'अचेल सिनेमाको पोस्ट प्रोडक्सन एजेन्टका हातमा छ'

प्रदीपकुमार उपाध्याय
प्रदीपकुमार उपाध्याय
लामो समयसम्म नेपाली सिनेमा क्षेत्रका धेरै काम गर्न भारत धाउनु पर्ने कुरा कसैबाट लुकेको छैन। सुरुमा राजा महेन्द्रले पञ्चायती व्यवस्थाको प्रचार प्रसारका लागि सिनेमा प्रभावकारी माध्यम हुने ठानेर नेपालमा सिनेमा बनाइन थालेको कुरा पनि विदितै छ। सुरुआती पृष्ठभूमि जे भए पनि आजको दिनमा सिनेमा हाम्रो संस्कृतिकै हिस्सा बनिसकेको छ। साथै, नेपाली सिनेमा क्षेत्रले ५० वर्ष लामो घुम्ती पनि पार गरिसकेको छ। यसै सन्दर्भमा मलाई सिनेमासँगै ध्वनि र प्रविधिले तय गरेको यात्राको सम्झना भइरहेछ।

सिनेमालाई आधुनिक साहित्य पनि भनिन्छ। यसले साहित्यलाई नै आधुनिक बनाएको मत पनि छ। तर साहित्य र सिनेमाबीचको फरक भनेको शब्द र दृश्यबीचको अन्तर हो। सिनेमामा कथा भन्न दृश्य र ध्वनिको साथ चाहिन्छ। दृश्य र ध्वनिमा समायोजन र सम्पादन गर्न प्राविधिक दक्षता चाहिन्छ। त्यसैले प्राविधिक दक्षता बिना राम्रो सिनेमा बन्न सक्दैन।

तर हामी सुरुदेखि नै प्राविधिक रुपमा कमजोर थियौं। महेन्द्रले हीरासिंह खत्री (देहरादुनका नेपालीभाषी)लाई झिकाएपछि पहिलो चरणमा ‘आमा’, ‘हिजो आज र भोलि’ र ‘परिवर्तन’जस्ता फिल्म बने। त्यसबेला केही सहायक नेपालीहरुबाहेक सबै मुख्य जनशक्ति कलकत्ता र बम्बैबाट बोलाइएको थियो।

सिनेमा राज्यकै पहलमा बनेको हुनाले यस क्षेत्रमा भएको परनिर्भता हटाउन राज्यबाटै केही पहल गर्नुपर्ने आवश्यकता बोध गरियो। यसका लागि सूचना निकायले उपकरणहरु किन्ने बजेट निकाल्यो। उपकरण त ल्याइयो तर त्यसको प्रयोग गर्न जान्ने जनशक्ति भने थिएन। त्यसैले केही मान्छेलाई छात्रवृत्ति दिएर फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया, पुना पठाइयो। पहिलो ब्याचमा बैकुण्ठमान मास्के, श्याममोहन श्रेष्ठ, प्रेम बस्नेतलगायतका हुनुन्थ्यो। उहाँहरुले कक्षा लिएर आएपछि शाही नेपाल चलचित्र संस्थान बन्यो। त्यहाँ यादव खरेल पनि जोडिनु भयो।

संस्थानमा केही पढेर आएका मान्छेहरु तर धेरै काम अझै पनि नेपालमै हुन सम्भव थिए। प्राविधिक उपकरणहरु पनि एकै पटक भित्रिएका हैनन्। सरकारी संयन्त्रबाट भएकाले काममा ढिलाइ हुने नै भयो। एकातिर प्राविधिक ज्ञान अपुग भएको अवस्था, अर्कोतिर ल्याबको अभावले प्रसोधन र मिक्सिङका धेरै काम गर्न कलकत्ता वा बम्बै नै जाने क्रम चलिरह्यो।

सिनेमामा ध्वनि छ तहमा बसेको हुन्छ। सङ्गीत, डबिङ, ट्रयाक, मिक्सिङ सबैमा अलग ध्वनिको प्रयोग भइरहेको हुन्छ। अचेल त साउन्ड डिजाइन भन्ने पनि आएको छ। यी सबैमा धेरैथरीका उपकरण चाहिन्छन्। हामीकहाँ त्यो थिएन।

