रिमिक्स लोककथा

सुनपानी


Infocus



NIC ASIA

एकादेशमा एकजना बुढा मान्छे थिए। उनका गोरे नाम गरेको एक छोरा र छोरी थिए। जीवनभर पसिना बगाए पनि उनीसँग सुखसँग बाँच्न पुग्ने धनसम्पत्ति थिएन। सम्पत्ति जोड्न नसकेकोमा उनलाई ठूलो थकथकी थियो।

उनकी श्रीमति बेलाबेला बुढासँग गुनासो पोख्थिन्, ‘बुढा, तिम्ले ब्या’ गर्दाको तिलहरी र नौगेडी पनि सिध्यायौ, अब हुर्केकी छोरीलाई पराईको घर पठाउँदा पनि मेरो कान बुच्चै हुने भो।’

बुढाको कमाउने बेला घर्की सकेको थियो। बुढीको कुराले उनी मलिन बने। अनि सँगै रहेको जेठो छोरातिर पुलुक्क हेरेर भने, ‘चिन्ता नगर बुढी, यो छोरो अब हुर्किसक्यो।अब यसले सहराँ गएर जागिर खान्छ। अनि तँलाई सुनको नौगेडी र तिलहरी ल्याइदिन्छ।’

कुरा सुनेर बुढीको अनुसहार उज्यालो भयो। उनले ओठ लेप्य्राउँदै भनिन्, ‘खै, यो कहिले सहर जाने अनि कहिले सुन कमाउने१’

आमाको कुरा सुनेर जेठो छोरो बुरुक्क उफ्रियो, ‘आमा अब म सहर पस्छु, अनि तिम्लाई धेरै सुनका गहना लिएर आउँछु।’

बुढा बा, आमा र भाईहरु सबै खुसी भए। आमाले पटुकीको गाँठो फुकाइन् र छोराको हातमा बाटो खर्च थमाइदिँदै भनिन्, ‘ल, राम्रोसँग काम गरेस्, कमाएर बाउआमालाई खुसी बनाएस्।’

मैलो झोला बोकेर छोरो सहरतिर लाग्यो। बारीको पुछारमा पुगेपछि छोराले घरतिर फर्केर हेर्‍यो र फेरि अगाडि बढ्यो। बारीको छेउमा उभिएका बा आमाले आँखाले देखिञ्जेलसम्म छोरालाई पच्छ्याए, अनि पिढीको डिलमा टुसुक्क बसेर आँसु पुछे।

दिनहरु बित्दै गए। छोरोले सहरमा के गरेको छ, खायो कि खाएन होला! सुत्ने बेला आमा एक्लै फुस्फुसाउँथिन्। कहिलेकाहीँ आँखा फर्फराउँदा ‘छोरालाई केही भयो कि!’ भनेर तर्सन्थिन्।

त्यत्तिकैमा दशैँ आयो। गाउँमा रोटे र लिङ्गे पिङ थापियो। तरुना तन्देरीहरु माथ्लो डाँडामा मादल घन्काउन थाले। सहरतिर गएकाहरु ठूल्ठूला झोला लिएर गाउँ फर्कन थाले। बुढी आमा छोरा आउने बाटो हेर्न थालिन्। तर नवमीको साँझसम्म पनि उनको छोरा गाउँ फर्केन।

‘छोरालाई केही पो भयो कि!’ उनले बुढासँग भनिन्, ‘सप्पै आए, तर छोरो आएन, कतै खोजखबर पो गर्ने हो कि बुढा?’

बुढाले मुन्टो हल्लाए र भने, ‘भोलि बिहानै म माहिला ज्योतिषी हेराउँछु।’

ज्योतिषी बाले चामलको पोको फुकाए। त्यसमा सिन्काले चित्रहरु बनाए, अनि एक छिनपछि भने, ‘तिम्रो छोरोको धेरै धन कमाउने योग छ, उ फर्कन्छ , चिन्ता नलेऊ।’

दशैं आयो, तर छोरा आएन। बुढाबुढी बेलाबेला नानाथरी कुरा सोच्थे। तर, ज्योतिषीको कुराले ढुक्क हुन्थे।

बारीमा मखमली र सयपत्री ढकमक्क हुन थाले। तिहार आउनै लाग्दा छोरीले एकदिन आमासँग सोधिन्, ‘आमा तिहारमा त दाई पक्का आउनुहुन्छ हैन?’ बुढीआमासँग उत्तर थिएन। तर पनि उनले भनिन्, ‘ज्योतिषी बाले भनेको सुनिनस्, दाई धेरै पैसा कमाएर आउँछ।’

नभन्दै कुकर तिहारको दिन छोरा गाउँ फर्क्यो। उसले बडेमानको झोला बोकेको थियो। केही मोटाएको, कपडा पनि सुकिला। उसले आमा, बा र बहिनीलाई झोलाबाट लुगाफाटो झिकेर दियो। बाआमाभन्दा बहिनी दंग परिन्। एकैछिनमा उसले झोलाबाट सानो पोको निकाल्यो र आमाको हातमा राखिदिँदै भन्यो, ‘आमा, मैले तिम्रो लागि नौगेडी र तिलहरी कमाइदिएको छु।’

छोरा कमाउने भएकोमा उनीहरु असाध्यै खुसी भए। नौगेडी र तिलहरी लगाएर आमाचाहिँ पधेंरातिर हिँडिन्। पँधेर्नीहरुले आँखा आफ्नो नौगेडी र तिलहरीमा परोस् भन्ने बुढीको चाहना थियो।

नभन्दै माथिल्लो घरकी कान्छीको आँखा नयाँ गहनामा परिहाल्यो। कान्छीले बुढीतिर हेरेर भनिहालिन्, ‘लौ, यी बुढीको पनि दिन फर्केछन्, छोराको हातखुट्टा लागेका के थिए, बुढी पहेँलपुर पो बनिछ्न् त!’

