पुस्तक अंश

‘त्यसपछि नेपालको राजनीति नेपालीबाटै सञ्चालित हुन सकेन’


Infocus



दुर्गा सुवेदी
दुर्गा सुवेदी

२०५६ पुस महिनाको पहिलो हप्तातिर होला मलाई पूर्व सूचना नदिइकन मुमाराम खनालजी विराटनगरको मधुमारस्थित मेरो घरमा अचानक देखा पर्नुभयो। बिहानको १० बजेको थियो। खनालजीले कोठामा पस्नासाथ हतारहतार भन्नुभयो, ‘आजै साँझसम्ममा उहाँहरुले निर्धारित गरेको ठाउँमा पुग्नु पर्ने भयो। अहिले नै यहाँबाट हिड्दा पुगिन्छ होला।’

म केही नबोली हतारहतार लुगा लगाएर उहाँसँगै देवकोटा चोकतर्फ लागेँ। सडकमा रिक्सा भेटेपछि खनालजीले विराटनगर बसपार्क जाऊँ भन्नुभयो। बसपार्क पुगेपछि पूर्वतर्फ जाने बसको टिकट काटियो। बसपार्कबाट गाडी हिडेको केही समयपछि मैले खनालजीलाई गन्तव्यस्थलबारे सोधखोज गर्दा काँकडभिट्टा पुगेपछि मात्र थाहा हुने बताउनुभयो।

दिनको २ बजेतिर बसबाट उत्रिएपछि मुमारामजीले काँकडभिट्टा ढाँट नजिकको एउटा टेलिफोन बुथबाहिर बसेको भाईलाई साङ्केतिक भाषामा केही कुरा गरेर टेलिफोन बुथको कोठाभित्र पस्नु भयो। पाँच मिनेटपछि त्यहाँबाट निस्कनासाथ सीमापारीको पानीटङ्की जाने रिक्सामा हामी बस्यौँ। सिलीगुडीतर्फ जाने बस लागि रहेको थियो। त्यसैमा चढेर हामी ४ बजेतिर सिलीगुडी बसपार्क पुग्यौँ।

त्यहाँ पनि एकजना भाई हामीलाई पर्खिबसेका रहेछन्। उनले हामीलाई त्यहाँबाट रिक्सा चढाएर सिलीगुडी बजारको उत्तरतर्फ लगे । आधा घण्टापछि एउटा चोकमा पुगियो । पाँच मिनेट हिडेर एउटा एकतले घरमा पस्यौँ। त्यो राम कार्की भाईको ससुराली घर रहेछ।

कोठाभित्र पस्नासाथ बाबुराम भट्टराईजीले हात मिलाउँदै भन्नुभयो, ‘प्रचण्ड कमरेडको व्यस्तताले गर्दा समय तय गर्न ढिलाई भयो।’म केही नबोली उहाँकै आमने सामनेको कुर्सीमा बसेँ। अरु कुनै भूमिका नबाँधी बाबुरामजीले पुनः भन्न थाल्नु भयो, ‘गिरिजाप्रसाद कोइरालाले किसुनजीलाई विस्थापित गरेर प्रधानमन्त्री बन्ने खेल खेल्न थाल्नु भएको सूचना हामीले पाएका छौँ, यथार्थ कुरा के हो?’

मैले भनेँ, ‘तपाईंहरुले प्राप्त गरेको खबर सही हो। केही महिना पहिले किसुनजीले आफ्नो निवासमा पत्रकारहरुलाई आमन्त्रण गरेर अहिले चलिरहेको जनविद्रोहको समाधान गर्नतर्फ कदम चाल्नेछु भन्नुभएको थियो। त्यसैको परिणामस्वरुप सरकार र माओवादीबीच संवाद प्रारम्भ नहुँदै कोइरालाले आफू प्रधानमन्त्री बन्ने कपटपूर्ण राजनीतिक चलखेल सुरु गरिसक्नु भएको थियो। किसुनजीले माओवादी कम्युनिस्टको आतङ्कलाई राजनीतिक मान्यता दिएमा नेपाली काङ्ग्रेसले त्यसको विरोध गर्नुपर्छ भन्ने कोइरालाको भनाई छ। तर सरकार र माओवादीबीच विधिवत संवाद प्रारम्भ भयो भने कपटपूर्ण तरिकाले सत्ता हत्याउने खेल पूरा नहुन सक्छ। किसुनजीले तपाईंहरुसँग भेटेर वार्ताको तयारी गर्न मलाई खटाएको दुई महिना बितिसक्यो। सरकारसँग संवाद गरेर समस्याको शान्तिपूर्ण समाधानतर्फ लाग्ने तपाईंहरुको सद्नियत हो भने त्यसतर्फ तत्काल कदम चाल्न म आग्रह गर्दछु। किसुनजीले सार्वजनिक रुपमै तपाईंहरुको जनविद्रोहलाई राजनीतिक मान्यता प्रदान गरीसक्नु भएको अवस्था छ। अब विधि र प्रक्रियामा जाने कुरा तपाईंहरुको तर्फबाट पहल हुनुपर्छ। त्यसको लागि सरकारले मलाई विधिवत रुपमा पत्र दिने कुरा पनि तय भएको छ।’

