कथा

मुस्कानवाली नर्स


Infocus



सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

‘तपाईं फेसबुक चलाउनुहुन्छ?’ अन्तिम दिन मैले उसलाई सोधेँ। 

‘चलाउँछु,’ मन्द मुस्कानका साथ उसले भनी।

मैले मोबाइलको डाटा अन गरेँ। फेसबुक खोलेँ। माथिल्लो भागमा रहेको सर्च अप्सनमा टच गरेँ। अनि उसको हातमा मोबाइल थमाएँ।

मोबाइल हातमा लिँदै एकपटक फेरि ऊ मुस्कुराई। मोबाइलमा आफ्ना हातका औँला दौडाउन थाली। करिब १ मिनेटसम्म उसका औँला मोबाइलको स्क्रिनमा चलिरहे। एकैछिनमा मोबाइल मतर्फ तेस्र्याई। मैले दाहिने हात अघि बढाएँ। उसले दुईपटक टाउको हल्लाई। म फिस्स हासेँ।

मोबाइल हातमा लिएर स्क्रिन लकअन गर्दासम्म ऊ त्यहाँबाट अलप भइसकेकी थिई। मैले ढिला नगरी फेसबुक सर्च चेक गरेँ। ‘अनुजा पोखरेल’ उसले टाइप गरेको नाम थियो।

०००

भाइरल ज्वरोका कारण ५ दिनसम्म म अस्पतालको बेडमा थला परेको थिएँ। उसले मेरो राम्रो हेरचाह गरेकी थिई। सोहीक्रममा पटक–पटक हाम्रा आँखा जुधे। आँखाकै इसारामा कुराकानी भए। तर मैले उसको नामसमेत सोध्ने हिम्मत गरिनँ। असाध्यै सोझो म! अन्तिम दिन बल्लतल्ल हिम्मत जुटाएर फेसबुकमा एड गर्न आग्रह गरेको थिएँ। त्यो पनि सांकेतिक रूपमा। कस्सो उसले बुझी र पो!

त्यसो त हामीबीच छैटौँ दिनसम्म आइपुग्दा कुनै संवाद नभएको भने होइन। मलाई याद छ। पहिलो दिन ऊ हातमा सुई बोकेर प्रकट भएकी थिई। मेरो ध्यान ऊभन्दा सुईमा बढी केन्द्रित थियो। सुई भन्नासाथ मनमा एक प्रकारको डर पलाइहाल्ने। घोचिहाल्ने हो कि। दुखिहाल्ने पो हो कि। तर उसले मेरो मनोभाव बुझिसकेकी थिई, मैले कुनै शब्द उच्चारण नगर्दै। सायद ऊ बिरामीको मुहार पढेर भित्री मनसाय बुझ्न सक्छे, मैले अनुमान लगाएँ। वा अर्की नर्सले स्लाइन चढाउन मेरो हातमा छेद गर्दा म काँपेको देखी, त्यसलाई पनि नकार्न सकिनँ।
‘केही हुँदैन, नआत्तिनुस्,’ पहिलोपटक उसले मेरा लागि खर्चिएका शब्द थिए यी।

‘सुई नलगाए हुँदैन।’ मलिन अनुहारसँगै दबेका शब्द मेरो मुहारबाट निस्किए।

‘सुई नलाई कसरी निको भइन्छ?’ उसले प्रतिप्रश्न गरी।

‘उता फर्कनुस् त’ म केही बोल्नुअघि उसले नै निर्देशन दिई। कस्ती छुच्ची केटी रहिछ, मैलै मनमनै सोचेँ। त्यसपछि चुपचाप उसको निर्देशन पालना गरेँ।

मेरो शरीरमा हातले स्पर्श गरी। कोमल थिए उसका हात। गुलाबको फूलले मेरो शरीरको कुनै अंगमा कसैले चलाइरहेको आभास भयो।

‘ल भयो,’ उसको आवाजले म झस्किएँ। उसले आफ्नो काम फत्ते गरिसकेकी थिई। मैले थाहै पाइनँ। अर्थात्, कुनै दुखाइ नै महसुस गरिनँ। सुई लगाएपछि चसक्क त दुख्नुपर्ने हो। त्यो पनि भएन।

