डा. कमला सांकृत्यायनको बधुशिक्षा–विश्लेषण

महापण्डित राहुल सांकृत्यायनकी पत्नीले लेखेकी छिन्ः यो कृतिमा भानुभक्तले सासुलाई समर्थन र बुहारीलाई शिक्षा दिएका छन्


आचार्य भानुभक्तको महान रचना ‘रामायण’ हो। तर उनले नेपाली स्त्री—समाजका निम्ति पनि ‘बधूशिक्षा’ र केही स्फूट कविताहरूको रूपमा कोशेली प्रदान गरेका छन्। हुन ता आधुनिक समालोचकहरूले नवीन दृष्टिकोणद्वारा समीक्षा गर्दा ‘बधूशिक्षा’लाई साधारण रचना घोषित गरेका छन्। उनीहरूले कुनै पनि साहित्यकारको कृतिको मूल्यांकन गर्दा उनले भोगेको सामाजिक अर्थात् तत्कालिक परिवेशलाई पनि ध्यानमा राख्नुपर्दछ।

वर्तमान समयमा पनि नेपाल देशका केही प्रसिद्ध सहरहरू बाहेक ग्रामीणवासीहरूमा सामाजिक प्रगतिको गति अझ सामान्य नै छ भने झन् गत शताब्दीको नेपालीहरूको ग्रामीण जनजीवनको अवस्था कुन स्तरमा थियो होला त्यसको कल्पना सहजै गर्न सकिन्छ। भानुभक्तका पालामा ठेट नेपाली समाजको अस्तित्व त अझै पनि नेपालका गाउँहरूतिर पाइन्छ। गत शताब्दीको भारतको अवस्था पनि त साह्रै गतिलो स्तरको थिएन। यस देशका सुधारवादी आन्दोलनको सूत्रपात राजा राममोहनरायद्वारा भइसकेको थियो। उनले आफ्नो अथक परिश्रम दृढ विश्वासले भारतमा सती प्रथा बन्द गराउन १८२९ ईस्वीमा सफलता पाएका हुन्। भारतदेखि हजारौं किलोमिटर दूर्गम पार्वत्य भूमिमा निवास गर्ने र सामान्य साधना भएका भानुभक्तले आखिर भारतमा भइसकेको सामाजिक सुधारका समाचारहरूदेखि कसरी समाचार पाउन सक्थे? यसैकारण १८२९ ईस्वीमा भारतमा सती प्रथा बन्द भइसकेता पनि भानुभक्तले लेखेः

सौताको रिस गर्नु पाप् छ बहुतै दूवै एकैका पति।
मर्दामा पनि जानुपर्छ जसले मीलेर सँगै सति।।

उक्त पंक्तिहरूद्वारा तत्कालीन नेपालमा चलिरहेको सती प्रथाको समर्थन देखिन्छ। साथै सौताको रिस गर्नु पाप छ भन्नाले पनि कविले बहुपत्नी विवाहको समर्थन गरेको बुझिन्छ।

बधूशिक्षा कविको एउटा आकस्मिक रचना हो। यस रचनालाई तयार पार्ने प्रेरणा कवि भानुभक्तले मित्र तारापतिका घरमा आधा रातमा चलेको सासु बुहारीको कलहबाट पाए। यस कृतिमा भानुभक्तले सासुको समर्थन गर्दै बुहारीलाई सरल हिसाबले शिक्षा दिएका छन्। ‘बधूशिक्षा’लेख्ने कविको यही उद्देश्य देखिन्छ– स्त्रीहरू पनि पढ्ने पढाउन सक्ने होउन् समयमा कर्तव्यच्युत नहोउन्, साथै पति परायण सहगृहस्थ जीवनलाई शान्तिपूर्वक निर्वाह गरून् भनेर गृहलक्ष्मीहरूलाई शिक्षा दिएका हुन्।

यस पुस्तकमा नेपाली बधूहरूलाई बडो सरल हिसाबले शिक्षा दिइएको छ। हुन त अहिलेको युगमा यस प्रकारको नारी शिक्षा उपयुक्त देखिँदैन। तर समय काल र परिस्थितिअनुसार यो शिक्षा त्यस कालका लागि उपयुक्त नै थियो। गत शताब्दीको कृति हुनाले हामीले वर्तमान युगको दृष्टिकोण लिएर त्यसको मूल्यांकन गर्न उचित हुँदैन, यसो गर्नाले हाम्रो कविप्रति अन्याय हुनेछ। बधू भन्नाले कविले यहाँ सम्पूर्ण नारी जातिलाई लिएका छन् र घरलाई नारी जातिले नै स्वर्ग बनाउँदछन्, सुख र सम्बृद्धि ल्याउन पनि नारीले नै सक्तछन् भन्ने कुरोमा कविको विश्वास छ। एउटी गृहिणीको जुन उत्तरदायित्व छ, यसको कर्तव्य अकर्तव्यप्रति कविले समस्त नारी जातिलाई सचेष्ट गराएका छन्। कुनैपनि सामाजिक परिवारमा एउटी बधूको कत्रो जिम्मेवारी हुन्छ, त्यसैको चर्चा कविले गरेका छन्। यसरी हाम्रा कविले नारीको सम्मान नै गरेका छन्, तिरस्कार होइन।

