साथी इसिगुरोः अहंकारबिनाको कलाकार

नोबेल विजेता इसिगुरोको लेखन यात्रा, उनको पहिलो सम्पादकका शब्दमा



काजुओ इसिगुरो
काजुओ इसिगुरो
दि अब्जर्भर

मैले ‘इस’ का रुपमा चिन्ने गरेका मेरो साथी किचन टेबलमा बसेर इमेल गरिरहेका थिए। उनले त्यतिञ्जेल नुहाएका पनि थिएनन्। आधा घण्टापछि नै उत्तरी लण्डनको गोल्डर्स ग्रिनस्थित उनको घरअगाडि विश्वभरका सञ्चारमाध्यमको धुइरो लागेको थियो। ‘म यहाँ बस्छु भन्ने कुरा तिनीहरुले कसरी थाहा पाए?’ ‘विचित्र’ घटना घटेको दिनको समीक्षा गर्दै उनी अलमलमा परे। बिबिसीले समाचार पुष्टि गरेपछि मात्रै स्वीडिसहरुद्वारा उनलाई प्रदान गरिएको यो महान सम्मानलाई सम्बोधन गर्न आफूलाई तयार पार्न थाले।

गत बिहीबार मैलै ४० वर्षदेखि चिनेका लेखक काजुओ इसिगुरोलाई २०१७ को नोबेल साहित्य पुरस्कार प्रदान गरियो। ठीक मध्यदिनमा स्वीडिस एकेडेमीकी प्रवक्ता अन्तर्राष्ट्रिय प्रेसका सामु निस्किइन्। उनले सो पुरस्कार ‘बेलायती लेखक काजुओ इसिगुरोका भावनात्मक रुपमा शक्तिशाली उपन्यासले हाम्रो संसारसँगको भ्रमपूर्ण सम्बन्धभन्दा तल छोपिएर रहेका खाडललाई उद्घाटन गरेका कारण’ प्रदान गरिएको बताइन्। अस्टिन, काफ्का र प्राउस्टको प्रसंग उल्लेख गरेपछि के, कसरी, किन कहिलेबारे बताइन्।

रेडियो ४ को फ्रन्ट रो कार्यक्रमले यसलाई ‘बेलायती लेखकका लागि ठूलो विजय’ का रुपमा चर्चा गर्‍यो। ब्रेक्जिटको समयमा यसले खास किसिमको उत्तेजना ल्याएको छ। हाम्रो साहित्यले विश्वव्यापी दृष्टिकोण प्रकट गर्ने कुराको संकेत यसले गरेको छ। अझ यो उद्धरणले मेरो साथीलाई त्यही परिधिमा स्थापित गर्छ, जहाँ स्यामुएल बेकेट, डोरिस लेसिङ, विलियम गोल्डिङ, सिमस हिनी, भिएस नयपाल र ह्यारोल्ड पिन्टरजस्ता अंग्रेजीका आधुनिक पद्य तथा गद्य साहित्यका महारथीहरु सामेल छन्। यो खबरलाई उनले अविश्वास गरेको कुरा त्यही दिन उनले मलाई बताए। के यो धोखा थियो? के यो ‘फेक न्युज’ थियो?

एक्लै भएपछि यो पूरै घटनाक्रम उनलाई ‘सर्रियल’ र हास्यास्पद लाग्यो। ‘मैले आशा गरेको अन्तिम कुरा!’ उनले भने। एकेडेमीको उद्धरणमा रहेको खाडलको कुरा छोडौँ, इसिगुरोका कृतिहरुमा मानवीय हास्यका विडम्बडनाप्रति निरन्तर रुपमा मनोरञ्जन पाउन सकिन्छ, जुन अंग्रेजी र जापानी अनुभूतिमा मात्रै अभिव्यक्त गर्न सकिन्छ।