नेपालमा बनेको पहिलो सिनेमा आमा हो। शाही चलचित्र संस्थानले सुरुमा बनाएको सिनेमा भने 'मनको बाँध' हो। मनको बाँधताका धेरै काम नेपालमै गर्ने प्रयास भएको थियो। तर पोस्ट प्रोडक्सनका सबै काम भारतमै गर्नु परेको थियो। डबिङको काम मुस्किकले भए पनि यहीँ गरिन्थ्यो, तर त्यो अधुरो खालको हुन्थ्यो। काटेर, सिंक गरेर, बम्बै लगेर ट्रयाक गरिन्थ्यो। गाना रेकर्ड गर्न जानु पर्ने बाध्यता पनि छँदै थियो।

सङ्गीत रेकर्डसम्बन्धी सबै काम नेपालमै भएको पहिलो सिनेमा ‘बदलिँदो आकास’ हो। त्यो काममा म पनि संलग्न थिएँ। त्यसमा गोपाल योञ्जनको सङ्गीत थियो। तपनाथ शुक्ला र म मिलेर बालाजुमा काम गरेका थियौं। तर त्यो बेला पनि माइक्रोफोन र मिक्स्चरको अभाव खड्किएको थियो। बडो दुःखका साथ काम गरियो। त्यसले नेपालमै काम गर्न सकिने उदाहरण स्थापित भयो।

‘बदलिँदो आकास’को दुई चार वर्ष वर्षपछि मिक्सिङका लागि सिनेमाहरु भारतबाहेक हङकङ र जापान पनि पठाइए। ल्याब र स्टुडियो भएपछि डबिङ र मिक्सिङका काम गर्न सहज हुँदै गयो। पोस्ट प्रोडक्सनसम्बन्धी धेरै कामहरु चलचित्र संस्थान बिकास कम्पनीमा रुपान्तरण भएपछि हो। ‘कुमारी’ प्राविधिक हिसाबले श्यामश्वेतबाट रङ्गीनमा फड्को मार्ने सिनेमा बन्यो। जीवन रेखा, सिन्दुर आदि फिल्मको पोस्ट प्रोडक्सनका काम धेरै यतै भयो। ‘शंकर’ र ‘रगत’ सिनेमाका चाहिँ सम्पूर्ण काम नेपालमै भएको हो। सम्पादन पनि यहीँ भयो। ‘प्रतीक्षा’मा मिक्सिङ र रिरेकर्डिंगका काम समेत भयो।

पहिला कसरी काम हुन्थ्यो भन्ने एउटा रमाइलो उदारहण भन्छु। फिल्म खिचेर दिउँसै कोठाको झ्यालढोका बन्द गरिन्थ्यो। अनि साथीहरुलाई भ्यागुता धपाउन खटाइन्थ्यो। सिरक ओढेर माइक्रोफोन लगायो अनि टेक्निसियनहरु बसेर रेकर्ड गरेको टेप रेकर्डर कानमा लगाएर ठ्याक्कै त्यसैगरी बोल्नुस् त भनेर नयाँ रेकर्ड गरिन्थ्यो। अनि त्यसलाई लगी डब गरेर सिंक गरिन्थ्यो। मनको बाँध जस्ता फिल्ममा पनि यसरी नै काम भएको थियो। 

तर नेपालमा ०५० को हाराहारीमा डिजिटल प्रविधि भित्रिएपछि काम गर्ने शैलीमा धेरै हेरफेर आयो। झन्झटिला र गाह्रा धेरै काम छिटो र सजिलै हुन थाल्यो। यसमध्ये एभिड प्रविधिको प्रवेश विशेष छ। रोचक कुरा के भने, एभिड बम्बैभन्दा पहिला हाम्रोमा भित्रिएको हो। भारतकै मद्रासमा भने एभिड थियो। डिजिटल प्रविधि प्रयोग हुन थाले पनि सुरुमा खिच्ने काम त सेलुलाइडमै हुन्थ्यो। प्रोसेसिङको काम मात्रै डिजिटलबाट हुन्थ्यो। सम्पादक तथा गीतकार करुण थापा र केही साथीले एभिड भित्र्याएका हुन्।