‘दुख्यो त?’ उसले जिस्काएजस्तो लाग्यो। केही नबोली मैले नदुखेको संकेतस्वरूप टाउको मात्र हल्लाएँ। ऊ फिस्स हाँसी।

मैले उसलाई तलदेखि माथिसम्म नियालेँ। कतै कुनै खोट देखिनँ उसमा। सबैभन्दा आकर्षक उसको मुहार रहेछ, मैले निस्कर्ष निकालेँ। मुहारको शोभा मुस्कानले बढाएको हुनुपर्छ सायद। फिस्स हाँस्दा होस् या मन्द मुस्कानमा। ऊ साह्रै राम्री देखिन्थी।

अस्पतालको ५ दिने बसाइका क्रममा उसले मेरो हरसम्भव स्याहार गरी। मेरा हरेक कुर हेरचाह गरी। सबैभन्दा ठूलो कुरा त उसले मेरो सुईप्रतिको भ्रम मेटाइदिई। नर्सहरूप्रति मेरो दृष्टिकोण थप सकारात्मक बनाइदिई। उसलाई धन्यवाद, मैले मनमनै भनेँ।

उसको मुस्कान। मैले बिर्सनै नसक्ने अर्को यथार्थ थियो। मुस्कानमा खै कस्तो जादू थियो, मलाई थाहा छैन। तर जादू भने पक्कै थियो। म यति छिटै निको हुनुमा त्यसको पनि केही न केही भूमिका पक्कै थियो। जति ऊ मुस्कुराउँथी, मेरो आत्मविश्वास उत्तिकै बढ्थ्यो।

०००

‘कति मोबाइलमा झुन्डिन्छ यो?’ ममी कराउन थाल्नुभयो। हो पनि। अस्पतालबाट आएदेखि फेसबुकमै झुन्डिएको थिएँ। अनुजाले कतिबेला फ्रेन्ड रिक्वेस्ट एक्सेप्ट गर्ली भनेर। कतै नगर्ने त होइन? मनमा शंका छँदै थियो। होस्, प्रतीक्षाको फल मीठो हुन्छ भन्छन्, मैले कामना गरेँ– त्यस्तै होस्।

राति ९ बजे रिक्वेस्ट एक्सेप्ट भएको नोटिफिकेसन आयो। म दंग थिएँ। ढिला नगरी म्यासेज पठाएँ, ‘थ्यांक्स फर केयरिङ मी।’

‘डन्ट से मी लाइक दिस। द्याट वाज माइ जब,’ उसले तत्काल रिप्लाई दिई।

मैले स्माइली यमोटिकन पठाएँ। उसले त्यसमा लभ रियाक्ट गरी। फेरि बोल्ने पालो मेरै आयो। के भन्ने? अहँ, कुनै शब्द आएन। च्याट बक्समा औँला दौडाइरहेँ। लेखिएका शब्द मेटाइरहेँ।

‘अहिले हजुरलाई कस्तो छ?’ उसले नै म्यासेज गरी। मलाई भने ठूलै संकट टरेजस्तो अनुभव भयो।

‘फिट एन्ड फाइन’ तत्कालै जवाफ पनि फर्काएँ।

त्यसपछि हामीबीचमा लामै कुराकानी भयो। ऊ कुपण्डोल बस्दी रहिछ। घर इटहरी। नर्सिङ सकेर अस्पतालमा काम गर्न थालेको ६ महिना भएको रहेछ। उसको जीवन र संघर्षका बारेमा धेरै कुरा जान्ने मौका पाएँ। साथै उसले मेरो पनि।

यसरी हामीबीच एक हप्तासम्म निरन्तर कुराकानी भइरह्यो।

०००

एकदिन मैले ठूलो हिम्मतका साथ भेट्ने प्रस्ताव राखेँ। ‘अस्पतालबाहिर कस्तो देखिनुहुँदोरहेछ मलाई पनि हेर्न मन छ,’ अनुजाले प्रस्ताव स्वीकारी।

