नेपाललाई छाउपडीले चिनाउन बन्द गरौं


बाजुरका बालकहरुसँग कुराकानी गर्दै लेखिका
बाजुरका बालकहरुसँग कुराकानी गर्दै लेखिका

असार महिनामा धर्ती र आकाशका सबै हल्लाहरु आफैँमा विलीन गराएर मेघ गर्जेको थियो। अछामको बयलपाटामा एकाबिहानै। आठ वर्षअघि। धनगढीकी जुझारु पत्रकार लोकसरी कुँवर र म मेघको त्यो हल्लाभित्र आफैँ हल्ला मच्चाउँदै थियौँ। एचआइभी एड्स भएकी गरिब महिलाको अन्तवार्ता लिएर सनसनी मच्चाउने हाम्रो कत्रो इच्छा थियो! उनको त थाहा भएन, पहिलो पटक सुदुरपश्चिम टेकेको म यसैको हुट्हुटीमा थिएँ। ओतले नछेकेको मुसलधारे पानीमा हाम्रो जोश गरम थियो। 

चामलको भात खान नपाएका मान्छेहरु, एड्सको कहाली, भोकानांंगा केटाकेटी, मेरो मनमा सुदूर पश्चिमबारेको यो चित्र आराध्यदेव नै बनेर बसेको थियो। अघिल्लो दिनमा नै पक्का गरेको कुराकानी। ती महिला नबोल्लिन् भन्ने चिन्ता थिएन। पत्रकारिताको गर्मीको अगाडि एकाबिहानै निथ्रुक्क पारेको झरीको समेत परवाह थिएन। पहिलो पटक बोकेको डिजिटल क्यामेरा। म तोरिलाहुरेको लागि पत्रकारिता प्रदर्शन गर्न सबका सब साधन र वातावरण तयार थियो। साथमा रैथाने साथी।

उनको सानो झुपडी थियो, जसको अन्तवार्ता लिन हामी हिँडेका थियौँ।

बिस्मात! घर नजिक नपुग्दै त्यो गर्जेको आकाश माथ गर्नेगरी कोही चिच्याइरहेको थियो। ढोकामा पुग्यौँ। कठै! ती महिलाको सानो छोरा उनलाई अड्याउन बल गर्दै थियो। महिला अचेत भएर चिच्याइरहेकी थिइन्। उनले खाने गरेको एआरबी नामको औषधी सकिएको रहेछ। खानाको नाममा आडमा एक लोटा पानी थियो। मैले क्यामेरा र रेकर्डर निकालेर त्यो चिच्याहट खिच्न सकिनँ। हामी दुवै दौडेर बजार झर्‍यौँ।

किराना पसलसरी थिए एचआइभीका नाममा खुलेका संस्था। एउटामा पस्यौँ। भर्खरै देखेको त्यो दृश्य अनि यी रोगका फसल। आवेगमा करायौँ एनजिओका मान्छेहरुलाई। उनी कुन चाहिँ संस्थाको ‘केस’ हुन् हामीलाई थाहा भएन। जो भएपनि हामीसँगै जानै पर्छ भनेपछि हिँड्न तयार भए। स्वास्थ्यकर्मी खोज्यौँ, सलाइनसहित खानेकुरा लिएर गयौँ। उपचार सुरु भयो। सानो बालकको अनुहारबाट कहाली हराउँदै गयो। अझै पनि उनी चिच्याइरहेकी थिइन्। मेरो धर्म जाँदैन अब भन्ने लागेर आवाज रेकर्ड गरेँ। भिडियो पनि लिएँ।

यो एउटा घटना भयो। त्यही भ्रमणमा म उनै लोकसरीले फोनमा साथी मिलाइदिएको भरमा डोटी पुगेँ। मेरो छाउपडीको हुट्हुटी त बाँकी नै थियो। केस सहितको स्कुुप मार्नु थियो। डोटी पुगेपछि नयाँ साथीसित म काँडमान्डौ गाविस जान हिडेँ भोलिपल्टै। सदरमुकाममा गोष्ठी चल्दै थियो छाउपडीबारे। धेरै रुची थिएन कार्यक्रममा बस्न। सेमिनार देखेर अघाएर हिँडेको मान्छे म। चिया र समोसा दाबेपछि हिँड्यौं सरासर। मनहर्ने हरियाली, हँसिला गोठाला केटाकेटी बाटैभर। उनीहरु हाँस्दा पनि मलाई लाग्यो, यो विकटमा नि मान्छे हाँस्छन् र? मैले पत्रिकामा सुदूरपश्चिम हाँसेको देखेकै थिइनँ नि, आँशुको व्यापार चल्ने मेरो देशमा।

