रविन्द्रजीको क्षेत्रमा चुनाव उठ्नुपर्छ भन्ने माग छः विद्या भट्टराई (अन्तर्वार्ता)




विद्या भट्टराई
विद्या भट्टराई
प्रविन कोइराला

बिहान उठ्नेबित्तिकै सानो छोराले भन्यो, ‘आज म मुड अफ छु।’ थप सोधेपछि उसले भन्यो, ‘मैले देखेको सपनामा बाबाको प्लेन क्र्यास भयो, बाबा रहनुभएन।’ दुध–चिउरा खाएपछि उसले फेरि भन्यो, ‘मलाई गाली नगर्नु है, नहप्काउनु है, मैले त्यस्तो सपना देखेकै हो।’

आज (१५ बैशाख) ठ्याक्कै दुई महिना पुग्यो, ताप्लेजुङको पाथिभरामा भएको हेलिकोप्टर दुर्घटना (१५ फागुन ०७५) मा ७ जना यात्रुसहित मुलुकले पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई गुमाएको।

स्व रवीन्द्रको परिवारका आँखा अझै ओभाएका छैनन्। तर, परिवारका सदस्यले आफूलाई सम्हाल्ने प्रयास भने गरेका छन्। रवीन्द्र पत्नी विद्या भट्टराई (अधिकारी) आफैले परिवारलाई सम्हाल्ने कोशिष गर्दैछिन्।

रवीन्द्र र विद्या २० बर्षअघि बैबाहिक बन्धनमा बाँधिएका थिए। ३–४ बर्ष लामो प्रेम–सम्बन्धपछि ‘कोर्ट म्यारिज’ मार्फत् बैबाहिक बन्धनमा बाँधिएको थियो, त्यो जोडी।

बैबाहिक बन्धनमा बाँधिनुअघि दुबैजना सक्रिय राजनीतिमा थिए। अनेरास्ववियूको केन्द्रीय नेतृत्वको जिम्मेवारीका क्रममा विकसित प्रेम सम्बन्धले बैबाहिक सम्बन्धको रुप लिँदा रवीन्द्र अखिलको उपाध्यक्ष थिए भने विद्या अनेमसंघमा थिइन्।

बिबाह पछि विद्या प्राज्ञिक क्षेत्रमा लागिन्। रवीन्द्रले राजनीतिलाई निरन्तरता दिइरहे। ०६४ यता भएका तीनवटै निर्वाचनमा विजय हासिल गर्ने थोरैमध्ये उनी एक नेता थिए।

१५ फागुनको त्यो दुखद दुर्घटनापछि राजनीतिमा स्व रवीन्द्रको अभाव पूर्ति गर्ने पात्रको रुपमा अब विद्यालाई हेरिँदैछ। प्रतिनिधि सभामा रिक्त हुन पुगेको कास्की– २ को बलियो दावेदारका रुपमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड), वामदेव गौतम लगायतका शीर्ष नेताले सार्वजनिक रुपलै विद्यालाई प्रस्तुत गरिसकेका पनि छन्।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा समाजशास्त्रकी उपप्राध्यापक र हाल ‘त्रिवि अनुसन्धान केन्द्र’ मा कार्यरत विद्याले भने आफ्नो उम्मेदवारीका लागि दावेदारी प्रस्तुत गर्ने–नगर्ने योजना बनाइसकेकी छैनन्। उनको रुची प्राज्ञिक क्षेत्रमै छ। त्यसैले, निर्वाचनमा प्रतिस्पर्धा गर्ने वा नगर्ने भन्ने विषयमा पारिवारिक परामर्शकै क्रममा रहेको बताउँछिन् उनी।

यद्यपी, उनको कुरा सुन्दा के निष्कर्षमा पुग्न सकिन्छ भने, पार्टीको नेतृत्वपंक्ति, कास्कीका नेता–कार्यकर्ताले सर्वसम्मत रुपमा निर्णय गरेमा उनी कास्की–२ बाट रवीन्द्रको राजनीतिक विरासतलाई निरन्तरता दिन तयार हुनेछिन्।

नेपालखबरका सीताराम बरालले कास्की– २ को उपनिर्वाचन सन्दर्भ, राजनीतिक यात्रा, रवीन्द्रसँगको प्रेम–विवाह–सम्झना, पाथिभरा दुर्घटना, रवीन्द्रको मन्त्रालय यात्रा र उनलाई बदनाम गर्न खोजिएको वाइड बडी जहाज खरिद प्रकरण लगायतका विषयमा लामो कुराकानी गरे।

प्रस्तुत छ, शुक्रबार (१३ बैशाख) मा हात्तिगौँडास्थित अधिकारी निवासमा भट्टराईसँग भएको लामो वार्ता: 

कास्की– २ को उपचुनाव

राजनीति छाडेर प्राज्ञिक कर्ममा लाग्नुभएको मान्छे, फेरि राजनीतिमा आउने परिस्थिति सिर्जना हुँदैछ। कस्तो लागिरहेको छ?
‘के गर्ने’ भनेर मैले खासै केही सोचिसकेको छैन। किनभने, ५–७ बर्षयता म प्राज्ञिक क्षेत्रमा छु। त्यसअघि प्राज्ञिक क्षेत्रमा जाने–नजाने भन्ने सुनिश्चित भइसकेको थिएन। कहिले विकासको क्षेत्रमा, कहिले प्राज्ञिक क्षेत्रमा म चाहारिरहेको थिएँ म।