मेरो कुरा सुनेपछि बाबुरामजीले गम्भीर हुँदै भन्नुभयो, ‘भोलि तपाईंसँग कमरेडले भेट्ने कुरा तय भएको छ । उहाँसँग पनि यसरी नै खुलेर कुरा गर्नु होला।’

अनि हामी खाना खाने कोठातर्फ लाग्यौँ।

भूमिगत प्रचण्डसँग पहिलो भेट
सिलीगुडीको उत्तरतर्फ पर्ने एउटा गल्लीको घरमा बाबुराम भट्टराई, राम कार्की, मुमाराम खनाल र म बसेर माओवादी जनयुद्धको असरबारे चर्चा गर्दै प्रचण्डजीलाई पर्खिबसेका थियौँ। विहान ८ बजेतिर हामी बसेको बैठकमा एकजना साधारण लुगा लगाएको व्यक्ति पसे। अखबारमा प्रचण्ड भनेर छापिएको फोटो र आगन्तुक मानिसमा त्यति समानता थिएन। तर, उनी कोठाभित्र पस्नासाथ बाबुरामजी र अन्य मित्रहरुले उठेर मुठ्ठी बाँध्दै क्रान्तिकारी अभिवादन गरे। मैले अनुमान गरिहालेँ, हामीले प्रतिक्षा गरेको कमरेड यिनै हुन् । त्यसैले मैले पनि उठेर नमस्कार गरेँ। तत्कालै बाबुरामजीले मतिर देखाउँदै दुर्गा सुवेदीजी भनेर परिचय गराएपछि कमरेडले एक्कासी अङ्कमाल गर्नुभयो।

उहाँले भन्नुभयो, ‘तपाईं त क्रान्तिकारी साहसको उदाहरण नै हो । धेरै दिनदेखि मैले तपाईंलाई भेट्न प्रयास गर्दै आएको थिएँ, आज साइत जुरेछ।’

उहाँले हात समातेर मलाई आफू नजिक बसाउनुभयो। राम कार्की भाईले हामी दुईलाई छेउको कोठातर्फ लिएर जान लाग्दा भट्टराईजीले उठेर भन्नुभयो, ‘पहिले तपाईंहरु दुवैजना बसेर कुरा गर्नुहोस् । त्यसपछि तीनैजना बसौँला।’

मैले पहिलोपल्ट भेट्दा प्रचण्डजी छाँटकाँट मिलेको शरीर साधारण जिन्स पेन्ट र बुट्टे सर्टमा थिए। चर्चित हिंसाको नायक त्यसबेला हँसिलो अनुहारमा देख्ता अचम्म लागेको थियो। त्यतिबेलासम्म राजधानी काठमाडौँमा थुप्रैले प्रचण्ड नामको मान्छे नै नभएको अनुमान लगाउँथे।

