त्यो भेटपछि मदन भण्डारी राजतन्त्रप्रति नरम भए





राजा वीरेन्द्र र मदन भण्डारी
राजा वीरेन्द्र र मदन भण्डारी

‘मदन भण्डारीले राजा वीरेन्द्रसँगको भेटघाट सार्वजनिक नगरौँ भन्नुभएको थियो, त्यसै अनुरुप भेटघाट गोप्य नै राखेको थिएँ’

NIC ASIA

‘महाराज, हात नलम्काइबक्स्योस्, आँखा नचम्काइबक्स्योस् र आफ्ना शण्ड–मुसण्डहरूलाई नचलाइबक्स्योस्। यदि शण्ड–मुसण्डलाई चलाउने नै हो भने महाराजले श्रीपेच उतारेर सिंहासनमा राखेर, नेता भएर मैदानमा आउनुपर्‍यो, ताकि प्रतिद्वन्द्विता गर्न सकियोस्।’

संविधान जारी भइसकेको थियो, वीरेन्द्र शाह ‘संवैधानिक राजा’ बनिसकेका थिए। न परम्पराका दृष्टिले राजाले चुनाव लड्न मिल्थ्यो, न त नेपाल अधिराज्यको संविधान २०४७ ले नै राजाले चुनाव लड्ने व्यवस्था गरेको थियो।

नारायणहिटीमा राजा वीरेन्द्रका प्रमुख सचिव थिए, रेवतीरमण खनाल। चाबहिलको चुनावी सभामा राजा वीरेन्द्रविरुद्ध गरेको उपरोक्त उत्तेजक भाषणका कारण एमालेका तत्कालीन महासचिव मदन भण्डारी चर्चाको शिखरमा थिए। राजा वीरेन्द्रलाई श्रीपेच खोलेर आफूसँग चुनाव लड्न आउन भण्डारीले चुनौति दिएपछि प्रमुख सचिव खनाल आक्रोसित बने, उनको दिमाग चक्करायो।

उनी राजा वीरेन्द्र अगाडि गए। र, भने, ‘सरकार, मदन भण्डारीले सरकारविरुद्ध नचाहिँदो भाषण गरेका छन्। संविधानमा राजाले चुनाव लड्ने कुरा गरिएको छैन। तर भण्डारीले सरकारलाई चुनाव लड्न आउन चुनौति दिएका छन्। त्यसैले, यस विषयमा म मदन भण्डारीसँग कुराकानी गर्छु। कुराकानीका लागि स्वीकृति पाऊँ।’

राजा वीरेन्द्रले खनालसँग भने, ‘के कुरा गर्छौ? तिमीले यस्तो भाषण नगर भन्दैमा उनले मान्लान् र?’

‘एकपटक कुराकानी गरेर त हेरौं’, खनालले वीरेन्द्रसँग भने, ‘एक पटक कुरा गर्न पाए संवैधानिक राजाविरुद्ध यस्ता उत्तेजक अभिव्यक्ति नदिन भण्डारीलाई कन्भिन्स गर्न सक्छु जस्तो लाग्छ।’

‘गर्छौ भने गर न त कुराकानी’, वीरेन्द्रले खनाललाई स्वीकृति दिए।

राजाबाट स्वीकृति पाएलगत्तै खनालले मदन भण्डारीलाई फोन गरे। भण्डारीले आफू चुनावी अभियानमा रहेको बताउँदै भेटघाट टार्न खोजे।

‘तपाईं साँच्चिकै नेता हो भने फुर्सद निकालेर भए पनि भेट गर्नुपर्छ’, भन्दै भेटघाटका लागि खनालले जोड गरे। ‘साँच्चिकै नेता हो भने’ भन्ने खनालको भनाई भण्डारीको नेतृत्व क्षमतालाई दिइएको चुनौति थियो।

भण्डारी राजा वीरेन्द्रका प्रमुख सचिव रहेका खनालसँग भेटघाट गर्न तयार भए।

यो पनि: 

मदन भण्डारी र विद्या भण्डारीः मित–मितिनीको कथा

‘भेट्न त भेटौँ, तर गोप्य रूपमा’, मदनले खनालसँग शर्त राखे, ‘हाम्रो भेटबारे कसैलाई जानकारी दिन चाहिँ पाउनु हुन्न।’

