‘बराबरी सम्बन्ध राखे बहुविवाह राम्ररी चल्छ’

तर विश्वभरको अध्ययनले भन्छः बहुविवाहले असमानता र हिंसा भड्काउँछ





टन्न सम्पत्ति भएको व्यक्तिमा धेरै ओटी स्वास्नीको चाहना हुनुपर्छः दक्षिण सुडानमा सर्वस्वीकार्य तथ्य हो यो। त्यहाँको सेनाका पूर्व चिफ अफ स्टाफ पाउल मलोङका १०० भन्दा बढी पत्नी छन्, यद्यपि सही संख्या कसैलाई थाहा छैन। गत फेब्रुअरीमा उनकी सबैभन्दा कान्छी पत्नी एक शिक्षकसँग भागेपछि एक समाचार वेबसाइटले उनको पत्नीका संख्या ११२ भएको बताएको थियो। भागेकी पत्नी र ती शिक्षक अहिले लुकेर बसेको बताइन्छ। जेन अस्टेनको भनाइ सम्झिने हो भने, प्रेममा हामी सबै मूर्ख बन्छौँ। अझ संसारको सबैभन्दा हिंसात्मक देशको युद्धसरदारकी श्रीमतीसँग रासलीला चलाउनु भनेको त सबैभन्दा ठूलो मूर्खता हो।

सामान्यतः दक्षिण सुडानका पुरुषहरु आफ्नो सम्पत्तिले धान्नेजति संख्यामा विवाह गर्छन्। उनीहरुको सम्पत्ति प्रायः चौपायामा नापिन्छ। त्यहाँको लगभग ४० प्रतिशत विवाह बहुविवाह हुने गर्छन्। ‘हाम्रो संस्कारमा तपाईंसँग जति धेरै परिवार भयो, मानिसले तपाईंलाई उति धेरै सम्मान गर्छन्,’ एक युवा आइटी विशेषज्ञ विलियम (विलियमसहित यो आलेखका अन्य केही व्यक्तिको नाम परिवर्तन गरिएको छ) भन्छन्। उनी दोस्री पत्नीको खोजीमा छन्। अमेरिकामा पढेर आफ्नो गाउँ फर्केका उनी त्यहाँको धनीमानीभित्रै गनिन्छन्। त्यसैले उनले एउटै बेहुलीबाट किन सन्तुष्ट हुने?

केही दक्षिण सुडानी यहाँको वैवाहिक परम्परा र देशको भयानक गृहयुद्धबीच सम्बन्ध देख्छन्। यहाँको हिंसाको कारणबारे तपाईंले कसैलाई सोध्नुभयो भने स्थानीयले जातीयता, लोभी राजनीतिज्ञ, कमजोर संस्था अथवा तेलखानी हत्याउने युद्धसरदारहरुको चाहनालाई दोष दिन्छन्। यी सबै कुरा सत्य हुन्, तर सम्पूर्ण कारण यी मात्रै होइनन्।

विश्वमा बहुसम्बन्ध खासगरी बहुपत्नीत्वको अभ्यास व्यापक रुपमा भएका स्थानमा यसले समाजमा अस्थिरता निम्त्याउने गरेको छ। किनभने बहुविवाह आफैँमा असमानताको एउटा रुप हो। यसले जवान पुरुषहरुको मुटु र कम्मरमुनिको हिस्सामा तीव्र असन्तुष्टिको आगो उत्पन्न गर्छ। यदि कुनै धनी व्यक्ति ल्याम्बोर्गिनी चढ्छ भने त्यसको परिणामस्वरुप कुनै गरिबले पैदल हिँड्नैपर्छ भन्ने छैन। किनभने कारको आपूर्ति निश्चित छैन। तर त्यसको विपरीत हरेक पल्ट जब एक धनी व्यक्तिले अतिरिक्त पत्नी विवाह गर्छ, अर्को गरिब व्यक्ति पत्नीविहीन वा एक्लो रहन पुग्छ। यदि संसारका सबैभन्दा धनी र शक्तिशाली १० प्रतिशत पुरुषले चार पत्नी विवाह गरे भने सबैभन्दा गरिब ३० प्रतिशत पुरुष विवाहबाट वञ्चित हुनेछन्। यो अवस्थालाई रोक्न जवान पुरुषहरु जस्तोसुकै कदम पनि उठाउन तयार हुनेछन्।