प्रचण्डजीले पहिलो भेटमा नै मसँग खुलेर हार्दिकताका साथ कुरा प्रारम्भ गर्नु भयो । कोठामा आमनेसामने दुई कुर्सी मात्र राखिएका थिए। त्यहाँबस्नासाथ उहाँले मसँग आँखा जुधाउँदै भन्नुभयो, ‘तपाईंले सोचेजस्तो क्रान्तिकारी परिवर्तन गर्न हामी लागिपरेका छौँ। गरीब जनताका धेरै वीर सन्तानहरुले हाम्रो जनयुद्धमा प्राणको आहुति दिई सकेका छन्। क्रान्तिमा यस्तो हुनु स्वभाविक हो। तपाईंको नेता बीपी कोइरालाजी क्रान्तिमा असफल भएर राजाको अघिल्तिर अभियुक्तकै रुपमा उभिन पुग्नु भएको थियो। उहाँले प्रारम्भ गरेको त्यही सशस्त्र क्रान्तिकै निरन्तरता हो हाम्रो जनयुद्ध। अब हामी तपाईं मिलेर यसलाई सफल पार्नु पर्छ। आत्मसम्मानका साथ हामी वार्तामा बस्न तयार छौँ। तपाईंको आफ्नो तर्फबाट जेजस्तो पहल गर्न सक्नु हुन्छ वा गरिरहनुभएको छ, त्यसले नेपालको राजनीतिलाई एउटा सार्थक परिणाममा पुर्‍याउन सकोस् भन्ने मेरो चाहना छ।’

मैले भूमिका नबाँधी प्रारम्भमै भनेँ, ‘प्रधानमन्त्री किसुनजीले मलाई तपाईंसँग भेटेर वार्ताद्वारा समस्या सामाधान गर्न गराउनेतर्फ विधिवत प्रक्रियाको थालनी गर्ने विषयमा छलफल गर्न पठाउनु भएको हो। उहाँले आफू प्रधानमन्त्री हुनासाथ माओवादी जनविद्रोहलाई राजनीतिक समस्या भन्दै त्यसको समाधान राजनीतिक तरिकाले गरिनुपर्छ भनीरहनु भएको छ। गिरिजाबाबु कम्युनिस्टको आतङ्कलाई सरकारले दमन गर्नुपर्छ भन्ने धारणा राख्नु हुन्छ। त्यसैले अहिलेको समयको सदुपयोग गर्दै तपाईंहरुले वर्तमान सरकारसँग चाँडै वार्तामा बस्ने र समस्याको राजनीतिक हल निकाल्नेतर्फ लाग्नु होस्।’

मैले उहाँलाई आफ्नो समयको कुरा पनि सम्झाएर भनेँ, ‘प्रचण्डजी, तपाईंहरु अहिले भारतमा गुप्तरुपले आश्रय लिएर नेपालभित्र जनयुद्ध संचालन गरिरहनु भएको छ। योभन्दा पहिले पनि नेपाली काङ्ग्रेसका नेताहरुले खुलारुपले भारतीय भूमिमा आश्रय लिएर नेपालभित्र हिंसक क्रान्ति प्रारम्भ गर्नु भएको थियो। त्यसबेला भारतीय शासकहरुले नेपाली काङ्ग्रेसको सङ्घर्षलाई पनि केही अवधिसम्म संचालन हुन दिए। किनभने त्यसबेला राजाले भारतविरोधी जनभावनालाई मलजल गरिरहेका थिए। जसले गर्दा नेपालमाथि भारतको एकतर्फी प्रभावमा धक्का पुग्न थालेको थियो। त्यसैलाई नियन्त्रण गर्ने कार्डको रुपमा नेपाली काङ्ग्रेसको सङ्घर्षलाई प्रयोग गरियो। तपाईंहरुले पनि यहीं गुप्त रुपले आश्रय लिनु भएको छ। यसलाई पनि भारतीय शासकहरुले आफ्नो निहित स्वार्थको माध्यम बनाउने छन्। त्यसैले समयमै आफ्नो देशको सत्ता पक्षसँग सिधा संवाद गरेर द्वन्द्व समाधान गर्नु नै उचित होला। नेपालको आन्तरिक राजनीतिक द्वन्द्वमा २००७ सालदेखि नै भारतले मध्यस्थको भूमिका गरेर नेपालमा आफ्नो प्रभाव बढाईरहेको छ। त्यसलाई क्रमभङ्ग गर्नु भयो भने नेपालको राष्ट्रिय स्वाभिमान सुदृढ हुँदै जानेछ।’

