कांग्रेसले समीक्षा गरेन भने नाकाबन्दीको अवस्था फेरि आउन सक्छः गगन थापा


Infocus



हामी सधैं पार्टीको छलफलमा भन्छौं– विपीले भनेको बाटो छोड्दा नेपाली कांग्रेस अप्ठ्यारोमा पर्यो। म भन्छु– विपीले भन्नु भएको बाटो चाहिँ के हो?

NIC ASIA

मजस्तै कांग्रेसको चार तारे झण्डा बोकेर दशकौं बिताएका र कांग्रेसमै जीवन व्यतित गर्न चाहनेहरूका लागि दुर्गा सुवेदीको पुस्तक ‘विमान विद्रोहः एउटा राजनीतिक अपहरणको बयान’ ले विशेष महत्व राख्छ।

पुस्तकमा अल्पज्ञात अध्यायको चर्चा गरिएको छ, जसमा १९६८ डिसेम्बरदेखि १९७६ डिसेम्बर सम्मको ८ बर्षको अध्याय समेटिएको छ। यो कालखण्डबारे बाहिर त्यति धेरै चर्चा भएको छैन। तर यही विषयले कांग्रेसको इतिहासमा विशेष महत्व राख्छ। यो विषय पुस्तकले समेटेको छ।

पुस्तकमा त्यसबेला विपी–गिरिजा कोइरालाको पछि हिंड्ने युवाहरुको वर्गीय आधार तथा राजनीतिक चेतना के थियो, जसले ती युवालाई शसस्त्र युद्धमा होमिन प्रेरित गर्‍यो भन्ने प्रश्न गरिएको छ। दुर्गा सुवेदी विपी कोइरालाको अगाडि उभिएर प्रश्न गर्छन्– राम–लक्ष्मण मारिए, तर तपाईंका परिवारका छोरा–छोरीहरुले कसरी राम्रा विश्वविद्यालयमा पढ्न पाएका छन्?

तर, मैले आफ्नो नेतासँग कहिल्यै त्यस्तो प्रश्न गरिनँ।

म सम्झन्छु, त्रिचन्द्र कलेज पढ्दै गर्दा ‘राजधानी’ पत्रिका भर्खर निस्कन थालेको थियो। मैले डा बाबुराम भट्टराईलाई खुला पत्रमा प्रश्न गरेको थिएँ– तपार्इंकी छोरीले कसरी पढ्न पाएकी छन्?

राम–लक्ष्मण ओखलढुंगा काण्डमा सहीद भएका थिए। दुर्गा सुवेदीले राम–लक्ष्मणजस्ता युवा सशस्त्र संघर्षमा संलग्न हुन कसरी ओखलढुङ्गा पुगे भनेर सोधेका छन्। उनीहरु आफ्नै जिद्दीका कारण आखलढुङ्गा पुगेको प्रतिक्रिया विपीबाट आउँछ। खासगरी लक्ष्मणले जिद्दी गरेको भन्ने भनाई छ विपीको।

यसमा दुर्गा सुवेदीको आफ्नै विश्लेषण छ। राम–लक्ष्मण जेलबाट छुट्नेमा निश्चिन्त थिए। तर विमान अपहरण भएपछि सत्ता अझ कठोर बन्यो। जेलबाट छुट्नेमा द्विविधा बढेपछि उनीहरु जेलबाट भागे र बनारस पुगे। बनारस पुगेका उनीहरुलाई प्रश्न गरियो– सत्तासँग मिलेर त यहाँ आइपुगेका होइनौ? कतै तिमीहरु दरवारिया जासुस त होइनौ?

उनीहरु जेलबाट भागेर नै गएका हौँ भनेर प्रमाणित गर्न चाहन्थे। त्यो प्रमाणित गर्ने होडले उनीहरु ओखलढुङ्गा गए र शहीद भए। यही कुरा सुवेदीको पुस्तकमा विश्लेषण गरिएको छ।

गिरिजाप्रसाद कोइरालाले एक दिन अनायासै नरहरि आचार्य र गगन थापा दरबारिया हुन भनेको म यहाँ सम्झन्छु। त्यसपछि मैले सार्वजनिकस्थलमै हामी दरबारिया कसरी हौँ भनेर चुनौति दिएको थिएँ। गिरिजाले पत्रपत्रिकाको कुरा मान्ने कि मैले भनेको मान्ने भनेर सोधेपछि मैले गिरिजाबाबुको कुरा मान्छु भनेको थिएँ।

