कथा

अन्तिम दोश्रो भोज


Infocus



नीलम, पन्ना, मुगा, मणि, हीरा, रत्न, मोतीजस्ता सृष्टिका परम् सुन्दर र बहुमूल्य धातुहरू लेपन गरिएको, गिनिज बुकमा विश्वको सबैभन्दा ठूलो भनेर दर्ता गरिएको बेलुनभन्दा पनि ठूलो, एउटा अण्डाकार ग्लोब प्रशान्त महासागरको मध्यभागस्थित एउटा टापूको मध्यभागमा सजाइएको छ। पृथ्वी गोलो छ भन्ने अवधारणा अनुरूप यसलाई प्रतीकात्मक पृथ्वी ठानिएको छ। त्यो चानचुने सम्पदा होइन, सम्पूर्ण मानव प्रजाति जोडेभन्दा अग्लो, अर्बौं मानिसका मगज मिसाएभन्दा पनि घना, तीक्ष्ण र जाज्वल्यमान छ।

अरबौं आँखा मिलाएर पनि हेरिनभ्याइने हरियाली नै हरियाली यो, विस्फारित टापुको रचना विश्वको आमसहमतिमा प्रतिस्थापित गरिएको हो। टापुमाथि भीर पाखा, हिमाल, पहाड, खोला नदी, खाल्डा वा थुम्का, ढुंगा, पहिरो, केही पनि छैन। मात्रै समथर मैदान, त्यसकै केन्द्रमा एउटा पृथ्वीलाई नै अस्तुमा रूपान्तरण गर्नसक्ने अद्भूत पृथ्वी उभ्याइएको छ। पञ्चतत्वमा यही तथाकथित पृथ्वी मात्रै एक्काइसौं शताब्दीको महान कालीगढी हो। विश्वका आर्थिक तथा पारमाणविक शक्ति राष्ट्रहरू, संगठन तथा अग्रणी नेताहरूले बडो मेहनतपूर्वक जुटाएको मतैक्यता र उत्कृष्ट सिर्जनाको परिणति हो यो। संयुक्त राष्ट्रसंघ, फिफा र ओलम्पिक कमिटीका तमाम सदस्य मात्रै हैन, अन्य चोइटिएर बन्न लागेका देशहरूको समेत हस्ताक्षर भएकोले यो टापु निर्विकल्प विश्वको प्रतिनिधि टापु हो।

यो अद्भूत विरासतमाथि कुनै देश विशेषको स्वामित्व चल्दैन। कस्तै मै हुँ भन्ने वीर्यवान्, परमार्थी वा साधुसन्त र आतंककारीको पनि हैकम चल्दैन। मात्र यो एउटा हार्दिक भोजका लागि तयार पारिएको संरचना हो। यो टापुका वरिपरि प्रशान्त महासागरको पानी नै पानी छ, यहाँ अन्य कुनै जीवन जगतको अस्तित्व छैन। मैदानको लोभलाग्दो हरियाली देखेर गोपाल तथा महिषपालहरू लोभिनसक्छन् तर यो मानिस बाहेक कुनै जीवजन्तु वा कीटपतंगको चरिचरन हैन।

यहाँ विमानस्थल पनि छैन, बन्दरगाह पनि छैन, अन्य जनावर जीवात्माको सम्पर्क हुनसक्ने कुनै गल्तीको यहाँ एक औंस स्थान पनि छैन।

संसारका अति उच्च वा सूक्ष्म, अग्लो वा होचो, लामो वा छोटो, सबैभन्दा खतरनाक वा मिलनसार...! जे जति विशेषण लगाएपनि नभ्याइने कुनै वस्तु थियो भने यही रंगशाला थियो, जुन विश्वकीर्तिमानी पुस्तकमा दर्ता भएको पछिल्लो नमूना थियो। त्यसैले ब्रम्हाण्डका पिण्डहरूको संयुक्त योगदानमा भोजशाला बनेको छ। संभवतः पहिलो पटक सबै देशहरूबीच अलौकिक आमराय भएकाले यसको अगुवाइ गरेका मुलुकहरू प्रसन्न छन्। यस्तो अभूतपूर्व सहमति, न भूतोः न भविष्यति।

एउटा पवित्र दिनको साइत परेको छ। महोत्सवमा संसारभरिका विशिष्ट मस्तिष्काधिपतिहरू भेला भएर अमृतमय भोजनपानीमा चुर्लुम्म डुब्ने कार्यक्रम छ। त्यहाँ क–कसले प्रतिनिधित्व गर्ने भन्ने विषयमा सहमति भइसकेको छ, उनीहरूको पदार्पणसँगै यो मण्डप शोभायमान हुँदैछ।

हरेक देशले आफ्नो आफ्नो परम्परागत पात्रो अनुसार नयाँ वर्ष मनाउने विवाद चल्दाचल्दै पश्चिमाहरूको बाहुल्यताले इस्वी संवतलाई निश्चित गरियो। जनवरी १ तारिख, नयाँ वर्षलाई प्राकृतिक इतिहासकै अनमोल एउटा दिवसको रूपमा सूचीकृत गर्ने कसरत गरियो।

नयाँ वर्षको श्रीगणेश कुनै महान् कार्यबाट गर्नसके वर्षभरि नै लच्छिन लाग्ने धर्मभीरूहरुको मत थियो। नास्तिकहरूको अन्धविश्वासको भ्रूण पनि अझै मरेको थिएन। नव वर्षको प्रथम उषाको किरणले मैदान नचुम्दै यो ऐतिहासिक घटना रच्न सबैले तदारूकता देखाए।

हरियो मैदानमा लहरै डिजाइन गरेर मेच र टेबुल राखिए। प्रत्येक राता, पहेंला, सेता, हरिया, नीला प्लास्टिकका टेबुलसँगै मेचहरू जोडियो। कुनै चित्रकारले क्यानभासमा थुपारेको अनेकन् रंगहरूको सम्मिश्रण जस्तै शोभायमान।टेबुलमाथि राखिएका काँचका गिलास कुन कलाकारको बौद्धिकता हो, प्रशंसनीय छ। गिलासहरू कुनै मादक छन्, कुनै परी, अप्सराका स्वरूप जस्ता, कुनै स्तनाकार त कुनै नितम्व बान्कीका। प्रथम पटक आएका ब्रम्हचारी, साधुसन्तहरू त गिलास हेरेरै मदोन्मत्त हुने।