जब मैले एमफिल गरेँ, त्यसपछि मैले यही क्षेत्रमा आफूलाई स्थापित गर्नुपर्छ भनेर लागेँ। उपप्राध्यापक भइसकेपछि मैले त्यही क्षेत्रमा आफूलाई उभ्याउँदै आएको हुँ।

१५ फागुनमा जे भयो– राष्ट्र र समाजलाई त क्षति भयो नै, हाम्रो परिवारका लागि झन् ठूलो क्षति भयो। कल्पनै नगरेको कुरा भयो। ‘रवीन्द्रजीको राजनीतिक यात्रालाई हामीले साथ–सहयोग गर्नुपर्छ’ भनेर विचार बनाइरहेका थियौँ, त्यो अवस्थामा एक्कासी त्यो दुर्घटना हुन पुग्यो।

त्यो क्षतिको परिपूर्ति भोलिका दिनमा कसरी गर्ने, परिवारको तर्फबाट कसरी जाने भन्ने विषयमा हामी सोचमग्न अवस्थामा नै छौँ। ठ्याक्कै यही गर्ने भनेर निष्कर्ष निकालिसकेका छैनौँ।

प्रचण्ड, वामदेव गौतम लगायतका नेताले ‘स्व रवीन्द्रकै परिवारबाट कास्की–२ बाट उत्तराधिकारी खोजिनेछ’ भनिसक्नु भएको छ। यस्तो स्थितिमा अब पनि निर्णय गर्न केही गाह्रो छ र?
घटना भएको त्यति लामो समय भएको छैन। दुई महिना हुँदैछ बल्ल। मान्छेले पीडाबाट निस्कनुपर्छ भन्ने एउटा कुरा भयो। तर पीडाबाट निस्कन समय लागिहाल्छ।

अर्काे कुरा, शिक्षा क्षेत्रमा मेरो स्थायित्व भएको अवस्था हो। प्राध्यापन भनेको मेरा लागि जागिरमात्र होइन। त्यहाँबाट पनि देश र समाजका लागि धेरै काम गर्न सक्छुजस्तो मलाई लागिरहेको छ।

नेताहरुको विचार पनि आइरहेको छ। कास्कीका जनताको ‘सेन्टिमेन्ट’ पनि एकखालको छ। यति हुँदाहुँदै पनि मलाई के लाग्छ भने, यो व्यक्तिको कुरामात्र होइन। म पार्टीको सदस्य हुँ, पार्टीको योद्धा हुँ। परिवारले के सोच्ने, मैले के सोच्ने भन्दापनि पार्टीले सोच्छ भन्ने कुरा नै प्रमुख हो।

त्यसैले, सबैभन्दा पहिले पार्टीले एकमत भएर के सोच्छ, त्यसपछि मैले विचार गर्नु उपयुक्त होला।

प्रधानमन्त्री लगायत अरु नेताहरुले के भन्नुभएको छ?
त्यस्तो केही भन्नुभएको छैन। म पीडामा नै छु भन्ने छ उहाँहरुलाई। यही कारण कास्की–२ का विषयमा मसँग छलफल गर्न उहाँहरु तत्पर हुनुभएको छैन जस्तो लाग्छ। उहाँहरुकै लागि पनि निशब्द हुने अवस्था हो त्यो घटना।

किनभने, म त्यो परिवारको सदस्य, उहाँ (रवीन्द्र) को सहयात्री। मेरा लागि कुराकानी गर्न सक्ने अवस्था बनिसकेको छैन भन्ने उहाँहरुलाई लागिरहेको छ जस्तो लाग्छ। त्यति हतारो गर्नुपर्ने अवस्थापनि छैनजस्तो लाग्छ मलाईपनि।

कास्कीका साथीहरुले के भन्नुभएको छ?
मिडियाबाट त्यहाँको उम्मेदवारीका विषयमा विभिन्न अड्कलबाजी आइरहेका छन्। त्यहाँको पार्टीको अपेक्षा नभएको चाहिँ होइन। साथीहरुले पनि ‘तपाईं आउनु पर्छ’ भनिरहनु भएको छ।

हामीकहाँ एउटा परम्पराजस्तै छ, आन्दोलनमा लागेको महिला विहे गरेपछि बीचमा अर्काे क्षेत्रमा जानु परेको, अनि श्रीमान्को अनुपस्थितिका कारण राजनीतिमा आउनु परेको। यस्तो परम्पराका कारणमात्रै पनि होइन होला– साथीहरुले मलाई राजनीतिमा आउनु पर्छ भन्नुभएको। मेरो हिजोको राजनीतिक योगदान देखेकाले पनि साथीहरुले यस्तो भन्नुभएको होला।

हो, मैले ‘एक्टिभिजम्’ गरिनँ। तर, अर्काे क्षेत्रमा गएपनि जहिलेपनि राजनीतिमा जोडिइराखेँ। राजनीतिसँग कहिलेपनि टाढा भइनँ। त्यो हिसावले पनि मलाई भन्नुभएको होला।

फेरि रवीन्द्रजीको त्यो क्षेत्रसँग अत्यन्त धेरै सौहाद्र्धपूर्ण सम्बन्ध छ, त्यहाँका जनतासँग निकटको सम्बन्ध छ। त्यस हिसावले पनि होला, मलाई देख्दा ‘रवीन्द्रजीलाई देखेजस्तो हुन्छ’ भन्ने खालका भावनात्मक अभिव्यक्तिहरु आउने गर्छन्। ‘त्यहाँ गएर उठ्नुपर्छ’ भन्ने आग्रह बेस्सरी छ।

तर, म अझै आफ्नो ठाउँबाट सरसल्लाह गर्दैछु। पार्टीले पनि सरसल्लाह गर्दै होला, विचार बनाउँदै होला। के गर्ने भन्ने टुङ्गो विस्तारै लाग्ला।

