ब्लग

कोलाहल सहरको घण्टाघर


काठमाडौं घण्टाघर
काठमाडौं घण्टाघर
अल मक्तोम फाउन्डेसन

शान्ति भनेको शिव आराधना हो कि नयाँ पप गीतको झङ्कार? सुव्यवस्था भनेको घण्टाघरको घण्टी हो कि त्यसलाई निल्ने कोलाहल?

यो निर्जन टापु होइन, सहर हो। त्यसैले वरिपरि मान्छे छन्। छन् दुःखहरू। त्यसो त खुशीका क्षणहरू पनि नभएका होइनन्। हरेक दुःखका सीमा होलान्। तर, सुखका सीमितताबारे मान्छे बढता जानकार छन्। विश्वासका झीना त्यान्द्राहरू छन्। ती कहिले च्वाट्ट चुँडिन्छन्। चुँडिएका त्यान्द्रा हावामा कति दिनसम्म त्यसै तैरिइरहन्छन्। त्यस्ता अधुरा त्यान्द्रा कुनै बेला नयाँ सम्बन्धमा पुगेर जोडिन्छन् पनि। अविश्वासको धारमा परेर जुनसुकै बेला ती फेरि चुँडिन सक्छन्। पूरै रोडम्याप पहिल्यै कोरेर कुनै सम्बन्ध बनेको हुँदैन। जिन्दगीको गुगल म्याप बनाउने कोशिसमा ज्योतिषिकोमा धाउनेहरु आँफैमाथि विश्वास नभएका दुःखीहरू हुन्। सहरमा यस्ता दुखीयाहरूको कमी छैन। 

सहरमा घण्टाघर छ। घण्टाघरले आफ्नो घण्टे घडी बजाइरहेकै होला। कोलाहल बढेपछि सहरमा त्यसको आवाज कतै नपुगी नै बिलाउन थालेको छ। एकथरि मानिस घण्टी सुन्ने अभिलाषा बोकेरै बसेका छन्। तर, न उनीहरू कोलाहल घटाउने साहस गर्छन्, न घण्टाघरको भोल्युम बढाउने चेष्टा नै। घण्टीको आवाज नसुनिएकामा तीनले गरेको बिलौनाले सहरमा थप कोलाहल बढेको भने पत्तो पाउँदैनन्। अस्ति भर्खरकै घटना त हो, कसैले चाहेर पनि नजिकै रहेको नारायणहिटिमा फेरिन लागेको समयको पूर्व सूचना घण्टाघरले पुर्‍याउन सकेन। आजकल त्रिचन्द्र कलेजको आँगनमा छरिने घण्टीको आवाज ‘डिस्टोर्टेड’ छ भन्छन् बुझक्कड तन्नेरीहरू। घण्टाघर नजिकैको पुस्तक पसलमा भेटिएका एक युवाकवि भन्दै थिए, ‘मध्यरातको नीरवतामा पनि घण्टाघर सुनिँदैन आजकल।’

कसैले घण्टाघरमा नयाँ अलार्म घण्टी सेट गरेको छ कि छैन? त्यस्तो आशामा कोही बसिरहेको भए उसलाई लागेको हुनुपर्छ एक दिन त्यो घण्टी सबै कोलाहलहरू चिरेर बज्नेछ। सहरमा हल्ला छ, कुनै नुतन पार्टीको पर्खाइमा बसेका व्याकुल आत्माहरू त्यस्तो मध्यरात कुरिरहेछन् जसले जन्माओस् कुनै खास सिद्धान्त वा दर्शनको छिटा नपरेको जादुई छडी र मिलाइदेओस यो मुलुकको शक्ति सन्तुलन। उनीहरूलाई लाग्छ त्यस रात घण्टाघर बेस्सरी बज्नेछ। पर्खाइको व्यग्रताले व्याकुल बनेकाहरू आजकल दुःखी छन्।

