संस्मरण

पियोनी फूलको वासना


Infocus



पियोनीको लय समातेर लालीगुराँसले हिमाल, पहाडहरू गाल्न सक्थे होला। हात हातमा बेरिएर आगन्तुकका झोलीमा लट्किन्थे होला। हाम्रा फूलहरू पनि सिर्जना र समृद्धिका आयाम बन्थे होला।

NIC ASIA

ढोकाबाट छिर्ने बित्तिकै फराकिलो कोठाभरि फूलै फूल मगमगाइरहेका थिए। मादल आकारका लाम्चा, चेप्टा भाँडाहरूमा फूलका लताहरू लपक्क टाँस्सिएका थिए। भोजन गरिने थाल कचौरामा सौन्दर्य पस्किएजस्तो थियो अनि केशपास सजाइरहेका युवतीहरू परम्परागत चिनियाँ मुस्कान छरेर पाहुनाको स्वागत गरिरहेका थिए। फूलको किनारा पारेर कुनै मरूभूमिमा ऊँटहरू रेशमी मार्ग पच्छाइरहे जस्तै। झट्ट लाग्थ्यो, यी सबै दृष्यले चिनियाँ इतिहासदेखि वर्तमानको प्रतिविम्ब बोकिरहेछन्।

गत वर्ष संग्रहालयमा भोगिएको पियोनी फूलको मुस्कुराहट यतिखेर भने प्राकृतिक रूपमै ताजा सुवास छरेर ढकमक्क फुलिरहेको छ। अप्रिल महिना लागेपछि हनान प्रान्तको लोयाङमा अपार आनन्द वर्षाउने पियोनीको पिछा गर्दै संसारभरिका पर्यटकहरू झुम्मिन थालेका छन्।

हुन त पियोनीलाई युरोप र उत्तरी अमेरिकाले कसरी अन्माए थाहा छैन, तर लोयाङमा ती सुकोमलाहरूप्रति मानिसहरूको अथाह लाडप्यार झल्किन्छ। चीनको हनान प्रान्तीय लोयाङ सहरमा यस्ले इतिहासको पानामा कोरिँदै आधुनिक अर्थतन्त्रको पेवा बन्ने रफ्तार नापिरहेछ। इच्छाशक्ति र लगनशीलता भएका कलाकारहरूले पियोनीलाई संसारभर सुमधुर वासना बनाएर छर्दै लगेका रहेछन्।

व्यवसायिक सिर्जना र गरिबी निवारणका सूत्रहरू पहिल्याउँदै गएको चीनमा कुन कुरा बेच्न योग्य हुन्छ भन्ने कुरा सहजै अनुमान लगाउन गाह्रो छ। झिनामसिना सोचिएका कुराले पनि विश्वव्यापी बजार लिनसक्छन् भन्ने उदाहरण पियोनी फूलको कला पनि त हो। केही दिन फुलेपछि ओइलाएर झर्ने फूलको यति ठूलो प्रशंसा किन भन्ने जस्तो पनि लाग्छ।

अप्रिल महिनामा फुल्दा नफुल्दै दुनियाँभरका पर्यटकलाई लोयाङ खिच्ने पियोनीले आफ्नो अवसानपछि पनि कलाको रूप लिएर विश्वभर शयर गर्ने रहेछ। बेहुली झैं सिँगारिएर पाहुनालाई लठ्याउने पियोनीले पोको पार्न योग्य कोसेली बन्ने रहिछ। त्यसैले त स्वच्छ सफा, मनोरम लोयाङमा पियोनीका पारखीहरू वर्षेनी ओइरिने रहेछन् र प्रियजनका घरघरमा सजिनका लागि निर्यात हुने रहेछन्।

लोयाङ, तिङ थाङ साँस्कृतिक विकास लिमिटेड सन् २००० मा स्थापित भयो। अब त यो फूलको सौन्दर्य पूर्ण रूपमा बिक्नलायक भयो। स्वदेश विदेश जताततै घरभित्रको वैभव बनेर स्वागत गरिन थाल्यो। पियोनी माटाका हस्तकला, चिनो, साँस्कृतिक तथा कलाका साथै व्यवसायिक उपहारहरू यत्रतत्र फैलिन थाले। पियोनी आफैं पनि सुन्दरी प्रतियोगितमा होमिन थाली भने पछिल्ला वर्षहरूमा माटामा कुँदिएर अनेकन उपाधि बटुल्न पनि उद्यत भई।