राजनीतिक सक्रियता

राजनीतिमा सफलताका लागि निर्ममपनि बन्नुपर्ने हुनसक्छ। त्यो खालको निर्ममता आफूमा छ जस्तो लाग्छ?
राजनीतिलाई तीन कोणबाट हेर्नुपर्छ। पहिलो, त्यो नीति बनाउने ठाउँ हो। दोस्रो, नेतृत्वको माध्यमबाट नीतिको कार्यान्वयन हो। तेस्रो, जनतासँग प्रत्यक्ष सम्बन्ध राखेर जनताको दैनिकीलाई राजनीतिलाई जोड्ने हो।

प्रतिस्पर्धामा जाँदा आउने निर्ममता एकखालका हुन्छन्। तर, राजनीतिलाई समाजको महत्वपूर्ण पाटो मान्ने हो भने राजनीति निर्मम ढंगलेमात्रै अघि बढ्न सक्दैन, भलै हामीकहाँ अहिले निर्मम ढंगले अघि बढिरहेको देखिन्छ।

अर्काे पार्टीप्रति निर्मम हुने, आफ्नै पार्टीभित्र पनि अर्काे गुटविरुद्ध निर्मम हुने प्रबृति देखिन्छ हामीकहाँ। म आफैले त्यो निर्ममता भोगेको छैन। तर, राजनीतिक परिवारमा भएकाले र राजनीतिलाई सहयोग गरिरहेको सहयोद्धा भएकाले त्यो खालको निर्ममता देख्दै नदेखेको भने होइन।

तर, मैले बुझेको राजनीति भनेको समाजको परिवर्तन गर्ने महत्वपूर्ण क्षेत्र हो, जसले समाज परिवर्तनका लागि अत्यन्त महत्वपूर्ण भूमिका खेल्छ। हिजो मैले सबैभन्दा छिटो नीतिहरु बदल्न राजनीति नै महत्वपूर्ण क्षेत्र हो भनेर बुझ्थेँ।

तर अहिले राजनीति कसरी छिटो नेतृत्वमा पुग्ने भन्ने लेनदेनको रुपमा र विभिन्न समूहको स्वार्थ पुरा गर्ने माध्यम बन्न पुगेको छ। राजनीतिमा निर्ममताको विकास भएको पनि यही कारणले हो। तर, यस्तो निर्ममता धेरै समय रहन्छ भन्ने मलाई लाग्दैन।

राजनीति समाजको महत्वपूर्ण पक्ष हो र राजनीतिले सामाजिक सम्बन्ध निर्माण गरेर जान सकेन भने त्यो स्थापित हुनसक्दैन। निर्ममताले सामाजिक सम्बन्धलाई मेटाउँछ। भोलिको राजनीतिले राजनीतिक मूल्य बनाउँदै जाँदा हामीजस्ता मान्छेहरु पनि काम लाग्ने हुन्छौँ।

रवीन्द्रजीसँग सल्लाह गरेरै राजनीति छाड्नु भएको हो कि, विस्तारै परिस्थितिले त्यतातिर डोर्याउँदै लगेको हो?
म एमए पढ्दै थिएँ। हामी दुईजनाको योजना थियो, दुई बर्षसम्म बच्चा नजन्माउने। तर, बच्चा हुने स्थिति बन्यो। त्यसपछि दुबैजनाले राजनीतिलाई निरन्तरता दिन सक्ने स्थिति रहेन।

त्यो स्थितिमा एकजनाले काम गर्नैपथ्र्याे, मैले ‘म गर्छु’ भनेँ। र, म विस्तार–विस्तारै राजनीतिक क्रियाकलापबाट बाहिरिँदै गएँ।

रवीन्द्रजीले घर सम्हालेर तपाईं राजनीतिमा लागेको भए हुँदैनथ्यो? किन तपाईं छाडेर उहाँले राजनीतिलाई निरन्तरता दिनुभयो?
एउटा त मेरो स्वभावका कारणले पनि हो। राजनीतिमा निस्वार्थपना भन्दा पदप्रतिको आकर्षण, सहयोग भन्दा आलोचना जस्ता प्रबृति बढ्न थालेका थिए। आफ्नो स्वभावका कारण ‘यस्ता प्रबृति मैले कति सहन सकुँला?’ भन्ने पनि लाग्न थालेको थियो। अखिलको १३ औँ राष्ट्रिय सम्मेलनदेखि नै ‘अब अखिलबाट विदा लिनुपर्छ कि’ भन्ने सोच्न थालिसकेकी थिएँ। किनभने, मान्छेलाई गुटगत हिसावले हेर्ने–विचार गर्ने, मान्छेका विचारलाई व्यक्तिसँग जोडेर हेर्ने अभ्यास सुरु भइसकेको थियो।

यही परिस्थितिका बीच हाम्रो बिहे भयो। उहाँ त्यो बेला अखिलको उपाध्यक्ष हुनुहुन्थ्यो। बिहे भएको केही समयपछि अध्यक्ष हुनुभयो। म अखिलको राजनीति छाडेर अनेमसंघको कार्यालय सचिव बनेकी थिएँ। यस हिसावले हाम्रो क्रियाशीलताको क्षेत्रपनि फरक भइसकेको थियो।

