नेरुदाबाट आजका कवि-लेखकले के सिक्ने?

प्रखर प्रतिरोधी कवि पाब्लो नेरुदाको जीवन र कविता परिवर्तन चाहनेहरुका लागि उदाहरण बन्न सक्छ





पाब्लो नेरुदा
पाब्लो नेरुदा
NIC ASIA

एक दशकभन्दा अघि पाब्लो नेरुदाको जीवनी लेख्न सुरु गर्दा म कविता (काव्य) को राजनीतिक शक्तिको खोजी गर्न चाहन्थेँ। सामाजिक परिवर्तनलाई प्रेरित गर्ने यसको शक्ति बुझ्न चाहन्थेँ। नेरुदाका सामाजिक कविता उनले व्यक्त गर्ने मानवताको अभिन्न हिस्सा थियो। हातमा कलम नहुँदा पनि उनले आफूलाई निर्भिकताका साथ प्रत्यक्ष कर्ममा समर्पित गरे।

मैले ‘नेरुदाः द पोयट्स कलिङ’ नामक पुस्तक ट्रम्पको पहिलो सय दिने कार्यकालमा लेखिसिध्याएँँ। यसको नतिजा के भयो भने वर्षौँसम्म मैले खोजिरहेको प्रश्नले अचानक नयाँ सान्दर्भिकता र आवश्यकता ग्रहण गर्‍यो। हाम्रो वर्तमान राजनीतिक धरातलमा ‘प्रतिरोध’ शब्द झन्झन् प्रयोगमा आउँदै गएको छ। यस्तोमा अघिल्लो शताब्दीका सबैभन्दा महत्वपूर्ण र प्रतिष्ठित प्रतिरोधी कविबाट हामी के सिक्न सक्छौँ? हामीले आफ्नो सांस्कृतिक कहानीको नयाँ अध्याय लेख्दै गर्दा उनी हामीलाई के दिन सक्छन्? यसका केही उत्तर अझ भनौँ, केही दृष्टिकोण नेरुदाको जीवन र कामको विशद विवरणमा पाउन सकिन्छ।

नेरुदाको विरासतलाई उनले सहभागिता जनाएको ऐतिहासिक घटनाक्रमहरुले प्रत्यक्ष रुपमा आकार प्रदान गरेका छन्। उनी युवा छँदा चिलीमा क्रान्तिकारी विद्यार्थी आन्दोलन चलेको थियो। त्यसबेला उनले एक्टिभिस्ट लेखकको भूमिका खेलेका थिए। उनले युवापुस्ताको आवाज बनेर देशलाई नियन्त्रणमा लिएका सम्भ्रान्तहरुलाई चुनौती दिए। आफ्ना अन्तिम दिनहरुमा उनले अमेरिकी हस्तक्षेपविरुद्ध जोडदार रुपमा चिलीको बचाउ गरेका थिए। उनले फ्रान्सका लागि राजदूतका रुपमा साल्भाडोर एलेण्डेको ऐतिहासिक समाजवादी सरकारको प्रतिनिधित्व गरेका थिए। पाठकसँगको उनको सम्बन्ध र उनको आफ्नै लेखनसँगको सम्बन्धलाई समेत त्यतिबेलाको कठिन राजनीतिक संकट र सर्वसत्तावादले निश्चित आकार दिएको थियो।

सन् १९४७ मा चिली शीतयुद्धको कोपमा पर्‍यो। त्यसपछि देशका कुटिल राष्ट्रपति गाब्रिएल गोञ्जालेज विदेला नेरुदा र निर्वाचनमा आफैँलाई सघाउने अन्य व्यक्तिहरुविरुद्ध खनिए। उनले कामदार तथा वामपन्थीविरुद्ध कडा नियम लगाए। कम्युनिष्ट अखबार बन्द गराए, हड्तालमा उत्रेका तीन सय कोइलाखानीका मजदूरलाई पातागोनिया टापुको जेलमा थुने र मजदूर नेता तथा अन्य ‘विद्रोही’ हरुलाई अगस्टो पिनोचे नामक ३३ वर्षे क्याप्टेनले नेतृत्व गरेको यातनागृहमा पठाए।

