लेखनका यस्ता अफ्ठ्यारा





गाब्रिएल गार्सिया मार्खेज
गाब्रिएल गार्सिया मार्खेज

आफ्नो आत्मकथा ‘लिभिङ टु टेल द टेल’मा गाब्रिएल गार्सिया मार्खेजले भनेका छन्, ‘यदि तपाईं नलेखिकन जिउन सक्नुहुन्छ भने, नलेख्नुस्।’ यो अति स्पष्ट भनाइ थियो र लगभग उनको आफ्नै वर्णन पनि थियो।

युवावस्थामा मार्खेजलाई लेख्नका लागि निकै हतारो थियो। अरुले आफूलाई पढुन् भन्ने धावा थियो उनलाई। दरिद्रताको हालतमा उनी यो क्याफेबाट त्यो क्याफे चाहर्थे र सबैमा तिर्नुपर्ने रकम खातामा चढाउँदै जान्थे। आफ्नो सानो तलब नआउञ्जेल काम चलाउन उनी चक्रिय तरिकाले पालैपालो ऋण लिन्थे।

आफूले काम गर्ने पत्रिकाबाट चोरेको कागजको मुठो उनको खल्तीमा हुन्थ्यो। क्याफेमा बसेर त्यही कागजमा उनी लेख्थेः कथा, निबन्ध र अन्ततः सुरुवाती छोटा उपन्यास। उनी प्रायः पत्रिका छापिँदै गरेको प्रेसमा रात बिताउँथे, जहाँ न्यानो हुन्थ्यो। त्यहाँ पनि उनी लेखिरहन्थे। उनको दिनचर्यामा पिउने काम हुन्थ्यो, तेर्तुलिया (भेला) हरु हुन्थे, वेश्याहरु थिए, प्रेमिकाहरु थिए। तर दिनभरीका यी सबै क्रियाकलापसँगै उनको लेख्ने काम पनि जारी रहन्थ्यो। उनको वरिपरि क्रान्ति भए, सैन्य कु भए। यी सबका माझ मार्खेजले लेखिरहे। उनी प्रायः पहिले हातले लेख्थे त्यसपछि मागेर ल्याएको टाइपराइटरमा टाइप गर्थे। त्यसैले उनका साथीहरुले भनेझैँ गाबो लेख्नका लागि बाँचे, आफ्ना कथा भन्न बाँचे।

धाराप्रवाह लेखन र अवरोध
‘यदि तपाईं नलेखिकन जिउन सक्नुहुन्छ भने, नलेख्नुस्।’ पहिलो पटक यो वाक्य पढ्दा मैले आफ्नो मुटु चिसो भएको महसुस गरेँ। मलाई मनपर्नेमध्ये एउटा काम भनेको नलेखिकन जिउनु थियो। धेरैजसो समय मेरालागि गम्भीर लेखन दाँत उखेलेजत्तिकै कष्टपूर्ण थियो। स्पष्टतः म गलत पेसामा फस्न आइपुगेको थिएँ र अब निकै ढिला भइसकेको थियो।

बिस्तारै अरु लेखकहरुसँग मैले यो विषयमा कुराकानी गर्न सुरु गरेँ। तीमध्ये केहीले उत्साहपूर्वक मुन्टो हल्लाएः हो ठ्याक्कै! लेखन भनेको आत्माको आवेग हो, सनक हो, आदत हो! तर अर्काथरिको प्रतिक्रिया मेरोजस्तै थियो। हामीजस्ताका लागि लेखन आत्माबाट होइन, अन्यत्रै कतैबाट आउँथ्यो। हो, एकपछि अर्को शब्द आइरहँदा, गद्यनिर्माणका जोर्नीहरु सलल बगिरहँदा र शब्दशिल्प आफ्नो धुनमा गाइरहुञ्जेल, लेखन निकै सहज छ। तर हरेक दिन कहाँ उस्तै हुन्छ र! धेरैजसो दिन नलेखिकनै (खुसीपूर्वक) बाँच्नुपर्ने हुन्छ। यस्ता दिनहरुमा मेरा ‘ब्लकिस्ट’ साथीहरु र म फ्रान्ज काफ्काजस्तै हुन्छौँ। २९ जनवरी १९१५ मा काफ्का आफ्नो डायरीमा लेख्छन्, ‘फेरि लेख्ने प्रयास गरेँ। लगभग बेकार।’ फेब्रुअरी ७ मा उनी लेख्छन्, ‘पूरै स्थिर। अन्तहीन यातना।’

यसबारे विचार गर्दा यो फरक प्रकृतिको लेखनको मुद्दा पनि हो। मजस्तै मेरा धेरै लेखक साथीहरु एकभन्दा बढी प्रकारका लेखनमा संलग्न छन्। पत्रकारिता, स्तम्भ लेखन, लामा ननफिक्सन लेखन र फिक्सन। यी फरक प्रकारका लेखन फरक प्रेमीलेझैँ लेखकसँग प्रायः विरोधाभाषी माग राख्छन्। यी सबैका माझमा म आफ्नो पितालाई सम्झिन्छु। उनी गुजराती भाषामा प्रसिद्ध लेखक थिए, उनका पाठकको संख्या विशाल थियो। उनी हरेक दिन लेख्ने गर्थेः बिहान काममा जानुअघि, व्यापार धिमा भएको बेला दिउँसो र खानापछि राती अबेरसम्म।