सायद, यस्तै परिस्थितिले राम–लक्ष्मणलाई ओखलढुङ्गा डोर्‍याएको थियो होला।

छोरा प्रशान्त र श्रीमान दुर्गा सुवेदीसँग सुशीला कार्की

छोरा प्रशान्त र श्रीमान दुर्गा सुवेदीसँग सुशीला कार्की

म पनि दुर्गा सुवेदीजस्तो बन्न चाहन्थें। तर दुर्गा सुवेदीजस्तो बन्न सजिलो छैन। दुर्गा सुवेदी भूतपूर्व प्रधानमन्त्री, मन्त्री, सांसद बन्नु भएन। तर दुर्गा सुवेदीले आर्जन गरेको जस्तो सम्पत्ति, पूँजी आर्जन गर्न कठिन छ। त्यसैले दुर्गा सुवेदीका विभिन्न कालखण्डका भोगाइहरु आजका पुस्ताका कांग्रेसका लागि उपयोगी हुनसक्छन्।

यो कालखण्डमा भनिएका–लेखिएका विषयहरु फरक छन्। विभिन्न नेताहरुले फरक फरक प्रसंगमा व्यक्तिगत भोगाइहरु लेखेका छन्। तर सिंगो पार्टीको दृष्टान्त कहाँ छ? यस विषयमा प्रताप पौडेल, शंकर तिवारी, डिल्लीराम सुवेदी र कृष्ण रिजाल लगायत मिलेर हामीले पार्टीका विभिन्न दस्तावेज मिलाएर सिङ्गो पुस्तक संग्रह तयार पार्‍यौँ– नेपाली कांग्रेसको ऐतिहासिक दस्तावेज।

त्यसबेलापनि विभिन्न समयमा हाम्रा नेताहरुको सोच–दृष्टान्त फरक थिए। पार्टीभित्र फरक फरक हेडक्वार्टर भएको अवस्था थियो। सुवर्ण शमशेर पार्टीको सभापति, विपी पार्टीको नेता हुनुहुन्थ्यो। किशुनजी काठमाडौँमा बस्नु भएको थियो। कसैको विचार राजा सहितको प्रजातन्त्र थियो भने कसैको सरकारविरुद्ध युद्ध गर्नपर्छ भन्ने थियो।

कांग्रेससम्बन्धमा कैयौं पुस्तक निस्केका छन्। तर दुर्गा सुवेदीको यो पुस्तकले अन्य पुस्तकहरुले भन्दा थुप्रै महत्वपूर्ण प्रश्नहरु उठाएको छ। कांग्रेसलाई घोचेर प्रश्न गरिएको छ तर यी प्रश्नहरू गरिनै पर्ने थियो।

आजको पुस्ताका कांग्रेस युवाले यो पुस्तक पढिसकेपछि बुझ्नुपर्ने, सोच्नु पर्ने र एक पटक घोत्लिनुपर्ने प्रश्न भनेको नेपाली कांग्रेसको इतिहासको आलोचनात्मक चेतनाको कठोर समीक्षा गर्ने हो कि होइन? हामी आफैले आफ्नो समीक्षा गर्न तयार हुने हो कि होइन?

हामीले सार्वजनिक कार्यक्रमहरुमा भन्दै आयौं– २०१५ सालमा हाम्रो सरकार बन्यो, राजाले कु गरे। २०४७ मा यस्तो भो, ४८ मा उस्तो भो। ५२ सालमा माओवादी शसस्त्र संघर्ष सुरु भयो। हाम्रो एक किसिमको वर्णन छ। यी कुरा हामी सरर्र भन्न सक्छौँ। बाहिर भन्नलाई त ठीकै हो। २०१७ कै अवस्थाका बारेमा हामीले लेखेका छौं, बोलेका छौं। तर त्यसपछिको अवस्थाबारे, ४६ सालपछिको अवस्थाबारे हामीले कठोर ढंगबाट समीक्षा गर्नुपर्छ कि पर्दैन?

