आशा नमारेको जोडी





रवि र शोभा
रवि र शोभा
NIC ASIA

टक.. टक.. टक....
पाश्र्वमा बजिरहेको मसिनो टकटकको आवाज तेज हुँदै जान्थ्यो। कक्षा पहिलो घण्टीको प्रायः मध्यतर्फ पुगिसकेको हुन्थ्यो। लयबद्ध आवाज ढोका बाहिर एकछिन रोकिन्थ्यो। सबैका आँखा ढोकामा टाँगिन्थे।

कक्षालाई बीचमै ‘डिस्टर्ब’ गर्ने रवि हाम्रा आँखा अगाडि बैशाखीसहित आइपुग्थ्यो। उ आफूमात्र आइपुग्दैनथ्यो, आफ्नो ओठमा तैरिरहने सदाबहार हाँसोपनि साथमै लिइआएको हुन्थ्यो। यसरी उ प्रत्येक दिन अक्सर कक्षाको बीचमा, अन्त्यमा वा अर्को घण्टीमा मात्र आइपुग्थ्यो।

आर.आर. क्याम्पसमा स्नातक पढ्दाको कुरा थियो यो। र, रवि यसमाली मेरो नजिकको साथी थियो।

कलंकी हुँदै मातातीर्थ जाने गाडी कुर्दाकुर्दै आधा घण्टा बित्यो। आधा घण्टापछि टनाटन मान्छे भरिएको गाडी ढलपल ढलपल गर्दै आइपुग्यो। आफ्नो ज्यानसम्म अट्ने थोरै खाली ठाउँ खोजेर म भिडभित्र घुस्रिएँ। मातातीर्थमा रहेको रविको घरतर्फ जाँदै थिएँ म।

‘तिमीहरु सधैं कलेज ढिलो आउँछ भन्थ्यौ नि मलाई, कस्तो हुने रहेछ यहाँसम्म आइपुग्न थाहा भयो नि’, मलाई यसो भनेर रवि एकछिन धक फुकाएर हाँस्यो। ‘हामीलाई गाडीहरुले रोक्नै मान्दैनन्, अफिस टाइममा त हामीलाई ठूल्ठूला आँखाले हेर्छन् ड्राइभर–खलाँसी’, आफ्नो अनुभव सुनाउँदै रवि गुनासो गर्न थाल्यो, ‘रोकिहाले भनेचाहिँ अपाङ्गता भएका भएका व्यक्तिका लागि छुट्याएको सिट छाडिदिन्छन्, कतिले त गाडी रोक्नुसट्टा हामीलाई गाली गर्दै हिँड्छन्।’

परैबाट बैशाखी टेकेर उभिएको उ जब हात दिन्छ, थुप्रै ड्राइभरले ‘ब्रेक’ होइन, ‘एक्सिलेटर’ दबाएर गाडी दौडाएका छन्। गन्तव्यमा पुग्ने आशा बोकेर सडकमा उभिएको उसको ज्यान कैंयौपटक गाडीले उडाएको धुलोमा पुरिएको छ, आशा निराशामा ओर्लिएको छ। घण्टौंसम्म बैशाखी टेकेर धुलाम्मे सडकमा उभिनुपर्छ। अफिस समयमा हात तेर्साउनासाथ आशा रित्तिएको अनुभव छ उसँग।

तर, सबै ड्राइभर र सहयोगी उस्तै हुन्छन् भन्ने होइन। सहारा दिएर गाडीमा चढाइदिने र ससम्मान गन्तव्यमा ओरालिदिने पनि भेटेको छ उसले।

गाडीको भुक्तमान त छँदैथियो, आर. आर. क्याम्पसको सिँढी चढेर कक्षासम्म पुग्नपनि उसले ठूलै ‘सफर’ बेहोर्नुपथ्र्याे। खुट्टा लुला भएकाले आफ्नो ज्यानको भार पूर्णरुपमा बैशाखीमा भरेर उकालो सिंढी चढ्नुपथ्र्यो। बैशाखीको सहारामा क्याम्पसको सिंढी चढ्न रविले गरेको कठिन संघर्ष हामीले कैयौंपटक देखेका थियौं, महशुस गरेका थियौं। रवि किन कक्षामा ढिला आइपुग्थ्यो भनेर यसबेला राम्रैसँग बुझें मैले।

