युग पाठकको बहुचर्चित पाठक–पत्र

एक दशक पुरानो माइलस्टोन–लेटरमा युगले लेखेका थिएः हामी पाठकहरू पनि अब ध्रुवीकृत छौँ



युग पाठक
युग पाठक

मकवानपुर बहुमुखी क्याम्पसमा प्राध्यापन गर्ने दीपककुमार पाठक सार्वजनिक वृत्तमा युग पाठक नामबाट स्थापित हुने पहिलो र महत्वपूर्ण घुम्ती बनेको थियो, २०६५ साल जेठमा ‘कान्तिपुर’ दैनिकमा प्रकाशित पाठक–पत्र। त्यो पत्र सामान्य दुई–तीन सय शब्द लामो प्रतिक्रिया थिएन, न कुनै समाचार वा लेखमाथिको टिप्पणी मात्रै थियो। त्यो नेपाली राजनीति र मिडियाबीचको सम्बन्धमाथि प्रश्न उठाएर लेखिएको सैद्धान्तिक अडान थियो।

‘कान्तिपुर’मा उक्त पत्र छापिएपछि युग पाठकको परिचय, भूमिका र सक्रियताको आयतन बढ्यो। उनी राजनीतिक टिप्पणीहरुमार्फत् साप्ताहिक र पाक्षिक रुपमा पत्रपत्रिकामा छाइरहे। त्यसको झण्डै दुई वर्षपछि उनको पहिलो उपन्यास ‘उर्गेनको घोडा’ प्रकाशित भयो र पाठकहरुको उल्लेख्य प्रशंसा पायो। नौ वर्षपछि पाठकको नेपाली समाज र इतिहासलाई मुख्य विषय बनाएर लेखिएको निबन्ध–कृति ‘माङ्गेनाः नेपाल–मन्थन’ शनिबार सार्वजनिक भएको छ।

यसै सन्दर्भमा पाठकको एक दशक पुरानो ‘माइलस्टोन–लेटर’ यहाँ पुनःप्रकाशित गरिएको छः


सम्पादक ज्यू,
मलाई थाहा छ, तपाईंले यो पत्र छाप्नु हुनेछैन, तैपनि सत्यको प्रक्षेपणका लागि छापिने वा अरू लोभ मात्र मापदण्ड हुनसक्दैन भन्ने मेरो दृढ विश्वास छ। सत्य तितेपाती झैं तितो हुन्छ। मान्छेभित्रको अहंले सहजै सत्यलाई आफ्नो वैयक्तिक र विचारधारात्मक चेतको दायराभन्दा बाहिर गएर स्वीकार गर्न मान्दैन। कार्ल माक्र्सको शब्दमा सायद वर्गीय चेतना भनेको पनि यही हो। सत्य सापेक्ष हुन्छ र समयको गतिले सत्यको परिभाषालाई बदल्ने गर्छ। सत्य कुनै अमूर्त चेतना होइन यो मूर्त, समयसापेक्ष र वर्गसापेक्ष सहज चेतना हो। त्यसैले सत्यलाई सबैले चिन्नैपर्छ भन्ने छैन। यो छोटो पत्रमा तपाईंले नदेख्नुभएको र देख्न नचाहेको सत्यलाई प्रस्तुत गरिनेछ।

०४६ सालको परिवर्तनपछि जनपक्षीय मिसन पत्रकारितालाई जारी राखिनुपर्छ भन्ने एकथरीको धारणा थियो। अर्कोथरी प्रजातन्त्र आइसकेको ढिपी कस्दै व्यवसायिक पत्रकारिताको वकालत गरिरहेका थिए। रंगीविरंगी सरकारहरू बने र ढले। राजनीतिक खेल समाजको आमूल परिवर्तनबाट कटेर सिंहदरबारमा केन्द्रित भयो। सरकार ढाल्ने र बनाउने चक्करमा राजनीतिक संस्कार त ... जस्तो भयो नै, अर्थतन्त्र पनि निजीकरण र उदारीकरणको अन्धनक्कलले ध्वस्त पार्‍यो। सामाजिक, सांस्कृतिक र राजनीतिक परिवर्तन ठप्प भयो र सामाजिक अन्तरविरोध तीव्र हुँदै गयो। यसबीचमा व्यवसायिक पत्रकारिताको उद्घोषका साथ कान्तिपुर दैनिक उदायो। कान्तिपुर दैनिकले प्राविधिक र व्यवसायिक हिसाबले उल्लेख्य प्रगति यसकारण गर्‍यो कि देशमा स्थायी प्रकृतिको दैनिक पत्रिकाको अभावै थियो। गोरखापत्र सँधैजसो सरकार बदलिनासाथ रंगरूप बदल्ने हुनाले तटस्थ प्रकारको संचार माध्यमले जनस्तरमा स्थापित हुनु स्वाभाविक थियो। त्यसैले कान्तिपुर जीवनशैलीकै रूपमा विकास भयो।