सहरमा कुल देवताहरू छन्। तर, कन्क्रिटहरू ठडिएपछि कैयन् कुलका देवताहरू किनारा लाग्दै गएका छन्। मोडल फेरेर आधुनिक मोटर चढिरहेका एकथरी कुलका मानिसहरूले कुल देवता भने बिर्सन सकेका छैनन्। उनीहरूलाई चिल्ला सडक मात्र मन पर्छ तर कुल देवताका खातिर कहिलेकाहीँ गल्ली छिचोल्नु पर्यो वा हिलाम्य कान्ला टेक्नु पर्यो भने पनि केही मिनेटलाई तयार हुन्छन्। सुकिला चर्म जोगाउने भरमग्दुर प्रयास गर्दै देवता खुशी पार्ने यत्नमा लिन हुन्छन उनीहरू। उनीहरूलाई हिंसा मन पर्दैन तर देवताका खातिर एकदुई निख्खुर कालो बोका काट्नु हिंसा होइन भन्ने शास्त्रीय गुह्य बुझेका छन्। पहिले पहिले दुई एक फायरिङ पनि गर्थे। तर, आजकल फायरिङ राज्यको जिम्मामा छ। राज्य उनीहरूभन्दा टाढा नभएकाले कुल देवताको पूजा गर्दा बन्दुकको धेरै नियास्रो लाग्दैन उनीहरूलाई। फेरि बन्दुकको हिंसाभन्दा समाजको संरचनागत हिंसाको दबाबमा थिचिएका मानिसहरूको कोकोहोलो चर्को हुने पनि उनीहरूलाई थाहा छ। त्यस्ता मान्छेले आफ्नो आवाज सुनाउन बन्दुक खोसेर लगेपछि उनीहरूले शान्तिपूर्ण रूपमा कुलको पूजा गर्न थालेको केही वर्ष भयो।

घण्टाघरको आवाज सुन्ने व्यग्रता र कुल देवता पूज्ने हतारोबीच जीवनको क्षणभङ्गुरता बिर्सेको एक पात्रसँग म कहिलेकाहीँ सङ्गत गर्छु। उसको कथा आँफैमा धेरै रोचक होइन तर सहरका कुलीन दुखीयाहरूको पंक्तिमा ऊ पनि छ। केही गिनेचुनेका कुलीनका बाँसुरी सधैँ फुकिरहन्छ अखबार। त्यसैले कहिलेकाहीँ उसका कथा नभन्नु उसमाथी अन्याय हुनेछ।

नयाँ मोटर किनेको पहिलो दिन मोटरको म्युजिक प्लेयरमा शिव अराधना बजाउँदै मेरो पात्र आफ्ना देवता खोज्न निष्किन्छ। तर, साइज बढेर आएको नयाँ मोटरले कुल देवताको बाटो पहिल्याउन सक्दैन। नो पार्किंगको साईन बोर्ड मुन्तिर मोटर पार्क गरेर देवता खोज्न गल्ली चाहार्नु पर्छ। धेरै साँघुरा गल्लीहरू पार गरेपछि केही ओसिला चेपहरू आउँछन्। एउटा चेपमा मरेको बिरालो, रित्तिएको टुबोर्ग बियरको बोतल, फुटेको कण्डम, र अरू यस्तै यथानाम रद्दीहरू छन्। खोस्रेर हेरे त्यहाँ कतिका सपनाको शिशु लासहरू पनि भेटिन्थे होलान्। अर्को कुनामा अभिरका मसिना छिटा निधारमा बोकेर बसेको छ कुल देवता। मोटर धनी आफुले बोकेर ल्याएको धुप नैवेद्य देवताका अघिल्तिर राखिदिन्छ। अछेताले कुल देवताको निधार पुछिदिन्छ। उसलाई छुवाएर एक धर्सो अभिर कुदाउँदै मोटरतर्फ लैजान्छ र स्टेरिंग, ब्रेक, गीयर, र टायरमा एक एक कण भए पनि दलिदिन्छ। यसबेला घरबाट निस्कँदा बजाएको भजन सकिएर नयाँ पप गीत बज्न थालेको हुन्छ उसको मोटरमाः

धुजा धुजा मन टाल्ने जब कोशिस हुन्छ
आँफैलाई सम्झाउँछु, सबै ठीकै हुन्छ
जब मनमा भर्खर नयाँ चोट लाग्छ
आँफैलाई सम्झाउँछु, सबै ठीकै हुन्छ।