त्यो बेलाको परिस्थिति हेर्दा विद्यार्थी राजनीतिमा जति क्रियाशील हुनुपथ्र्यो, त्यसको तुलनामा अन्य क्षेत्रमा कम क्रियाशील भए पुग्थ्यो। त्यसैले, म नै विस्तारै अर्कै क्षेत्रमा जानुपर्छ र राजनीतिमा उहाँँलाई सहयोग गर्नुपर्छ भन्ने मनस्थिति विस्तारै बन्दै गयो।

म काठमाडौँमा काम गरिरहेको थिएँ, विहे पोखराका रवीन्द्रजीसँग भयो। यस हिसावले पनि मैले धेरै कुरा छाड्दै छाड्दै गएँ।

राजनीति छाडेर महत्वपूर्ण कुरा मिस गरेँजस्तो कतै कुनैबेला लाग्यो कि! 
सहकार्यमा रमाउने मान्छु हुँ म। त्यसैले, हिजो सँगै काम गरेका साथी भेट हुँदा रमाइलो लाग्ने, विदा हुने बेला छुट्टिन मन नलाग्ने हुन्थ्यो।

तर, सक्रिय राजनीति छाडेर गल्ती गरेँ भन्ने मलाई कहिले पनि भएन।सक्रिय राजनीति छाडेपनि राजनीतिबाटै टाढा हुन पनि सकिनँ। रवीन्द्रजी रहँदासम्म साथीभाई आउने, भेट हुने, राजनीतिकै कुरा हुने हुन्थ्यो। नभएको भनेको राजनीतिक कर्मथलोमात्र न थियो।

राजनीतिलाई निरन्तरता दिएका साथीहरु उपल्लो पदमा पुगेको देख्दा सक्रिय राजनीति छाडेर गल्ती गरेजस्तो लागेन?
म सानो कुराबाट खुसी हुने मान्छे हो। म ठूलो कुरा खोज्दिनँ। सानो कुरामा पनि आत्मसन्तुष्टि लिनसक्छु। जतिबेला कसैले मेरो स्वाभिमानमाथि आक्रमण गर्छ, त्यतिबेला चाहिँ मलाई निकै ठूलो पीडा हुन्छ।

राजनीतिमा लाग्दा स्वाभिमानमाथि आक्रमणका घटना पनि भए?
त्यस्तो त भएन। सबैबाट मैले सहयोग नै पाएको थिएँ। ‘तपाईंले काम गर्नुस्’ भनेकैले नेतृत्वमा आएको हुँ। आफैले पोष्ट खोजेर आएकी थिइनँ। त्यसैले, त्यस्तो तिक्ततापूर्ण कुनै व्यवहार भोग्नु परेन।

रवीन्द्रसँग प्रेम/विवाह

रवीन्द्रजी र तपाईंको ‘लभ म्यारिज’ कि ‘एरेन्ज म्यारिज’ हो?
त्यसलाई के भन्ने! ‘एरेन्ज म्यारिज’ नै भन्नुपर्ला। हामी एकअर्कालाई मन पराउथ्यौँ। मन पराउने एकखालको वातावरण बन्यो। त्यसो भएपछि विहे गर्दा ठीकै हुन्छ भन्ने भयो।

जब हामी दुईजना एकअर्कालाई मन पराउथ्यौँ, हाम्रो विहे हुन्थ्यो हुँदैनथ्यो, त्यो छुट्टै कुरा हो, तर साथीहरु ‘छिटो विहे गर्नुस्’ भनेर प्रेसर दिनुहुन्थ्यो। यो हामीकहाँको प्रचलनको कुरा पनि हो। विहे छिटो हुँदा जीवनको स्थायित्वपनि हुन्छ भन्ने चिन्तनको कारणले यस्तो भएको होला।

म अरुको कुरा सुन्थेँ। तर, ती कुरामा त्यति धेरै चासो चाहिँ राख्दैनथेँ। मलाई लाग्थ्यो, ‘किन साथीहरुले हाम्रो विहेको बारेमा यति धेरै पीर मानेको होला?’

किन होला त!
यसलाई म दुई हिसावले हेर्थें। एक, म र रवीन्द्रजी दुबैप्रतिको मायाँको रुपमा। अर्काे, मेरो खुट्टा केही कमजोर छ। त्यही कारण ‘ रवीन्द्रजीले विहे नगर्ने हो कि’ भन्ने आशंकाका कारण साथीहरुले ‘चाँडै विहे गरिहाल्न’ कर गरेका थिए कि!

अखिलमा गुटबन्दी सुरु भएको थियो। मैले कुनै विषयमा आफ्नो विचार व्यक्त गरेँ भने नेतृत्वमा रहेका साथीहरु पनि रवीन्द्रजीसँग जोडेर हेरिदिन्थे। हाम्रो चोखो मायाँलाई राजनीतिक स्वार्थसँग जोड्न थालियो। गुटसँग जोड्ने प्रयास भयो। यसले मलाई निकै दुखित बनाउँथ्यो।

हामी दुईजनाले बुझ्ने कुरा एउटा भयो। तर आम रुपमा जस्तो बुझाई विकास हुन थालेको छ, त्यसले राम्रो गर्दैन भन्ने लाग्यो। र, मैले अखिल छाडेँ। र, महिला राजनीतिमा लागेँ।

यस्तो हुँदै गर्दा साथीहरुले हाम्रो ‘छिटो विहे होस्, धेरै समय नलम्बियोस्’ भन्न थाले। हाम्रो विहे त्यति छिटो गराउन चाहिँ धनराज (आचार्य) जीले ठूलो भूमिका खेल्नुभयो। उहाँले हामी दुबैलाई सकेको सहयोग गर्नुभयो।

