राम्रो-नराम्रो अभिनय छुट्याउने पाँच तरिका





दयाहाङ राई, क्रिस्टेन स्टेवार्ट र फिलिप सिमर हफम्यान
दयाहाङ राई, क्रिस्टेन स्टेवार्ट र फिलिप सिमर हफम्यान

चलचित्रको कुरा गर्दा कसैलाई राजेश हमालको अभिनय मन पर्छ, कोही दयाहाङ राईलाई मन पराउने हुन्छन्। कोही प्रियंका कार्कीको तारिफ गर्छन्, कसैलाई गौरी मल्ल मनपर्छ। उनीहरु के का आधारमा कुनै कलाकारको अभिनयलाई राम्रो र नराम्रो भन्छन् त?

NIC ASIA

प्रश्नोत्तर साइट कोरामा केही समयअघि यही प्रश्नको उत्तर एक निर्देशक मार्कस गेजुल्डले दिएका थिए, जसलाई थुप्रै पाठकले मन पराएका थिए। राम्रो र नराम्रो अभिनय छुट्याउने आधारबारे उनको आलेखको भावानुवादः

राम्रो र नराम्रो अभिनय छुट्याउने कुनै स्थापित मान्यता छ भनेर कसैले भन्छ भने यो बेकारको कुरा हो। यो व्यक्तिगत रुचीको कुरा हो। यसका विभिन्न ट्रेन्ड छन्। फिलिप सिमर हफम्यानको अभिनय मन पराउने मान्छे थुप्रै छन्। तर तपाईं मन पराउनुहुन्न भने पनि तपाईं गलत हुनुहुन्न। बढीमा तपाईं अलि सनकी हुनुहुन्छ।

म ३० वर्षदेखि कलाकारहरुसँग काम गरिरहेको निर्देशक हुँ। र म फिल्म इतिहासकारको छोरा पनि हुँ। राम्रो अभिनयको मेरो परिभाषा म यहाँ दिँदैछु। तर म जोड दिएर भन्न चाहन्छु, मैले ‘अल पचिनो महान अभिनेता हुन्’ भन्दा तपाईं सहमत हुनुभएन भने तपाईं गलत र म सही हुन्नौँ। यसको अर्थ हो, हामी दुवैको रुची अलग छ।

१. चरित्रले जे भोगिरहेको छ, कलाकारले वास्तवमै त्यही भोगिरहेको छ भन्ने विश्वास दिलायो भने ऊ मेरो लागि असल कलाकार हो। म केही हदसम्म शारीरिक (‘उसलाई साँच्चै गोली लाग्यो!’ ‘ऊ साँच्चै नै गुडिरहेको रेलबाट हामफाल्दै छ!’) र मुख्यतः मनोवैज्ञानिक (‘ऊ साँच्चै डराएको छ!’ ‘ऊ साँच्चै प्रेममा परेको छ!’) प्रभावको कुरा गरिरहेको छु। यदि कलाकारले नक्कल पारिरहेको जस्तो लाग्यो भने ऊ राम्रो अभिनेता/अभिनेत्री होइन।

२. कलाकारले मलाई चकित तुल्याउन जरुरी छ। यो एकदमै अस्पष्ट कुरा हो तर यो महत्वपूर्ण छ। दर्शकको ध्यान खिच्ने आवश्यकता नभएको साना भूमिका (उदाहरणका लागि हिरोको चेक साट्ने बैंकको क्यासियर) बाहेक कलाकारले वास्तविक देखिएर मात्र पुग्दैन। वास्तविक देखिनु मुख्य आवश्यकता हो सँगसँगै उसको क्रियाकलाप दर्शकले अगाडिबाटै अनुमान गर्न सकिने हुनुहुँदैन।