गीत सुनेर त्यसको मर्म बुझ्ने धैर्यता नदेखाउँदै देवता पूज्न फेरि फर्किन्छ मोटरधनी, उही ओसिलो चेपमा। बाँकी रहेको कर्म सकेर ऊ मोटरमा फर्किँदा अघिको भन्दा किञ्चित उज्याले हुन्छ उसको अनुहार।

ऊ मोटरमा फर्किँदा पनि बजिरहेको हुन्छः सबै ठीकै हुन्छ। केलाई ठीक भन्ने? त्यो थाहा पाउन सायद कुल देवताको विजोग बुझ्नु पर्छ। देवताको अघिल्तिर थुप्रेको फोहोर उधिनेर हेर्ने साहस देखाउनु पर्छ। देवतामाथी दया गर्न सहरका मान्छेको संस्कारले दिँदैन। देवतामा त विश्वास गर्ने हो, उसमाथी शंका एवम् दया गर्ने मानिस अधर्मी हुन्छ। आफैले थुपारेको फोहोर उधिन्ने धर्मपालक सुकिलाहरूको काम होइन। दुर्गन्धबाट जोगिन सुगन्धित मास्क इम्पोर्ट गरिदिन्छ भन्ने आशामा नै भर्खरै बनेको सरकारलाई ऊ जस्ता मोटरधनीले समर्थन गरेका थिए। तर, त्यस्तो ईम्पोर्टेड मास्क अहिले सम्म दरबारमार्गमा उत्रेको छैन। अर्को चुनावमा भोट हाले आफूले त्यस्तो मास्क जोहो गरिदिने केही युवा नेताको आश्वासनमा विश्वास गर्दै मोटर धनी बजिरहेको त्यो गीत बन्द गर्छ। उसले हठात् बन्द गर्नु अघि त्यो गीतले भन्दै थियोः

जोड्ने कोशिसमै बिलाउँछु कि म
दुःख दुःखमै हराउँछु कि म
निको नहुँदै बल्झेला कि चोट
समयलाई पर्खिँदा पर्खिँदै।

सबै ठीकै छ कि छैन, त्यो थाहा पाउन घण्टाघरको घण्टी नसुनिनुका कारण पत्ता लगाउनु पर्छ। घण्टीको आवाज मलिनो बनाउने कोलाहलले के भनिरहेछ, त्यो बुझ्नु पर्छ। तर, बुझ्नलाई धेरै समय बाँकी छैन। मेरो पात्र मोटरधनी समयको लेखाजोखा गर्नुपर्यो भने आफ्नो मोटरको साइज वा कुल देवताको अक्षेता, दुईमध्ये एक हेर्छ। घण्टाघरलाई सुन्ने असफल प्रयास त उसको दैनिकी नै हो। ऊजस्ताको दुःख यहाँ आएर बाक्लिन्छ, यी कुनै पनि कर्मले समयको रफ्तारलाई बताउन सक्दैनन्।
समयको उपयुक्त अन्दाज नभएकोले हुन सक्छ मेरो पात्र आफ्नै कतिपय हर्कत बुझ्दैन। जस्तो उसको मोटरमा शिव अाराधनालगत्तै त्यो नयाँ पपगीत किन बज्यो जसको भावार्थ बुझ्न ऊ असमर्थ छ? भन्छ, यी दुई गीतको सम्बन्ध खुट्याउने गरि उसले कुनै शास्त्र पढेको छैन।

मोटरमा अब अर्को गीत कुन बजाउने भन्ने निधो गरी नसक्दै ऊ घरको अग्लो गेट अगाडि आइपुगेको छ। गेटमा टाँसिएको ‘कुकुरदेखि सावधान’ लेखेको स्टिकरले उसलाई आफ्नो बुढो कुकुरको याद दिलाउँछ। उसको कुकुर अहिले डेथबेडमा छ। मरिहाल्यो भने कहाँ फाल्ने भन्ने टेन्सनले उसलाई पिरोलिरहेको छ। कुल देवताका अघिल्तिर फालिएको त्यो मरेको बिरालो सम्झनुको यहाँ गतिलो तुक हुन्छ। कुकुर मरेपछि कुल देवताको दर्शन गर्न ऊ फेरि एक पटक त्यहाँ पुग्नेछ। एक क्षण त उसलाई खुशी लाग्छ त्यसैले गुनगुनाउँछ, ‘सबै ठीकै हुन्छ।’ तर, त्यसो गर्दा कुल देवता रिसाउने पो हुन् कि? लगत्तै अर्को क्षण मोटरधनी दुःखी हुन्छ।

