Infocus
अबिच्यूरी

डा उपेन्द्र देवकोटा र म अन्तरङ्ग प्रतिस्पर्धीः डा बाबुराम भट्टराई


Infocus


डा उपेन्द्र देवकोटा
डा उपेन्द्र देवकोटा

बेलायतबाट उपचार गरेर फर्केपछि म डा. देवकोटालाई भेट्न अस्पतालमा गएँ। र भनें, ‘हाम्रो जीवन क्षणिक छ। जीवनभर हामी मित्र रह्यौँ। अन्तिम अवस्थामा हामी सौहाद्र्धपूर्ण ढंगले विदा भएर संसारबाट विदा हुनुुपर्छ।’

NIC ASIA

प्रतिनिधि सभा निर्वाचनलगत्तै जब मेरा बाल्यकालका सहपाठी डा. उपेन्द्र देवकोटालाई असाध्य रोग लागेको थाहा पाएँ, म निकै दुखी भएँ। बेलायतमा उपचार गरेर उहाँ नेपाल फर्कनुभयो, म (२० वैशाख २०७५ मा) भेट्न गएँ। अस्पतालको त्यो भेटमा जति पुराना कुरा सम्झन सक्यौँ, पुराना घटनाहरुलाई सौहाद्र्धपूर्ण ढंगले लियौँ। पुराना घटनाबारे आआफ्ना अनुभूति साटासाट गर्‍यौँ।

000

जीवन भनेको तीता मीठा घटनाहरूको सँगालो हो। पुराना कटुताको अनुभूति म उहाँलाई दिन चाहँदैनथेँ। प्रिय साथीको अन्तिम समयमा मैले त्यसो गर्नुपनि हुँदैनथ्यो, तर उहाँ आफैंले खुलेर कुरा राख्नुभयो। उहाँ आफैंले भन्नुभयो, ‘चुनावको बेलामा म आफैँले तपाईंबारे त्यसरी भन्नुहुँदैनथ्यो, मैले बोलेर अलिकति गल्ती गरेँ।’

२०७४ को प्रतिनिधि सभा चुनावमा उहाँ म प्रतिस्पर्धा गरेको गोरखा–२ मा वाम गठबन्धनको पक्षमा प्रचारका लागि जानुभएको थियो। उहाँ र म वैचारिक रुपमा नै अलग भएपछि मैले त्यसलाई स्वभाविक रुपमा लिएको थिएँ। त्यो प्रसङ्ग मैले कोट्उन पनि चाहेको थिइनँ। तर उहाँले नै कोट्याउनु भयो।

मैले भनेँ, ‘ठीक छ, तपाईं आफैंले यसरी लिनुभएको रहेछ, मैले त त्यसलाई अन्यथा मानेको छैन, तपाईंले पनि त्यसलाई अन्यथा नलिनुस्। हाम्रो जीवनभरको सम्बन्ध छ। संसारमा हामी आउँछौँ, जान्छौँ।’

मेरो थप भनाई थियो, ‘तपाईंपनि विज्ञानको विद्यार्थी, म पनि विज्ञानको विद्यार्थी। हाम्रो जीवन क्षणिक हो। जीवनभर हामी मित्र रह्यौँ। अन्तिम अवस्थामा हामी सौहाद्र्धपूर्ण ढंगले विदा भएर संसारबाट विदा हुनुुपर्छ।’

त्यसपछि हामीले बाल्यकालका घटनाहरुको स्मरण गर्‍यौँ। र, पुराना दिनहरु सम्झेर रोमाञ्चित भयौँ।

000

देवकोटासँग बाल्यकालदेखि नै मेरो अनन्य सम्बन्ध रह्यो। गोरखामा हामी छिमेकी गाउँका बासिन्दा हौँ। म गोरखाको हाल पालुङटार नगरपालिका–१ को बासिन्दा हुँ। देवकोटाको घर पालुङटार–४ मा पर्छ। पालुङटार नगरपालिकामै पर्ने लुइँटेलस्थित अमरज्योति जनता हाइस्कूलबाट हामी दुबैले एसएलसी पास गर्‍यौँ। २०२६ को एसएलसीमा म बोर्डफष्ट भएँ, देवकोटा बोर्ड टेन्थ (दशौँ) हुनुभयो।

