मुम्बईको नर्सरीबाट नेपाली क्रिकेट–बगैँचासम्म

यस्ता छन् क्रिकेटर दीपेश खत्रीको खेल जीवनका उकाली–ओराली



क्रिकेटर दीपेश खत्री
क्रिकेटर दीपेश खत्री

तल्लो तहबाटै घरेलु संरचना तथा खेलकुदको वातावरण बलियो भयो भने एकदिन आइसीसी आफै आएर हामीलाई स्टाटस दिएर जानेछ

क्रिकेटर दीपेश खत्री भन्छन्ः 'बुवाले ब्याट र बल ल्याएर क्रिकेट जीवनको सुरूवात गरिदिनु भयो तर मैले नेपालका लागि खेलेको कहिल्यै देख्नु भएन। अब त उहाँ रहनुभएन, त्यसैले जति रन हाने पनि म खुशी मनाउँदिन, जति विकेट लिए पनि सेलिब्रेसन गर्दिनँ।'

खत्रीको खेल जीवनका उकाली-ओरालीहरु उनकै शब्दमाः


म भारतको मुम्बईमा जन्मिएँ र हुर्किएँ, त्यहीँ क्रिकेट खेल्न सुरू गरेँ। मुम्बईलाई क्रिकेटको नर्सरी भनिन्छ। विश्व क्रिकेटका महान हस्तीहरू सचिन तेन्दुल्कर, सञ्जय मज्रेकर, सुनील गावस्कर, रवी शास्त्रीजस्ता क्रिकेटरहरू यसै भूमिमा जन्मिए।

सोही क्रिकेटमय माहौलमा समाहित भएका मेरा बुवाको पनि क्रिकेटप्रति औधी रूचि थियो। हामी पाँच वर्षको हुँदा नै बुवाले बल र ब्याट हाम्रो हातमा थमाउनुभयो।

म र भाइ दिनेशसँगै बुवा पनि क्रिकेट खेल्ने गर्नुहुन्थ्यो। हामी बस्ने घर छेउमा सानो खाली ठाँउ थियो। त्यस ठाँउलाई हामीले अभ्यासस्थल बनाएका थियौ। बुवा कामबाट फर्किएपछि दैनिक बेलुका २ घण्टा हामीसँग खेलेर बिताउने गर्नुहुन्थ्यो।

मुम्बईमा भाइ र म आपसमा चार पाँच वर्ष खेल्यौ। क्रिकेटको नियममा अर्को टिमको पालो आउन या त विपक्षीको सवै दश विकेट झराउनु पर्छ या निश्चित ओभर सकिनुपर्छ। भाइ र म खेल्नेक्रममा पनि त्यही नियममा बाँधिएर खेल्थ्यौ। हामीबीच निश्चित ओभरको पाउबन्दी त हुँदैनथ्यो। तर, दश विकेट नझरूञ्जेल अर्थात् एकजना १० पल्ट आउट नहुइञ्जेल अर्काको पालो आउँदैन थियो।

कहिलेकाही एकदिन पुरा खेल्दा समेत बलरले १० विकेट झराउन नसक्ने अवस्था आउँथ्यो। त्यस्तो अवस्थामा बाँकी रहेका विकेटको खेल दोस्रो दिन पनि जारी हुन्थ्यो। कहिलेकाहीँ त एउटाले लगातार दुई तीन दिनसम्म ब्याटिङ र अर्कोले त्यति नै दिनसम्म बलिङ पनि गरिरहनुपथ्र्यो। सोही अभ्यासले हामी दाजुभाइमा क्रिकेटप्रतिको लगाव बढ्दै गयो।

सोही क्रममा म मुम्बईको एक क्लबमा प्रशिक्षकका क्रममा पुग्यौं। उक्त क्लबमा मैले दुई वर्ष प्रशिक्षण बिताएँ। सोमराय काम्बली क्लबका प्रशिक्षक थिए, जसले पहिले सचिन तेन्दुल्करको सहायक कोचको भूमिका निभाइसकेका थिए। हामीसँग उक्त क्लबमा विनोद काम्बलीको भाइ वीरेन्द्र काम्बली पनि सँगै प्रशिक्षण गर्थे।

क्लबमा म आफ्नो बलिङको धार तिखार्दै थिए। त्यससँगै मौका पाएको बेला ब्याटिङमा नि उत्रन्थे। क्लब रहँदा मैले झण्डै ८० म्याच खेलेँ। जसमा मैले १ सय ४१ विकेट लिएको थिए।

