हात्ती र मानिसबीच यतिधेरै समानता

के हात्ती र मानिस सँगै बाँच्न सक्दैनन्?





सटरस्टक
NIC ASIA

भीम पाण्डालाई डब्लुडब्लुएफको प्रतीक चिन्ह बनाइएको छ। कालो–सेतो भुत्ला भएको लोपोन्मुख पाण्डामा गजबको प्रतीक चिन्ह बन्ने खुबी छ। तर यो जोखिमको कारण चाहिँ निकै सामान्य छ, मानिसको जनसंख्या बढ्दै जाँदा उनीहरुको बासस्थान कम हुनु। डब्लुडब्लुएफको चिन्हमा पाण्डाभन्दा हात्ती उपयुक्त हुनसक्छ। खासगरी अफ्रिकी हात्ती, किनभने निरन्तर मानवताको विकास भइरहँदा हात्तीको विनाश मात्र भएको छैन, हात्तीलाई मानिसले जानीबुझी निसाना बनाउने गरेको छ। बहुमूल्य दाँत प्राप्त गर्न चाहने शिकारी, बाली नष्ट गरिदिएका किसान र हात्तीलाई चरन क्षेत्रमा प्रतिस्पर्धी सम्झने पशुपालक, सबैको निसानामा हात्ती पर्ने गरेको छ।

अगस्ट २०१६ मा सम्पन्न भएको वृहत् हात्ती गणनाले करिब ३ लाख ५० हजार अफ्रिकी सवाना हात्ती जिउँदो रहेको देखाएको थियो। यो संख्या सन् २००७ मा भन्दा १ लाख ४० हजारले कम हो। वन्यजन्तुसम्बन्धी हालसम्मकै सबैभन्दा ठूलो यो गणना पारिस्थितिक प्रणाली विज्ञ माइक चेसको नेतृत्वमा रहेको टोलीले गरेको थियो, जसलाई माइक्रोसफ्टका संस्थापकमध्ये एक पाउल एलेनले आर्थिक सहयोग उपलब्ध गराएका थिए। उनीहरुले यो गणनामा करिब ५ लाख किलोमिटर हवाइ सर्वेक्षण गरेका थिए। यद्यपि अध्येताहरुले अलि सानो आकारको पश्चिमी र मध्य अफ्रिकामा बस्ने जंगली हात्तीहरुलाई समेट्न सकेनन्।

यसरी हात्तीको संख्या घट्नुमा चोरी शिकारी नै मुख्य कारण भएको कुरामा कुनै शंका छैन। हात्तीको दाँतको तस्करी, यसको बजार र पक्राउ परेको मात्राले यो कुराको पुष्टि गर्छ। तर बासस्थानमा हुने क्षति पनि उत्तिकै महत्वपूर्ण कुरा हो। जंगल र झाडीलाई खेतबारीमा परिवर्तन गर्ने बढ्दो क्रम र अफ्रिकामा भएको विकासले पनि हात्तीको बासस्थान खोसिरहेको छ। सडक, रेलमार्ग र बारहरुले हात्तीलाई घुमफिर गर्न अवरोध पुर्‍याएका छन्। यसै पनि हात्तीलाई जीविकाका लागि फराकिलो ठाउँ चाहिन्छ। केन्याली संस्था सेभ दि एलेफेन्ट्स (एसटिइ) का जर्ज विटमेयरका अनुसार उत्तरी केन्याको साम्बुरु नेसनल रिजर्भमा रहेका हात्तीका लागि औसत १५०० किलोमिटर स्थान छुट्याइएको छ। एउटा हात्ती दैनिक करिब ६० किलोमिटर हिँड्ने उनी बताउँछन्।