बेलायतका नयाँ नोबेल विजेता सन् १९५४ मा नागासाकीमा जन्मेका हुन्। एटब बम आक्रमणबाट बाँचेकी उनकी आमा अझै जीवित छिन् र छोराको उपलब्धिप्रति अत्याधिक गर्व गरिरहेकी छिन्। समुद्रविज्ञ उनका पिताले सन् १९५९ मा आफ्नो परिवार बेलायत सारेका थिए। उनको मातापिताको मनस्थिति आप्रवासीको जस्तो नरहेको इसले पहिलेदेखि बताउँदै आएका छन्, किनभने उनीहरु जहिल्यै घर फर्किनेमा निश्चित थिए। १५ वर्षको हुँदासम्म उनी स्कुलको एक मात्र अश्वेत विद्यार्थी थिए। अन्ततः उनको परिवारले बेलायतमै बस्ने निश्चय गर्‍यो।

मैले उनलाई पहिलो पटक फेबर एन्ड फेबरको लबीमा सन् १९७९ मा भेटेको थिएँ। म नयाँ प्रतिभाको खोजी गरिरहेको युवा सम्पादक थिएँ। युनिभर्सिटी अफ इस्ट आंग्लियाको सिर्जनात्मक लेखनबारे अध्ययन (जहाँ उनलाई एञ्जेला कार्टर र माल्कम ब्राडबरीजस्ता शिक्षकले पढाएका थिए) सकेर इसले एक गितार र ओलम्पिया टाइपराइटर बोके। झुत्रो जिन्स र बब डिलनको जस्तो लामो कपाल पालेर उनी गीत लेखिरहेका थिए। मञ्चमा चढेर प्रस्तुति दिने उनको सपना थियो। उनी अझै हरेक दिनजसो गितार बजाउँछन्। यद्यपि उनले अंग्रेजी साहित्य परम्पराको आत्मा ग्रहण गरिसकेका थिए। रकस्टार नबनुञ्जेल फिक्सन लेख्ने योजना बनाएका कारण उनी युइएमा पढ्न पुगे। फेबरमा उनले मलाई भर्खरै लेखिएका तीन कथा दिएका थिए, ‘ए स्ट्रेन्ज एन्ड समटाइम्स स्याडनेस’, ‘वेटिङ फर जे’ र ‘गेटिङ पोइजन्ड।’

वर्षौँ भयो, मैले ती कथाहरु फेरि पढेको छैन तर तिनका विचित्रतालाई मैले भूल्न सकेको छैन। शास्त्रीय अंग्रेजी र डरलाग्दो जापानी गद्यको यो अनौठो मिश्रण उनको लेखनमा आजसम्म पनि पाउन सकिन्छ। इयान म्याक्युआनको प्रभाव भए पनि उनका ती कथामा युवा लेखकको नयाँ आवाज रहेको कुरामा कुनै शंका थिएन। मैले तुरुन्तै उनीसँग सम्झौता गरेँ। लगत्तै उनको एजेन्ट डेबोरा रोजर्समार्फत १०० पृष्ठको उनको पहिलो उपन्यास पाउँदा म निकै खुसी भएँ। सो उपन्यासका लागि हामीले बिना कुनै हिच्किचाहट १ हजार पाउण्डको विशाल धनराशी खर्चेका थियौँ।

एक जापानी परिवारको बेलायत बसाइसराइको व्याकुल बनाउने कथा रहेको छोटो उपन्यास ‘अ पेल भ्यु अफ हिल्स’ जब १९८२ मा प्रकाशित भयो, यसले निकै प्रशंसा पायो। समीक्षकहरुले इसिगुरोलाई त्यसबेलासम्म खास परिचित भइनसकेको समूहमा राख्न थाले। जसमा सलमान रुस्दी र तिमोथी मोजस्ता विदेशी मूलका अंग्रेजी फिक्सन लेखकहरु पर्दथे।

तथापि इसलाई वर्गीकरण गर्न साह्रै गाह्रो थियो। उनी न एक चीज थिए, न अर्को। उनी सँधै सचेत, सजग र रिजर्भ्ड रहन्थे। उनी विनम्र थिए र जुनसुकै परिस्थितिमा पनि लय मिलाउन सक्थे। उनले न जीवनमा, न लेखनमै ज्यादा हल्लाखल्ला गरे। सामान्यतयाः उनी विरलाकोटीको अहंकारविहीन कलाकार लाग्दथे। यद्यपि उनी भित्रभित्रै आफ्ना दृढ मान्यता र व्यवहारप्रति समर्पित रहेको मलाई थाहा थियो। उनको चरित्र र करिअरमा सँधै उपस्थित रहेको कुरा भनेको उनको मानवता, असल परिहास र सभ्य मान्यताहरुको प्राकृतिक अभिव्यक्ति नै हो।