अविरल झरी, मानिस र चौपायाको ककटेल आचीको लेदोबाट तर्किँदै हिँड्न थालेपछि थाहा भयो गाँउ आयो। बास बस्ने घरमा एकछिन बिसाएपछि क्यामेरा भिरेर लाहुरे ताल देखाउन हिडेँ। बाटैमा छाउगोठ। क्या स्टोरी! छाउगोठको छेउमा बसेर अन्तवार्ता सुरु गरिहालेँ। भनेजस्ता एनेक्डोट नमिल्ने कुरै छैन। ‘तिमी डाक्टर हौ भने मेरो छाउ सुकाइदेऊ, साहै्र दुख भयो,’ छाउगोठमा बसेकी महिलाले भनिन्। यतिबेलासम्म गोठ वरिपरि राम्रै हुल जम्मा भएको थियो। केटाकेटी, तन्नेरी सबै। मेरो पत्रकारिताको जोश साम्य भयो। जम्मा भएको समूहसँग भनेँ, ‘बजारमा सेमिनार चल्दैछ, मैले रेकर्ड गरेर काठमाडौँमा लगेर बजाउँछु। के त्यसले यो गाँउको छाउपडी हट्छ?’ तन्नेरी केटाहरुले पनि मन दुखाए। हामी कैलेसम्म छाउपडिको नामले चिनिने? अब हामी पनि यो विरुद्ध लाग्छौँ। पहिलाभन्दा धेरै कम छ तर जो–जो अति रुढिवादी छन् उनीहरुसँग भिड्न गाह्रो छ। यो समस्या जहाँ छ, त्यहीँको मान्छे नभिडी हट्दैन भन्नेमा हामी रात पर्ने बेलासम्म मन्थन गर्‍यौँ। साथी लता जोशी सँगै थिइन्। ‘यता छाउगोठ भएर न बजारमा कार्यक्रम चल्छ। यो हटे कसरी चल्छ? त्यसैले जोड गरेर हटाउन उनीहरु पनि लाग्दैनन्,’ त्यसबेला दशमा पढ्ने किशोरले भने।

सुन्दर सुदूर पश्चिममा भइरहेका प्रयासभन्दा चर्काचर्का समस्या खिच्दै सामग्री थुपारेर म काठमाडौं आएँ। बैतडी जाँदा पनि मेरो ध्यान अरु केहीमा होइन देउकी प्रथामा नै थियो। अपहत्ते गरेर त्रिपुरासुन्दरी मन्दिर पुगेँ साथीभाइसँग। देउकी त छैनन्। मन्दिरमा ताला छ। काठमाडौँमा हल्ला मच्चाइरहेको देउकीवाला केस नभेटेर खिन्न परेँ। कत्रो ठूलो ‘प्रथा पत्रकारिता’ फुस्क्यो मेरो। अब अरु केही नयाँ सोच्न पर्‍यो। सकस! तुलनात्मक रुपमा त्यहाँको समाजलाई एउटा अन्तरालमा मैले नियालेकी थिइनँ। पहिलो पटक जे–जे देखे पनि महाभारत लाग्ने नै भयो। मैले बिर्सेँ काठमाडौँ सहरको कुमारी प्रथाको कुरा। सहरमा हुर्केको मैले हरेक वर्ष पञ्चमी पूजा नगर्दा दशकौँसम्म एक्लो वृहस्पति हुन परेको कुरा। त्यो बेला जो लड्यो उ एक्लो पर्‍यो। सहरका घरघरमा सुविधाजनक छाउपडीविरुद्ध एउटा पुस्ता त जेहाद छेड्दै थियो। खैर म पत्रकार, समस्या दुर्गमकै ठूलो देखेँ।

