली ज्वाइँ पो भेटिहालिन्छ कि!’

लामो हाँसो।

प्रकाशित २० असोज २०७५, शनिबार | 2018-10-06 15:21:09
Max TV
Max TV
Zen Travels

author photo

लक्ष्मी लम्साल चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा, बेइजिङमा विदेशी विशेषज्ञका रूपमा कार्यरत छन्

@shree3laxmi


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • ज्ञानेन्द्र शाह

    श्रीपेच सार्वजनिक भएकै भोलिपल्ट पूर्वराजाले किन गरे गणतन्त्रमाथि प्रहार?

    ज्ञानेन्द्र शाह श्रीपेच र राजदण्डजस्ता राजतन्त्रका प्रतीकलाई सार्वजनिक अवलोकनको वस्तु बनाउन चाहँदैनथे। राजतन्त्रको प्रतिक श्रीपेचजस्तो महत्वपूर्ण...

  • करण चौधरी र विद्यात्री पोखरेल

    यी मारवाडी युवा उद्यमी, जो दशैंको टीका थाप्न पहिलो पटक ससुराली जाँदैछन्

    नाताले विनोद चौधरीका भतिज करण चौधरी चौधरी समूहको निर्देशकको रुपमा व्यवसायलाई नयाँ उचाई दिन तल्लिन छन्। अरु बेला सधैँ काममा व्यस्त रहने उनी यो...

  • झुप्प झुप्प निद्राः 'नार्कोलेप्सी' पो भयो कि?

    अधिकांश मानिसहरुलाई निद्रा निकै प्यारो लाग्छ। खासगरी बिदाका दिन बिहान अबेरसम्म निदाउन सबैलाई मन पर्छ।

  • मैत्रीपाला सिरिसेना

    रअले मेरो हत्या गर्ने षडयन्त्र रचिरहेको छ: श्रीलंकाली राष्ट्रपति

    श्रीलंकाका प्रधानमन्त्री रनिल बिक्रमासिंघेको भारत भ्रमण अघि राष्ट्रपति मैत्रीपाला सिरिसेनाले भारतीय गुप्तचर एजेन्सी रिसर्च एन्ड एनालाइसिस विङ ‘रअ’...