तारापति ब्राह्मणीका पत्नी र बुहारीलाई आचार्य भानुभक्तले गाउँघरको चलनअनुसार र व्यवहार अनुसार जुनप्रकारको मर्यादावादको शिक्षा दिएका छन् त्यो आधुनिक पाश्चात्य सभ्यताका आदर्शभित्र हुर्किएका हाम्रा नवयुवतीहरूलाई कटु र संकीर्ण लागे पनि यो अन्य नारीहरूले रूचाउने कुरो हो। भानुको ‘बधू्शिक्षा’ले आफ्नो जातीय संस्कृतिको मर्यादा बुझाउँछ। नेपाली पहाडी गृहस्थीमा बुहारीहरूबाट यस्तै व्यवहारको अपेक्षा आज पनि गरिन्छ र जबसम्म हाम्रो सामाजिक जीवनमा आमूल परिवर्तन हुँदैन, तबसम्म भानुभक्तको यस व्यवहारपूर्ण मर्यादावादी दृष्टिकोणमा केही अन्तर आउनेछैन।

आजका नारीहरू प्रश्न गर्दछन्ः भानुभक्तले तारापतिका घरमा मच्चिएको झगडामा सासुको दोष चाहिँ किन देखेनन्? सासु बुहारीको झगडामा सासुको पनि केही कसूर त हुनुपर्छ, नत्र भने झगडा त्यत्रो किन बढ्ने थियो? बधूवर्गलाई मात्रै शिक्षा दिने, सासुवर्गले बुहारीसित कस्तो प्रकारको व्यवहार गर्नुपर्छ, बुहारीलाई घरकी छोरीको रूपमा नै सासुले मानिलिए के खेरो जाने थियो र? आखिरमा बुहारी पनि त कुनै मातापिताकी अति प्यारी छोरी हो, के बुहारी हुँदैमा ऊ छोरीको पददेखि वञ्चित भइहाल्ने?

सासु र बुहारीको झगडा नेपाल देशमा मात्र होइन, अन्य देशहरूमा लगायत भारतमा पनि प्रचलित छ। हो, सहरी हावा लागेका छोराहरू आफ्नी आमा र पत्नीको झगडाको एउटै फैसला गर्दछन्– भिन्नै गृहस्थी बसाएर। नेपालका सहरहरूतिर पनि यस्तै प्रकारको व्यवस्था प्रायः स्थापित भइसकेको छ। यसो हुँदा हाम्रो जुन संयुक्त प्रथा थियो, त्यो भत्किँदै गइरहेछ। तर नेपाल सहरदेखि टाढाटाढा बसेका ग्रामीणहरूमा संयुक्त परिवारको प्रथा अझ छँदैछ। धेरै सदस्यहरू भएका परिवारकी बुहारीमाथि कत्रो जिम्मेवारी आइपर्छ, त्यसको स्पष्ट चित्र भानुभक्तको बधूशिक्षामा पाइन्छ।

बधूशिक्षा लेख्ने कविले आफ्नो कृतिमा बधूहरूलाई मात्र उपदेश दिएनन् तर हामीहरूको जीवनमा आश्रित मर्यादापूर्ण व्यवहारको प्रेरणाले हाम्रो सामाजिक व्यवहारलाई पनि उद्बोधन गरेका छन्। उदाहरणका लागि स्त्री जातिलाई पतिव्रता भई धर्मपालन गर्ने उपदेश धेरै नै दिइएको छ। एक प्रकारले यो राम्रै अर्ति हो तर लोग्ने मान्छेको निरंकुशता र मनमानी स्वभावप्रति केही पनि विरोध नगरी उनीहरूले गर्ने बहुविवाहको अन्याय अत्याचारलाई पनि भानुभक्तले समर्थन गरेका छन्, त्यो अवशय नारीलाई नसुहाउँदो कुरा हो। लोग्ने मानिसको यस अन्यायप्रति विरोध नगरी स्वास्नी मानिसहरूले चुप लागेर बस्नाले हुन ता घरको शान्ति अवस्य स्थिर नै रहन्छ, तर नारी जागृति र प्रगतिको दिशामा त यसले सरासर बाधा दिएर समाजको विकास र प्रगतिको बाटो रोक्दछ।