फर्केपछि रेडियोमा विस्तारै सामग्री प्रसारण गर्दै थिएँ। एचआइभीको केस भने समस्या सल्टाएर आएकोले प्रसारण गरिनँ। एकदिन मलाई धनगढीबाट फोन आयो। कुनै अमूक संस्थाको नाम लिँदै एक महिलाले भनिन्, ‘तपाईंले अछाममा गज्जबको केस फेला पार्नु भएको छ रे हाम्रो संस्थालाई प्रेजेन्टेसनको लागि दिनुस् न।’ अहिलेजस्तो टिमुर्केको बेहोरा थिएन मेरो, हस्हस् भनेँ, दिइनँ। तर मेरो मन त्यो फोनले हल्लायो।

नेपाल भनेको छाउपडीको देश होइन भनेर साउथ एसियन फेमिनिस्ट संजालमा हामी कराउँदा हैरान भएका थियौँ। यही कारण आफैँ हेर्न गएँ। भेटेँ पनि। तर के यही मात्र हो हाम्रो चिनारी? मेरो चित्त बुझेन। लामै समय बस्ने गरेर फेरि गएँ। त्यो बेला, नियालेका बझाङ, कालीकोट, बाजुराको समाजमा कति थियो छाउपडी, कति घट्यो कसरी घट्यो? यही तुलनात्मक कुरा गर्दै अन्तवार्ता गर्न थालेँ स्थानीय रेडियोका लागि। बाल क्लब, युवा क्लब, महिला क्लबले गरेका समाज सुधारक अभियान मन उज्यालो पार्नेगरी भेटिए। बाल विवाहको विरुद्धमा बालबालिका नै क्लब खोलेर भिडिरहेका भेटिए बाजुराको पान्डुसेनमा। उनीहरु छाउपडीविरुद्ध पनि लडेका थिए। बकाइदा अफिस राखेर हिमाल नामको भित्ते पत्रिका चलाएका थिए। काठमाडौँमा पत्रिका हेरेर पश्चिमी समाजबारे मनमा सजाएको आराध्य देवको मुरत अब बल्ल भत्किन थाल्यो मेरो।

जेन्डर स्टडिजमा पिएचडी गरेकी प्रोफेसर मिरा मिश्रले हालसालैको कुराकानीमा भन्नुभयो, ‘हाम्रा समाजका सबल पक्ष नदेखाउने गर्नाले विदेशीले नेपाल छाउपडीको देश भनेर चिन्न थाले। नेपालका केही जिल्लाका पनि केही गाउँमा बाँकी रहेका कुरीति नै हाम्रो समग्र चिनारी भइरहेछ। अन्तराष्ट्रिय सम्मेलनमा जाँदा नेपाली समाजको डिफेन्ड गर्दै थाक्छु म। समस्या सबै देशमा छन् तर हामीले खाली समस्या मात्र देखाउनाले हामी धेरै हेपिएका छौँ।’

मैले घुमेका दुर्गम जिल्लामा सयमा नब्बेभन्दा बढी एनजिओ लगभग समस्याका पसलनै थापेर बसेका छन्। ढुक्कै भन्दिछु। राम्रो काम गर्ने पक्कै छन्, थोरै छन्। पत्रकारहरु सदरमुकाम ढुुकेर बसिरहन्छन्। अनि कता पहिरोमा ढुंगाले किचेर मान्छे मर्‍यो उतै दौडिए, चामलका लाइन कुरेर बसे झगडा पर्‍यो भने समाचार बन्यो। छाउगोठमा केही अनिष्ट भयो, समाचार बन्यो। ती महिला र बालबालिकाले पसिना बगाएर गरेको मेहनत त राष्ट्रिय अखबारमा स्कुप बन्दैन। एंकर न्युज बन्दैनन्। किन गर्ने खोजीनीतिको दुःख।
कोही राष्ट्रिय पत्रकार काठमाडौँबाट क्यामेरा ढल्काएर जान्छ, उनलाई कहाँ लाने फिक्स्ड छ। कति स्थानीय पत्रकारलाई रिस पनि उठ्छ हाम्रो रोजीरोटी खोज्न आए भनेर।