अमेरिकाको ज्याक डेनियल्स, चिनियाँ माउथाइ, स्कटल्याण्डको जोनी वाकर, रसियाको स्मिरनफ, फ्रान्सको हेन्नेस्सी, जमैकाको क्याप्टेन मोर्गान, क्यानडाको क्राउन रोयल, अयरल्याण्डको जेमसन, फिनलाण्डिया वा नेदरल्याण्डको केटल वन, कोरियाको जिनरो इत्यादि सोमरसको पनि बाढी उर्लिएको छ।

बहुमूल्य नशालु पदार्थहरू...ती पोका, बट्टा, थैलीभित्र कैयन् अनाम वा कतिपय मानव मष्तिस्कका कुनै नशामै अट्न बाँकी पदार्थहरू एकत्रित गरिएको छ। कति न्वारन् नै गर्न बाँकी, त कति ठिमाहा पद्धतिबाट उत्पादित। धुलो, पातलो, गिलो अनि सेतो, कालो, रातो, नीलो मानौं फागू पूर्णिमाको रंग त्यहाँ खुल्दैछ। जसको संसर्गले मानव अन्तस्करण आलोकित हुनेछ, मानसिक तृप्ति र सुखानुभूति हुनेछ। कुनै सुइको साहारामा खानुपर्ने, कुनै चपाउनुपर्ने, कुनै धुम्रपान गर्नुपर्ने, कुनै दल्नुपर्ने, कुनै सुँघ्नुपर्ने। यी पदार्थहरूको समायोजनबाट व्यक्ति, परिवार, समाज, राजनीति, राष्ट्र र विश्वशान्तिको विकिरण छरिनेछ।

कुनै सभ्य मानव समाजले कुलत भन्ने उपाधि दिनसक्ने छैन। कसैको बाधाविरोधको पहुँचभन्दा पनि निकै दूर हुँदैछ यो घटना। कुनै दर्शनशास्त्री वा विचारक र सुधारकहरुको विगतको जस्तो बिक्री, ओसारपसारमा बन्देजमा गरिने प्रशासकीय र अड्डा–अदालती बखेडाको अन्त्येष्टि गर्न एकमुख भएका छन् मान्छेहरू। अब कुनै व्याथा बल्झिएको हुनेछैन, बल्झिए पनि त्यसले दुखाउन सक्ने छैन। हृदय अभ्यन्तरले कुनै चीजसँग मैत्री नाता गाँसिसकेपछि हारजितको कुनै गुञ्जायस हुँदैन। कुनै पुनर्स्थापना केन्द्र, औषधालय, चिकित्सालय, शौचालय, भोजनालयमा पनि निदानको विकल्प खोजिने छैन। भविष्यको स्वर्गलोक सम्झेर उपभोग गर्नु र ब्रम्हलीन हुनुमा नै अन्तिम दिव्यज्ञान जग्मगाउनेछ।

हो, विश्वमा आजसम्म वर्जित, घृणित, प्रतिबन्धित चीजहरूको कुम्भ मेला नव वर्षको सुखद अवसरमा आयोजना गरिँदैछ। गाँजा चरेस, हेरोइन, ब्राउन सुगर, कोडिन, भाङ, मेथाडोन, नाइट्रो ट्याब, मेथफेटामिन जस्ता तथाकथित बन्देजीकृत पदार्थहरूको सम्मेलन छ यहाँ। मस्तिष्क ग्रन्थीहरू सक्रिय पार्ने, मानव हस्तीहाड तरल र रगत ठोस बनाउन सक्ने तथा मुटुलाई पत्थरमा रूपान्तरण गर्नसक्ने यी द्रव्यहरूले मानव देहमा रसायन बनेर विरचण गर्नेछन्।

आयुर्वेददेखि वैज्ञानिक औषधीमा घातक ठानिएका चीज नै विवेकशील मानव समुदायको शारीरिक तथा मानसिक तुष्टिको पर्याय ठानिनेछन्। मस्तिष्क, मुटु र फोक्सोले ग्रहण गर्दै आलस्यबाट जाँगर, भ्रमबाट यथार्थ, उत्तेजनाबाट संयमतामा फेरिनेछ। यो चेतनाविरुद्धको गम्भीर पुण्य हो। यसको सदुपयोग नै मानवीयता, लुटपाट, चोरी, डकैती, वेश्यावृत्ति, आत्महत्या, ठगीजस्ता नकामहरू पुण्यका ध्येयले गरिनेछन्। सन् १९०९ को अफिम कमिसनको नियन्त्रण प्रयास, हेग कन्भेन्सन १९१२, सन् १९८८ को महासन्धि दुरुपयोग र अवैध ओसारपसारसम्बन्धी १९८७ को अन्तर्राष्ट्रिय सम्मेलन लगायत अघिका र आगामी जे जति रोकथाम वा बन्देजका कानुनहरू थिए, सबै निलम्बन गरिएको छ।

अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) सहित संसारको अपराध नियन्त्रक निकाय नै यसको अगुवाइ गरिरहेका छन्। अतः वैधानिक अंग सामु तथाकथित अवैधानिक कुरामाथि कुनै निषेधको मुद्धा नै रहेन।

टापुलाई अर्को कुनै ग्रहबाट हेरौं, त्यो विश्व मञ्च पूर्णरूपेण तामझाम र झकिझकाउ छ। अब विश्वका गन्यमान्य राष्ट्रनायक, अभियन्ता, पूजारी–पादरी, साहित्य–संगीत–कला साधकहरू, राजा र रैतीहरूको गरिमामय उपस्थिति हुँदैछ।