तर केही समययता कान्तिपुर माओवादी पार्टी विरोधी पत्रिकाको रूपमा आम जनताको बीचमा स्थापित हुँदैगएको छ। मिसन पत्रकारिता चल्दैन भन्ने आधारमा व्यवासायिक पत्रकारिता गर्दै हुर्किएको कान्तिपुर अकस्मात् माओवादी विरोधी मिसनमा कसरी कम्मर कसेर लाग्न पुग्यो? पक्कै यसका पछाडि कारणहरू छन्। कारणहरू जे भएपनि आम जनताका बीचमा माओवादी विरोधी छवि बनाउँदा कान्तिपुरलाई फाइदै फाइदा होला? फाइदा नाफाको विषयमा कान्तिपुरले हिसाब गर्ला (ठूला व्यापारीहरूको संस्था भएकोले हिसाब गर्ने काइदा उनीहरूलाई थाहा छ), तर हामी पाठक, शुभचिन्तकहरूलाई अनौठो विरक्ति पैदा भएको छ।

कान्तिपुर माओवादी विरोधीले खोजी खोजी पढ्नु स्वभाविक भयो। विभिन्न पार्टीको एकतर्फी वकालत गर्ने पत्रिकाहरूका पनि निश्चित पाठक अवश्य छन्। यसको पाठक मञ्चमा माओवादी विरोधीहरूले माओवादी विरूद्ध विषवमन् गर्नु पनि स्वभाविक भयो। तर एउटा ठूलो पंक्ति जो कान्तिपुरबाट तटस्थ सूचना सम्प्रेषणको अपेक्षा गर्दछन्, उनीहरू निराश भएका छन्। भनिन्छ, कुरो र कूलो जता लग्यो त्यतै जान्छ। काँढाले घोचेको कुरो बढाउँदै लग्यो भने ठूलै किला गाडिएको र त्यसबाट क्यान्सर हुनसक्ने निश्कर्षसम्म पुग्न सक्छ। त्यसमाथि कुनै कुरोलाई मिसनकै रूपमा बढाइचढाइ गर्न खोजियो भने स्यालको सिङ पनि भेट्टाउन सकिन्छ। माओवादीका विषयमा अतिरञ्जनायुक्त कुरो चलाउने विषय नौलो होइन। जनयुद्धको उद्घोष गरेदेखि यता माओवादीलाई गिज्याउने, लाञ्छित गर्ने, अनेक तर्क झिकेर ब्राण्डनेमहरू भिराउने लगायतका काम प्रेसबाट वा कसैको कुरो प्रेसले नै छापेर गरिएका छन्। तर ति सबैको बीचबाट माओवादी शान्तिपूर्ण राजनीतिमार्फत जनयुद्धका राजनीतिक उपलब्धीहरूलाई संस्थागत गर्न संविधानसभासम्म आयो र जनताबाट विश्वास पनि आर्जन गर्‍यो।

