एक कविको अर्को अध्याय अर्थात् उपमेयर

बेलबारीमा उपमेयर जितेपछि तारा भन्छिन्ः अब म जनसेवाको औपचारिक मोर्चामा प्रवेश गरेँ


तारा पराजुली
तारा पराजुली

नागरिकताको नाम– ढाकाकुमारी पराजुली। बोलीचालीको नाम– तारा पराजुली, वर्ष ३६। ढाकाकुमारी नाम कसरी रह्यो, त्यो पनि भनिहालौं। एकताका उनको परिवारमा चार पुस्तासम्म लगालग छोरा मात्रै जन्मिए, छोरी जन्मिएनन्। तर, चाहिएको थियो– छोरी। 

त्यसैक्रममा ताराको जन्म भयो। उनको आगमनसँगै सिंगो परिवारमा नयाँ खुसी छायो। तब हजुरआमाले ‘सबैलाई ढाक्ने गरी जन्मिएकी छोरी’ भन्दै उनको नामै ‘ढाका’ राखिदिइन्। पछि ‘कुमारी’ चाहिँ कसले थपिदियो, ढाकालाई पनि थाहा छैन। समयक्रमसँगै आज उनै ढाकाले आमा–बाबुको चाउरिँदो अनुहारलाई खुसीले छपक्कै ढाकिदिएकी छन्।

०३८ सालमा भोजपुरको साबिक ट्याम्केबाट सहरको सुख–सुविधासँग रम्न मोरङको डाँगीहाट आउँदा तारा (ढाका) सँग उति ठूला सपना थिएनन्, न थिए कुनै खास योजना। बसाइँ सराइसँगै उनी गाउँको अन्कन्टारबाट बाहिर निस्किइन्, सहरको क्याम्पसमा आएर उच्च शिक्षाका लागि भर्ना भइन्, सहरीया जीवनशैलीसँग उठबस गर्न थालिन्। यसले के सपना भन्ने?

तर, मोरङको डाँगीहाट आएसँगै तारा पराजुलीको जीवनमा नयाँ ‘टर्निङ प्वाइन्ट’चाहिँ अवश्यै आयो। डाँगीहाट कोसी राजमार्गसँगै जोडिएको भए पनि अस्तिसम्म गाउँ नै थियो। भलै, अहिले ‘मिनी सहर’का रूपमा विकास हुँदैछ। त्यही आधा सहर, आधा गाउँजस्तो लाग्ने डाँगीहाटमा घर/ठेगाना सारेर आएसँगै ताराको जीवनमा केही नयाँ पन्ना खुले, खुल्न थाले।

त्यो कसरी भने, यता आएपछि उनी पूर्वकै प्रतिष्ठित सुकुना क्याम्पसमा स्नातक तहमा पढ्न थालिन्, कविता लेख्न थालिन् र साहित्यिक गतिविधिमा सक्रिय हुन थालिन्। भोजपुर छँदै अखिलको प्रारम्भिक कमिटी हुँदै एमालेको झन्डामुनि उभिएकी तारा मोरङ आएपछि तत्कालै संगठित नभए पनि परोक्ष रूपमा एमालेका लागि राजनीति गर्न थालिन्, क्याम्पसबाट। पढाइकै क्रममा उनले आफ्नो दायरा बढाउँदै लगिन्।

कवि तारा पराजुली

कवि तारा पराजुली

समयक्रमसँगै उनले दशकको दौरानमा साबिक डाँगीहाट गाविसको वडा नम्बर ३ को सदस्य, युवा संघ नेपालको कोसी अञ्चल सदस्य, एमाले निकट जनसाहित्य मञ्च मोरङकी जिल्ला सचिवको नेतृत्व सम्हाल्दै उनी अनेमसंघ मोरङको सचिव र अध्यक्ष हुँदै १० वर्ष नेतृत्व सम्हालिन्। त्यसक्रममा उनले समाज पढिन्, महिलाको अवस्था बुझिन्, सामाजिक अन्तर्विरोध तथा अन्तर्वस्तु केलाइन्।