हामी दुबैको घरमा पनि कुराकानी भयो। मेरो घरमा खासै केही समस्या भएन। मैले पहिल्यै भनेको थिएँ, ‘विहे गर्ने भएँ भने म आफै भन्नेछु है!’ राजन दाई (प्रम केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार डा राजन भट्टराई) हुनुभएकाले पनि मलाई समस्या भएन।

यता (रवीन्द्रतर्फ) पनि परिवार एकदम खुसी भएर विहे भएको हो।

तपाईंको माइती पक्ष एमालेमा थियो, तपाईं मालेतिर लाग्नुभयो। रवीन्द्रका कारणले हो भनेर चलेको चर्चा साँचो हो?
हल्ला यस्तै चलाइएको थियो। ‘रवीन्द्रजीका कारण विद्या माले भई’ भन्ने चर्चा चल्यो। तर, यस्तो चर्चाले मलाई पीडा दिन्थ्यो। पार्टी विभाजनका बेला म अखिलको केन्द्रीय कमिटीको सचिव थिएँ। अखिलको अध्यक्षदेखि सदस्यसम्मका साथीहरु मालेतिर लागेका थिए। तर, मलाई नै किन त्यसो भनियो त? त्यसो भए, सबैका एउटा एउटा मान्छेसँग सम्बन्ध भएकाले मालेतिर लागेका हुन् त? त्यस्तो त होइन नि!

‘इष्यु’ का कारण मानिसहरु मालेमा लागेका थिए, एउटा माहोल थियो। मालेले उठाएको ‘इष्यु’ माथि धेरै प्रश्न उठे होलान्। दुई बर्षपछि फेरि एमाले–मालेबीच एकिकरण हुँदा धेरै प्रश्न सिर्जना गरिए होलान्। तर ‘इष्यु’ ले त मानिसलाई एक ठाउँमा ल्याउँछ नि! ‘इश्यु’ ले मानिसलाई एक ठाउँमा ल्याएको बेला ममाथि त्यति ठूलो प्रहार भयो।

त्यो बेला मलाई लाग्यो, महिलाको विवेकलाई बन्धक बनाउन खोजिँदो रहेछ। उसको पनि विवेक हुन्छ, उसको पनि दृष्टिकोण हुन्छ भनेर सोच्दा रहेनछन् त्यति राजनीति बुझेका साथीहरुले पनि।

हो, अखिलको केन्द्रीय सचिवालयमा उमेरले सबैभन्दा म सानो थिएँ। तर, बुझाई नभई त्यो तहसम्म पुगेको थिइनँ होला नि त! उमेरमा फरक भएपनि उहाँहरुको र मेरो बुझाईमा त्यति धेरै फरक थिएन। त्यो लेवलको बुझाई भएको महिलामाथि जस्तो आरोप लगाइयो, त्यसले मलाई साह्रै नरमाइलो लाग्यो। यो कुरा त्यतिबेला मैले केही साथीहरुलाई भनेको पनि थिएँ।

तपाईं मालेतिर लाग्दा माइतितिर कुनै अप्ठेरो प¥यो कि परेन?
खासै परेन। दाई (राजन भट्टराई) लाई ‘बहिनीपनि मतिरै भए हुन्थ्यो, बहिनीलाई पनि कन्भिन्स गर्न सकिनँ’ भन्ने लाग्यो होला। तर, उहाँले कहिल्यै पनि ‘तिमीले यस्तो ग¥यौ’ भन्ने गुनासो गर्नुभएन।

उहाँ मलाई असाध्यै मायाँ गर्नुहुन्छ। ‘तँ’ नै भन्नुहुन्छ। उहाँले एकदिन भन्नुभयो, ‘नानी, तँ आफै बुझ्ने मान्छे छस्, मैले धेरै के भन्ने। तर हामी दुबै एकै ठाउँमा भा’को भए राम्रो हुन्थ्यो। तर, फरक फरक ठाउँमा भइयो।’

दाईको त्यो भनाई, कुराकानी आदि सबै कुराले गर्दा पनि मैले ‘राजनीति भन्दा अर्काेतिर जाँदा उपयुक्त हुन्छ’ भन्ने सोचेकी हुँ। राजनीतिका सन्दर्भमा महिलालाई स्वतन्त्र रुपमा नहेरिने रहेछ भन्ने अनुभूत गरिसकेकी थिएँ। एकैठाउँमा रहँदा कहिले दाईसँग जोडिने, कहिले रवीन्द्रजीसँग जोडिने। ‘मेरो स्वतन्त्र अस्तित्व त बरु अर्काे क्षेत्रमा गएँ भने बनाउन सक्छु’ भन्ने लाग्यो।

रवीन्द्रजीसँग प्रेमको सुरुवात र विहेसम्मको ३–४ बर्ष सम्बन्धमा कस्ता कस्ता उतारचढाव रहे?
हामीलाई भन्दा अरुलाई धेरै चिन्ता भयो। त्यसले गर्दा म धेरै बहकिएँ पनि। मेरो परिवार अलिक धेरै एमाले, धेरै इष्टमित्रहरु पनि एमाले। इष्टमित्रहरुले रवीन्द्रजीलाई धेरै चिन्नुभएको पनि थिएन। उहाँ (रवीन्द्र) माले हुनुभयो। त्यतिबेलाको माले भनेको एमालेबाट फुटेर गएको, एकदम विद्रोही हो भन्ने जस्तो थियो। त्यो स्थितिमा बिहे हुन्छ कि हुँदैन, विद्यालाई धोका दिने पो हो कि भन्ने भयो।

