जहाँ राजा महेन्द्र विपीलाई हार्मोनियम बजाएर गीत सुनाउँथे



‘आहु, यो स्वास्नीमान्छेहरुको ठाउँमा किन आएको नि?’ रानी रत्नले भनिन्।

पिर्कामा बसिकन सामान्य खास्टो ओढिकन रानी रत्नले तरकारी काट्दै गरेको त्यो भान्छा थियो, पोखरा रत्न मन्दिरको। रानीको भान्छामा छिर्दा पनि आत्मियतासहितको प्रश्न पाउने राजा वा दरवारिया हैनन्, जनताका छोरा विपी थिए।

रत्न ईश्वर भज्दै एकान्त जीवनमा छिन्। विपी उहिल्यै ईश्वरको प्यारा भइसके। फेवातालको किनार। मान्छेभन्दा अग्लो पर्खालले घेरिएको विशाल क्षेत्रफल। सेनाको सुरक्षा अनि फिरन्ता चराहरुको चिरबिर आवाज। आँखा छेक्ने बाँस र अग्ला रुखहरु।

विपी कोइरालाको आत्मवृत्तान्तमा अटाएको, अनि राजा महेन्द्रले आफ्नी प्यारी रानी रत्नको लागि बनाएको हिउँदे दरबार फेवाताल पुग्नेहरु सामु कौतुहल बनेर उभिदिन्छ। दरबारसँग कौतुहलता जोडिन्छ नै! झन, राजा नै नभएको बेला, कौतुहलता, रहस्य र इतिहासको जिउँदो साक्षीजस्तै मौन देखिन्छ।

भनिन्छ, महेन्द्रको प्रिय ठाउँ थियो रत्नमन्दिर। १ सय ११ रोपनी क्षेत्रफलमा फैलिएको रत्नमन्दिर परिसरमा रहेको र फेवातालतिर फर्किएको ‘बोट हाउस’ मा बसेर महेन्द्रले खुबै कविता लेखेका थिए।

विपीले लेखेका छन्:

‘मेरो एउटा सानो घर बनेको छ, बंगलो छ, फेवाताल किनारामा। त्यहाँ तपाईँ जानुपर्‍यो, मसँगै बस्नुपर्छ अलि दिन मेरो पाहुना भएर’ भनेर राजाले भने। मैले भनें, ‘मलाई पनि सरकारसँग बस्न मन लागेको छ।’

‘तर सुशीलालाई, लिएर आउनुहोला नि’ भनेर उनी त पहिले नै गए। ... सुशीला जान सकिनन्, म मात्रै गएँ।’

फेवा लेकसँगै रातो घेरामा रत्न मन्दिर

बंगला टाइपको घर छ, कटेज टाइपको। त्यसमा फर्निसिङ पनि कटेज जस्तो हुन्छ, त्यस्तै किसिमको थियो। दक्षिण भारतबाट बेतको पलङ्ग, कुर्सी र  ड्रेसिङ टेबुलहरु सारा आएको थियो। त्यस किसिमको सादा। तर जति आवश्यकता हुनसक्छ एउटा पाहुनालाई, त्यो सबै कुरा थियो, आफ्नो निजी छनौटबाट। रानीले सबै ठीक गरेर राखेकी थिइन्।

रत्नमन्दिरमा छ सात दिन रहँदा राजाले आफूलाई बंगलाको माथितिरका दुईवटामध्ये संगीतका सामाग्रीले भरिएको कोठामा लगेको र हार्मोनियम बजाएर गीत सुनाएको, रानी रत्नले कोठा देखाइदिएको र आफूलाई भनेर विभिन्न परिकार बनाएको समेत सम्झना गरेका छन् विपीले।

000

तर, २०५८ सालमा राजा वीरेन्द्रको वंशनाश भएपछि त्यो दरबार सुनसान जस्तै छ। दरबार हत्याकाण्ड हुँदा ज्ञानेन्द्र शाह यही रत्नमन्दिरमै थिए। राजा भएपछि उनले त्यहाँ केही दिन बिताए, अनि आफ्नो प्रत्यक्ष शासन टिकाउने प्रपञ्च रचेपनि उनलाई पिताको प्रिय ठाउँले फेरि गइरहने बाटो देखाएन। उनी जनता बने।

रत्नमन्दिर यतिबेला ज्ञानेन्द्रजस्तै ‘जनताको’ भएको छ। तर जनतालाई भित्र पस्ने अवसर भने अहँ, जुरैकै छैन। इतिहास बोकेको यो अभागी घर रुँगिरहेका नेपाल ट्रष्टका केही कर्मचारी र सुरक्षामा खटिएको सेना एक टुकडी मात्र रत्नमन्दिर क्षेत्रमा बस्दै फेवातालको सिरेटो खाइरहेछन्।

