अन्तर्वार्ता

‘डा. केसीको साथमा रहेर सिंहदरबारसँग लड्नु पर्छ’

शिक्षाविद् केदारभक्त माथेमा भन्छन् — हाम्रा राजनीतिकर्मीहरु नेता होइनन्


उज्जवल प्रसाईँ

गतवर्ष नेपाल सरकारले व्यवसायिक स्वास्थ्य शिक्षा (एचपीइ) का लागि नयाँ राष्ट्रिय नीति निर्माण गर्न उच्च स्तरीय आयोग गठन गर्‍यो। शिक्षाविद् केदारभक्त माथेमा आयोगका संयोजक थिए । त्यतिबेला माथेमाले स्वास्थ्य शिक्षाका धेरै सरोकारवाला भेटे । र सरकालाई प्रतिवेदन पनि बुझाए। अहिले त्यही प्रतिवेदन कार्यान्वयनको प्रमुख माग राख्दै डाक्टर गोविन्द केसी फेरि अनसनमा छन्।

अमेरिकाको हवाई विश्वविद्यालयका चिकित्सा मानवशास्त्री प्रोफेसर ग्रेगोरी जी मास्कारिनेक तथा स्वस्थ्य क्षेत्रमा अनुसन्धानरत त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभागका प्रोफेसर मधुसुदन सुवेदीले प्राज्ञिक अध्ययनको क्रममा करिब ६ महिनाअघि जतिबेला डा. केसीको सातौँ अनसन चलिरहेको थियो, त्यही सेरोफेरोमा शिक्षविद् माथेमासँग अन्तर्वार्ता गरेका थिए। डा. केसी फेरि अनसन बसेको सन्दर्भमा पढ्नुहोस् उक्त वार्ताको सम्पादित अंशः

विश्वविद्यालयको भिसी हुनु भो, चिकित्सा शिक्षामा तपाईंको सहभागिताका र अनुभव कस्तो छ?
निकै पहिलेको कुरो हो, म स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटनको राष्ट्रिय सल्लाहकार समितिको अध्यक्ष थिएँ । एक पटक पूर्वप्रधानमन्त्री सुशिल कोइरालाले मलाई फोन गरे र भेट्न चाहेको बताए । म उनलाई भेट्न गएँ । ‘तपाईंका बारेमा धेरै राम्रो कुरा सुनेको छु । त्यसो हुदाँ, म प्रधानमन्त्री भएको बेला तपाईं के लिन चाहनुहुन्छ ?’ उनले सोधे । मैले केही पर्दैन, म खुसी छु, भनेँ । तर उनले कर गरे, ‘तपाईंले केही लिनैपर्छ ।’ मैले ‘मलाई अहिले केही चाहिँदैन । तर देशलाई आवश्यक परेको बेला मेरो विशेषज्ञतालाई ध्यानमा राख्नुहोला ।’

त्यति भनेर म त्यहाँबाट निस्किएँ । दुई महिनापछि उनले मलाई फेरि फोन गरेर बोलाए । म गएँ । एउटा सानो आयोगको संयोजक बनिदिनुप¥यो भने । मैले हुन्छ भनेँ । तर सदस्यहरु कोको हुन्छन् भन्नेबारेमा मलाई चासो रहेको बताएँ । स्वास्थ्यमन्त्रीले भने, ‘केपी ओलीको मान्छे पनि राख्नुपर्ने हुन्छ ।’ मलाई रिस उठ्यो । मैले भनेँ ‘तपाइँ मलाई के सोच्नुहुन्छ? म केपी ओलीको मान्छे होइन । म सबैको मान्छे हुँ । म नेपालका लागि काम गर्ने मान्छे हुँ ।’ र, सदस्यहरुको छनोटमा त्यस्तो समस्या प¥यो ।