माओवादीका दर्जनौं कार्यकर्ता शान्तिप्रकृया शुरू भएयता मारिएका छन्। जघन्य हत्याकाण्डहरू घटाउँदै माओवादीलाई पुनः हिंसात्मक युद्धतिर फर्काउने दुश्प्रयासहरू पनि भएका छन्। यी सबै परिस्थितिहरूमा संयम अपनाउने माओवादीलाई एकाध अभिव्यक्ति वा एकाध दुर्घटनाका आधारमा पुरै निषेध गर्ने काम एकथरी पार्टी, संस्थाहरू र राजसंस्थासँग गोप्य नाभी जोडिएकाहरूको योजनाबद्ध काम हुनेगर्छ। भन्न जे भनिए पनि गणतन्त्रको लडाइँमा माओवादी एकातिर र राजासहित बाँकी अर्कोतिर भएर लडाईं लडिएको इतिहास हामीसँग छ। के अझै त्यही लडाईंको निरन्तरता त बाँकी छैन? भन्ने प्रश्न अझै बाँकी छ। त्यसैले कान्तिपुरले शुरू गरेको माओवादी विरोधी अभियानले कान्तिपुरलाई तटस्थ होइन दिनानुदिन एकपक्षतिर ढल्काउँदै लगेको छ। देश संघीय लोकतान्त्रिक गणतन्त्र भइसकेको छ तर गणतन्त्र कार्यान्वयनका व्यहारिक पक्षहरू अझै बाँकी छन्। राजसंस्थाको अस्तित्व अब बन्ने संविधानमा हुनेछैन, तर राजतन्त्रका अनेकौं रूपरंगहरू अझै बाँकी रहनेछन्। र स्पष्ट के देखिएको छ भने अझै माओवादीले गणतन्त्रको सुस्पष्ट नेतृत्व गर्नेछ। यसर्थ ८५ प्रतिशत जनताको शासन स्थापित गर्ने की १५ प्रतिशत एलिटको भन्ने प्रश्नमाथि निर्णय हुन सायद अझै कति चुनाव पर्खनुपर्ने हुनसक्छ। तर यतिबेला सामान्य जनता र कान्तिपुरका पाठकहरूको बीचमा ध्रुवीकरण भइरहेको सत्य हो। एकथरीले स्वाद मानेर माओवादीलाई अधिनायकवादी, हिंसाप्रेमी, मूर्ख, घमण्डी इत्यादी भनेर कान्तिपुरले ठीक गर्‍यो भनिरहेका छन् र अर्कोथरी माओवादी विरोधी पत्रिका रहेछ भनेर नाक खुम्च्याइरहेछन्।

‘क्यान सबाल्टर्न स्पिक’ भन्ने लेखमा गायत्री स्पिभाक नामकी लेखिकाले लेखेकी थिइन्, सबाल्टर्न अर्थात तल्लो वर्गका मानिसहरू बोल्न सक्दैनन्, त्यसैले उनीहरूका लागि गैर सबाल्टर्नले बोलिदिनुपर्छ। तल्लो वर्गका मानिसहरूको आवाज बुलन्द गर्न इतिहासले एउटा सशक्त आन्दोलनको अपेक्षा गरेको थियो र त्यसको जगबाट माओवादी जनयुद्ध उठ्यो। आज संघीय लोकतन्त्रका जति पनि एजेण्डा सतहमा स्थापित भएका छन् ती सबै माओवादी जनयुद्धको रक्तरंजीत पृष्ठभूमिबाट आएका हुन्। जातीय, क्षेत्रीय, मधेशी लगायतका वर्गको जागरण माओवादी जनयुद्धकै परिणतिहरू थिए भन्नेमा राष्ट्रिय अन्तराष्ट्रिय विश्लेषकहरू स्वीकार गरिरहेका छन्। के यी सबै कारणले तपाईं र तपाईंको कान्तिपुर समूह माओवादीलाई अधिनायकवादी भनिरहनुभएको छ? तपाईं सम्मिलित उद्योगकै एक बौद्धिक मित्र अमित ढकालको गत सोमबारको लेखमा हिंसा र अधिनायकवादको विरोधका नाउँमा माओवादी र त्यही पार्टी संलग्न रहेको आन्दोलनलाई सराप्ने काम गरिएको छ। माओवादी आन्दोलनको एउटा कालखण्डमा प्रयोग भएको हिंसाको निरपेक्ष विरोधी कान्तिपुर रहेछ भने त्यही जगमा स्थापित भएको राजनैतिक एजेण्डाको पनि ऊ स्वतः विरोधी हो।