सन् २००८ मा बेइजिङ ओलम्पिक, २००९ मा लोयाङ विश्व प्रदर्शनी, २०१० मा शाङहाई विश्व एक्स्पो, लगायत हरेक वर्ष जसो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान स्थापित गर्ने गरी पियोनीको व्यस्तता झन् झन् बढ्दै गएको छ।

पियोनी लोयाङ सहरको प्राचीन वस्ती थियो। सहरका प्रत्येक कुनामा अझै पनि पियोनीको फूल फुल्ने भएकाले चिनियाँहरूले यसलाई पियोनीको राजधानी पनि भन्दछन्। पियोनी जस्तै अनेक फूलहरू हरेक देशमा फुल्दा हुन्। तिनलाई सम्पदाको रूपमा जगेर्ना गर्ने हो भने ती मुलुकलाई पनि सिर्जनाको खानीले भर्दो हो। फूल केवल मौरी र भँवराको तृप्ति मात्रै हैन,सिर्जना शक्ति भएका हरेकका लागि ध्येयको साध्य पनि त हो।

पियोनी संग्रहालयबाट बाहिरिँदै गर्दा जो कोही नेपालीका मनमा लालीगुराँस, बेली, चमेली, सुनाखरी खुल्ने नेपालका भीरपाखा कन्दरा पनि मगमगाउन थाल्छन्।

नेपालीहरूको विक्रम संवत् अनुसारको नयाँ वर्ष शुरू भयो। वैशाख १ गते फुल्ने भनेर कहलिएको सलहेशले एक दुई दिने संचारमाध्यमहरूलाई आकर्षित गर्नेछ। त्यो कुनै अद्भूत पहिचान बनाउन चाहने हो भने यसले विदेशी पर्यटक तान्नसक्थ्यो होला।

पियोनीको लय समातेर लालीगुराँसले हिमाल, पहाडहरू गाल्न सक्थे होला। अनि चम्पा, बेली, चमेली, सुनाखरीको सिर्जनाशक्तिले पत्थर हुँदै गएका मानव हृदयलाई पगाल्न सक्थे होला। हात हातमा बेरिएर आगन्तुकका झोलीमा लट्किन्थे होला। हाम्रा फूलहरू पनि सिर्जना र समृद्धिका आयाम बन्थे होला।

प्रकाशित १ बैशाख २०७५, शनिबार | 2018-04-14 13:32:15
Max TV
Max TV
Zen Travels

author photo

लक्ष्मी लम्साल चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा, बेइजिङमा विदेशी विशेषज्ञका रूपमा कार्यरत छन्

@shree3laxmi


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • सेताे टीकामा एक नेपाली नारी

    दशैँ कसको, टीका कस्तो?

    नेपालमा नेवार जातिले सबैभन्दा पहिले रातो रंग प्रयोगमा ल्याएका हुन्

  • केन्याकाे पृथ्वी फाटेकाे स्थानमा सेल्फी खिच्दै एक युवक

    पृथ्वी फाटेर टुक्रिँदैछ अफ्रिकी महादेश

    केही महिनाअघि अफ्रिकी राष्ट्र केन्याको दक्षिण पश्चिम क्षेत्रको भूभागमा चिरा पर्‍यो। केही किलोमिटर लामो त्यो खाडल यतिबेला निरन्तर बढ्दै गएको छ।...

  • नारायणहिटीमा रहेको राजदण्ड हेर्दै प्रधानमन्त्री केपी शर्मा ओली

    हलीको लौरो किन संग्रहालयमा हुँदैन, किन राजाको राजदण्डमात्र हुन्छ?

    जनताले फालेको राजतन्त्रलाई यति सुविस्ता, यति सम्मानका साथ दुनियाँमा कहीँपनि बस्न दिइएको छैन, बस्न दिइएको हुँदैन। तर नेपालमा हामीले अत्यन्त उदार,...

  • दुबर्इमा पक्राउ परेका बेनु श्रेष्ठ (बायाँ) इन्टरपाेल पुलिसकाे नियन्त्रणमा

    इन्टरपाेलले दुबर्इमा पक्राउ गरेका सुन तस्कर गाैशालामा: ‘ठूला माछा’ बयान बाहिर

    प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा दुबईबाट पक्राउ गरेका सुन तस्करी ‘सप्लाई चेन’का मुख्य अभियुक्त बेनु श्रेष्ठले...