उदाहरणका लागि आफ्नो प्रेमी वा प्रेमिकाले सम्बन्ध अन्त्य गर्दाको प्रतिक्रिया सोच्नुहोस्। यस्तो अवस्थालाई व्यक्त गर्ने अनेकौँ स्वभाविक र विश्वसनीय तरिका हुनसक्छन्। अभिनेता/अभिनेत्रीको काम भनेको मानवीय सम्भाव्यताको चौडाइ र उसको आफ्नै सम्भाव्यताको गहिराई थाहा पाउनु हो। उसले यो गहिराइबाट अभिनय गनुपर्छ र दर्शकलाई चकित तुल्याउनुपर्छ। अन्याथा अभिनय झर्कोलाग्दो र सहजै अनुमान गर्न सकिने खालको हुन्छ।

दर्शकलाई आश्चर्यचकित बनाउने अभिनयका विभिन्न तरिका हुनसक्छन्। ग्यारी ओल्डम्यानजोनी डेपले अलगअलग भूमिका उत्तिकै विश्वसनीय तरिकाले खेलेर हामीलाई चकित तुल्याएका छन्। ज्याक निकल्सन साँच्चै नै आश्चर्यजनक छन्। उनी ओल्डम्यान र डेपजस्तो कुशल छेपारो नभए पनि उनले अब के गर्नेछन् भन्ने कुरा हामी कहिल्यै अनुमान गर्न सक्दैनौँ। तर उनले जे गरे पनि त्यो मनोवैज्ञानिक तथ्यमा आधारित हुन्छ। उनको अभिनय कहिल्यै झुठोजस्तो लाग्दैन।

क्रिस्टोफर वाकेन, ग्लेन क्लोज, अल पचिनोलगायतका कलाकारमा दर्शकलाई चकित तुल्याउने क्षमता छ। उनीहरुको छेऊ पर्दा पनि केही हदसम्म डर लाग्छ किनभने उनीहरु जुनसुकै बेला आफूमाथि खनिन सक्छन् जस्तो हामीलाई लाग्छ। उनीहरु पड्किन लागेका बमजस्ता छन्। त्यस्तै कैयौँ हास्य कलाकारले पनि हामीलाई विचित्र र बेढंगको तरिकाले चकित तुल्याउँछन्। ब्रिंगिङ अप बेबी मा क्याथरिन हेपवर्नक्यारी ग्रान्ट अथवा एन हलमा डायन किटनलाई हेर्नुहोस्।

ग्यारी ओल्डम्यान र जुलियाना मुर

ग्यारी ओल्डम्यान र जुलियाना मुर

३. राम्रो अभिनेताको कमजोरी छताछुल्ल देखिएको हुन्छ। महान् कलाकारले आफ्नो व्यक्तित्वको त्यो हिस्सालाई देखाउने गर्छन्, जसलाई प्रायः मानिसले लुकाएर राख्छन्। उनीहरु जहिल्यै नांगो हुन्छन्। कोही वास्तविकतामै नांगो हुन्छन् तर म यहाँ भावनात्मक नग्नताको कुरा गरिरहेको छ। खराब कलाकार सँधै सम्हालिएर बसेका हुन्छन्। उनीहरु आफ्नो कुरुप, नीच, घृणास्पद हिस्सालाई देखाउँदैनन्।

कलकार पर्दामा वा मञ्चमा नांगिएका अनेकौँ उदाहरण छन्। पिकनिक फिल्ममा रोजालिन्ड रसेलको नग्नता मलाई सबैभन्दा बढी मन पर्छ। उनी बुढी हुने र एक्लै मर्ने डरमा बाँचिरहेकी अधवैँशे शिक्षकको भूमिकामा देखिएकी छन्। फिल्ममा उनले आफूसँग विवाह गर्न एक पुरुषलाई मरिहत्ते गरेको एक हृदयविदारक दृश्य छ। उनी त्यो मान्छेको अघिल्तिर घुँडा टेक्छिन्। उनले आफ्नो आत्मसम्मानको हरेक पत्रलाई उधारिदिन्छिन् र आफूभित्रको भयभीत र चोटग्रस्त हिस्सालाई प्रकट गर्छिन्। त्यो हिस्सा हामी सबैभित्र रहेको भयभीत र चोटग्रस्त हिस्सा हो, जसलाई लुकाउन हामी खुब मेहनत गर्छौँ।