बन्दुक विरूद्ध कलमले लडेको जिकिर गर्दै अमितजीले देखेको लेख्न नछाड्ने धारणा लेख्नुभएछ। आखिर लेख्नु भनेको के हो र? कसै न कसैको बन्दुक लेख्नुको पछाडि पनि हुन्छ। ती मानिसले मात्र कलमको बलमा बन्दुकको विरूद्ध लडेको अहं राख्न सक्छन् जसले इतिहासको नयाँ क्षितिज खोल्ने भूमिका खेल्दछन्। लेख्न त राजाका भाइभारदारहरूले पनि लेखेकै छन्। लेखेर मर्नेहरू तानाशाहहरूको भाट भएर पनि मरेका छन्। हिटलरका लागि मर्नेहरू पनि थिए, ज्ञानेन्द्र शाहका लागि मर्नेहरू पनि थिए। इतिहासको अत्याधिक पेचिलो संक्रमणको बेला के लेख्ने र केलाई प्रोपोगाण्डा बनाउने भन्ने विषय सोचनिय हुन्छ। तर कान्तिपुरले माओवादी विरोधी मिसनलाई जुन उचाइमा पुर्‍याउँछ, त्यसले उसको पाठकवर्गलाई निरन्तर ध्रुवीकृत गरिरहन्छ। त्यसपछि प्रश्न बाँकी रहन्छ, कान्तिपुरले ठीक लेख्यो भन्नेहरूको भूमिका इतिहासलाई सकारात्मक निष्कर्षतिर पुर्‍याउनतिर हुन्छ कि नकारात्मक गर्ततिर धकेल्न? यही प्रश्नको उत्तरमा कान्तिपुरको भविश्य निर्भर हुनेछ।

सम्पादक ज्यू, यति पढिसकेपछि तपाईंले यो लेखकलाई माओवादी भन्ठान्नुभो होला। स्वाभाविक छ, ज्ञानेन्द्र शाहको तानाशाहीमा होस् वा अहिले लोकतन्त्रको पाठ पढाउने कथित् संसदवादी दलहरूको संकटकालमा होस्, सत्य कुरा बोल्नेलाई माओवादी भनिन्थ्यो। किन त्यसो हुन्थ्यो त? किनभने इतिहासले अघि बढ्ने माग गर्छ र जसले इतिहास अघि बढाउने हिम्मत देखाउन सक्छ त्यसैले तत्कालिन सामान्य मनोविज्ञान (general psychology) को पनि नेतृत्व गर्छ। माओवादीलाई जनताले भोट दिएको ऊ सुध्रियोस् वा लडाइँ रोकियोस् भन्ने भाते तर्कका आधारमा होइन, उसले मात्र इतिहासलाई तानाशाहहरूको चंगुलबाट मुक्त गर्न सक्छ र नयाँ भविष्यको खाका कोर्न सक्छ भनेर हो। तपाईंको पत्रिका पढ्दा लाग्छ, जनता सब मूर्ख रहेछन्। यसको विपरित जनता सचेत भएका छन् र आफ्नो अधिकार र सुनौलो भविश्य निर्माणको अभियानमा लाग्न तत्पर भएका छन्।

गिरिजा कोइराला तपाईंको आदर्श हुनसक्छन्। तर एउटा लेख छापेबापत गिरिजा कोइरालाले तपाईंकै पत्रिकाका पूर्व सम्पादक युवराज घिमिरेलाई जेल हालेको इतिहासले बिर्सेको छैन। संविधानसभाको बैठक बस्नुअगावै माओवादी नेतृत्वमा सर्वदलीय सरकार पुरानै सहमतीय संस्कारअनुसार बनाउन सहयोग गर्नुको साटो गिरिजा कोइरालाले सत्ता नछोड्ने हठ देखाएर कुन लोकतन्त्रको संवरण गरेका हुन् तपाईं बुझाउन सक्नुहुन्छ? काठमाण्डुको वातानुकुलित कक्षभित्रबाट देखिने एकाध अर्धसत्य तथ्य र तपाईंहरूको व्यक्तिगत अहंले सारा जनताको मनोविज्ञानमाथि आघात गरिरहेको सत्य तपाईंले देख्नुभएको छ? आखिर तपाईंहरू माओवादी विरोधी मात्र होइन नयाँ इतिहासको गति विरोधी पनि देखिन थाल्नुभएको हेक्का छ तपाईंहरूलाई?