उसको कुराले ममा भने दबाब बढ्यो। भनिन्छ नि, ‘फस्ट इम्प्रेसन इज लास्ट इम्प्रेसन।’ म पनि त ऊप्रति पहिलो भेटमै आकर्षित भएको थिएँ। अस्पतालमा उसका लागि म अन्य बिरामी समान थिएँ। तर यो भेट भने विशेष। त्यसैले इम्प्रेसन जमाउने मौका मेरा लागि पहिलो थियो। र सायद अन्तिम पनि।

म बिहान ठीक ७ बजे इन्द्रेणी कफी सपमा पुगेँ। ऊ भने निर्धारित समयभन्दा ३० मिनेट ढिला आइपुगी। सरी भन्दै मेरो टेबलनजिक उभिई। मैले उठेर स्वागत गरेँ।

‘सरीले हुँदैन,’ मैले भनेँ।

‘अनि...?’ उसले प्रश्न गरी।

‘एकपटक मुस्कुराइदिए पुग्छ,’ मैले भनेँ। ऊ लजाई। गाला राताराता भए। शिर निहुरियो। नजिकै रहेको न्यापकिनले बिस्तारै गाला सुमसुम्याई। अनि एकैसासमा एक गिलास पानी पिई।

‘आइ एम बिग फ्यान अफ योर स्माइल,’ मैले वातावरण सहज पार्ने प्रयास गरेँ।

‘रियल्ली...’ ऊ बल्ल मुस्कुराई। म भने उसलाई हेरिरहेँ। एकोहोरिएर। यही मुस्कानका लागि त प्रतीक्षारत थिएँ।

उसका लागि क्यापुचिनो र मेरा लागि लात्ते कफी टेबलमा आइपुग्यो। कफी पियौँ। एकछिन कुराकानी गर्‍र्यौँ। उसले छुट्ने अनुमति मागी। बिदाइका हात हल्लाउनुअघि मैले भने, ‘फेरि हामी कहिले भेट्छौँ?’ ऊ केही बोलिन। मुस्कुराई मात्र। सायद छिट्टै, उसको मुस्कानको संकेत हो– मैले अनुमान लगाएँ।

०००

‘स्टोरी लेखेर पोस्ट गरेको?’ साँझपख अनुजाले म्यासेज गरी। रिसाएर गरी या खुसी भएर मलाई थाहा छैन। जेसुकै भए पनि कसैको मानहानि गरेको छैन, न नराम्रो नै केही लेखेको छु किन डराउनु, मनमनै सोचेँ।

मैले कुनै जवाफ फर्काउनुअघि उता टाइपिङ देखायो। सायद ऊ केही लेख्दै छे। प्रतीक्षा गरेँ।

‘के हामी अहिले भेट्न सक्छौँ,’ एकैछिनमा म्यासेज आयो। उसले भेट्ने प्रस्ताव राख्नु अनि मैले नकार्नु, असम्भव थियो।

‘१ घन्टाभित्र दरबारमार्गमा,’ उसले नै स्थान तोकी। मैले सहमति जनाएँ।

म दरबारमार्गको ‘द फिज क्याफे’ पुग्नुअघि ऊ त्यहाँ आइसकेकी थिई। ‘आजचाहिँ मैले १५ मिनेट कुरेँ,’ मलाई स्वागत गर्दै ऊ बोली। म ५ मिनेट छिटो पुग्दा ऊ १५ मिनेटअघि नै आएकी रहिछ। सायद ऊ आज गम्भीर छे।

‘कुराएकोमा सरी’ भन्दै म कुर्सीमा बसेँ।

‘अनि लेखकज्यू, मलाई कथा बनाइदिनुभयो होइन?’ बस्न नपाउँदै उसले भनी। मलाई पटक–पटक प्रश्नवाचक चिह्न खडा गरेको मन पर्दैन। तर उसले गरेकी थिई, त्यसैले बेठीक पनि लागेन।