मैले यसो भनिरहँदा प्रचण्डजीले मेरो अनुभवलाई कुनै ध्यान नदिएको कुरा उनको मुखाकृतिले दिएको देखेको थिएँ। त्यसपछिको राजनीतिक घटनाक्रमले माओवादी जनयुद्धको अन्त्य कसरी भयो भन्ने कुराको विस्तृत र तथ्यपरक विवरण सुधीर शर्माजीद्वारा लिखित पुस्तक ‘प्रयोगशाला’ मा उल्लेख भइसकेको छ। त्यस पुस्तकको विमोचन समारोहमा प्रचण्ड स्वयले दिएको मन्तव्यले पुस्तकमा उल्लिखित कुराको पुष्टि भएको छ।

त्यसपछि प्रचण्डजीले कुर्सीबाट उठेर मेरो हात समातेर भन्नुभयो, ‘दुर्गाजी हाम्रो पार्टी वार्ताको मोर्चामा जान तयार छ तर विधिवत कुरा अघि बढाउन तपाईंले पहल गर्नु पर्‍यो।’

यति भनेर उहाँ फेरि कुर्सीमा बस्नुभयो। त्यहीबेला बाबुरामजी हामी बसेको कोठमा पस्नु भयो। तत्काल प्रचण्डजीले उहाँतर्फ फर्केर भन्न थाल्नु भयोः

‘दुर्गाजी जस्तो क्रान्तिकारी मानिसले हाम्रो कुरा नबुझ्ने कुरै भएन। अब बाबुरामजीले नै वार्ताको कुरा विधिवत अगाडि बढाउन उहाँसँग निरन्तर सम्बन्ध राखेर विधि र प्रक्रिया तयार पार्नु पर्‍यो। मुमारामजी काठमाडौँमै बसेर खुला रुपले काम गर्न कुसल हुनुहुन्छ। त्यही माध्यमलाई हामीले सक्रिय पार्नुपर्छ। दुर्गाजीलाई प्रधानमन्त्रीले वार्ता गर्ने गराउनेबारे आधिकारिक पत्र दिएको छैन क्यारे, त्यसतर्फ पनि उहाँले प्रधानमन्त्रीसँग पहल गर्नु पर्‍यो।’

यति भनेर उहाँले हातको घडी हेर्दै, हामी फेरी भेटौँला भन्दै त्यहाँबाट बाहिरिनु भयो।

कमरेड प्रचण्ड त्यस घरबाट बाहिर निस्किएपछि मुमाराम खनाल, म र बाबुरामजी बसेर माओवादी र सरकारबीच हुने भनिएको वार्ताबारे केही प्राविधिक विषयमा छलफल गर्‍यौँ। सरकारको तर्फबाट सम्पर्क व्यक्ति तोकिएको पत्र मैले लिने र त्यसको जवाफमा तत्काल पत्र आदानप्रदान गर्ने कुरा तय भयो । त्यसपछि हामी काठमाडौँतर्फ लाग्यौँ।

माओवादीलाई सरकारको चिठी
राजधानी पुगेकै दिन मैले प्रधानमन्त्री किसुनजीलाई भेटेँ। त्यसपछि गृहमन्त्री पूर्णबहादुर खड्कालाई भेटेँ। उहाँले मलाई साउन महिनाको मितीमा आफूले लेखेको हस्तलिखित पत्र दिएर माओवादीको केन्द्रमा पठाउन भन्नुभयो। पत्र लिएपछि म पुनः किसुनजीलाई भेट्न गएँ। त्यहाँबाट विदा हुने बेलामा प्रधानमन्त्रीले हात जोड्दै भन्नुभयो,

‘दुर्गा सुवेदीजी, कमरेड प्रचण्डलाई व्यक्तिगत रुपले म चिन्दिनँ तर भाई बाबुराम भट्टराईलाई मैले विद्यार्थी कालदेखि नै भेट्दै आएको छु। उहाँ नेपालको ऐतिहासिक थलो गोरखाको अन्नपानी खाएर हुर्केको व्यक्ति हो। विद्धान् पनि हुनु हुन्छ । कृपया मेरो यो विन्ती सुनाई दिनुहोला। नेपालको राजनीति नेपालीबाटै सञ्चालित, निर्देशित र निर्णीत हुनुपर्छ।’