पुस्तकको अर्को एक स्थानमा भानुभक्तले नारीलाई हाँस्नेसम्मको पनि अधिकार दिएका छैनन्। हाँस्नु त मानवको एउटा प्रकृतिद्वारा प्रदत्त गुण हो यस नैसर्गीय गुणमाथि पनि कविले केही अंकुश लगाएका छन्। बधूशिक्षामा नै कविले नारीहरूलाई असल बनाउने चिन्तन गरेर पनि उनीहरूलाई माथि उठाउने भावना र केही स्वतन्त्रता दिने उदारता देखाएनन्। यसप्रकार नारीलाई केही विशेष अधिकारहरू नदिँदा समाजमा विकास आउँदैन। हाँस्ने कुरामा नारी जातिलाई अंकुश लाउँदै उनले लेखेका छन्ः

हाँस्नू छैन कदापि नारीहरूले बेश्या हुन्या हाँस्तछन्।
बेश्या लौ नहउन् तथापि घरको काम् ती सबै नास्तछन्।
एक्लै हाँस्न हुँदैन कोहि नभई अर्को सँगै भो जसै।
हाँस्तैमा दिन जान्छ येहि रितले सब् काम बित्दछन् जसै।

डा. कमला सांकृत्यायन

डा. कमला सांकृत्यायन

बधूशिक्षामा दिइएको उक्त श्लोक लेख्ने पनि कविलाई एउटा कारण परेको थियो। कविले आफ्नी धर्मपत्नीले उनको सामु हाँसिदिँदा उनले यस श्लोकमा पत्नीलाई खसालेर भनेका छन्। आफ्नी धर्मपत्नीमाथि नै उनको यस्तो नियंत्रण थियो भने अन्य नारीहरूप्रति के उनी नरम हुन सक्थे? तर कविलाई हामीले केही नसोची, नसम्झी दोष दिनु उचित हुँदैन। भारतका प्रसिद्ध कवि गोस्वामी तुलसीदासले त झन् नारीहरूप्रति कति तीतो फैसला दिएर गएका छन्—

ढोल, गँवार, शूद्र, पशु, नारी।
ये सब ताडन के अधिकारी।।

तर तुलसीले यस्तो पंक्ति लेखे भनेर हामीले आधुनिक दृष्टिकोणले कविको तिरस्कार गर्नु हुँदैन। कारण कविले भोगेको यथार्थ र परिस्थितिप्रति पनि हाम्रो दृष्टि जानैपर्छ।

भानुभक्तका अन्य फूटकर कविताहरू हेर्दा कविलाई रसिकको रूपमा पनि चिन्न सकिन्छ। नेपाली नारीहरूको पुष्पप्रेमको झलक उनको कान्तिपुरी नामक कवितामा पाइन्छः

चपला अबलाहरू एक् सुरमा।
गुनकेसरिको फूल ली शिरमा।।
हिँडन्या सखि लीकन ओरिपरी।
अमरावति कान्तिपुरी नगरी।।

आज पनि नेपाली स्त्रीहरू आफूलाई सिंगार्न आफ्नो इच्छाले मनपर्दो फूल टिपेर कपालमा लगाउँदछन्। झन् भानुभक्तको पालामा तरूणीहरू त कति शौकिन थिए होलान् यस्ता रमणीय पुष्पप्रेमले भानुभक्त पनि चकित भएका थिए।

भानुभक्तका फुटकर रचनाहरूमा जुन भावना, विचार र प्रश्नहरू छन् ती मूलतः नेपालीहरूको पारिवारिक जीवनमा भन्दा पृथक छैनन्। यो साँचो हो कि आज गजाधार सोतीकी घरबूढीको प्रसंग लिएर कतिपय सज्जनहरूले भानुको प्रतिवाद गर्न खोजेका छन्। तर स्पष्टवादी कवि आफ्ना भावनाहरूलाई मनैमा गाँठो पारेर राख्न सक्दैनथे। नारीप्रति कटु भावना लिएर उनले यस्तो लेखेको कदापि होइन।

नौजवान ठिटाठिटीले कुनै न कुनै बुढीको कच्कच् अवश्य नै सुनेका छन् होला। भानुभक्तले आफ्ना रचनाहरूमा कदाचित् पहिलो पटक यस्तो चोट लगाएका छन् गजाधरकी पत्नीमाथि कटुशब्द भनेर। यस प्रसंगबाट स्पष्ट देखिन्छ, त्यस युगमा वृद्ध सासुहरूलाई आफ्ना तरूणी बुहारीहरूको कति चिन्ता हुन्थ्यो। विशेष गरी घरमा पुरूष सदस्य नभएको बेला कुनै तन्देरी अतिथी आइदिनाले वृद्धालाई हुन सम्मको चिन्ता परेको थियो। कर्कश बुढीले हुन त बुहारीप्रतिको आफ्नो जिम्मेवारीको पालना गरिन्, तर अतिथिको मनमा चोट पुर्‍याएर गइन्।