सम्बन्धका सन्दर्भमा छोरीपक्षतिर अलिक धेरै असुरक्षा महसुस हुने रहेछ। त्यस्ता त्यस्ता कुरा हुन थालेपछि म आफैमा पनि असुरक्षाभाव आयो। ‘यस्तो धेरै कुरा आउन थाले, बरु चाँडै बिहे गरिदिए हुन्थ्यो’ भन्ने लाग्न थाल्यो।

जब म यो कुरा उहाँलाई भन्थेँ, उहाँ जवाफ दिनुहुन्थ्यो, ‘बिहे नै ठूलो कुरा होइन। बिहेका लागि निश्चित अवस्था बन्नुपर्छ। त्यो अवस्था बनाएर हिे गरौँ। किन आत्तिने? तपाईंलाई कसैले केही भन्छन् भने भन्न दिनुस् न, जे जे भन्छन् भनुन्। तपाईं आफू ‘कन्फिडेन्ट’ हुनुहुनुस् न! तर आफैमा ‘कन्फिडेन्स लुज’ भएजस्तो मैले देखेँ।’

तपाईं के भन्नुहुन्थ्यो?
उहाँ धेरै फराकिलो कुरा गर्ने क्या! मैले गरेका कतिपय प्रश्नहरु सम्झँदा त्यतिबेला ममा प्रेम र विवाहलाई हेर्ने विषयमा त्यतिबेला धेरै फराकिलो दृष्टिकोण बनिसकेको रहेनछ भन्ने अहिले आएर ‘फिल’ हुन्छ।

‘मुभमेन्ट’ का साथीहरुलाई म साह्रै नजिक ठान्थेँ। उहाँ (रवीन्द्र) ले भनेका कुरा भन्दा ‘मुभमेन्ट’ मा लागेका साथीहरुले भनेका कुरा साह्रै विश्वास गर्थेँ। रवीन्द्रजीले भन्दा यी साथीहरुले पो धेरै मायाँ गर्दारहेछन् कि क्या हो जस्तो लाग्थ्यो।

अनि जब म उहाँलाई प्रश्न गर्थें, उहाँ जवाफ दिनुहुन्थ्यो, ‘तपाईंजत्तिको मान्छेले आफू के हुँ, परिस्थिति के हो, त्यो बुझ्नुपर्छ। बिहे त हामी दुईबीचको मामिला र समझदारीको कुरा हो नि! हामीले गरेको समझदारीमा हामी अडिग भयौँ भने जसले जे भनेपनि, जस्तोसुकै पहाड आएर खसेपनि केही हुन्न। हाम्रो सझदारीको कुरा अरुलाई बताइरहनुपर्ने जरुरी छैन नि!’

उहाँसँग कुरा गरेपछि म अलिअलि ‘कन्भिन्स’ त हुन्थेँ। फेरि, अनि वाहिरका कुराहरुले प्रभावित पारिहाल्थ्यो।

बिहे भएपछि रवीन्द्रजीले ‘तिमीले मलाई कति अविश्वास गरेकी थियौ है!’ भनेर जिस्क्याउनु पनि भयो होला, होइन?
उहाँले कहिल्यैपनि मलाई ‘तिमी’ भन्नुहुन्थेन। ‘हजुर’ भन्ने हो बरु। ‘तिमी– तपाईं’ केही नभनी ‘यस्तो गरौँ’ भन्नुहुन्थ्यो। ‘विद्याजी’ नै भन्नुहुन्थ्यो। घरमा आमा, भाई–बहिनीहरुसँग ‘भाउजुले यसो गर्छ’ भन्नुहुन्थ्यो।

बिहेका सन्दर्भमा तपाईंले उहाँमाथि गरेको आशंका झुठो त भयो नि, होइन? अहिले सम्झँदा कस्तो लाग्छ?
यो कुरा मैले एउटा ‘इन्टरभ्यू’ मा पनि भनेको छु। ०५९ मा ‘रेडियो पोखरा’ ले मेरो ‘इन्टरभ्यू’ लिएको थियो। त्यसमा मैले भनेको थिएँ, ‘मैले ‘लाष्ट आवर’ मा उहाँ (रवीन्द्र) लाई अविश्वास गरेको थिएँ। त्यो बेला ममा एकप्रकारको अविश्वास पैदा भयो, त्यो बेला मैले उहाँलाई पीडा दिएको छु। मेरो अविश्वास गलत थियो भनेर कहिलेकाहीँ मलाई ‘गिल्टी फिल’ हुन्छ।’

त्यो अविश्वासको विषयलाई लिएर रवीन्द्रजीसँग ठट्टा हुन्थ्यो कि हुँदैनथ्यो?
हुन्थ्यो। जिस्क्याउँदै उहाँ भन्नुहुन्थ्यो, ‘हाम्रो बिहे अरुले नै गराइदिएका हुन्।’

किनभने, हाम्रो विहेको बारेमा हामीलाई भन्दा अरुमा धेरै चिन्ता देखिएको थियो।

‘हजुरले त मलाई पुरै अविश्वास गर्नुभएको हो नि!’ भनेर जिस्क्याउनु हुन्थ्यो कहिलेकाहीँ।

‘अविश्वास भएको भए त विहे नै हुन्नथ्यो नि, विश्वास भएर पो विहे भयो त’ भन्दै म हाँस्थेँ।

जे होस्, राजनीतिले व्यक्तिगत जीवनलाई पारेको प्रभाव थियो त्यो।

हामीकहाँ विहे, प्रेम सबैलाई राजनीतिको एजेण्डा बनाइदिने प्रचलन छ। त्यो कुराले उहाँलाई प्रभाव पारेन। किनभने, उहाँले कुरा बुझ्नुभएको थियो।

