सम्बन्ध त जीवनमा धेरै मानिससँग हुनसक्छ। तर कसैको मुटुमा चाहिँ ज्यादै थोरै मानिस मात्र बस्न सक्छन्। एमालेका तत्कालिन महासचिव मदन भण्डारी ६९ वर्षीय रामनाथ कोइरालाको मुटुभित्र त्यसैगरी बस्न सकेका पात्र हुन्।
त्यसैले मदन भण्डारीका प्रसङ्ग आउनासाथ रामनाथका आँखा टिल्पिलाउन थालिहाल्छन्।
काठमाडौंको मूलपानीमा रहेको ग्रिनहिल सिटी कोलोनीस्थित कोइरालाको निवासमा २० साउन ०७४ मा म झण्डै दिनभरि बसेको थिएँ। मदन भण्डारीबारे कुरा झिक्नासाथ उनी भावुक बने, उनका आँखा रसाए। गला अवरुद्ध भयो।
सुरुमा त उनी मसँग मदनबारे बोल्नै चाहेनन्। ‘मदनबारे म बोल्दै सक्दिन, यो विषयमा कुराकानी नगरौँ’, आँसु पुछ्दै कोइरालाले भने।
मलाई घरमा निम्त्याएकोमा उनलाई पछुतो लागेजस्तै भयो। मदनबारे कुराकानी गर्न उनलाई यस्तै अप्ठेरो हुन्छ भन्ने थाहा पाएर म विषयबस्तुबारे जानकारी नगराई उनीकहाँ पुगेको थिएँ। नातामा रामनाथका भाई पर्ने अग्रज पत्रकार तीर्थ कोइरालाको नाम लिएकाले मसँगको भेटघाट टार्न उनलाई अप्ठेरो भएको थियो।
मैले रामनाथसँग कुरा गर्नैपर्ने थियो। त्यसैले, अरु नै विषयमा कुराकानी गर्दै म लामो समय उनीकहाँ बसेँ। जतिसुकै अस्वीकार गरुन्, उनीसँग मदन भण्डारीको बाल्यकालमै जोडिएको मितेरी साइनोबारे कुराकानीका लागि उनलाई राजी गराउन सक्छु भन्ने विश्वास ममा थियो।
रामनाथकी जीवनसँगिनी इन्दिरा भट्टराई र मदन पत्नी विद्या पाण्डे (हाल राष्ट्रपति) पनि बाल्यकालदेखिकै साथी थिए। त्यसैले, मदन-विद्याबारे उनीहरुसँगको कुराकानी रोचक हुन्छ भन्ने लागेर म रामनाथ-इन्दिराको जोडी भेट्न पुगेको थिएँ।
***
राणा शासन भर्खर समाप्त भएको थियो। गाउँमा स्कूलहरु पर्याप्त थिएनन्। दुरदराजका गाउँमा कसैले पढ्ने भनेकै बेद, उपनिषद्, कौमुदी थियो। त्यसैले, १ पुस २००६ मा जन्मेका रामनाथ र १४ असार २००९ मा जन्मेका मदन दुबैलाई ताप्लेजुङको ढुङ्गेसाँघु गाउँमा गुरु लक्ष्मीप्रसाद पौडेलले कौमुदी पढाए।
दुबैका साझा गुरु बनेका लक्ष्मीप्रसाद पौडेल मदनका फुपुका छोरा थिए भने रामनाथका भाञ्जे भिनाजु। उनीहरुले २०१८ सम्म पौडेलसँगै पढे। त्यसपछि मदन ताप्लेजुङको तेम्बेमा पढ्न गए, रामनाथले गाउँमै पौडेल गुरुसँग बसेर पढाईलाई निरन्तरता दिए।
तेम्बेमा पढ्दापढ्दै मदनको परिवार मधेशमा बसाईं झर्ने भयो। बसाईंसराई हुने भएपछि रामनाथ र मदनको जोडी टुट्ने भयो भन्ने कुराले मदनका दाजु मनोज पिरोलिए। दाजुले रामनाथ–मदनबीचको सम्बन्धलाई चिरस्थायी बनाउने उपाय निकाले।
मनोजले प्रस्ताव राखे, ‘हाम्रा पिताजीहरु असाध्यै मिल्नुहुन्छ। उहाँहरु भन्दा तिमीहरु अझ धेरै मिल्ने भएका छौ। हामी मधेश झर्ने भएपछि तिमीहरु छुट्टिनै पर्छ। छुट्टिएपछि त के हो, के हो। तैपनि तिमीहरुको दोस्ती जीवन पर्यन्त रहिरहनु पर्छ। अब मित लगाओ। मितेरी सम्बन्धले दोस्तीलाई मजबुत बनाइरहन्छ।’
त्यसबेला टोपी साटेर, आफूसँग भएको उपहार दिएर मित लगाउने चलन थियो। तर, मदनका दाजु मनोजले ‘ल, तिमीहरु दुईजना मित भयौ’ भनेर घोषणा गरिदिए। रामनाथ-मदन मितेरी साइनोमा गाँसिए।
मदनको बाल्यकालको नाम मोतिलाल भण्डारी थियो। मदन भण्डारी नाम रहेको त उनी बनारस पढ्न गएपछि हो।
रामनाथका बाबुले मदनसँग छोराले मित लगाएको थाहा पाएछन्। एकदिन छोरा रामनाथको कपाल खौरिदिँदै गर्दा सोधिहाले, ‘तैंले मोतिसँग मित लगाएको हो?’