लेखकका रुपमा सुरुवाती वर्षहरुमा इस दिउँसो नटिङ हिलस्थित साइरेनियन्स च्यारिटीमा काम गर्थे। त्यहीँ एक सामाजिक कार्यकर्ता लोर्ना म्याकडुगलसँग उनको भेट भयो। उनीहरुले सन् १९८६ मा विवाह गर्दा फिरन्ता आइरिस लेखक डेस होगान विवाहको साक्षी बसेका थिए। विवाह दर्ताका लागि जाँदाजाँदै बाटैमा चेरीको फूल चुँडेर होगानले एक बुके तयार गरेका थिए। इसका थुप्रै मूल्यमान्यताले त्यसैबेला आकार ग्रहण गरेका थिए। उनी ७० को दशकको पुस्ताको हिस्सा हुन्, जसको आदर्शको विकल्प थिएन।

१९९५ मा इसिगुरोको साथमा म्याक्रम

१९९५ मा इसिगुरोको साथमा म्याक्रम

सीमान्तका रुपमा इसको परिचय दिन सकिन्छ। सन् १९८३ मा उनको वास्तविक अवस्था स्पष्ट भयो, जब उनी उत्कृष्ट बेलायती युवा उपन्यासकारको सूचीमा ग्रान्टाको छनोटमा परे। त्यो समूहमा मार्टिन अमिस, जुलियन बार्नेस, विलियम बोइड, इयान म्याक्युआन र सलमान रुस्दी पनि सामेल थिए। उनी बेलायती नागरिक थिएनन्, त्यसैले बेलायती नागरिक बन्ने व्यवहारिक निर्णय लिए। ‘म जापानी राम्रोसँग बोल्न सक्दिनथेँ,’ उनले भनेका छन्, ‘तर म बेलायती महसुस गर्थेँ र मेरो भविष्य बेलायतमा थियो। यसले मलाई साहित्यिक पुरस्कारका लागि पनि योग्य बनाउँथ्यो।’ अझै पनि जापानमा उनलाई जापानीकै रुपमा हेरिन्छ।

इसको अर्को पुस्तक ‘एन आर्टिस्ट अफ द फ्लोटिङ वर्ल्ड (१९८६) उनको ख्यातिलाई सुरक्षित पार्ने शीर्षकमध्ये एक हो। युद्धपश्चातको जापानको समय वर्णित छ, उपन्यासमा। आफ्नो विगतका लज्जाहरुको सामना गरिरहेको एक पेन्टरको पीडादायक जीवनको चित्रण गर्ने यो कृति उनको उपन्यासमध्ये मेरो सबैभन्दा मनपर्ने पुस्तक पनि हो।

यसले ह्वाइटब्रेड प्राइज जित्यो र इस किताबी दुनियाँमा अभिन्न बने। फेबरका एक पूर्व सहकर्मी लण्डनको साहित्यिक माहौलमा जीवित रहने उनको एक सल्लाह सम्झिन्छन्, ‘अन्य लेखकहरुसँग भेटघाट हुँदा एजेन्ट र प्रकाशकहरुलाई कस्सेर गाली गर्नू। कृतिबारे कहिल्यै नबोल्नू तर वास्तवमा आफूले सो पुस्तक पढेको छु भन्ने देखाउन जहिले पनि एक खास पृष्ठको चर्चा गर्नू!’