ज्ञानको लामो बाटो
के हात्ती र मानिस सँगै शान्तिपूर्वक बाँच्न सक्छन्? यो प्रश्नको उत्तर ‘सक्दैनन्’ भन्ने आउला भनेर चिन्तित हुनेहरु पनि छन्। उनीहरु अर्को विशाल स्तनधारी जीव लोप होला भनेर मात्र चिन्तित भएका होइनन्। खासगरी हात्तीले बुद्धिको विकास गरेको देखिन्छ। सम्भवतः हात्तीमा चेतना पनि हुन्छ। यद्यपि हात्ती मात्र होइन, केही प्रजातिका ह्वेल, केही मांसाहारी जीव र केही चरा पनि बुद्धिमान भएको दाबी गरिन्छ। बुद्धिको विकास गरेर जंगलमा बस्ने एउटा प्रजातिलाई गुमाउनु आफैँमा लज्जाको विषय त हुँदै हो, यसले भविष्यमा बुद्धिको विकासको प्रक्रिया बुझ्न चाहने वैज्ञानिकहरुको क्षमतालाई पनि कमजोर बनाउनेछ।

हात्तीको समुदायबारे जति कुरा जानिएका छन्, तीमध्ये धेरैजसो साम्बुरुमा एसटिइले गरेको अध्ययन र सिन्थिया मोसको नेतृत्वमा केन्याकै दक्षिणी भेगको अम्बोसेली नेसनल पार्कमा गरिएको अध्ययनबाट आएका हुन्। दुवैमा स्थलगत अध्ययनको परम्परागत शैली र प्रत्येक जनावरको गतिविधिलाई स्याटेलाइटमार्फत निगरानी गर्ने रेडियो कलर्स प्रविधिको प्रयोग गरिएको थियो।

डा. मोसले तान्जिानियाका इयान डगलस ह्यामिल्टन नामक वनस्पतिशास्त्रीको सहकार्यमा अम्बोसेलीमा सन् १९७२ बाट काम सुरु गरेकी हुन्। डगलस ह्यामिल्टनले १९९३ मा एसटिइको स्थापना गरेर डा. विट्मेयरलाई साम्बुरुमा अनुसन्धान परियोजना चलाउन लगाए। त्यो परियोजनाले अहिले ३०० पोथी हात्ती र तिनका छावा तथा २०० भाले हात्ती रहेको ७० परिवारको निगरानी गर्छ। काम सुरु गरेयता विट्मेयर र उनको टोलीले २५ हजारभन्दा बढी स्थलगत अवलोकन गरिसकेको छ।

मानिसबाहेक हात्तीको जति जटिल समाज पृथ्वीमा रहेका कुनै पनि प्रजातिको नभएको डा. विट्मेयर बताउँछन्। वास्तवमै हात्तीको समाज र कृषिको विकास हुनुअघिको मानव समाजबीच निकै समानता पाउन सकिन्छ।

हात्तीको सामाजिक व्यवस्थाको केन्द्रमा चार वा पाँच पोथी र तिनका छावाको समूह रहन्छ। तिनको नेतृत्व एक ‘कुलमाता’ ले गर्दछे, जो प्रायः अरु सबैको आमा, हजुरआमा, जिजु आमा, दिदी वा काकी हुन्छे। भाले हात्तीहरु १२ वर्षको उमेरमा परिपक्वता आएपछि आफू जन्मेको समूहबाट अलग हुन्छन् तर पोथीहरु भने सामान्यतः त्यही समूहमा जीवन बिताउँछन्।

समूहभित्र प्रायः सबै प्रौढ पोथीको एकएक छावा हुन्छन् र ती आफ्ना आमामा निर्भर रहन्छन्। आफ्नो बच्चा आफैँ बाँच्न सक्ने नहुञ्जेल तिनले अर्को बच्चा जन्माउँदैनन्। बच्चा आत्मनिर्भर बन्नका लागि करिब चार वर्षको समय लाग्छ। त्यसैले भाले हात्तीको दृष्टिकोणमा यौन सम्पर्कका लागि तयार पोथीहरु निकै दुर्लभ वस्तु हुन्। यसका लागि उनीहरुले निकै मेहनत र लडाइँ गर्नुपर्ने हुन्छ। यही प्रतिस्पर्धाका कारण १४ वर्षकै उमेरमा बाबु बन्न सक्षम भए पनि हात्तीहरुले २० ननाघुन्जेल विरलै यस्तो मौका पाउने गर्छन्।