त्यसबेला सिनेटर रहेका नेरुदाले आफ्नो लेखन र काम दुवै तरिकाले सो परिस्थितिको भर्त्सना गरे। उनले सिनेटमा आवाज उठाए, ‘अहिले त संसदमा पनि सेन्सर छ। अहिले त बोल्न पनि सकिन्न...। कोइलाखानी क्षेत्रमा हत्या भएका छन्!’ गोञ्जालेज विदेला यसभन्दा बढी सुन्न सक्दैनथे। त्यसैले उनले नेरुदालाई देशद्रोहको आरोप लगाएर गिरफ्तारीको आदेश दिए, जसले गर्दा नेरुदा निर्वासित हुन बाध्य भए।

सौन्दर्य र अवधारणामा बिल्कुलै नयाँ साहसिक काव्यात्मक आवाज विकास गरेर नेरुदाले यसको उत्तर दिए। उनको अत्यन्त महत्वपूर्ण पुस्तक ‘क्यान्टो जेनरल’ यस्तै आवाजबाट वर्णित छ। यसले समग्र अमेरिकाको इतिहासलाई प्रतिरोधको लयात्मक कथामा ढाल्दछ र महाकाव्यात्मक रुपमा नयाँ ढंगले पुनर्व्याख्या र पुननिर्माण गर्दछ। पचास वर्षपछि सन् २००३ मा सान्टियागो मेट्रोमा कार्यरत एक निर्माण इञ्जिनियरले मलाई क्यान्टो जेनरलको महत्व यसरी बताए, ‘यसले विजेताले अह्राएअनुसार होइन जनताको आँखाबाट अमेरिकाको इतिहास हामीलाई देखाउँछ।’

स्पेनी गृहयुद्ध सुरु हुँदाको समयमा जति नेरुदाको कविता र सामाजिक उथलपुथलको अनुभवको सम्बन्ध प्रत्यक्ष रुपमा कहिल्यै देखिएको थियो। नेरुदा ३० वर्ष नपुग्दै चिलीको वाणिज्यदूतको रुपमा १९३४ मा म्याड्रिड आइपुगे। तीन वर्षअघि मात्र स्पेनको राजतन्त्र ढलेको थियो र लेखक तथा बौद्धिकहरुमा एक आदर्शवादी तथा प्रगतिशील भाव सञ्चार भएको थियो। खासगरी नेरुदाले अघिल्लो वर्ष भेटेका कवि तथा नाटककार फेडेरिको गार्सिया लोर्का बढी उत्साहित थिए। नेरुदा म्याड्रिड आइपुग्दा लोर्का उनलाई रेलस्टेसनमा पर्खिरहेका थिए।

आफैँले ‘चम्किलो एकान्त’ नाम दिएको मन्दी र एकाकीपनको यातनादायी समयबाट प्रकट भएर नेरुदाले पूर्वी एसियाका विभिन्न देशमा वाणिज्यदूतका रुपमा काम गरे। उनी त्यहाँको भातृत्वको भोका थिए। त्यो अवधिका उनका कवितामा गहिरो आत्मदर्शन पाउन सकिन्छ, यद्यपि उनी आफ्नो आत्मिक जीवनमा मात्रै केन्द्रित थिएनन्। वाणिज्यदूतको जिम्मेवारी पूरा गर्दैगर्दा लेखनभन्दा बाहिर उनी महिला, अश्वेत आदिवासी र गरिबहरुलाई शोषण गर्न र तिनलाई बदनाम गर्न सक्रिय रुपमा सहभागी भए। वर्षौँपछि आफ्नो संस्मरणमा समेत उनले श्रीलंकामा एक तमिल घरेलु कामदारलाई बलात्कार गरेको घटना विस्तारमा व्याख्या गरेका छन्। यो एक्टिभिस्ट लेखकका रुपमा उत्पीडितहरुको पक्षमा लागिपरेका उनको विरासतमा एउटा धब्बा बनेर जोडिएको छ।