धन्य हो, विश्व शासकहरूले को पहिला मञ्चमा पुग्ने, कस्ले हात मिलाउने, कस्ले घोक्रो फुलाउने, कस्ले ग्लानि पोख्ने, कस्ले हीनताबोध गर्ने, कस्ले अमानवीय प्रवचन दिने पनि टुंगो लागिसकेको छ। त्यो मञ्चमा सकारात्मकता मात्रै बन्देज हो, अन्य विकारहरू त जति पनि उजागर गर्न पाइनेछ। प्रजातान्त्रिक प्रक्रियाद्वारा यो अन्तिम अधिकार पनि सुनिश्चित गरिएको छ।

अमेरिकासँग झण्डै हात हालाहालको स्थिति पार गरेपछि उदाउँदो आणविक शक्ति र सबैभन्दा कान्छो जोधाहा भएकोले विश्वका शस्त्रास्त्रप्रेमीहरूको लाडप्यारका कारण उत्तर कोरियाली शासक किम जोन उन प्रेक्षालयमा प्रवेश गर्ने पहिलो नेता भए। त्यो वैभवशाली विशाल अस्त्र पनि उनैको प्रायद्वीपमा निर्मित हो, तसर्थ प्रथम विराजमानको अधिकार पनि स्वाभाविकै थियो। योगदानको कदर स्वरूप किमलाई अगाडि आउन दिएर विश्व नम्बर एक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि टापुमा पाइला टेके।

ट्रम्पलाई स्वागतमा हात तेर्स्याउँदै किमले भने, ‘अमेरिकालाई धुलिसात् पार्ने अभीष्ट पूरा हुन लागेकोमा गौरवान्वित छु। उप्रान्त यो ट्रम्पको थोपडा फेरि हेर्न नपर्ने नै भयो।’

सन्की ट्रम्पको मुद्रा हेर्न लायक थियो। अन्य ग्रहबाट टापुप्रतिका दर्शकहरूलाई शंका लागिसकेको थियो, ‘अब ट्रम्प उत्तेजित हुन्छ र भोज खानै नपाई अन्तिम भोज हुनेछ।’

तर सबैलाई स्तब्ध पार्दै ट्रम्पले जुल्फी हल्लाए, ‘बेबी, नाउ यु आर ग्रेट। यू मेड द वर्ल्ड ग्रेट अगेन। परिणाममुखी नतिजाका लागि तिम्रो योगदान अमूल्य छ। तर हेक्का राख्नू, यसपश्चात् न इतिहास लेखिदिने मान्छे यो ग्रहमा रहनेछ, न इतिहास पढेर दंग पर्ने अवसर नै हामीमा हुनेछ। दोहोरिएर यो ग्रहमा फर्किनलाई न म हुनेछु, न तिमी हुनेछौ। अतः तिम्रो जीत नै मेरो जीत, मेरो जीत नै संसारको जीत। हा...हा...हा।’

दोश्रो ठूलो अर्थतन्त्र र विश्वको सर्वाधिक जनसंख्या भएको नाताले चीनका राष्ट्राध्यक्ष सी चिन फिङ पनि पुगे। ‘कमरेड, थोङ्च् मन् नि हाउ!सीको अभिवादन सुनेपछि किम र ट्रम्पले हात मिलाए।

सीले भने, ‘विश्व शान्ति, स्थिरता र समृद्धिका लागि एक पेटी एक मार्गको अवधारणा कामयाव हुँदै थियो। एउटै चित्त दुखाइ यो छ.... हामी नम्बर एक हुनै लागेका थियौं। विश्वबाटै गरिबी, रोग, शोकको अन्त्येष्टि हाय! यस भूलोकको अन्त्येष्टि हुने भयो।’

ट्रम्प प्रतिवादमा उत्रिए, ‘अमेरिका सर्वशक्तिमान थियो र रहने नै छ। तिमीहरूको नक्कली उत्पादनले हाम्रो व्यापारघाटा चर्काएको थियो। अब न तिम्रो समृद्धि, न हाम्रो। सारा गोलखाँडी...हा हा। तसर्थ अन्तिम साझा विजयका लागि स्वागत छ मिस्टर नि हाओ!रणमैदानमा आएर नम्बर एक, दुई, तीनको गणना नगर्नु नै श्रेयस्कर होला।’

जापानी प्रधानमन्त्री सिञ्जो अबे झुल्किए। टापूमा लहरै उभिएका नेताहरूसँग हात मिलाउँदै भने, ‘साझा अभियानको सफलताका लागि यासुकूनी देवल दर्शन गरेर आएको छु। नानचिङ नरसंहारजस्तै अर्को कीर्तिमानी रच्ने इच्छा अधुरै रहने भएकोमा हीनताबोधले ग्रस्त छु, नेतागण!’

धोती र इस्टकोट लगाएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि नमस्कार भन्दै टापूमा देखापरे। कुनै नेतासँग गमक्क परेर त कुनैसँग खुलेर अंकमाल गर्दै मोदीले बाँकी नेताहरूलाई ऋषिमनले नमस्कार गरे। सबैका सामु भावुक भएर रोउँला जस्तो गरे।

‘संसार हाँकौँला भनेर घरबार त्यागी, पीतवस्त्र धारी, सेता दारी पाली, हिँडेको मान्छे...दक्षिण एसियाबाटै अलग हुने स्थिति दुर्भाग्यपूर्ण हो। धिक्कार है, इण्डियाका अच्छा दिन कभी नआए, फिर भी ब्रम्हाण्डके ही अच्छा दिन तो अब आनेवाला है।’

अब नेताहरू मर्यादाक्रम अनुसार आउन छोडे। बाँकी जो जसको समय मिल्छ, त्यतिखेर आइपुग्न थाले।

हिटलर आत्माको प्रतिनिधित्व गर्दै जर्मनी चान्सलर एञ्जेला मर्केल पनि पुगिन्। सुँक्क सुँक्क गरिन्, ‘मेरा पूर्खाको दयादृष्टिले मानव अस्तित्व बाँकी नै छाड्ने जुन उदारता देखाइयो, एक महाभूल थियो। यो दुःखी जीवनजगत त्यतिञ्जेलसम्म भौतारिनुपर्ने थिएन। इतिहासको गल्तीको प्रायश्चित गर्न पाएर मन हलुका हुनेभएको छ, नेताज्यूहरू!’