२०१३ सालमा सुरु भई २०१५ सालमा पूर्णता पाएको यो दरबार पस्ने र नपस्ने दुवैथरिसँग यसका बारेमा अनेकौं किस्सा छन्। कवि भूपी शेरचनका बाबु सुब्बा अनङ्गमान शेरचनको ठेकेदारीमा बनेको रत्नमन्दिरमा भूपी स्वयंले पनि कैयौं पटक कविता सुनाउने मौका पाए।

कवि मनका महेन्द्र हरेक वर्ष हिउँदमा रत्नमन्दिर आउँथे। अनि गीत, संगीतको माहौलमा रमाउँथे। राजा वीरेन्द्रले उनको बिँडो थामे।

एउटा प्रसङ्गमा स्वर्गीय गायक सरोजगोपाल बज्राचार्यले भनेका थिए, ‘राजाको अगाडि गीत गाउन पाउनुलाई हामी सौभाग्य सम्झन्थ्यौँ।’

तीसको दशकमा सरोजगोपाल हिट थिए।

‘देउराली उकाली तरेर, विजयपुर खोला तरेर... सानीलाई बोलाउँदा बोल्दिन पर्नु पीर पर्‍यो, यो ज्यानलाई पर्नु पीर पर्‍यो’ उनको हिट गीत थियो। त्यही गीतको ‘अब त सानी तरुनी भई गालामा बैंस चढेछ, छुन पनि डर लाग्छ पर्नु पीर पर्‍यो’ भन्ने अन्तरा त्यो बेलाको समाजलाई बेजोडसँग कुत्कुत्याउन सक्ने खालको थियो।

‘छाडा’ भनेर रेडियो नेपालले त्यो गीत बजाएकै थिएन। राजाको सवारी हुँदा उनले रत्नमन्दिरमा डराई डराई त्यही गीत गाए।

‘गीतपछि राजाका एडिसीले आएर मलाई पुनः गीत गाउन मर्जी भा’छ भने’, उनले सुनाएका थिए, ‘पछि सरकारले गीत साह्रै राम्रो लाग्यो भनिबक्स्यो, रेडियो नेपालमा पनि गीत बज्न थाल्यो।’

त्यसो त राजाको हिउँदे बसाईमा त्यहाँ यो क्षेत्रका धेरै कवि, गीतकार, गायक र साँस्कृतिक टोलीहरुले आफ्नो प्रस्तुति दिए।

कवि तीर्थ श्रेष्ठको भनाईमा, राजाको भ्रमणका बेला दरबारले कवि, कलाकारहरुलाई निम्तो गथ्र्यो। कविहरु लाइन लागेर रत्नमन्दिर छिर्थे। राजारानीहरु अँध्यारो मञ्चतिर बसेका हुन्थे भने कवि कलाकारहरुतिर उज्यालो प्रकाश फालिएको हुन्थ्यो। राजारानी कविता वा गीत सकिएपछि ताली बजाउँथे। मन परे ‘वान्स मोर’ पनि भन्थे।

उनलाई दुई पटक रत्नमन्दिर छिरेर कविता भनेको याद छ। रत्नमन्दिरमा राजा वीरेन्द्रको सपरिवार भ्रमण भयो। भाई धीरेन्द्रपनि सँगै थिए। तीर्थ, सरुभक्त, प्रकट पंगेनी, विश्व शाक्यजस्ता पोखरेली र क्षेत्रप्रताप अधिकारी, काजी रोशन, स्याङ्जाका लालगोपाल सुवेदीले कविता सुनाएको उनलाई हिजोजस्तै लाग्छ।

२०५७ सालतिर हुनुपर्छ, राजालाई कविता सुनाउन उनी रत्नमन्दिर छिरे। उनका अनुसार, त्यो बेला माहौल अलि भिन्नै थियो, यसपटक स्रोताहरु पनि बोलाइएको थियो। खास कुरा त, अरुबेला चिया बिस्कुट ख्वाउने दरबारले कविहरुलाई ‘बार’ को व्यवस्था गरिदिएको थियो। कविजीहरुले मीठो मानेर ह्विस्की लडाए।

हिउँमा लेखेर आएका छौँ हामीले आ–आफ्ना नामहरु
एक्कै छिनपछि हिउँ थपियो भने रहने छैनन् हाम्रा नामहरु
एक्कै छिनपछि घाम लाग्यो भने पनि रहने छैनन् हाम्रा नामहरु