नारीलाई त कविले केही भन्नै सकेनन् तर गजाधर सोतीलाई लेखेर दिएको कवितामा कविले कर्कशा नारीहरूको कटु आलोचना गरेका छन्। (भानु स्मारिका विशेषांक, सम्बत् २०३७–३८ (सन् १९८१), प्रकाशक श्री खिरोद मेगी। भाानु जन्म जयन्ती समारोह समिति, मंगन, उत्तर सिक्किम। यो लेख रचना पत्रिकाको भानु विशेषांकको पूर्णांक १३१ मा ‘भानुभक्तको रचनामा सामाजिक शिक्षा’ शीर्षकमा प्रकाशित छ।)

प्रकाशित २९ असार २०७४, बिहिबार | 2017-07-13 15:23:44

प्रतिकृया दिनुहोस

  • मनिता प्रधान श्रेष्ठ

    मनिता, एसियाली जुडोकी नेपाली च्याम्पियन

    एसियाली जुडो जित्ने राष्ट्रिय खेलाडी हुनुअघिको उनको पृष्ठकथामा पनि पारिजात जोडिन आइपुग्छिन्। मूलथलो पाँचथर भएकी मनिता बन्दी सहायता नियोग (पाम)मा...

  • डा. कमला सांकृत्यायनको बधुशिक्षा–विश्लेषण

    बधूशिक्षा कविको एउटा आकस्मिक रचना हो। यस रचनालाई तयार पार्ने प्रेरणा कवि भानुभक्तले मित्र तारापतिका घरमा आधा रातमा चलेको सासु बुहारीको कलहबाट पाए।...

  • बाजुरका बालकहरुसँग कुराकानी गर्दै लेखिका

    नेपाललाई छाउपडीले चिनाउन बन्द गरौं

    समस्याको हल स्थानीय स्तरमै निक्लनु पर्छ। कानुन लागु गराउन पनि स्थानीय समाज र सरकार बलियो हुनुपर्छ। नेपालको नाम बदनाम गराएर आफ्नो नाम चम्काएर...

  • तारा पराजुली

    एक कविको अर्को अध्याय अर्थात् उपमेयर

    गाउँघरमा एक जुझारू युवा नेतृ तथा सामाजिक अभियन्ताको समेत पहिचान बनाएकी ताराको मुख्य पेशा भनेको शिक्षण हो। अन्य स्थानीयसँगको संयुक्त साझेदारीमा...

  • युग पाठक

    युग पाठकको बहुचर्चित पाठक–पत्र

    पूँजीपतिहरूको पोल्टोमा ठूला संचारमाध्यामहरू हुन्छन्। प्रेस स्वतन्त्रताको कुरो त नारा मात्रै हो, व्यवहारमा पूँजीपतिहरूको इन्ट्रेस्टमा संचारसंस्थाहरू...

  • डेभिएन्टआर्ट

    बेचैन बोधनाथ

    बोधनाथले प्रजातन्त्र र मानवअधिकारको रक्षा गर्ने नाममा लगेको रकमको दुरूपयोग गरेकोबारे सोमले विस्तारमा सुनाए। दस बाह्र दिन परिवारलाई भारत वा अन्यत्रै...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • फेरि वार्ता होला बाबुराम र उपेन्द्रबीच?

    नयाँ शक्तिले वार्ताका क्रममा राष्ट्रिय अध्यक्ष र संगठनात्मक अध्यक्षको प्रस्ताव पनि अघि सारेको छ। नयाँ शक्तिले राष्ट्रिय अध्यक्ष डा. बाबुराम भट्टराई...

  • गोरखाका जनप्रतिनिधि र कार्यालय प्रमुखबीच जुहारी

    जिल्ला समन्वय समिति गोरखाको सभाहलमा सोमबार दिउँसो विषयगत कार्यालयका प्रमुख एवं प्रतिनिधि र एघार वटा स्थानीय तहका प्रमुख, उपप्रमुखबीच विकास, निर्माण...

  • तस्वीरमा एसियाली युवा तथा जुनियर भारोत्तोलन च्याम्पियनसिप

    राजधानीमा आइतबारदेखि एसियाली युवा तथा जुनियर भारोत्तोलन च्याम्पियनसिप सुरु भएको छ। लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रमा...

  • मलेसियालार्इ नेपालले ५ विकेटले हरायो, सन्दिपले लिए ७ विकेट

    आइसीसी यू–१९ विश्वकप छनोटमा नेपालले खेलेका पाँच खेलमध्ये चारमा विजयी हात पारेको छ। चौथो खेलमा जित निकाल्ने क्रममा सोमबारको खेलमा नेपालले मलेसियालाई...