म्याड्रिड आइपुग्दा नेरुदा एक्टिभिस्ट तथा कलाकारहरुको संगतबाट उत्साहित बनेका थिए। तर स्पेनको सामाजिक र राजनीतिक परिस्थिति तनावपूर्ण र जटिल थियो। इतिहासकार गाब्रियल ज्याकसनको लेखाइमा १९३० को दशकमा मा स्पेन एकैपटक ‘मरणासन्न राजतन्त्र, चरम आर्थिक असमानता र प्रचण्ड राजनीतिक तथा बौद्धिक विचारधाराहरुको युद्धभूमि बनेको थियो।’ नजिकै हिटलर र मुसिलोनीले शक्ति हत्याएपछि स्पेनी फासीवादीहरु पनि आफूलाई प्रत्यक्ष र हिंसात्मक रुपले व्यक्त गर्न थालेका थिए। त्यसबेलाको प्रगतिशील सरकार टिक्नका लागि निकै संघर्ष गरिरहेको थियो।

१९३६ को मार्चको सुरुमा फासिस्ट समूह ‘फलांगे’ का सदस्यहरु फूर्ति देखाउँदै मोटर चढेर म्याड्रिडमा ओहोरदोहोर गर्न थाले। मेसिनगन बोकेका तिनले कामदार वर्गका कम्युनिष्ट आरोप लागेकाहरुलाई गोली हान्ने गर्थे। जुन महिनासम्ममा कम्युनिष्ट, समाजवादी तथा अराजकतावादी पार्टीका थुप्रै सदस्यहरु सार्वजनिक रुपमै क्रान्तिको प्रचारमा लागेका थिए भने दक्षिणपन्थी प्रेस मध्यमवर्गमा कम्युनिष्ट शासनको डर फैल्याउन लागिपरेको थियो। उनीहरु सैन्य कू ले मात्रै स्पेनलाई बचाउनसक्ने विचार प्रवाहित गरिरहेका थिए। फासीवादी क्रान्तिको हल्लाले लोर्का डराएका थिए। उनी समलिंगी र वामपन्थी हुनुका साथै गणतन्त्रको पक्षमा स्पष्ट रुपमा बोल्न थालेका थिए। त्यसैले उनी भागेर गृहनगर ग्रेनाडा पुगे, जहाँ प्रभावशाली परिवारले आफ्नो बचाउ गर्ने उनको आशा थियो।

१७ जुलाई १९३६ मा फासिस्ट जर्नेल फ्रान्सिस्को फ्र्यांकोको नेतृत्वमा सैन्य विद्रोह सुरु भयो, जसले स्पेनी गृहयुद्धलाई जन्म दियो। मुसिलोनी र हिटलरले फ्र्यांकोलाई विमान तथा हतियार आपूर्ति गरिदिए। राष्ट्रवादी भनिने ती विद्रोही तीव्र गतिमा राजधानी म्याड्रिडतर्फ अघि बढे, जहाँ नेरुदा र उनका साथीहरु बस्ने गर्दथे। उनका ती साथीले भर्खरै फासीवादविरोधी बौद्धिकहरुको गठबन्धन बनाएका थिए। ती व्यक्ति गणतन्त्रका लागि आफ्नो बुद्धि र रचना खर्चिन प्रतिबद्ध थिए। तिनले जनतामाझ लोकप्रिय थिएटर लिएर गए, जसमा सेराभान्टेसदेखि लिएर लोर्कासम्मका नाटक थिए। सो गठबन्धनले म्यागेजिन प्रकाशन गर्‍यो, जसमा खासगरी रिपब्लिकन सैनिकहरुलाई लक्षित सामग्री लेखिएका हुन्थे। सैनिक समूहका सदस्यले निरक्षर साथीहरुका लागि ठूलो स्वरमा यसका सामग्री पढेर सुनाउँथे। म्यागेजिनमा लेख्नेहरुको सूची असाधारण थियो, जसमा एन्टोनियो माचाडोदेखि राफेल अलबर्टीसम्म थिए।