यस्ता कुराहरुमा म अडान लिने गर्छु । मैले भनेँ, ‘त्यहाँ मैले भनेअनुसार हुनुपर्छ । अन्यथा म आयोगमा बस्दिनँ । तपाइँ आफूले चाहेअनुसार गर्नुस् ।’ एक महिनापछि उनले भने, ठीक छ, तपाइँलाई ठीक लागे अनुसार गर्नुस् । त्यसपछि मैले मान्छे छनोट गरेँ । ती मान्छेहरु राम्रा थिए । म विश्वविद्यालयको भिसी हुँदा पनि मैले आफैले रोजेर रेक्टर र रजिष्टार राखेको थिएँ । परिणामस्वरुप हामीले राम्रो काम गर्न सक्यौँ, किनभने हामीले एउटा टिमको रुपमा काम ग¥यौँ । अहिले त्यस्तो अवस्था छैन ।

अहिले त प्रत्येक ठाउँमा एउटा एमाले, एउटा काँग्रेस र एउटा माओवादी राख्नैपर्ने भएको छ हैन?

हो, म यसको विरोधमा छु । मैले भेटिएका प्रधानमन्त्रीहरुलाई भन्ने गरेको छु, कृपया विश्वविद्यालयलाई राजनीतिकरण नगर्नुहोला । जसलाई राख्नुछ राख्नुस् तर राजनीतिक वफादारिताका कारण नराख्नुस् । एकपटक कसैलाई जिम्मेवारी दिइसकेपछि उसको टिम उसलाई बनाउन दिनुहोस् ।

साँच्चै भन्ने हो भने यी राजनीतिक व्यक्तिहरु प्रति ममा कुनै सम्मान छैन । वास्तवमा म तिनीहरुसँग रिसाएको छु । कहिलेकाहँी म रिस पोख्ने पनि गर्छु । यही मेडिकल कलजेलगायकतका विषयमा म संसदीय समितिको बैठकमा गएँ । त्यहाँ कुरा सुन्दा मलाई रिस उठिरहेको थियो । मैले टेबल ठटाएर भनेँ, ‘यो संसदीय समिति हो कि च्याम्बर अफ कमर्स? तपाईंहरु आफ्नो लगानी बचाउन लागिपरेको लगानीकर्ताजस्तो कुरा गर्नुहुन्छ । तपाईंहरु जनताको फाइदाको कुरा गरिरहनुभएको छैन । तपाइँहरु को हो ?’ भन्नुको मतलब म उनीहरुको कुराबाट निकै दुःखी थिएँ ।

के साँच्चै सांसदहरू राजनीतिज्ञ नभएर लगानीकर्ता जस्ता लाग्थे र तपाईंसँग त्यस्तै कुरा गरिरहेका थिए?

हो, उनीहरु पैसा लगानी गरिरहेका थिए । यो साह्रै नराम्रो कुरा हो । लोकतन्त्रको समस्या हो यो । म आश्चर्यचकित भएँ । हामी के गर्न सक्छौँ? हामीले गोविन्द केसीलाई साथ दिन जरुरी छ । नागरिक समाज ब्युँझिन र उठ्न आवश्यक छ । यो अति भइसक्यो । यी नेताहरुले जे पायो त्यही गर्न पाउँदैनन् । देशको भविष्यप्रति होइन, आफ्नो स्वार्थ हेरिनु त राम्रो कुरा होइन ।

मलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निम्ता गरिएको थियो । मलाई जान मन लागिरहेको थिएन । तर विद्यार्थीहरुले बोलाए, जानैपर्ने थियो । दुई दिन बिताएँ । मैले उनीहरुसँग कुरा गरेँ, सम्बोधन गरेँ । तिनीहरु धेरै राम्रा थिए, प्रेरणादायक । भन्नुको अर्थ, हामीसँग राम्रा विद्यार्थीहरु छन् । मात्रै उनीहरुलाई प्रेरणा दिन सके... तर यस्ता नेताहरुसँग, हामी त्यसो गर्न सक्दैनौँ । मैले सरकारका मान्छेलाई भनिसकेको छु, ‘यदि तपाइँहरुले हामीले भनेजस्तै समिति बनाउनुभयो र मनमोहन कलेज पनि पछाडिको ढोकाबाट ल्याउनुभयो भने हामी लड्नेछौँ ।’

सरकारी नीतिहरू निकै विरोधाभाषपूर्ण छन्?

