शैलजा निराश बनेपछि भीमबहादुर तामाङलाई प्रदीप गिरिको पत्र


Infocus



यो पत्र बिसं २०’ को दशकको अन्तिमताकाको हो, कांग्रेसका वैचारिक–दार्शनिक नेता प्रदीप गिरिले अर्का बौद्धिक नेता भीमबहादुर तामाङलाई जेलबाट लेखेको। तामाङ अहिले जीवित छैनन्, १६ मंसीर ०६९ मा उनको निधन भइसकेको छ। गिरि कांग्रेसको राजनीति र वैचारिक-दार्शनिक कर्ममा उत्तिकै सक्रिय छन्।

६ पृष्ठ लामो यो पत्र केही बर्षअघि दोलखाको झुले गाउँस्थित स्व. तामाङका एकजना नातेदारको घरबाट संकलन गरिएको हो। झण्डै ५० बर्ष पुरानो भएकाले पत्रका रहेका केही वाक्य अस्पष्ट भएकाले अस्पष्ट भएको ठाउँ खालि राखेका छौं। गिरिले प्रयोग गरेको भाषाको मौलिकतालाई यथावत रहने गरी केही सम्पादनसाथ पत्र प्रस्तुत गरेका छौं- सम्पादक

प्रिय भीम जी

भोलि तपाईं भेटमा त आउनु होला नै। तैपनि भेटमा हतार हुने हुँदा धेरै कुरा संभव हुँदैन। र, म चाहिँ तपाईंसँग धेरै कुरा गर्न इच्छुक छु। धेरै यस्ता कुरा छन्, जो बाहिरका साथी र स्नेहीजनमध्ये तपाईंसँग मात्र गर्न सक्छु- चाहे व्यक्तिगत, चाहे समष्टिगत। ती कुरालाई क्रियान्वित पार्ने सन्दर्भमा पनि कता कता विश्वास छ- तपाईंले नै गंभीररुपमा सोच्नुहुनेछ। यसबाहेक म जेलभित्रको समय सदुपयोग गर्नका निमित्त चिन्तित छु। खोजेजस्तो पुस्तकको एकदम अभाव छ। यहाँ जो साथीहरु छन्- आलस्य यद्धा अक्षमताले गर्दा- शायद दुवैले- पुस्तक वा पत्रपत्रिका केही ल्याउन सकिरहेका छैनन्। तपार्इं यहाँ १५/२० दिन बस्नुभयो भने मेरो समस्या आंशिक रुपमा नै सही, हल होला। पुस्तक ल्याउने मानिसलाई त्यसको प्राथमिक ज्ञान कमसेकम चाहिँदो रहेछ भन्ने बुझेर व्याप्त अक्षमताको चर्चा गरेको हुँ।

पहिले म तपाईंबारे लेख्छु। मलाई अपसोस छ, यस्तो समयमा म तपाईंका साथ रहन सकिनँ। उत्साह र उल्लास, आत्मविश्वास र कर्मबोधले तपाईंलाई भरिपूर्ण पारेको होला भन्ने ठान्दछु। आफ्नो माटोको गन्धमात्र मादक हुन्छ। तर, अलिक दच्किएर नै भएपनि एउटा कुरा नसोधी रहन सक्दिनँ- आगामी दिनमा के गर्ने निर्दिष्ट त गर्नु भो? विगत तीन-चार वर्ष मैले कसरी गुजारें- वा हामीले कसरी गुजार्‍यौं, त्यो संझनाले मात्र मेरो मुखको स्वाद तीतो हुन्छ। तिनै वा तीभन्दा पनि निकृष्टतर दिन नगुज्रेलान् भन्ने के ग्यारेन्टी छ? उत्साह र मादकतामात्र के काफी हुन्छ? बितेका दिनमा पनि उत्साहको अभाव थियो जस्तो मलाई लाग्दैन-तसर्थ, शायद यी गुण बाहेक पनि अरु आवश्यकता छन्।

