स्वस्थ खाना, खुसी दशैं





डा. अरुणा उप्रोती
डा. अरुणा उप्रोती

बदलिँदो नेपाली खाना संस्कृति
नेपालको खाना संस्कृति उत्तम छ। नेपालीले दैनिक जीवनमा दाल, भात, तरकारी, अचार खान्छन्। यो स्वास्थका लागि निकै उपयुक्त खाना हो। चामल नभएको ठाउँमा मकै, कोदो, गहुँ, फापरको ढिँडो खाने चलन छ। यी खानेकुरा निकै पौष्टिक छन्।

तर पछिल्लो १०/१२ वर्षको बीचमा नेपालको खाना खाने संस्कृतिमा परिवर्तन भएको देख्न सकिन्छ। अहिले हामी जङ्क फुड खानतर्फ लागेका छौँ। पहिले मानिसहरुको खाजामा चिउरा, रोटी, चना, आलु, आदि हुन्थ्यो भने अचेल चाउचाउ, फ्रेन्चफ्राइ, कुरमुरे, लेज, लगायतका खानेकुरा खान थालेका छन्। यस्ता खानेकुरामा चिल्लोको अत्याधिक मात्रा हुन्छ। त्यस्तै नुन तथा चिनी बढी हुन्छ भने प्रोटिन, फाइबर, खनिजजस्ता पौष्टिक तत्व कम हुन्छ। जसले गर्दा मृगौलामा समस्या आउँछ।

घरबाहिरको खानेकुरा खाने बानीले गर्दा ३५/३६ वर्षका व्यक्तिलाई पनि उच्च रक्तचाप, मधुमेह लगायतका समस्या देखा पर्ने गरेको छ। अहिले स्थानीय खानेकुरा खान छोडेर बजारमा पाइने जङ्क फुड खानाले साना बालबालिकाहरुमा समेत समस्या देखा पर्ने गरेको छ। यस्तो खानेकुरा खानाले बच्चाहरुलाई पोष्टिक आहार पुग्दैन र दिर्घकालीन असर पर्न जान्छ। त्यसैले खाना खाने कुरामा धेरै ध्यान दिनुपर्ने हुन्छ। कति नेपालीहरुलाई बजारका खानेकुरा खानाले असर गर्छ भन्ने थाहा नभएर पनि समस्या बढ्दै गएको छ।

जंक फुड नियन्त्रण गर्ने उपाय
दूरदृष्टि भएकाहरुले जङ्क फुड खान खोज्दैनन्। म आफैँले २५ वर्ष भयो जङ्क फुड नखाएको। यदि घर बाहिर खाना खानु पर्ने भयो भने थकाली खाना खान सकिन्छ। खाजामा चिउरा, भट्मास, बारा जस्ता नेवारी खाजा खान सकिन्छ। नेपालीहरुले कर्नफ्लेक्स खान्छन् तर मकैको च्याँख्ला, गहँुको च्याँख्ला खाँदैनन्। कर्नफ्लेक्सको तुलनामा मकैको च्याँख्ला सस्तो पनि हुन्छ र पोषणयुक्त पनि। यसले स्वास्थलाई राम्रो गर्छ। खासमा हामीले खानेकुरामा अलिकति मात्र ध्यान दिन सकेमा भविष्यमा रोगी भएर बस्नु नपर्ने अवस्था छ। पछिल्लो समय जीवन जिउने तरिकामा पनि परिवर्तन हुँदै गएको छ। पहिले मानिस बढी शारीरिक कसरत हुने खालका काम गर्थे, अहिले त्यो घट्दै गएको छ। जसका कारण रोगले छिट्टै च्याप्ने गर्छ।

नेपालमा धेरै विदेशी आउँछन्। उनीहरु नेपालको खाना साह्रै मनपराउँछन्। तर नेपालीहरु भने बजारमा रहेको प्याकेटका खानेकुरा खाएर आफूलाई अस्वस्थ बनाइरहेका छन्। हामी यसबेला हाम्रो परम्परागत खाना संस्कृतिलाई नै जस्ताको तस्तै अपनाउन त सक्दैनौँ तर जङ्क फुड कम खाने गर्न चाहिँ सक्छौँ। जङ्क फुड नेपाली खानाभन्दा धेरै महङ्गो हुन्छ र स्वास्थका लागि उपयुक्त नभएकोले गर्दा यस विषयमा सोच्न जरुरी छ। त्यसपछि मात्र जीवनशैलीमा परिवर्तन ल्याउन सकिन्छ।