भण्डारीको शर्त खनालले स्वीकार गरे। दुईजनाबीच त्यसैदिन राति १० बजे बालाजु बाइपासमा भेटघाट गर्ने सहमति त्यो फोन कुराकानीमा भयो।

दिउँसो फोनमा भएको सहमति अनुसार भण्डारी–खनालबीच भेट भयो। मदन शैलेन्द्रजङ्ग थापाको बा ३ च ७६५४ नम्बरको कार चढेर बालाजु पुगेका थिए। खनाल दरवारले सुविधाबापत उपलब्ध गराएको गाडीमा थिए।

दुईजना भेट भएपछि मदनका ड्राइभर समेत रहेका गाडी मालिक थापा आफ्नो कारमा फर्किए। मदन भने खनालको गाडीमा चढे। त्यही गाडीमा दुईबीच करिब ४५ मिनेट एक्लाएक्लै कुराकानी भयो।

‘नेताले त सिद्धान्त र नीतिगत कुरा गर्नुपर्छ’, खनालले भण्डारीसँग असन्तुष्टि जनाए, ‘तर तपाईं जस्तो नेताले त्यसविपरीत अभिव्यक्ति दिइरहनु भएको छ।’

‘मैले त्यस्तो के गरेँ र?’, मदनले खनालसँग सोधे।

रेवतीरमण खनाल, राजा वीरेन्द्रका प्रमुख सचिव

‘नेपाल अधिराज्यको संविधान २०४७ को निर्माण दलका प्रतिनिधिहरुले गरेको हो, त्यसमा तपाईंको पार्टीको पनि प्रतिनिधित्व थियो, संविधानमा श्री ५ ले चुनाव लड्ने व्यवस्था कतै छैन’, खनालले मदनसँग भने, ‘तर तपाईंले त राजालाई चुनावी प्रतिस्पर्धाका लागि आव्हान गर्नुभयो, संवैधानिक राजाले संसारको कुनै देशमा चुनाव लडेको उदाहरण दिन सक्नुहुन्छ?’

खनालको प्रश्नले मदन अप्ठेरोमा परे। आफ्नो अभिव्यक्तिलाई उनले चुनावी भाषणका रूपमा मात्र बुझिदिन अनुरोध गरे।

बहुदलीय व्यवस्था पुनस्थापनापछिको त्यो पहिलो चुनावमा काठमाडौँ–१ मा मदनका प्रतिस्पर्धी थिए, कांग्रेस सभापति कृष्णप्रसाद भट्टराई। भट्टराई कांग्रेस पार्टीका सभापतिमात्र थिएनन्, बहालवाला प्रधानमन्त्री पनि थिए। उनी लोकप्रियताको चरमचुलीमा थिए। कांग्रेस मतदाताको बाहुल्य भएको काठमाडौँको बानेश्वर इलाका समेटिएको क्षेत्र भएकाले काठमाडौं–१ मा चुनाव जित्नु भण्डारीका लागि फलामको चिउरा चपाएजस्तै कठिन थियो। भण्डारीले चुनाव जित्छन् भन्ने कल्पना कसैलाई पनि थिएन।

भण्डारीले यस्तै चुनावी परिस्थिति सुनाए। र, आफूले राजा वीरेन्द्रलाई चुनौति दिँदै भाषण गर्नुको कारण खुलाए, ‘चुनावका बेला अलिकति चर्का कुरा नगरी चुनाव जित्न सकिन्न। चुनाव जित्ने त्यही नीति अन्तर्गत मैले त्यस्तो भाषण गरेको हुँ।’

‘अनेक बहानामा तपाईंहरु आफैं संविधानको बर्खिलाप हुने गरी भाषण गर्दै हिँड्ने गर्नुभएको छ’, खनालले भण्डारीलाई स्पष्टसँग भने, ‘तपाईंहरुले नै यस्तो गरेपछि राजा कसरी संविधानको सीमाभित्र बस्छन्?’