किसुनजीको यो सन्देश मैले बाबुरामजीलाई अर्को भेटमा सुनाएको थिएँ।

प्रधानमन्त्रीजीसँग विदा भएपछि माओवादीका तत्कालीन केन्द्रीय समिति सदस्य मुमाराम खनालजी मार्फत् प्रस्तावसहितको पत्र माओवादी हेडक्वार्टर पठाउने काम भयो । नेपाल सरकारले युद्धरत् कम्युनिस्ट पार्टीसँग वार्ताको विधिवत प्रस्ताव गरेको पत्र मलाई २०५६ फागुन ११ गते प्राप्त भएको थियो।

त्यसबेला देशमा विद्यमान हिंसात्मक द्वन्द्व समाधान गर्न सरकारको तर्फबाट गरिएको यो पहिलो प्रयास थियो। तत्कालिन गृहमन्त्री पूर्णबहादुर खड्काजीको हस्तलिखित पत्रले माओवादी जुनयुद्धलाई राजनीतिक मान्यता दिएको हुनाले कमरेड प्रचण्डले पनि तत्कालै ०५६ फाल्गुन १३ गतेका दिन सरकारसँग केही शर्त राखेर वार्ता प्रस्ताव स्वीकार गरेको हस्त लिखितपत्र ममार्फत सरकारलाई पठाउनु भएको थियो।

त्यो पत्र लिएर म प्रधानमन्त्री निवास बालुवाटार पुग्दा शेरबहादुर देउवासँग भेट भयो । उहाँले भन्नुभयो, ‘किसुनजीलाई प्रधानमन्त्रीबाट हटाउन गिरिजाबाबुले सांसदहरुको हस्ताक्षर सङ्कलन गर्न सुशील कोइरालालाई अघि सारीसक्नु भएको छ। अब हामीले तुरुन्तै युद्धविराम गर्न गराउन माओवादीलाई पत्र पठाउनु पर्छ भनेर किसुनजी भनिरहनु भएको छ।’

बालुवाटारमै मैले प्रचण्डजीले पठाएको पत्र गृहमन्त्रीजीलाई हस्तान्तरण गरेँ। त्यो पत्र हेर्नासाथ खड्का र देउवाहरु किसुनजीको कोठातर्फ लागेँ। त्यस पत्रमा शेरबहादुरजीले चाहेजस्तै आशय थियो। माओवादीले राखेको शर्त पूरा भए वार्ता अवधिसम्म फौजी कारबाही बन्द गरिने कुरा उल्लेख गरिएको थियो। त्यसबेला सरकार र माओवादीबीच भैरहेको गुप्त संवादबारे द्वन्द्व पीडितजनलाई जानकारी थिएन। त्यसैले होला गुप्त संवाद भइरहेको बेला किसुनजीले ‘माओवादी समस्या समाधान आयोग’ बनाएर सरकार द्वन्द्व समाधान गर्न सक्रिय रहेको सन्देश दिनुभयो। आयोगका अध्यक्ष शेरबहादुर देउवाले पनि सातदोबाटोमा कार्यालय स्थापना गरेर माओवादीसँग पत्राचार गर्न थाल्नु भयो।

गिरिजाबाबुले वार्ता भाँडे
सरकार र माओवादीबीच पत्राचार हुनुभन्दा पहिले नै पश्चिम नेपालबाट माओवादी जनसेनाले पुलिस बलका डीएसपी ठूले राईलाई अपहरण गरेर लगेका थिए। उनको अवस्था अज्ञात थियो। त्यसबेला नै गृहमन्त्रीले पनि मसँग उहाँलाई मुक्त गर्ने प्रयास गरौैँ भन्नुभएको थियो। यस सम्बन्धमा मैले मुमारामजीसँग कुरा गरेको थिए। प्रयास गरौँला भनिएको थियो। त्यसैको फलस्वरुप बन्दी आदानप्रदानको कुरा आयो।

माओवादीका नेता देव गुरुङ्ग, सुरेश आले मगर र पवन श्रेष्ठलाई सरकारले मुक्त गरेमा ठूले राई पनि छोडिने कुरा भयो। यस सम्बन्धमा गृहमन्त्रीसँग कुरा गर्दा केही समयपछि मात्र हुने नहुने जानकारी गराउने छु भन्नुभयो। तर, त्यसको भोलिपल्टै गृहमन्त्रीले प्रधानमन्त्रीसँग भेट्न बेलाउनु भयो। मैले प्रधानमन्त्रीसँग पनि कुरा राखेँ।