00000

रवि थापाथलीको प्रसुतिगृहमा जन्मियो सात महिनामै। असमयमै जन्मिएको उसको अवस्था देखेर डाक्टरले भनेको कुरा रविलाई उसकी आमाले सुनाएकी थिइन्। ‘यो एकदमै क्रिटिकल अवस्था हो, बच्चा नबाँच्नपनि सक्छ’, डाक्टरले यसो भनेपछि सुत्केरी आमा सिताङ्ग भइन्।

सात महिनासम्म गर्भमा हुर्काएको सन्तानको अनिष्ट भविष्यतर्फको संकेत छाडेका थिए डाक्टरले। ‘तँ मुसोजत्रै जन्मेको थिइस्, एकदम कम तौलको, छाला बाहिरबाटै तेरो आन्द्राभुँडी देखिन्थ्यो’, आमाले भनेको सम्झिन्छ उ अहिलेपनि।

डाक्टरको आशंकाको बाबजुद उ बाँच्यो। तर उसका खुट्टा कैंचीजस्तै भएर जोडिए। रबी खुट्टाले हिँड्न सक्दैनथ्यो। घरमै धुम्धुम्ती बसिरहनुपर्ने। उत्सुकता र उमंग बोकेर हुर्किने बच्चाको जातलाई घरमै बसिरहनु जेल कोचेजस्तै हुने भइहाल्यो। पाँच वर्ष पुगेपछि उसको खुट्टाको शल्यक्रिया गरियो। र, बल्ल बैशाखीको सहारामा हिँड्न थाल्यो।

‘बैशाखी त उहाँको जीवनसाथी नै हो’, रविसँग गफिरहेको मलाई उसकी श्रीमतीले सुनाइन्। 

‘अनि तपाईंचाहिँ’, मैले उनलाई व्यंग्य गरें।

‘उहाँको पहिलो जीवनसाथी बैशाखी हो र दोश्रोचाहिँ म हो’, उनले जवाफ फर्काइन्। 

हुनपनि पाँच वर्षको उमेरदेखि अनवरत बैशाखीले उसलाई हिँड्न सघाएको छ। संसारको रंग आफ्नै खुट्टाले पहिचान गर्नु भनेर रविको काखीलाई आफ्नो थाप्लाले बोक्ने बैशाखीको उसलाई औधि मायाँ लाग्छ। ममताको उचाइमा उसले आफ्नो बैशाखीलाई प्रेम गर्छ। यसबीचमा उसले बेहोरेको समयको साक्षीपनि हो, उसको बैशाखी।

बच्चैदेखि उसलाई संगीत असाध्यै मन पथ्र्यो। संगीत कार्यक्रममा अक्सर छुट्दैनथ्यो। ‘मलाई पहिला अरुजस्तै हुन नसकेकोमा खुब दुःख लाग्थ्यो, साथीहरु बास्केटबल, फुटबल खेल्थे, म सक्दिनथें, उनीहरु बाइक चढ्थे, म सक्दिनथें। तर आज म आफूले पाएको जीवनप्रति गौरव गर्छु’, आफ्नो जीवन अनुभवलाई निचोरेर सुनायो रविले।

अहिले उ दर्जनजति सामाजिक संस्थामा आवद्ध छ, व्यस्त छ। आफैंले ‘मानव सामाजिक सेवा नेपाल’ भन्ने संस्था खोलेको छ र संस्थाको अध्यक्ष छ। अपाङ्गता भएका व्यक्तिको सर्वाङ्गीण विकासमा उसको संस्थाले काम गर्दै आएको छ। अन्य करिब आधा दर्जन संस्थामा पनि उ आवद्ध छ। चल्तापुर्जा सामाजिक अभियन्ताको जीवनभन्दा आज उसको जीवन कुनै मानेमा कमजोर छैन।

त्यसैले रवि आफ्नो जीवनप्रति गौरव गर्छ।

हरेक मान्छेजस्तै उपनि निसन्देह संघर्षमा छ। रविको संघर्षलाई साथ दिन र आफ्नो संघर्षमा रविलाई भागीदार बनाउन यतिबेला उसको साथमा श्रीमती शोभा पोखरेल छिन्।