बेलायती महारानी एलिजावेथ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको डुंगा एकैसाथ देखापर्यो। महारानीका अघि पुटिनले बोल्ने कुरा पनि आएन, पछि मौका पाएको बेला बोल्ने भनेर चित्त बुझाए। महारानीबाट नेताहरूप्रति हेर्दै हुकुम भयो, ‘हामीले विश्वलाई पूर्ण अधीनस्थ गरेको भए यसरी देश–देश भिड्नै पर्थेन। एउटै घरभित्र हामी परिवारको सदस्य भएर आत्मीयता बाँड्ने थियौं। तर यो एक्काइसौं शताब्दीको अन्त्येष्टिको महायज्ञ रच्न समर्थवान् एवं प्रज्ञावान् नेताहरूप्रति ग्रेट ब्रिटेन गर्व गर्दछ।’

एकपछि अर्को गर्दै मध्यपूर्व, पूर्वी एसिया, अफ्रिका, उत्तर र दक्षिण अमेरिका, अष्ट्रेलिया लगायत सम्पूर्ण महादेश र क्षेत्रबाट शीर्ष नायकहरू, सम्पूर्ण धर्मावलम्बीका पुरेत, गुरूबा र नेताका साथै दार्शनिकहरूको पनि सवारी भयो।

विश्व बैंक, विश्व व्यापार संगठन, जी–ट्वान्टी, नेटो, राष्ट्रसंघ अन्तर्गतका खाद्य, कृषि, उड्ड्यन, टेलिकम्युनिकेशन, एचआइभी एड्स संगठनका प्रतिनिधिहरू देखापरे। मुद्रा कोष, बालबालिका कोष, युनेस्को, वातावरण, मानवअधिकार, लागूऔषध तथा अपराध, स्वास्थ्य, सम्पदा, मौसम, पर्यटन लगायतका संगठनका प्रतिनिधिहरूले पनि आफ्नो नाम दर्ता गराए।मानवीय सहायता संगठन, बेपत्ता संगठन, नीति निर्माता, अन्टार्कटिका, हाइड्रोजन संगठन लगायत माछा मार्ने संगठनदेखि मान्छे मार्ने संगठनसम्मका मतियारहरूको नाम पनि पुस्तिकामा देखियो। हतियार नियन्त्रण तथा रासायनिक आणविक अस्त्रसम्बन्धी निकायका प्रतिनिधिहरूको अनुपस्थितिमा वा उर्जा एजेन्सीको अभावमा भोज अधुरै रहने थियो, उनीहरू पनि आए। अन्तर्राष्ट्रिय वाणिज्य, व्यापार तथा भन्सार संगठन पनि सहभागी भयो। विश्व कानुन कार्यान्वयन संगठन, क्षेत्रीय तथा अन्तर्महादेशीय संगठनहरूले भोजशालामा उपस्थिति जनाए।

000

भेलाभोज औपचारिक रूपमा सुरू हुनुअघि सबैले साइडलाइन तथा सामूहिक संवाद गरेर अन्तिम सभाको वक्तव्य तयार पारिने भयो।

टापूमा उत्रिएका राष्ट्रनायकहरूले हार्दिकतापूर्वक ज्ञानको ढक्कन खोले। यो प्रिय मानव समुदायले आज नै अन्तिम भोज भएको कुरा पुनः अपील गरे। नव वर्ष पूर्वसन्ध्याको शुभसाइतमा सेवन गर्ने, जल तत्व पिउने र मस्ती मनाउने ताकि भोलि बिहानदेखि यो ग्रह देख्न पाइने छैन, भन्नेमा सबै आश्वस्त भए।

यस पृथ्वी ग्रहमा मान्छेले साह्रै दुःख पायो। यहाँ शान्तिको कुनै लक्ष्य रहेन, यहाँ विकासको कुनै सीमा रहेन। मान्छे अघायो। अब अन्य जीवनका लागि यो सृष्टि खाली गरिदिनुपर्छ। यो मानव समुदायको अस्तित्व अब मेटिएर जानुपर्छ। अर्कै ग्रहमा गएर नयाँ सृष्टि खडा गर्नुपर्छ। 

नेताहरूले भने, ‘काँचुली फेर्ने महाअभियानमा कोही छुट्नुहुँदैन। भोलिको चिन्ता रहेन अब। वर्तमानको अन्तिम लक्ष्य यस धरातलबाट उडेर, बगेर वा पौडेर अर्को कुनै नयाँ ग्रहमा अवतरण गर्ने हो। छियाछिया भइसकेको यो खटारो भकुण्डोको मर्मत नगर्ने। कुनै जलथलचर वा उभयचरले यो संसारलाई पुनरावृत्ति दिनसक्दैन। हामी यो नसोचौं, हामीमध्ये कोही बाँकी रहौंला र यो पृथ्वीको पुनर्निर्माण गरौंला। यो पुनः अर्को सपनाका लागि गरिएको भोज हैन। हाम्रो ध्येय भनेको पृथ्वीबाट मानव प्रजाति पूर्ण रूपमा निमिट्यान्न पारेर पुनः अर्को लोक प्राप्त गर्ने नै हो।’

वक्तव्यमा संसारका प्रतिनिधिहरूको समर्थन भयो। परर्ररर ताली पड्कियो, सबैको समर्थनको अर्थ हो, विश्व एक ढिक्का भयो। यो अभूतपूर्व एकता पनि इतिहासको पहिलो रेकर्ड नै हो।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले मध्यस्थता गर्न थाले, ‘प्रिय नेताज्यूहरू!हाम्रा सहश्राब्दी विकासका लक्ष्य भर्सेला परून्। हामीले प्रथम र दोश्रो युद्धका प्रेतात्माहरूबाट मुक्ति लिनुपर्छ, समय खेर नफालौं। सिंगो संसारले यहाँबाट एक घर, एक परिवार र एक चिहान बन्ने महासन्धि पारित गरेको छ। ल कार्यान्वयनका लागि गिलास उठाएर ‘चियर्स’ गरौं।’