तर, म प्रभावित भएँ। किनभने मैले कुरा बुझेको थिइनँ।

तपाईंहरुको बिहेमा पार्टी (तत्कालिन माले) का नेताहरुको कस्तो भूमिका रह्यो?
बिहेमा सबैजना आउनुभएको थियो। वामदेव (गौतम) कमरेड त ‘लाष्ट’ सम्मै बस्नुभयो। थियो। उहाँहरु निकै खुसी हुनुभएको थियो, ‘राम्रो जोडी आज सही सम्बन्धमा बाँधियो’ भनेर। हामी उहाँसँग दिनभरि सँगै बस्यौँ।

हाम्रो बिहे अलिक फरक हिसावले भयोजस्तो लाग्छ। हामीले अरु धेरै संस्कार गरेनौँ। संस्कार मान्नेका लागि हामीले गलत गर्यौँ जस्तो पनि लाग्नसक्छ। किनभने, हामीले ‘कोर्ट म्यारिज’ गरेका हौँ। त्यसपछि साथीभाई बोलाएर जमघट गरियो। धेरैले हामीलाई असाध्यै मायाँ गर्ने, चिन्ता गर्ने समूह ठूलो थियो। त्यसैले, ‘कोर्ट म्यारिज’ पछि गरिएको जमघट ठूलो थियो।

बिहेका नाममा हामीले स्वयम्वर मात्र गर्यौं। 

दुई जनाबीचको प्रेमलाई बिहेमा परिणत गर्न पारिवारिक कुराकानी कसरी भयो?
मेरोतर्फबाट राजन दाईले आमाबुबासँग कुरा गर्नुभयो। पछि झलक (सुवेदी) दाई, धनराज (आचार्य) हरुले मसँग कुरा गर्नुभयो। बिहे कसरी गर्ने भन्ने विषयमा रवीन्द्रजी र मैले पनि कुरा गर्यौँ।

रवीन्द्रजी कस्तो मान्छे भने, ‘बिहेका बेला जग्गेमा बसेर कन्यादानका नाममा खुट्टा धुने कामचाहिँ हुन्न है’ भन्ने जतिबेलापनि। मेरो बुबा पण्डित, जग्गे खोज्ने। त्यसैले, उहाँले त्यसो भन्नुभएको थियो।

म भन्थेँ, ‘बुबालाई त म ‘कन्भिन्स’ गरिहाल्छु नि!’

रवीन्द्रजीसँग कहिले भेट भएको हो, सम्झना छ?
ठ्याक्कै कहिले भेटेँ भन्ने त सम्झना छैन। तर, मैले उहाँलाई पहिलो पटक भेटेको ०४८ मा पोखरामा हो। त्यो भेटमा कृष्ण थापा, तुलबहादुर गुरुङ, रवीन्द्रजी लगायत हुनुहुन्थ्यो।

त्यसपछिको भेट हेटौँडामा चैत्र ०४९ भयो, अखिलको राष्ट्रिय सम्मेलनका क्रममा। त्यहाँबाट उहाँ अखिलको कोषाध्यक्ष हुनुभयो, म महिला विभाग प्रमुख भएँ। यस हिसावले, ०५० भन्दा अघि हाम्रो त्यस्तो धेरै चिनजान थिएन।

बाहिरको साथीसँग धेरै बोलिहाल्ने ‘नेचर’ को म थिइनँ। अरु साथीहरुचाहिँ हँसिमजाक गर्ने, रवीन्द्रजीमा अझ यो स्वभाव धेरै थियो। ०४९ अघि राष्ट्रिय परिषदको बैठकमा भेट हुन्थ्यो। राष्ट्रिय परिषदको जमघट ठूलो हुन्थ्यो। सचिवालयको संख्या पनि थोरै थियो। सचिवालयमा आएपछि चाहिँ नियमित भेट हुन थाल्यो।

प्रेम नै हुने गरी रवीन्द्रले कहिलेदेखि प्रभाव पार्न सुरु गर्नुभयो?
मलाई रवीन्द्रजीका दुई–तीनवटा कुरा मन पथ्र्याे। एउटा, उहाँ काम भनेपछि एकदम मन पराउने त्यतिबेलैदेखि। ०५१ मा र्कीर्तिपुरको स्ववियू सभापति हुनुभएको थियो। सभापतिका रुपमा एकदम राम्रो काम गर्नुभएको थियो।

अर्काे कुरा, उहाँ एकदमै सहयोगी हुनुहुन्थ्यो। जस्तोः मैले कुनै काम गरिरहेको छु भने, ‘तपाईंलाई गाह्रो भइरा’को छ कि’ भनेर सोध्ने। मलाई मात्र होइन, अरु सबैलाई सोध्ने गर्नुहुन्थ्यो। महिलासँग पनि, पुरुषसँग पनि। महिला साथीहरुभित्रपनि सबैसँग समानखालको व्यवहार गर्नुहुन्थ्यो।

सामुहिक रुपमा पनि र छुट्टाछुट्टै भेटेरपनि ‘गाह्रो भइरा’को छ भने भन्ने गर्नुस् है!’ भन्ने गर्नुहुन्थ्यो।

‘मोटिभेट’ पनि प्रभावकारी रुपमा गर्नुहुन्थ्यो। ‘पढ्नुपर्छ, आफ्नो जीवन कस्तो बनाउने भन्ने बारेमा आफ्नो जीवनको मार्ग आर्फ बनाउनु पर्छ’ भन्नुहुन्थ्यो। ‘पढ्नुपर्छ’ भन्ने कुरामा एकदमै उत्प्रेरित गर्नुहुन्थ्यो।