अरबमा भएको वसन्त विद्रोह उठानको एउटा कारण यो पनि हो। त्यस्तै बोको हराम र इस्लामिक स्टेटका लडाकु नाइजेरिया, इराक तथा सिरियामा विजेता बन्नुमा र बहुविवाह प्रचलनमा रहेका इन्डोनेसिया तथा हाइटीका भूभागमा तनाव उत्पन्न हुनुको एउटा कारण पनि यही हो। बहुविवाह प्रचलनमा रहेको समाजमा अन्य समाजमा भन्दा बढी रक्तपात हुन्छ। त्यस्तै यस्ता समाजमा छिमेकीमाथि आक्रमण गर्ने सम्भवना बढी हुन्छ भने ती समाज बढी विघटनउन्मुख हुन्छन्। फन्ड फर पिस नामक एक गैरसरकारी संस्थाको फ्रेजाइल स्टेट इन्डेक्सका अनुसार विश्वका सबैभन्दा बढी अस्थिर २० राष्ट्रमा रहेको साझा विशेषता भनेको ती सबैमा बहुविवाह प्रचलित छ।

प्रायः धनी देशमा बहुविवाह गैरकानुनी छ। त्यसैले यो कति व्यापक छ भन्ने कुरामा पश्चिमाहरुले यसलाई कम आँक्ने गर्छन्। पश्चिम अफ्रिकाका एक तिहाइभन्दा बढी महिलाले एकभन्दा बढी पत्नी भएका पुरुषसँग विवाह गर्छन्। अरब विश्वमा बहुविवाह प्रचुर मात्रामा हुन गर्छ। दक्षिण–पूर्वी एसिया र क्यारिबियनको केही भागमा पनि यो प्रचलनमा छ। सामान्यतयाः यसको अभ्यास गर्ने संस्कृति पितृवंशीय छ। अर्थात्, पुरुषकै नाम र वंशरेखाले त्यो परिवारलाई चिनिन्छ। त्यस्तै विवाहमा महिला नै आफ्नो घरपरिवार छोडेर पुरुषको घरपरिवारमा संलग्न हुन्छन्। प्रायःजसो बेहुलातर्फको परिवारले बेहुलीको परिवारलाई निश्चित रकम (दाइजो) तिरेपछि विवाह छिनिन्छ। यसलाई बेहुलीलाई हुर्काइबढाइ गर्दा लागेको खर्चको पूर्तिको रुपमा लिइन्छ।

केही पुरुषहरु आफूलाई असाधारण वा पवित्र देखाएर पनि धेरै जना पत्नी आकर्षित गर्न सफल हुन्छन्। ‘धार्मिक वा साम्प्रदायिक नेताहरुमध्ये आफ्नो शक्ति र सत्तालाई धेरै पत्नी बटुल्न लागि प्रयोग नगर्ने मानिस पनि होलान्, तर त्यस्ता कुनै पनि व्यक्तिको नाम मलाई थाहा छैन,’ युनिभर्सिटी अफ वाशिंगटनका डेविड बरास आफ्नो पुस्तक ‘आउट अफ इडनः द सरप्राइजिङ कन्सिक्वेन्सेज अफ पोलिगामी’ मा लेख्छन्। तथापि बहुविवाहको अभ्यासलाई सम्भव बनाउने सबैभन्दा महत्वपूर्ण तत्व भनेको आकर्षणको असमान वितरण होइन, सम्पत्तिको असमान वितरण हो।

सम्पत्तिको असमान वितरण भएको र दाइजो प्रचलनमा रहेको समाजमा बहुविवाहका लागि उधारो दिइने गरिन्छ। जसका कारण बेहुलीलाई तिरिने मूल्य प्रायः आकाशिन्छ, जुन प्रायः विनाशकारी उचाइसम्म पुग्छ। अफगानिस्तानको अत्यन्त गरिब इलाकामा एक व्यक्तिको औसत विवाह खर्च १२ देखि २० हजार डलरको बीचमा हुन्छ।