पहिलो चियर्स असफल भयो। कारण जातीयता तथा क्षेत्रीयताका पक्षपाती नेताहरूले आआफ्नै स्थानीय भाषा र लवज निकाले। साझा प्रस्थानविन्दुको सपथ एउटै भाषामा हुनुपर्छ भन्ने आवाज उठ्न थाल्यो। खाने मामिलामा विवाद नउठाउँ भन्ने केही नेताको राय थियो। रसियन राष्ट्रपति पुटिनले समर्थन् जनाएनन्। चुस्की लगाउनका लागि मुखमै पुगेको सबैको गिलास टक्क रोकियो।

ट्रम्प सन्किहाले, ‘यो अन्तिम मस्तीको भेलामा यस्तो बखेडा? तुरून्त यो प्रतिनिधिलाई अलग्याउ, नत्र अमेरिका बाहिरिन्छ। खै, खै सम्झौता पत्र ल्याऊ।’

विश्व यहाँनेर पुगेपछि ध्रुवीकरणतर्फ जाला जस्तो भयो। विवेकशीलहरूले रोके, ‘यो महान उपलब्धिको अन्तिम घडीमा हामी समझदारीमा प्रतिबद्ध होऊँ, कृपया।’ 

हातमा टलल टल्केको घडी लगाएको प्रतिनिधि, सायद स्वीजरल्याण्डबाट आएको थियो, भन्यो, ‘विश्वले आजसम्म प्रतिबन्ध गरेका चीजबीचहरूको प्रथम खुलापनमा शाब्दिक अवरोध नगरौं। यहाँसम्म सजिलै आइपुगिएको होइन। बाटो अलिक चुस्त बनाउँ। ढिलो हुन्छ, छिटो गरौं।’

होस् त नि!भनेर पुटिन पनि अंग्रेजीमै चियर्स भन्न राजी भए।

अब सबैले समर्थन जनाए र ठूल्ठूलो स्वरमा चियर्स भन्दै गिलास ठोके। टापुबाहेक अरू ग्रहहरूमा वाद्यवादन र मानवीय गुञ्जन तीखो तरंगमा फैलियो। टापू इतरको धर्तीका कीटपतंग, वनस्पति, अमुक प्राणी झस्किए, कहालिए, र करूण क्रन्दन उराल्न थाले।

सहभागीहरूले हात हातमा नसालु पदार्थ लिए। तीखातीखा सियो स्वदेहमा घुसार्न तम्सिए। धुँवाको मुस्लो निकाल्ने तयारी गरे। अब त सबैजना खुसीले चूर चूर हुन मञ्जुर भए। हँसीमजाकको तबला बज्न थाल्यो।

खबरदार!

एउटा आवाज सुनियो।

कोलाहल सन्नाटामा रूपान्तरित भयो।

त्यो प्रतिध्वनि पर क्षितिजबाट आएको थियो। एउटा डुंगा हतार हतार खियाउँदै काँधमा क्यामरा र कापीकलम च्यापेको पत्रकार देखियो। सबैजनाले बिर्सिएका रहेछन्, प्रस्थानरूपी त्यो भीमकाय भकुण्डोको स्वीच थिच्ने जिम्मेवार पत्रकार त भर्खर पो झुल्किँदै रहेछ। धन्न!ऊ नआएको भए, सुन्दर भविष्यको परियोजना नै चौपट हुने थियो।

मणिमाणिक्यले झल्झलाकार त्यो भयंकर भकुण्डो सूर्यबाट झुल्किएका किरणले सप्तरंगीजस्तै टल्किएको थियो। सो अस्त्र त्यतिखेर मात्र सार्थक हुन्थ्यो, जतिखेर यसले विस्फोटनको सामर्थ्यले यो टापू सतिचूर्ण पार्न पाउँथ्यो। सहभागीहरूको ध्यान नजिकिँदै गरेको पत्रकारसँगै त्यस खजानातर्फ पनि मोडियो। कति बहुमूल्य, कति मनमोहक!

केहीका मुखबाट र्‍याल चुहिन थाल्यो।

कतिपयले प्रार्थना पनि गरे, ‘सारा मानिस मरून्, म मात्रै जीवित रहूँ र यो जुहारातको मालिक म मात्रै बन्न पाउँ।’

मानिसका मुखबाट वाणी त निस्किएन तर उनीहरूको आत्मामा त्यस्तो सोच पलाएको थियो, स्वतः चलायमान ओठहरू निःशब्द फर्फराइरहेका थिए। कतिपयका मनभित्र पाप कराइरहेको थियो, मुख थुनेर बन्द गरिरहेका थिए।

केहीमा कपोलकल्पित भावना पनि छायो, त्यो विस्फोटको प्रथम छर्रा मलाई मात्र लागोस्, अर्को ग्रहमा छिटो पुगौं र सबैलाई म राजा भएको बताएर उनीहरूलाई रैती बनाउन सकौं।

हुन त अधिकांश स्वार्थले सम्मोहित भए। तर पनि गरिएका सन्धि र वाचा कबोलबाट पछि हट्ने हिम्मत कसैको पनि थिएन। सारमा ज–जसका छातीमा पाप वा ताप जागेपनि त्यसले कुनै लछारपाटो लगाउनेवाला थिएन।

पत्रकार टुप्लुक्क आयो, टापुमा पाइला राख्यो।

‘यो सहमतिको अन्तिम लीला हो, ढिला नगरौं।’ चर्को स्वर आयो।

मनमनै सोच्ने पनि फूर्सत नपाएका प्रतिनिधिहरूले एकै स्वरमा बोल्दा कतिपयको सात्तो पनि उड्यो एकछिन त।

सबैले फेरि हातहातमा एक–एक पोका कालो, सेतो, नीलो, रातो पदार्थ लिए। गिलासमा भरिएका रंगीन तरल पदार्थ लिए। एउटै समयमा एकैचोटी मुखमा हाल्ने तयारी गरे।

अब त परिस्थिति पूर्ण अनुकूल भयो। प्रतिकूल त एकजना पत्रकारका लागि मात्रै हुनेछ जसले त्यहाँ सजाइएका तमाम चीजहरू चाख्नै नपाएर परमधाम हिँड्नुपर्नेछ।

मेक्सिकोको लागूऔषध तथा अपराध क्षेत्र हेर्ने यी पत्रकारलाई शताब्दीकै दुर्लभ समाचार लेख्ने मौका जुरेको थियो। यो लक्ष्यको साक्षी हुन संसारभरका पत्रकारहरूलाई उछिन्दै यो टापूसम्मको टिकट काटेको थियो।

एकपछि अर्को गर्दै मानिसहरू हात हातमा लिएको पदार्थ तयारी हालतमा रह्यो। आकाशवाणी शैलीमा आवाज आयो, एक! दुई..!