बोल्नुअघि मैले एकपटक उसको अनुहार नियालेँ। खासै रिसाएजस्ती थिइन। पक्कै रिसाएकी छैन, अनुमान लगाएँ। फेरि एकपटक उसलाई नियालेँ। मुस्कुराई। साँच्ची रिसाएकै छैन ऊ, म पक्का भएँ।

‘जीवन नै एउटा कथा, व्यथा हो। मैले त कुनै एक पललाई उतार्ने प्रयास गरेको हुँ। सायद म कथा लेख्ने हैसियत राख्दिनँ। तर मलाई विषयवस्तु उतार्न मन पर्छ,’ मैले अलि घुमाउरो पाराले जवाफ फर्काएँ। ऊ ट्वाल्ल परेर मेरो कुरा सुनिरही। सायद बुझिन पनि होला।

‘म यस्ता कुरा जान्दिनँ, तर जे लेख्नुभएको थियो निकै राम्रो थियो। मैले पाँचपटकसम्म पढेँ नि,’ ऊ फेरि मुस्कुराई। साँच्ची भन्ने हो भने मलाई उसको मुस्कानले नवीन ऊर्जा प्रदान गर्छ। हिम्मत जगाउँछ। लाग्छ, मुस्कान नै मप्रति उसको सकारात्मक भाव हो। खोइ उसको मुस्कानमा म किन यसरी हत्ते हुन्छु, मलाई नै थाहा छैन।

‘तपाईं हुनुहुन्छ नै त्यस्तै। तपाईंका हरेक कुरा, व्यवहारले आकर्षित गर्छ मलाई। तपाईंको मुस्कान, मुस्कान सँगै ओठ, ओठसँगै मीठो बोली, बोलीसँगै शब्दहरू, शब्दसँगै प्रसंगहरू, प्रसंगसँगै लजालुपन, लजालुपनसँगै आँखा, आँखासँगै हेराइ, हेराइसँगै तपाईं अनि तपाईंसँगै तपाईं, हो तपाईं मात्र,’ मैले भनेँ। ऊ केही बोलिन।

त्यसैवेला टेबलमा कफी आइपुग्यो। वेटरको आगमनले ऊ झस्किई। सायद कल्पनामा कतै हराएकी हुनुपर्छ।

एकछिनपछि बोली, ‘यु आर सो नाइस पर्सन।’ र फेरि मुस्कुराई। उसलाई थाहा थियो त्यो मुस्कान मेरा लागि कति महत्वपूर्ण छ भन्ने। सायद त्यसैले मुस्कुराएकी हुनुपर्छ। मेरा लागि। अब त ऊ मेरोबारेमा सोच्नेसम्म भइसकिछ...! क कतै कल्पनामा हराएँ।

०००

ऊ अनलाइन थिई। ‘सुन न...’ मैले लेखेर पठाएँ।

हामीले एक–अर्कालाई तिमी भनेर सम्बोधन गर्ने सहमति जनाएका थियौँ।

‘भन न’ उसले तत्काल रिप्लाई गरी।

‘भोलि त तिम्रो बिदा है, के छ प्लान?’ मैले सोधेँ।

‘अहिलेसम्म त खासै केही छैन,’ उसले भनी।

‘मसँग घुम्न जान्छौँ त?’

‘कहाँ?’

‘गोदावरी,’ आँट गरेर मैले भने। उसले स्माइली पठाई। अर्थात्, ऊ मेरो कुरामा सहमत भई।

०००

अनुजा मेरो अंगालोमा बेरिएकी थिई। हामीले एक–अर्काको हात कसेर समातेका थियौँ। मेरो ओठ बिस्तारै अघि बढ्दै थियो, उसको ओठतर्फ।

एक्कासि बेडबाट तल झरेँ। आँखा खुल्यो। धत्, सपना पो देखिरहेको रहेछु। घडी हेरेँ। ७ः५० भइसकेको रहेछ। अनुजासँग ८ बजे भेट्ने कुरा थियो। अब उसले मार्ने भई, एक्लै बोलेँ।

मोबाइलमा उसको नम्बर डायल गर्न खोजेँ। तर, नम्बर नै थिएन। सम्झिएँ, धत् हामीले त लोकेसनअनुसार भेट्यौँ, फेसबुकमा च्याट गर्यौं, तर फोन नम्बर सेयर नै गरेनौँ।