यथास्थितिवाद सहरिया दुःखीहरूको दर्शन हो। तर, जब यथास्थितिमा चुनौती खडा हुन्छन्, ती अस्थिर बन्न पुग्छन्। एक क्षण ती क्रान्तिकारी बन्छन्, अर्को क्षण प्रतिगामी। क्षणवाद त्यो अस्थिरताको अभिव्यक्ति बन्छ। सहरमा कुनै नयाँ पार्टीको आह्वान हुने त्यो मध्यरातको पर्खाइमा बसेका व्याकुलहरू हुन् वा कुल देवताको खोजीमा निष्केको मेरो मोटरधनी पात्र, तीनको एक क्षणको खुशी अर्को क्षणको दुःखमा परिणत हुन्छ। एक क्षणको हार लगत्तै अर्को क्षण जीतको उन्मादमा फेरिन्छ। छिनछिनमा बदलिइरहन्छन तिनका प्राथमिकताहरू। क्रान्तिको आह्वान आज तिनको प्राथमिकतामा पर्छ, लगत्तै भोलि क्रान्तिको विसर्जन एकमात्र लक्ष्य निर्धारण हुन्छ। ठीक त्यसरी नै जसरि विना कुनै तुक पहिले शीव अराधनाको भजन बज्छ र अर्को क्षण बज्छ बजारमा आएको नयाँ पप गीत। नयाँ मोटरको आवश्यकता खट्केकै बेला कुल देवताको उत्खनन् गर्ने आकांक्षा बढे जस्तै। यसलाई फ्युजन भनेर बुझाउन कोशिस गरे पनि भो वा वर्णशंकर भने पनि भो। शब्दाडम्बरको सुविधा पर्याप्त छ। कुनै गुलिया शब्दका गुब्बार मलाई जरूरी छैन। कसैलाई टर्रो लाग्छ भन्दैमा कुरा चपाउनु पर्ने आवश्यकता छैन। त्यसैले कथित फ्युजन मेरा लागि क्षणवादी विचलन हो। मेरो तर्कमा चित्त नबुझ्नेलाई फरक मत लेख्ने अधिकार लोकतन्त्रले दिएको छ।

लेख्ने सवालमा पनि क्षणवादी बढ्तै आकांक्षी रहने गरेका छन्। उनीहरू चाहान्छन्, अखबारमा बोलबाला उनीहरूकै बढी होस। सबैको प्यारो हुने पपुलिष्ट तौरतरिका जानेका छन् तिनले। पपुलिज्म आँफैमा कति सही वा गलत, त्यसको प्राज्ञिक अन्वेषण हुँदै गर्ला। यिनले अख्तियार गरेको पपुलिज्म हानिकारक छ भन्न आइतबार पर्खनु पर्दैन। कारण, लेखेरै लेखन कर्मको तेजोबध गर्नुमा उनीहरूको जोड छ। न स्पष्ट दृष्टिकोण, न सबल वैचारिक धरातल। दाहिने ढल्कुवाको मन राख्नु छ, देब्रे पट्टिकालाई पनि धेरै कुँड्याउनु छैन। मध्यपन्थको भ्रम बाँड्नु छ, अलि अलि क्रान्तिको रातो पोत्नु पनि छ। पहेँलो र निलो रंग पोत्दा, कहिले अलिकति पहेँलो बढी हुने, कहिले निलोको मात्रा बढ्ता हुने। व्यालेन्स नमिलेको लेख छापिएको दिन एकथरिको खप्की खानुपर्ने। अर्कोथरीले पनि पर्याप्त खुशी व्यक्त नगरिदिने। जटिल मनोदशा लिएर अर्को हप्तालाई ट्याक्क सबैतिरका मतो मिलाएर एक निबन्ध लेख्न बस्नुपर्ने तीनको दुखीया नियति ! त्यसका लागि चाहिने बहुअर्थी शब्दहरू जस्तो विकास, शान्ति, समुन्नति, सुव्यवस्था, लोकतन्त्र आदी इत्यादि जसको स्टक सकिँदै गएको छ।