तीन! भन्न नपाउँदै पर समुद्रमा एक जना प्रतिनिधि आइरहेको देखेर कोही व्यक्ति बोल्यो, ‘खबरदार!खाने काम रोक्नुहोस्।’

अभागी नेताहरू! यो मानव चोलाको अन्तिम स्वाद, ओठले छोइसक्दा पनि सांसारिक आनन्द बीचैमा दिग्भ्रमित भएजस्तै रोक्नुपर्ने भयो।

खबरदारवालाले भन्यो, ‘संसारको सबैभन्दा अग्लो हिमाल र शान्तिभूमिबाट प्रतिनिधित्व हुन बाँकी नै रहेछ।’

मान्छेहरू फेरि मुखामुख गर्न थाले। कुन रहेछ त्यो देश? कहाँनेर त्रुटि भयो? को आएन? रूजु पुस्तिका हेर्दा थाहा भयो, नेपालबाट कुनै प्रतिनिधि सहभागी भएको रहेनछ।

बादशाही लवजमा कुनै नेता जंगिए, ‘सगरमाथा र लुम्बिनीबिना पनि यो कोटीहोम सम्पन्न हुनपर्छ। एकैछिनको कुरा त हो, न त्यो धरोहर रहन्छ, न हामी। त्यसका खातिर स्लखित हुनै आँटेको नली अँठ्याएर हामी कतिञ्जेल् बस्ने?’

फेरि अर्काथरी विश्व नेता गर्जिए, ‘हुँदैन, हुँदैन। यतिञ्जेलसम्म त्रुटिरहित यो सभालाई, केवल एकजनाको अनुपस्थितिमा अधुरो राखेर आगामी इतिहासको कलंक बनेर हामी जानुहुँदैन।’

पर डुंगामा देखिएको मानिस नजिकै आइपुग्यो। शिरमा ढाका टोपी, दौरा सुरूवाल लगाएको देखिएबाट सबैले अनुमान लगाइहाले...नेपाली रहेछ।

तैपनि भीडले प्रश्न गर्‍यो, ‘को हो तपाइँ? परिचय दिनुस्।’

नेपाली बोल्यो, ‘हजुर, म नेपालबाट.. एक लेखक! सगरमाथा र बुद्धको देशबाट...यस भोजमा सहभागी हुन पठाइएको प्रतिनिधि!’

कुनै शीर्ष टाउके गर्जियो, ‘नेपालबाट प्रधानमन्त्रीलाई निम्त्याइएको हो, तिमी किन?’

नेपालीः ‘हजुर नेपालमा सरकार ढल्यो, नेताहरू कुर्सीका लागि लडिरहेका छन्। भूपूदेखि भावी प्रधानमन्त्री सबै कुर्सीले सम्मोहित भए। तसर्थ बाध्य भएर, विश्व अभियानमा सामेल हुन आएको हुँ, गोर्खाली स्वाभिमान बोकेर।’

बीचैमा एक मान्छे प्वाक्क बोल्यो, ‘अँ साँच्ची....तिमी त्यो अघिल्लो पटकको अन्तिम भोजबाट भाग्ने त्यही काँतर लेखक हैन? स्व. विजय मल्ल!’

वीरको भूमिबाट गएको प्रतिनिधि वार्धक्यले लुगलुग काँपिरहेको थियो। केश सेतै फुलेको थियो। अनुहारमा लेखकीय भाव झल्किए पनि डाँडामाथिको जून जस्तै देखिन्थ्यो।

नेपालीः ‘हजुर हो। छोरीलाई मानचित्र पढाउँदा पढाउँदा निधारभरि अनेकन सीमाहरू रेखांकन भए। यो क्षणभंगूर संसार बुझ्न धेरै समय लाग्यो। नेपालमा नेताहरूको लुछाचुँडी देखेर दया लाग्यो र स्वर्गबाट झर्नुपरेको... यसपटक

नभाग्ने प्रतिज्ञा गरेर आएको छु। मानव गिदीले रचेका अनुपम उत्पादनहरू, एक अबोध बालक झै ग्रहण गर्दै बुद्ध र सगरमाथाको नाम राख्नेछु।’

सबैजनाले हंसमुखमा भने, ‘ठीक छ। तिमीबाटै यो यात्राको शुभारम्भ गरौं। अधिकांश जेहेन्दार र चलाख नेताहरू पनि यहाँ सामेल हुनुहुन्छ। उहाँहरूको शब्दकोषबाट विश्वास भन्ने शब्द डाइनोसर बनिसकेको छ। तसर्थ कृपया हात

थाप्नुहोस्!’

सहभागीहरूले लेखकका हातमा भक्ष–अभक्ष चीज थमाए। जीवनमा कहिल्यै पनि नदेखेका, नसुनेका, नचिनेका र उसको लेखनीले वाक्न नपाएका अजीव तत्वहरू देखेरै लेखक ढलुँला जस्तै गर्नथाल्यो।

अब चाहिं स्थिति पूर्ण अनुकूल भयो। सबैजनाले पुनः अन्तिम भोजको अन्तिम चुस्की लगाउने तयारी गरे। एक!दुई!तीन!