दशैंमा खानाः के खाने, कति खाने?
दशैंमा मानिसहरु घरमै बसेर धेरै परिकार बनाउने, खाने, आफन्तजन भेटने गर्छन्। जसले गर्दा दशैं–तिहार सकिने बित्तिकै अस्पतालमा बिरामीको चाप बढ्ने गर्छ। दशैं–तिहार पछिको समयमा उच्च रक्तचाप, मधुमेह भएका बिरामीहरुको संख्यामा उल्लेख्य वृद्धि हुने गरेको छ। यसलाई होलीडे सिन्ड्रम भन्ने गरिन्छ। दशैंको समयमा खानेकुरा धेरै खानाले विभिन्न रोगका बिरामीहरुलाई झनै धेरै समस्याले सताउने गर्छ। त्यसैले गर्दा खाने कुरामा ध्यान दिन जरुरी छ। बोसो, मिठाइलगायतका खाना खानाले मधुमेह रोगीको लागि समस्या पर्न जान्छ।

दशैं होस या अन्य अवसरमा हामीले खाने भनेको मौसमअनुसारको खाना नै हो, जसले स्वास्थलाई राम्रो गर्छ। खानेकुरा कति खाने भन्ने कुरा व्यक्तिको उमेर, स्वस्थ छ कि छैन, कति हिँडछ, कस्तो काम गर्छ, भन्ने कुरामा भर पर्छ। यदि कोही बलको काम गर्छ भने उसले खानेकुरा धेरै खँदा पनि पचाउन सक्छ। हिँडडुल कम गर्ने, कोठमा बसेर काम गर्नेहरुले भने आफूलाई अब थोरै खादा पुग्छ भन्ने भएपछि खान छोड्यो भने स्वस्थ भइन्छ। स्वस्थ रहनका लागि पर्याप्त मात्रामा पानी पिउनु पर्छ। पानी पर्याप्त मात्रामा पिउनु पर्छ भनिरहँदा धेरै व्यक्तिहरुले चिसो पेय पदार्थ, कफी खाइरहेका हुन्छन्। यी खानेकुराले मात्र पानीको मात्रा पुर्‍याउन सक्दैन। त्यसैले पानीको मात्र पुर्‍याउनका लागि पानी नै पिउन जरुरी हुन्छ।

चाडपर्वको अवसरमा बजार अनुगमन गर्ने सन्दर्भमा पनि यस्ता धेरै पेय पदार्थ म्याद गुज्रिएको भेटिने गरेका छन्। झन् त्यसले कति असर गर्ला? त्यसैले यस्ता खानेकुराहरु नखाँदा नै राम्रो हुन्छ। बच्चाहरुलाई दिइने खाने कुरामा सानैदेखि ध्यान दिन जरुरी छ। सानो उमेरमै बच्चाहरुको बानी बिगार्नु हुन्न। यसले भविष्यमा उनीहरुको स्वास्थमा गम्भीर असर पुर्‍याउँछ।

दशैंमा मासु खाँदा के के कुरामा ध्यान दिने?
दशैंको समयमा घरघरमा मासुका धेरै परिकार बन्ने गर्छ। तर धेरै मासु खानु पनि उचित हुँदैन। त्यसको विकल्पमा हरियो सागपात, टोफु सलादहरु बढी खाँदा स्वास्थको लागि राम्रो हुन्छ। मासु धेरै ल्याउने र फ्रिजमा राख्ने चलन छ हाम्रोमा। यसरी फ्रिजमा राखेको मासु पूरै तदाउँदै खाँदै गर्नु पनि स्वस्थकर होइन। पकाएको मासु फ्रिजमा राखेको भए खाने बेला जति खाने हो, त्यति मात्र तताउनु पर्छ। धेरै पटक मासुलाई तताउँदा राम्रो हुँदैन।

स्वस्थ व्यक्तिले जस्तो मासु खाँदा पनि खासै फरक पर्दैन तर मात्र पुर्‍याएर खानुपर्छ। युरिक एसिड भएकाहरुले रातो मासु खानु हुँदैन। यी रोग लागेकाहरुले कुखुरा, हाँस, माछालगायतका सेतो मासु मात्र खाँदा राम्रो हुन्छ। मासु बनाउने बेलामा पनि धेरै तेल, मसला हालेर लेदो बनाएर खाने चलन छ। जसले गर्दा खाना, चिउरा, आदि पनि धेरै खाइन्छ। जसले स्वास्थमा असर पर्न जान्छ। मासु खाँदा सागपात भने अनिवार्य खानुपर्छ। यदि खाने कुरामा सन्तुलन भएन भने कब्जियतको समस्या पर्न जान्छ। यस्तो समस्या नहोस् भन्नका लागि खाने कुरा कम खाने, मासुमा धेरै तेल, मरमसला नहाली बनाउने, मासुलाई बारम्बार फ्रिजमा राखने खाने नगर्ने र खाने बेला आफुलाई पुग्यो भन्ने हुनुभन्दा अगाडि नै उठ्ने गर्नुपर्छ। यदि मासु लामो समयसम्म राखेर खानुछ भने सुकुटी बनाएर राख्दा राम्रो हुन्छ।