दिनचर्या
३५ वर्षभन्दा लामो अवधिमा मेरा पिताले कैयौँ उपन्यास, नाटक, कथा र यात्रा वर्णन लेखे। त्यसबाहेक गुजराती प्रेसका लागि स्तम्भ पनि। केटाकेटी छँदा मैले उनलाई एक पटक सोधेको थिएँ, ‘कथाका लागि तपाईंसँग कल्पनाको अभाव हुँदैन?’ उनी हाँसे। ‘तँलाईं थाहा छ, समरसेट मम कसरी काम गर्थे? उनी बिहान उठ्थे, नुहाउँथे, सुट र टाइ लगाउँथे अनि डेस्कमा लेख्न बस्थे। त्यसपछि उनलाई कुनै कथा फुरेन भने आफ्नै नाम लय हालेर दोहोर्‍याई-दोहोर्‍याई गाइरहन्थे। जबसम्म कथा फुर्दैनथ्यो, यो क्रम उनी जारी राख्थे। उनी सच्चा पेसेवर लेखक थिए। म त समय मिल्दा मात्रै लेख्ने गर्छु। म लेख्छु किनभने यसमा मलाई आनन्द आउँछ।’

उनको आत्मनिन्दालाई एकातिर राखेर भन्दा लेख्न सफल हुनुको महत्व मेरा पिताले बुझेका थिए। आफ्नो तिर्सना पूरा गर्न पाउनु, प्रकाशित हुनु र पढिनुको महत्व पनि उनले थाहा पाएका थिए।

मैले कुरा गरेका सबै लेखकसँग दिनको लेखन सुरु गर्ने तालिका फरकफरक छ। कसैकसैका लागि ‘दिनको लेखन’ नै गलत ‘लेवल’ बन्न पुग्छ। उनीहरु रात परेपछि मात्र लेख्न सुरु गर्छन्। अन्य केही उज्यालो हुन नपाइ, सुत्दा लगाउने कपडा नफेरी लेख्न थाल्छन्। मजस्तै अन्य केहीका लागि भने हात चलाउनका लागि कफीको पर्याप्त मात्रा आवश्यक पर्छ।

हामीलाई थाहा छ, मार्सल प्राउस्टले ओच्छ्यानमा बसेर लेखे। ट्रुम्यान क्यापोटीले काउचमा पल्टेर लेखे। अर्नेस्ट हेमिङ्वेले उभिएर लेखे। हेमिङ्वे र क्यापोटी दुवैलाई पर्याप्त मात्रामा अल्कोहल चाहिन्थ्यो। अझ मार्गरिट डुरास त दैनिक पाँच बोतल रेड वाइन घुट्क्याउँथिन्। (उनको मृत्यु ८२ वर्षको उमेरमा भयो।)

म चाहिँ एक जना कला शिक्षकले सुझाएको दिनचर्या पच्छ्याउँछु। उनीबाटै यो सुझाव नपाए पनि मेरा अरु लेखक साथी पनि यसैलाई पच्छ्याउँछन्। ‘स्टुडियोमा प्रवेश गर्नेबित्तिकै अघिल्लो दिन बाँकी छोडेको काममा नलागिहाल्नू,’ उनी भन्थिन्, ‘पहिले ब्रस सफा गर। काम गर्ने ठाउँलाई व्यवस्थित बनाऊ। कफी तयार गर। स्केचबुकमा अलिअलि कोर। पेन्टिङमा नियाल, त्यसमा सानातिना काम गर। अलिअलि गर्दै तिमी काममा तानिँदै जानेछौ।’

इन्टरनेटको पासोबाट उम्किन सफल भएको र लेखनको जटिल लडाइँमा तानिन पाएको दिन म वास्तमै खुसी हुन्छु। ती दिनहरुमा शब्दासक्त गाबोप्रति म सहानुभूति र कमरेडसिप महसुस गर्छु।

(३ अक्टोबर २०१७ मा द हिन्दुमा प्रकाशित आलेखको भावानुवाद)

 

प्रकाशित १८ मंसिर २०७४, सोमबार | 2017-12-04 09:45:37



प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • प्रहरी हेडक्वार्टर

    हेडक्वार्टरबाटै हरायो प्रहरीको एउटा महत्वपूर्ण विभाग

    संघीय प्रहरी ऐन निर्माणका बिषयमा सघन छलफल भइरहेका बेला प्राविधिक समूहलाई समन्वय र चेन अफ कमाण्डमा राख्न छुट्टै निकायको खाँचो देखिएपछि सो विभाग...

  • नेपाली क्रिकेटको विवाद अन्त्य, निलम्बन फुकुवाको बाटो खुल्यो

    अन्तर्राष्ट्रिय क्रिकेट संघ परिषद्(आइसीसी)ले गठन गरेको सल्लाहकार समितीले बनाएको विधान नेपाल क्रिकेट संघ (क्यान)को बिहीबार राजधानीमा भएको विशेष...

  • क्यान साधारणसभाको उद्घाटन समारोह

    ‘क्रिकेटको भविष्य उज्यालो भो’

    उद्घाटन समारोहका प्रमुख अतिथी युवा तथा खेलकुद मन्त्री जगतकुमार सुनार(विश्वकर्मा)ले पानसमा दियो बाल्दै थिए। दियो बलेर उज्यालो हुदै गर्दा मञ्चबाट...

  • छिङ्हाइ–तिब्बत रेल

    हिमाल-पार रेलमार्गको चिनियाँ अभिष्ट

    हिमाल पार गर्ने त्रिआयामिक सम्पर्क सञ्जाल खडा गर्ने चीनको अभिलाषा छ। नाका, रेलमार्ग, हवाइमार्ग, विजुली सञ्जाल, दूरसंचार लगायतका विविध क्षेत्रबाट...