अमरज्योति हाइस्कूलमा म २०१९ सालदेखि पढ्न थालेको हुँ। त्यो स्कूलमा ३ कक्षादेखि नै मेरो पढाई सुरु भयो। ३ कक्षामा भर्ना भएँ, तीन महिनामा नै फष्ट (पहिलो) भएपछि ४ कक्षामा गएँ। ४ कक्षामा पनि फष्ट भएँ र ३ महिनामा नै ५ कक्षामा पुगेँ। यसरी २०१९ मा भर्ना भएको म, एक वर्षभित्र २–२ पटक फष्ट भएर कक्षा फड्कँदै २०२० सालमा ५ कक्षामा पुगेँ।

देवकोटाले मालतीगैरा भन्ने ठाउँको प्राथमिक स्कूलमा ३ कक्षासम्म पढ्नुभयो र त्यहाँको ‘फष्ट ब्वइ’ को रुपमा कक्षा ५ मा पढ्न अमर जनता हाइस्कूल आउनुभयो। मालतीगैरा भन्ने ठाउँ उहाँको घर नजिकै थियो। यसरी सहपाठीका रुपमा कक्षा ५ देखि हाम्रो यात्रा अघि बढ्यो। म अमरज्योतिको ‘फष्ट ब्वइ’, उहाँ मालतिगैरादेखिको ‘फष्ट ब्वइ’। अरु स्कूलहरुबाट पनि थुप्रै ‘फष्ट ब्वइ’ हरु अमरज्योति हाइस्कूलमा पढ्न आइपुगेका थिए। हाम्रो कक्षा धेरै ‘फष्ट ब्वइ’ हरुको जमघटस्थल बन्न पुग्यो। सबैतिरका ‘फष्ट ब्वइ’ हरु जम्मा भएकाले निकै ठूलो प्रतिस्पर्धा हुने भइहाल्यो।

तर, सबैलाई उछिन्दै ५ कक्षाको परीक्षामा म नै फष्ट भएँ। उपेन्द्र देवकोटा सेकेण्ड हुनुभयो।

अमरज्योति हाइस्कूलमा २०२६ मा एसएलसी दिने बेलासम्म देवकोटा र म सहपाठीका रुपमा रह्यौँ। ५ देखि १० कक्षासम्म सधैँ म फष्ट, उहाँ सेकेण्ड हुने क्रम चलिरह्यो। हामीबीच स्वच्छ प्रतिस्पर्धा थियो र त्यो प्रतिस्पर्धाले हामीलाई लाभ नै पुर्‍यायो।

डा भट्टराई (बायाँबाट पहिलो), डा देवकोटा (बायाँबाट चौथो)

000

बेलायतबाट उपचार गरेर फर्केपछि देवकोटाले आफ्नो बारेमा भन्नुभएको छ, ‘म खेलकूदमा रुचि राख्थेँ, सानो छँदा झुम्रोको भकुन्डो बनाएर खेल्थेँ।’

हाम्रो पालामा फुटबल खेल्ने चलन थिएन, भलिबलको चलन थियो। उहाँ भलिबल राम्रो खेल्नुहुन्थ्यो। मेरो रुचि चाहिँ खेलकुदमा कम, पढाइलेखाइ र चिन्तनमननमा बढी थियो। खेलकुदमा भाग त लिन्थेँ, तर प्रतिस्पर्धाका लागि होइन, शारीरिक व्यायामका लागि मात्र। तर उहाँहरुले खेलेको हेरिहेरी मैलेपनि भलिबल राम्रैसँग सिकेको रहेछु। त्यही कारण पछि स्कूलले आन्तरिक प्रतिस्पर्धाका लागि टिम बनाउँदा हेडसरले भलिबलको टिममा मलाई पनि राखिदिनुभयो। ‘अरुले खेलेको हेर्दाहेर्दै मपनि राम्रै भलिबल खेल्ने भएछु’ भनेर दंग परेँ। तर म त्यो टिममा सहभागी भइनँ।

मैले सोचेँ, ‘उपेन्द्रले भलिबल खेल्छन् भने मैले पनि किन भलिबल नै खेल्ने, म ब्याडमिन्टन खेल्छु।’