स्तनधारी जनावरको मापदण्डअनुसार यो निकै जटिल कुरा हो, लगभग सिंहजत्तिकै। सिंह पनि मातृसत्तात्मक पारिवारिक समूहमा बस्छ र हुर्केका भालेलाई समूहबाहिर लखेट्छ। तर यतिमै हात्ती मानिससँग नै तुलना गर्नलायक र प्रशंसाको हकदार बन्दैन। सिंहको भन्दा हात्तीको उच्च स्तरको संगठन हुन्छ। हेर्नेहरुले यसलाई तत्काल देख्दैनन् तर यो लगभग मानिसकै जस्तो हुन्छ।

सबैभन्दा पहिलो कुरा, हात्तीका परिवार विशाल ‘नातेदारी’ का हिस्सा हुन्। उनीहरु आफ्नो सुविधाअनुसार भेला हुने र छुट्टिने गर्दछन्। यही तरिकाबाट करिब १० प्रतिशत समय उनीहरु आपसमा भेला भएर बिताउँछन्। यस्ता प्रत्येक नातेदारी समूह एउटा सिंगो वंशको हिस्सा हुन्। यस्तो वंशका सम्पूर्ण सदस्य सुख्खा मौसममा हात्तीका लागि अनुकूल बासस्थान कम भएको बेला भेला हुने गर्दछन्। प्रत्येक वंशमा कम्तीमा १०० प्रौढ सदस्य हुन्छन्। यो संख्या यसको दोब्बर पनि हुनसक्छ। यसर्थमा एक प्रौढ हात्ती (कम्तीमा पोथी हात्ती) ले अनेकौँ हात्तीलाई चिन्नुका साथै अर्थपूर्ण सामाजिक सम्बन्ध पनि कायम गरेको हुन्छ।

मानिसले अर्थपूर्ण सामाजिक सम्बन्ध राख्नसक्ने संख्या पनि लगभग यत्ति नै हो। यसलाई डनबारको संख्या भन्ने गरिन्छ। मनोविश्लेषक रोबिन डनबारले मानिसले अर्थपूर्ण सामाजिक सम्बन्ध राख्ने संख्या करिब १५० हुने बताएका थिए। यो संख्याले जीविकोपार्जनका लागि शिकारी–संकलन समाजमा साथमा बस्ने एउटै वंशका सदस्य संख्यालाई दर्शाउनु सम्भवतः संयोग मात्रै होइन।

जर्ज विट्मेयर

जर्ज विट्मेयर

यति धेरै संख्यामा साथीहरुसँग व्यवहार गर्न र यति धेरै विवरणहरु सम्झिन सक्षम हुनुको अर्थ हो, हात्तीमा विशाल स्मरण शक्ति हुन्छ। उनीहरुको दिमागले कसरी काम गर्छ भन्ने कुराको विस्तृत विवरण सामान्य शरीर विज्ञानको परिधिभन्दा बाहिर छ। यसबारे जति कुरा थाहा भएका छन्, ती सबै अधुरा छन्। स्पष्ट थाहा भएको कुरा चाहिँ के हो भने हात्तीको मस्तिष्कमा निकै ठूलो हिप्पोक्याम्पस (भावना, स्मरण र स्नायु प्रणालीको केन्द्र मानिने दिमागको हिस्सा) हुन्छ। यसलाई लामो समयको स्मरणशक्तिसँग जोडेर हेरिन्छ। दिमागको आकारको तुलनामा हात्तीमा हिप्पोक्याम्पसको आकार मानिसको भन्दा ४० प्रतिशत ठूलो हुन्छ। यसले ‘हात्तीले कहिल्यै बिर्सिँदैन’ भन्ने पुरानो भनाइमा तथ्य रहेको संकेत गर्दछ।

हराएको समयको खोजी
हात्तीले जम्मा गरेर राखेको स्मृतिको मूल्य उनीहरुको उमेरसँगै बढ्दै जान्छ। परिवारको सबैभन्दा वृद्ध कुलमातालाई धेरै कुरा थाहा हुन्छ। अम्बोसेली र साम्बुरुमा गरिएका अध्ययनहरुले यसको पुष्टि गरेका छन्। खडेरीजस्ता संकटको घडीमा यही ज्ञानले ती हात्तीलाई आफ्नो समूहलाई खानेकुरा भएका र विगतमा घुमेका स्थानतर्फ लैजान मद्दत गर्दछ। सक्रिय रुपमा नसिकाए पनि यस्तो भौगोलिक जानकारी पछिल्लो पुस्तामा अनुभवको माध्यमबाट सर्दै जान्छ। हात्ती अझै पनि अस्तित्वमा रहनुको सबैभन्दा महत्वपूर्ण कारण बुढाहरुको बुद्धिबाट जवानहरुले सिक्ने र फाइदा लिने क्षमता नै रहेको हात्ती विज्ञहरु विश्वास गर्छन्। यो खुबीमा पनि हात्ती र मानिसमा समानता देखिन्छ।