ज्यादा भन्न म सक्दिनँ। जे भन्छु- त्यो पनि मात्र यस कारणले के भने आफ्नो अत्यन्त र घनिष्टतम सहयोगी र मित्र मैले आफ्नू मनमनै बनाएको छु। संभव छ- मात्र यही मानसिक कारणले होस् (भरसक नहोस्) तपाईंमा अपूर्व संभावना (Potentialities) छ जस्तो मलाई लाग्दछ। लाग्दछ- तपाईंले अवसर, प्रोत्साहन र साथी पाए केही अद्वितीय र ऐतिहासिक भूमिका गर्नसक्छु- चाहे बौद्धिक चाहे अरु क्षेत्रमा। खुसी गराउन असत्य म भरसक बोल्दिनँ, यी निष्कर्ष मैले मुख्यतः दुई तथ्यबाट निकालेको छु (i) तपाईंको आफ्नु आस्था र विश्वासप्रतिको ईमानदारी (ii) परिश्रम गर्ने क्षमता। आफ्नु ईमानदार आस्थाले स्वतः तपाईंमा अरु अनेकन गुण थपिदिन्छ- यथा एउटा समग्र र व्यापक दृष्टि। मलाई लाग्दछ- मूलतः आस्थाकै अभावले गर्दा हामी अघिका वा हाम्रा समसामयिकले ती थुप्रा समस्या वा रोगको परीक्षण वा निदान साम्य गर्ने जरुरत देखेनन्, जस्ले ग्रस्त पारेर उनीहरुलाई पराजित पार्‍यो। तपाईंमा समस्यालाई बुझ्ने दृष्टिकोण मात्र छैन- त्यससँग जुझ्ने जीवन्तता र परिश्रम पनि छ। हो, ‘म गर्न सक्छु’ भन्ने तीव्र आत्मविश्वास भने तपाईंले आफूमा यथेष्ट थप्दै लैजानुपर्ला। Initiative नत्र कसरी आउने?

यिनै आस्था, अपेक्षा र उम्मिदले मलाई पटकपटक सोधाउँछन्- अब तपाईं के गर्नुहुन्छ? पहाडतिर जानुभन्दा पहिले कृपया यसबारे मसँग व्यापक वा सुक्ष्म चर्चा अवश्य गर्नुहोस्। एउटा कुरा तपाईंपनि स्वीकार गर्नुहोला- राजनीतिको चर्चा अवश्य गर्नुहोस्। राजनीतिको वर्तमान संकीर्णता, नपुंसकताबाट ढिलै भएपनि तपाईंको मोहभंग भएको छ। यो वर्तमान संकीर्णताको साटो व्यापकता, नपुंसकताको साटो प्रमविष्णुता र निर्णयात्मकता यस क्षेत्रमा ल्याउन सकिएन भने देश, संस्कृति, मनुष्य सब क्षयग्रस्त भएर जानेछन्। तर यसका निम्ति आफूलाई साँच्चो अर्थमा तैयार पार्नु छ। एशिया र अफ्रिका सम्पूर्णको नै मौजूदा दुर्दशाको मुख्य जिम्मेवारी त्यहाँको नेतृत्व र बुद्धिजीवी वर्ग (?) को टाउकोमा छ। ती सब यति काहिल, कमजोर र चरित्रहीन नभएका भए शायद हाम्रो अनुहार नै अर्काे हुने थियो। यूरोपको १९ औँ शताब्दीको इतिहासमा पनि आदर्श लोकतन्त्रको यही पराजय देखिन्छ (बेलायतबाहेक) जो हाम्रो शताब्दीमा यी महादेशमा छ, त्यहाँ तर एकातिर तत्कालीन नेतृत्वको प्रतिगामी भूमिका प्रष्ट छ भने अर्कातिर केही आशा र आस्थाका ज्योति पनि छन्। प्रगतिशील शक्तिको राजनीतिक पराजयका वावजुद १९ औं शताब्दीमा डार्विन, मार्क्सदेखि कोम्टे, काँचेका रुपमा जति मनिषी र विचारक भए, त्यति शायदै कुनै युगमा भए हुन्। बीसौं शताब्दीमा युरोपमा जे असल छ, बस् तिनैमा आधृत भएकोले।