नोबेल साहित्य पुरस्कार प्राप्त गरिसकेपछि नेरुदा पत्नी मतिल्दासँग स्टकहोममा

नोबेल साहित्य पुरस्कार प्राप्त गरिसकेपछि नेरुदा पत्नी मतिल्दासँग स्टकहोममा

युद्ध सुरु भएको एक महिनापछि राष्ट्रवादीहरुले लोर्कालाई पक्रे। लोर्कालाई कुन अपराधमा पक्रिइएको हो भन्ने प्रश्नमा एक सैनिक अधिकारीको उत्तर थियो, ‘पेस्तोल बोक्नेहरुले भन्दा यिनले कलमको भरमा बढी क्षति पुर्‍याएका छन्।’ तीन दिनपछि लोर्का र अन्य तीन कैदीलाई जैतुनको रुख छेऊमा उभ्याएर गोली ठोकियो।

यो समाचारले नेरुदालाई भित्रैसम्म हल्लायो। लोर्काको मृत्युले एक अनन्य मित्रको हत्याबाट उत्पन्न आतंकभन्दा पनि बढी कुरा जनाउँथ्यो। लोर्का कविताको जिउँदो अवतार थिए। नेरुदाको लागि उनको हत्या कविताकै हत्याबराबर थियो। नेरुदा त्यो विन्दुमा पुगिसकेका थिए, जहाँबाट पछि फर्किने ठाउँ थिएन। उनको कविता बाहिर फर्किने बेला आएको थियो। काम गरेर देखाउनुपर्ने बेला आएको थियो। अब उदासीन कविताको समय थिएन। फासीवादको उदयलाई नजरअन्दाज गर्ने स्मृतिका मीठानमीठा गन्थन भएका प्रेम कविता वा अध्यात्मिक लेखनको अब काम थिएन। अब निर्भिक र बारम्बार दोहोरिरहने शब्द तथा स्पष्ट र ज्वलन्त बिम्बहरुले मात्रै उनको उद्देश्य पूरा गथ्र्यो। उनी आफ्ना वास्तविक भोगाइ र धड्किरहेको मुटुको आवाज धेरै मानिससम्म पुर्‍याउन चाहन्थे र तिनलाई सहजै बुझाउन चाहन्थे।

उनको ‘म केही कुरा बुझाउन चाहन्छु’ कविता जति राम्रो यसको उदाहरण केही बन्न सक्दैन। शीर्षकले मात्रै पनि सुनिनु पर्ने र बुझिनुपर्ने यो कविताको अत्यावश्यकतालाई स्पष्ट पार्छ। यसैको प्रमाणस्वरुप यस वर्षको मार्टिन लुथर किङ दिवसमा लेखक क्वामे अलेक्जेन्डरले नेसनल पब्लिक रेडियोमा यो कविता पढेर सुनाएः

तिमीले सोध्नेछौ, कहाँ छन् फूलहरु?
अनि अफिममिश्रित तत्वज्ञान?
र उसका शब्दलाई हराइदिने
बारम्बार वर्षिरहने झरी?
ममाथि भइरहेका सारा कुरा तिमीलाई सुनाउने छु

म म्याड्रिडको आसपास बस्थेँ
चर्चको घण्टीको साथमा
घडी, रुखहरुका साथमा
.............

मेरो घरलाई फूलको घर भनिन्थ्यो
किनभने जहाँसुकै राता फूल फूलेका थिए
कुकुर र साना केटाकेटी भएको
यो सुन्दर घर थियो
......‍‍‍‍.......

र एक बिहान सबथोक जलिरहेको थियो
.............

त्यसपछि आगो,
बारुद त्यसपछि
र त्यसपछि रगतै रगत
.............

तिमीले सोध्नेछौ
किन सुनाउँदैनन् उसका कविताले हामीलाई सपनाका कुरा
झारहरुको, आफ्नो देशको ठूलो ज्वालामुखीको कुरा?