यो मैले माथि भनेकै कुरासँग सम्बन्धित छ। जब कलाकार नग्न र कमजोर बन्छ, उसले दर्शकलाई पनि चकित तुल्याउन सक्छ। र यो कुरा वास्तविकता जस्तो लागेन भने अभिनयको अर्थ पनि छैन। वास्तवमा यस्तो खालको भावनात्मक नग्नताको नक्कल गर्न निकै कठिन छ। यदि तपाईंलाई कुनै कलाकारले आफ्नो गुप्त हिस्सा देखाइरहेको छजस्तो लाग्यो भने तपाईं सही हुनुहुन्छ। उदाहरणका लागि ब्रायन क्रान्स्टन, जुलियाना मुर र द ब्राउनिङ भर्सनका माइकल रेडग्रेभलाई लिन सकिन्छ।

टम क्रुज र कियानु रिव्स

टम क्रुज र कियानु रिव्स

४. असल अभिनेतालाई कसरी सुन्ने भन्ने कुरा थाहा हुन्छ। वास्तवमा कलाकार नबोल्दाको समय उनीहरुलाई हेर्नु अझ बढी चित्ताकर्षक हुन्छ। कतिपय कलाकार साथमा अभिनय गरिरहेकाहरुको कुरा सुन्नुभन्दा आफ्नो अहं र प्राविधिक कुरा (अर्को संवाद सम्झिने प्रयास, आदि) मा अल्झेका हुन्छन्। अरुहरु सुनेको कुरामा ध्यान दिइरहेका हुन्छ। अरुले भनेको हरेक कुराले उनीहरुलाई शारीरिक रुपमै प्रभाव पारिरहेको हामी देख्नसक्छौँ, मानौँ शब्दहरुले उनीहरुको गालामा थप्पड हानिरहेको छ। उदाहरणका लागि क्लेयर डेन्सको अभिनय हेर्न सकिन्छ।

५. कलाकारमा अरुको चरित्र प्रकट गर्दा आफ्नो स्वर र शरीरलाई सोहीअनुरुप प्रयोग गर्ने क्षमता हुनुपर्छ। यसको अर्थ ऊ दुब्लोपातलो वा सिक्स प्याक भएकै हुनुपर्छ भन्ने होइन। जेम्स ग्यान्डोल्फिनी आफ्नो शरीर राम्ररी प्रयोग गर्न जान्दछन्। अर्थपूर्ण तरिकाले बोल्न र हलचल गर्न उनलाई आउँछ। उनको आवाज र शरीर एकअर्काका विरुद्ध हुँदैनन्।

यसको एक नकारात्मक उदाहरण हुन् क्रिस्टेन स्टेवार्ट। उनलाई हेर्नु पीडादायी काम हो। उनी क्यामराको अगाडि होइन, अन्तै कतै हुन चाहेजस्तो देखिन्छिन्। उनी आफूप्रति अत्यधिक सचेत लाग्छिन्।

मेरालागि फिलिप सिमर हफम्यान महान् अभिनेता थिए। किनभने उनीसँग यी सबै गुण थिए। उनको शरीर उति छाँट परेको त थिएन तर आफ्नो भएको शरीरलाई उनले प्रभावकारी तरिकाले प्रयोग गरे। उनी अन्य कलाकारलाई राम्ररी सुनिरहेका देखिन्छन्। तिनले भनेको कुराको प्रभाव उनलाई गहिरोगरी परेको देखिन्छ। र उनको प्रतिक्रिया पनि प्रभावकारी हुन्छ। उनी भित्रैदेखि कमजोर थिए। उनको सबैभन्दा अलग विशेषता यही थियो। उनले प्रकट गरेका कुरा सँधै इमानदार र अप्रशोधित हुन्थ्यो। यही कच्चापन अनि बौद्धिकता र अलिअलि हास्यचेतले गर्दा उनका फिल्म आश्चर्यजनक र नयाँ बनेका छन्।