उहाँले ‘दुवै पक्षले यस्तो कुरालाई गोप्य राख्नुपर्छ, तपाईं गृहमन्त्रीजीको सम्पर्कमा रहिरहनु होला’ भनेर विदा गर्नुभयो। त्यसको दुई दिनपछि गृहमन्त्रीले मलाई सम्पर्क गरेर ‘तपाईंले उनीहरुलाई कसको जिम्मा लगाउने हो तय गर्नु होला, बन्दीहरुलाई काठमाडौँ हवाई मैदानमा उतारेर छोड्ने कुरा तय गरिएको छ’ भन्नुभयो। समय र दिनबारे त्यसैबेला अवगत गराउने कुरा भयो।

एकदिन बिहान म र मुमारामजी बसेर कुरा गरिरहेका बेला अचानक गृहमन्त्रीको फोन आयो। उहाँले साङ्केतिक भाषामा पोखराबाट जहाज काठमाडौँ आईपुग्ने समय बताउनु भयो। हामी दुवैजना कार लिएर तोकिएको समयमा हवाई मैदान गयौँ। बन्दीहरु उतार्नासाथ मुमारामजीले कसलाई कहाँ पुर्‍याउने तय गर्नुभयो। तीनैजना साथीहरुलाई लिएर पहिले देव गुरुङ्गजीको डेरामा जाने कुरा भयो। उहाँको घर पुगेपछि मैले गृहमन्त्रीलाई फोनबाटै बन्दीहरु आफ्नो गन्तव्य स्थानमा पुगेको र ठूले राईजी पश्चिम नेपालमा भएकाले एक-दुई दिनमै मुक्त गरिने कुरा तय भएको जानकारी गराएँ। त्यसको केही दिनमा डिसएपी राई मुक्त गरिए।

यसरी माओवादीतर्फबाट राखिएका सर्तहरु पूरा गर्न गृहकार्य भइरहेका बेला माओवादी जनसेनाले अछाम जिल्लामा फौजी कारबाही गरिदियो। यस घटनाले माओवादीको वार्ता प्रस्ताव र व्यवहारमा विरोधाभास देखायो। तथापि माओवादी समस्या समाधान आयोगका अध्यक्ष शेरबहादुर देउवाजीले वार्ताको लागि आफ्नो प्रतिनिधी पठाउन आग्रह गर्दै माओवादीका नेतालाई पत्राचार गर्न थाल्नु भयो।

यही बेला बाबुरामजीले मलाई एउटा लामो पत्रमार्फत् सरकारले वार्ता अगाडि बढाउन ढिलाई गरेकोमा चिन्ता प्रकट गर्नु भयो। त्यो पत्र मैले प्रधानमन्त्रीजीलाई देखाएँ। उहाले जवाफ दिनु भने अनुसार पत्राचार गरेको थिएँ।

आयोगका तर्फबाट पनि शेरबहादुरजीले वार्ता प्रतिनिधी पठाउन पत्राचार गरिरहनु भएको थियो। उहाँको अन्तिम पत्रको जवाफ दिँदै प्रचण्डजीले चैत १ गतेको पत्रमा पार्टीको तर्फबाट वार्ताको तयारी गर्न कमरेड अशोकलाई आफ्नो प्रतिनिधी पठाएको कुरा उल्लेख गर्नु भएको थियो।

यसरी वार्ताको गृहकार्य भइरहेका बेला किसुनजीलाई नै भेटेर गिरिजाप्रसाद कोइरालाले राजिनामा दिन दबाब दिनु भयो। अन्यथा, अविश्वासको प्रस्ताव दर्ता गराउने भनियो। त्यसबेला केही सांसद र बुद्बिजीवीहरुले किसुनजीलाई भेटेर मध्यावधिमा जाने सल्लाह दिईरहेका थिए। तर, उहाँले आफ्नो पद जोगाउन त्यस्तो कुकृत्य आफूबाट नहुने भन्दै ३ चैत्र २०५६ मा प्रतिनिधिसभाको रोस्ट्रममा उभिएर लिखित वक्तव्य दिँदै पदबाट राजिनामा गर्नु भयो। त्यसपछि नेपालको राजनीति नेपालीबाटै सञ्चालित, निर्देशित र निर्णीत हुन सकेन।