मेरो नेपाल आगमन
मुम्बईमा राम्रो खेलिरहेकै बेला चिनजानकै भरमा सन् १९९९ मायु–१९ टीमको क्याम्पमा सहभागी हुन पहिलोपटक नेपाल आए। त्यस क्याम्पमा नेपाली दिग्गज खेलाडीहरू मेहबुव आलम, विनोद दास, युनिल शाह, बिकास डाली, राजकुमार प्रधान, आमिर अख्तर, दीपेन्द्र चौधरी तथा किरण अग्रवाल लगायत थिए।

त्यहीबेला नेपाली टोलीलाई एकहप्ते प्रशिक्षण दिन अष्ट्रेलियाका पूर्व कप्तान तथा प्रशिक्षक बब सिम्प्सन नेपाल आएका थिए। क्याम्पमा बलिङ गरेको नियालेपछि उनी मेरो बलिङबाट प्रभावित भएका रहेछन्। मेरो बलिङ हेरेपछि उनीसँगै प्रशिक्षक टिवी शाहलगायतले मलाई टीममा राख्न सुझाव दिएका रहेछन्। तर, त्यसवेला टीममा बलर भन्दा ब्याट्सम्यानको खोजी भइरहेकाले भन्दै मलाई टिममा स्थान दिइएन।

मुम्बई फर्कनुअघि म पोखरा गएँ, जहाँ अष्ट्रेलियाका पूर्व कप्तान तथा प्रशिक्षक बब सर पनि आउनुभएको रहेछ। म पोखरामा भएको उहाँले खै कसरी थाहा पाउनु भयो र मलाई होटलमा बोलाउनु भयो। त्यसबेला उहाँले मलाई होटलमा पत्रकारहरू र क्यानका पदाधिकारीहरूसँग चिनजान गराउनुभएको थियो।

यु १९ टिममा नपरेपछि म मुम्बई फर्किए र आफ्नो अभ्यास जारी राखे। फेरि, त्यसको पाँच, छ महिना पछि पाकिस्तानमा हुने यु १७ प्रतियोगिताको लागि नेपालमा छनौट खेल हुने थाहा पाएपछि म फेरि नेपाल फर्किए। नेपाल आएपछि म पोखरा क्रिकेट क्लबमा आबद्ध भए। मैले २००० देखि २००७ सम्म यस क्लबमा रहेर खेलेँ।

क्लबबाट क्षेत्रीय छनौट खेल्ने क्रममा पहिलो खेलमा नेपालगञ्जविरूद्ध अर्धशतक प्रहार गरेपछि म राष्ट्रिय प्रतियोगिताको लागि छनौटमा परे। पछि, राष्ट्रिय प्रतियोगितामा पनि राम्रो प्रदर्शन भएपछि सन् २००० मा म सहितको यु १७ राष्ट्रिय टीम पाकिस्तान जान तयार भयो। उक्त टुरमा मलाई एक्कासी ज्वरो आएपछि मैले चारमध्ये २ वटा खेल मात्रै खेल्न सकेँ। आशा गरे अनुरूप प्रदर्शन हुन सकेन।

अर्को वर्ष सोही प्रतियोगिता बंगलादेशमा हुँदै थियो। यसपटक भने म पूर्ण रूपमा फिट थिएँ। त्यस प्रतियोगितामा घरेलु टोलीविरूद्ध मैले एउटा ७८ रन प्रहार गरेको थिए। त्यसबेला टेस्ट राष्ट्रविरूद्ध प्रहार भएको त्यो पहिलो अर्धशतक थियो।

सन् २००२ मा मैले सिनियर टोलीको छनौटका प्रतियोगिता खेलेँ। उक्त छनौटकै म उत्कृष्ट बलर थिएँ। तर, दुर्भाग्य त्यसबेला मलाई टाइफाइडले च्याप्यो र मैले राष्ट्रिय टोलीमा स्थान बनाउने मौका गुमाएँ। उत्कृष्ट लयमा रहेका कारण टिममा पर्ने सम्भावना उच्च थियो तर टाइफाइडले मेरो सम्भावनाको ढोका बन्द गरिदियो। जुन मेरो क्रिकेट जगतको सवैभन्दा दुखदायी पल थियो। हरेक खेलाडीको चाहाना राष्ट्रिय टोलीबाट विदेशमा देशको प्रतिनिधित्व गरौ भन्ने हुन्छ। तर, लक्ष्यभन्दा एक कदम मात्र पछि रहेको मलाई त्यस टाइफाइडले निकै पछाडि धकेलिदियो।