दशैंको बेला आफन्तजनसँग भेटघाट बाक्लिने भएकाले खाने कुरा पनि धेरै बनाइन्छ। त्यस्तो बेला कर गरीगरी खानेखुवाउने गरिन्छ। त्यसो गर्नु राम्रो होइन। सबै मिलेर थोरैथोरै खाएर सक्नु राम्रो हुन्छ। कुनै छाक खाना अलि बढी खाइएको छ भने अर्को छाक नखाँदा फाइदा हुन्छ।

(डा. उप्रेतीसँग बबिता तामाङले गरेको कुराकानीमा आधारित)

प्रकाशित १२ असोज २०७४, बिहिबार | 2017-09-28 14:07:53


प्रतिकृया दिनुहोस

Loading...
  • अन्तिम दोश्रो भोज

    ‘सगरमाथा र लुम्बिनीबिना पनि यो कोटीहोम सम्पन्न हुनपर्छ। एकैछिनको कुरा त हो, न त्यो धरोहर रहन्छ, न हामी। त्यसका खातिर स्लखित हुनै आँटेको नली...

  • पुस्तक सार्वजनिक गर्दै लेखकसहित आमन्त्रित

    नथियाः आउट साइडरको बयान

    हरेक युवतीको नथिया उतार्दाका सुस्केरा, एकै परिवारका बाबु–छोराले एकै महिलासँग गर्ने सम्भोग वा एउटै पुरुषले आमा छोरी दुवैको नथिया उतार्नु र उक्त छोरी...

  • रवि र शोभा

    आशा नमारेको जोडी

    ‘एक्लै हिँड्दा उहाँ लड्नुहुन्छ कि, म नभएपछि कसले डोर्‍याईदिन्छ जस्तो लाग्छ। म नहुँदा त कसैले हुत्याइदिन्छ कि जस्तो पनि लाग्छ। के खानुभयो होला, म...

  • निभा शाह

    राजखलकमा जन्मिएकी विद्रोही कवि

    उनले आफ्नै आँखाले कैलालीमा थारुहरुलाई बेचेको देखिन्। हरेक वर्षको माघ १ गते थारुहरुको किनबेच चल्थ्यो। थारुको किनबेच आधिकारिक थियो। राज्यकै...

  • चिनियाँलाई शरणको कचौरा थेरापी

    बेइजिङमा शरद ऋतु लाग्दै गरेको एक दिन उनी ध्वनिपात्र उपचार पद्धतिबारे बताइरहेका थिए। विभिन्न प्रान्तबाट आइरहेका निम्ताहरू पच्छयाउन भ्याइनभ्याई...

Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

NepalKhabar Tweets

विशेष

  • कुलमान घिसिङ / फाइल फोटो

    कुलमानको प्रश्नः बिजुलीको बिल महँगो तिर्नु परेको त छैन?

    अहिले हामीले पूरै देशलाई लोडसेडिङमुक्त गरेका छौँ। औद्योगिक क्षेत्रमा भने रातको समयमा कहिलेकाहीँ लोडसेडिङ हुने गरेको छ। यो व्यवस्थापन गर्न सारै...

  • संविधान संशाेधनमा भारतका एजेन्डा छाेड्दै फाेरम

    प्रदेश २ मुख्यमन्त्री लालबाबु राउतले विश्वासकाे मत लिँदा दुई तिहाईभन्दा बढीको समर्थन पाए।

  • नेपाल एयरलाइन्सकाे जहाज

    दुई महिना थन्किएको ‘सगरमाथा’ ले हङकङबाट उडान थाल्यो

    नेपाल वायु सेवा निगमको दुई महिना थन्किएको एयरबस ३२०—२०० सिरिजको जहाज भाडाको इन्जिन जडान गरी शनिबार हङकङ उडेको छ।

  • भण्डारीलाई राष्ट्रपतिमा दोहोर्‍याउन नेपाल फकाउँदै ओली

    ओली निकट केही नेता ‘ओली र नेपाललाई पुनः एक ठाउँमा ल्याउने’ भन्दै सक्रिय देखिएका छन्। माओवादीसँग एकता भएपछि पुरानो गुटगत संरचना भत्किने र नयाँ बन्ने...