00000

विराटनगरको अमरदहमा शोभा जन्मिइन्। परिवारमा छोरीको आगमन भएपछि उनलाई हेर्नेहरुको भीडबारे आमाले सुनाएको किस्सा शोभा बारम्बार सम्झिरहन्छिन्। ‘कस्ती राम्री छोरी भनेर मलाई हेर्नेहरुको भीड लागेको थियो रे। यस्ती गुडियाजस्ती छोरी भनेर आमा–दिदीहरुले काखमा राखिरहन खोज्थे रे मलाई’, उनी सम्झिन्छिन्।

५ महिनासम्म ठीकठाक रहेकी उनी छैटौं महिनामा लगातार ३–४ दिनसम्म रोइरहिन्। भुईंमा राख्नै नहुने उनी रोइहाल्थिन्। कसैले उचाल्नै नहुने, उनी रोइहाल्थिन्।

अचम्मको रुन्चे स्वभाव देखिएको थियो उनको। छोरी असाध्यै रुन थालेपछि उनलाई विराटनगरकै रंगेलीमा रहेको हस्पिटल लगियो। तर, रोग पत्ता लागेन। विस्तारै उनी रुनपनि छाडिन्। सबैलाई लाग्यो, छोरीलाई केहि भएको रहेनछ।

तीन वर्षपछि उनी एक ठाउँबाट अर्को ठाउँमा सर्न नसक्ने भइन्। सुताइदियो सुतिरहने र उठाइदिए उठिरहने। हातखुट्टा जहाँ छोयो, त्यहिँ पोल्थ्यो। माघको मध्य जाडोमा पनि उनलाई हम्किएर राख्नुपर्ने अवस्था आयो।

‘रातदिन यस्तो हेर्नुभन्दा बरु खोलामा लगेर राखिदेओ, जे गर्छ माथिको परमात्माले गर्छ’, नातिनीको अवस्था हेर्न नसकेर एकदिन उनका हजुरबुवाले बुवाआमासँग भने।

दुखाइ निको हुन लामो समय लाग्यो। हस्पिटलले लेखिदिएको औषधि खाँदैजाँदा बिस्तारै दुख्ने, घोच्ने र पोल्ने हुन छाड्यो। तर, उनी लट्ठीबिना हिँड्न नसक्ने भइन्। उनको सहारा लट्ठी थियो, जहाँ जान्थिन्, लट्ठी अघि लाग्थ्यो।

उनीभित्र पढ्ने इच्छा प्रवल थियो, उनकी फुपुले अक्षर चिनाइदिइन्। अक्षर चिनेपछि ओछ्यानमै ढल्किएर कविताजस्तै केही लेख्न थालिन्। लय मिलाएर पढ्न मिल्ने आफ्ना कष्ट र खुसीका लेखोटलाई कापीमा उतार्थिन् उनले।

एकदिन शोभा फुपुको पछि लागेर अमरदहको जनता मा.वि मा गइन्। तीन दिनसम्म स्कुल जाँदा उनलाई हेर्न विद्यार्थी धुइरिए। उनका हातखुट्टा र शरीरको बनोटलाई देखेर अचम्म मान्दै विद्यार्थीहरु धुइरिएका थिए। उनलाई दिक्क लाग्यो।

‘प्रकृतिले दिएको मेरो स्वरुपलाई किन यिनीहरु हेयको भावनाले हेर्छन् भन्ने लाग्यो मलाई, उनीहरुले क्वारक्वारर्ती हेरेको पटक्कै मन परेन’, उनी दिक्क मान्दै सुनाउँछिन्। सबैले घेरा हालेको मन परेको थिएन। त्यसमाथि पढ्ने रहर बोकेर गएकी उनलाई विद्यालयले भर्ना लिनै मानेन।

विद्यालयका प्रधानाध्यापकले उनकी फुपुसँग भने, ‘यसलाई हेर्न सबै धुइरिन थाले, एकजनाका कारण ६ सय विद्यार्थीको भविष्य बिग्रिनेभयो। पछि एकैचोटी पाँच कक्षामा भर्ना गरुँला, अहिले घरमै पढाउनु’, हेडसरले दुराग्रहमिश्रित बोली बोले। पढ्ने इच्छा रोकिनसक्नु थियो उनको त्यसैले विद्यालयले भर्ना लिन इन्कार गरेपनि उनले पढ्न छाडिनन्।

