पुस्तक-संवाद

नसुल्झिएको विषयमा किताब लेख्ने जोखिम उठाएँः बसन्त बस्नेत


Infocus



बसन्त बस्नेत
बसन्त बस्नेत
तस्बिरः प्रविन कोइराला
NIC ASIA

बसन्त बस्नेत पछिल्लो पुस्ताका क्रियाशील पत्रकार हुन्। हाल नेपाल साप्ताहिकको सम्पादकीय नेतृत्व गरिरहेका बस्नेतको अर्को साता ‘७२ को विस्मय’ ननफिक्सन पुस्तक सार्वजनिक हुँदैछ। उनको यो पहिलो पुस्तक हो। बस्नेतसँग उनको पत्रकारिता यात्रा र पुस्तकाबारे नेपालखबरका शैलज पौडेलले गरेको पुस्तक वार्ताः

पत्रकारिता क्षेत्रप्रति कसरी आकर्षित हुनुभो?
साथीहरुसँग मिलेर ‘प्रभात’ भित्तेपत्रिका चलाउँथ्यौं। पाँचथरको रविमा स्कुल पढ्दा स्थानीय ‘रवि’, ‘पाँचथर सन्देश’ जस्ता साप्ताहिकमा लेख लेख्ने गर्दथें। बिस्तारै लेख्ने रस बस्दै गयो।

मूलधारको पत्रकारितामा कसरी जोडिनु भयो?
मास्टर्स पढ्न काठमाडौँ आएपछि ‘नागरिक’, ‘नयाँपत्रिका’ आदिमा लेख छापिन्थे। नारायण वाग्ले नागरिकमा प्रधान सम्पादक हुनुहुन्थ्यो। उहाँले मलाई कफी पिउन सहायक सम्पादक गोविन्द अधिकारीमार्फत खबर पठाउनु भयो। मैले कक्षाको साथी उज्ज्वल प्रसाईलाई सुनाएपछि उनले बधाई दिए। उनले सुनेका रहेछन्, वाग्लेले जसलाई कफी पिउन बोलाउँछन्, उसले जागिर पाउँछ। नभन्दै भोलिपल्ट वाग्लेले ‘सँगै काम गरौं’ भन्नुभयो। पद, पैसा त्यसबेलाको अवस्था अनुसार राम्रै तोक्नुभयो। यसरी ख्याल ख्यालमा मूलधारको पत्रकार भइयो।

पछिल्लो समय तपाईंले उपन्यास लेखिरहेको चर्चा थियो। एकाएक ‘ननफिक्सन’ पो आयो त?
हो, मैले आफ्नो पहिलो पुस्तकको रुपमा उपन्यासको तयारी गरेको थिएँ। नजिकका केही साथीलाई सेयर गरेको थिएँ। ३५ हजार शब्द लेखिसकिएको छ। कुनै दिन टुंगिएला।

बीचैमा उपन्यास छाडेर राजनीतिक पुस्तक र त्यसमा पनि मधेसको विषयमा किन हात हाल्नु भो?
कान्तिपुर दैनिकमा त्यसबेला म ‘लङफर्म’ रिपोर्टिङ गर्थें। बिट रिपोर्टिङ गर्ने इच्छा थियो। प्रधान सम्पादक सुधीर शर्माले मधेस मामिलामा रिपोर्टिङ गर्न भन्नुभयो। मैले मधेस बिट पाउँदा कतिपय शुभेच्छुक सहकर्मीले ‘तिमीलाई जिम्मेवारी घटाइएको हो?’ भनी सोधेका थिए। मैले त्यसको जवाफ दिइनँ, किनकि यो बिटको संवेदनशीलता मलाई पहिल्यै थाहा थियो। त्यतिबेलासम्म मधेस केन्द्रीय राजनीतिमा आइसके पनि उपेक्षाकै विषय थियो। सम्पादकले मलाई ‘मधेस नेपालको राजनीतिमा कम्तिमा १० वर्ष निर्णायक हुन्छ’ भन्दै जिम्मेवारीपूर्वक काम गर्न प्रेरित गर्नुभयो। केही समय बितेपछि संविधान निर्माण प्रक्रिया सीमांकनलगायत संघीयतासम्बन्धी मुद्दाले गिजोलिने देखिएपछि उहाँले नै ‘पुस्तक पनि लेख्ने तयारी गर्दा राम्रो’ भनी हौस्याउनुभयो। मैले पहिला पनि मधेसको बारेमा अध्ययन गर्ने गरेको थिएँ। त्यो जिम्मेवारीपछि थप अध्ययन गरेँ, लाइब्रेरी पुगें। फिल्ड भिजिट धेरैपल्ट गरें। अग्रजहरुबाट पनि मधेसका बारेमा जानकारी लिएँ र लेखनलाई अगाडि बढाएँ। पत्रिकामा पाएको मधेस बिट हेर्ने जिम्माले नै मलाई पुस्तक लेख्ने स्थानमा पु¥यायो।