त्यसक्रममा ताराले गाउँघरमा नेतृत्वदायी महिलाको भूमिका निभाउन थालिन्। सामाजिक सक्रियता बढाउँदै लगिन्। त्योभन्दा ठूलो कुरा, उनले आफूलाई एक नेतृका रूपमा तयार पार्दै लगिन्। अझ भनौं, उनले नजानिँदो पाराले गाउँबाटै आफ्नो राजनीतिक पृष्ठभूमि तयार पार्दै गइन्। निजी स्कुलमा पढाउने जागिर र कविताकर्म त छँदै थियो।

अन्ततः भोजपुरको एउटा ग्रामीण स्कुलबाट उचालेको पाइलाले आज उनै ढाकाकुमारी पराजुलीलाई मोरङको एउटा प्रमुख सहर बेलबारीको उपमेयरको कुर्सीमा ल्याएर उभ्याइदिएको छ। यो सफलताको अघिल्लितर उनले पार गरी आएका थुप्रै उकाली–ओराली छन्।

‘यो त मेरो संघर्ष र मेहनतको फल हो,’ उपमेयरमा निर्वाचित भएपछि उनी भन्छिन्, ‘अब त म झन् ठोस जिम्मेवारीसामु छु, सार्वजनिक दायित्व ममाथि छ। यो मेरा लागि अवसर र र चुनौती दुवै हो।’

उनले अगाडि थपिन्, ‘म समाजमा महिलालाई ठाउँ छैन भन्नेहरूका लागि म जवाफ बन्न चाहन्छु।’

साबिकको बेलबारी र डाँगीहाट गाविस मिलेर बेलबारी नगरपालिका भएसँगै बेलबारी अहिले मोरङका प्रमुख सहरहरूमध्येको यौटा प्रमुख सहर बनेको छ। उक्त नगरमा (नेकपा) एमालेले मेयर र उपमेयर दुवै पदमा बाजी मार्दा ताराको विधिवत् रूपमै नयाँ राजनीतिक उडान सुरू भएको छ। अब उनको यो उडान कहाँसम्म पुग्छ, उनैलाई थाहा होला।

कवि तारा पराजुली

कवि तारा पराजुली

चुनावका लागि मनोनयन दर्ता गराउने अघिल्लो दिनसम्म पनि ताराले उपमेयरको टिकट पाउने–नपाउनेमा अन्योल नै थियो। तर, पार्टीभित्र गुट–उपगुट मिलाएर उम्मेदवारी दिनुपर्ने बाध्यताबीच अन्ततः एमालेले ढाकालाई उपमेयरका रूपमा अघि सार्ने निर्णय लियो, त्यो पनि अन्तिम घडीमा आएर।

त्यसो त ताराको उम्मेदवारी अपेक्षित नै थियो। स्थानीयस्तरमा उनको बराबरी गर्ने वा भनौं चुनाव नजिते पनि प्रतिस्पर्धी मत ल्याउने अरू महिला भएनन्। तब पढेलेखेकी, देशमा युवा कवयित्रीका रूपमा चिनिएकी, जनसम्पर्क राम्रो भएकी तथा सामाजिक छविसमेत राम्रो भएका आधारमा एमालेले उनलाई पत्यायो। र, नगरको उपमेयरको जिम्मा लगायो। तब उनी केही थान नारा बोकेर मैदानमा उत्रिन्। र, माइती गाउँबाटै चुनाव जितिन्।

‘मेरो अनुभव, नेतृत्व क्षमता र योग्यताका आधारमा पार्टीले मलाई टिकट दिएको हो,’ ताराको प्रष्टोक्ति छ, ‘मैले टिकटका लागि कहीं कतै पनि लविङ गरिनँ। र, म त्यसो गरेर टिकट पाउने पक्षमा थिइनँ पनि।’