बहुविवाहका कारण दाइजो बढेपछि केटाहरुको विवाह गर्ने उमेर पनि बढ्दै जान्छ। किनभने विवाहका लागि पर्याप्त रकम जम्मा गर्न लामो समय लाग्छ। त्यसैगरी यसले केटीहरुको विवाहको उमेरलाई चाहिँ घटाउँछ। धनीभन्दा धनी परिवारबाहेक सबैले आफ्ना छोरालाई ठूलो रकम खर्चेर बेहुली ‘किन्नु’ अघि आफ्ना छोरीलाई ‘बेच्न’ जरुरी हुन्छ। त्यस्तै आफूले छानेको बेहुली कम उमेरकी र बच्चा जन्माउन सक्ने होस् भन्ने पनि उनीहरु चाहन्छन्। ‘२० वर्षकी केटीलाई बुढी आइमाई भनिन्छ किनभने त्यसपछि उनी धेरै बच्चा जन्माउन सक्दिनन्,’ दक्षिण सुडानका एक स्थानीय व्यक्तिले बोस्टन युनिभर्सिटीका मार्क समर्स र कोलम्बिया युनिभर्सिटीकी स्टेफेनी स्वार्जसँग भनेका छन्। एक आदिवासी वृद्धले यसको हिसाब यसरी लगाए, ‘तपाईंसँग १० छोरी छन् भने प्रत्येकले तपाईंलाई तीसतीस ओटा गाई दिनेछन्। त्यो सबै तपाईंकै सम्पत्ति हो। सबै छोरीको विवाह सकिँदा तपाईंसँग ३०० गाई हुनेछन्।’ अब यदि सो घरमूलीले १५ वर्षको उमेरमा छोरीको विवाह गरिदिने र आफ्नो छोरालाई ३० वर्षसम्म विवाह गर्न नदिने हो भने सो व्यक्तिसँग दाइजोबाट आएको सम्पत्तिको ब्याज खाने १५ वर्षको समय रहन्छ। र यो सानो कुरा होइन।

टेक्सास ए एन्ड एम युनिभर्सिटीकी भेलेरी हड्सन र यल युनिभर्सिटीकी हिलारी म्याटफेसले पनि ‘जवान पुरुषहरुलाई राजनीतिक उद्देश्यका लागि संगठित हिंसामा सामेल हुन उक्साउने’ एक प्रमुख तत्व उच्च दाइजो भएको बताएका छन्। आतंकवादी समूहहरुलाई पनि यो कुरा थाहा छ। २००८ को मुम्बइ आक्रमणको आरोपमा फाँसी दिइएका पाकिस्तानी आतंकवादी मोहम्मद कसाबले पनि आफ्ना दाजुभाइलाई विवाह गर्न सघाउने वाचा गरेकोले आफू लस्कर–ए–तोयबा नामक जिहादी संगठनमा भर्ती भएको बताएका थिए। नाइजेरियामा बोको हरामले समूहमा भर्ती भएकाहरुको विवाहको बन्दोबस्त मिलाउँछ। इस्लामिक स्टेटले पनि विदेशी सदस्यलाई घरजमको सुरुवात गर्न १५०० डलर र रक्कामा निःशुल्क हनिमुनको व्यवस्था मिलाउने गथ्र्यो। इजिप्टका कट्टरपन्थी इस्लामिक समूहहरुले आफ्ना सदस्यका लागि सस्तोमा बिहेको प्रबन्ध मिलाउँथ्यो। जाहेर छ, जिहादीहरुलाई अर्को जन्ममा मात्र कुमारी दिलाउने वाचा गरिँदैन।

भयानक वञ्चितीकरण
दक्षिण सुडानमा दाइजो (बेहुलीको परिवारलाई तिरिने मूल्य) का रुपमा ३० देखि ३०० ओटाको बीचमा गाई दिइन्छ। ‘कम उमेरका केटाहरुका लागि यति धेरै पशुधन वैधानिक तरिकाले जम्मा गर्नु लगभग असम्भव छ,’ हड्सन र म्याटफेस लेख्छन्। त्यसको विकल्प भनेको नजिकैको अर्को आदिवासी समूहको पशु चोर्नु वा लुट्नु हो। जताततै हतियार भएको देशमा यस्ता लुटका घटना नियमित र रक्तपातयुक्त हुने गर्दछ। ‘इस्टर्न लेकमा पशु लुट्दा ७ को मृत्यु, १० घाइते’ दक्षिण सुडानको ‘दिस डे’ नामक पत्रिकाको शीर्षक यस्तो हुने गर्छ। सो समाचारले ‘छिमेकी समुदायका हतियारधारी युवाले’ कसरी दोहोरो गोली हानाहानका बीच ७ मानिस र ३८ गाईलाई मृत छोडेर ५८ ओटा गाई लुटे भन्ने कुराको वर्णन गर्दछ।