टाइफाइड सञ्चो भएपछि अर्को वर्ष २००३ मा भैरहवाले यु–१९ राष्ट्रिय प्रतियोगिता खेल्दै थियो। क्षेत्रीय छनौटमा राम्रो प्रदर्शन भएपछि उक्त प्रतियोगितामा मैले मैले प्रशिक्षक जंगबहादुर थापा र सिनियर क्रिकेटर शक्ति गौचनसँग माथिल्लो क्रममा पठाउन अनुरोध पनि गरे।

तर मलाई माथिल्लो क्रममा पठाउन उनीहरूले संकोच देखाए। उनीहरूले नमानेपछि म प्रशिक्षक जगत टमटाकोमा गए। अहिलेका राष्ट्रिय टिमका प्रशिक्षक समेत रहेका टमाटा त्यसवेला भैरहवाका क्षेत्रीय प्रशिक्षक थिए। जगत गुरूसँग कुरा राखेपछि उनले मलाई फाइनलमा ओपनिङ पठाउने भए।

फाइनलमा बिराटनगरविरूद्ध १ सय १० रन प्रहार गर्दै मैले जगत गुरूको निर्णय सही सावित गरेँ। सोही प्रदर्शनको बावजुद टिमले पहिलोपल्ट राष्ट्रिय प्रतियोगिताको उपाधि उचाल्यो। उक्त शतक जुनियर क्रिकेटको पहिलो शतक पनि थियो। फाइनलको म म्याच अफ द म्याच थिए।

सन् २००४ को यु–१९ विश्वकप आउदै थियो। त्यसअघिको खाली समयको सदुपयोग गर्न र अभ्यास गर्नका लागि म मुम्बई गएँ।

अभ्यास तथा खेलका क्रममा खेलाडीलाई चोट लाग्नु सामान्य मानिन्छ। त्यसक्रममा कतिपय खेलाडीको खेल जीवन नै टुंगिएको हुन्छ। मेरा सन्दर्भमा पनि एकअर्थमा त्यस्तै भयो। मुम्बइमा एउटा म्याचमा नाडीको लिगामेन्टमा चोट लाग्नु मेरा लागि दूर्भाग्य बन्यो। जसले दिनप्रतिदिन मेरो दायाँ हातलाई कमजोर बनाउदै लग्यो।

चेकजाँच पश्चात् चिकित्सकले अब क्रिकेट नखेले नि हुन्छ भनेका थिए। तर, मनले मानेन। मैले खेललाई निरन्तरता नदिई बस्न सकिन। हाल १४ वर्ष भो, दायाँ हातको नाडीले सताउन थालेको। खेल्दा जुन नियमित दुःखी रहन्छ तर त्यो भन्दा ठूलो दुःख क्रिकेट खेल्न नपाउँदा लाग्छ। त्यसैले चोटका बावजुद पनि मैले क्रिकेट खेल्न कहिल्यै छोडिन र अहिले पनि उत्तिकै सक्रिय छु।

चोट सञ्चो भइसकेको थिएन। सन् २००४ को युथ विश्वकप मैले छुटाइन। चोटकै कारण त्यस विश्वकपमा खासै राम्रो प्रदर्शन हुन सकेन। नेपाल फर्केपछि बाँकी दुई वर्ष मैले आराममा बिताउनुपर्ने भयो। २००५ र २००६ को प्रायः सवै समय मैले आराम गरेर बिताएको थिए।

त्यसपछि सन् २००७ मा हुने सिनियर राष्ट्रिय प्रतियोगिताको क्षेत्रीय छनौटमा मैले कास्कीबाट कपिलवस्तु विरूद्ध नटआउट १ सय ४४, चितवन विरूद्ध ३२ तथा रूपेन्देही विरूद्ध ७८ रनको पारी खेलेको थिए। यी सवै रन ओपनिङ गर्दै आएका थिए तर यतिञ्जेलसम्म पनि थापा र गौचनले ओपनिङमा रूचाएका थिएनन्।