मित लगाउनु केटाकेटीका लागि लाजको विषय हुन्थ्यो। बाबुले हप्काएको भावमा मोतिसँग मित लगाएको हो भनेर सोधेपछि रामनाथ लाजले भुतुक्कै भए, थोरै डराएपनि।
त्यसबेला बाबुलाई दिएको जवाफ सम्झँदै रामनाथले भने, ‘नाक स्याँक स्याँक गर्दै मैले हो बा भनेँ।’
गाली र माया दुबै मिसिएको भावमा रामनाथका बाबुले भने, ‘मोति मेरो मामाको छोरा हो, मामाको छोरासँग मित नलगाएको भए हुने।’
रामनाथ झन् लाजले मरेतुल्य भए।
रामनाथ र मदनको घर माङ्वाए खोलाको वारिपारि पर्थ्यो। मदनहरु मधेश झर्ने दिन नजिकिँदै थियो। मित-मित भेट्ने कुरा लाजको विषय हुन्थ्यो। साथीसँगीले ‘मितज्यू-मितज्यू भेट भए, घ्याम्पो जत्रा पेट भए’ भन्दै जिस्क्याउँथे। त्यसैले, छुट्टिनु भन्दा अघिल्लो दिन गाउँकै अलि एकान्तको सत्तले पाटी भन्ने ठाउँमा भेट्ने निर्णय गरे।
दुबैजना लुकी लुकी सत्तले पाटी पुगे। त्यहाँको चौतारोमा बसे। विदाईको क्षण भएकाले रुँदै अँगालो हाले। ‘ताप्लेजुङमा हामी दुईबीचको त्यो नै अन्तिम भेट थियो’ रामनाथले विदाईको क्षण सम्झे।
बसाईं-सराईले मदन र रामनाथलाई छुट्टयायो। तर, यी दुईबीचको सम्बन्धलाई चिठीपत्रले जोडिरह्यो। केही वर्षपछि रामनाथको परिवारपनि ताप्लेजुङबाट विराटनगर बसाईं सर्यो। मदन बनारस पढ्न गइसकेका थिए। रामनाथ कालिङपोङतिर गए। बनारस-कालिङपोङमा रहेका मदन-रामनाथबीच पत्राचार जारी रह्यो।
रामनाथलाई सम्झना छ, पत्रमा उनीहरु एकअर्कालाई ‘मित्र’ भनेर सम्बोधन गर्थे। र, उनलाई थकथकी पनि छ, ती पत्रहरु सुरक्षित राख्न नसकेकोमा। ‘ती चिठी सुरक्षित राख्न पाएको भए कति महत्वपूर्ण हुन्थे होलान्’ उनले भने, ‘महत्व बुझ्न सकिएन, कता गए कता ती पत्रहरू।’
यति भन्दै गर्दा उनी फेरि ढुङ्गेसाँघु नै फर्के, जहाँ मदनसँगै उनको बालापन बितेको थियो।
‘मदन सानैदेखि मोटो थिए, नाडीपनि ठूल्ठूला थिए, बनारस र बृन्दाबनमा छँदा खोकी लागेपछि दाजु मनोजले घिउमा मेथी फुराएर खुवाउनु भएछ’, उनले भने, ‘घिउमा फुराएको मेथी खाएपछि उहाँ झन् मोटाउनु भएछ।’
३ जेठ ०५० मा मृत्यु हुनुअघि मदनको जीउ निकै खाइलाग्दो थियो। राजनीतिक कला र भाषणमा मात्र मदन मेधावी थिएनन्, पढाईमा पनि उत्तिकै तीक्ष्ण थिए। उनको स्वर पनि सुमधुर थियो। ०४६ पछिको खुला परिवेशमा मदनका भाषणहरु लोकप्रिय हुनुमा ओजनदार शब्द, तिखो बतृत्व क्षमताको मात्र भूमिका थिएन, सुरिलो स्वरपनि एउटा कारण थियो।
जतिबेला उनीहरु गाउँमै कौमुदी पढ्दै थिए, सन्ध्याको बेला ‘किताब पढ्न हुँदैन’ भन्ने मान्यता थियो। त्यसैले, सन्ध्याको बेला कीर्तन गरिन्थ्यो। मदन असाध्यै मीठो स्वरमा कीर्तन गाउँथे।