प्रत्येक वर्ष यस्ता पशु लुटमा हजारौँ दक्षिण सुडानी मारिने गर्छन्। ‘यदि तपाईंसँग गाई छन् भने सबैभन्दा पहिले तपाईंले बन्दुक लिनुपर्छ। यदि तपाईंसँग बन्दुक छैन भने मानिसहरुले तपाईंको गाई लैजानेछन्,’ दक्षिण सुडानको एउटा सहर वाउका ३० वर्षे गाई गोठाला जोक भन्छन्। उनले एउटा कट्टा मात्रै बोकेका छन्। तर उनका दाजुभाइसँग बन्दुक छ।

जोक गाईलाई निकै माया गर्छन्। ‘गाईले दूध दिन्छ अनि यसैको सहायताले तपाईं विवाह पनि गर्न सक्नुहुन्छ,’ उनी मुस्कानका साथ भन्छन्। उनी यही साल आफूले विवाह गर्ने बताउँछन्। तर त्यसका लागि उनीसँग पर्याप्त गाई छैनन्। उनको झुत्रो कपडा हेर्ने हो भने थप गाई किन्ने पैसा पनि उनीसँग छैन। बाँकी गाई कसरी जुटाउने भन्ने कुरा उनलाई नै थाहा छैन। तर उनी आफ्ना गाई भर्खरै जातीय नरसंहार भएको स्थानमा चराइरहेका छन्। यो कुरालाई नजरअन्दाज गर्न सकिँदैन। जोकझैँ दिन्का समुदायका अन्य मानिस पनि वाउमा स्वतन्त्र रुपमा घुमिरहेका छन्। सो स्थानमा बस्दै आएका अन्य जातिका मानिसहरु चाहिँ अहिले राष्ट्रसंघका सुरक्षाकर्मीले रक्षा गरिरहेको शिविरमा बस्छन्।

शिविरमा रहेका सबैजनाको कथा उस्तै छ। नीलो कपडा लगाएका दिन्काहरु आए, तिनले उनीहरुको घरमा आक्रमण गरे, पुरुषहरुलाई मारे, जेजति बोक्न सकिन्छ, साथमा लिएर गए। उनीहरुले पशुधन र उमेरदार महिलाहरुलाई पनि लगे। ‘मेरो परिवारका धेरै जना कि त मारिए, कि बलात्कृत भए,’ गाउँकी एक व्यापारी साइदा भन्छिन्, ‘आक्रमणकारीहरुले मानिसको टाउको छिनाए। हाम्रो गाउँमा अहिले कोही पनि तन्नेरी पुरुष बाँकी छैनन्। कोही विद्रोही संगठनमा भर्ती भएका छन्। कोही सुडान भागिसके।’ साइदाका पति पनि भाग्न सफल भए। उनी अहिले अर्की पत्नीका साथ सुडानी राजधानी खार्तुममा बसिरहेका छन्। साइदा पाँच बच्चाको लालनपालन गरिरहेकी छन्। किन यो सबै भइरहेको छ भन्ने प्रश्नमा उनी आँशु खसाएर रुन थालिन्।

‘तपाईंसँग बन्दुक छ भने तपाईंले चाहेको जुनसुकै कुरा प्राप्त गर्न सक्नुहुन्छ,’ आफ्नो जमिनबाट लखेटिएका किसान अब्दुल्ला भन्छन्। उनको जमिनमा अहिले दिन्का लुटेराहरुले आफ्ना पशु चराइरहेका छन्। ‘बन्दुक बोकेको मान्छेले तपाईंसँग ‘म तँसँग बिहे गर्न चाहन्छु’ भन्यो भने तपाईं नाइँ भन्न सक्नुहुन्न,’ एक सहायताकर्मी अकेच भन्छिन्। यसैकारण दक्षिण सुडानमा किशोरहरु युद्धमैदानको छेउछाउ घुम्ने गर्छन्। कुनै लडाकु मारिनासाथ तिनीहरु गएर उसको हतिहार समात्छन्, ताकि उनीहरु पनि लडाकु बन्न सकुन्।

