श्रवण र विप्लवः दुई भोजपुरे कविको सहयात्रा

०४६ सालको जनआन्दोलनपछि काठमाडौंमा भयो दुई कविको भेट, अनि सुरू भयो मित्रता



कवि श्रवण मुकारुङ र विप्लव ढकाल
कवि श्रवण मुकारुङ र विप्लव ढकाल

एक साँझ, मुक्त अनुभूतिको फागुन शृङ्खलाका लागि कवि विप्लव ढकाललाई फोन गर्दा सोधेको थिएँ, ‘तपाईंं कसको साथमा कविता वाचन गर्न चाहनुहुन्छ?’ उनले कत्ति पनि नअल्मलिई, कत्ति पनि ढिला नगरी, फ्याट्टै जवाफ दिए, ‘श्रवण’।

दुईजना ‘डन कवि’को साथमा कार्यक्रम चलाउने मेरो पनि चाहना थियो। कवि विप्लव ढकाललाई मुक्त अनुभूतिको मञ्चमा राख्ने प्रयास सुरूकै दिनदेखि सुरू भएको हो, तर त्यस्तो मौका जुरिसकेको थिएन। मुकारूङको सन्दर्भमा पनि यस्तै भइरहेको थियो। यसपटक विप्लव ढकालसँग त टुङ्गो गरियो तर हामीले अर्कै कविलाई पनि निधो दिइसकेका थियौँ। विप्लव ढकाललाई श्रवण मुकारूङको साथमा कवितावाचन गर्न यो वर्ष नजुर्ने नै भइसकेको थियो। फेरि ती अर्का कविको समय मिलेन। विशेष कामले विशेष ठाउँमा जानुपर्ने विशेष कारण दर्शाएपछि मैले हुन्छ नभनेर सुख थिएन। त्यसपछि कवि विप्लव ढकालले चाहना गरेझैं श्रवण मुकारूङ नै उनको साथमा हुने पक्का भयो।

त्यसरी संयोगपछिको संयोगमा यो मौका जुरेको थियो।
०००

कविता, कविता मात्रै कि आन्दोलन पनि?

यतिबेला मञ्चहरूमा ताली र वाहीवाही पाउने थोरै कवितामा पर्छ, विप्लव ढकालको ‘प्रेमको चङ्गा’। ‘प्रोफेसर शर्माको डायरी’ जस्तो कविता कृतिको चर्चा कम नहुँदै ‘च्याउको जंगल’ बजारमा आइसकेको छ उनको। श्रवण मुकारूङले मञ्चहरूमा आजकल गीत सुनाउन थालेका छन्। ‘सुन् रे सियाराम’ होस् वा ‘तिमीले मिस्कल हान्दा’ होस्, गीतका लिरिक्सले थुप्रै कविता पारखीहरूको मन जितिरहेको छ। कवितामा उनको ‘उत्पत्ति कथा’ मञ्चहरूमा हिट भइरहेकै छ। ‘बिसे नगर्चीको बयान’ जस्तो कविता लेखेर नेपाली कविताको शक्ति अर्को एक तहमा स्थापित गर्ने श्रवणको काव्यिक ओज सडकमा कविता सुनााउँदै हिँडेको समय, ६२/६३को जनआन्दोलनको एक दशक बित्दा पनि उत्तिकै छ। उनलाई समकालीन नेपाली कविताको ट्रेनसेटर मान्ने कवि-समालोचकहरू थुप्रै छन्। नेपाली कविता जगतका यी डन कविहरू बीचमा बसेर कविता विमर्श गर्नु साह्रै नै चुनौतीपूर्ण काम थियो। नढाँटीकन भन्दा मलाई डर लागिरहेको थियो। कार्यक्रमको नवौं शृङ्खला, नेपाली कविता जगत्को महत्त्वपूर्ण घटना भइरहेको दिन थियो यो।

यो घटना सुरू भयो, २०७१ फागुन १६ गते, शनिबार तीन बजे।

एकीकृत नेकपा माओवादीसहितको ३० दलीय मोर्चाको वृहत् शक्ति प्रदर्शन यही दिन थियो। आन्दोलनले गर्दा कार्यक्रममा दर्शकको कमी हुने सङ्केत मिलिरहेकै थियो। यसका दुई कारण थिए। पहिलो, कमरेड कविहरू कविता सुन्नभन्दा आन्दोलनका लागि रौसिएका थिए। कतिलाई पार्टी सदस्यता नै खारेज होला कि भन्ने पनि थियो।