तर हामीलाई के भएको छ? सामाजिक र आर्थिक शक्तिको ऐतिहासिक चक्रको दलन त छ नै, थोर बहुत मानसिक स्वायत्तता पनि बस बाहिरको, खास गरेर युरोपको अनुकरणले गर्दा र कायरता थपिएर मृत भइसकेको छ जस्तो छ। प्रश्न गर्ने समेत हाम्रो साहस वा प्रवृति समाप्त छ- उत्तरको कुरा परै जावस्। मुलुकबाट राजनीति र राजनीतिबाट चिन्तन (स्वतः मुलुक पनि) को निष्कासनको दोहोरो चाल सफल भए जस्तो छ। शायद मेरो यो आक्रोश पनि एक हदसम्म नपुंसक हो- तर कहिलेकाहीँ यो साँच्चै थाम्न नसकिने गरेर उर्लेर आउँछ। यथास्थितिवादका पक्षधरसँग भन्दापनि बढी आफूलाई परिवर्तनवादी भन्नेसँग रोष उम्लेर आउँछ। आफैसँग पनि भन्नोस्। एकसाथ हामीमा कति दोष आइपरेछ- अहिले अनुभूति भइरहेछ। शनैः शनैः नैतिकता र साहसमात्र शून्य भएको छैन- परिस्थितिसँग पनि तथाकथित परिवर्तनवादी पूर्णतः काटिएर गएका छन्। सतही र छिपछिपे बहसमा, छोटा र साना कलह र व्यक्तिगत लाभालाभबाट हटेर आधारभूत समस्यासँग इमानदारीपूर्वक परिचय गरेर तदनुरुप कदम चाल्ने कस्ले प्रयत्न गर्‍यो?

आफूले तेजीले गुजारिरहेको समयमा जे गर्न शायद जेलको बाध्यताले गर्दा, सक्तिनँ, त्यो बाहिर रहनुभएका तपाईंहरुले थाल्नुस् भन्ने तीव्र कामना गर्दछु। थुनिनुताका मैले केही साथीसँग र गिरिजाबाबुसँग पनि एउटा ‘खोज परिषद’ को स्थापनाको चर्चा गरेको थिएँ। गिरिजाबाबुले कति गंभीरतापूर्वक लिनु भएको छ, भन्न सक्तिनँ। तर साँच्चै ईच्छाशक्ति र एकाग्रतान भएको कसैलेपनि अंचलाधीश कार्यालयमा आजै रजिष्टर्ड गराएर यसलाई थाल्न सक्छ। गिरिजाबाबू पनि हिजोआज यहीँ हुनुहुन्छ रे। यदि उपर्युक्त योजना कार्यान्वित भयो भने काठमाण्डूमा पुनर्जागरण र पुनर्चिन्ततको वातावरण निर्विवाद रुपले कायम गर्न सकिन्छ। इतिहास, समाजशास्त्र, दर्शन र मुख्यतः अर्थशास्त्रलाई एकदम नयाँ कोणबाट हेर्नु परेको छ। शुरुमा यो ‘नयाँ कोण’ मात्र मीठो कल्पना (Wishful Thinking) रहन सक्छ- तर यो यथार्थतामा अनुदित हुनुपूर्वसम्म हामी देश र विदेशका ती अनेकन उदाहरणबाट परिचित हुन सक्छौं जहाँ हाम्रै जस्तो कथा, परिस्थिति थियो।