टीम सिनियर राष्ट्रियको फाइनलमा पुगेको थियो। ओपनिङ गरेको मैले क्षेत्रलाई च्याम्पियन बनाउन क्षेत्र नम्बर ३ काठमाडौं विरूद्ध अर्धशतकिय पारी खेलेको थिए। टीमलाई उपाधी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै मलाई उक्त खेलको म्यान अफ द म्याच चुनियोे।

क्षेत्रले हात पारेको यो दोस्रो राष्ट्रिय उपाधि थियो। यसअघि सन् २००३ मा यू–१९ को उपाधि उचाल्दा फाइनलमा मैले शतकीय पारी खेलेको थिए भने हाल सिनियर एक दिवसीयको उपाधि उचाल्दा महत्वपूर्ण अर्धशतकीय पारी खेल्दै टिमलाई च्याम्पियन बनाए।

क्रिकेट छोडी बेलायत
कुवेतमा हुने सिनियर टी–२० प्रतियोगिताको लागि सिनियर क्याम्प हुदै थियो। क्याम्पको बिचमै आमिर अख्तरले टी–२० पल्सरकपको आयोजना गर्ने भए। त्यस प्रतियोगितामा विनोद दास तथा पारस खड्का लगायतले सहभागिता जनाउँदै थिए।

उक्त प्रतियोगितामा मैले ह्याट्रिक लिए। यता, क्याम्पमा रहेका धीरेन्द्र चन्द घाइते भएर टिम छोड्नुपर्ने भएपछि सो प्रतियोगितामा ह्याट्रिक लिँदै उत्कृष्ट प्रदर्शन गरेका कारण म स्वतः राष्ट्रिय टिममा परे।

पहिलो चोटी टाइफाइडका कारण राष्ट्रिय टिममा स्थान गुमाउनुको पीडा मनमा अझै जीवित थियो। तर, यसपटक भने पाएको मौकालाई पूर्ण सदूपयोग गर्ने सोचका साथ म कुवेत उडे।

तर, त्यहाँ मलाई मौका नै दिइएन। पल्सर टी २० मा ह्याट्रिक लिँदै राम्रो लयमा भएप नि उक्त टुरमा एउटा म्याच नखेलाइएपछि ममा खिन्नता विकास भयो। कतिखेर राष्ट्रिय टिममा पर्नका लागि यत्रो मेहनत बेकार गरेछुझैँ पनि लाग्यो।

त्यस घटनाले मलाई निकै निराश बनायो। सिनियर टिममा आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने सपना सहित कुवेत गएको मलाई टिम व्यवस्थापकले रित्तो हात फर्काएको थियो। यही असमञ्जस्यताबीच दुई महिनापछि म क्रिकेटसँगको नाता तोड्दै बेलायत उडेँ।

बेलायतमा नि मलाई क्रिकेटको लतले छाडेन। त्यहाँस्थित ब्लाकहेथ क्रिकेट क्लबमा ट्रायल दिएपछि म क्लबको टिममा छनौट भए। ब्लकहेथले मलाई व्यवसायिक क्रिकेटर बनाउन सहयोग गर्यो। त्यहाँ बिताएको दुई वर्षमा मैले त्यहाँको प्रिमियर लिग जस्तो माथिल्लो स्तरको टुर्नामेन्ट खेल्ने मौका पाए।

ब्लाकहिथको पहिलो खेलमै मैले नम्बर ७ मा ब्याटिङ गरेर ९१ रन प्रहार गरेपछि मलाई टिमले सधै महत्व दिन थाल्यो। त्यसपछिका खेलहरूमा पनि मेरो प्रदर्शन सशक्त थियो। त्यसैले ३ सय खेलाडीहरू रहेको उक्त क्लबले मलाई अर्को सिजनको लागि पनि अनुबन्ध गर्यो।

दोस्रो सिजनको सन्डे लिगमा मैले ब्लाकहेथ एसियन फोरम टिमको कप्तानी तथा कोचको पनि भूमिका पाए। त्यसअघि टिमले लिगमा सुरूवाती चार खेल हारिसकेका थिए। मैले कप्तानी लिएपछि ब्लाकहेथले लगातार १४ खेल जित्यो। जसमा मैले खेलेको १४ इनिङमा एक हजारभन्दा माथि रन स्कोर गरे, जसमा मेरा पाँच शतक र पाँच अर्धशतक सामेल थिए।