जे होस्, ताराले जसरी टिकट पाए पनि पार्टीलाई उनले निराश पारिनन्। उच्च चर्चामा रहेको मोरङमा मतपरिणामको मध्यतिरको रूझानबीच धर्मराउँदै गरेको एमालेलाई बेलबारीबाट ताराको टिमले टेको हाल्यो। र, एमालेको जितको खातामा थप्यो– बेलबारी नगरपालिका। भलै, मोरङमा एमालेको समग्र नतिजा भने निराशाजनक रह्यो।

३६ वर्षीया ताराले ढिला गरी घरजम बसालिन्, गत वर्ष असोजमा। पाँचथरका प्रेम सापकोटासँग मागी बिहे गरेकी उनी अहिले माइतीघरमै (साबिकको डाँगी हाट, हालको बेलबारी नगर) छिन्। अमेरिकाको ग्रीन कार्ड होल्डर उनका श्रीमान् अहिले अमेरिकातिरै छन्।

तारा आफू आज यो ठाउँसम्म आइपुग्नुको श्रेय एकमुष्ठ रूपमा आमाबुबा तथा घरतर्फका अभिभावलाई दिन्छिन्। संयोग पनि कस्तो भइदियो भने, परिवार तथा बिहे गरेर गएको घरसमेत एमाले पृष्ठभूमिकै। ससुरा त गाउँका नेता नै। तब तारालाई राजनीतिक रूपमा उत्रिन कुनै बाधा झेल्नु परेन। वा भनौं, राजनीति गर्न परिवारसँग विद्रोह गर्नुपरेन।

‘बुबाआमा, मेरा श्रीमान् तथा सासू–ससुराले तिमी सक्षम छौं, अघि बढ नभनेको भए आज यो सफलता मसँग हुनेथिएन,’ उनी भन्छिन्, ‘मेरो यो सफलतामा मेरो संघर्षको जति मूल्य छ, परिवारको सपर्मण र हौसला पनि उत्तिकै छ।’

गाउँघरमा एक जुझारू युवा नेतृ तथा सामाजिक अभियन्ताको समेत पहिचान बनाएकी ताराको मुख्य पेशा भनेको शिक्षण हो। अन्य स्थानीयसँगको संयुक्त साझेदारीमा दशकअघि स्थापना गरेको ज्ञानोदय बोर्डिङ स्कुलले चार ब्याचका एसएलसी विद्यार्थी निकालिसकेको छ। उनी उक्त स्कुलको लगानीकर्ता र शिक्षक पनि हुन्।

कवि तथा बेलबारी नगरपालिकाकी उपमेयर तारा पराजुली

कवि तथा बेलबारी नगरपालिकाकी उपमेयर तारा पराजुली

हिजोअस्तिसम्म कविता लेखेर, कविता सुनाएर राजनीतिक विकृतिविरूद्ध व्यंग्य कस्ने तारा अहिले आफू स्वयं त्यही बाटोमा छन्। उनी यतिबेला नगर हाँक्ने जिम्मेवारीसामु छिन्। ‘म हिजो कविता लेखेर समाज रूपान्तरण गर्ने वा भनौं जागरण पैदा गर्ने भूमिकामा थिएँ,’ उनी योजना सुनाउँछिन्, ‘अब जनताको सेवा र विकासको मोर्चामा औपचारिक रूपमा प्रवेश गरेकी छु। र, यो मेरा लागि एउटा नयाँ अध्याय पनि हो।’

अब अलिकति ताराको कविता र सिर्जनाको पनि कुरा गरिहालौं। उनी कविकै रूपमा दरिएको भोजपुरबाट मोरङ आइकनै हो। दशक लामो कविता यात्रामा उनले यौटी वजनदार कवयित्रीको पहिचान बनाएकी छन्। आधा दर्जनजति पुरस्कार पनि खाएकी छन् (स्कुल/कलेजतिर पाएका पुरस्कारको संख्या यहाँ जोडिएको छैन)। भलै, पुरस्कार पाउनु र नपाउनु कुनै कविको मानक हुने हैन।

केही थान बालकथाका पुस्तकसमेत प्रकाशन गरिसकेकी ताराका आधा दर्जनजति गीत/गजल पनि रेकर्ड भएका छन्। उनको छिट्टै नै पहिलो कविताकृति आउँदैछ।