गिरिजाप्रसाद कोइरालाले जगत नेपालसँगको अन्तर्वार्तामा विमान विद्रोह गर्दा भारतीय गुप्तचर संस्थाहरुसँग सहयोग लिएकोे बताउनु भएको छ। तर दुर्गा सुवेदीको यो पुस्तकमा कोइरालाको त्यो कथनबारे आक्रोश व्यक्त गरिएको छ। कृष्णप्रसाद भट्टरार्इले चिठी दिएर बाबुराम भट्टरार्इलाई भेट्न पठाएको सन्दर्भमा दुर्गा सुवेदी किसुनजीले भनेका कुरा सम्झन्छन्– म अरुलाई त चिन्दिनँ। बाबुराम भट्टराई विद्वान छन्। गोर्खाको पानी खाएका छन्। त्यति मलाई थाहा छ। विद्वान भएको नाताले भट्टराईलाई भन्दिनु– नेपालबाटै सञ्चालित भएको आन्दोलनले मात्र नेपाल ठीक ठाउँमा पुग्छ।

एउटा भूभागभित्र सत्तासँग लडेर, प्रजातान्त्रिक सत्ता स्थापना गर्दै गरेको आन्दोलनमा बाहिरी शक्ति र सत्ता थिए। यसमा कोही ओभानो छैन। विभिन्न समयमा सहयोग आदानप्रदान भएकै हो। यस विषयमा कम्युनिष्टको आफ्नै किसिमको दृष्टान्त होला। कांग्रेसले चाहिँ अब पार्टीको तर्फबाट समीक्षा गरेन भने नाकाबन्दीको अवस्था पुनः आउन सक्छ, बेग्लै स्वरुपमा।

इतिहासका प्रत्येक पाठलाई समीक्षा नगरेका कारण यस्ता अवस्था सिर्जना भएका छन्। प्रजातान्त्रिक आन्दोलनका लागि हाम्रा सम्बन्धहरुमा के कुरालाई वैध मान्यौं, अवैध मान्यौं भन्ने कुराको निष्कर्ष ननिकाली बसेका कारण हामी जटिल अवस्थामा पुगेका छौं, अप्ठ्यारोमा परेका छौं। यदि समीक्षा गरेनौं भने भोलिपनि पर्न सक्छौं।

२००७ सालमा कांग्रेसले हतियार उठायो। सुवर्ण शमशेरले २०१८ मा हतियार बिसाए। तर २०२८ मा विपीले फेरि सशस्त्र क्रान्तिकाे आह्वान गरे। त्यसपछि विपीले फेरि पुनर्विचार गरे। उनले अहिंसाको कुरा गरे। यति कुरा हामीले नवीन पुस्ताका साथीहरुलाई भनिदिएका छौँ।

तर यति भनेर मात्रै पुग्दैन। नेपालमा हिंसालाई कम्युनिष्टहरुले हेर्ने नजर फरक छ। कम्युनिष्टहरुले हिंसा विषयको टुंगो नलगाएसम्म प्रकाण्डले प्रचण्डलाई चुनौती दिने अवस्था आइरहन्छ। पुष्पकमल दाहाल प्रचण्ड हुँदैगर्दा ठीक र खड्गबहादुर विश्वकर्मा प्रकाण्ड हुँदा बेठीक भन्ने नैतिक बल कसैलाई छैन। तर प्रसंग सान्दर्भिक छ। हिजो एक नेताले हतियार उठाउँ भन्दै गर्दा ठीक र अर्का नेताले आज उठाउँदा बेठीक– या हतियार उठाउने कुरा नै ठीक कि बेठीक के हो? यी यावत प्रश्नका बारेमा कांग्रेसले कार्पेट बिछ्याई दिएर हुँदैन।

यही विषय हामीमा पनि लागू हुन्छ। हामी सधैं पार्टीको छलफलमा भन्छौं– नेपाली कांग्रेसले विपीले भनेको बाटो छोड्दा अप्ठ्यारो भयो। तर म भन्छु– विपीले भन्नु भएको बाटो चाहिँ के हो? पहिले त बाटो थाहा पाउनु पर्‍यो नि। यस्तो भन्दा विपीको बाटोमा समेत प्रश्न गर्ने भनेर प्रश्न आउँछ। त्यही कुरालाई लिएर विपीले जीवनभर लेख्नु भएको अर्थ राजनीतिका सबै विषयलाई समेटेर पुस्तक निकाल्न लागेका छौं, जसले विपीका सिद्धान्त नयाँ पुस्तालाई बुझ्न सजिलो बनाओस्।

अब हामीले कांग्रेसका बारेमा आलोचनात्मक चेतका साथ छलफल, समीक्षा गरेनौं भने अगाडि हिंड्ने बाटो कठिन छ।