मैले ब्याडमिन्टन खेलेँ, राम्रो गरेँ। हाम्रो टिमले पुरस्कार पनि जित्यो।

एकपटक निबन्ध प्रतियोगिता भयो। अरु विषयमा त म सधैँ फष्ट हुन्थेँ। तर त्यो प्रतियोगितामा देवकोटा फष्ट हुनुभयो, म सेकेण्ड भएँ। त्यसले मलाई निकै छोयो, म चिन्तित भएँ। त्यसले गर्दा ‘नेपाली साहित्यमा म पनि राम्रो गरेर देखाउँछु’ भन्ने भावना पलायो। मैले धेरै मिहिनेत गरेर नेपाली पढेँ। त्यसैको परिणाम हो, एसएलसीमा नेपालीमा उच्च अंक, ८१ नम्बर प्राप्त गरेँ।

एसएलसीमा नेपाली विषयमा सबैभन्दा धेरै नम्बर ल्याउने विद्यार्थीलाई मदन पुरस्कार गुठीले ‘केदार पुरस्कार’ दिँदो रहेछ। मैले त्यो पुरस्कार पाएँ। देवकोटा र मबीचको यस्तो प्रतिस्पर्धाले हामी दुबैलाई राम्रो गर्‍यो। उहाँ आफ्नो क्षेत्रमा ख्यातिप्राप्त हुनुभयो, म पनि आफ्नो क्षेत्रमा सफल भएँ।

हामी दुबै २०११ मा जन्मेका हौँ। १०–१६ वर्षको उमेर तीब्र प्रतिस्पर्धाको उमेर थियो। देवकोटाले कुनै विषयमा मेरो भन्दा बढी नम्बर ल्याउनु भयो भने अर्को पटक मैले अलिक बढी जोड गर्थेँ र उहाँ भन्दा बढी नम्बर ल्याउँथें। उहाँपनि त्यस्तै प्रयास गर्नुहुन्थ्यो।

उतिबेला ९ सय पूर्णाङ्कको परीक्षा हुन्थ्यो। देवकोटा र म अर्थात् ‘फष्ट ब्वइ’ र ‘सेकेण्ड ब्वइ’ बीच जहिल्यै करिब १ सय नम्बर बराबरको फरक पथ्र्यो। ‘सेकेण्ड ब्वइ’ र ‘थर्ड ब्वइ’ बीच पनि करिब १ सय नम्बरकै फरक पर्थ्यो। म प्रायः सबै विषयमा फष्ट हुन्थेँ। यदाकदा कुनैबेला कसैले म भन्दा बढी नम्बर ल्याइदिन्थ्यो। त्यसो हुनेबित्तिकै अलिक बढी पढेर अर्को परीक्षामा मैले जितिहाल्थेँ। टेष्ट र एसएलसीमा भने रोचक भयो। टेष्ट परीक्षामा ९ सय पूर्णाङ्कमा मेरो ७ सय ५२ (८३ प्रतिशत) आयो। देवकोटाको ६ सय ८३ नम्बर आयो। उहाँ र मबीच ६९ नम्बर मात्र फरक पर्‍यो।

टेष्टको तुलनामा एसएलसी परीक्षामा हामी दुबैको कम नम्बर आयो। ६ सय ९१ नम्बर ल्याएर म ‘बोर्ड फष्ट’ भएँ। देवकोटा ‘बोर्ड टेन्थ’ हुनुभयो। उहाँको ६ सय २२ नम्बर आयो। टेष्टमा जस्तै एसएलसीमा पनि उहाँ र मबीच ६९ नम्बरकै फरक पर्‍यो। म र देवकोटा ६९ नम्बरका प्रतिस्पर्धी जस्तै भयौं। देवकोटा र उहाँपछि धेरै नम्बर ल्याउने भैरब खकुरेलबीचको अन्तरचाहिँ धेरै रहेन। खकुरेलले ६ सय २१ नम्बर ल्याउनु भयो। तर, उहाँ एघारौँ नम्बरमा रहेकाले बोर्डमा उहाँको गणना गरिएन।

000

कतिपय मानिसहरु भन्छन्, यस्तै प्रतिस्पर्धाका कारण देवकोटा र मबीच त्यति सहज सम्बन्ध थिएन, बोलचाल पनि थिएन। यो कुरामा भने सत्यता छैन। हामी प्रतिस्पर्धी थियौँ। हाम्रो पृष्ठभूमि पनि अलिक फरक खालको थियो। उहाँ बहिर्मुखी स्वभावको हुनुुहुन्थ्यो। साथीभाईसँग धेरै कुराकानी गर्ने, ठट्टा रमाइलो पनि धेरै गर्ने। यसका विपरित म अन्तर्मुखी र चिन्तनशील खालको थिएँ।