समाजवाद भन्ने शब्दको जति गिल्ला त हामीले झन् कुनै शब्दको शायद गरेकै छैनौं। जब हाम्रो चिन्तन पद्दतिमा साँच्चो चिन्ता र इमानदारी छैन भने मौलिकता कहाँबाट आओस्? यूरोपमा यो सदीको प्रारंभ दशकमा वा पहिले लास्की, अटो बायर (आष्ट्रिया) देखि मार्क्ससम्मले जति दत्तचित्त भै, जिजीविषा र लागु झैं यसका विभिन्न पक्ष र तिनको मानव जीवनको विभिन्न पहलूका बारेको संबन्धको ब्याख्या गरे र हामीले जसरी यसलाई मात्र नाराका रुपमा लियौं- त्यो तुलना गर्दा म विस्मित र अवसन्न हुन्छु। आफ्ना निमित्त आफै सोच्ने ‘मानसिक स्वायत्तता’ को कुरा त परै जावस्, जुन ‘अनुकरण’ को कुरा मैले लेखें, यदि त्यहाँ मात्रपनि निर्णय र इमानदार भएर हामीले लेनिन र ट्राँटस्की, रोजा लक्जमवर्ग र हिल्फरडँग, बर्नस्टीन र काँत्स्कीलाई मात्र फैसनका रुपमा नलिएको भए शायद हाम्रो दशा बेहतर हुने थियो।

साँच्चै विचित्र दशा छ। आत्मसंतोषका लागि संक्रमणकाल शायद यस्तै अवस्थालाई भन्छन्। नयाँ पुस्ताको झन अजीब दशा छ। एकातिर निराशा र किंकर्तव्यविमूढता, प्रलोभनले गरेर आत्माको हत्या गर्नेछन्- अर्कातिर तिनैमध्ये कति बीटनिक र गीन्सबर्ग, कालिन विल्सन र काम्यूमा मनपरि अर्थ लगाएर आश्रय लिन पुगेका छन्। यो विकारको सूचक नभए के हो? तपाईंकै शब्दावलीमा भन्ने हो भने, एकथरिका यस्ता पनि निस्केका छन् बुद्धिसँग नै विद्रोह गरे Anti-intellectual कहलाउनमा गर्व महसुस गर्छन्। तर, तपाईंजस्तो सोच्ने मानिसले साँच्चै केही नयाँ ठोस गर्ने हो भने यी सारा प्रवृत्तिसँग लड्न सक्नु पर्छ।

यसबीच एउटा पत्र पाएको थिएँ शैलजाको। हद निराशा र किंकर्तव्यमूढता, दिशाहीनता र व्यामोहबाट गुज्रेर शनैः शनैः आत्मघातको बाटोमा लाग्ने मध्येकै एउटा उनीपनि प्रतीक जस्ती छन्। यी सबलाई कसले एउटै सूत्रमा बाँध्ने? कस्ले सार्थकताको बोध गराउने? खै त्यस्तो संगठन र सत्ता? हामीले त्यस दिशामा जे प्रयत्न सुरुमा गर्‍यौं- ती मात्र लगन र अनुभवको अभावले प्युसरित भए। के म अब तपाईंले लगन र अनुभव साथ यता दृष्टि दिनु होला भन्ने ठानूँ?

१ असार
गाउँ र पहाडप्रतिको तपार्इंको मोहलाई हेयाउन सक्तिनँ तर काठमाण्डूले तपाईंका निमित्त विशालतर र निर्णायक क्षेत्र दिन्छ भन्ने कुरालाई तपाईंले अस्वीकार नगर्नु होला। तत्कालका लागि पत्रकारिता एकदम उपयुक्त पेशा हुने छ र काठमाण्डूको कुनै पनि अखबारले, प्रेसले तपाईंलाई काम दिन सक्ला जस्तो मलाई लाग्छ। यो बीचको जुन समय तपाईंले काठमाण्डूमा गुजारनु भयो- त्यसमा एक दुईवटा लेख गोरखापत्र, समीक्षा, मधुपर्क आदिमा दिने प्रयत्न गरेको भए हुने थियो। आखिर प्रचारको आफ्नो महत्व त यहाँ छ नै। गोरखापत्रमा जुनस्तरको (वा स्तर नभएको?) लेख छापिन्छन्, सो मैले देखेको छु। अलिकति पनि परिश्रमका पश्चात् फ्रांसको होस् वा भारतको राष्ट्रपति चुनावदेखि साहित्यसम्मका हलचलकाबारे लेखेर तपाईं पारिश्रमिक पनि आर्जन गर्न सक्नु हुन्छ। नूतन थपलियाहरुको वसुधा त देख्नु भयो नै होला। वसुधादेखि सूर्या प्र. को पत्रसम्ममा पनि आर्थिक सीमासम्म संबन्ध राख्दा मैले त कमसेकम आजीविकाको अभाव देख्दिनँ। निश्चय, आफ्नू मूल उत्साह भने यथावत राख्न सक्नु पर्छ। ६ महिना यहाँ र ६ महिना जनकपुर, जिलातिर रहने मिलाए पनि हुन्छ। तपाईं यहाँ रहनु भएका खण्डमा यहाँका साथी त लाभान्वित हुनेछन् नै, तपाईंको पनि आत्मविकास हुने छ- तर सबभन्दा ठूलो कुरो एउटा एकदम नयाँ पुनर्जागरणको छ- जहाँ तपाईं सूत्रधार बन्न सक्नु हुन्छ।

