चमत्कारिक परिवर्तन र भूइँमान्छेका कथा



‘हामीले खाने दाल चामल सबै भारतबाट आउने पैसाले किन्ने हो, यहाँको त पानी मात्र हो, त्यो पनि पैसा नपर्ने हुनाले हामीले पाएका हौँला।’

हुनेखानेहरुको कथा लेखिन्छ र पढिन्छ। कसरी धनी हुने भन्ने सुत्रसहित लेखिएका पूँजीपतिहरुको कथा, आत्मकथा बजारमा आउँछन्। तर यहाँ उल्टो भएको छ, पत्रकार एवम् फिल्म समीक्षक यज्ञशले हेपिएका, ठगिएका र सम्पूर्ण रुपले सीमान्तकृतहरुको कथा लेखेका छन्, भूइँयामा।

भूइँया आवाजविहीन, दुःखी र गरिबहरुको आँसुले लेखिएको जीवन कहानी हो, दस्तावेज हो। यसमा समेटिएका ११ जना प्रतिनिधि पात्रहरुको संघर्ष, दुःख र त्यागबाट नेपाली समाज नियाल्ने हो भने मनमा अवश्य नै केही प्रश्नहरु उठ्छन्। यी सारा दुःखको निर्माणकर्ता को? किन यतिविघ्न दुःखको सगरमाथामा चढ्न बाध्य छन् पार्वतीहरु? किन अझै यति धेरै शोषण? औसत जीन्दगी बाँच्नै किन सँधै यति चर्को भोक, तिर्खा, अभाव र अन्यायसँग डटिरहनुपरेको छ?

देशको मोटो इतिहासमा कहीँ देखिदैँन तिनको जीवनसंघर्ष। दस्तावेजमा समाजवादभन्दा घटीका शब्द नराखेका दलहरु सत्तामा छन्। सम्पत्तिमा सामूहिक स्वामित्व वा राज्य नियन्त्रणको सपना देख्ने–देखाउने कम्युनिष्टहरु विगत २५ वर्षदेखि सत्तामा आउजाउ गर्दै छन्। तर भूइँमान्छे (श्रमजीवि) का जिन्दगीमा बजारले ल्याउने परिवर्तनबाहेक केही हात परेकै छैन। यो सत्यलाई भूइँयाका पात्रहरुले जोडतोडका साथ बोलेका छन्। भूइँमान्छे (भूइयाँ) हरुको दुःख पढेर मापन गर्ने फुुर्सत कसलाई होला?

तर शक्तिशालीहरुको जीवनमा अथाह परिवर्तनहरु आए। सहरका ठूलाबडाहरुका आँखाबाट हेर्दा देखिने परिवर्तन गजब छ। ०४६ पछि ०६२/६३ सम्मको अवधि र ०६२/०६३ पछिको अर्को अवधिलाई निश्चित विन्दु मानेर परिवर्तनको मापन गर्ने हो भने पनि ठूलाठूला र प्रायः चमत्कारको रुपमा उलटपुटल देखिन्छ। विलासी मोटरको झ्यालबाट देखिने परिर्वतनलाई ती ‘अभागी’ हरुले महसुस गर्न पाएका छैनन्।

मुलुकमा भएका विभिन्न परिवर्तनले गरिखाने (कमलरी, कमारा कमारी, हलिया) हरुको जिन्दगीमा के परिवर्तन ल्यायो? यही प्रश्नको उत्तर दिएको छ भूइँयाले।

जब ठूलाबडाहरुको शानदार जीवन र भूइँमान्छेहरुको संघर्षबीच कहिल्यै नभत्किने पर्खाल देख्छु, त्यतिबेला लाग्छ, धन्य अझै भूइँमान्छेहरुको कथा लेख्दै छन् यज्ञशहरु।

सुत्केरी हुँदा पर्याप्त खानाकै अभावमा बच्चालाई दूध नपुगेको र आफ्नो नाबालक गुमाउनु परेको बाध्यता बर्दिया खुरखुरेकी पार्वती राजी सुनाउँछिन् र उनका पति दुःखको विस्मृतिमा पुगेर आँसु खसाल्छन्। ती वेदनाका हरफसँगै पाठकको गला ऐठन हुन्छ। सिम्लामा स्याउ टिप्ने र हरियाणामा गहुँ काट्नेसम्मको रोजगारीले यहाँको (राजापुर र खुरखुरे) अर्थशास्त्र धानिएको कुरा पढ्दा मन अमिलो हुन्छ। जयनगरमा पाइप बिछ्याउने काम पाए मात्रै मुखमा माड लाग्ने हाम्रा बस्तीका कथा पढ्दा म जस्ता तन्नेरीको मन किन नडल्लियोस्!