खनालको भनाईमा, मदनले सहमतिमात्र जनाएनन्, आगामी दिनमा राजा विरुद्ध उत्तेजक अभिव्यक्ति नदिने विश्वाससमेत दिलाए।

खनालले भण्डारीसँग भएको कुराकानीबारे राजालाई जानकारी गराए। ‘आइन्दा त्यस्तो अभिव्यक्ति दिन्नँ भनेका छन् भने ठीकै छ’, वीरेन्द्रले भने, ‘आगामी दिनमा उनी कसरी कसरी जाँदा रहेछन्, त्यो चाहिँ गम्भीरतापूर्वक अध्ययन गरौँ।’

नारायणहिटीमा अब मदन भण्डारीका भाषण र त्यससम्बन्धी समाचार खोजी–खोजी पढ्न थालियो।

चुनाव सकियो, प्रधानमन्त्री भट्टराई भण्डारीबाट आश्चर्यजनक रुपमा पराजित भए। अन्तरिम सरकारका शक्तिशाली र लोकप्रिय प्रधानमन्त्री भट्टराईको पराजयमा भण्डारीको राजाविरुद्धको त्यही भाषणको मुख्य भूमिका थियो।

विजयी भण्डारीलाई खनालले फोन गरेर बधाई दिए। र, फेरि भेट्ने प्रस्ताव राखे। मदन दोस्रो भेटका लागि सजिलै राजी भए।

दोस्रो भेटपनि रातकै समयमा हुने भयो। पहिलो भेट काठमाडौँको पश्चिम दिशामा पर्ने बालाजुमा गरेका भण्डारी–खनालले दोस्रो भेट पूर्वतिर रहेको तीनकुनेमा गरे। यसपटक मदनका ड्राइभर बनेर गएका थापा र खनालका ड्राइभर खनालको गाडीमा गए। मदन र खनाल मदन चढेर आएको गाडीमा बसेर कुराकानी गरे।

२०४८ को चुनावी परिणामले कांग्रेसलाई सत्तामा पुर्यायो भने एमाले प्रमुख प्रतिपक्षी दल बन्ने भयो। एमाले अध्यक्ष मनमोहन अधिकारी भएपनि पार्टीको कार्यकारी अधिकार महासचिव भण्डारीमा थियो।

‘अब तपाईंहरू प्रमुख प्रतिपक्षी बन्नुभयो, संसदीय व्यवस्थामा यो भनेको जिम्मेवार र सम्वेदनशील स्थान हो’, खनालले मदनलाई भने, ‘प्रमुख प्रतिपक्षको मुख्य जिम्मेवारी भनेको सरकार गलत बाटोमा गयो भने उसलाई ठीक बाटोमा लैजाने हो। यो भूमिका तपाईंहरु कसरी निर्वाह गर्नुहुन्छ?’

चुनावपछि कुन पार्टीबाट कस्तो पृष्ठभूमिका मानिसहरू प्रतिनिधिसभामा निर्वाचित भएर आएका छन्, त्यसको अध्ययन उनै खनालले गरेका थिए। खनालको भनाईमा, कांग्रेसबाट निर्वाचित भएका अधिकांश सांसदहरू लामो समय राजनीति गरेका पेसेवर राजनीतिकर्मी थिए भने एमालेका सांसदहरु विद्यार्थी राजनीति र शिक्षक पृष्ठभूमिका थिए।

सांसदहरूको पृष्ठभूमिबारे खनालको विश्लेषणबाट प्रभावित मदन भण्डारीले ‘तपाईंबाट राम्रो शिक्षा पाइने रहेछ’ भन्दै खनालको प्रसंशापनि गरे।

खनालको उद्देश्य यी उदीयमान नेतालाई राजतन्त्रको विरोधमा जान नदिनु थियो। भण्डारीले आफ्नो प्रसंशा गरेको मेसो पारेर खनालले भण्डारीलाई राजा वीरेन्द्रसँग भेटको प्रस्ताव राखे।

‘तपाईं प्रमुख प्रतिपक्षी दलको जिम्मेवार नेता हुनुहुन्छ’, खनालले भण्डारीसँग भने, ‘तपाईंहरुले राजाका कुरा पनि सुन्नुपर्छ। तपाईंले राजासँग भेट्नुस्, म भेटघाटको प्रबन्ध मिलाउँछु।’