दोस्रो, बाँकी मानिसहरूमा ट्राफिकको चिन्ता थियो। सामान्य नाराजुलुसका कारण पनि सहरभरिको यातायात व्यवस्था अस्तव्यस्त हुने काठमाडौंमा प्रमुख प्रतिपक्षी दल सामेल मोर्चाले शक्ति प्रदर्शन गर्ने दिन बाहिर निस्कनु रिस्की हुन्छ। साँझसम्ममा चक्काजाम नै नहोला भन्ने पनि थिएन। कतै झडप वा धरपकड भए त्यसो हुन सक्छ भन्ने धेरैलाई लागेको थियो। त्यसैले, अपेक्षाकृत कम दर्शकबीचमा यो कार्यक्रम सुरू भयो।

बाहिर सहरमा शक्ति प्रदर्शन, लाठीसहित। बत्तीसपुतलीमा रहेको यो नाटकघरभित्र चाहिँ कविताको शक्ति। यस्तो प्रतिकूल समयमा यत्तिका मान्छे। श्रवण र विप्लवका कविताको प्रतीक्षामा। देब्रेतिर कवि श्रवण मुकारूङ र दाहिनेतिर कवि विप्लव ढकाल। बीचमा बसेको मेरो मुटुको ढुकढुकी अचानक बढ्यो। मनमा पहिला खेलाएका प्लानहरू बिर्सिपठाएँ, प्रश्नहरू बिर्सिपठाएँ। यति विशाल परिचय र स्थान बनाएका कविहरूको माझमा बस्नु र प्रश्न गर्नु सामान्य होइन रहेछ। चियापसलमा गफिनु वा कविको आलोचना गर्नु सजिलो रहेछ। अझ जोक्स बनाउनु साहै्र सजिलो। कविका नाममा बनेका जोक्स सुनाउनु पनि सजिलो। बागबजार वा भृकुटीमण्डपमा सँगै चियाचुरोट खाएको कवि हिँड्नेबित्तिकै उसैलाई उडाउन थाल्नु पनि सजिलो। तर, एउटा औपचारिक कार्यक्रममा यति विशाल परिचय बोकेका कवि व्यक्तित्वहरूसँग संवाद गर्नु ! साह्रै गाह्रो, साह्रै चुनौतीपूर्ण। यस्तै लाग्यो मलाई।

र, अचानक कवि श्रवण मुकारूङलाई सोधेँछु– ‘कवि विप्लव ढकाल, नेपाली कविता जगत्मा कस्ता कवि हुनुहुन्छ?’ यसरी मुक्त अनुभूतिको नवौं शृङ्खलामा कविता—विमर्श सुरू भयो।
०००

एक भोजपुरे कविको नजरमा अर्को भोजपुरे कवि
मुक्त अनुभूतिको पहिलो शृङ्खलामा एउटा ‘थिम’ थियो– धरानका तीन कवि। त्यसपछि हामीले त्यस्तो संयोग जुराएनौं, आफैँं जुर्दै गयो। यसपटक संयोगले दुवै भोजपुरका कवि पाएका थियौं। कार्यक्रमको पहिलो खण्डमा मेरो जिज्ञासा उहाँहरूको भेट र परिचय कसरी भयो भन्ने सन्दर्भमा केन्द्रित रहयो।

श्रवण मुकारूङको घर, भोजपुरको पश्चिममा। सदरमुकाम दिक्तेलदेखि ६–७ घण्टाको पैदल दूरीमा। त्यति नै पूर्वमा विप्लव ढकालको। ३६ सालदेखि ४० को बीचमा, दुवैलाई ठ्याक्क मिति सम्झना छैन, कवितामार्फत् नै परिचय सुरू भएका यी दुर्ई कविहरूमाझ। विप्लव क्याम्पस पढ्थे भने श्रवण स्कुल। स्कुल पढ्दै कविता पढ्ने उनको बानी थियो। उनले पढ्ने कवितामा विप्लव ढकालका कविता पनि हुन्थे। ती कविता भोजपुरका हवाइ पत्रिकामा छापिएर आउँथे।

मुकारूङले सम्झना सुनाए– 'प्रारम्भिक समयमा उहाँ एकदमै बढी क्रान्तिकारी कवि हुनुहुन्थ्यो। लेफ्ट गतिविधिको नजिक हुुनुुहन्थ्यो सायद। त्यति बेला भोजपुरबाट निस्किने पत्रिकाहरूमा उहाँको कविता छापिन्थ्यो। विप्लव ढकाल भन्ने कविले फलानो ठाउँमा कविता सुनायो रे, क्याम्पसको प्राङ्गणमा कविता सुनाउँदा पुलिसले लखेट्यो रे भन्ने जस्ता कथाहरू, किंवदन्तीहरू सुन्थेँ म।'