‘हामी रहँदै नरहने नामहरु, हामी नै नरहे पछि कसरी रहलान् हाम्रा नामहरु?’ उनले तानसेन भन्ने कविता यसरी सुनाए।

अँध्यारोमा बस्ने राजाले सिगार सल्लाएको मात्र देखिन्थ्यो, अरु बेला। राजा धन्यवादको औपचारिकतामा खुम्चिन्थे। तर, यसपटक भने राजा ह्विस्कीको गिलास लिएर कविहरु माझ आए।

‘राजाले चियर्स भनेपछि हामीले फेरि थप्यौँ र अझ मात्तियौं’, उनले सुनाए, ‘मैले राजालाई जान्ने भएर सोधें, सरकार मेरो कविता कस्तो लाग्यो?’

राजाले रानी ऐश्वर्यतिर हेरे र भने, ‘मेरो वाइभ्स (श्रीमति) कविता लेख्छ, ऊ सँग सोध न!’

ह्विस्कीको रमरममा रहेका तीर्थले रानीलाई सोधे।

ऐश्वर्यले भनिन्, ‘म त कविता लेख्ने मान्छे, यसै राम्रो लागिहाल्छ नि।’

तीर्थले सँगै रहेका दीपेन्द्रलाई पनि छाडेनन्। उनले भने, ‘सरकारले पनि राम्रा कविता लेखिबक्सन्छ भन्ने सुनेको थिएँ।’

दीपेन्द्र लामो हाँसे। र, भने, ‘स्टुडेण्ट हुँदा लण्डनमा कविता लेख्थें। ती कविता रामबाबु सुवेदीसँग छन्।’

तीर्थसँगै सरुभक्त जोडिए। अनि बिन्ती बिसाए, ‘हामी शाश्वत भन्ने पत्रिका निकाल्छौं। त्यसमा सरकारको रचना पाऊँ न सरकार!’

दीपेन्द्रले रामबाबुसँग कविता माग्न सुझाए।

माहौल रमाइलो थियो। धीरेन्द्रले कवि लालगोपाल सुवेदीसँग ‘घर कहाँ हो?’ भनेर सोधे। स्याङ्जा घर बताउने बित्तिकै उनले फेरि थपे, ‘त्यताका जनता यही सिष्टम चाहन्छन् कि चेन्ज?’

सुवेदी अक्मकाएपछि तीर्थले विषयान्तर गर्दै ‘सरकार कविता कस्तो थियो?’ भन्न भ्याए।

अन्तिमतिर राजारानीलाई पालैपालो दर्शन भेट गराइयो।

‘अरुले के भने थाहा छैन। तर ह्स्किीको रमरममा मैले मात्तिएरै भनेँ, सरकार पहिल्यै पनि यसरी कविता सुनाउने अवसर पाएको थिएँ। तर यो क्षण अविश्मरणीय रह्यो। प्रजातन्त्रले राजा र जनताबीचको सम्बन्ध स्थापना गराइदियो’ तीर्थले भने, ‘राजाले टाउको मात्र हल्लाए।’

000

रत्नमन्दिर आउँदा कवि–कलाकार र राजनीतिज्ञसँग भेटघाट र भलाकुसारी भएपनि त्यहाँका कर्मचारीहरुले भने राजासँग घुलमिल हुने खासै मौका पाउँदैनथे।

‘दरबारमा प्रशासनिक काम गर्ने मात्र हुन्थ्यौं, साँझको बेला एडिसीहरु र सेनाका मान्छेहरु मात्र हुन्थे’, लामो समय रत्नमन्दिरको प्रशासन हेरेका र अहिले नेपाल ट्रष्टको कर्मचारी बनेका कृष्ण गुभाजुले भने, ‘हामीले त हल्लामात्र सुन्थ्यौं।’

राजा बस्ने मुख्य भवन, सुरक्षाको लागि सेना बस्ने ३८ कोठाको टहरो र प्रशासनिक भवन, अनि 'बोटहाउस' ले रत्नमन्दिर सजिएको उनले सुनाए। अहिले भने राजा वीरेन्द्रको निर्देशनमा बनेको नयाँ प्रशासनिक भवन पनि रत्नमन्दिरभित्र रहेको छ।

तर, नयाँ प्रशासनिक भवन भने वीरेन्द्रले देख्न पाएनन्। बेलायती महारानी, चीनका राष्ट्रपतिसम्मले आतिथ्यता पाएको दरबार आफैमा इतिहास भएको उनले सुनाए।