सामूहिक जीवनका कारण पनि हात्तीलाई अझ बढी फाइदा पुगेको छ, खासगरी सामूहिक रक्षाको सवालमा। राइफल बोकेका शिकारी मान्छेबाहेक अन्य शिकारी जनावर वयष्क हात्तीमाथि आक्रमण गर्न हिच्किचाउँछन्। त्यसैले त्यस्ता शिकारी जीव कलिला वा जवान हात्तीलाई निशाना बनाउँछन्। एक आमाले एउटा आक्रमणकारीबाट आफ्नो बच्चालाई सहजै जोगाउन सक्छे। तर सिंह र हाइनाजस्ता जीवले झुण्ड बनाएर आक्रमण गर्छन्। हात्तीहरुमा ऐक्यबद्धता हुने हो भने उनीहरुले केही नगरी नै त्यस्ता आक्रमणलाई असफल बनाइदिन्छन्। कहिलेकाहीँ त्यतिले मात्र काम गरेन भने उनीहरु सामूहिक रक्षाको उपाय अपनाउँछन्। यो मामिलामा पनि अनुभवको निकै ठूलो महत्व हुन्छ। डा. मोसको टोलीले संकलन गरेको तथ्यांकअनुसार बढी उमेरका पोथीले नेतृत्व गरेको समूहभन्दा कम उमेरको पोथीले नेतृत्व गरेको समूह बढी कमजोर र असुरक्षित हुने गर्दछ।

सामाजिक परिपाटी वा प्रबन्धका कारण मात्र हात्ती र मानिसको विकासक्रममा समानता देखिएको होइन। त्यसभन्दा बढी हात्तीमा समस्याबारे अमूर्त तरिकाले सोचेर तिनलाई हल गर्ने क्षमता पनि हुन्छ। यसलाई जंगलमा प्रदर्शन गरेर देखाउन मुस्किल छ किनभने सबै प्रमाणहरु कहानीजस्ता छन्। तर एसियाली पाल्तु हात्ती (अफ्रिकीभन्दा सजिला) मा गरिएका प्रयोगहरुले के देखाएका छन् भने हात्तीले भेट्न नसकिने स्थानमा रहेको खाना पाउनका लागि अघिल्लो पटक प्रयोग भएको भन्दा अलग औजार (नोवेल अब्जेक्ट) प्रयोग गर्न सक्छन्। यो तरिका चिम्पाञ्जीजस्ता केही प्रजातिका जनावरहरुले मात्रै प्रयोग गर्न सक्छन्। अन्यका लागि यो असम्भव छ। 

जंगली हात्तीको अर्को एक व्यवहारलाई पनि मानिससँग तुलना गर्ने गरिन्छ। त्यो हो, मृतकप्रति उनीहरुको प्रतिक्रिया। जिउँदा हात्तीका लागि मरेको हात्ती आकर्षणको केन्द्र बन्दछ। उनीहरु बारम्बार लासको नजिक जाने गर्छन्। सुँडले फूफू गरिरहन्छन्। यो प्रजातिविशेष प्रतिक्रिया हो। अन्य प्रजातिका मरेका जनावरप्रति हात्तीले कुनै चासो देखाउँदैनन्। उनीहरुले हात्तीको हाड भेट्दा पनि त्यसप्रति प्रतिक्रिया जनाउँछन्। हात्तीले त्यस्ता हाड भेटे तिनलाई तितरबितर गर्न खोज्ने डा. विट्मेयर बताउँछन्। अन्य जीवजन्तुको हाडसँगै हात्तीको हाड जमिनमा राख्दा जंगली हात्तीले त्यसलाई चिनेर सुँडले उठाएर झाडीतिर फ्याँक्ने गर्छन्।