यो विरोधाभाषपूर्ण हुन्छ र हामीले लड्नै पर्छ । मलाई के कुराले चिन्तित पार्छ भने, यहाँ कुनै कानुनी शासन छैन । मानौँ म दुई वर्षका लागि प्रधानमन्त्री भएँ भने कुनै सफलता हासिल गर्न नसके पनि कमसे कम यति त होस पु¥याउनै पर्छ कि, कुनै नियम नतोडुँ । कुनै खराब उदाहरण सिर्जना नगरुँ । तपाईंलाई थाहा छ, तीन वर्ष म भिसी थिएँ । म तपाईंलाई भन्छु, खराब उदाहरण नबन्न मैले सकेसम्म कोशिस गरेँ । आफ्नो उदाहरण जुन म पछिकालाई बोझ बनोस् ।

तर उनीहरुलाई हेर्नुहोस् । उनीहरुले दायाँबायाँ सबैतिर नियम तोडे । मनमोहन प्रतिष्ठान भन्छन् उनीहरु । जुन चाहीँ निजी, नाफामूलक कम्पनी हो । तपाईं यसलाई सहकारी वा एकेडेमी जे भन्नुस्, यो नाफा कमाउने निजी कम्पनी हो । त्यति मात्र होइन उनीहरु यसको केन्द्रीय कार्यलय धादिङमा बनाउने भन्दैछन्, जुन दुर्गम क्षेत्र हो । उनीहरु दाबी गरिरहेका छन् कि हामी काठमाडौँमा केन्द्रीय कार्यलय खोल्दै छैनाँै । सांसदहरु लगानीकर्ता छन्, त्यसैले उनीहरु कानूनी शासनको वास्ता गर्दैनन् ।

अनि यहाँ आपसमा ढाड कन्याउने नीति छ । तपाईंलाई थाहा छ, यस्तो कुरामा काँग्रेसले एमालेलाई समर्थन गर्छ । र, जब काँग्रेस सरकारमा हुन्छ, एमालेले सघाउनेछ । त्यसपछि काँग्रेसले पनि एकेडेमी वा यस्तै केही भन्दै केही मेडिकल कलेजहरु ल्याउनेछ । तर सांसदले नाफामुखी निजी कम्पनीका लागि नियम बनाउन मिल्छ? प्रश्न उठ्छ नि ।

चिकित्सा क्षेत्र मात्रै होइन, सबैतिर उस्तै छ । के गर्ने ?

ठ्याक्कै । यो आपत्तीजनक कुरा हो, यसमा म चिन्तित छु । त्यसैले म सोचिरहेको छु, यससँग कसरी लड्ने । इमानदार भएर भन्ने हो भने, युवाहरु हाम्रो पक्षमा लाग्न चाहदैँनन् । किनभने हामी खतरनाक मान्छे हौँ । हामी जोखिम मोल्छौँ, उनीहरु मोल्न सक्दैनन् । म जुनसुकै जोखिम मोल्न सक्छु । म सरकारबाट केही पनि लिन चाहन्नँ । मसँग कुनै महत्वकांक्षा छैन तर स्वभाविक रुपमा युवाहरुमा महत्वकांक्षा हुन्छ ।