हुन त, हाम्रो पुर्खाहरु ज्योतिषी परिवारका हुन्। तर बुबा विशुद्ध किसान हुनुभयो। बुबा किसान भएकाले म विशुद्ध किसान परिवारबाट आएँ। देवकोटा र मबीच अलिक बढी प्रतिस्पर्धाको भावना हुनुमा पारिवारिक र स्वभावगत भिन्नताले पनि काम गर्‍यो। देवकोटाको गाउँको नाम नै ‘पण्डित गाउँ’ हो। उहाँको गाउँमा पढ्ने लेख्ने, पुरेत्याइँ गर्नेहरु धेरै थिए। उहाँको बुबा कविराज हुनुहुन्थ्यो। त्यसैले, पढाइलेखाइमा उहाँको परिवार अगाडि थियो।

मपनि ३ कक्षादेखि नै फष्ट हुँदै आएको थिएँ। एक वर्षमा दुई दुई पटक फष्ट भएकाले एक वर्षमा नै कक्षा फड्केर ५ कक्षामा पुगेको थिएँ। देवकोटालाई पर्‍यो होला, ‘म पढ्या लेख्या परिवारबाट आएको, उताबाट पनि फष्ट नै भएर आएको छु। कक्षामा जित्न त मैले नै पर्ने हो।’

देवकोटाको मनोविज्ञानले म फष्ट भएको स्वीकार गर्न गार्‍हो भएको बुझिन्थ्यो। र, ‘शिक्षकहरुले मलाई अलिक बढी फेबर गरेका छन्’ भन्ने देवकोटालाई परिरहन्थ्यो। प्रतिस्पर्धाका बाबजुद हामीबीच कहिल्यै झगडा परेन, बाझाबाझ त झन् कहिलेपनि भएन। ५ कक्षाको परीक्षापछि भने हामीबीचको सम्बन्ध ‘शीतयुद्ध’ जस्तो भयो। कम बोलचाल हुन थाल्यो। ५ कक्षामा म फष्ट भएपछि यस्तो भयो। म त यसैपनि अन्तरमुखी थिएँ। सबैसँग कम बोल्थेँ। बहिर्मुखी स्वभावको त देवकोटा नै हुनुहुन्थ्यो। तर, उहाँले नै बोल्न छोडेपछि हामीबीच कम कुराकानी र बोलचाल हुने भइहाल्यो।

डा भट्टराई (बायाँबाट चौथो) र डा देवकोटा (बायाँबाट छैठौं), एसएलसी उतीर्ण भएपछि स्कूलले गरेको कार्यक्रममा

000

एसएलसी उतीर्ण गरेपछि हामी दुबै अमृत साइन्स क्याम्पस अस्कलमा आइएसी पढ्न आयौँ। मैले ‘म्याथम्याटिक्स’ लिएर पढेँ, देवकोटाले ‘बायोलोजी’ लिएर पढ्नुभयो। अमृत क्याम्पसमा पनि हामीबीच पढाइमा प्रतिस्पर्धा रहिरह्यो। आइएसीमा म फेरि ‘बोर्ड फष्ट’ भएँ, देवकोटा बोर्ड सातौँ हुनुभयो। क्याम्पस पढ्दापनि हामीबीच त्यति राम्रो बोलचाल भएन। साथीहरु साझा भएकाले हामीबीच साथीहरुमाझ भेटघाट त हुन्थ्यो, तर बोलचाल उतिसार्‍हो हुन्नथ्यो।

आइएसीपछि म कोलम्बो प्लान अन्तर्गत छात्रबृतिमा आर्किटेक्ट इन्जिनियरिङ पढ्न भारतको पन्जावस्थित चण्डिगढ गएँ। देवकोटा कोलम्बो प्लान अन्तर्गत छात्रबृत्तिमा नै आसामको डिब्रुगढ जानुभयो, मेडिसिन विषय पढ्न। हाम्रो पढाइको धारपनि अलग भएपछि त्यस्तो प्रतिस्पर्धा हुने कुरापनि भएन। भारतबाट पढेर फर्केपछि देवकोटा चिकित्सा पेशामा लाग्नुभयो। आफ्नो क्षेत्रमा उहाँले निकै राम्रो गर्नुभयो। म केही समय पिएचडी सक्नतिर लागेँ, पिएचडी सकेर आएपछि राजनीतिमा सक्रिय भएँ। भारतबाट फर्केर नेपाल आएपछि फेरि हामीबीच राम्रै बोलचाल भयो।