पछिल्लो समय गएका जाजरकोट, रुकुम, डोल्पा र दार्चुलामा पनि दृश्यहरु बद्लिँदैछन्। निमिट्यान्न हुन नसक्नु, नबदलिनु वा पूरै समाजको अनुहार कालो हुनु होइन। साँच्चिकै बदलाव त्यही समाजको इमानदार मानिसहरुले नै ल्याएका छन्। छुवाछुतसँग लडेका छन्, रक्सीले मच्चाएको आतंकसँग भिडेका छन्। आफ्नै बलमा टुकुटुकु समाज चलाएर आशा निभ्न दिएका छ्रैनन्। ‘ओइ, खोइ यो समाज बद्लेको खोइ’ भन्दै स्टाटस लेखेका छैनन्। लागिपरेका छन् बदल्न। बरु हामी पत्रकारलाई पीर पर्छ केही सप्रियो भने। किनकी बनाउँदै गरेका मानिसहरु समाचारका पात्र होइनन् नि।

जाजरकोटको स्वाइन फ्लुको आतंकले काठमाडौँको सामाजिक संजालमा आँशु बगेकै बेला एकजना साथीसँग जाजरकोट जाने मौका मिल्यो। पुगेर एकछिनमा कालो चिया खाँदै गर्दा स्थानीय पत्रकार बन्धुले पीर पोखे, ‘यति दिन पहिलो पेजमा आइरहेको समाचार अब तेस्रोमा पुग्यो।’ हामीले भन्यौँ, समाचारसँगै समस्या तेस्रो भयो। खुसी हुने कुरा हो नि यो त। भोलिपल्ट संक्रमित गाविसका सचिव सदरमुकाममा भेटिए। उनले भिडियो अन्तवार्तामा जे भने, हात्ती ठानेको समस्या बिरालो लाग्यो।

यो कुरा मैले किन जोडेँ भने, छाउगोठमा मृत्यु भएकी अठार वर्षीया किशोरीको समाचारले आहत पारेको थियो। ट्वीटर चाहर्दै थिएँ, आफ्नो समाचार अन्तराष्ट्रिय पत्रिकामा आएकोमा एक किसिमको सन्तोष भएकोजस्तो पत्रकारहरुको ट्वीट। विरक्त लाग्यो। मलाई जवाफ लेख्न मन लागेको थियो, ‘छाउपडीविरुद्ध सामाजिक संजालमा क्रान्ति नछाँटम्। अन्तराष्ट्रिय सञ्चारमाध्यमलाई कुरा पनि नलगाम् साखुल्ले भएर। जहाँ छाउपडी छ, त्यहाँ काम गर्ने त्यहीँको समाज हो। स्थानीय रेडियो हो। छाउविरुद्ध लडिरहेका स्थानीयबासी, अबको स्थानीय सरकार, एफएम रेडियोहरु एक ठाँउमा उभिएर अभियान तेज गर्नु पर्‍यो। आफ्नो बलमा उपलब्धी हासिल गरेका सफलताका समाचार प्रकाशमा ल्याउनु पर्‍यो। यसले काम गरिरहेका मानिसको हौसला उँचो गर्छ। आफ्ना लागि स्कुप मारेर ठग एनजिओहरुलाई फाइदा त पुग्ला समाज बदलिँदैन। अनि समाज नबदलिएकोमा क्रान्तिकारी स्टाटस स्मार्ट फोनबाट हामी नै लेखिदिन्छौँ।

अलजजिरा र अरु विदेशी माध्यमलाई के खाँचो हाम्रो समाजको बल देखाउन। हामीलाई कसरी मिल्यो यत्रो अधिकार छाउविरुद्ध या अन्य कुरीति विरुद्धको लडाइँलाई जस नै नदिई अझै यस्तोउस्तो समाज भन्दै संसारमा ढोल पिट्न। समस्याबारे बोलौँ, लेखौँ, अभियान गरौँ, गर्नैपर्ने कुरा हो। कस्तो थियो, कस्तोे भइरहेछ, यति खोज्ने जाँगर नचलाइ केस मात्र पस्केर समाजमा गालीको मुस्लो छोड्न हामीले मिल्दैन। कहीँकतै नदेखिएर परिवर्तनका लागि लागिपरेका डिग्री नभिरेका मानिसहरुको नूर गिराउने अधिकार हामीलाई छैन। नेपाल भन्ने देशलाई छाउपडीका नामले चिनाउन बन्दै गरौँ। समस्याको हल स्थानीय स्तरमै निक्लनु पर्छ। कानुन लागु गराउन पनि स्थानीय समाज र सरकार बलियो हुनुपर्छ। नेपालको नाम बदनाम गराएर आफ्नो नाम चम्काएर समस्याको समाधान भेटिन्न।