समग्रमा बहुविवाह घटिरहेको छ। यद्यपि यसका समर्थकहरु यसलाई संरक्षण र अझ विस्तार गर्न लागिपरेका छन्। पाँचमध्ये दुई कजाकस्तानी बहुविवाहको अभ्यासलाई पुनः कानुनी रुप दिन चाहन्छन् (बोल्सेभिकहरुले यसमाथि प्रतिबन्ध लगाएका थिए)। तिनीहरु २००८ मा अस्थायी रुपमा भए पनि पराजित भएका थिए। संसदमा ल्याइएको बहुविवाह पक्षधर विधेयकमा एक महिला सांसदले बहुपत्नीत्व मात्रै होइन बहुपतित्व पनि सामेल हुनुपर्छ भन्ने तर्क गरेपछि दारीवाल मुस्लिम सांसदहरु जिल्ल परेका थिए।

पश्चिममा सामाजिक अस्थिरता निम्त्याउने गरी बहुविवाह प्रचलनमा छैन। किनभने यहाँ यसलाई केही हदसम्म धारावाहिक बनाइएको छ। धनी र शक्तिशाली पुरुषहरुले नियमित रुपमा बुढी स्वास्नीलाई तरुनी स्वास्नीसँग साट्ने गर्छन्। यसरी एउटै पुरुषले धेरै जना महिलाको प्रमुख प्रजननयोग्य उमेरमाथि एकाधिकार जमाउँछन्। तै पनि यसले केही जना मात्रै पत्नी राख्ने अनुमति दिन्छ, केही दर्जन होइन। अमेरिकामा बहुविवाहको अभ्यास गर्ने टुट्दो मर्मोन सम्प्रदाय पनि अस्थिर छ। सो सम्प्रदायका वृद्ध पुरुषहरुले ससाना गल्तीमा पनि युवाहरुलाई सम्प्रदायबाट निष्कासन गर्छन्, ताकि उनीहरुले धेरै महिलासँग विवाह गर्न सकुन्। फेरि पनि केही अमेरिकी अभियन्ताहरु समानान्तर बहुसम्बन्धलाई वैधानिक बनाउनुपर्ने तर्क गर्छन्। उनीहरुको तर्कअनुसार संविधानले समलैंगिक विवाहलाई वैधानिकता दिन्छ भने बहुविवाहलाई अवैधानिक घोषित गर्नु असंवैधानिक हुन्छ। ‘सामाजिक उदारवादको अबको क्षितिज भनेको समूह विवाह हो,’ एक विद्वान फ्रेडरिक डिवोर पोलिटिकोमा लेख्छन्।

व्यक्तिगत प्राथमिकताबाहेक बहुसम्बन्धका समर्थकहरुको खासगरी दुई ओटा तर्क छन्। एउटा तर्क हो, यसलाई कुरानले पवित्र मानेको छ, जुन साँचो हो। अर्को तर्क छ, यसले महिलाहरुलाई बुढीकन्या हुनबाट बचाउँछ। इजिप्टकी बहुविवाह समर्थक अभियन्ता रानिया हासिम आफ्नो देशमा पुरुषहरुको अभाव रहेको दाबी गर्छिन्। इजिप्टमा पुरुषहरुको कमी छैन तर बहुविवाह पक्षधरहरुमा यस्तो गलत धारणा पाइन्छ। यदि धनी र शिक्षित लोग्नेमान्छेले धेरै जना पत्नी विवाह गरे भने यसबाट महिलाहरुले आफ्नो ‘पति प्राप्त गर्ने अधिकार’ अभ्यास गर्न सहज हुने उनको तर्क छ। इजिप्टकी अर्की बहुविवाह समर्थक अभियन्ता मोना अबु सनाब तर्क गर्छिन्, सम्बन्धविच्छेदको मुख्य कारण बनेको पुरुषहरुको यौन असन्तुष्टिलाई पूरा गर्ने बुद्धिमानीपूर्ण तरिका भनेकै बहुविवाह हो। ‘विवाहपछि महिलाहरु पतिको वास्ता गर्दैनन् र बढी बच्चाबच्चीतिर केन्द्रित हुन्छन्। अन्तरंग सम्बन्धबाट बच्ने उनीहरुसँग कुनै न कुनै कारण हुन्छ। उनीहरु जहिल्यै ‘थकित’ वा ‘बिरामी’ हुन्छन्। यसले पुरुषहरुलाई असहज बनाउँछ र उनीहरु अतिरिक्त सम्बन्ध निर्माण गर्नतिर लाग्छन्।’