सानैदेखि संस्कृतका विद्यार्थी भएकाले मदन धार्मिक प्रबृत्तिका थिए। रामनाथको भनाईमा, मथुरा–बनारस बृन्दाबनको राजनीतिक माहोलले मदनमा राजनीतिप्रति आकर्षण बढायो, उनी कम्युनिष्ट बने।
बनारसबाट नेपाल फर्केर राजनीतिमा पूर्णकालिन र भूमिगत भएका मदन बेलाबेला विराटनगरस्थित रामनाथको घर गइरहन्थे, सेल्टरका लागि।
***
ताप्लेजुङका रामनाथ-मदनबीच जस्तो मित्रता थियो, त्यस्तै मित्रता थियो, भोजपुरका इन्दिरा भट्टराई र विद्या पाण्डेबीच। रामनाथ-मदनका बाबु जस्तै विद्याकी आमा र इन्दिराकी आमापनि सानैदेखिका मिल्ने साथी थिए।
इन्दिरा-विद्याको घरको दुरी करिब दुई घण्टा थियो। एकातिर आमाहरुबीचको मित्रता, अर्कोतिर इन्दिरा र विद्या पढ्ने स्कूल एउटै। दुई बीचको मित्रता अरु झाङ्गियो। क्याम्पस जीवनमा पनि उनीहरु सँगै भए। उमेरमा जेठी भएकाले विद्या इन्दिरालाई दिदी भन्थिन् भने इन्दिरा विद्यालाई बहिनी।
त्यही गाढा मित्रताका कारण साथीसँगीहरुले इन्दिरा-विद्यालाई मितेनी साइनोमा गाँस्न उत्प्रेरित गरे। तर, रामनाथ-मदनजस्तो उनीहरु मितेरी साइनोमा गाँसिएनन्। इन्दिराले सम्झिन्, ‘मित लगाएपछि झन् टाढा भइन्छ भनेर हामीले मित लगाएनौँ।’
समयक्रममा इन्दिरा र विद्या भौतिक रुपमा टाढा भए। उनीहरुको विहेबारी पनि भयो। ताप्लेजुङका रामनाथको भोजपुरकी इन्दिरासँग परम्परागत विहे भयो।
संयोगपनि कस्तो! रामनाथका मित मदनले झण्डै इन्दिरासँग मितेरी साइनो गाँसेकी भोजपुरकै विद्यासँग भूमिगत रुपमा जनवादी विहे गरे।
इन्दिराको रामनाथसँग विहे भएपछि पनि विद्या इन्दिराकहाँ गइरहन्थिन्। रामनाथलाई ‘भिनाजु’ भनेर सम्बोधन गर्थिन्। सेल्टरका लागि रामनाथकहाँ गइरहने मदन उनकी पत्नी इन्दिरालाई ‘मितिनी भाउजु’ भनेर सम्बोधन गर्थे।
‘मदन र विद्या हाम्रो घरमा आइरहन्थे, तर छुट्टाछुट्टै। विद्या मेरो विहे भइसकेको छ त भन्थिन्। तर श्रीमान् कहाँ हुनुहुन्छ त भनेर सोध्दा ‘कहिले पोखरा हुनुहुन्छ त कहिले काठमाडौँमा हुनुहुन्छ भन्थिन्। हाम्रै घरमा आइरहने मदन विद्याका श्रीमान् हुनुहुन्छ भन्ने हामीलाई थाहा थिएन’, इन्दिराले भनिन्, ‘त्यसैले, पञ्चायतकालभरि मदनलाई मैले श्रीमानको मितज्यूका रुपमा मात्र चिनेँ, श्रीमानले पनि विद्यालाई मेरी बहिनीजस्तै साथीको रुपमा मात्र चिन्नुभयो।’
२०४६ मा पञ्चायत ढल्यो, बहुदल आयो। लामो भूमिगत जीवन परित्याग गर्दै मदन खुला भए, नेकपा (माले) को प्रवक्ताका रुपमा। २३ कात्तिक ०४७ मा नेपाल अधिराज्यको संविधान जारी भएपछि मदन मालेको महासचिवका रुपमा चिनिए।