त्यसैले हात्ती वैज्ञानिक चासोको विषय हो। तर एसटिइ गठन ज्ञानको खोजीका लागि मात्र गरिएको थिएन। निश्चय नै अन्य प्रजातिका अध्ययनमा झैँ हात्तीबारे अनुसन्धान गरिरहेकाहरुको मुख्य ध्याउन्न तिनलाई बुझ्नेबाट तिनको रक्षा गर्नेतिर सरेको छ।

केन्यामा चोरी शिकारी अझै पनि हात्तीका लागि मुख्य खतरा भए पनि जमिनको प्रयोगमा आएको परिवर्तन पनि उत्तिकै ठूलो खतरा बनेको छ। साम्बुरु संरक्षण क्षेत्र वरिपरिका बासिन्दा परम्परागत रुपमा पशुपालन गरेर जीविका चलाउँछन्। उनीहरु एक चरनक्षेत्रबाट अर्को चरनक्षेत्रसम्म पशु खेद्दै जान्छन्। यस्ता पशुपालक र तिनले पालेका पशुको संख्या बढ्दै जाँदा चरनक्षेत्रका लागि हात्तीसँग प्रतिस्पर्धा र द्वन्द्व बढेको छ। संरक्षण क्षेत्रमै पनि कहिलेकाहीँ गाईपालकहरु पस्ने गर्छन्। अझ त्योभन्दा खतरनाक कुरा केही पशुपालकहरु त्यहीँ बसोबास गर्न थालेका छन्। संरक्षण क्षेत्रनजिकै हात्तीहरु ओहोरदोहर गर्ने क्षेत्रमा भवन र बार बन्न थालेका छन्।

डा. विट्मेयरले गरेको स्याटेलाइट ट्र्याकिङबाट पनि हात्तीको बासस्थानबारे जानकारी पाउन सकिन्छ। बासस्थानका लागि हात्तीका आफ्ना प्राथमिकता हुन्छन्। कुन ठाउँमा आफू सुरक्षित छु र कहाँ सुरक्षित छैन भन्ने कुरा जनावरले तत्काल थाहा पाउने हुँदा उनीहरु संरक्षण क्षेत्रभित्र बस्न रुचाउँछन्। आफ्ना अलगअलग बासस्थानबीच ओहोरदोहोर गर्दा उनीहरु प्रायः राती हिँड्ने गर्छन् र सकभर साँघुरो बाटो रोज्छन्।

हात्ती हिँड्ने त्यस्ता मार्गलाई जोगाउनु निकै महत्वपूर्ण छ। त्यसका लागि स्याटेलाइट म्याप निकै सहयोगी बन्न सक्छ। सरकारी अधिकारीहरुले त्यसमा विचार गर्न सक्छन् तर सामूहिक स्वामित्वमा रहेको जमिनको प्रयोग गर्ने स्थानीयहरुको आम भेलामा उनीहरुलाई सहमत गराउन पनि यो उत्तिकै महत्वपूर्ण छ। हात्ती हिँड्ने मार्गमा घर बनाउने तथा बार लगाउने कामलाई रोक्ने नियम बनाउन यस्ता बैठक गर्न सकिन्छ।

मौरीको डर
हात्तीको व्यवहारबारे राम्ररी बुझ्न सके त्यसले हात्ती र मानिसबीचको द्वन्द्वलाई घटाउन सहयोग गर्छ। यस्तै एउटा परियोजनाले हात्तीमा मौरीप्रति रहेको डरलाई उपयोग गरेको छ।