केही पुरुष बहुविवाहलाई महिलाको सन्तानहीनताको व्यवहारिक समाधान ठान्छन्। ‘मेरी पहिली स्वास्नी काम नलाग्ने थिई,’ लाहौर, पाकिस्तानका ६५ वर्षे घरधनी गुरमित भन्छन्। ‘एक पटक उसले उसको नभएर मेरो कारण सन्तान नजन्मेको बताई। मलाई रिस उठ्यो। म धर्मकर्ममा लागेँ र भगवानले मलाई अर्की स्वास्नी बिहे गर्न बाटो देखाए।’ उनी डिम्ब निसेचनको योजना बनाइरहेका थिए तर ईश्वरले देखाएको बाटो चाहिँ उनलाई असल लगानी हो भन्ने लाग्यो। सुरुमा त उनकी प्रथम पत्नी ‘मेरो माया अर्की आइमाईसँग बाँड्न अनिच्छुक थिई। तर समय बित्दै जाँदा उसले परिस्थितिलाई स्वीकार गरी,’ गुरमित भन्छन्। उनले घरलाई दुई हिस्सामा अंशबण्डा गरे, ताकि उनका दुई पत्नी अलगअलग बस्न सकुन्। उनले आफ्नो समय पनि दुई जनामा बराबर भाग लगाए। ‘यसले काम गर्‍यो,’ उनी भन्छन्। उनकी दोस्री पत्नीले ६ सन्तान जन्माइन्। तर दोस्री पत्नीले प्रथम पत्नीलेझैँ सुन्दर तरिकाले कपडा नलगाउने र कोठा पनि चिरिच्याँट्ट नपार्ने गुनासो गुरुमित गर्छन्।

बहुपत्नीत्व पुरुषका लागि कडा परिश्रमको काम भए पनि महिलाका लागि फाइदाजनक भएको गुरमित बताउँछन्। किनभने महिलाका लागि अविवाहित बस्नु ‘अवाञ्छनीय’ हुने उनको तर्क छ। बहुपतित्वको कुरा गर्दा गुरुमित भन्छन्, ‘म दृढतापूर्वक यसलाई अस्वीकार गर्छु। धेरैजना लोग्ने राख्नु महिलाको प्रकृतिको विरुद्ध हुन जान्छ।’ उनी थप्छन्, ‘उमेर हुँदा म कुखुरा पाल्थेँ। एउटै भाले थुप्रै पोथीसँग लाग्थ्यो तर पोथीलाई भने एउटा भालेभन्दा बढीसँग लहसिन दिन्नथेँ। त्यसैले यो प्राकृतिक कानुनविपरीत छ।’

बेहुलीलाई बढी घाटा
‘दुवै पत्नीलाई बराबरीको व्यवहार गर्ने हो भने बहुविवाह राम्ररी चल्न सक्छ,’ दुई पत्नी भएका पाकिस्तानी न्यायधीश अमर भन्छन्, ‘दुईमध्ये एकलाई बढी ध्यान दिइएन भने कुनै समस्या आउनेछैन।’ यद्यपि उनी स्वीकार्छन्, एउटै घरमा दुई पत्नी भए भने ‘प्राकृतिक प्रतिद्वन्द्विता’ उत्पन्न हुन्छ। अंशबण्डा गर्नु पनि जटिल हुन्छ र यसका कारण मुद्दा लड्नुपर्ने अवस्था सिर्जना हुनसक्छ।

तैपनि आफूले राम्रै तरिकाले घर चलाएको अमर ठान्छन्। ‘मेरो दैनिकी भनेको म एक रात एक पत्नीसँग र अर्को रात अर्की पत्नीसँग बिताउँछु। यसो गर्दा दुवैजनाले आफूलाई खराब व्यवहार गरेको ठान्दैनन्। र म उनीहरुलाई खर्च पनि ठ्याक्कै बराबरी दिन्छु। दुवैलाई एकएक क्रेडिट कार्ड दिएको छु। एक न्यायधीश भएकाले मेरो सबैभन्दा महत्वपूर्ण कर्तव्य भनेकै न्याय दिनु हो,’ उनी भन्छन्। त्यसैबेला उनकी एक पत्नी कोठामा प्रवेश गरिन् र आफ्नो कुरा भन्न खोजिन्। तर उनका पतिले उनलाई बोल्न नदिई धपाए।