किसुनजीले राजीनामा दिएपछि गिरिजाबाबु प्रधानमन्त्री भए। देशमा झन् ठूलो लडाई र काटमार चल्यो। १७ हजारभन्दा बढी मानिसको ज्यान गयो। यसैबीचमा अकल्पनीय दरबार हत्याकाण्ड भयो। राजा वीरेन्द्रको समुल वंशनाश भयो। त्यसपछि राजा बनेका उनका भाइ ज्ञानेन्द्रले प्रत्यक्ष शासन चलाउने सुर कसे। १९ माघ २०६१ मा उनले शासन सत्ता आफ्नो हातमा लिए।

त्यसपछि माओवादी र सरकारबीच वार्ताका लागि दुईपटक समिति पनि बने। केही चरणमा वार्ता पनि भए। एउटा वार्तामा माओवादी टोलीको नेतृत्व गर्दै बाबुराम भट्टराईजी सार्वजनिक पनि हुनुभयो। अर्को टोलीको कृष्णबहादुर महराले नेतृत्व गर्नुभएको थियो। तर, यी दुवै वार्ता निस्कर्षमा पुगेनन्।

ज्ञानेन्द्रले सत्ताच्यूत गरेपछि बल्ल गिरिजाबाबुहरुले वार्तालाई महत्व दिए। आखिरमा भारतको नयाँ दिल्लीमा माओवादी र सात दलबीच २०६२ मंसीरमा १२ बुँदे सहमति भयो। त्यसकै आधारमा सुरु भएको १९ दिने दोस्रो जनआन्दोलनले लोकतन्त्रको पुर्नबहाली गर्‍यो। अन्तरिम संविधान बन्यो । माओवादी संसदमा आए। संसदले नेपाललाई गणतन्त्र घोषणा गर्‍यो। ज्ञानेन्द्र नारायणहिटीबाट नागार्जुन दरबार पुगे। पहिलो संविधानसभा संविधान बनाउन असफल भएपनि दोस्रो संविधानसभाले संविधान बनायो।

(नेपालको प्रजातान्त्रिक संघर्षका एक अगुवा दुर्गा सुवेदीको भर्खरै प्रकाशित पुस्तक ‘विमान विद्रोह’ बाट सम्पादनसहित साभार)

प्रकाशित २६ साउन २०७५, शनिबार | 2018-08-11 10:37:22
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Laxmi Bank
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Laxmi Bank
Loading...

विचार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • केपी शर्मा अाेली

    सचिवमार्फत् मन्त्रीहरुको ‘परीक्षा’ लिँदै प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको मनोमानी र कर्मचारीको ढिलासुस्ती रोक्न सचिवमार्फत् प्रत्येक मन्त्रालयको रिपोर्ट लिन थालेका छन्।

  • नारायणकाजी श्रेष्ठ

    पार्टीले जनता-कार्यकर्तासँग माफी माग्नुपर्छः नारायणकाजी श्रेष्ठ (अन्तर्वार्ता/भिडियाे)

    ‘जब सरकार पार्टीको एजेण्डा बन्दैन भने पार्टीले के गर्छ? सरकारको एजेण्डा पार्टीमा राखिएको छ, तर त्यसबारे छलफल भएको छैन। त्यसैले पार्टीले धेरै कुरा...

  • निरुता सिंह

    फर्कि आइन् ‘आँखामा आउने केटी’

    दक्षिणा, दर्पन छायाँ, माइती, मनमन्दिर, सिउँदोको सिन्दुर, आफ्नो मान्छे लगायत दर्जनौँ चर्चित फिल्ममा अभिनय गरेकी निरुताले ‘सकेन्ड इनिङ’ मा ‘दाल भात...

  • अपराध महाशाखा टेकूकाे पार्किंगमा बेवारिसे बीएमडब्लु। तस्विर: प्रविन काेइराला

    नयाँ वानेश्वरमा बेवारिसे अवस्थामा भेटियाे ४ कराेडको बिएमडब्लू कार

    महानगरीय अपराध महाशाखा, टेकूको प्राङ्गणमा एउटा सेतो रंगको गाडी एक साताभन्दा बढी समयदेखि थन्किएको छ।