जोनी डेप र जेम्स ग्यान्डोल्फिनी

जोनी डेप र जेम्स ग्यान्डोल्फिनी

धेरैले गर्नेजस्तो म टम क्रुजलाई घृणा गर्दिनँ। उनी बढीजसो विश्वसनीय लाग्छन्। यद्यपि उनी चाखलाग्दा छैनन्। उनी विरलै मलाई चकित तुल्याउँछन् र आफूभित्रको कमजोरीलाई कहिल्यै प्रकट गर्दैनन्। उनी संरक्षित, व्यवस्थित लाग्छन्। आइज वाइड सटमा उनी आफ्नो कमजोरीसहित प्रस्तुत भएका छन्। यसमा उनले राम्रो मेहनत गरेका छन्। तैपनि यो उत्कृष्ट थिएन।

थुप्रै मानिस, जो आफैँ कलाकार, निर्देशक वा फिल्मको किरो छैनन्, तिनलाई एक कलाकारले फिल्ममा दिने योगदानबारे उतिसारो थाहा हुँदैन। फिल्म निर्माणमा कसले के गर्छ, सबै दर्शकले जान्नुपर्छ भन्ने छैन। धेरैजसो मानिस कलाकारको चरित्र आफूलाई मन परेनपरेको आधारमा कलाकारको मूल्यांकन गर्छन्। तर प्रायःजसो त्यो काम राम्रो अभिनयको भन्दा पनि राम्रो लेखनको हुनेगर्छ। कसैले चरित्रका लागि तौल बढाए, घटाए, अपांगको अभिनय गरे वा त्यस्तै चमत्कार गरे भने त्यस्ता कलाकारलाई राम्रो ठानिन्छ। यी प्रभावशाली स्टन्ट हुन् तर अभिनेता वा अभिनेत्रीले गर्ने कामको गुदी यो होइन। रेन म्यान र क्रेमर भर्सेस क्रेमरका डस्टिन हफम्यानलाई तुलना गर्नुपरे म दोस्रो चाहिँ रोज्छु। रेन म्यानमा उनी स्टन्टका पछाडि लुक्न सफल भएका छन्। क्रेमर भर्सेस क्रेमरमा उनलाई इमानदार नबनी सुखै थिएन।

फिल्म मन परेको आधारमा पनि केही मानिस अभिनयलाई राम्रो ठान्छन्। मेरो विचारमा कियानु रिव्स साह्रै झुर अभिनेता हुन्। किनभने उनी झुठो र भावविहीन लाग्छन्। उनले संवाद बोल्दा आफ्नो बोली बोलेभन्दा पढेजस्तो लाग्छ। ‘रिजर्व’ रहनु र अभिव्यक्तिविहीन अभिनय गर्नु फरक कुरा हो। वास्तवमा रिजर्व रहने व्यक्तिको भूमिका निभाउनु अझ कठिन हुन्छ किनभने कलकारले थोरै अभिव्यक्तिमार्फत् धेरै कुरा देखाउनुपर्ने हुन्छ। रिमेन्स अफ द डेमा एन्थोनी हप्किन्स, थुप्रै भूमिकामा टमी ली जोन्सडर्टी ह्यारीमा क्ल्न्टि इस्टवुडलाई हेर्न सकिन्छ।