तपाईंकै पब्लिकेसनमा काम गर्ने मजदुरहरूले यथोचित ज्याला पनि पाएका छैनन्। उनीहरूले ज्यालाको अर्थात् प्रकारान्तरले पेटको लडाईं लड्दा तपाईंको प्रेस स्वतन्त्रता हनन् हुन्छ। तपाईंकै पब्लिकेसनमा दुई वर्ग छन्ः एउटा मालिक र अर्को कामदार। धेरै तलब लिने तपाईंजस्ता मानिसहरू मालिकको पक्षमा हुनुहुन्छ, त्यसैले मजदुरले ज्याला चाहियो भन्दा तपाईंको प्रेस स्वतन्त्रताको हनन् हुन्छ।

तपाईंको आरोप छ प्रचण्डले कान्तिपुरलाई धम्की दिए। प्रचण्डले खुल्लमखुल्ला भनेका छन् कान्तिपुरले माओवादीको खेदो खनेको ठीक भएन। आम पाठकको मनोविज्ञानले पनि त्यही भनिरहेको छ। हिंसात्मक विद्रोहको जगबाट शान्तिपूर्ण विद्रोहको नेतृत्व गर्न सहर आएको माओवादीलाई हिंसातिरै फर्काउन कोशिस गर्नेहरूको भीडमा कान्तिपुर पनि किन सामेल छ? चुनावमा माओवादी जीतपछि काँग्रेसले वाइसिएल विघटनको माग राख्ने र कान्तिपुरले कथित् वाईसिएल ज्यादतीका अर्धसत्य र कैयन् असत्य कहानी छाप्ने मुहुर्त कसरी एकैसाथ पर्न गयो? चितवनको दुईवटा कथित् वाईसिएल ज्यादतीको घटना हामीले पनि स्थलगत अध्ययन गरेका थियौं। माडीका घाइते शिक्षक अस्पतालको बेडबाट आफूलाई वाइसिएलले कुटेको अन्तर्वार्ता दिने, उता विद्यालयमा विद्यार्थी बीचको झगडामा हुन गएको दुर्घटनालाई कान्तिपुरले इस्यु बनाएकोमा विद्यालयकै भविष्यको चिन्ता गर्ने हेडमास्टर र स्कूल परिवारको बीचमा कहाँ मेल छ? एकजना स्वास्थ्यकर्मीले वाईसिएलले कुटेर खुट्टा भाँचिदिएको अभिनय गर्दै प्लास्टर गर्ने र पछि मानव अधिकारवादीहरूले शंका लागेर प्लास्टर काटेर एक्सरे गर्दा खुट्टा सकुशल भेटिने, अनि उता कान्तिपुरले वाइसिएल ज्यादती भनेर त्यस्तै घटनालाई छापिरहने।

रामहरि श्रेष्ठको हत्याकै कुरा लिऊँ। माओवादीले नै सर्वप्रथम घटना सार्वजनिक गर्दै जीवितलाई प्रहरीमा बुझायो। हत्याको नैतिक जिम्मेवारी लिन माओवादीले कन्जुस्याइँ गरेको थिएन तर लासमाथि राजनीति गर्नेहरूले घटनालाई सडकमा ल्याइपु¥याए। रामहरीको हत्या प्रकरण सबै कोणबाट अपराधी घटना हो तर के कुनै कार्यकर्ताले गरेको अपराधलाई लिएर माओवादी सिंगै सति जाने? इतिहासलाई यहाँसम्म ल्याइपुर्‍याउन जुन पार्टीले रगतको मूल्य चुकायो, उसका सारा मूल्य मान्यताहरूलाई रामहरीसँगै समाप्त पारिदिने? के त्यसो गर्दा यो देशको भलो होला? कान्तिपुरले बुझेको सत्य हामीलाई थाहा छैन, तर हामीले बुझेको सत्य के हो भने घटना यो भन्दा पनि जघन्य भएका छन्, गौर हत्याकाण्डमा प्रहरी र सेनाले समेत हत्याराहरूको साथ दिएको बताइएको थियो तर त्यसलाई कान्तिपुरले कहिल्यै महत्व दिएन। सारा संकटकालभरि कलमले बन्दुकको विरूद्ध लड्ने उद्घोष गर्नेहरूले सेनाद्वारा प्रायोजित समाचार नै धेरै छापेका थिए। राजदरबार हत्याकाण्डताका कान्तिपुरले दीपेन्द्र नै हत्यारा हुन् भन्ने राज्यप्रचारित सामाग्रीलाई नै महत्व दिएको थियो।