आऊ, सडकमा बगेको रगत हेर
आऊ र हेर
सडकमा बगेको रगत
आऊ र हेर रगत
बगेको सडकमा

युद्धको प्रतिक्रियामा नेरुदाले जम्मा एक्काइस ओटा कविता लेखे। उनको ‘स्पेन इन द हार्ट’ मा रहेका यी कविता उनको द थर्ड रेजिडेन्सको एक हिस्सा बन्यो। यी कविता उनका पहिलेका रचनाका बौद्धिक पाठकभन्दा बाहिरसम्म पुगुन् भनेर लेखिएका थिए। र अब वास्तवमै उनका कविता लडाइँको अग्रमोर्चामा रहेका सैनिकहरुले छापेर पढ्न थाले। तिनले यी कविता प्रसार गर्न थोत्रा कपडाहरु समेत प्रयोग गरे। अझ सनसनी सिर्जना गर्न दुश्मनको झण्डामा समेत ती कविता कोरिएको बताइन्छ। रिपब्लिकन सैनिकहरुले टाइप गरेर, छापेर युद्धस्थलसम्म ती कविता पुर्‍याए। अर्को शब्दमा भन्ने हो भने कविता प्रतिरोधको इन्धन बनेको थियो। र नेरुदा यो विशाल आन्दोलनको एक हिस्सा मात्र थिए। स्पेनी गृहयुद्धमा अनेकौँ कविहरुको कति धेरै प्रभाव थियो भने यसलाई ‘कविहरुको युद्ध’ समेत भनिन्छ।

म्याड्रिडमा फासीवादीहरुले बम खसाउन थालेपछि नेरुदा पेरिस सरे। पेरिसमा उनले रिपब्लिकप्रति ऐक्यबद्धता जनाउन विशाल मात्रामा लेखकहरुलाई भेला गर्न सहयोग गरे। त्यसमा सहभागीहरुमध्ये अर्नेस्ट हेमिङ्वे र ल्यांगस्टन ह्युजेज पनि थिए। रिपब्लिकनहरुको सहयोगार्थ उनले केही प्रकाशन पनि सुरु गरे। बेलायती एक्टिभिस्ट नान्सी क्युनार्डको साथमा मिलेर उनले ‘द पोयट्स अफ दि वर्ल्ड डिफेन्ड द स्पेनिस पिपुल’ नामक म्यागेजिन समेत प्रकाशन गरे। क्युनार्डको घरमा आफ्नै प्रिन्टिङ प्रेस थियो। टाइप सेट गर्न नेरुदाले सघाए। त्यसको बिक्रीबाट प्राप्त भएको रकम फ्र्यांकोको सेनासँग लडिरहेका रिपब्लिकन सैनिकको सहयोगस्वरुप दिइयो। यो कोष ठूलो थिएन तर यसमा योगदान गर्नेहरुको समर्पित र अडिग समर्थनले धेरै कुरा बताउँथ्यो।

त्यसैबेला चिलीका विदेशमन्त्रीले नेरुदाले फ्रान्समा देखाएको पक्षपाती व्यवहारलाई आफूले ‘अस्वीकृत’ गर्ने बताए। कविलाई घर फर्किने आदेश दिइयो, उनी अक्टोबर १९३७ मा चिली फर्के। १ अप्रिल १९३९ मा फ्र्यांकोले आफू विजयी भएको घोषणा गरे। बार्सिलोना र पूरै क्याटालोनिया कब्जा गर्नका लागि उनले गरेको अन्तिम आक्रमणका कारण पाँच लाखभन्दा बढी शरणार्थी पिरेनिस पर्वत नाघेर फ्रान्स पुगे। शिविरहरुमा खाँदिएका ती शरणार्थीले अनिकाल र रोगको सामना गर्नुपर्ने अवस्था थियो। पेरिसमा रहेका नेरुदाका साथीहरुले उनलाई यो दयनीय परिस्थितिको बारेमा लेखे र केही गर्न गुहारे। उनले भर्खरै निर्वाचित भएका चिलीका वामपन्थी राष्ट्रपतिसँग सहयोग मागे। राष्ट्रपतिले उनलाई पेरिसको वाणिज्यदूत नियुक्त गरिदिए।