हाम्रो संबन्ध स्नेहिल भएकोले हो वा वरिपरि मैले अरु मानिस नदेखेकोेले हो- किन हो मलाई लाग्छ, वर्तमान अस्तव्यस्तता र अराजकतामा रहेका बुद्धिजीवीका बीच तपाईं एउटा ठोस भूमिका निर्वाह गर्न सक्नहुन्छ। काठमाण्डूमा तपाईंले किन काम देख्नु भएन, बुझ्न सकिनँ।

मलाई गाँवकाबारे भने भय छ- तपाईं त्यहाँ हराउनु हुनेछ। तपाईंको घरको, खास गरेर केटाकेटी तपाईंका उपर अधिकार छ भन्ने कुरा मैले बिर्सेको छैन र सत्यतः स्वीकार गर्ने हो भने त्यसको तत्कालिन हलको सुझाव म दिन सक्छु भन्ने पनि छैन। तर यसका वावजूद म चाहन्छु- अहिले छात्र, नवयुवक र बुद्धिजीवीका माझ नै केही ठोस र सिर्जनात्मक काम होस्। यसको सूत्रधार कोही ब्रम्हराक्षस जस्तो बुद्धिजीवी हुनुपर्छ भन्ने जरुरी छैन- आखिर बुद्धिजीवी त ती स्वयं छन् नै। तिनमा दृढताको अभाव छ- जसलाई चाहे चरित्रको, लगनको अभाव भन्नुहोस्। लगन, चरित्र र दृढता भएको मानिस तिनका बीच सफल हुन सक्नेछ। तपाईं हामीले निमित्त भइदिनु पर्छ- उनीहरु स्वयं अघि आउने छन्। सम्पर्क गर्ने क्षमता तपाईंको पुरा छ भन्ने त मलाई थाह छ नै।

बाहिरको परिस्थितिसँग काटिन गएको हुँदा संभव छ- मेरा प्रस्तावमा थुप्रा अव्यवहारिकतापनि प्रविष्ट भए हुन्। साँच्चि भन्नुहुन्छ भने मेरो यो आग्रह र आतुरताको मूलमा एउटै कारण छ- त्यो हो, तपाईंको व्यक्तित्व, जसलाई मैले अति नै महत्व दिएको छु। तपाईंले विकल्प सोचेर जे गर्नाेस्- तर आफ्ना संभावनाको पूर्ण उपयोग गर्नुस् भन्ने मेरो मनसाय हो। माथिका सारा कुरा तपाईं शायद जनकपुर बसेर पनि गर्न सक्नु हुन्छ। त्यहाँ पुस्तकालय र सूचनाहरुको अभाव मात्र एउटा अभाव छ।