पछिल्लो समय सबैको केन्द्र फिक्सन बन्दै गइरहेको छ। यसलाई कसरी हेर्नुभएको छ?
यो राम्रो कुरा हो। फिक्सनमा आउने भनेको पनि समाज र मानिसको जीवन हो र ननफिक्सनमा आउने पनि समाज नै हो। यी दुईमा जे भनेर लेखे पनि लेख्ने समाज नै हो। त्यसैले यो, ऊ विधा भनेर अतिरञ्जित गर्न आवश्यक छैन।

मधेस केन्द्रित दलका नेताले मधेस आन्दोलनलाई सत्तामा पुग्ने भर्‍याङ मात्रै बनाए भन्ने आरोप छ नि?
मधेसका उत्पीडित वर्गका जनताको मुद्दा शीर्ष नेताहरुको अवसरवाद र पदलोलुपताको शिकार भएकै हो। यो भनेर काठमाडौँ संस्थापनको गल्ती माफ भने हुँदैन। मधेसका उत्पीडित वर्गको मुद्दा यथोचित सम्बोधन गर्ने दायित्व केन्द्रीय सत्ताको नै थियो, हो। कतिपय भावनात्मक प्रश्नहरु पनि छन्, जसको निदान हुन निश्चित समय लाग्ला।

‘७२ को विस्मय’ पुस्तकमा के कस्ता विषयहरु समावेश छन्?
पुस्तकको केन्द्रमा उत्तर संक्रमणकालीन राजनीतिक विषयवस्तु र मधेस आन्दोलन भएतापनि यसमा मधेसको मात्रै विषयबस्तु समावेश गरिएको छैन। २००७ सालको प्रजातन्त्रपछि नेपाली लोकतन्त्रको विस्तार प्रक्रिया, अनि नेपालमा पहिचानको राजनीतिमा भएको उठान र बैठानबारेमा पुस्तक केन्द्रित छ। ठूला र निर्णायक घटना ७२ सालमा भएकाले ‘७२ को विस्मय’ नाम राखियो।

काठमाडौंमा चर्चा गरिएको मधेस र देखेको, भोगेको मधेसमा के भिन्नता पाउनुभयो?
भिन्नता छ। मधेसीहरु आत्मसम्मान र बराबरीको हकको खोजीमा लडेका थिए। नागरिकताको समस्या छ। भाषा, रंगको विभेद चर्को मात्रामा रहेको देखिन्छ। मधेसवादी दलहरुले एक मधेस एक प्रदेशको नारालाई उचाले पनि त्यसपछि उत्पीडनको अन्त्य कसरी हुन्छ भन्ने जवाफ दिन सकेनन्। भारतीय भूराजनीतिक महत्वाकांक्षालाई समयमै बुझ्न नसक्दा त्यसको मूल्य सिंगो देश र उनीहरु स्वयंले पनि चुकाउनु पर्यो। त्यसैले स्थानीय आक्रोश उनीहरुप्रति पनि देखिन्छ। मधेसवादी दलहरुले ‘नन इस्यु’ लाई उछाले, मुख्य इस्यु पन्छाए। कांग्रेस, एमाले–माओवादी (हालको नेकपा) जस्ता मूलधारका दल मधेसमा मत लिन मात्रै गए, उनीहरुका मुद्दा सम्बोधनमा नकरात्मक देखिए भन्ने बुझाइ पनि देखिन्छ।