प्रकाशित २४ असार २०७४, शनिबार | 2017-07-08 11:54:30

प्रतिकृया दिनुहोस

  • मनिता प्रधान श्रेष्ठ

    मनिता, एसियाली जुडोकी नेपाली च्याम्पियन

    एसियाली जुडो जित्ने राष्ट्रिय खेलाडी हुनुअघिको उनको पृष्ठकथामा पनि पारिजात जोडिन आइपुग्छिन्। मूलथलो पाँचथर भएकी मनिता बन्दी सहायता नियोग (पाम)मा...

  • डा. कमला सांकृत्यायनको बधुशिक्षा–विश्लेषण

    बधूशिक्षा कविको एउटा आकस्मिक रचना हो। यस रचनालाई तयार पार्ने प्रेरणा कवि भानुभक्तले मित्र तारापतिका घरमा आधा रातमा चलेको सासु बुहारीको कलहबाट पाए।...

  • बाजुरका बालकहरुसँग कुराकानी गर्दै लेखिका

    नेपाललाई छाउपडीले चिनाउन बन्द गरौं

    समस्याको हल स्थानीय स्तरमै निक्लनु पर्छ। कानुन लागु गराउन पनि स्थानीय समाज र सरकार बलियो हुनुपर्छ। नेपालको नाम बदनाम गराएर आफ्नो नाम चम्काएर...

  • तारा पराजुली

    एक कविको अर्को अध्याय अर्थात् उपमेयर

    गाउँघरमा एक जुझारू युवा नेतृ तथा सामाजिक अभियन्ताको समेत पहिचान बनाएकी ताराको मुख्य पेशा भनेको शिक्षण हो। अन्य स्थानीयसँगको संयुक्त साझेदारीमा...

  • युग पाठक

    युग पाठकको बहुचर्चित पाठक–पत्र

    पूँजीपतिहरूको पोल्टोमा ठूला संचारमाध्यामहरू हुन्छन्। प्रेस स्वतन्त्रताको कुरो त नारा मात्रै हो, व्यवहारमा पूँजीपतिहरूको इन्ट्रेस्टमा संचारसंस्थाहरू...

  • डेभिएन्टआर्ट

    बेचैन बोधनाथ

    बोधनाथले प्रजातन्त्र र मानवअधिकारको रक्षा गर्ने नाममा लगेको रकमको दुरूपयोग गरेकोबारे सोमले विस्तारमा सुनाए। दस बाह्र दिन परिवारलाई भारत वा अन्यत्रै...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • फेरि वार्ता होला बाबुराम र उपेन्द्रबीच?

    नयाँ शक्तिले वार्ताका क्रममा राष्ट्रिय अध्यक्ष र संगठनात्मक अध्यक्षको प्रस्ताव पनि अघि सारेको छ। नयाँ शक्तिले राष्ट्रिय अध्यक्ष डा. बाबुराम भट्टराई...

  • गोरखाका जनप्रतिनिधि र कार्यालय प्रमुखबीच जुहारी

    जिल्ला समन्वय समिति गोरखाको सभाहलमा सोमबार दिउँसो विषयगत कार्यालयका प्रमुख एवं प्रतिनिधि र एघार वटा स्थानीय तहका प्रमुख, उपप्रमुखबीच विकास, निर्माण...

  • तस्वीरमा एसियाली युवा तथा जुनियर भारोत्तोलन च्याम्पियनसिप

    राजधानीमा आइतबारदेखि एसियाली युवा तथा जुनियर भारोत्तोलन च्याम्पियनसिप सुरु भएको छ। लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रमा...

  • मलेसियालार्इ नेपालले ५ विकेटले हरायो, सन्दिपले लिए ७ विकेट

    आइसीसी यू–१९ विश्वकप छनोटमा नेपालले खेलेका पाँच खेलमध्ये चारमा विजयी हात पारेको छ। चौथो खेलमा जित निकाल्ने क्रममा सोमबारको खेलमा नेपालले मलेसियालाई...