डिजिटल प्रविधिको प्रवेश अघि र पछिको खास भिन्नता के देखिन्छ भने पहिला सीमित दक्ष मान्छेले मात्रै प्राविधिक काम गर्न सक्थे। तर डिजिटलको प्रवेशपछि सिकारुहरुको भीड पनि ह्वात्तै बढेको छ। अहिले सबै काम डिजिटलबाट हुन्छ। गुणस्तरीय र एड्भान्स क्यामेरादेखि मोबाइलसम्मले खिच्ने काम भइरहेको छ। यसको अर्थ पढेर, सिकेर खारिएका अनि प्रविधि बुझेकाहरु छैनन भन्ने होइन।

कहिलेकाहीँ मलाई प्रविधि जति अगाडि बढ्दै गयो हामी उति पछाडि धकेलिएको भान हुन्छ। एभिड प्रविधिमा काम गरेको सिनेमा क्षेत्रले अहिले कम्प्युटरबाट काम चलाइरहेको अवस्था पनि छ। 

प्रविधिमा सहज पहुँच राम्रो कुरा हो, तर सामान्य बुझाइले मात्रै प्राविधिक रुपमा गुणस्तरीय काम हुन सक्दैन। भारतको सन्दर्भमा भन्दा, त्यहाँ क्यामेरा, साउन्डमेन, सम्पादकहरुको बेग्लाबेग्ली समाज नै बनेको छ। उनीहरुले काम गर्न पाउने नपाउने दायरा तोकिदिएका छन्। जो पायो उहीले नसिकी, नबुझी लहडका भरमा त्यहाँ प्रवेश नै पाउँदैन। तर हामीकहाँ कुनै छेकबार छैन।

कामचलाउ तालिमका भरमा काम गर्ने छुट भएकोले प्रविधिसँग खेलाची भइरहेको छ। किनकी हामीकहाँ जसले जे गर्ने पनि छुट छ। सेलुलोइडको विशेषता के थियो त्यो फुल फ्रेममा आउँथ्यो। रिजोलुसन घट्ने समस्या हुन्थेन। तर अहिले कमसल उपकरणलाई माध्यम बनाइ काम गर्दा सिनेमाका दृश्य र ध्वनि ‘जर्की’ लाग्छन्।

सन् १९८० मा पुनेबाट साउन्ड इन्जिनियरमा पासआउट भएपछि मैले दुई वर्ष मेरो सिनयरलाई असिस्ट गरेको थिएँ। त्यस्तो अभ्यासलाई महत्व दिनुपर्छ। यसका लागि निश्चित नियमहरु हुनु राम्रो हो।

विशेष ज्ञान चाहिने क्षेत्रमा निश्चित मापदण्ड तोकिए मात्रै गुणस्तरीय काम जन्मिन्छ। चलचित्र बिकास बोर्डले मापदण्ड तोक्ने प्रयास गर्दा यहाँ विरोध भइहाल्यो। केही न केही नियन्त्रण त हुनैपर्छ जस्तो लाग्छ मलाई। दर्शकहरु डोल्बी साउन्डका लागि भन्दै महँगो मूल्य तिरेर सिनेमा हल धाउँछन् भने उनीहरुलाई त ठग्नु भएन नि। यहाँ त डोल्बी नाम मात्रको भएको छ। डोल्बीको स्पिकरदेखि अन्य उपकरणका लागि त मापदण्ड तोकिएको छ नि। तर खै त त्यो मापदण्ड पूरा भएको?

थोरै लगानीमा पनि सिनेमाका काम गर्न सकिने सुबिधा भएकोले आर्थिक हिसाबले कसैले धेरै लगानीमा त्यही काम किन गर्ने भन्ने सोच हाबी छ। जथाभावी स्टुडियो खोल्ने, क्यामेरा भाँडामा दिनेजस्ता काम गरेमा निरुत्साहित गर्नुपर्छ। सिनेमाको गुणस्तरका लागि हामीले कुन माध्यमबाट खिच्छौं, ध्वनि सिर्जना गर्छौ, कसरी प्रसोधन गर्छौं भन्ने कुराको खास अर्थ छ।