देवकोटा अन्तर्राष्ट्रिय रुपमा पनि ख्यातिप्राप्त न्यूरोसर्जन भइसक्नुभएको थियो। म जनयुद्धतिर लागेर राजनीतिक रुपमा चर्चामा रहेँ। यही कारण हाम्रो सम्बन्ध फेरि चर्चामा रह्यो। त्यसअबधिमा हामीले एकअर्काप्रति नकरात्मक टिप्पणी कहिल्यै गरेनौँ। उहाँबारे प्रसङ्ग आउँदा मैले यत्तिमात्र भनेँ, ‘डा देवकोटा व्यक्तिको सल्यक्रिया गर्नुहुन्छ, म समाजको सल्यक्रिया गर्छु।’

राजा ज्ञानेन्द्रले सत्ता लिएपछि देवकोटा स्वास्थ्यमन्त्री बन्नुभयो। संयोगवश लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री भएका बेला सरकार–माओवादीबीच वार्ता भयो, म माओवादीको तर्फबाट वार्ताटोलीको संयोजक थिएँ। देवकोटा सरकारको तर्फबाट वार्ताटोलीको सदस्य बन्नुभयो। मेरो धेरै कुराकानी सरकारी वार्ता टोलीका प्रमुखसँग नै हुन्थ्यो। देवकोटासँग सामान्य कुराकानी मात्र हुन्थ्यो। माओवादी खुला राजनीतिमा आएपछि चाहिँ हामीबीच धेरै नै कुराकानी हुन थाल्यो।

000

स्कूल पढ्दाताकादेखि नै म भन्दा देवकोटा राजनीतिक रुपमा बढी सचेत हुनुहुन्थ्यो। उहाँको दाजु बाचस्पति देवकोटा विद्यार्थी राजनीति हुँदै कम्युनिष्ट आन्दोलनमा हुनुहुन्थ्यो। त्यही कारण सानैदेखि उपेन्द्र देवकोटाको राजनीतिक रुझान वामपन्थी हुनगयो। म राजनीतिमा सामान्य रुचि त राख्थेँ। तर, मेरो परिवारमा भने राजनीतिक गतिविधिमा कोहीपनि संलग्न हुनुहुन्नथ्यो। हाम्रो नाता खलक बढी कांग्रेसमा भएकाले मेरो उठबस बढी कांग्रेससँग हुन्थ्यो। तैपनि सम्बन्ध सबैसँग राख्ने गर्थेँ।

अमृत साइन्स कलेजमा पढ्न आउँदा पनि म तटस्थ नै थिएँ। स्ववियू चुनावमा भोट हाल्दापनि मान्छे हेरेर हाल्थेँ। देवकोटा सुरुदेखि नै अखिलको पक्षमा उभिनुहुन्थ्यो। दाजु बाचस्पतिका कारण उहाँको झुकाव अखिलतिर रहन गयो। म चाहिँ स्वअध्ययनबाट वैचारिक रुपले मार्क्सवादको अध्ययनतिर लागेँ, मार्क्सवादी भएँ।

000

पछि के भयो कुन्नि, देवकोटा दरबारसँग नजिक हुनुभयो र ज्ञानेन्द्रको मन्त्री परिषदमा पनि स्वास्थ्यमन्त्री बन्नुभयो। त्यसपछि उहाँको छवि दरबारपरस्त हुनपुग्यो। जनयुद्धपछि जब हामी खुला परिवेशमा आयौँ, देवकोटासँग कुराकानी हुन थाल्यो। कुराकानीमा उहाँ राष्ट्रियताप्रति बढी संवेदनशील देखिनुहुन्थ्यो। त्यही कारण होला, ‘कांग्रेस–कम्युनिष्टले भन्दा राजाले नै राष्ट्रियताको रक्षा गर्छन्’ भन्नुहुन्थ्यो। दलहरुप्रति ज्यादा आलोचक हुनुहुन्थ्यो, ‘यिनले देश बरबाद बनाए’ भन्नुहुन्थ्यो। कुनै राम्रा घटना भए भने फेरि फोन गरेर ‘दलहरुले राम्रो गरेका छन् है’ पनि भन्नुहुन्थ्यो।