खनालले यस्तो प्रस्ताव राख्नेछन् भन्ने अनुमान सम्भवत भण्डारीले गरेका थिएनन्। राजासँग भेट्ने खनालको प्रस्तावले भण्डारी अप्ठेरोमा परे। राजासँग भेट्न भण्डारीले अप्ठेरो मानेको बुझेपछि खनालले थपे, ‘बेलायतमा पनि प्रमुख प्रतिपक्षी दलका प्रमुख नेताहरूले राजालाई भेट्ने गर्छन्। तपाईंलेपनि प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा राजालाई भेट्दा अन्यथा हुँदैन।’

यसबारेमा पार्टीमा छलफल गरेपछि मात्र निर्णय दिन सक्ने बताउँदै भण्डारीले ‘पर्सि फोन गरेर के गर्ने, त्यो भनुँला’ भन्ने जवाफ फर्काए।

मदन भण्डारी चढ्ने गरेको शैलेन्द्रजङ्ग थापाको गाडी

मदन भण्डारी चढ्ने गरेको शैलेन्द्रजङ्ग थापाको गाडी

पर्सिपल्ट भण्डारीले खनाललाई फोन गरे। र, आफू राजा वीरेन्द्रलाई भेट्न तयार रहेको जानकारी गराए।

राजा वीरेन्द्र र मदन भण्डारीबीच राति ८ बजे भेटको कार्यक्रम तय गरिएको थियो। भेटघाटस्थल थियो, नारायणहिटी राजदरवारभित्रको मंगल सदन। वीरेन्द्रसँग भेटका लागि मदन दौरा–सुरुवाल र ढाकाटोपी लगाएर दरवार पुगे।

राजालाई भण्डारीबारे त्यतिधेरै जानकारी थिएन। किनभने, लामो भूमिगत जीवन बिताएका भण्डारी सार्वजनिक भएको एक वर्षमात्र भएको थियो। भण्डारीलाई पनि राजा वीरेन्द्रको वानी व्यवहार, कुराकानी गर्ने शैलीबारे जानकारी थिएन।

प्रमुख सचिव भएकाले खनालले भण्डारीसँग गरिने कुराकानीका विषयमा टिपोट बनाएर वीरेन्द्रलाई दिइसकेका थिए। कुराकानीका लागि ९ वटा बुँदा बनाएर राजा वीरेन्द्रलाई दिएका थिए खनालले।

‘धेरै नेताहरू राजालाई पहिलोपटक भेट्दा हडबडाउँथे, डराउँथे। मदन भण्डारी राजासँग कसरी प्रस्तुत हुँदा रहेछन्, हडबडाउँदा रहेछन् कि रहेनछन्, कत्तिको आँटिला नेता रहेछन्, म त्यो जान्न चाहन्थेँ’, वीरेन्द्र–मदनबीचको भेटघाटबारे गतसाल एउटा कुराकानीमा खनालले भनेका थिए, ‘त्यस्तो भेटघाटबाट सम्बन्धित नेतामा कत्तिको संस्कार छ भन्ने पनि जान्न पाइन्थ्यो। त्यसैले, त्यो भेटमा म छेउमा बसेँ।’

मदन भण्डारीलाई भेट्नासाथ राजा वीरेन्द्रले भनेका थिए, ‘चुनाव जित्नुभएकोमा तपाईंलाई बधाई छ’, भण्डारीले वीरेन्द्रलाई ‘धन्यवाद’ भने। र, नमस्कार गरेर बसे ।

कुराकानीको नोट खनालले बनाइदिएकै थिए, त्यसै आधारमा कुराकानी सुरुआत गरे वीरेन्द्रले।

‘अहिले राजनीतिक परिस्थिति बदलिएको छ, बदलिएको परिस्थितिमा हाम्रो भेट भएको छ’, वीरेन्द्रले प्रस्ताव राखे, ‘परिस्थिति बदलिएकाले प्रस्टसँगै कुराकानी गरौँ है।’

भण्डारीले सहमति जनाए।

‘म त संवैधानिक राजा हुँ। संवैधानिक राजा भएकाले मेरो भन्दा प्रधानमन्त्री (गिरिजाप्रसाद कोइराला) सँग तपाईंहरूकै बढी भेट हुन्छ’, वीरेन्द्रले भने, ‘मेरो अनुभवमा चाहिँ नयाँ प्रधानमन्त्री अलिक जिद्दी स्वभावका छन्। तपाईंहरुको कुरा नमान्न सक्छन्। त्यस्तो भयो भने प्रमुख प्रतिपक्षको हैसियतमा तपाईंहरू के गर्नुहुन्छ?’