कवि श्रवण मुकारुङ

कवि श्रवण मुकारुङ

श्रवणलाई त्यसबेलाका ढकालका कतिपय कविताहरू अझै सम्झना रहेछ। जलदेवीको गीत त आफूले जबरजस्ती नयाँ सङ्ग्रह च्याउको जंलमा राख्न लाएको उनी भन्छन्, 'त्यति बेलाका उहाँका कविताहरू मलाई अहिले पनि याद छ। जस्तो कि जलदेवीको गीत। यो कविता मैले नै जबरजस्ती पछिल्लो कविता सङ्ग्रहमा राख्न लगाएको हुँ। उहाँले त बिर्सिसक्नुभएको थियो। अर्को एक बेला भानुभक्तजस्तै केही नाम भएको कविता थियो। यी दुईटा कविताचाहिँ मलाई अहिले पनि सम्झना छ।'

यही समयमा श्रवण मुकारूङका पनि कविता छापिन थाले। विप्लव ढकालले पनि श्रवणलाई कविताबाटै चिनेका हुन्। भोजपुरमा बी.ए. पढ्दा अथवा शिक्षकको जागिर खाँदा श्रवण मुकारूङका कविता पढेका थिए ढकालले। तर त्यति बेला श्रवण काठमाडौं छिरिसकेका थिए। काठमाडौंको काव्यिक माहोलमा जम्न थालिसकेका थिए। त्यस बेलाका चर्चित कविहरू बैरागी काइँला, ईश्वरबल्लभ, जीवन आचार्य आदिको सङ्गत गर्न थालिसकेका थिए।

२०४६ सालको जनआन्दोलनभन्दा केही समय पहिला यी दुई कविको भेट भयो, काठमाडौंमा। एम.ए. पढ्न आएका थिए ढकाल। त्यसपछि सुरू भयो दुई भोजपुरे कविको मित्रता।

त्यो समय सम्झिँदै ढकाल भन्छन्, 'मैले श्रवणलाई कविताका माध्यमबाट भोजपुरमा चिने पनि व्यक्तिगत रूपमा काठमाडौं आएपछि नै चिनेको हुँ। वि.सं. २०४६ सालतिर काठमाडौंमा उहाँको र मेरो भेट भएको हो। त्यसपछि सुरू भएको मित्रता अहिलेसम्म जारी छ।'
त्यसपछि दुवै कवि एकअर्काको फ्यान भएका छन्। मैले माथि उल्लेख गरेको प्रश्नको जवाफमा कवि विप्लव ढकाललाई अहिलेको समयको प्रतिनीधि नेपाली कवि देख्ने मुकारूङ भन्छन्, “त्यसपछि समय सयममा कहिले म उहाँको फ्यान हुने, कहिले उहाँ मेरो फ्यान हुने। कहिले मैले उहाँलाई यो समयको प्रतिनिधि कवि देख्ने, कहिले उहाँले मलाई यो समयको प्रतिनिधि कवि देख्ने। यो क्रम चलिरहेकै छ। हेरौँ, कहाँ पुगिन्छ।”
०००

वाचनकलामा दुवै कवि माहिर छन्। श्रवण सानो आवाजमा बिस्तारी कवितावाचन गर्छन्। उनी यसरी वाचन गर्छन् कि कविताका शब्दशब्द दर्शकको हृदयसम्म पुग्न भ्याउँछन्। त्यसैले दर्शकहृदयले कवितामा व्यक्त संवेदनालाई स्पर्श गरेकै हुन्छ। र, त बिसे नगर्चीको बयान यही शैलीमा वाचन गर्दा आन्दोलनका लागि जनताको रगत उमाल्न सफल भयो। यही शैलीमा उनले ‘सुन् रे सियाराम’ सुनाउँदा मानिसहरू एउटी सहर आएकी कमलरी युवतीको पीडा अनुभूत गरेर अनुहारको भाव बदल्छन्, मानौं त्यो युवती ऊ आफैँं हो।

विप्लव ढकालका कविताको लयविधान फरक छ। उनका कविताको विषयवस्तुअनुसार उनी केही उच्च स्वरमा वाचन गर्छन्। हास्यरस समेत प्रशस्तै प्रयोग गर्ने कवि कविता वाचन गरिरहँदा दर्शकलाई हसाउँछन् पनि। र, अन्त्यमा एकदमै गम्भीर बनाएर, सोच्न बाध्य बनाएर कविता टुङ्ग्याइदिन्छन्।