एउटा पहाडिया पत्रकारको आँखाबाट मधेस कस्तो देखिँदो रहेछ?
मैले साहित्य पढ्ने बेलामा र साथीभाइसँगको सँगत देखिनै पहाडी र मधेसी भन्ने धेरै धारणाको अन्त्य गरिसकेको थिएँ। पुस्तक लेखनको तयारीका क्रममा पटक पटक मधेसका गाउँसहरहरुमा गइयो। त्यसले पनि वास्तविकताको नजिक पुर्यायो। पहाडीले बुझेको मधेस, मधेसले बुझेको पहाड, बाहिरियाले बुझेको काठमाडौँ र काठमाडौँले बुझेको बाहिरियालाई एउटै चस्माले हेर्नुहुन्न। अहिले नेपाली राजनीतिमा मधेसका मुद्दा आधाजति स्थापित भइसकेका छन्। मधेस आन्दोलनकै कारण स्थापित समानुपातिक प्रतिनिधित्व र जनसंख्याका आधारमा निर्वाचनको क्षेत्र निर्धारणको उपयोग त पहाडिले पनि गरेका छन्।

पहाडिया भएका कारण मधेसमा रिपोर्टिङ गर्दा केही समस्या भयो कि?
एक खालको अविश्वासजस्तो देखिन्थ्यो। मधेसको विषयलाई तोडमोड गरेर लेख्ला कि भन्ने शंका गर्थे। तर विस्तारै मैले आफ्नो कुरा बुझाउन सकें भन्ने लाग्छ।

मधेसको विषयमा दुई अतिवादी कोणवाट लेखिने गरिएको छ भन्ने चर्चा सुनिन्छ। तपाईंको पुस्तकले मधेसको बारेमा कस्तो धारणा राखेको छ?
म पत्रकार भएका कारण सूचनाको पक्षलाई मुख्य जोड दिएको छु। म एक्टिभिस्ट होइन। मेरो काम सूचना प्रवाह गर्ने र घटना प्रवृत्तिको वस्तुनिष्ठ विश्लेषण गर्ने नै हुन्छ। स्थानीय जनताका समस्या भारीका भारी थिए। हाम्रो भूराजनीतिक संवेदनशीलतालाई नजरअन्दाज गर्नुहुँदैन भन्ने हेक्का पनि थियो। अझ पछि त नाकाबन्दीको बेला पनि थियो। टीकापुर घटना भइसकेको थियो। सामाजिक एकता र सामान्जस्यको खोजी गर्नुपर्ने बेला थियो। मैले झण्डै २५/२६ महिनाको समय र कामको चापमा हुँदाहुँदै यो पुस्तक लेखेको हुँ। साथीहरुले यी सबै घटना भर्खरै भइरहेका हुनाले यसबारे तत्काल पुस्तक लेख्दा जोखिम बढी हुनेतर्फ पनि सुझाब दिएका थिए। मैले यो बुझीबुझी सल्टिइनसकेको विषयमा जोखिम नै मोलेर यो पुस्तक तयार पारेको हुँ। त्यसैले पुस्तकमा मैले आफूलाई इमान्दार रुपमा प्रस्तुत गरेको छु। सबैले, सबैलाई, सबैथोक गाली गरिसकेको अवस्थामा यसले के कस्तो प्रतिक्रिया बेहोर्ला, हेर्दै जाउँ।

प्रकाशित १६ भदौ २०७५, शनिबार | 2018-09-01 14:08:19
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • नवीन न्यौपाने

    सफल खेलाडीको काँधमा टोली च्याम्पियन बनाउने जिम्मा

    ‘मणि दाईहरुको पुस्तालाई मनाङको पहिलो स्वर्णिम पुस्ता भनिन्छ’ मणि शाहको बर्हिगमनसँगै टोलीमा भित्रिएका नवीनले सम्झिए, ‘त्यसपछि मनाङलाई उचाईमा...

  • भुटानका नेपाली भाषी सांसद

    भुटानमा सांसद बने नौ जना नेपाली भाषी, मन्त्री पनि बन्लान?

    नेपाली भाषी सांसदको यो संख्या डिएनटीका ३० जना सांसदको करिब एक तिहाइ हो भने प्रत्यक्ष निर्वाचित ४७ जना सांसद संख्याको करिब २० प्रतिशत।

  • ग्रेटवाल

    बेइजिङको ग्रेटवालका भित्तामा भेटियो नेपाली गौरव– रञ्जना लिपि

    ग्रेटवालको भित्तामा कोरिएको नेपाल भाषा अर्थात् रञ्जना लिपि नेपाली मात्रैले गर्व गर्न पाउने ऐतिहासिक अवसर हो। इतिहासले कोरेको यो सुनौलो अवसरबाट...

  • नोबेल पुरस्कारमा 'उपनिवेश' अन्त्यका सर्तहरु

    यस वर्षको भौतिकशास्त्र र रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दुई महिलाले पाउँदा विज्ञान समाजका धेरैले खुशीयाली मनाए।