मानिसबाहेक हात्ती वास्तवमै डराउने जीव भनेको मौरीसँग मात्रै हो। कहानीका रुपमा यो कुरा निकै पहिलेदेखि जानकारीमा थियो। तर अहिले अक्सफोर्ड विश्वविद्यालयकी अनुसन्धानकर्ता र एसटिइकी सदस्य लुसी किङले यसको वैज्ञानिक अध्ययन गरेकी छन्। डा. किङको प्रयोगले यो कहानीलाई सही साबित गरेको छ। मौरी भुन्भुनाएको आवाज बजाउँदा हात्तीहरुको समूहमा भागदौड मच्चिएको थियो। मौरीप्रति हात्तीमा यस्तो आतंक रहनुको कारण के हो भने एउटा मौरीले चिल्दा हात्तीको शरीरका धेरैजसो भागमा केही असर नपरे पनि गोलो नै खनिने हो भने तिनले हात्तीको आँखा र सुँडभित्र चिल्ने गर्छन्। सुँड हात्तीको सबैभन्दा संवेदनशील अंग हो। मौरीको यस्तो आक्रमणलाई हात्तीको सामूहिक प्रयासले पनि रोक्न सक्दैन।

यो कुरा पत्ता लगाएपछि डा. किङ र उनका साथी फ्रिज भोलार्थले मौरीको घारको बार लगाएर खेतीपातीको रक्षा गर्ने तरिका खोजे। केन्याका साना किसानले हात्तीबाट आफ्नो खेतीपाती रक्षा गर्न लगाउने बार हात्तीलाई रोक्नसक्ने गरी बलिया हुँदैनन्। तर मौरीको बारले भने काम गर्‍यो। यस्तो बार बनाउँदा तीन मिटरको दूरीमा दुई ओटा घोचा गाडिन्छ र त्यसमा मौरीको घार झुण्ड्याइन्छ। हरेक १० मिटरको दूरीमा मौरीको घार राखिन्छ र घोचाहरुलाई जमिनभन्दा डेढ मिटरमाथि एकएकओटा तारले बाँधिन्छ।

हात्तीलाई रोक्न लगाइएको मौरीको घारको बार

हात्तीलाई रोक्न लगाइएको मौरीको घारको बार

यत्ति नै हात्तीलाई रोक्न पर्याप्त हुन्छ। उनीहरु यो बार पार गर्न निकै डराउँछन्। कतिसम्म भने आधाजति मौरीको घार त नक्कली राखे पनि काम चल्छ। घारको बीचबाट बार पार गर्न खोज्ने हात्तीले तारमा धक्का दिन्छ र मौरीको घार हल्लिन पुग्छ। मौरीको आक्रमणबाट बचेर भागेको हात्तीले विरलै दोस्रो पटक बार पार गर्ने हिम्मत जुटाउन सक्छ।

यसरी मौरीको घारको सहायताले हात्तीलाई रोक्दा अन्य तरिकाको बार लगाउँदा भन्दा पाँच गुणा कम पीडा हात्तीलाई पर्ने डा. किङको प्रयोगले पुष्टि गरेको छ। त्यसमाथि मह बोनसको रुपमा प्राप्त हुन्छ। यो तरिका सफल भएपछि कम्तीमा एक दर्जन राष्ट्रमा यसको प्रयोग भइरहेको छ। सुन्दा यो साधारण काम गर्न जटिल उपाय (हिथ रोबिन्सन सोलुसन) अपनाएजस्तो लागे पनि मौरीको घारको सहायतले बालीनालीको रक्षा गर्नु मानिस र हात्ती दुवैको हितमा हुनसक्छ।

मुख्य खतरा चोरी शिकारी नै
चोरी शिकारी रहिरहे संसारभर मौरी–घारको बार लगाएपनि समस्या समाधान हुने छैन। त्यसको अर्थ हात्तीको दाँतको मागलाई दबाउनै पर्छ। वर्षौँसम्म यसलाई असम्भव कार्यका रुपमा हेरिएको थियो। तर अहिले अवस्था त्यस्तो छैन। कसैले आशा नगरेको ठाउँ चीनबाट खुसीको समाचार आएको छ।

हात्तीको दाँतको व्यापार अन्तर्राष्ट्रिय रुपमा प्रतिबन्धित भए पनि केही देशले आन्तरिक व्यापारको अनुमति दिएका छन्। त्यस्ता देशले ती दाँत कहाँबाट आइरहेका छन्, त्यो पनि अनुगमन गरेका हुँदैनन्। यस्तो व्यापारको अनुमति दिएको चीन पछिल्ला वर्षहरुमा हात्ती दाँतको सबैभन्दा ठूलो बजार बनेको थियो। विश्वभर व्यापार हुने हात्तीको दाँतको करिब ७० प्रतिशत चीनमै बेचिन्थ्यो। २०१७ को अन्त्यसम्ममा चीनमा हात्तीको दाँतको कुनै पनि प्रकारको व्यापार गैरकानुनी हुनेछ। अनुमति पत्र भएका व्यापारीहरुले पसल बन्द गर्नुपर्नेछ।