‘जेल बस्न पाए पेटभरि खान पाइन्थ्यो’, ‘राती जङ्गली जनावर त आउँदैनथ्यो’, भन्ने हरुफहरुले चसक्क मुटु दुखाउँछन्। भूमिहीन किसान पार्वतीको अन्तिम इच्छा जङ्गल छाडेर बस्ने एउटा घरको छ। त्यो चाहना दलहरुका घोषणापत्रमा त देखिन्छन् तर कहिलै पूरा हुँदैनन्। कञ्चपुरकी अर्की पार्वतीले भोगेको बाल्यकालीन कहर। देशमा ०४६ को प्रजातन्त्र आउँदै गर्दा यी पार्वती साहुको घरको गुर्हातन बेहोर्दै थिइन्। उनले बालापन महसुस गर्नै पाइनन्।

चुकेले पार्वतीलाई दिएको आत्मीय साथले मानवताको परिचय दिएको छ। उनको प्रेमको मूल्य पूँजीवादी बजारले गणना गर्ने कुरै होइन। पसिना चुहाउने थुप्रै चुकेहरुको कारण नै समाजमा जीवन्तता बाँकी रहेको छ भन्न कुनै शास्त्र वा परिभाषा जरुरी हुन्न। चुकेले पार्वतीलाई आत्महत्याबाट बचाए। इमाइल दुर्खिमको आत्महत्या सिद्दान्तले कहाँनेर राख्ला प्रेम र मानवताका पूजारी चुकेलाई? धार्मिक ग्रन्थमा दुर्गा शक्ति स्वरुपाको रुपमा बुझिने नाम हो।

तर वास्तविक दुनियाँमा धनगढी शहरकी दुर्गा शक्तिशाली छैनन्, कमजोर र निरीह छिन्। राज्यले तिनलाई सुकुम्बासी बनाएको छ। सुरक्षित बसोबासको अभावमा रातदिन तिनले गर्नुपरेको लडाईंको पूर्ती कस्तो परिवर्तनले दिन्छ होला? आवाज दबाइएका अकिन्चन ताराहरुले बोकेको दुःखले समग्र नेपालको दुखमा कति ग्राफ बढ्छ होला? के कसैले हिसाब राख्ला? आफूलाई कम्युनिष्ट भन्नेहरु नै सत्तामा हुँदा के तिनले तारका दुःखको सम्बोधन गरेका होलान् वा गर्लान्? लेखकले बीचबीचमा प्रश्न गरेका छन्।

‘हामीले खाने दाल चामल सबै भारतबाट आउने पैसाले किन्ने हो, यहाँको त पानी मात्र हो, त्यो पनि पैसा नपर्ने हुनाले हामीले पाएका हौँला।’ ताराले भोगेको यथार्थ हो यो।

११ जनाको कहानीमध्ये गंगामाया बानियाँको कथाले ४० को दशकतिरको निम्न वर्गीय नेपाली ग्रामीण किशोरीको कथा बताउँछ। जसमध्ये केही हरफहरु यस्ता छन्ः

‘मलाई स्कूल जान मन थियो। दुईचार दिन भागेर पनि पढ्न गएँ। बुवाले थाहा पाएपछि सिम्किनाले हान्नुभयो। तलाईं किन पढ्नु पर्‍यो? पोइला जान मन छ? तेरा दिदीहरुले नपढी भयो, तैँले किन पढ्ने? पढेका कति केटी पोइला गा’को देख्या छु मैले। नपढेका बरु घर गरेर खाका छन् भन्दै पिट्नुभयो।’

पूर्वी तराई सिराहाको यो कथा पढ्दा भनन्न रिंगटा लाग्छ। यही कृति पढ्दा थाहा हुन्छ, वैदेशिक रोजगारीमा नजाने गाउँ पनि अझै बाँकी छन्। तर यथार्थ सुखद छैन। आवश्यक पैसा नभएका कारण विदेश तिनको पहुँचभित्र परेको छैन।

सेतो गुराँस शीर्षकमा सुलो मुसहर र साविनी थारु कसरी आफ्नो गाउँको स्कुलमा भएको भ्रष्टाचारविरुद्ध लडे भन्ने कथा वर्णित छ। यो कुनै चिनियाँ वा रुसी क्रान्तिकारी कथाभन्दा कम दमदार छैन। लेखकले यी दुईले स्कूलमा भएको अनियमितताको छानविन गर्न दिएको निवेदनलाई ‘निवेदन बम’ को संज्ञा दिएका छन्। तर त्यो निवेदन बमभन्दा कैयौं गुणा शक्तिशाली सावित भएको छ। ती शैक्षिक अभियन्ताहरुले ज्यानको बाजी लगाएका छन्। त्यही क्रममा कुटपिटका कारण सोनियाको गर्भ खेर गएको छ। आफ्नो गाउँ र समुदायका लागि त्यति ठूलो संघर्ष गर्ने अभियन्ताहरुलाई मानवअधिकार, लोकतन्त्र र गणतन्त्रमाथि नै विश्वास छैन।