भण्डारीको जवाफ थियो, ‘प्रधानमन्त्रीले हामीले भनेको कुरा मानेनन् र आफ्नै कुरामा जिद्दी लिइरहे भने हामी संसदमा अवरोध सिर्जना गर्छौं।’

भिडियाे:

संसदमा अवरोध गर्ने कुरा वीरेन्द्रले रुचाएनन्। ‘त्यसो गर्दा तपाईंहरू अलोकप्रिय हुन सक्ने खतरा रहन्छ’, उनले सोधे, ‘सदन अवरोध गर्नेबाहेक अरू के के विकल्प छन्?’

भण्डारीले भने, ‘हाम्रो पहिलो विकल्प सदन नै हो। सदनबाट सरकारलाई ठीक बाटोमा ल्याउन सकेनौं भने जनताको बीचमा जान्छौं।’

वीरेन्द्रले अर्को प्रश्न सोधे, ‘नेताहरूको भनार्इ र गरार्इमा फरक हुन्छ। जनता सामु जे कुरा भनिन्छ, ती कुरा पुरा गर्नुपर्छ। नत्र जनताको बीचमा अविश्वसनीय भइन्छ। तपाईंहरूले पनि जनतालाई आश्वासन मात्र दिने काम गर्नुहुने हो कि?’

नहुने कुरा बोल्दा जनतामा गलत सन्देश जाने बताउँदै भण्डारीले आफूले त्यस्तो नगर्ने बचनबद्दता प्रकट गरे।

वीरेन्द्रले प्रमुख प्रतिपक्ष भनेको ‘गभर्मेन्ट इन वेटिङ’ को रुपमा परिभाषित गरे र सत्तापक्ष असफल हुँदा प्रमुख प्रतिपक्षले सरकार बनाउने कुराको स्मरण गराए। यति भन्दै उनले एमालेले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गरोस् भन्ने कामना गरे।

‘तपाईंहरू जिम्मेवार रूपमा प्रस्तुत हुनुभयो भने जनताले तपाईंहरुलाई विश्वास गर्छन्’, वीरेन्द्रको सुझाव थियो, ‘त्यसैले तपाईंहरूले दीगो विचार राख्नुपर्छ, व्यवहार पनि जिम्मेवार गर्नुपर्छ।’

भण्डारीको जवाफ थियो, ‘हामी जनताको बीचमा शालीन तरिकाले, तर्कपूर्ण रूपले प्रस्तुत हुने प्रयास गर्नेछौं।’

‘तपाईंहरूको भूमिका संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रलाई बलियो बनाउने खालको हुनुपर्छ’, भण्डारीसँग वीरेन्द्रको अपेक्षा थियो, ‘अहिलेको व्यवस्थालाई बलियो बनाउन तपाईंहरूको तर्फबाट रचनात्मक भूमिका हुनुपर्छ।’

वीरेन्द्रका कुरा नाजायज थिएनन्। उनको कुरामा समर्थनस्वरुप मदनले टाउको हल्लाए।

खनालको सम्झनामा, उनले बनाइदिएका ९ वटा बुँदामध्ये ७ वटा बुँदामा राजा वीरेन्द्र र महासचिव भण्डारीबीच कुराकानी भएको थियो।

खनाललाई लाग्छ, त्यो भेटपछि राजा वीरेन्द्र र मदन भण्डारीले एकले अर्कालाई राम्रोसँग चिन्ने मौका पाए। दुबैजना एकअर्कासँग प्रभावितपनि भए। वीरेन्द्रलाई भण्डारी सुझबुझ भएका नेता हुन् भन्ने पर्‍यो, मदनलाई पनि आफूले सोचेजस्तो वीरेन्द्र निरंकुश कठोर स्वभावका राजा होइन रहेछन् भन्ने लाग्यो।

राजा वीरेन्द्रसँगको त्यो भेटपछि भण्डारी राजतन्त्रविरुद्ध कहिल्यै उत्तेजक रूपमा प्रस्तुत भएनन्। बरु उनले ‘राजापनि एउटा शक्ति हुन्’ भन्ने अभिव्यक्ति दिन थाले।