चिनियाँहरु यो विषयप्रति गम्भीर देखिएका छन्। व्यापारीहरुले व्यापार बन्द मात्रै गरेका छैनन्, यस्तो व्यापारविरुद्ध प्रचारात्मक अभियान पनि सुरु गरिएको छ। बास्केटबल खेलाडी यायो मिङ, अभिनेत्री ली बिङबिङजस्ता सेलिब्रेटीलाई हात्तीको दाँतबाट बनेका सामग्री किन्ने कार्यलाई निरुत्साहित गर्न विज्ञापन खेलाइएको छ।

चीनकै छिमेकी भियतनामजस्ता मुलुकमा यसको व्यापार फस्टाइरहेको देखिए पनि हात्ती संरक्षणको लडाइँमा चीनको कदम निर्णायक हुने धेरैको ठम्याइ छ। यस्ता सामग्रीको मूल्य चीनमै दुई तिहाइले कम भइसकेको छ। २०१४ मा प्रतिकिलो २१०० डलर रहेको हात्तीको दाँतको मूल्य यो वर्षमा ७३० डलर प्रतिकिलोमा झरेको छ। यो निश्चय नै तस्करहरुका लागि नराम्रो समाचार हो। चीनले लगाएको प्रतिबन्ध कायम रहने र व्यापार भूमिगत भएन भने भविष्यका इतिहासकारहरुले सन् २०१७ लाई हात्तीको वर्षका रुपमा व्याख्या गर्ने सम्भावना छ।

(जुलाइ २०१७ मा दि इकोनोमिस्टमा प्रकाशित आलेखको अनुवाद)

प्रकाशित ९ मंसिर २०७४, शनिबार | 2017-11-25 08:59:17
World Cup
World Cup
Bagaicha
Bagaicha
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
Hyundai
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

ब्लग

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • महेशकुमार गुरागाईं

    बीमा समिति रिटायर्डहरुको आराम गर्ने स्थान बन्यो: पुनर्बीमा कम्पनीका अध्यक्ष महेश गुरागाईं

    बीमा समितिलाई प्राधिकरण बनाउने सरकारी योजना उपयुक्त छ। प्राधिकरणलाई कानुनले नै अधिकार दिएर पठाइसकेपछि नियामक निकाय बलियो हुन्छ र कानुन बमोजिम गर्न...

  • एेतिहासिक एक दिवशीय श्रृंखला यादगार बनाउने चुनौती (भिडियो/फोटो)

    त्रिवि क्रिकेट मैदानमा नेपाली राष्ट्रिय क्रिकेट टोली आफ्नो पहिलो ऐतिहासिक एक दिवसीय अन्तराष्ट्रिय(ओडिआई) क्रिकेट श्रृंखलाको अन्तिम तयारी गरिरहेको छ।

  •  घाँसविरुवा हुर्काउने जिम्मेवारी पाएका यासिर अल मुल्लाह

    विश्वकप २०२२: कसरी अंकुराउँदैछ कतारी मरुभूमिमा पालुवा?

    दोहाका सडकहरु ‘जीपीएस’ पथ प्रदर्शकहरुबाट अभ्यस्त भइसकेका छन्।

  • सहसचिव ईश्वरराज पौडेल, संयाेजक, सुन तस्करी अनुसन्धान टाेली

    पञ्चायतदेखि लोकतन्त्रसम्म सुन तस्करीको ‘अन्डर लेयर’ उस्तै: ईश्वरराज पौडेल (अन्तर्वार्ता)

    एक सय दिनको अनुसन्धानमा सुन तस्करीको सञ्जाल भत्काउन सफल भएका छौं। हामीले देखाएको स्पष्ट चित्र के हो भने सरकारी निकायको सहकार्यमा सुन तस्करी शून्यमा...