प्रकाशित २७ असार २०७४, मंगलबार | 2017-07-11 15:43:41

प्रतिकृया दिनुहोस

Loading...
  • काजुओ इसिगुरो

    साथी इसिगुरोः अहंकारबिनाको कलाकार

    अहिले मैले उनको कृति सम्पादन गर्न छोडे पनि इस र म भेट गरिरहन्छौँ। सामान्यतयाः चिनियाँ खाना खाँदै। यो हाम्रो लामो सम्बन्धको परम्पराजस्तो बनिसकेको छ।...

  • आमा हुन साह्रै असजिलो..

    स्वयम्भूको खुड्किला चढेर माथि पुग्दा त्यहाँ एक बाँदरका आमा–छोरा कसैले फालेको गद्दाका टुक्राहरुमा आफ्नो भोकको उपचार खोजिरहेका थिए। बच्चा बेलाबेला...

  • डा. अरुणा उप्रोती

    स्वस्थ खाना, खुसी दशैं

    दशैंमा मानिसहरु घरमै बसेर धेरै परिकार बनाउने, खाने, आफन्तजन भेटने गर्छन्। जसले गर्दा दशैं–तिहार सकिने बित्तिकै अस्पतालमा बिरामीको चाप बढ्ने गर्छ।...

  • त्यस बखतको काठमाडौँ

    त्यतिखेर स्कुलको युनिफर्म थिएन। सुरुमा बन्दीपुरबाट आउँदा मैले कमिज र पाइजामा लगाएको थिएँ। काठमाडौँ आएपछि मात्रै पाइन्ट सिलाएर लगाइयो। सुतीको कमिज...

  • चीनमा जब भिक्षुहरू पनि ब्यापारतिर लागे

    सन् १९८९ मा शाओलिन भिक्षुहरूले मार्सल ग्रुप स्थापना गरेदेखि उनीहरू अनेकानेक देश र क्षेत्रतर्फ उडिरहेका देखिन्छन्। त्यो उडानको लक्ष्य हो, मार्सल...

  • उच्च टिमको ढोकामा गाउँले क्रिकेटर

    यसअघि पटक–पटक बन्द प्रशिक्षणमा परेपनि टिममा ब्याट्स म्यान धेरै हुँदा उनी सूचीमा अटाउन सकेका थिएनन्। घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका...

Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • सी जिनफिङ र शेरबहादुर देउवा

    सीलाई देउवाको सन्देशः चीनलाई अझै समृद्धिको उचाईमा पुर्‍याउनु

    प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महासचिव सी जिनफिङको नेतृत्वमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको नयाँ...

  • मोहनविक्रम पत्नी दुर्गा प्यूठानमा साझा वाम उम्मेदवार, राष्ट्रिय जनमोर्चा मिसियो गठबन्धनमा

    एमाले र माओवादी केन्द्र एक मात्र निर्वाचन क्षेत्र रहेको प्यूठान राष्ट्रिय जनमोर्चालाई छाड्न सहमत भएका छन्। यो सहमतिसँगै सोही जिल्लाबाट नेकपा (मसाल)...

  • चिनियाँ विद्यार्थीलाई सँस्कृत पढाउँदै काशीनाथ न्यौपाने

    चिनियाँ विश्वविद्यालयमा सँस्कृत पढाउँदै नेपाली गुरू

    पश्चिम चीनको कान्सु प्रान्तमा सँस्कृत भाषा पढाई सुरू भएको छ। कान्सु प्रान्तको सदरमुकाम लाञ्चौस्थित नर्थवेष्ट जातीय विश्वविद्यालयमा करीब २०० जना...

  • सी जिनपिङका सम्भावित उत्तराधिकारी हु चुनहुवा

    ‘हु चुनहुआ तोकिन सक्छन् सीको उत्तराधिकारी’

    यही महाधिवेसनमा सीले आफ्नो उत्तराधिकारी नतोक्न पनि सक्छन्। ५०–५० सम्भावना छ। मलाई लाग्छ, सीको उत्तराधिकारी हुने सबैभन्दा बढी सम्भावना भएका व्यक्ति...