घरमा उनकी फुपु पढेलेखेकी थिइन्। उनले शोभालाई संस्कृत पढाउँथिन्। फुपुसँगको पढाइका कारण उनी संस्कृतमै कुरा गर्न थालिन्। अंग्रेजी र गणित पढ्न उनलाई सकस हुन्थ्यो, बाँकी विषय रमाई–रमाई पढ्थिन्। उनका लेखोट देखेर मान्छेहरुले फुर्काउन थाले, ‘भविष्यमा यो पारिजात बन्छे।’

घरमै १२ वर्षको उमेरसम्म पढिन्। बाँकी पढाइ फुपुको सहायताले मात्र पूर्ण हुँदैनथ्यो, त्यसैले फेरि लट्ठी टेकेर स्कुलको आँगनसम्म पुगिन्। यसपालि पनि हेडसरले भर्ना गरिदिन आनाकानी गरे।

‘यसले पढ्न पाउँदिन भने तेरी छोरीलाई यहाँ पढ्ने अनुमति छैन भनेर लेखेर दिनु’, उनकी आमाले रुँदै प्रधानाध्यापकसँग भनिन्। त्यसपछि हेडसरले आँखा पल्टाएर शोभालाई हेरे।

‘ल यता आइज त’, हेडसरको आवाज सुनेरै उनी तर्सिइन्।

‘ल यो पढ् त’, अघिसम्म तर्सिरहेकी उनले पिलपिल आँशु झारिन्। जसोतसो पढिन्। यतिबेला चौरमा पहिलेजस्तै विद्यार्थीको धुइरो लागेको थियो। आफूलाई घेरा हालेको देखेर फेरि उनलाई दिक्क लाग्यो। भुइँतिर फर्किएर हत्केलाले आँशु पुछिन्।

‘म कमजोर छु भनेर यिनीहरुले घेरा हालेका हुन् जस्तो लाग्यो, भित्रैबाट रुन आयो’, १२ वर्ष अगाडिको घटना सम्झिँदै उनले भनिन्।

‘यसको नाम ५ कक्षामा लेखाइदिन्छु, भर्ना गर्न ३ सय ९० रुपियाँ लाग्छ, भरेसम्म लिएर आउनु’, उनकी आमालाई प्रधानाध्यापकले यसो भनेपछि बल्ल पढ्न पाइने भयोजस्तो लाग्यो शोभालाई।

भोलिपल्टदेखि उनी लट्ठी टेकेर स्कुल जान थालिन्। लट्ठी टेकेर आएकी फुच्ची देखेर अर्कै ग्रहबाट आएकी मान्छेजस्तो गरेर हेरे अरुले। ‘कक्षामा एडजस्ट हुनै गार्‍हो भयो, यहाँ नबस् भन्थे कसैले। कसैले धकेलेर लडाइदिन्थे’, शोभाका स्कुले जीवनका दुःखदायी अनुभव थिए यी।

यो शृङ्खला धेरै दिन चलेन। पढ्न तेज थिइन् उनी। कक्षामा नजानेका कुरा सबैले उनीसँग नै सोध्न थाले। अरु बेला नसोधेपनि परिक्षामा उनले लेखेकै हेरेर लेख्ने धेरै हुन थाले। सबैकी प्यारी हुन थालिन् शोभा। ६ कक्षामा उनले आफ्नै पहलमा बाल क्लब खोलिन्। अपाङ्गता भएका विद्यार्थीहरु गाउँगाउँबाट जम्मा गर्न थालिन् र ‘हाम्रो आवाज सुन्नुस्’ भन्ने अभियान नै चलाइन्।

उनको अभियान स्कुल हुँदै समाजसम्म फैलियो। लट्ठी टेकेर हिँड्ने उनलाई बुबाआमाले डोर्‍याउँदै कार्यक्रममा लैजान्थे। यसरी उनको सामाजिक जीवन शुरु भयो। उनले एसएलसी ‘फस्र्ट डिभिजन’ मा पास गरिन् र ‘प्लस टु’ सम्म पढिन्। त्यसपछि उनको पढाइमा पूर्णविराम लाग्यो।

०७२ माघमा अपाङ्गता सम्बन्धी अन्तक्र्रिया कार्यक्रम थियो, विराटनगरमा। कार्यक्रममा काठमाडौंबाट रवि पुग्यो। जिल्लाकै कार्यक्रम भएकाले शोभा छुट्ने कुरै थिएन। उनीहरुबीच त्यहीँ चिनजान भयो। बिस्तारै फेसबुक च्याटमा कुरा हुन थाल्यो।