विकास भनेको कुल देवताको मूर्ति हो कि फोहोरको थुप्रो वा नयाँ मोटर? शान्ति भनेको शिव अराधना हो कि नयाँ पप गीतको झङ्कार? सुव्यवस्था भनेको घण्टाघरको घण्टी हो कि त्यसलाई निल्ने कोलाहल? घरमा छोरीले कुनै दिन यस्ता प्रश्न सोधिन भने के गर्ने? मेरो मोटरधनी पात्रको काईदा गजबको छ। प्रश्नलाई बेवास्ता गर्ने र भन्ने, ‘नानी कि तिमीले मिहिनेत गरेर बीएस्एसी नर्सिंग पढ्नु पर्छ कि चार्टर्ड एकाउन्टको बाटो समाउनु पर्छ, कहाँ यस्तो आर्ट्स पढ्नेले जस्तो बकबास गरेकी?’

वेस्टर्न लिबरल भ्यालुज बुझेका ठिमाहा क्षण्वादीलाई नेपाली समाजको विशिष्टतालाई आफ्नो लेखनमा लोकेट गरिराख्नु पर्ने झन्झट जरूरी हुँदैन। त्यसो त केही जड मार्क्सवादीलाई पनि टन्टो उठाउनु पर्दैन। तर, पश्चिमा उदारवादी दर्शनले यस्ता सजिला शब्दावलीको डिक्सनरी तयार पारिदिएको छ, जसबाट दक्षिणपन्थीदेखि उग्र वामपन्थीसम्मले शब्द सापटी लिन सक्छन्। त्यहाँ कुल देवता पनि अँटाउछ र अँटाउछ उसैका अघिल्तिर लडिरहेको रित्तो बियरको बोतल। अनि फोहोरको डँगुरमा कतै किचिएको शिशु सपनाहरूका लास? के ती पनि अटाउँछन्? ती नअटाएको सुइँको पाएको दिन नै क्षणवादीलाई घरमा छोरीले त्यस्तो अप्ठ्यारो प्रश्न सोधेकी हुन्। बाबुको लेखमा ती लासहरूको चित्र नभएकैले थोरै असन्तुष्टिसहित घरमा छोरीले त्यस्ता अप्ठ्यारा प्रश्नहरू गर्न थाल्छन्। घरभित्रै जब विद्रोहको स्वर हलुका गुन्जिन थाल्छ, तब न हो बाबुले बजारको सहारा लिने। बजारमा छोरीका विद्रोही प्रश्नहरू असान्दर्भिक तुल्याउने शिक्षाका पसलहरू पर्याप्त खुलेका छन्। शिप किन्न पाइने महँगा पसलहरूमा किनबेचको सामान्य समिकरण बाहेक सबै प्रश्नहरूलाई फोहोरका डँगुरमा मिल्काइन्छ।