बहुविवाह प्रचलनमा रहेको समाजमा महिलाहरुका लागि विवाह गर्न तुलनात्मक रुपले अलिकति सहज त होला तर उनीहरुको विवाहको गुणस्तर भने उच्च नहुन सक्छ। किनभने प्रायः यस्ता बेहुलीहरु उनीहरुको पतिभन्दा निकै कम उमेरका हुने गर्छन्। भनिरहनु नपर्ला, उनीहरु उति शिक्षित पनि हुँदैनन्, जसका कारण पतिको सामना गर्न पनि उनीहरुलाई निकै कठिन हुनेगर्छ। त्यसमाथि दाइजो दिएर स्थापना गरिएको सम्बन्ध समानताका लागि सहयोगी हुने कुरा पनि भएन।

दक्षिण सुडानमा करिब ८० प्रतिशत मानिस यौन सम्पर्क अस्वीकार गरेका वा खाना डढाएकोजस्ता कारणका लागि पतिले पत्नीलाई पिट्नु स्वीकार्य ठान्छन्। सम्बन्धविच्छेद गर्दा बेहुलीको परिवारले दाइजो फिर्ता दिनुपर्ने हुन्छ। त्यसैले घरपरिवारले आफ्ना छोरीचेलीलाई जस्तोसुकै दुर्व्यवहार सहेर भए पनि पतिसँगै बस्न जोड दिन्छन्।

बहुविवाह केटाकेटीका लागि पनि हानिकारक छ। २९ अफ्रिकी देशका २ लाख ४० हजार केटाकेटीमा गरिएको अध्ययनअनुसार अन्य पक्षलाई नियन्त्रण गर्दा पनि बहुविवाह भएको घरका केटाकेटीको मृत्यु हुने सम्भावना बढी हुन्छ। मालीको डागोनमा गरिएको अध्ययनमा पनि बहुपत्नीत्व भएको परिवारको बच्चा एकल विवाह भएको परिवारमा भन्दा मर्ने सम्भावना ७ देखि ११ प्रतिशतले बढी हुन्छ। यस्तो परिवारमा बाबुले आफ्ना बालबच्चाको हेरचाहमा भन्दा अरु बच्चा जन्माउनमा धेरै समय गुजार्ने बरास बताउँछन्। त्यसबाहेक डोगोन समुदायका मानिसहरुका अनुसार ईर्ष्यालु पत्नीले कहिलेकाहीँ सौताको सन्तानलाई विष दिने गर्दछन्, ताकि आफ्ना बच्चाले बढी हिस्सा पाउन्।

दक्षिण सुडानकी सहयोगी कार्यकर्ता अकेचका लागि पनि बहुविवाह गरिएको परिवारमा हुर्किनु ‘सजिलो थिएन।’ उनका भूतपूर्व विद्रोही कमाण्डर पिताका आठ पत्नी र अनेकौँ रखैल थिए। उनी आफ्ना ४१ दाजुभाइदिदीबहिनीलाई चाहिँ चिन्छिन्। उनी छ वर्षकी छँदा रक्सी पार्नका लागि हरेक दिन २० लिटर पानी बोक्ने गर्थिन्। कहिलेकाहीँ उनका बुबा मात्तिएर आउँथे र ढोकामा ड्याम्म हान्थे। उनी आमाले जम्मा गरेको पैसा अर्की महिलाका लागि खर्च गर्न लिएर जान्थे। उनका आमाबुबा झगडा गरेको अकेच अझै पनि सम्झिन्छिन्। तै पनि आपतविपतमा पूरै परिवार एकजुट भएको उनलाई थाहा छ। उनको बुबाको गोडामा जब गोली लाग्यो, उनका पत्नीहरु भेला भएर उनलाई नुहाइदिए, अस्पताल लगे र उपचार खर्च बेहोरे।

विश्वविद्यालयमा पढ्दै गर्दा अकेचलाई एक दिन बुबाले बोलाए र आफूसँग भेट्न भने। ‘हामीबीच बाउ–छोरीजस्तो निकटता थिएन, त्यसैले म उत्साहित भएँ,’ उनी सम्झिन्छिन्। जब उनी बुबालाई भेट्न पुगिन्, बुबाले आफ्ना साथीसँग उनको परिचय गराए र ती व्यक्तिसँगै विवाह गर्ने आदेश दिए। उनी आतंकित भइन्। उनी भर्खर १९ वर्ष पुग्दै थिइन्, बुबाका साथी ६५ वर्षका थिए।

उनले विवाहको प्रस्ताव स्वीकार गरेको नाटक गरिन् र आफ्नो सामान लिन कलेज जान चाहेको बताइन्। उनको बुबा सहमत भए। उनी कलेज फर्किन् र त्यहीँ बसिन्।