मन न हो, कुरा हुन थालेपछि माया टुसाउन थाल्यो। दुवैलाई कुरा गरिरहन मन लाग्ने। अनलाइन बसिरहन मन लाग्ने।

एकदिन रविले हिम्मत बटुलेर भनेछ, ‘शोभा, मलाई तिमी मन पर्‍यो, हामी बिवाह गरौं।’

रविले भनेजस्तो सजिलो थिएन। दुवैले मन पराएपनि विवाहका लागि प्रेमको बाटोमा समाज तेर्सिएको थियो। रवि चाहिँ थापा मगर, शोभा ब्राह्मण परिवारकी। रवि प्रेमको आवेगमा थिए, विवाह गरिहाल्न चाहन्थे। शोभा औंला तेर्साएर बसेको सामाजिक व्यवस्था सम्झाउँथिन्।

‘तपाईं घरमा आएर मागेर लैजान सक्नुहुन्छ भने आउनु, म तपाईंसँग विवाह गर्छु, होइन भने प्रेम थियो भनेर पछि सम्झिने बहाना हुन्छ, हाम्रो प्रेमलाई पुजा गरौंला विवाह सम्भव नहुन सक्छ’, आफूले त्यसबेला रविलाई भनेको अझै उनलाई सम्झना छ।

‘मागेर त सम्भव हुँदैन, म तिमीलाई भगाउँछु, यताको परिवारसँग कुरा गरिसकेको छु, सबैले मान्नुहुन्छ’, रवि सधैं यस्तै जवाफ फर्काउँथ्यो।

‘मेरो पनि शरीर यस्तो छ, तपाईंको झनै कमजोर छ, हामी भारी बोक्नपनि सक्दैनौं, परिवारले मानेन भने झन् दुःख हुन्छ’, शोभा प्रत्युत्तरमा भन्थिन्।

विस्तारै रविप्रतिको प्रेमले शोभालाई आफ्नो अडानबाट विचलित बनाउँदै लग्यो। प्रेममा उनी पग्लिसकेकी थिइन्। र, एकदिन फोनमै शोभा घरबाट भाग्ने योजना बन्यो। रवि शोभालाई लिन भनेर गाडी चढेर विराटनगर पुग्यो। तालिममा जाने बहाना बनाएर शोभा बसपार्कसम्म आइपुगिन्।

रात्रि बस चढेर दुवैजना रविको घर काठमाडौंका लागि हिँडे। काठमाडौंमा रविकी आमाले बुहारीलाई अंगालो हालेर घर भित्र्याइन्। छोरीलाई जस्तै माया गरेर राख्ने वाचा गरिदिइन्।

अहिले उनीहरु एक अर्काका पुरक भएर बाँचिरहेका छन्। अपाङ्गता भएका व्यक्तिको सहयोगार्थ स्थापना भएको संस्थाको अध्यक्ष रवि छन्, शोभा कोषाध्यक्ष छिन्। घर बाहिर निस्किएपछि रविलाई डोर्‍याउँदै हिँड्छिन् शोभा। उनले तीन वर्ष यता लट्ठी टेक्नुपरेको छैन। त्यसैले रविलाई डोर्‍याउँदै हिँडिरहेको भेटिन्छिन्। घरमा पनि उनीहरु एकदमै रमाइलो गर्छन्। ‘जिन्दगीलाई उत्सवका रुपमा बिताउनुपर्छ’ भन्छिन् शोभा।

एक अर्काको महशुस कतिसम्म हुन्छ भने रवि एक्लै कतै गयो शोभाको मन दिनभरि पोलिरहन्छ। ‘एक्लै हिँड्दा उहाँ लड्नुहुन्छ कि, म नभएपछि कसले डोर्‍याईदिन्छ जस्तो लाग्छ’, मायालु नजरले रविलाई हेर्दै उनी भन्छिन्, ‘म नहुँदा त कसैले हुत्याइदिन्छ कि जस्तो पनि लाग्छ, के खानुभयो होला, म नभएपछि गाडी चढ्दा कसले सहारा दिन्छ होला भनेर उहाँ छेउमा नहुँदा मन पोलिरहन्छ।’

उनी सधैं रविलाई आफ्नै छेउमा देख्न चाहन्छिन्।

रविलाई पनि शोभा घरमा नहुँदा छट्पटी हुन्छ। ‘उसले के खाई होला, सधैं के गर्दै होलाजस्तो लागिरहन्छ’, पछिल्लो भेटमा उसले भन्यो।