तर, बाबुहरूले थाहा नपाउँदै छोरीहरू घण्टाघरको घण्टी सुन्ने यत्नलाई फजुल देख्न थालिसकेका छन्। कुल देवताको बिजोग हुनुको रहस्य पहिल्याउन पनि उनीहरू तम्सँदैछन्। खोइ कताबाट सिकेर हो आजकल क्षणवादी बाबुलाई छोरीहरू आफ्नो ‘एजेन्सी’बारे गफ दिने भइसकेका छन्। मेरो पात्र मोटरवालाका अनुसार घरमा विस्तारै योगमायादेखि बेल हुक्ससम्म धाउन थालिसकेका छन्। एन्टोनीयो नेग्रीदेखि एडवार्ड अब्बेसम्म पनि उनीहरूका बुकसेल्फमा आइपुगेका छन्। एक दिन बिहान छोरीको कोठामा अचानक पसेको उसले भित्तामा अचम्मको कोटेसन टाँसिएको देखेछ। ‘डेमोक्रेसी– रूल बाई पीपल? साउन्ड्स लाइक अ फाइन थिङ। वी सुड ट्राई इट सम्टाइम्स इन अमेरिका।’ –एड्वार्ड अब्बे। एक्कासी विस्मयको अँध्यारो उसको मुखमण्डल भरि पोतिन्छ। सो कोटेसनको भावार्थ हुन्छः ‘जनताले शासन गर्ने व्यवस्थालाई लोकतन्त्र भनिन्छ? सुन्दा रमाइलो लाग्यो। यहाँ अमेरिकामा पनि त्यस्तो अभ्यास गरिहेर्नु पर्ला हामीले।’ यति देखेपछि उसले छोरीलाई सोधेछ, ‘तिमीलाई सञ्चै छ?’ छोरीले भनिछन्, ‘सञ्चो नभएको त डेमोक्रेसीलाई हो, बाबा।’ अब बिसन्चो हुने पालो उसको।

कुलका देवता राम्ररी खुशी नभएर हो कि आँफैले धेरै पुल्पुल्याएर हो उसले थाहा पाएको छैन, छोरी आजकल मुखमुखै लाग्न थालेकी छ। एक्कासि समाजशास्त्र पढ्ने निधो गरेर पहिलेको कोर्स छोडेपछि उसले छोरी अर्कै भएकोमा देवतासँग चिन्ता व्यक्त गरेको थियो। सुभानी शिल स्वभावका लागि आफन्त र छरछिमेकमा नाम कमाएकी छोरीमाथी गहिरो विश्वास थियो उसको। विश्वासको जग डगमगाउन थालेपछि नै हो ऊ कुल देवताकहाँ पुगेको। छोरीलाई पढाउने सवालमा उसले कुनै कन्जुस्याईँ गरेन। तिनलाई चाहिएका सबै वस्तु र सुविधा जुटाउन उसलाई गाह्रो थिएन। त्यसमा पछि हट्ने कुरै भएन। तर, विषय रोज्ने सवालमा उसलाई छोरीले झुक्याईदिइ। विवाह गर्ने बेला के गर्ली? हतासिएर ऊ कुल देवता पूज्न जानु परेको कारण यो पनि हो। भित्रभित्रै छोरीलाई पढाएकोमा पछुतो मान्न लागेको छ ऊ। भारतको चन्दीगढमा उहिल्यै एमबीए पढ्दा उसले आधुनिक बाबु बन्छु भनि साँचेको सपना गलत पो थियो कि? त्यसबेला उसका साथीहरूले अम्बेडकरका कथा सुनाएर उसलाई आधुनिक बन्न सघाएका थिए। अहिले पनि ऊ उत्तरआधुनिक बनिसकेको दाबी गर्ने गर्छ कहिलेकाहिँ। तर, ऊ यस क्षण जात र धर्मको अर्थ बुझ्दैछ। उसका पूर्वआधुनिक बाले घोकाएका मनुस्मृतिको श्लोक सम्झिन खोज्दैछ। अर्को पटक कुल देवताको विधिपूर्वक पूजा गर्ने अठोटमा पुगेर उसले आफुलाई सम्हालेको छ अहिले।

काठमाडौं घण्टाघर

काठमाडौं घण्टाघर

केही वर्ष अघिको कुरा हो। एक साँझ ऊ एउटा रूफटप रेष्टुरेन्टमा मसँग गफिन आइपुग्छ। लेखक पनि भएकाले उसलाई मसँग गफ गर्न मजा लाग्छ। मेरा बाभन्दा धेरै कान्छो होइन यो मान्छे। तर, जब म उसका अघिल्तिर पर्छु, उसको लवाइ देखेर आफ्नो उमेर ह्वात्तै बढेको महसुस हुन्छ। जसै कुराकानी हुन थाल्छ, एक्कासी तमासको बुढो मानिसजस्तो लाग्छ ऊ मलाई। धेरै जसो त म चुपै रहन्छु। ऊसँग वहस गर्ने उति ठाउँ हुँदैन। उसका फुटकर मान्यताहरू बदलिइरहन्छन्। तर, उसका केही स्थायी मान्यताहरू छन् जहाँबाट ऊ कतै हल्लिन मान्दैन। कुनै तर्क नछिर्ने गैँडाको छालाले पोको पारेर राखेका त्यस्ता मान्यता यथास्थितिवादका द्योतक हुन्। आजको साँझ ऊसलाई सन्काउने मुडमा छु म।