यो घटना एक दशकभन्दा अगाडिको हो। अकेचले विश्वविद्यालयको पढाइ पूरा गरिन् र राम्रो जागिर पनि पाइन्। उनले हालै वयोवृद्ध बाबुका लागि एउटा घर किनिदिएकी छन्। केही हदसम्म आफूले पाएको शिक्षाको मूल्य देखाउन र केही हदसम्म एक पटक बुबाको अपहेलना गरेको दोष पखाल्न उनले सो घर किनिदिएकी हुन्। ‘मेरो संस्कारमा पृथ्वीका भगवान भनेकै आमाबाबु हुन्। उनलाई निराश नबनाउन मैले सकभर प्रयास गरेँ,’ उनी भन्छिन्। यद्यपि उनका बुबाले उनलाई बेच्ने प्रयास गरेकोमा कहिल्यै माफी मागेका छैनन्।

प्रकाशित १३ पुस २०७४, बिहिबार | 2017-12-28 07:53:07


प्रतिकृया दिनुहोस

Loading...
  • अन्तिम दोश्रो भोज

    ‘सगरमाथा र लुम्बिनीबिना पनि यो कोटीहोम सम्पन्न हुनपर्छ। एकैछिनको कुरा त हो, न त्यो धरोहर रहन्छ, न हामी। त्यसका खातिर स्लखित हुनै आँटेको नली...

  • पुस्तक सार्वजनिक गर्दै लेखकसहित आमन्त्रित

    नथियाः आउट साइडरको बयान

    हरेक युवतीको नथिया उतार्दाका सुस्केरा, एकै परिवारका बाबु–छोराले एकै महिलासँग गर्ने सम्भोग वा एउटै पुरुषले आमा छोरी दुवैको नथिया उतार्नु र उक्त छोरी...

  • रवि र शोभा

    आशा नमारेको जोडी

    ‘एक्लै हिँड्दा उहाँ लड्नुहुन्छ कि, म नभएपछि कसले डोर्‍याईदिन्छ जस्तो लाग्छ। म नहुँदा त कसैले हुत्याइदिन्छ कि जस्तो पनि लाग्छ। के खानुभयो होला, म...

  • निभा शाह

    राजखलकमा जन्मिएकी विद्रोही कवि

    उनले आफ्नै आँखाले कैलालीमा थारुहरुलाई बेचेको देखिन्। हरेक वर्षको माघ १ गते थारुहरुको किनबेच चल्थ्यो। थारुको किनबेच आधिकारिक थियो। राज्यकै...

  • चिनियाँलाई शरणको कचौरा थेरापी

    बेइजिङमा शरद ऋतु लाग्दै गरेको एक दिन उनी ध्वनिपात्र उपचार पद्धतिबारे बताइरहेका थिए। विभिन्न प्रान्तबाट आइरहेका निम्ताहरू पच्छयाउन भ्याइनभ्याई...

Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

NepalKhabar Tweets

विशेष

  • युवराज खतिवडा

    अर्थ मन्त्रालयमा जाने पछिको कुरा होः युवराज खतिवडा

    राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा मनेनित भएका अर्थविद डा युवराज खतिवडाले अर्थमन्त्री हुनेबारे छलफल भैनसकेको बताएका छन्।

  • बालुवाटारमा ७ बुँदे सहमतीमा हस्ताक्षर गर्दै एमाले–माओवादीका नेताहरू

    एमाले-माओवादीले गरे एकता, नेपाल कम्युनिष्ट पार्टी नयाँ नाम

    एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने ऐतिहासिक सहमती भएको छ। सोमबार राती प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल कम्युनिष्ट पार्टी नाम राखेर...

  • क्रिकेट खेल्न जाने हो, मोटा मान्छेदेखि डराउनु पर्दैन : ओली (भिडियो)

    नामिबियामा सम्पन्न डिभिजन टूको उपविजेता बन्दै वल्र्डकप क्वालिफायरमा छनोट भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सरकारले जनही तीन लाख रुपैयाँसहित...

  • ललितपुर एसएसपीलाई स्पष्टिकरण, इन्स्पेक्टर प्रहरीकै नजरबन्दमा

    महानगरीय प्रहरी परिसर ललितपुरले ‘लेनदेन’ को विषयलाई अपहरण तथा शरीर बन्धकको घटना बनाएर मुद्दा मिलाएको खुलासा भएको छ। परिसरले अपहरण तथा शरीर बन्धक...