गोविन्द केसीका बारेमा तपाईंको विचार सुनाउनुस् न।

गोविन्द केसी एक दुर्लभ व्यक्तित्व हुन् । उनकै कारण यो आयोग बनेको थियो । यतिसम्म आइपुगेको उनकै कारण हो । तपाईंलाई थाहा छ, उनी साहसी व्यक्ति हुन् । हामीले उनलाई समर्थन गर्न जरुरी छ । उनी गान्धीजस्तै हुन् । उनी म भोलिबाट अनसन बस्छु भन्छन् र बस्छन् । उनका केही अनुयायी हुनेछन् । तर उनीसँग कुनै संगठन छैन । कुनै कोष छैन । उनलाई ठूलो समर्थन छ ।
गोविन्द केसीका कारण मानिसहरु निकै जागरुक भएका छन् । तर हाम्रा राजनीतिकर्मीहरु कस्ता ? मेरो भनाईको अर्थ, उनीहरु नेता होइनन् । तपाइँ नेता हुनुहुन्छ भने, नेताले जहिले पनि देशको पक्षमा निर्णयहरु लिने गर्दछ, जनताको पक्षमा । यदि त्यो निर्णय उसकै कार्यकर्ताको विरोधमा जान्छ भने पनि ।

डाक्टर केसी अनसन बस्छन् र अरु मान्छे उत्साहित हुन्छन्। तर फेरि पनि सरकारले कुरा सुन्दैन ...

केसी गान्धीजस्तै हुन् । आम नागरिकले उनलाई समर्थन गर्न जरुरी छ, उनीजस्ता व्यक्तिलाई किनभने सरकारसँग लड्ने बाटो यही मात्रै हो । सिंहदरबारसँग तपाईं कसरी लड्नुहुन्छ? कसरी? तपाईं त सिंहदारबारभित्र समेत पस्न पाउनुहुन्न, केको साथमा लड्नुहुन्छ त? सिंहदरबारसँग लड्ने एउटै मात्र बाटो भनेको नैतिक शक्ति हो, गोविन्द केसीको साथमा रहेको नैतिक शक्तिले । बौद्धिकहरुले सिंहदरबासँग लड्ने एक मात्र तरिका भनेको गोविन्द केसीको साथमा आउने र सँगै आवाज उठाउने हो ।

अघिल्लो प्रसङ्गमा जाऊँ। संसदीय समितको बैठकमा सांसदहरुले तपाईंलाई कस्ता प्रश्नहरु सोधे?

खासमा सांसदहरूले ठूलो रकम लगानी गरेका छन् । जब पहिलेदेखि नै त्यत्तिका पैसा लगानी भइसकेको छ, तपाईं कसरी अचानक अब अरु मेडिकल कलेज खोल्न पाइँदैन भनेर भन्न सक्नुहुन्छ? उनीहरु पूर्वप्रधानमन्त्रीको नाम बेचिरहेका छन् । मनमोहनलाई म निकै राम्ररी चिन्थेँ । मेरो यही कोठामा उनी अनेकौँ पटक आएका थिए ।

संसदीय समितिमा हामीलाई समर्थन गर्ने पार्टी भनेका माओवादी र मजदूर किसान पार्टी मात्रै थिए । वामपन्थी र कम्युनिष्ट मात्रै । वास्तवमा नेपाली काँग्रेसको जमघटमा मैले भनेँ, तपाईंहरुको समाजवादलाई के भयो? स्पष्ट भन्ने हो भने, नागरिक समाज कति सक्रिय बन्छ भन्ने कुरामा यो निर्भर छ । नागरिक समाज एक भएर सक्रिय बन्यो भने, उनीहरुले मनमोहनका नाममा भइरहेको बदमासी रोक्न सक्छन् । यदि नागरिक समाज कमजोर भयो र फुट्यो भने विधयेक पारित हुनेछ ।

गोविन्द केसीको आन्दोलन नि?

गोविन्द केसीको आन्दोलनलाई ठूलो समर्थन छ । मेरो भन्नुको अर्थ, यसले उनीहरुका लागि धेरै अवरोधहरु सिर्जना गर्नेछ । मैले चिनेजानेका साथीहरुलाई एक ठाउँमा ल्याउने कोशिस म गर्नेछु । ता कि गोविन्द केसीले अर्को अनसन बस्न नपरोस् । तपाईंलाई थाहा छ, उनीहरुसँग बाहुबली शक्ति छ। पैसा छ । गोविन्द केसीसँग केही छैन । तर उनीसँग थुप्रै नागरिकको सद्भावना छ । मलाई लाग्छ, प्रधानमन्त्री ओलीले यो कुरा बुझ्नेछन् । उनले झुक्याउन सक्दैनन् । तर यो कुरा नागरिक समाजले उठाउने आवाजमा पनि भर पर्छ । यदि नागरिक समाज सचेत भएन भने लोकतन्त्र असफल हुन थाल्छ ।

भनेपछि खासमा लोकतन्त्रलाई कमजोर पारिएको छ?