पँधेर्नीहरुले बुढीका गहना छोए, केहीले आरिस देखाए, केहीले बुढीको दिन फर्केको भन्दै आ-आफ्नो बाटो लागे।

बुढी पानी बोकेर घर फर्किन्। पँधेर्नीहरु खासखुस गर्न थाले।

‘हैन हो माइली, सहराँ त सुनको खानी नै हुन्छ कि क्या हो, सहर गा’को ६ महिना भा’छैन, बुढी त पँहेलै भएर हिँड्न पो थालिन् त!’

अर्कीले थपिन्, ‘हैन, गोरेले के गर्दो र’छ सहराँ?’

‘खै, पल्लो गामको स्यानेले भनेको, भरिया हो रे, भरिया।’

‘नचाहिने कुरो, भरियाले पनि यस्तो कमाउँछ र?’

‘खै के हो के! ठूलै सुनवाला मान्छेसँग काम गर्ने रे भन्ने सुनेको हो।’

अर्की चाहिँले ओठ लेप्राइन्।

छोरो सहर फर्क्यो। बुढाबुढीको चरिफुरी बढ्दै गयो। बुढी सुनले झपक्कै हुँदै आइन्। गाउँतिर हल्ला चल्यो, ‘गोरे ल्हासाबाट सुन ल्याउने ठूलै मान्छे बन्यो रे!’

सहरमा छोराले के गर्छ, बुढा बाआमालाई थाहा थिएन। कहिलेकाहीँ गाउँ आउँदा ऊ तामझाम देखाउँथ्यो। ‘खर्चको कुनै चिन्ता नगर्नू’ भन्थ्यो। बाआमा मख्ख थिए। छोराले के काम गर्छ भन्ने उनीहरुलाई पत्तोसम्म थिएन।

दिनहरु बित्दै थिए। रोगले थलिएकी तल्लाघरे काहिँली झन गल्न थालिन्। काहिँली धेरै नबाँच्ने खासखुस चल्न थाल्यो। नभन्दै एक बिहान गाउँमा हल्ला भयो, ‘काहिँलीलाई तुलसीको मठमा सारियो। गाउँलेहरु जम्मा भए। मानिसहरु ‘राम राम’ जप्न थाले।

त्यस्तैमा कताबाट हो गाउँमा एक हूल नौला मान्छेहरु आए। उनीहरुले नमिठो आवाजमा कृष्णेको घर सोधे। भीडमा रहेको कसैले आफ्नो औंला कृष्णेको घरतिर सोझ्याइदियो। हस्याङफस्याङ गर्दै गएका उनीहरु एकैछिनमा ग्वार्रंग्वार्रर्ती ओरालो झरे। उनीहरुकै साथमा आएका कृष्णेका बा-आमाले घोसेमुण्टो लगाए।

गाउँलेहरुमा खासखुस चल्यो, ‘सुन चोरीको काम गर्ने गोरेले मान्छे पनि मार्‍यो रे, अहिले केरकारको लागि बाबु-आमालाई पक्रेको अरे।’

माथ्लो घरकी कान्छीले मुख थाम्न सकिनन्। ‘बुढाबुढीहरु खुब पहेँलै भएर हिँड्थे नि! मर्ने बेलामा ‘सुनपानी’ गर्न त के, त्यस्ता मान्छेको मुख पनि देख्न नपरोस्।’

प्रकाशित ४ जेठ २०७५, शुक्रबार | 2018-05-18 16:27:29
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • सेताे टीकामा एक नेपाली नारी

    दशैँ कसको, टीका कस्तो?

    नेपालमा नेवार जातिले सबैभन्दा पहिले रातो रंग प्रयोगमा ल्याएका हुन्

  • केन्याकाे पृथ्वी फाटेकाे स्थानमा सेल्फी खिच्दै एक युवक

    पृथ्वी फाटेर टुक्रिँदैछ अफ्रिकी महादेश

    केही महिनाअघि अफ्रिकी राष्ट्र केन्याको दक्षिण पश्चिम क्षेत्रको भूभागमा चिरा पर्‍यो। केही किलोमिटर लामो त्यो खाडल यतिबेला निरन्तर बढ्दै गएको छ।...

  • नारायणहिटीमा रहेको राजदण्ड हेर्दै प्रधानमन्त्री केपी शर्मा ओली

    हलीको लौरो किन संग्रहालयमा हुँदैन, किन राजाको राजदण्डमात्र हुन्छ?

    जनताले फालेको राजतन्त्रलाई यति सुविस्ता, यति सम्मानका साथ दुनियाँमा कहीँपनि बस्न दिइएको छैन, बस्न दिइएको हुँदैन। तर नेपालमा हामीले अत्यन्त उदार,...

  • दुबर्इमा पक्राउ परेका बेनु श्रेष्ठ (बायाँ) इन्टरपाेल पुलिसकाे नियन्त्रणमा

    इन्टरपाेलले दुबर्इमा पक्राउ गरेका सुन तस्कर गाैशालामा: ‘ठूला माछा’ बयान बाहिर

    प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा दुबईबाट पक्राउ गरेका सुन तस्करी ‘सप्लाई चेन’का मुख्य अभियुक्त बेनु श्रेष्ठले...