खुला राजनीतिमा आइसकेकाले कतिपय अवसरमा मदन विद्यासँगै देखिन थाले। त्यसपछि रामनाथले पत्नी इन्दिराबाट थाहा पाए कि, मदन भण्डारी विद्याको श्रीमान् रहेछन्।
तर, रामनाथ दिदीसरह कि बाल्यसखा इन्दिराका श्रीमान् हुन् भन्ने विद्यालाई अझै थाहा थिएन।
एक दिन कुनै पारिवारिक जमघटमा रामनाथ र मदनबीच भेट भयो। मदनका साथमा विद्यापनि थिइन्। पहिलेझैँ त्यो भेटमा पनि विद्याले रामनाथलाई भिनाजु भनेर सम्बोधन गरिन्।
अरुबेला यो सम्बोधनलाई स्वभाविक रुपमा लिने रामनाथ त्यसदिन चाहिँ विद्यासँग ठट्यौलीभावमा पड्के, ‘अब पनि के भिनाजु, भिनाजु भनिरहन्छ्यौ, मदन मेरो मित हो। तिम्रो र मेरो साइनो अब भेना-सालीको होइन, मित-मितिनीको हो।’
विद्या छक्क परिन्। आफ्ना मितज्यूको जीवनसँगिनीसँग विद्याको बाल्यकालदेखिको सम्बन्ध रहेछ भन्ने कुरा त्यहीँ थाहा पाएर मदनपनि छक्क परे।
विद्याले रामनाथसँग भनिन्, ‘यो कुरा तपाईंले किन पहिल्यै नभन्नु भएको त?’
रामनाथले जवाफ फर्काए, ‘तिमीले पनि आफ्नो श्रीमान् मदन हुन् भनेर किन हामीलाई नभनेको नि!’
विद्याले दिएको जवाफ रामनाथलाई अहिलेपनि सम्झना छ। ‘के गर्नु, उहाँ भूमिगत मान्छे। परिस्थिति नै त्यस्तै थियो, त्यसैले उहाँबारे केही नभनेको हुँ’, विद्याले दिएको जवाफ उधृत गर्दै रामनाथले भने, ‘त्यही भेटघाटपछि हामीहरुको बाल्यकालको सम्बन्ध आपसमा थाहा भयो।’
***
खुला राजनीतिक परिवेश, अनि बाल्यकालिन सम्बन्धको नयाँ खुलासा- २०४६ पछि मदन-विद्या र रामनाथ-इन्दिराको परिवारबीचको सम्बन्ध अरु प्रगाढ भयो। दुबै परिवार एकअर्कोमा गइरहन्थे। बरोबर भेटिरहन्थे।
३ जेठ ०५० मा दासढुङ्गामा भएको दुर्घटनामा परेर मदनको मृत्यु हुनु अघिल्लो हप्ता रामनाथ-इन्दिरा नक्साल ढुङ्गेअड्डास्थित मदनको डेरामा गएका थिए।
इन्दिराको सम्झनामा त्यो शनिबारको दिन थियो। सम्भवतः यो दम्पति २६ बैशाख ०५० मा मदनको डेरामा गएको थियो, विहानको खाना खाने गरी।
त्यसदिन उनीहरुले मदन बस्ने फ्ल्याटमा जाने बाटो पहिले भन्दा केही फरक देखे। रामनाथको भनाईमा, तल्लो तलाबाट उक्लँदा मदन बस्ने फ्ल्याट नपुग्दै भर्याङमा यसपटक ग्रील थियो। त्यो ग्रील त्यसअघि थिएन।
दासढुङ्गा दुर्घटनाताका मदनको डेरा रहेको घर र सुरक्षाका कारण निर्माण गरिएको फलामे ढोका (इन्सेटमा)
‘सुरक्षाको दृष्टिले यो लगाउनु पर्ने भयो भनेर मदनले भन्नुभयो’, रामनाथले सम्झे, ‘आफूमाथि सुरक्षा थ्रेट छ भन्ने कुराको अनुभूति उहाँलाई भइसकेको रहेछ।’
रामनाथले लामो सुस्केरा हाल्दै थपे, ‘त्यो बेला सुरक्षा थ्रेटको कुरा मैले ख्याल गरिनँ। आखिर त्यस्तो हुनु रहेछ। अर्को हप्ता दासढुङ्गामा मदन भण्डारीको ज्यान गइहाल्यो।’