चर्चित र हाल मृत्यु भइसकेका दलित अभियन्ता बलदेव रामको कथा परिवर्तनमा विश्वास गर्नेहरु सबैले पढ्नै पर्छ। सिनो बहिष्कार गरेका कारण ०५६ मंसिरमा दौलतपुर सिराहाका चमारहरुले ‘उच्च जात’ बाट नाकाबन्दी सहे। यो सिनो बहिष्कारका एक नायक थिए बलदेव राम। माक्र्सवाद बुझ्नेले बलदेव राम पढ्यो भने यिनी भयंकर श्रमजीवि लाग्छन्। अहिले चुनावको रन्को रहिरहँदा कहीँकतै ती भोका नाङ्गाको विषयले ठाउँ पाएका छैनन्। सायद शक्ति र पैसाको पछाडि दौडेको आजका कुनै पनि दलको कार्यकर्ताको चासोको विषय पनि होइन यो। नेताप्रति यिनले गरेको टिप्पणीहरुसँग असहमत हुनुपर्ने ठाउँ नै छैन।

रसुवाकी पुतली दिदी क्रान्तिकारी लाग्छिन्। हिमाली भेगकी पुतलीको जीवनदर्शन सलामयोग्य छ। आफैँले खनीखोस्रिएको जग्गाको मालिक बनेकी छन् उनी। पुतलीको जस्तै सबै कथाहरु संयोगान्त भइदिएको भएपनि हुनेजस्तो लाग्छ।

गएका केही दशकमा नेपाली समाज ठूल्ठूला राजनीतिक परिवर्तन भएका छन्। भूइयाँ पढ्दा लाग्छ, यसका पात्रहरुको संघर्ष, मेहनत, विश्वास र आक्रोशले नै समाजलाई गति दिन सघाउ पुर्‍याएको छ। ती श्रम गर्छन्, पसिना र रगत बगाउँछन् तर राज्यले तिनीहरुलाई आडभरोस दिएको छैन। ती आवाजविहीनहरुको दुःखलाई बलिया शब्दमा बुनेर लेखकले आवाज दिएका छन्। भूइँयामार्फत् तिनको जिन्दगी काठमाडौँले पनि पढ्न पाएको छ।

प्रकाशित १२ कार्तिक २०७४, आइतबार | 2017-10-29 13:03:48

प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

रोचक

NepalKhabar Tweets

विशेष

  • प्रदेश ५ मा समानुपातिक परिणाम: पहाडमा एमाले र तराईमा कांग्रेस पहिलो

    प्रदेश नम्बर ५ अन्तर्गत तराई क्षेत्रमा ६ वटा जिल्ला रहेका छन्। प्रतिनिधिसभा अन्तर्गत समानुपातिक तर्फको नतिजामा ६ वटै जिल्लामा नेपाली कांग्रेस पहिलो...

  • केपलर-९० र त्यसका ग्रहहरुको कलात्मक चित्रण

    आठ ग्रह भएको टाढाको सौर्य परिवार पत्ता लाग्यो

    नासाका वैज्ञानिकहरुले केपलर–९० नामक टाढाको एक तारालाई परिक्रमा गर्ने आठौँ ग्रह फेला पारेका छन्। सौर्य परिवारबाहेक आठ ग्रह भएको तारा पहिलो पटक पत्ता...

  • बाबुराम भट्टराई

    गतिरोध अन्त्यका लागि बाबुरामको ‘प्रेस्क्रिप्सन’

    पहिले सरकार गठन कि राष्ट्रिय सभाको गठन, राष्ट्रिय सभाको गठन बहुमतको आधारमा कि एकल संक्रमणीय मतको आधारमा भन्ने विवादमा फेरि नेपालको राजनीति फस्न...

  • नेकपा एमालेका नेता रघुवीर महासेठ

    यी हुन मधेशीले जिताएका पहाडी र पहाडीले जिताएका मधेशी अनुहार

    प्रतिनिधिसभा सदस्य निर्वाचनमा तराई मधेशमा तुलनात्मक रुपमा मधेश केन्द्रित दल बलियो देखिए पनि ती क्षेत्रमा विजयी उम्मेदवार मधेशी र पहाडी दुवै मूलका...