नेपाल फर्किएर एमसीसी
बेलायतको भिसा अवधि सकिएपछि म फेरि नेपाल फर्के। नेपाल फर्कंदा कास्कीको क्रिकेट गतिविधि शुन्य प्रायः थिए। राष्ट्रिय क्रिकेटको विकासका लागि घरेलु क्रिकेट महत्वपूर्ण मानिन्छ। तर, क्लब क्रिकेटहरू शून्य देखेपछि मैले सन् २०१० मा यस क्षेत्रको क्रिकेट विकासको निमित्त माछापुच्छ्रे क्रिकेट क्लब (एमसीसी) को स्थापना गरें।

जमिन भाडामा लिएर मैले क्लबका लागि मैदान बनाएँ। नेपालमा हाल एसीसीबाहेक अन्य क्लबसँग आफ्नो क्रिकेट मैदान छैन। हालसम्म क्लबबाट ७५ जनाभन्दा बढी खेलाडीहरू विभिन्न जिल्ला तथा छनौटमा परिसकेका छन्। विगत ७ वर्षयता क्लबले जिल्लामा हुने क्लब स्तरीय प्रतियोगितामा एक चोटी बाहेक हरेक वर्ष उपाधि उचाल्दै जिल्ला च्याम्पियन भएका छौं। अञ्चलमा पनि हामी विगत तीन वर्ष यताका च्याम्पियन हौं।

राष्ट्रिय टिमका पेस बलर करण केसी नेपालमा क्रिकेट भविष्य खोज्दै पोखरा आएका थिए। टेनिस बलमा करणको खेल हेरेपछि म निकै प्रभावित भएँ र उनलाई एमसीसीमा अभ्यासको वातावरण मिलाएँ। त्यसको केही समयपछि क्षेत्र नम्बर ८ को सेलेक्सन थियो। मैले उक्त सेलेक्सनमा करणलाई लगेर गएँ। करणको पेस बलिङबाट प्रशिक्षक प्रभावित भएपछि उनी क्षेत्र नम्बर ८ को टिममा परे। हाल करणले अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा राष्ट्रिय टिमबाट प्रतिनिधित्व गर्दै आएको छ।

म र करण गरी पोखराबाट हालसम्म दुईजना खेलाडीहरूले नेपालका लागि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका छौं र दुवैजना एमसीसीकै हौं भन्दा गर्व लाग्छ।

विश्व क्रिकेटले ठूलो फड्को मारिसकेको छ। व्यवसायिक हिसाबमा निकै अघि बढिसकेको छ। नेपालमा पनि धनगढी प्रिमियर लिग (डीपीएल) ले खेलाडीहरूको अक्सन गर्दै राष्ट्रिय प्रतियोगिता सुरू गरिसकेको अवस्थामा हामीले पनि यस क्षेत्रमा पहिलोपटक अक्सनमार्फत् खेलाडीहरू टीममा समावेश गर्ने गरि प्रतियोगिता सुरू गर्न लागेका छौं।

यसअघि नै घोषणा भइसकेको माछापुछ«े प्रिमियर लिगमा केही दिनअघि मात्रै हामीले खेलाडीको अक्सन गर्यौ। प्रतियोगितामा गण्डकी तथा धौलागिरी अञ्चलका विभिन्न ९० भन्दा बढी खेलाडीले क्रिकेटमा व्यवसायिकताको आभास पाउँदैछन्।

पोखरामा भलिबल र फुटबलका समर्थक निकै बढी छन्, क्रिकेटका निकै कम। भलिबल र फुटबलमा राम्रो प्रायोजक पनि पाइन्छ। त्यसको ठिक उल्टो क्रिकेटमा प्रायोजक पाउन उत्तिकै गाह्रो पर्छ। २२ लाख बजेट रहेको यस प्रतियोगिताका लागि अझै पनि हामी प्रायोजकहरूकै प्रतीक्षामा छौै।

पोखरामा विगत सात वर्षदेखि एमसीसीबाहेक अन्य क्लबले कुनै पनि प्रतियोगिता गराउन नसकेको यथार्थ हो। हामीले जुनियर लेभलदेखि सिनियर लेभलसम्मका प्रतियोगिता प्रत्येक वर्ष गर्दै आइरहेका छौं।