पेरिसमा नेरुदाले एउटा पुरानो कार्गो पानीजहाजको व्यवस्था गरे। ‘विनिपेग’ नामक सो जहाजमा दुई हजारभन्दा बढी शरणार्थीलाई राखेर चिली पुर्‍याउने अत्यन्त महत्वकांक्षीय यात्राको व्यवस्था उनले गरे। यो असाधारण कार्यको संसारभर चर्चा भयो। भर्खरै फेब्रुअरी २०१८ मा समेत एरियल डोर्फम्यानले न्युयोर्क टाइम्समा नेरुदाको विरासतबारे एक विचार स्तम्भ लेखे। चिलीको राष्ट्रपतिमा सेबास्टियन पिनेराको विजयमा आप्रवासी विरोधी भावनाको भूमिकाबाट सशंकित भएर डोर्फम्यानले सो लेख लेखेका थिए। विदेशीप्रतिको घृणा र स्थानीयतावाद चिलीका लागि नयाँ नभएपनि ‘शरण खोजिरहेका अपरिचितहरुसँग आमनेसामने हुनपरे हामीले के गर्ने’ भन्ने कुराको उदाहरण इतिहासमा रहेको डोर्फम्यानले बताएका छन्। उनले विनिपेग जहाजको अनुभवलाई सुनाउँदै यो प्रश्न सोधेर आफ्नो लेख समाप्त गरेका छन्, ‘आजका नेरुदाहरु कहाँ छन्?’

यो समयमा पनि हामीले बढ्दो सर्वसत्तावादको सामना गर्नुपरिरहेको छ। नयाँ खालका जटिलता र अन्यायहरुको प्रतिरोध गरिरहँदा प्रश्न उठ्छः के परिवर्तनलाई प्रभाव पार्ने शक्ति कवितामा हुन्छ? हामी ब्यानरमा ‘बम होइन कविता वर्षाऊ’ लेख्न सक्छौँ। तर तीतो सत्य के हो भने एउटा कविताले मात्रै अत्याचार रोक्न वा शासकको बहुलट्ठीलाई नियन्त्रण गर्न सक्दैन। तैपनि कविताले आफ्नो मर्मभेदी प्रकृति र यसको शुद्धिकरणको अनौठो शक्तिले सामूहिक रुपमा परिवर्तन सिर्जना गर्न सक्छ भन्ने नेरुदाले देखाएका छन्। हरेक पटक व्यक्तिको चेतनालाई कविताले स्पर्श गर्दा एकएक गर्दै थोपाथोपा जम्मा गरेजस्तै यसले व्यक्तिको दृष्टिकोणमा परिवर्तन ल्याउने सम्भावनालाई बढाउँछ। अथवा कुनै कर्म गर्न झक्झक्याउँछ। कविताले उर्जा दिन, सूचित गर्न र प्रेरित गर्न सक्छ। यसले मात्रै बमलाई रोक्न सक्दैन तर सामाजिक आन्दोलनका सारा प्रत्यक्ष कार्यक्रमहरुसँग यसलाई मिसाउन सकिन्छ। प्रतिरोधका ठूला र परिवर्तनकारी प्रयासहरुमा कविता भावनात्मक रुपले कसरी शक्तिशाली अवयव बन्न सक्छ भन्ने कुरा नेरुदाले हामीलाई देखाएका छन्।

नेरुदाको कविताको प्रभावकारिता यसको दीगोपनले प्रमाणित गरिसकेको छ। कसैलाई प्रेरित गर्न, ब्युँझाउन वा निरन्तरता दिनुपरे मानिसहरु बारम्बार उनको कविताको सहारा लिन पुग्छन्। सन् २००३ मा इराक आक्रमणअघि सान फ्रान्सिस्कोको सडकमा टाँगिएको ब्यानरमा नेरुदाका शब्द लेखिएका थिए, ‘निरंकुशताले गीत गाउने टाउकाहरु काटिदिन्छ तर पिँधमा रहेको आवाज पृथ्वीको गुप्त झरनाहरुमा फर्किन्छ र अँध्यारोमै जनको मुखमा पुग्छ।’ त्यसको झण्डै एक दशकपछि अरब स्प्रिङको समयमा इजिप्टका कलाविद् बहिया सेहाबले कायरोको सडकमा नेरुदाका शब्द लेखेः ‘तिमी सारा फूल नष्ट गर्न सक्छौ तर वसन्तको आगमनलाई रोक्न सक्दैनौ।’ त्यसको पाँच वर्षपछि जनवरी २०१७ को वुमन्स मार्चमा नेरुदाका तिनै शब्द स्पेनी भाषामै कायरोका पोस्टरहरुमा देखिए।