कहिलेकाहीँ कन्टेन्ट र प्रस्तुतिले गर्दा प्रविधि गौण बनिदिन्छ। हामीकहाँ अहिले त्यस्तै अवस्था छ। अहिले दर्शक र समीक्षको राम्रो मानिएका धेरै सिनेमाको प्राविधिक पक्षबारे म भने सन्तुष्ट छुइनँ। पुनेमा पढ्दा मैले विश्वका विभिन्न देशमा बनेका सयौं सिनेमाहरु हेर्ने मौका पाएँ। नेपाली सिनेमा क्षेत्रमा पनि फरक फरक भूमिकामा कामहरु गरेँ। प्राविधिक काम मात्रै गरिनँ, सिनेमा समेत बनाएँ। विगत सात आठ वर्षमा भएका धेरै अवार्डमा निर्णायक टोलीमा बसेर पनि सिनेमा हेरिरहेकै छु। 

यिनै अनुभवका आधारमा भन्दा पछिल्लो समयका सिनेमामा धेरै सकारात्मक सुधार भएको त छ तर त्यो अपुरो छ। मूल कुरा, हामीले प्राविधिक हिसाबले समेत स्तरीय सिनेमाको मापदण्ड निर्माण गर्न सकेका छैनौं। ठिक छ, नेपाली दर्शकलाई थाहा नहोला तर विदेशमा नेपाली सिनेमा देखाउँदा त हाम्रा कमजोरी थाहा पाइहाल्छन् नि।

अहिले विदेशमा प्रदर्शन भएको सिनेमा भनेर जति हल्ला गरे पनि ती त सबै नेपाली समुदायमाझ प्रदर्शन हुने त हुन्। हामीले बलिउड, हलिउड, कोरियन वा फ्रेन्च सिनेमा मन पराएर हेरे झैं विदेशीले पनि नेपाली सिनेमा हेर्नुपर्यो तब न विदेशमा लोकप्रिय भएको मान्न सकिन्छ।

प्रदीपकुमार उपाध्याय

प्रदीपकुमार उपाध्याय

अन्तर्राष्ट्रिय दर्शकलाई नखड्किने खालको प्राविधिक रुपमा स्तरीय काम भएका सिनेमा औंलामा गन्न सकिने मात्र छन्। हरेक फिल्मका कमजोरीबारे छुट्टै नोट नै बनाएको छु। मलाई प्राविधिक रुपमा असाध्यै मन परेको पछिल्लो सिनेमा ‘सुनगाभा’ हो।

यसको अर्थ ग्रोथ भएको छैन भन्ने होइन। तर ग्रोथ सही दिशामा नजाँदा बिग्रने डर हुन्छ। अहिले बरालिएको अवस्था छ। सबैभन्दा डरलाग्दो कुरा प्याकेजमा फिल्म बनाउने, यति लाख रुपियाँ दिनुस् पोस्ट प्रोडक्सनको सबै काम म गर्दिन्छु भन्ने एजेन्टहरु यत्रतत्र छन्। क्यामेरा, क्यामेरामेन, एडिटर दिन्छु, साउन्ड र मिक्सिङ सबै गराइदिन्छु भनेर ठेक्का लिने प्रवृत्ति अहिलेको सबैभन्दा ठूलो रोग हो।

गलत प्रविधि, सस्तो मान्छे र उपकरणको गलत प्रयोग नै मुख्य समस्या हो। अहिले 'वाह.. वाह..' भए पनि यो समस्याबारे बिस्तारै कुरा उठ्ने नै छ भन्ने मेरो विश्वास छ।

सिनेमा दृश्य साहित्य भएकोले आफूले देखाउन खोजेको कुरालाई प्रविधिको माध्यमबाट नै उतार्ने हो। त्यसका लागि प्राविधिक ज्ञान र दक्षता चाहिन्छ। स्तर निर्धारण गरेर त्यसलाई मिट गर्ने गराउने वातावरण चाहिन्छ। सम्बन्धित पक्षहरुले यसलाई गम्भीर रुपमा लिनु जरुरी छ।

प्रस्तुतिः प्रभाकर गौतम

प्रकाशित 2017-03-31 13:12:30