आफूलाई अत्यन्त प्रेम गर्ने शोभा छुट्ने अज्ञात भयपनि हुनेरहेछ उसलाई। ‘शोभा माइत जाँदा अब आउँदिन कि जस्तो लागिदिन्छ कहिलेकाहिँ, यत्तिकै डर लाग्छ’, भिजेको आवाजमा उसले सुनायो।

00000

रविका दम्पतीसँग सबै कुरा भइसकेको थियो। केही अनौपचारिक कुरा गरेर छुट्ने तरखरमा थिएँ म। रविले मलाई केही भन्न चाह्यो।

‘एउटा कुरा भन्छु’, रवि सोचमग्न देखियो। मैले एकटक उनलाई हेरें।

उसले सुस्तरी केहि सोचेजस्तो गरेर भन्यो, ‘म ससुराल जाँदा अझैपनि टाउको उठाएर बस्न सक्दिन....।’ 

यति भनेपछि उ रोकियो।

‘किन?’, मैले सोधें।

‘मान्छेलाई टाउको उठाएर बस्न उसको रोजगारी हुनुपर्ने रहेछ, स्वावलम्बी हुनुपर्ने रहेछ, मसँग के गर्छस् भन्दा कुनै रोजगारी छैन, कमाई छैन। अनि मैले ससुराली र अरु थुप्रै ठाउँमा टाउको निहुर्‍याएर बस्नुपरेको छ’, यति भनिसकेपछि उसले कहाँ–कहाँ रोजगारका लागि निवेदन दिएको थियो, सबै कुरा सुनायो।

उसले लोकसेवाका कैयौं परिक्षा दिइसकेको रहेछ। तर कतैपनि नाम निस्किएन। उसको हात कमजोर छ, राम्रोसँग लेख्न सक्दैन। टाढाको हेर्न सक्दैन। आँखाको कमजोरी छ। यसरी जानेको पनि लेख्न नसकेर फर्किनुपर्छ उसले। नेपाल वायु सेवा निगम र खाद्य संस्थानमा पनि जागिरको कोशिस गरेछ। त्यो कोशिसपनि असम्भव भयो। थुप्रै प्राइभेट कम्पनीको दैलो चाहारेछ। सबै ठाउँबाट खाली हात फर्किनुपर्‍यो।

आजभोलि सामाजिक संस्थाको कामको अलावा रविका दम्पतीको अर्को काम थपिएको छ, काम खोज्ने। बैशाखी टेकेर उनीहरु कामको खोजीमा निजी कम्पनी चहारिरहेका छन्। अक्सर रित्तो हात फर्किरहेका छन् उनीहरु । तर आशा अझै मरेको छैन.....। केही बन्ने, केहि गर्ने सपना मरेको छैन उनको.....।

प्रकाशित २७ माघ २०७४, शनिबार | 2018-02-10 11:23:42
World Cup
World Cup
Bagaicha
Bagaicha
Tirupati Balaji
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • कांग्रेस जिल्ला सभापति भेलाको निष्कर्ष: सरकार सर्वसत्तावाद उन्मुख (पूर्णपाठ)

    १९ बुँदे घोषणापत्र जारी गर्दै नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको राष्ट्रिय भेला हेटौंडामा सम्पन्न भएको छ।

  • टीका राना

    डा उपेन्द्र देवकोटासँग नर्सिङ गर्दा

    जीवनको अन्तिम अवस्थामा आफ्नै देश फर्कने र अझ् जन्म गाउँ पुग्ने डाक्टर उपेन्द्र देवकोटाको इच्छाले जो कोहीलाई आफू जन्मेको ठाउँ र आफ्नो देशतिर डोर्याउँछ।

  • बेइजिङको ग्रेट हल अफ द पिपुलमा प्रधानमन्त्री ओलीलाई गार्ड अफ अनर दिइँदै, साथमा चीनका प्रधानमन्त्री ली

    नेपाल–चीन १४ बुँदे संयुक्त विज्ञप्तीः रेलमार्ग सम्झौता नयाँ युगको थालनी

    नेपाल र चीनले बिहिबार बेइजिङमा केरुङ–काठमाडौं रेलमार्ग निर्माण सम्झौताले नयाँ युगको थालनी गरेको भन्दै खुशी व्यक्त गरेका छन्।