बुवाले ब्याट र बल ल्याएर क्रिकेट जीवनको सुरूवात गरिदिनु भयो तर मैले नेपालका लागि खेलेको कहिल्यै देख्नु भएन। अब त उहाँ रहनुभएन, त्यसैले जति रन हाने पनि म खुशी मनाउँदिन, जति विकेट लिए पनि सेलिब्रेसन गर्दिनँ।

सन् २०१५ मा मैले बुवाको नामबाट जिएनके क्रिकेट लिग गरेको थिएँ, जुन पाँच महिना चल्यो। प्रत्येक शनिबार हुने उक्त लिगमा विभिन्न ७ वटा टिमबाट १ सय ५० भन्दा बढी खेलाडीले सहभागिता जनाएका थिए। उक्त प्रतियोगिताको उपाधि एसीसीले नै जितेको थियो भने प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका कारण प्लेयर अफ द म्याचको उपाधी समेत मैले हात पारेको थिएँ।

प्रतियोगिता आयोजना गर्दा झण्डै ६ लाख खर्च भएको थियो। जसको सम्पूर्ण भार आफैले बेहोर्नुपर्यो। अघि नै भनिसकेँ, पोखरामा जति सजिलो भलिबल र फुटबललाई प्रायोजक पाउन छ, त्यति नै गाह्रो क्रिकेटलाई प्रायोजक पाउन छ।

तीन वर्षको प्रतिबन्ध ९ महिनामै फुकुवा
क्रिकेट विकासमा दिनरात एक गरेर लागेको मलाई त्यसको उपहार स्वरूप प्रतिबन्ध लगाइयो। कास्कीका छनौटकर्ताहरूले एउटा राम्रो खेलाडीले प्रदर्शन गरे पनि उसलाई छनौटमा पारेनन्। त्यो कुरा मलाई चित्त बुझेन र मैले उनीहरूलाई राम्रो प्रदर्शन गर्दागर्दै पनि उक्त खेलाडी किन छनौटमा परेनन् भन्ने प्रश्न गरें। जवाफमा मैले प्रतिबन्ध खेप्नुपर्यो।

सुरूमा मलाई उनीहरूले तीन वर्षका लागि प्रतिबन्ध लगाएका थिए तर पछि ९ महिनामै फुकुवा गरे। उनीहरूको प्रतिबन्धले मलाई हतास बनाएन। प्रतिबन्ध हुँदाहुँदै पनि मैले क्रिकेट गतिविधिलाई निरन्तरता दिइरहें। क्लबमार्फत् क्रिकेट प्रतियोगिताहरू एकपछि अर्को गर्दै भइरहे।

प्रतिबन्धमा परेको मैले एउटा पछि अर्को गर्दै टुर्नामेन्टहरू गरिरहने तर आधिकारिक निकायले कुनै पनि प्रतियोगिता नगर्ने परिस्थिति थियो। मेरो क्रिकेटप्रतिको खटाइले क्यानमा चारैतिरबाट दबाब सिर्जना भयो। फलस्वरूप ९ महिनामै मेरो प्रतिबन्ध फुकुवा गर्न उनीहरू बाध्य भए। बिस्तारै क्यान र मेरोबीचको तनाव पनि सकियो तर आइसीसीले क्यानलाई नै निलम्बन गर्यो, जो स्वयम् अहिले आफू प्रतिबन्धमा छ।

अन्त्यमा,
यस क्षेत्रमा क्रिकेट विकासको अभियानमा मलाई प्रशन्न शाक्य र विनायक विक्रम थापालगायत देश भित्र र बाहिरका साथीहरूले सधैँ साथ दिइरहे तर पोखरा आसपासका क्रिकेट सरोकारवालाहरूबाट भने कहिल्यै पनि सोचे अनुसारको साथ मिलेन।

क्रिकेटकै लागि आफ्नो परिवारलाई मुम्बईमा छाडेर म सानो उमेरमा नेपाल आएको थिएँ। जीवनका उर्जाशील दिनहरू कास्की क्रिकेटलाई सुम्पे पनि। तर यहाँका मान्छेहरूलाई सन्तुष्ट पार्न सकिनँ।

मुम्बईमा भाइ मभन्दा राम्रो क्रिकेट खेल्छ। मैले धेरैपटक उसलाई यहाँ आएर आफ्नै देशका लागि क्रिकेट खेल भनेको छु। थुप्रै पटक तिमीजस्ता प्रतिभावान क्रिकेटरको नेपाललाई खाँचो छ भनेको छु तर, ऊ कहिल्यै नेपाल आउन मानेन। मेरा अनुरोधमा उसको जवाफ हुन्छ, ‘तैँले आफ्नो जीवनको सबै उर्जाशील समय त्यहाँ खर्चेर के पाइस् र म नेपाल आएर के पाउँला?’