माओवादीलाई रोक्न जति पनि हतकण्डाहरू अपनाइएको छ, ती गिरिजा कोइरालाको सफा नियतबाट आएका छैनन् र त्यसमा काँग्रेस एक्लो मात्र सम्मिलित छैन। यसमा माओवादीभित्रका केही मानिसले गरेका एकाध अपराध जिम्मेवार छैनन्, बरू इतिहासलाई उल्टो दिशातिर लैजान चाहनेहरूको योजनाबद्ध मुभ छ। इतिहासको गतिलाई रोक्नकै लागि कहिले प्रेस स्वतन्त्रताको खोक्रो नारा अलापिएको छ, त कहिले अधिनायकवादको कागजी हौवा। यसमा कान्तिपुर पनि सम्मिलित हुनु हामी आम पाठकका लागि निराशाको कुरो भएको छ।

मलाई लाग्छ, कान्तिपुरले मेरो कुरो सुन्दैन। सुन्नुपर्छ भन्ने पनि छैन। पूँजीपतिहरूको पोल्टोमा ठूला संचारमाध्यामहरू हुन्छन्। प्रेस स्वतन्त्रताको कुरो त नारा मात्रै हो, व्यवहारमा पूँजीपतिहरूको इन्ट्रेस्टमा संचारसंस्थाहरू चल्छन्। त्यसैले तल्लो तहको जनताको सत्य प्राथमिकतामा पर्दैनन्। त्यसैले हामी सामान्य पाठकहरूलाई लाग्दैछ, कान्तिपुर सिधा राजनीति गर्ने हैसियतका साथ उपस्थित भइसकेको रहेछ। यसले निश्चित वर्गको सिधा पक्षपोषण गरिरहेको स्पष्ट हुन थालेको छ। हामी पाठकहरू ध्रुवीकृत भइरहेका छौं, तपाईंलाई जानकारी नभए यही पत्रमार्फत जानकारी होस्। तपाईंहरूलाई साधुवाद!

युग पाठक, हेटौंडा
(दीपक कुमार पाठक, प्राध्यापकः मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडा, फोन ९७४५०००३९९)

प्रकाशित १९ असार २०७४, सोमबार | 2017-07-03 10:35:01
author photo

युग पाठक को 'उर्गेनको घोडा' उपन्यास र 'माङ्गेनाः नेपाल मन्थन' गैरआख्यान पुस्तक प्रकाशित छन्

@YugPathak ‏


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

रोचक

NepalKhabar Tweets

विशेष

  • बेइजिङमा खुल्यो नेपाली भाषा विशेषज्ञ समिति

    चीनको संस्कृति मन्त्रालयको वैदेशिक संस्कृति सम्पर्क व्यूरो तथा बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयको संयुक्त प्रयासमा सोमबार नेपाली भाषा...

  • बाबुराम भट्टराईका मामा चन्द्रप्रसाद न्यौपाने

    बाबुरामका मामा भन्छन्ः भाञ्जाको जीत हर्ष न बिस्मात!

    ‘हिजो म नराम्ररी झुक्किएछु। प्रकाश (कांग्रेसबाट गोरखा २ (ख) प्रदेशमा विजयी) ले बुवा हिँड्न सक्नुहुन्न गाडीमा चढ्नुस् भन्नुभयो, म चढेँ। कुनबेला...

  • जीतपछि प्रचण्ड हर्षित, परिवार भावुक (तस्वीर)

    जन्मदिनको अघिल्लो दिन चितवन–३ मा विजयी भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकै हर्षित देखिएका छन्। तर, उनका परिवारका सदस्यहरु...

  • यू-१६ नेपाली टोली

    नारायण जोशीको उत्कृष्ट बलिङमा नेपालको सहज जित

    एसीसी यू–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गतको सोमबार भएको पहिलो खेलमा नेपालले आयोजक थाइल्याण्डलाई १३३ रनले पराजित गरेको छ।