हतारहतार लुगा लगाएर सातदोबाटो हानिएँ। त्यहीँ भेट्ने कुरा थियो।

ऊ मलाई कुरिरहेकी रहिछ। देख्नासाथ कान समाएँ। उसले कुनै प्रतिक्रिया जनाइन। पक्कै रिसाएकी हुनुपर्छ। केही नबोली बाइक पछाडि बसी।

बाटोभरि पनि केही बोलिन। गल्ती मेरै थियो। फकाउनु मलाई नै थियो। ऊ किन बोलोस्।

गोदावरी पार्कभित्र छिरेपछि बिहानको सपना सुनाएँ। ऊ जोड जोडले हाँस्न थाली। बल्ल फकिई– मैले मनमनै भनेँ।

मैले यस पललाई व्यर्थमा गुमाउन चाहिनँ। फेरि यो पल आउँछ, आउँदैन, थाहा थिएन। जसरी भए पनि प्रेम प्रस्ताव राख्नु थियो उसलाई। हो प्रेम प्रस्ताव। म उसलाई प्रेम गर्न थालिसकेको थिएँ, अन्जानमै। प्रेम मेरो बाध्यता थिएन। न रहर नै। तर पनि म यसबाट टाढा रहन सकिनँ।

मैले बुझेको प्रेम महसुस हो। प्रेम आभास पनि हो। जसले महसुस गरेको छ, उसले बुझेको छ प्रेम। जसले बुझ्न सकेको छैन, उसले कल्पना गरेको छ प्रेम। जसले कल्पना गरेको छैन, उसले भोगेको छ प्रेम। प्रेम जति बुझ्यो, उति जटिल छ।

अनुजा प्रसन्न मुद्रामा थिई। रमाइरहेकी। प्राकृतिक सुन्दरतासँग। मसँग। शान्त थियो वातावरण। अनि हामी थियौँ, एकान्तमा।

‘अब तैलेँ ढिला गर्नुहुँदैन,’ मेरो मन तरंगित हुँदै थियो।

अनुजा... (म रोकिएँ)

अनुजा तिमी... (फेरि रोकिएँ)

फेरि, अनुजा तिमीलाई के भने... (बिग्रियो)

ऊ मौन थिई। ठूला आँखा पारेर मलाई हेरिरहेकी। मेरो कुरा सुन्न आतुर। अलिअलि नर्भस पनि नभएकी होइन। म के भन्दैछु, सायद उसले बुझिसकेकी छ। उसका निर्दोष नयनले यसको संकेत गरिरहेका थिए।

लामो सास फेरेँ। एकपटक आकाशतिर हेरेँ। उसका आँखामा आँखा जुधाएँ। र, अर्को प्रयास गरेँ– अनुजा, मैले तिमीलाई पहिलोपटक अस्पतालमा देखेको थिएँ। कति मिठास थियो तिमीमा, बिरामीप्रति कति नम्र थियौ तिमी, अरूभन्दा धेरै फरक। अझ तिम्रो मुस्कान त झन्, वाह!

अस्पतालको ५ दिने बसाइका क्रममा तिमीले मेरो मनको कुनामा स्थान बनाउँदै गयौ। र म पनि लाचार भएर त्यो सबै स्वीकारिरहेँ।

त्यसपछिको हाम्रो भेट, हामीले गर्ने कुराकानी, हाम्रो निकटता कहीँ पनि तिम्रो स्वार्थ लुकेको पाइनँ मैले। प्रत्येक भेटमा मैले तिमीलाई नजिकबाट नियाल्ने मौका पाएँ। अस्पतालमा तिम्रो जुन चरित्र थियो, बाहिर पनि त्योभन्दा फरक थिएन। जसले मलाई झन् प्रभावित गर्दै लग्यो। र, तिम्रो मुस्कान। तिमी मुस्कुराउथ्यौँ, सन्तुष्टि मलाई मिल्थ्यो।