भण्डारी राजतन्त्र विरुद्ध उत्तेजक रुपमा प्रस्तुत नहुनुको अर्को कारण सत्तापक्ष–प्रमुख प्रतिपक्षबीचको सम्बन्ध तीतो बन्दै जानुपनि थियो सम्भवत। किनभने, टनकपुर सन्धि, जताततै सत्तापक्षको एकलौटीका कारण सरकारविरुद्ध प्रमुख प्रतिपक्षी एमाले आन्दोलनमा थियो। र, कांग्रेसविरुद्धको संघर्षको क्रममा भण्डारीले राजतन्त्रको विरोधको अर्थ देखेनन्।

फोनमै सही, भण्डारी र खनाल नियमित संवादमै थिए। दासढुङ्गा दुर्घटनाअघि वीरेन्द्र र मदन भण्डारीबीचको भेटघाटको खुलाशा भएको थिएन। जब दासढुङ्गामा जीवराज आश्रितसँगै भण्डारीको निधन भयो, मदनको जीवनसँग सम्बन्धित विभिन्न सामाग्री प्रकाशित हुन थाले। त्यसैक्रममा भण्डारीको एउटा डायरीपनि सार्वजनिक भयो, जसमा वीरेन्द्रसँग भएको भेटबारे उल्लेख थियो।

‘मदन भण्डारीले राजा वीरेन्द्रसँगको भेटघाट सार्वजनिक नगरौँ भन्नुभएको थियो, त्यसै अनुरुप भेटघाट गोप्य नै राखेको थिएँ’, ८६ वर्षीय खनालले नेपालखबरसँग कुरा गर्ने क्रममा सम्झे, ‘तर, डायरीमार्फत् सार्वजनिक भएपछि वीरेन्द्र–मदन भण्डारीबीचको भेट र संवाद गोप्य राख्नु जरुरी रहेन।’

***

(बिहिबार मदन भण्डारीको ६७ औं जन्मदिन हो। जन्मदिनको सन्दर्भमा राजा वीरेन्द्रका प्रमुख सचिव रेवतीरमण खनालसँगको वार्ताका आधारमा यो सामाग्री तयार गरिएको हो)

प्रकाशित १४ असार २०७५, बिहिबार | 2018-06-28 14:06:15
Max TV
Max TV
Zen Travels

author photo

सीताराम बराल नेपालखबर सम्पादक हुन्

@sitarambaral


प्रतिकृया दिनुहोस

NTC
NLIC
Westar
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
FCube
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Westar
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • cof

    बेइजिङमा नेपाली खाना चाखेपछि जापानका पूर्व प्रधानमन्त्रीले भनेः यति मिठो चिकेन करी खाएकै थिइनँ

    ‘नेपाल पुगेर पनि यति मिठो ‘चिकेन करी’ खान बिर्सिएँछु। जापानमा भएका भारतीय र नेपाली रेस्टुरेन्टहरूमा पनि यस्ताे स्वादिलो चिकेन करी चाखेको थिइनँ’,

  • शान्तिनगरमा बाढीकाे बितन्डा (भिडियाे रिपाेर्ट)

    बागमती राजधानी काठमाडाैंकाे सभ्यताकाे स्राेत पनि हो।

  • डुबानमा परेको काठमाडौंको तीनकुने क्षेत्र।

    सहरभित्र खोलाको वितण्डाः किन सोस्न छाड्यो काठमाडौंले पानी ?

    विगतका वर्षायाममा अविरल वर्षा भए पनि अहिले जसरी उपत्यकाका बस्ती डुबानमा पर्दैनथ्यो। पर्याप्त जंगल तथा खुला ठाउँ भएकाले आकाशेपानी सोस्थ्यो ।

  • पशुपति मुरारका

    पार्टीहरू जुट्दैछन्, निजी क्षेत्र फुट्दैछौंः पशुपति मुरारका (अन्तर्वार्ता)

    नेपालमा कांग्रेस र कम्युनिष्ट २ वटा मात्र पार्टी हुने दिन पनि अब आउन सक्छ। राजनीतिक पार्टीहरू यसरी एक हुँदैछन् तर हामी नीजि क्षेत्रका व्यवसायी...