एन हल फिल्मको एक दृश्यमा डायन किटन र एन हल

एन हल फिल्मको एक दृश्यमा डायन किटन र एन हल

थुप्रै कलाकारको अडिसन लिइसकेकोले म जुनसुकै लेखकको संवादलाई लिएर पनि आफ्नै झैँ बोलेको सुन्ने बानी परिसकेको छु। त्यसैले मलाई रिव्स चाहिँ उभिएर लेखिएको लाइन भनिदिने अभिनेता लाग्छन्। उनले बोलेको सुन्दा मलाई लाग्छ, उनले वाक्यहरुलाई कागजबाट निकालेर आफ्नो दिमागमा पुर्‍याएकै छैनन्।

तर थुप्रै मान्छेले रिव्सलाई मन पराउँछन् किनभने तिनलाई म्याट्रिक्स फिल्महरु मन पर्छ। उनीहरु फिल्मलाई अभिनेतासँग मिसाएर हेर्छन्। ती फिल्ममा अन्य अभिनेता हुन्थे भने पनि दर्शकले तिनलाई मन पराउँथे। तर रिव्सले मुख्य भूमिका निभाएकोले दर्शकहरु उनीमाथि केन्द्रित हुन्छन्।

थुप्रै मानिस कलाकारको जीवनलाई पनि उसको अभिनयसँग मिसाउने गर्छन्। टम क्रुज यसको राम्रो उदाहरण हुन्। उनी साइन्टोलोजिस्ट (एक धार्मिक सम्प्रदायको सदस्य) हुन्। धेरै मानिस यो धर्मलाई मन पराउँदैनन्। त्यसैले उनीहरु टम क्रुजलाई पनि मन पराउँदैनन्। केही हदसम्म यसमा क्रुजको खराब अभिनय पनि जिम्मेवार छजस्तो लाग्छ। किनभने उनले दर्शकलाई आफ्नो निजी जीवन बिर्साउनेगरी अभिनय गर्न सकेनन्। केही हदसम्म उनी जति दक्ष भए पनि केही फरक पर्नेछैन। हालै उडी एलेनमिया फारोको कामप्रति मानिसहरुले कडा टिप्पणी गरिरहेका छन्। जोसँग उनीहरुको अभिनयको कुनै सम्बन्ध छैन। म उनीहरुलाई गाली गर्ने मानिस गलत छन् भन्दिनँ। म मात्र के भनिरहेको छु भने कलाकारको कामप्रति मानिसहरुको प्रतिक्रिया निकै जटिल हुन्छ र उनीहरुको प्रस्तुतिमा मात्रै आधारित हुँदैन।

प्रकाशित ४ जेठ २०७५, शुक्रबार | 2018-05-18 16:28:19
World Cup
World Cup
Bagaicha
Bagaicha
Tirupati Balaji
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • कांग्रेस जिल्ला सभापति भेलाको निष्कर्ष: सरकार सर्वसत्तावाद उन्मुख (पूर्णपाठ)

    १९ बुँदे घोषणापत्र जारी गर्दै नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको राष्ट्रिय भेला हेटौंडामा सम्पन्न भएको छ।

  • टीका राना

    डा उपेन्द्र देवकोटासँग नर्सिङ गर्दा

    जीवनको अन्तिम अवस्थामा आफ्नै देश फर्कने र अझ् जन्म गाउँ पुग्ने डाक्टर उपेन्द्र देवकोटाको इच्छाले जो कोहीलाई आफू जन्मेको ठाउँ र आफ्नो देशतिर डोर्याउँछ।

  • बेइजिङको ग्रेट हल अफ द पिपुलमा प्रधानमन्त्री ओलीलाई गार्ड अफ अनर दिइँदै, साथमा चीनका प्रधानमन्त्री ली

    नेपाल–चीन १४ बुँदे संयुक्त विज्ञप्तीः रेलमार्ग सम्झौता नयाँ युगको थालनी

    नेपाल र चीनले बिहिबार बेइजिङमा केरुङ–काठमाडौं रेलमार्ग निर्माण सम्झौताले नयाँ युगको थालनी गरेको भन्दै खुशी व्यक्त गरेका छन्।