खासमा भन्ने हो भने अस्पतालमा तिमीले मलाई गरेको केयर, कुनै आमाले छोरालाई गरेको भन्दा फरक थिएन। तिमी सबैलाई यसैगरी केयर गर्छौ या मप्रति विशेष थियो थाहा छैन। तर मेरा लागि भने त्यो खास नै थियो।

तिमीले एकदिन भनेकी थियौ, ‘बाँचुन्जेल यसैगरी सबैको सेवा गरिरहने इच्छा छ।’ तिमीले सधैँ अरूको मात्र सेवा गरिरहने? तिम्रो सेवाचाहिँ कसले गर्छ नि?

हो, तिम्रो सेवाका लागि म तयार छु। यदि तिमीले त्यो अवसर मलाई दियौ भने। तिमीसँग मिलेर एउटा सुन्दर संसार बसाउन चाहन्छु। यदि तिम्रो स्वीकृति पाएँ भनेँ।

एकछिन मौनता छायो। ऊ केही बोलिन। म के बोल्नु? मनको बह सबै पोखिसकेको थिएँ।

उसले एकोहोरिएर मलाई हेरिरहेकी। मैले उसलाई। सायद सबैभन्दा पीडादायी क्षण यही होला। आफूले प्रेम प्रस्ताव राख्नु र उसको जवाफका लागि प्रतीक्षा गर्नु।

प्रतीक्षाको घडी अन्त्य भयो। ऊ बोली। ‘तिमीलाई पाउने जोकोही केटी भाग्यमानी हुनेछे,’ ऊ रोकिई।

उसले मलाई स्वीकारेको आभास भयो। ममा खुसीको सीमै थिएन। होस्, पनि कसरी। जीवनमा पहिलोपटक कसैलाई प्रेम गरेको थिएँ। र उसले पनि मलाई स्वीकारेकी थिई।

तर, म भ्रममा थिएँ। एकछिनपछि उसले भनी, ‘तर, म तपाईंकी हुन सक्दिनँ। किनकि म पहिल्यै कसैकी भइसकेकी छु।’

प्रकाशित १८ जेठ २०७५, शुक्रबार | 2018-06-01 16:27:13
Max TV
Max TV
Zen Travels
Vianet

author photo

कृष्ण आचार्य नेपालखबर वरिष्ठ संवाददाता हुन्

@novelkrishna


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • ओली र प्रचण्ड

    नेकपाका ४ नेताको ‘एक्सन’ ले प्रचण्डलाई कति फाइदा, ओलीलाई कति बेफाइदा?

    आफ्नै सरकारी निवास बालुवाटारमा बोलाइएको बैठक कक्षमा त ओलीले समयमै पुगेर बैठक सुरुवात गर्दैनन् भने धुम्बाराही पुगेर समयमा बैठक सञ्चालन गर्ने भन्ने...

  • बिगब्यासबाट नेपालको नाम अझै उँचो बनाउन सकूँः सन्दीप लामिछाने (अन्तर्वार्ता)

    केहीदिन अघिमात्रै यूएईमा भएको टी–१० फ्रेन्चाइज लिग खेलेर आएका नेपाली लेगस्पिनर बलर सन्दीप लामिछाने यसबीच नेपालमा जारी एभरेष्ट प्रिमियर लिगमा...

  • मिस नेपाल श्रृंखला खतिवडा

    शृंखलाले पार गर्न नसकेको त्यो घुम्ती

    ‘यो साह्रै अन्याय भयो। श्रृंखला खतिवडा टप ५ मा पुग्न डिजर्भ गर्थिन्।’

  • मदन खरेल, कार्यकारी अध्यक्ष, नेपाल वायु सेवा निगम

    चीनले सम्झौताभन्दा बढी तौलका विमान पठाएको छः मदन खरेल, अध्यक्ष, नेवानि (अन्तर्वार्ता)

    निगमलाई इन्टरनेशनल एयर ट्रान्सपोर्ट एशोसिएशन (अाएटा) मापदण्डमा पुर्याउने योजना छ। त्यसका लागि आएटामा आबेदन पनि दिइसकेका छाैं