तपाईं पहाडबाट १५-२० दिनमा काठमाण्डू फिर्ने कुरा गर्नुभएको छ। भरसक १-२ महिना बस्ने चाँजो मिलाएर आउनु होला। यसबीच तपाईंको सरोज काकासँग पनि भेट होला नै। वहाँसँग पनि निर्णायात्मक सलाह गर्नुहोला नै। त्यसपछि काठमाण्डू आउनु भयो भने शायद ज्यादा उपयोगी होला। थुप्रा त अब स्वास्नी छोराछोरीमा लागिसके होला, थुप्राले मात्र नयाँ भाग खान राल चुहाएका होलान् तर साँच्चै नयाँ र वास्तविक .... खातिर पनि तैयार रहने जस्तो जो औंलामा गन्न सकिने मानिसलाई ठानेको छु- त्यसमध्ये तपाईंहरु हुनुहुन्छ। त्यसैले यत्रो गन्थन गरें। मलाई गलत कमसेकम नलिनुहोला।

म सबभन्दा विस्मित छु, शैलजा, कौशल, केदारजी जस्ताको निराशा र डिसएल्यूजनमेन्टले। यिनीहरु सबको स्वरमात्रले पनि अब यी टुट्लान् जस्तो छ। किन? सत्य चिन्हने (चिन्ने) क्षमता पनि नयाँ पुस्ताको नष्ट होलाजस्तो छ। खास गरेर शैलजाको पराजित स्वरले त मलाई व्यक्तिगत रुपमा पनि उदिग्न बनाउनु स्वाभाविक नै हो। कृपया उनलाई काठमाण्डू छाड्न अघि नै एउटा पत्र अवश्य लेखिदिनुहोला। आखिर निराशाको के कारण छ? शैलजाले व्यस्त रहन कुनै कलेजमा लेक्चरशीप नै गरे पनि हुने। जून प्रेरणाले, शायद, उनी काम गर्थिन्– BP (बीपी कोइराला) को माया, त्यो उहाँको रिहाइका साथ उनका निमित्त समाप्त भइसक्यो। .... तपाईंलाई त्यस्तो लाग्दैन?

अरु कुरा म भेटमा भन्ने चेष्टा गरौंला। तर भेटमा सब कुरा भुसुक्क हुन्छन् र पो मार्‍यो। एउटा कुरा नबिर्सिनु होला- जहाँबाट भएपनि पत्र लेख्नुहोला। र, अँ, यो पत्रको उत्तर चाहिँ काठमाण्डू छाड्नुअघि यहीँबाट दिएर जानुहोला।

स्नेही प्रदीप

प्रकाशित २५ जेठ २०७५, शुक्रबार | 2018-06-08 15:51:07
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • वैदेशिक राेजगारीबाट फर्किएका युवा विमानस्थलमा

    पानीपुरीको आप्रवासन सम्बन्ध

    नेपालीहरुको आप्रवासनकोे इतिहास वर्तमान नेपाल निर्माणको शुरुवातदेखि नै भएको पाइन्छ।

  • रनरिद्द र हुन सेन

    ओलीले भनेजस्तै दुई प्रधानमन्त्री थिए एकबेला कम्बोडियामा

    प्रधानमन्त्री ओलीकै निमन्त्रणमा १५ दिन अगाडि काठमाडौँ आएका कम्बोडियाली प्रधानमन्त्री हुन सेन कुनै बेला आफ्नो देशमा दुईजना प्रधानमन्त्री मध्ये एक थिए।

  • मनीषा काेइराला

    विगतका कतिपय भोगाइ अमूल्य हुन्छन्

    क्यान्सर भएको थाहा भएपछि मलाई सधैँ त्यही कुराले पिरोलीरह्यो। क्यान्सर हुनु भनेको मृत्युको नजिक पुग्नु हो।

  • काठमाडौंमा छङ् ख सिन्

    चिनियाँ पर्यटकको अनुभवः मायालु नेपाली, काठमाडौंमै डरलाग्दा खाल्डा

    ‘नेपालको सबैभन्दा कहालीलाग्दो त यातायात रहेछ। सुन्दर दृश्यावली भएका गन्तव्य धेरै छन्, तर बाटो साँच्चिकै भएन के। यताउता जान खोज्यो, बाटोकै तनाव।’