एकदम सही । एक पटक हीराबहादुर (त्रिविका पूर्व उपकुलपति) ले मलाई भने, सर तपाईं जहिले पनि भागबण्डाको विरोध गर्नुहुन्छ । तर भागबण्डा वास्तवमा ठीक कुरो हो । मैले भनेँ, कसरी ? उनले भने, किनभने हामी तीन जना मिल्यौँ भने जे पनि गर्न सक्छौँ । अर्कोदिन पुनर्निर्माणका लागि सल्लाहकार समितिको बैठक थियो । त्यसको म पनि सदस्य थिएँ । सुशिल कोइराला, प्रचण्ड, माधव, झलनाथ सबै थिए । मैले भनेँ, यो सर्वदलीय भन्ने शब्द एकदम खतरनाक छ । ग्रामीण क्षेत्रमा काँग्रेस, माओवादी, एमाले भएर भाग लगाएर खाइराखेका छन् । यही हो लोकतन्त्र?
हाम्रोमा त दाताहरुको कुरा पनि त्यस्तै छ । मैले विश्व बैंककी उपाध्यक्षलाई भनेँ, ‘विश्वविद्यालयमा हेर्नुस् त, कसरी तिनीहरुले चलाइराखेका छन्, राजनीतिकरण गरिरहेका छन् । तपाईंहरुले त्यत्रो पैसा लगानी गर्नुभएको छ, अलिकति हल्ला गर्न सक्नुहुन्न?’ उनले भनिन्, ‘हाम्रो लगानी विश्वविद्यालयबाट निकाल्न चाहनुहुन्छ तपाईं ?’ मैले भनेँ, ‘होइन, म त्यसो भनिरहेको छैन।’ उनले बुझिन् कि बुझिनन्, थाहा छैन।

प्रकाशित ७ साउन २०७३, शुक्रबार | 2016-07-22 11:19:11

सम्बन्धित


प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • पोखरा महानगर: चैतमै सक्नुपर्ने काम बल्ल सुरु

    ‘न्युरोडमा गिटी बिच्छ्याएर कस्तो बाटो बनाउन खोजेका हुन्, मैले त कुरै बुझिनँ। यस्तो तमासा हेर्न बाध्य छन् पोखरेलीहरु र सोच्दैछन् स्मार्ट सिटी त यसरी...

  • प्रहरीले खोज्दै छ ३४ किलो अवैध सुनको मालिक

    सात महिना पहिला त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ३४ किलो सुन समातिएपछि पक्राउ परेका अभियुक्तबाट प्रहरीले यो प्रकरणमा दुबईमा रहेका चार जनाको...

  • बार्सिलोनाका पूर्व तथा म्यानचेस्टर सिटीका वर्तमान प्रशिक्षक पेप गार्डिवाला र लिअाेनल मेस्सी

    बार्सिलोनासँग रुष्ट छन् मेस्सी, यस्तो छ क्लब छाड्ने सम्भावना

    बार्सिलोनामा लिओनल मेस्सीको भविष्य अनिश्चित बनेको छ। क्लबसँग नयाँ सम्झौतामा हस्ताक्षर नगरेका कारण मेस्सी क्लबमा रहन्छन कि रहदैन् भन्ने चर्चा चलेको छ।

  • प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदी (फाइल फोटो)

    किन महत्वपूर्ण छ प्रधानमन्त्री देउवाको भारत भ्रमण?

    नेपाललाई विकासको समान साझेदार नठान्ने र कमजोर छिमेक ठान्ने मनोवृत्तिबाट नेपाललाई हेर्ने भारतका शासक वर्ग र विशेष गरी कर्मचारीतन्त्रमा व्याप्त...