जब मैले माओवादी पार्टी छाडेँ र नयाँशक्ति बनाउने अभियान सुरु गरेँ, उहाँले फोन गर्नुभयो। र, ‘एकदम ठीक गर्नुभयो, ल भेटौँ’ भन्नुभयो। म उहाँलाई भेट्न उहाँको निवास पुगेँ। उहाँपनि वैकल्पिक शक्ति बनाउनुपर्छ भन्ने पक्षमा हुनुहुँदो रहेछ। तर, उहाँमा अलिक बढी सैद्धान्तिक राष्ट्रवादी कोण थियो। म प्रगतिशील राष्ट्रवादको कोणबाट कुरा गर्थेँ, विकास र समृद्धिलाई केन्द्रमा राखेर मात्रै नेपाल सही अर्थमा स्वाधिन बन्न सक्छ भन्थेँ।

000

सक्षम प्रतिस्पर्धीसँग प्रतिस्पर्धा गर्दा नै आफ्नो क्षमताको विकास हुन्छ। संसारका वैज्ञानिक चिन्तकहरुलाई हेरियो भने, सक्षम–सक्षमहरुबीचको प्रतिस्पर्धाले नै उनीहरुको विचार र क्षमता खारिएको देखिन्छ।

हामीलाई पनि धेरै मानिसहरु प्रतिस्पर्धी ठान्छन्। हो, हामी प्रतिस्पर्धी त थियौँ। तर हाम्रो प्रतिस्पर्धा सौहाद्र्धपूर्ण नै थियो। तुच्छतामा मैले कहिलेपनि विश्वास गरिनँ। जहिले पनि देवकोटाको सम्मान गरेँ। मलाई लाग्छ उहाँको जुन विशिष्ठ गुण र क्षमता छ, उहाँजस्तो व्यक्तित्वसँगको प्रतिस्पर्धाले मलाई खारिन सहयोग पुग्यो।

000

२० वैशाखको भेटमा हामीले पुराना दिनहरु सम्झियौँ। वातावरण भावुकतापूर्ण बन्यो। देवकोटाले नेपालका लागि जुन योगदान गर्नु भएको छ, त्यो धेरै महान् छ। म देवकोटालाई नेपालको महान् सपुतका रुपमा सम्झिने छु। 

000
(डा उपेन्द्र देवकोटासँगको सम्बन्धबारे डा बाबुराम भट्टराईको संस्मरण अन्तिम सम्पादन भइरहेको बेला देवकोटाको निधनको खबर आयो, सोमबार साँझ। देवकोटाको निधनपछि भट्टराईको संस्मरणलाई यहाँ अबिच्यूरीका रुपमा प्रकाशित गरिएको हो– सम्पादक)

प्रकाशित ४ असार २०७५, सोमबार | 2018-06-18 21:21:52
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • पुष्कर कार्की

    एआईजीको फुली थाप्नासाथ बेहोस ‘दोस्त’ भेट्न अस्पताल

    ‘संगठनभित्रको आन्तरिक बिषय बाहेक अन्यले हाँस्ने, टीका टिप्पणी गर्ने, कसले कहाँ बस्दा के गर्यो, को प्रहरी कर्मचारी कसको पक्षमा लागेर हिँडेको छ भनेर...

  • ओली र प्रचण्ड

    यस्तो छ ७ बुँदे निर्देशनसहित ओली र प्रचण्डले जारी गरेको विशेष सर्कुलर

    नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टी केन्द्रीय सचिवालयको १३ औँ बैठक लगत्तै विशेष सर्कुलर जारी गरेका छन्।

  • कांग्रेस-कम्युनिष्टको झगडाले भारतीयलाई थारु महाधिवेशन उद्घाटनको अवसर

    देउवाबाट उद्घाटन गराउने कुरामा नेकपा समर्थकहरु सहमत भएनन्। कांग्रेस-कम्युनिष्टबीच मतैक्यता नभएपछि सम्मेलनमा अतिथिको रुपमा आएका भारतको थारु...

  • बिमानस्थलमा प्रचण्डलाई स्वागत गर्दै बामदेब गौतम

    ‘पखाला लाग्यो’ भन्दै शीतलनिवास नगएका बामदेव प्रचण्ड भेट्न विमानस्थल पुगेपछि

    शुक्रबार साँझ फेसबुकमा लेखिएको सो स्टाटस शनिबार बिहानसम्म आचार्यले डिलिट गरिसकेका थिए। तर, यो प्रकरणले के देखाउँछ भने, राष्ट्रपति कार्यालय र...