केटाकेटीनै छँदा ‘सक्रान्ति’ भन्ने पुस्तक निकाल्ने जमर्को गर्दा पैसा थिएन। आमालाई फकाएर २० हजार रुपैयाँ मागेर पुस्तक छापेका थियौं। प्रदीप पौडेलको सम्पादन टोलीमा बसेर काम गरेको थिएँ। पुस्तकमा नेपालको शिक्षाबारे आफूले लेख्यौं, अरुलाई लेख्न लगायौं। पुस्तकको कभरमा विपी कोइराला, गणेशमान सिंह र सुवर्ण शमशेरको फोटो बराबरी साइजमा राखेका थियौं। बिपीको फोटो रंगीन थियो। तर, पुस्तक विमोचनको बेला कसैले बालुवाटारमा गिरिजाप्रसाद कोइरालालाई कुरा लगाइदिएछ। विपीको साइजमा गणेशमान र सुवर्णको फोटो राख्ने भनेर प्रश्न आयो। त्यसपछि हामीले कभर पेज जलाएर विपीको मात्र फोटो राखेर प्रकाशित गर्यौं।

यस पटकको केन्द्रीय समिति बैठकमा थुप्रै साथीहरुको मद्दत लिएर, खासगरी २०४६ साल पछाडि यो निर्वाचनमा कांग्रेसले पराजय भोग्नुको कारण खोज्ने क्रममा ‘२०४६ सालपछि मात्र होइन, त्योभन्दा अगाडिबाट हेरौं’ भनेर एउटा वाक्य लेख्यौं।

नेपालको विकासको बारेमा विपीको परिकल्पना प्रस्ट थियो। विपीको कल्पनामा रेल थिएन, पानी जहाजपनि थिएन, मान्छे थियो। विपी मान्छे खुशी भएको हेर्न चाहनुहुन्थ्यो। तर त्यो मान्छेलाई खुशी कसरी पार्ने भन्ने विषयमा विपीपनि अस्पष्ट हुनुहुन्थ्यो। किनकी विपीले सोच्न भ्याउनु भएन भन्ने आशय व्यक्त गर्दा ‘विपी अस्पष्ट हुनुहुन्थ्यो भनेर लेख्ने?’ भनेर अस्ति भर्खर गाली पाइयो। अहिले यस्तो अवस्था छ भने दुर्गा सुवेदीले के भोग्नु भयो होला भनेर म बुझ्न सक्छु।

तर मुख्य कुरा यही नै हो। कांग्रेसबारे समीक्षा नहुने हो भने कांग्रेसले आफू हिंड्ने बाटो भेट्दैन।

पटक पटक ‘म कांग्रेस थिइनँ’ भनेर सुवेदीले कितावमा स्पष्टिकरण दिनु भएको छ। उहाँ कांग्रेसको प्रचारमा हिंडेका मान्छे हो। तर दुर्गा सुवेदीजस्तो मान्छेलाई ‘म कांग्रेस थिइनँ भन्न मन लाग्ने अवस्था किन आयो? यो प्रश्नको उत्तर कांग्रेसले खोज्ने कि नखोज्ने?

प्रश्न दुर्गा सुवेदीको मात्र होइन। गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, शैलजा आचार्य, भीमबहादुर तामाङजस्ता राजनीतिको एउटा चरित्र र प्रवृत्तिहरुले एउटा समयमा आएर किन ‘म कांग्रेस होइन’ भने?

दुर्गा सुवेदी कांग्रेस नै हो। उहाँले ‘म कांग्रेसी होइन है’ भन्नु भएको हो। कांग्रेसी हुनु भनेको आजको दिनमा कांग्रेसको सदस्य हुनु हो, पार्टीको झण्डा बोक्नु हो, जे भएपनि ठीक भन्ने कार्यकर्ता हो। तर कांग्रेस मूल्य र मान्यतासँग जोडिएको विषय हो। कांग्रेस हुनु भनेको एउटा आन्दोलन र परम्परासँग जोडिनु हो।

त्यसैले आन्दोलनकै सर्जक भएपछि दुर्गा सुवेदीले ‘म त्यसमा थिइनँ’ भन्न पाउनु हुन्न। हामीलाई कांग्रेसी बनाउने, अनि अहिले आएर ‘म कांग्रेस होइन’ भन्न पाइँदैन। ‘म कांग्रेसी थिइनँ’ भन्न पाइन्छ। तर, ‘म कांग्रेस होइन’ भन्न पाइँदैन।

पुस्तकमा उहाँले हजार पटक ‘म कांग्रेस होइन’ भनेर लेखेपनि अहिलेका कांग्रेसीले पत्याउँदैनन्। किनभने, ‘दुर्गा सुवेदी कांग्रेस हो’ भनेर आफूपनि कांग्रेसी हुनेहरु धेरै छन्। यसको आधारमा एक प्रश्नको उत्तर खोज्नै पर्छ। मान्छे कांग्रेसी नै किन बन्छ त? खान लगाउन नपाएर, पार्टीभित्र ठेक्कापट्टा पाइन्छ भनेर कांग्रेसी भएका हुन्?