सबैका मुख मुखमा त्यहाँ उपलब्ध पदार्थहरू पर्दै गए।

भोकाकुल मानिसभित्र तृप्तिका अनेक मुद्रा हुने रहेछन्। कोही चञ्चल, कोही उच्छृंखल, कोही विश्वस्त, कोही शान्त, केही साहसिक, आनन्दित, शक्तिशाली, मुक्त, उन्मुक्त, कोही विसर्जनकारी त कोही आशावादी। समयले मायाको यस्तो संजोग जुराइदियो कि मानव समुदाय प्रेमको अन्तिम उत्तेजनामा लीन भयो, एकअर्काकाप्रति भावुक र सहानुभूतिपूर्ण भयो।

यो मनुज चोला घटिया थियो, मानिसहरू परेशान थिए, मस्त हुन थाले। काम क्रोध, लोभ, मोह, अहंकार, शंका, शत्रुता, अपमान, लाज, घीन, दुविधा, पीडा, दोष, ग्लानि, असंतुष्टि, दुःख, वेदना, विवशता, लालसाबाट मोहभंग भए। नशा चढ्दै गयो, मानिसहरू आक्रामक भए। व्यथित थिए, भयानक भए। टिठलाग्दा थिए, उदास र बेचैन थिए, उत्सवको उन्माद र रोमाञ्चकताले मन्त्रमुग्ध भए। आजसम्म विकारले भरिएको हृदयतल पनि खुलेर आयो, ईश्वरको अनुकम्पा प्रक्षेपण भयो सायद। दिव्य ज्योतिर्मय, समुज्जवल, धनधान्य, प्रमुदित, उत्सुक अनि विचारशील.... यी स्नेही मानिसहरू जीवनदेखि विरक्तिएर हिँडेका थिए। यो सृष्टिको सेवक भएर, प्रकृतिको भक्त भएर यस लोकबाट विलीन हुन चाहन्थे।

फैलियो, मान्छे मान्छेबीचमा हार्दिकता, आत्मीयता र प्रेमको अनुपम सिलसिला।

यो दुःखी मानव चोला सकिनुअघि सोचिरहे, आजसम्म यत्रो अहंकार, घमण्ड, लोभलिप्सा गरेर जीवनमाथि ठूलो अन्याय गरिएछ। उप्रान्त दोहोरिने छैन यो दुःखी आत्मा। असीमित त्यागको पवित्र घडी आयो। यो विश्वलाई धन्यवाद छ। यी नेताहरूलाई बधाई छ।

000

क्रमशः एकपछि अर्को गर्दै मानिसहरू सुहागरातको स्वर्गीय आनन्दमा लपेटिन थाले। त्यो पतनमा मोक्ष थियो।श्वासप्रश्वासमा सातै सुर गुञ्जियो। छटपटीमा उन्माद थियो, मुख सुक्नु र पसिना छुट्नुको असीम सौरभ थियो। जजसका छातीभित्र मुटु थियो, त्यो धड्किँदाको तीव्र गुञ्जन थियो। शरीर तातेकाहरू, रिंगटामै पृथ्वीको फेरो लगाइरहेकाहरू, यो दुनियाँलाई तिरमिर तिरमिर देखिरहेकाहरू, शरीर हात, खुट्टा काँपेर धामीझाँक्रीको अवतार देखाउन थाले। शरीरमा अथाह ताकत थियो, आधा मरेकाहरू जुरूक्क उठ्न खोज्थे तर पृथ्वीको गुरूत्वाकर्षणले चिप्लिएर भुइँमा पच्छारिन्थे। अट्टहासले धर्तीमा अन्तिम झट्का दिन खोजिरहेको थियो। नशनाडीदेखिको शक्ति निचोर्दै यस पृथ्वीमाथि अन्तिम बलात्कार गरेर उत्सर्जनमा लिप्त थिए सबै। सृष्टिकर्ता र संहारकर्ताका प्रतिमूर्तिहरू थिए र त भूँइभरि चिथोरे, कतिले वस्त्र उतारे, कतिले रस निखारे। कति नबोलेर गर्जिए। कतिले नहेरेर पनि देखे, कतिपय शिथिल भए। आफ्नै टाउको ठोके, कोहीले आफैंलाई टोके, कोही निस्तब्धतामा डुबे, कोही निद्रामै कोल्टो फेरिरहे। मलमूत्रले भरिए, थुक र छादको खालमा डुबे। एवं रीतले मानिस पक्षाघातको लोकमा पुगे। सबैले नशामा डुबुल्की मार्नुको शालीन अभिनय प्रस्तुत गरे।

नयाँ वर्षको पूर्वसन्ध्या विस्तारै झमक्क हुँदै गयो। सूर्य अस्ताउन खोज्दै थियो। बम, बारूद, गोला, पटका, कोलाहलले रणमैदान जस्तै देखियो टापुको दुनिया। गोधुलीको परिदृश्यमा यत्रतत्र ढलेका मनुष्यहरू शब्दविहीन भए, स्वर्गतुल्य धरा पनि अब श्मसानघाटजस्तै मूर्दा शान्तिमा अनुवाद भयो।

000

मानिसका उपद्रव हेरिरहेको त्यो ब्रम्हास्त्र र त्यसको स्वीच दबाउने जिम्मेवारी पाएको पत्रकार बाँकी रहे। पत्रकारले फोटो खिच्यो र क्यामरा भुइँमा राख्यो। एकएक अर्धमृत मानिसका अनुहार नियाल्यो। कोही हाँसेको हाँस्यै, कोही क्रीडामा त कोही पीडामा, कोही आश्चर्यचकित, कोही आनन्दित, कोही गर्विला मुखाकृतिमा, निस्प्राण स्थूल शरीर र भावभंगीसहित शवासनमा अलमस्त।

उसको चिच्याहट प्रतिध्वनिमा फैलियो, ‘कोही बाँकी छ...कोही बाँकी छ?’