यस्तो विवेक प्राकृतिक रुपमै आउँछ। रचना प्रक्रियाबारे इससँग अनेकौँ सिद्धान्तहरु छन्। तर उनी आफ्नै कृतिबारे गहिरिएर विरलै छलफल गर्छन्। मैले उनको साथमा सैयौँ घण्टा बिताएको छु, तर उनी के गर्न लागिरहेका छन् भन्ने विषयमा गहिरिएर कुराकानी अहिलेसम्म गरेको सम्झना छैन। हो, गीतकारका रुपमा उनी प्रथम पुरुष शैलीको वर्णनमा आनन्द लिन्छन्। अनि हो, उनको कल्पनामा ‘अर्ध–गोथिक’ पक्ष छ। तर उनले खोल्ने कुरा यत्ति नै हुन्। मलाई लाग्छ, उनी आफ्नो कलाको रहस्यमयतालाई पालनपोषण गर्न चाहन्छन्। यद्यपि यसले आफ्नो लेखनको विषयमा गहिरो अनुसन्धान गर्न उनलाई रोक्दैन।

१९८७ तिर उनले पिजी वडहाउस पढिरहेको र ‘राइट हो, जिव्स’बारे उत्साहित रहेको मलाई सुनाए। त्यतिबेलै उनी केही न केही योजनामा रहेको मलाई थाहा भइसकेको थियो। दुई वर्षपछि उनले ‘द रिमेन्स अफ द डे’ ल्याए। एक घरेलु नोकरबारेको त्यो उपन्यास उनले मात्रै लेख्न सक्थे। नोबेल समितिले ‘स्मृति, समय र भ्रम’ जस्ता विषयलाई समेटिएको उपन्यासको रुपमा चर्चा गरेको छ। सो उपन्यासले १९८९ को बुकर प्राइज जितेको थियो। त्यसपछि उनले १९९५ मा ‘द अनकन्सोल्ड’ प्रकाशित गरे। साहित्यिक प्रचारमा हिँड्दाको आफ्नै अनुवभबाट समेत प्रभावित एक कन्सर्ट पियानोवादकको यात्रा वर्णित यो सम्मोहनकारी उपन्यास सम्भवतः उनको मास्टरपिस हो।

त्यसयता हामी मित्र रहँदै आएका छौँ। अहिले मैले उनको कृति सम्पादन गर्न छोडे पनि इस र म भेट गरिरहन्छौँ। सामान्यतयाः चिनियाँ खाना खाँदै। यो हाम्रो लामो सम्बन्धको परम्पराजस्तो बनिसकेको छ। मेरो मित्र बुद्धिमान, मायालु र आकर्षक छन्। उनीभित्र बुद्धिमत्ता र सहानुभूतिको गहिरो भण्डार छ। यो उन्मत्त, झगडालु र अस्थिर संसारमा उनी विवेक, शिष्टाचार, मानवता र दयाका आवाज हुन्। उनलाई पुरस्कृत गरेकोमा स्वीडिस एकेडेमीले आफैँमाथि गर्व गर्नुपर्छ।

(८ अक्टोबर, २०१७ मा दि अब्जर्भरमा प्रकाशित आलेखको भावानुवाद)

प्रकाशित २३ असोज २०७४, सोमबार | 2017-10-09 17:42:38

प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

रोचक

NepalKhabar Tweets

विशेष

  • बेइजिङमा खुल्यो नेपाली भाषा विशेषज्ञ समिति

    चीनको संस्कृति मन्त्रालयको वैदेशिक संस्कृति सम्पर्क व्यूरो तथा बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयको संयुक्त प्रयासमा सोमबार नेपाली भाषा...

  • बाबुराम भट्टराईका मामा चन्द्रप्रसाद न्यौपाने

    बाबुरामका मामा भन्छन्ः भाञ्जाको जीत हर्ष न बिस्मात!

    ‘हिजो म नराम्ररी झुक्किएछु। प्रकाश (कांग्रेसबाट गोरखा २ (ख) प्रदेशमा विजयी) ले बुवा हिँड्न सक्नुहुन्न गाडीमा चढ्नुस् भन्नुभयो, म चढेँ। कुनबेला...

  • जीतपछि प्रचण्ड हर्षित, परिवार भावुक (तस्वीर)

    जन्मदिनको अघिल्लो दिन चितवन–३ मा विजयी भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकै हर्षित देखिएका छन्। तर, उनका परिवारका सदस्यहरु...

  • यू-१६ नेपाली टोली

    नारायण जोशीको उत्कृष्ट बलिङमा नेपालको सहज जित

    एसीसी यू–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गतको सोमबार भएको पहिलो खेलमा नेपालले आयोजक थाइल्याण्डलाई १३३ रनले पराजित गरेको छ।