होइनन्।

विपी कोइरालाको निधनमा राजाले समेत दुख मान्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए। तर मनमोहन अधिकारीले बेजोड रुपमा भनेका छन्, ‘विपी कोइरालाको स्वर्गवाससँगै आजको गरिब नेपालीले आफ्नो बारेमा सोच्ने एउटा नेता गुमाएको छ।’

विपी कोइराला जाँदैगर्दा त्यो रिक्तता सृजना गरेका रहेछन्, जसलाई मनमोहन अधिकारीजस्ता वामपन्थी नेताले समेत महशुस गरे।

त्यसैले, दुर्गा सुवेदीको पुस्तकले एउटा प्रश्न उठाएको छ, आखिर आजको दिनमा कांग्रेस हो के? हामी को हौं? हामी कहाँबाट आयौं? हामी किन छौं? हामी हुँदा के भएको छ? हामी नहुँदा के हुन्छ? आज कांग्रेस भन्ने पार्टी बन्द भयो भने आम नेपालीले के गुमाउँछन्?

यी यावत प्रश्नको उत्तर कांग्रेसीले खोज्नु जरुरी छ। उत्तर भेटिए सानातिना समस्या आफै सुल्झिने छन्। त्यसैले, पहिलो कुरा, प्रश्नको उत्तर खोज्नैपर्छ। दुर्गा सुवेदीको पुस्तकले मेरो पुस्ताको कांग्रेसका निम्ति उठाइदिएको प्रश्न यही नै हो।

‘विमान विद्रोह’ मार्फत् दुर्गा सुवेदीले आफ्ना कुराहरु मात्र भन्नु भएको छैन, हाम्रो पुस्ताका कांग्रेसीहरुलाई पनि घच्घच्याउनु भएको छ। त्यसैगरी नवयुवा साथीहरुलाई कांग्रेस इतिहासको महत्वपूर्ण कालखण्ड यो पुस्तकले बताएको छ।

(नेपाली कांग्रेसका नेता गगन थापाले दुर्गा सुवेदीको पुस्तक ‘विमान विद्रोहः एउटा राजनीतिक अपहरणको बयान’ माथि शनिबार काठमाडौंमा भएको छलफलमा व्यक्त गरेको विचारको सम्पादित अंश)

प्रकाशित ४ भदौ २०७५, सोमबार | 2018-08-20 10:51:04
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • ज्ञानेन्द्र शाह

    श्रीपेच सार्वजनिक भएकै भोलिपल्ट पूर्वराजाले किन गरे गणतन्त्रमाथि प्रहार?

    ज्ञानेन्द्र शाह श्रीपेच र राजदण्डजस्ता राजतन्त्रका प्रतीकलाई सार्वजनिक अवलोकनको वस्तु बनाउन चाहँदैनथे। राजतन्त्रको प्रतिक श्रीपेचजस्तो महत्वपूर्ण...

  • करण चौधरी र विद्यात्री पोखरेल

    यी मारवाडी युवा उद्यमी, जो दशैंको टीका थाप्न पहिलो पटक ससुराली जाँदैछन्

    नाताले विनोद चौधरीका भतिज करण चौधरी चौधरी समूहको निर्देशकको रुपमा व्यवसायलाई नयाँ उचाई दिन तल्लिन छन्। अरु बेला सधैँ काममा व्यस्त रहने उनी यो...

  • झुप्प झुप्प निद्राः 'नार्कोलेप्सी' पो भयो कि?

    अधिकांश मानिसहरुलाई निद्रा निकै प्यारो लाग्छ। खासगरी बिदाका दिन बिहान अबेरसम्म निदाउन सबैलाई मन पर्छ।

  • मैत्रीपाला सिरिसेना

    रअले मेरो हत्या गर्ने षडयन्त्र रचिरहेको छ: श्रीलंकाली राष्ट्रपति

    श्रीलंकाका प्रधानमन्त्री रनिल बिक्रमासिंघेको भारत भ्रमण अघि राष्ट्रपति मैत्रीपाला सिरिसेनाले भारतीय गुप्तचर एजेन्सी रिसर्च एन्ड एनालाइसिस विङ ‘रअ’...