सामाजिक अन्याय, युद्ध र लोकतन्त्रको हरणले हामीलाई किनारामा पुर्‍याउँछ र कर्मको माग गर्छ। नेरुदाले यस्ता संकटको उत्तर दिन आफ्नो कवितालाई पर्याप्त परिवर्तन गरे। स्पेनी गृहयुद्धको सुरुमा उनले आफ्नो उदास र अन्तरमुखी प्रयोगशील कवितालाई बदलेर निर्णायक शैली अपनाए, जसले अरुलाई पनि कर्ममा उत्रिन बाध्य बनाउँथ्यो।

कवि, शिक्षक, पाठक, एक्टिभिस्ट वा साधारण नागरिक जे भए पनि हामी संसारको बारेमा चासो राख्छौँ भने हामी पनि आफूलाई व्यक्त गर्ने तरिका बदल्न सक्छौँ। सामाजिक सञ्जालको यो युगमा प्रतिरोधी फौजसम्म हाम्रो सन्देश प्रेषित गर्न हामीले सनसनी सिर्जना गरिराख्नु पर्दैन। हामी सबै बोल्न सक्छौँ। हामी सबै संवादको हिस्सा बन्न सक्छौँ। र कविता नेरुदाले भनेझैँ ‘केही कुरा बुझाउने’ सामूहिक कार्यको एक हिस्सा बन्न सक्छ। प्रतिरोधको मुख्य तत्व भनेको आफूलाई अभिव्यक्त गर्ने र अरुको कुरा सुन्ने कार्य नै हो। त्यसमाथि कविताको अनौठो र दीगो शक्ति पनि यसको मुख्य घटक हो, यो कुरा हामीले नेरुदा र अरुहरुमा देखेका छौँ।

(द पेरिस रिभ्युमा प्रकाशित आलेखको भावानुवाद)

प्रकाशित २८ चैत २०७४, बुधबार | 2018-04-11 09:36:49
World Cup
World Cup
Bagaicha
Bagaicha
Tirupati Balaji
Zen Travels

author photo

मार्क आइजनर ‘नेरुदाः द पोइट्स कलिङ’ का लेखक हुन्


प्रतिकृया दिनुहोस

NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • रामेश्वर गाैतम

    स्टेडियममा बसेर विश्वकप: नेपालकाे झन्डा फहराएर हुटिङ (भिडियाे)

    रसियामा विश्वकप फूटबल हुँदैछ भनेर यहाँ बस्दै आएका नेपालीबीच एक किसिमको ठूलै उत्साहको सञ्चार भएको छ।

  • पाइलट विजय लामा

    पाइलट विजय लामाको वाइडबडी सपना (भिडियाे)

    पाइलट विजय लामा ट्विनटर जहाजमा जोमसोमबाट पोखराको उडान गर्दै थिए। जहाजभित्र करिब १८ यात्रु थिए। एक्कासि जहाजलाई कालो बादलले छोप्यो।

  • त्रिभुवन अन्तरार्ष्टिय विमानस्थल बाहिर बरामद साढे ३३ केजी सुन

    सुन तस्करी प्रकरणः भुजुङका मतियार प्रविण अग्रवाल पक्राउ

    सुन तस्करी र सनम शाक्य हत्या प्रकरणकाे अनुसन्धान गरिरहेकाे सरकारी समितिले अकबर शाह र डब्बु भन्ने इम्तियाज अन्सारीका साझेदार प्रविण अग्रवाललाई...

  • विश्वकपले प्रमाणित गर्‍यो: मेस्सी ठूलो कि रोनाल्डो?

    क्रिस्टियानो रोनाल्डो स्वार्थी, घमन्डी, आफैँलाई मात्र माया गर्ने र सबैको ध्यान आफूमा मात्रै केन्द्रीत होस भन्ने स्वभावका छन्। लियोनल मेस्सीमा कुनै...