म सोध्छुः ‘दाइ, त्यो घण्टाघरको घण्टी तिम्रो घरमा सुनिन छोडेकोमा किन यति साह्रो रिसिइन्छौ?’

अनुहारमा रिसका रेसा उमार्दै ऊ भन्छः ‘त्यो मेरो लागि देवताको बोली जस्तो थियो। साला यो सहरमा मान्छे बढी भएर केही सुन्न दिँदैन। यति हल्ला गर्छ, कति बज्यो भनेर आफ्नै नाडीको घडी हेर्नुपर्छ जसको मलाई विश्वासै लाग्दैन।’

म फिस्स हाँस्छु र फेरि सोध्छु, ‘किन यति विघ्न मानिस आएर तिम्रो सहरलाई यस्तो बर्बाद बनाएको होला, दाइ?’

ऊ अझ कड्किन्छ, ‘आउन त मेरो बाऊ पनि बाहिरबाट आएको हो भाइ। तर, अहिले त हामीजस्तो मान्छे आउनै छोडेको छ। हामी त यो घण्टीको आवाजलाई देवताको बोली मान्ने मान्छेहरू हौँ।’

उसका कुरामा चाख बढ्दै जान्छ, ‘अहिले आएको मान्छे कस्ता खाले छन्? किन नमानेका होलान् तिनले त्यो घण्टाघरको घण्टीलाई देवताको बोली जस्तो?’

निधारमा टिलपिलाएका पसिनाका दाना रूमालले पुछ्दै ऊ भन्छ, ‘ए भाइ कस्तो नबुझेको? साला, अहिले आएको मान्छेले को स्वदेशी चिनेन, को विदेशी चिनेन। कुन भाषा हाम्रो, कुन अर्काको त्यो पनि चिनेन। हाम्रो भेषभुषा चिनेन। हाम्रो देवता चिनेन। यी सब परचक्री हुन् भाइ। अलिअलि गर्दै टुक्र्याउँदै विदेशीलाई बेच्न खोज्दैछन् सब। यो तिनीहरूकै हल्ला हो भाइ। यिनीहरूले सब बिटुल्याए।’

उसको ब्लड प्रेसर धेरै बढ्दा समस्या होला भनेर एकछिन सजग हुन्छु। टेबलमा राखेका गाँजरका टुक्रा चबाउन थाल्छु। उसको रित्तो ग्लासमा एउटा लार्ज पेग थप्न लगाउँछु। केही फुटकर कुराहरू गर्छु। ऊ एकोहोरिएको छ। केही छिन पछि म फेरि उसलाई जीस्क्याउने मुडमा पुग्छु।

अन्तिम अस्त्र प्रहार गर्ने सुरमा म बोल्छु, ‘दाई तिम्री छोरीलाई पनि यिनीहरूले नै बिगारेको हो?’

अब उसको रिसको सीमा रहेन, हातमा बोकेको काँचको गीलास भुईँमा फाल्यो र लगभग कराएको आवाजमा बोल्यो, ‘भाइ, तिमीले के भन्न खोज्दैछौ, मलाई थाहा छ। म पनि उहिल्यै एमबीए गरेको मान्छे हो। आइ एम अ गड् ड्याम सक्सेसफुल अन्टरप्रेनर एण्ड आई अन्डर्स्ट्यान्ड पोलिटिक्स। मेरो छोरीको कुरा किन गर्छौ? यहाँ अब सबका छोराछोरी बिग्रिन्छन्। यो देश बर्बाद हुन्छ।’ यति भनेर ऊ फटाफट तल ओर्लीन्छ।