पत्रकारको जीवनमा कहिल्यै पनि कर्तव्यच्यूतको दाग लागेन। बरू भोकै रह्यो तर संसार सुन्दर बनाउनका लागि कलम धसिरह्यो। एकएक अक्षर र वाक्यहरूबीचको आशय केलाइरह्यो। गलत अर्थ लाग्ला र यो दुनियाँबाट मानवीयता, सहिष्णुता, सद्भाव हराउला अनि अमनचयन खलल होला कि भनेर चिन्तित भैरह्यो। यो धर्तीका प्रत्युत्पादक बोझहरू, दुर्व्यसनीहरू, ओसारपसारकर्मीहरू, नियन्त्रकहरू, विश्वका सन्धि अभिसन्धिहरू, धारा उपधाराहरूको सम्प्रेषण र विश्लेषण गरिरह्यो। तर संसार उसको प्रयासले बदलिएन। उसको समाचार कुनै नेताले पढिदिएन, पढेर मनन गरिदिएन, ऊ अन्ततः परास्त बुद्धिजीवि भएर भिल्लका भौतिक संसारमा मणिझैं खोटो मोहर बनेर बरालिएको थियो।

के तत्व रहेछ जसले मानवलाई परम सुखातित बनायो? प्रयोगात्मक रूपमा कहिल्यै नहेरीकन, अनुभव नगरीकन यसमा संलग्नहरूका विरूद्ध एकोहोरो लेखेर कतै अपराध त गरिएको थिएन? पत्रकार सशंकित भयो। आज संसारले उसैले लेख्ने गरेका समाचारविरूद्ध उसकै अगाडि उपभोग गर्दा उसले केही लेख्न सकेन, हेरिरहन बाध्य भयो। किन यो नशामा अजेयभाव र अवर्णनीय रमणीयता छ? जुन परमानन्दभित्र धर्तीमाताको अन्त्य पनि हेर्न सकिने रहेछ?

उसले टेबुलमा बाँकी रहेका केही पदार्थ र तरल तत्व भएको गिलास हातमा लियो।

रात ढलेर क्रमशः अरूणोदयका किरणले धर्ती सिञ्चिन थाल्यो। अघिल्लो रात धर्तीबाट पातालतर्फ हिँडेका मनुवाहरू क्रमशः चलमलाउन थाले।

अहो!यो सृष्टिको लीला अपरम्पार!

चक्रवर्ती विजय कति शानदार!

000

छेवैमा रहेको एकले अर्कोलाई भन्यो, ‘ए, अमेरिकन, उठ। नयाँ संसारमा आइसकिएछ।’

उसले छेउको चिनियाँलाई सुनायो।

‘अचम्म!अतुलनीय, अवर्णनीय, अलौकिक!’ जर्मनले भन्यो।

‘कति मनमोहक!’ बेलायतीले भन्यो।

क्रमशः सबै देशका मानिसहरूले भाग्यलाई धन्यवाद दिए, कृतकृत्य भए।

‘हो त रैछ, अर्को संसार पनि रहेछ। अँ साँच्ची! पृथ्वीबाट सबै मानिस यहाँ अवतरण गरे होलान्!’

‘लौ है! नवलोकमा आइपुगियो।’

छेउछाउका मानिसहरूले एकअर्कालाई कोट्याए, चिमोटे, प्याट्ट हिर्काए, मुसारे। ब्युँझियो मान्छे। पुनःजन्म प्राप्त भएछ भनेर एकअर्काका अनुहार केलाए। स्पर्श गरे। आफ्ना सबै अंगप्रत्यंग छामछुम गरे। एकएक ब्युँझिए, बालकजस्तै फुरूङ्ग हुँदै बुर्कुसी मार्न तम्सिए।

000

नीलो आकाशमा चीसो बतास बेस्सरी हुइँकियो। सूर्यलाई ओझेल पारिरहेको बादल पन्छियो र सूर्यका किरणहरू ह्वात्त मानव निर्मित ब्रम्हाण्डमा पोखिए। किरणको चहकले ब्रम्हास्त्रमा दिप्ती छायो। पुनर्जन्म प्राप्त मानिसहरू किरणको प्रताप सहन नसकी आँखा मिच्न थाले।

एउटा मानिस सहसा सशंकित भयो।

‘खबरदार! त्यो त्यही खजाना हैन जसले हामीलाई बोकेर काल्पनिक लोकमा लैजानुपर्थ्यो? किन जस्ताको तस्तै?’

सबैले शंकालु ग्रन्थी सन्काए, जर्याजुरूक्क उठे। त्यो प्रायद्वीपबाट ल्याइएको त्यो चीजको स्वरूपमा कुनै फेरबदल छैन।

शंका उब्जियो, ‘समापन भोज, कतै अन्तिम दोश्रो भोज त भएन?’

000

मानिसहरूले जिम्मेवार पत्रकारलाई यत्रतत्र खोज्न थाले। रित्तो गिलास र कुनै अज्ञात पदार्थ हातमा... संभवतः बेहोसीको मध्यानिशामा डुबेको अवस्थामा पत्रकार महोदय टेबुल मुन्तिर लडिरहेको थियो।

प्रकाशित ५ फागुन २०७४, शनिबार | 2018-02-17 17:55:49
Max TV
Max TV
Zen Travels
Vianet

author photo

लक्ष्मी लम्साल चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा, बेइजिङमा विदेशी विशेषज्ञका रूपमा कार्यरत छन्

@shree3laxmi

लक्ष्मी लम्सालबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलबाट उडेकाे एयर एशियाकाे जहाज

    २१ करोड नतिराई एयर एशिया भगाउने को हो?

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीलाई एयर एशिया एक्सले काठमाडौं उडान रोक्दैछ भन्ने कुरा असोज अगाडि नै थाहा भइसकेको थियो।

  • प्रधानमन्त्रीको त्यो निर्देशन जसले एक निर्दाेष विद्यार्थीको भविष्य चौपट बनायो

    मंगलबार बिहान ९ बजे पूर्व एआईजी देवेन्द्र सुवेदीले पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टरार्इको ट्विटमा एउटा रिप्लाई दिए।

  • भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी

    मोदीले गढ गुमाउँदाको क्षति कति ठूलो?

    सन् २०१४ मा भारतीय जनता पार्टी (भाजपा)लाई ऐतिहासिक बहुमत दिलाउन राजस्थान, छत्तिसगढ र मध्यप्रदेशको भूमिका महत्वपूर्ण थियो।

  • निगमकाे वाइडबडी अन्नपूर्ण विमान

    वाइडबडी खरिदमा कानुनका १४ वटा दफा उल्लंघन

    नेपाल वायु सेवा निगमले वाइडबडी विमान खरिद गर्दा सार्वजनिक खरिद ऐनका १४ वटा दफा उल्लंघन भएको देखिएको छ।