दुवैको वाचनकलाबारे, वाचन थाल्नुअगाडि भूमिका बाँध्दै श्रवण भन्छन्, 'भोजपुरेहरूसँग जस्तो पनि आवाज छ। सङ्गीतमा तार सप्तक अर्थात् उच्च आवाजमा कविता लेख्ने कवि मित्र उता हुनुहुन्छ। उहाँ उच्च स्वरमा वाचन पनि गर्नुहुन्छ। म मध्यम सप्तकमा लेख्छु। वाचन पनि त्यसै गरी गर्छु।'

महाकवि लक्ष्मीप्रसाद देवकोटालाई मिथक बनाइएको छ। यसो पनि भनिन्छ, ‘उनी बोल्दा पनि कवितामै बोल्थे रे।’ श्रवणको यो जवाफ सुनेपछि लाग्यो, यसरी मिथक बन्दा रहेछन् राम्रा कविहरू। उनको यो जवाफ एउटा कविताजस्तै थियो, विम्ब र लय भएको।
०००

कवितामा राजनीति कति हुन्छ?
अहिले लेखिने नेपाली कविताको मूलस्वर राजनीति हो। यस्तै कविता बलिया हुन्छन्।

संवादको दोस्रो चरणमा हामी राजनीति र कविताको सम्बन्धबारे गफगाफ गर्न थाल्यौँ। श्रवणको दाबी छ, संसारमा लेखिएका सबै कविता राजनीतिक कविता हुन्। म सहमत भइहालिनँ। तर, उनी यसलाई जस्टिफाइ गरेरै छोड्ने चाहन्छन्। उनी आफ्नो दाबीलाई बलियो बनाउन माधव घिमिरे र नारायण गोपालको प्रसङ्ग जोड्छन्, 'माधव घिमिरेले प्रेमकविता लेख्दा राजनीति घुसाउँछन्, नारायण गोपालको रागात्मक गीतमा राजनीति हुन्छ। खालि कसरी हेर्ने भन्नेमा भर पर्छ। तर कुनै पनि कविता राजनीतिभन्दा पर हुँदै हुँदैन।'

राजनीति निरपेक्ष कुनै पनि रचना हुँदैन भन्ने उनको दाबी छ। हामी सामाजिक मुद्धामा कविता लेखिरहेका छौं। उनी भन्छन्, 'त्यो पनि एक प्रकारको राजनीति नै हो।'

म कन्भिस भएकै छैन। दाबी गर्छु, ‘नितान्त मानवीय संवेदनामाथि पनि कविता लेखिन्छन्। ती कवितामा राजनीति हुँदैन।’

मानवीय संवेदनामा पनि कहीँ न कहीँ राजनीति जोडिएकै हुन्छ भन्ने उनको बुझाइ छ, अझ भनौँ दाबी छ। उनलाई कवितामा राजनीति नदेख्नु समुद्रका माछाले गरेको गफ जस्तो लाग्छ। जसरी समुद्रमै भएका माछाहरू ‘समुद्र भन्ने हुन्छ रे विशाल विशाल’ भनेर गफ गर्छन्, त्यसरी नै हामी छलफल गर्छौँ कवितामा राजनीति हुन्छ कि हुँदैन।

एकैछिनअगाडि कवि विप्लव ढकालले कविता सुनाएका थिए, कुनै विद्यार्थीको मनस्थिति समेटिएको, अन्तिम बेन्चबाट। यही कवितालाई सन्दर्भ बनाएर म श्रवणसँग प्रति तर्क गर्छु, ‘त्यो कवितामा राजनीति कहाँ छ?’

उनी मेरो तर्कमा प्रश्न गर्छन्, 'त्यहाँ राजनीति कहाँनेर छैन?' उनी त्यसमा शिक्षिका र विद्यार्थीबीचको राजनीति देख्छन्। सोध्न बसेको म उल्टै सोधिइन्छु उनीबाट।

कवि विप्लव ढकाल

कवि विप्लव ढकाल

विप्लव ढकाललाई चाहिँ त्यहाँ राजनीति छ भन्ने लाग्दैन। अधिकांश कविताहरू राजनीतिक हुन्छन् भन्नेमा सहमत छन् उनी। राजनीतिक कविता धेरै शक्तिशाली छन् भन्नेमा पनि सहमत छन्। प्रखर रूपमा राजनीतिक मुद्धा आएको वास्तविकता पनि स्वीकार्छन्।

तर पनि उनको मत फरक छ। राजनीतिको चस्मा लाएर हेर्दा सबै कविता राजनीतिक देखिएला। तर, राजनीति कविताका अनेकौं विषयमध्ये एउटा विषय मात्रै हो। त्यस्ता अनेकौँ विषय छन्, कविता लेख्नका लागि।