एक अर्थमा उसको भनाइ पनि ठिकै लाग्छ। प्रतिभाहरूको कदर गर्ने संस्कृतिको अभावमा एकपटक म पनि विदेशिन बाध्य भएको थिएँ। तर, आफ्नो देशको क्रिकेट विकासमा यत्रो वर्ष खर्चंदा अन्तर्राष्ट्रिय जगतमा नेपाली झण्डा फहराउने केही खेलाडी उत्पादन गर्न सके भनेर चित्त बुझाउने गरेको छु।

झण्डै बीस वर्षभन्दा बढी भयो डुयुज बलले क्रिकेट खेल्न थालेको। यस अवधिमा खेलेका विभिन्न प्रतियोगिताहरू ८० भन्दा बढी शतक र १ सय ७० भन्दा माथि अर्धशतक प्रहार गरेको रेकर्ड मसँग छ।

अचम्मको कुरा त के भने यत्रो समय क्रिकेट खेल्दै हरेक प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दा समेत क्षेत्रमा मेरो स्थान कुन हो केही थाहा हुन्न। मैले कप्तानी गर्दै आएको टिमको कप्तान परिवर्तन गरिन्छ, तर एकपटक पनि सोध्ने प्रयत्न गरिन्नँ। सयौ खेलाडीहरू मेरो क्लबबाट खेल्ने भएकाले कसको स्तर कुन हो भन्ने म जानकार छु तर छनौटका कारणमा एकचोटी मलाई सोध्ने प्रयत्न गरिन्नँ। जिल्ला तथा क्षेत्रका थुप्रै प्रतिभावान खेलाडीहरूले राम्रो प्रदर्शन गर्दै विभिन्न कीर्तिमान राखिरहेका हुन्छन् तर त्यसको कसैलाई मतलब नै हुँदैन। कसैले रेकर्ड नै राख्दैन। यो हाम्रो क्षेत्रको मात्र हैन, पूरै नेपालमा यस्तै समस्या छ।

हामी हाम्रा खेलाडी तथा घरेलु क्रिकेटको तथ्यांक समेत राख्न सक्दैनौ भने के टी–२० तथा एक दिवसीयको स्टाटसको आशा राख्नु? पहिले तल्लो तहबाटैे घरेलु संरचना तथा खेलकुदको वातावरण बलियो भयो भने एकदिन आइसीसी आफै आएर हामीलाई स्टाटस दिएर जानेछ। तर, नेपालमा न राम्रो घरेलु संरचना छ, न घरेलु क्रिकेटको विकासमा निम्ति लागि परेकालाई प्रोत्साहन गर्ने वातावरण नै देखिन्छ।
(यज्ञराज जोशीसँगको कुराकानीमा आधारित)

प्रकाशित २७ साउन २०७४, शुक्रबार | 2017-08-11 14:39:18

प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

रोचक

NepalKhabar Tweets

विशेष

  • चुनाव जितेपछि बिन्दास मुडमा बाबुराम र हिसिला

    गोरखा–२ मा विजय हासिल गरेपछि चुनावी धपेडीबाट मुक्त हुन नयाँशक्ति पार्टीका संयोजक बाबुराम भट्टराई सुटुक्क काभ्रे पुगेका छन्।

  • देउवा र गच्छेदार

    देउवा र गच्छदारको ‘डबल ह्याट्रिक’

    राजनीतिमा उतीर्ण वा अनुत्तीर्ण हुने एउटा परीक्षा हो निर्वाचन। त्यो परीक्षामा कहिल्यै अनुत्तीर्ण नभएका दुई नेताहरु हुन् कांग्रेस सभापति तथा...

  • राठोर, श्रेष्ठ र राय

    जो टिकटका लागि कांग्रेसमा गए, तर नराम्रोसँग पराजित भए

    भक्तपुर–२ मा पराजयोन्मुख परिणाम आइरहँदा त्यस क्षेत्रका कांग्रेस उम्मेदवार तथा पूर्व सभामुख दमननाथ ढुङ्गानाले ट्वीट गर्दै भनेका थिए, ‘भूतले खाजा...