यता बाटुलेचौरका धनबहादुर गन्धर्वको रत्नमन्दिर साइनो पनि कम रोचक छैन। कहिले मादल बजाउन, कहिले मालश्री र कर्खा अनि झ्याउरे गीत गाउन, त कहिले दोहोरी घन्काउन उनी दरबार छिरे।

‘सरकारहरु आगो तापेर बसेको बेला हामी उहाँहरुले गरेका कामबारे टुक्का जोडेर गीत गाउँथ्यौं’, उनले भने, ‘राजारानी गीत सुनेर ताली बजाउँथे, मुन्टो हल्लाउँथे।’

बाटुलेचौरका गाउन र बजाउन जान्ने सबै गन्धर्वहरु पटक पटक दरबार छिरेको बताउँदै उनले गीत गाएवापत १ हजारजति पैसा पनि पाएको सुनाए। वीरेन्द्रको अगाडि चारपटकभन्दा बढी सारङ्गी रेटेका उनलाई अहिले पनि त्यो बाटो हिँड्दा राजाले मुण्टो हल्लाएको झझल्को आउँछ।

रत्नमन्दिर नेपाल ट्रष्टको नाममा आएको छ। नेपाल ट्रष्टमा आउनासाथ सो जग्गा एउटा निजी कम्पनीलाई दिने सम्झौता पनि भयो। पोखरेलीले बिरोध जनाए, संघर्ष समिति पनि गठन गरे।

नागरिक समाज, पोखराको तर्फबाट ‘सो ठाउँमा संग्रहालय बनाउनु पर्ने र निजी क्षेत्रलाई कुनै पनि हालतमा दिन नहुने’ भन्दै संघर्ष चर्किएपछि ठेक्का सम्झौता रद्द भएको छ।

‘हामीले त्यसलाई सार्वजनिक रुपले खोल्नको लागि पहल थालेका छौं’, नागरिक समाज कास्कीका अध्यक्ष रामबहादुर पौडेलेले भने, ‘दरबार कस्तो थियो भन्ने कौतुहल अब छिट्टै मेटिएला।’

रामबहादुरले भनेजस्तै, सर्वसाधारणका लागि खुल्ला भएपछि रत्नमन्दिरमा खिचिएका सेल्फीहरू सामाजिक सञ्जालमा पोष्ट त होलान्। तर दरबार हत्याकाण्ड, रत्नमन्दिरमा राजाले बिताएका क्षणहरु र त्यहाँका अनेकौं कथाहरुप्रतिको कौतुहलता चाहिँ?

कवि तीर्थले उत्तर दिए, ‘साँझको बेला कुनै दिन त्यहाँ पुग्ने दिन आए हामीले मातेरै राजासँग कुरा गरेको सम्झौँला नि!’

प्रकाशित २ मंसिर २०७४, शनिबार | 2017-11-18 12:10:12

प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

रोचक

NepalKhabar Tweets

विशेष

  • प्रदेश ५ मा समानुपातिक परिणाम: पहाडमा एमाले र तराईमा कांग्रेस पहिलो

    प्रदेश नम्बर ५ अन्तर्गत तराई क्षेत्रमा ६ वटा जिल्ला रहेका छन्। प्रतिनिधिसभा अन्तर्गत समानुपातिक तर्फको नतिजामा ६ वटै जिल्लामा नेपाली कांग्रेस पहिलो...

  • केपलर-९० र त्यसका ग्रहहरुको कलात्मक चित्रण

    आठ ग्रह भएको टाढाको सौर्य परिवार पत्ता लाग्यो

    नासाका वैज्ञानिकहरुले केपलर–९० नामक टाढाको एक तारालाई परिक्रमा गर्ने आठौँ ग्रह फेला पारेका छन्। सौर्य परिवारबाहेक आठ ग्रह भएको तारा पहिलो पटक पत्ता...

  • बाबुराम भट्टराई

    गतिरोध अन्त्यका लागि बाबुरामको ‘प्रेस्क्रिप्सन’

    पहिले सरकार गठन कि राष्ट्रिय सभाको गठन, राष्ट्रिय सभाको गठन बहुमतको आधारमा कि एकल संक्रमणीय मतको आधारमा भन्ने विवादमा फेरि नेपालको राजनीति फस्न...

  • नेकपा एमालेका नेता रघुवीर महासेठ

    यी हुन मधेशीले जिताएका पहाडी र पहाडीले जिताएका मधेशी अनुहार

    प्रतिनिधिसभा सदस्य निर्वाचनमा तराई मधेशमा तुलनात्मक रुपमा मधेश केन्द्रित दल बलियो देखिए पनि ती क्षेत्रमा विजयी उम्मेदवार मधेशी र पहाडी दुवै मूलका...