अहिले नेपाली कवितामा पहिचान मूल स्वर भएको छ, दुवैको एउटै बुझाइ छ। वर्तमान समयमा नेपाली राजनीति र कविताको सम्बन्ध नङ र मासुको जस्तो देख्छन् श्रवण। (थिएटरभित्रका दर्शकहरू हाँस्छन् यसो भन्दा।)

जबजब शासकहरूले जनताको आवाज सुन्न छोड्छन्। तब जनताका मुद्धादेखि राजनीतिज्ञहरू पर भाग्छन् तब कविले बोलिदिनु पर्ने हुन्छ। त्यसैले लेखेका हुन् श्रवणले विसे नगर्चीको बयान। त्यसैले लेखिँदै छन् आजभोलि पहिचानको पक्षमा बुलन्द कविताहरू।

यी कविहरू एकमत छन्।

कविहरूले लेख्न त लेख्छन्, तर कविताको आवाज राजनीतिज्ञका मस्तिष्कसम्म पुग्ला त?

कवि ढकाललाई लाग्छ, हिँडिरहे कहीँ पुगिन्छ। 'कवि सधैं सत्ताको प्रतिपक्षमा हुन्छ, राजनीति उल्टो हिँड्यो भने कविहरू बोल्नु पर्छ', उनी भन्छन्।

उनको धारणा छ, 'कविहरूले विचार दिइरहने हो। तर सुनेका छन् छैनन् भन्ने जाँच गर्न सकिन्न।'

सुन्नुपर्छ। राजनीतिज्ञहरूले जब स्रष्टाहरूको आवाज सुन्न छोड्छन्, तब जनताले दमन महसुस गर्छन्। स्रष्टाहरूले सपना देखेको बाटोमा हिँड्ने राजनेताहरूले देशलाई समृद्धिको बाटोमा हिँडाउन सकेका छन्।
०००
आन्दोलनको मौसम!
फागुन चैतलाई आन्दोलनको मौसम भनिन्छ नेपालमा। सात साल, छत्तीस साल, ४६ साल, ६२/६३ साल, सबै आन्दोलनले यस्तै सङ्केत गर्छन्। यो कार्यक्रम भइरहँदा बाहिर आन्दोलन चलिरहेको छ र हामी कविता विमर्शमा छौँ। शिल्पी थिएटरको गोठाले नाटकघरमा।

एउटा कवि आफैँंमा आन्दोलन हो। कविताको यस्तो भव्य कार्यक्रम आफैँंमा आन्दोलन हो।

जनताको आवाज नसुन्ने शासक विरूद्ध हुनु, सधैं सत्ताको प्रतिपक्षमा हुनु। यतिले हुँदैन त पुष्टि कवि आन्दोलन हुनुको, कविता आन्दोलन हुनुको? यति धारिला विचारहरू प्रवाहित गर्ने यो कार्यक्रम आफैँंमा आन्दोलन हुनुको?

(शनिबार सार्वजनिक हुने पुस्तक 'मुक्त अनुभूति'बाट)

प्रकाशित २७ साउन २०७४, शुक्रबार | 2017-08-11 14:38:27

प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

रोचक

NepalKhabar Tweets

विशेष

  • बेइजिङमा खुल्यो नेपाली भाषा विशेषज्ञ समिति

    चीनको संस्कृति मन्त्रालयको वैदेशिक संस्कृति सम्पर्क व्यूरो तथा बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयको संयुक्त प्रयासमा सोमबार नेपाली भाषा...

  • बाबुराम भट्टराईका मामा चन्द्रप्रसाद न्यौपाने

    बाबुरामका मामा भन्छन्ः भाञ्जाको जीत हर्ष न बिस्मात!

    ‘हिजो म नराम्ररी झुक्किएछु। प्रकाश (कांग्रेसबाट गोरखा २ (ख) प्रदेशमा विजयी) ले बुवा हिँड्न सक्नुहुन्न गाडीमा चढ्नुस् भन्नुभयो, म चढेँ। कुनबेला...

  • जीतपछि प्रचण्ड हर्षित, परिवार भावुक (तस्वीर)

    जन्मदिनको अघिल्लो दिन चितवन–३ मा विजयी भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकै हर्षित देखिएका छन्। तर, उनका परिवारका सदस्यहरु...

  • यू-१६ नेपाली टोली

    नारायण जोशीको उत्कृष्ट बलिङमा नेपालको सहज जित

    एसीसी यू–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गतको सोमबार भएको पहिलो खेलमा नेपालले आयोजक थाइल्याण्डलाई १३३ रनले पराजित गरेको छ।