त्यसबेला मुलुकमा संविधानसभाको चुनाव सम्पन्न भैसकेको थियो। पहिलो संविधान सभा वैठक बस्दै गर्दा मुलुकभरि अनेक रँग रूपका मानिसहरू जागेर यो मुलुक हाम्रो पनि हो भन्ने दावी गर्दै थिए। लोकतन्त्र कसैको खोपीको देवता होइन भनेर कोही चुनौतीको भाषा बोल्दै थिए। कोही आफ्नो अग्राधिकार खोज्दै थिए। कोही आत्मनिर्णय भन्दै थिए। यहाँ चल्ने खाइस्योस् र गरिस्योस् भन्दा फरक भाषा बोल्ने, फरक कपडा लगाउने मानिसहरू ह्वारह्वार्ती सहर पस्दै थिए। सहर पहिल्यै हल्लाग्रस्त थियो। यो राजनीतिक परिवर्तनपछि कोलाहल थपिएको मात्र हो। घण्टाघरको घण्टी पहिले पनि त्यति सुनिन्थेन, अहिले आएर विलुप्त जस्तै भएको छ। कुल देवताहरू पहिलेदेखि नै ओझेल पर्न थालेका थिए। तर, अझै पछि पर्लान् भनेर तिनको खोजी तीव्र भएको हो।

कालान्तरमा संविधानसभा भंग भयो। अर्को संविधानसभाको गठनका लागि दोश्रो पटक चुनाव भयो। सहरमा कोलाहल कम भएको छैन। कुल देवताहरू धकेलिने क्रम पनि रोकिएको छैन। यसैबीच मेरो मोटरवाला पात्रकी छोरी नारीवादीहरूको एउटा नयाँ समूहमा आबद्ध भएकी छ। ऊ आजकल मूलघरबाट छुटिएर बस्न थालेकी छ। बाबुछोरीको सम्बन्ध पहिले जस्तो न्यानो हुने कुरै भएन। बाबु चाहिँले अहिले फेरि नयाँ मोडलको मोटर किनेको छ। ऊ कुनै नयाँ पार्टीको आह्वान हुने दिनको व्यग्र पर्खाइमा घण्टाघर र कुल देवताका बीच त्यही मोटरमा कुदिबस्छ। दुःखी छ बिचरा!

(पूर्वप्रकाशित यो निबन्ध परिमार्जनसहित पुनःप्रस्तुत गरिएको हो)

प्रकाशित ३१ जेठ २०७४, बुधबार | 2017-06-14 11:50:50
author photo

उज्ज्वल प्रसाई लेखक, पत्रकार तथा अनुवादक हुन्

@UPrasai


प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • रेडियो सञ्चालनमा सेनाको के स्वार्थ?

    सीमा सुरक्षा, व्यवस्थाको सुरक्षा वा देशकै सुरक्षा गर्ने महत्वपूर्ण र बहुआयामिक दायित्व पुरा गर्नुपर्ने सुरक्षा अङ्गले सूचना प्रवाह गर्ने कुरा...

  • पक्राउ परेका निर्दोष नेपालीलाई भारतमा मिल्ला न्याय?

    तर झिनो आशा के छ भने, आफ्ना कारणले छोरालाई जुन अन्याय भइरहेको छ, त्यसको सुनुवाइ प्रक्रिया सुरु भएको छ।

  • बाढीले भारत पुर्‍याएको गैँडा नेपाल फर्काइयो

    'बाढीले निकुञ्जबाट बगाएको उक्त गैँडालाई नेपाल–भारत सीमाभन्दा ४२ किलोमिटर दक्षिणमा पर्ने भारतको बगाहा भन्ने स्थानमा फेला पारिएको भारतीय पक्षको...

  • मंसिर ४ र २१ मा एकै पटक प्रदेश र केन्द्रको चुनाव

    शीर्ष नेताहरु र आयोगको पदाधिकारीहरुबीच मंसिर ४ गते हिमाली र पहाडी क्षेत्रका ३१ जिल्ला तथा २१ गते बाँकी जिल्लामा चुनाव गर्ने सहमति भएको बालुवाटार...