यससम्बन्धी कुनै घटना छन्?
म अखिलको नेतृत्वमा आएको बेला थियो, बीएको पढाईमा म अलिक अल्मलिरहेको थिएँ। त्यो बेला उहाँले म, ममता (गिरि) लगायतलाई भन्नुभयो, ‘बरु ट्युसन चाहिन्छ भने पढ्नुहोस्, बरु म ट्युसन पढाउने शिक्षक खोज्छु।’

उहाँ त्रिविको स्ववियू सभापति हुनुहुन्थ्यो, ‘म टियूमा छु, पढाउने साथीहरु खोज्छु’ भन्नुभयो। विश्वविद्यालयमा डिग्री पढिरहेका साथीहरुलाई ट्युसन पढाउने शिक्षकका रुपमा खोजिदिनुभयो। त्यसपछि हाम्रो एउटा ग्रुप, अरु साथीहरुको अर्काे ग्रुप बनाएर ट्युसन पढ्न थाल्यौँ।

अग्रज अरु साथीहरुले राजनीतिमा सक्रिय हुन ‘मोटिभेट’ गरेपनि पढाईका लागि ‘मोटिभेट’ गरेको मैले पाएको थिइनँ। आफ्नो बारेमा सोच्ने त छँदैछ, अरुको बारेमा पनि चिन्ता लिने स्वभावले गर्दा सामुहिक रुपमा सोच्ने क्षमता यो मानिसमा रहेछ भन्ने मलाई लाग्थ्यो।

उमेरका हिसावले धेरै विश्लेषण गर्ने क्षमता त हाम्रो थिएन, तर ‘यो सहयोगी मान्छे हो, मित्रता राख्न सक्ने मान्छे हो, अरुको दुखमा साथ दिने खालको मानिस हो’ भन्ने ‘इम्प्रेसन’ चाहिँ नियमित भेटघाट हुन थालेपछि पर्न थालिसकेको थियो।

पाथिभरा दुर्घटना

त्यो दुखद घटनाको जानकारी कसरी पाउनु भयो?
त्यो दिन सभा दश बजे म कीर्तिपुर पुगेकी थिएँ। अलिक धेरै काम थियो। त्यसैले, त्यहाँ पुगेपछि मोवाइल ‘साइलेन्ट’ गरेँ। पौने दुई (१.४५) बजेसम्म मलाई केही थाहा थिएन। सभा एक (१.१५) बजे एउटा फोन आएको थियो। त्यो फोन एउटा कार्यक्रमको निधोका लागि थियो। मैले त्यो कार्यक्रम निधो गरेँ, म आउँछु भनेर।

ठ्याक्कै पौने दुई बजे हेर्दा राजन दाईको फोन आएको रहेछ, योगेश (भट्टराई) दाईले पनि फोन गर्नुभएको रहेछ। उहाँहरुलाई ‘कलब्याक’ गर्छु भन्दाभन्दै योगेन्द्र शाहीजीको फोन आयो। उहाँले भन्नुभयो, ‘विद्याजी, तपाईं कहाँ हुनुहुन्छ?’

मैले आफू कीर्तिपुरमा रहेको बताएँ।

‘रवीन्द्रजी कहाँ जानुभा’ हो र, पूर्व जानुभा’ हो र?’ भनेर सोध्नुभयो। मैले ‘हो’ भनेँ।

उहाँले फेरि सोध्नुभयो, ‘तपाईंसँग ‘कन्ट्याक्ट’ भएको छ कि छैन?’

रवीन्द्रजी र म दुबै घरबाट निस्केपछि एक अर्कालाई खासै फोन गर्दैनथ्यौँ। बरु ‘टेक्स्ट’ गथ्र्याैँ। मन्त्री भइसकेपछि त उहाँ कहिले भैरहवा पुगेको हुने, कहिले कहाँ। एकैदिनमा काठमाडौँ बाहिर ३–४ ठाउँ पुग्नुहुन्थ्यो उहाँ। त्यसैले कहाँ हुनुहुन्छ भनेर सोध्ने कुरा भएन, आवस्यक पनि भएन।

त्यसैले, योगेन्द्रजीसँग मैले भनेँ, ‘मैले कन्ट्याक्ट गरेको छैन।’

‘अलि अलि अपुष्ट समाचार आयो, तपाईंले पनि यसलाई खोजी गर्नुस्, म पनि खोज्छु’ उहाँले भन्नुभयो।

मैले सोधेँ, ‘के भयो र?’

‘हेलिकोप्टर हराएको भन्ने कुरा आएको छ। तर नआत्तिनुस्, कन्फर्म गर्नुस् तपाईंले पनि। फेसबुकमा आएको हो, आधिकारिक होइन, त्यसैले यो ‘फेक न्युज’ पनि हुनसक्छ’ भनेर योगेन्द्रजीले भन्नुभयो।

फेसबुकमा अनेक कुरा आउँछन्, ‘फेक’ कुरा पनि आउँछन्। अरुहरु ‘केस’ मा ‘फेक’ कुराहरु पनि आइरहेका थिए। त्यसैले, मैले ‘ए हस्’ भनेर फोन राखेँ।

योगेन्द्रजीको फोन राख्ने बित्तिकै रवीन्द्रजीको पिए कृष्णजीलाई फोन गरेँ। उहाँको फोन ‘बिजी’ थियो। त्यहाँ फोन गर्दागर्दै योगेश दाईको फोन आयो।

‘विद्या, तपाईं कहाँ हुनुहुन्छ?’ भनेर सोध्नुभयो। मैले आफू कीर्तिपुरमा रहेको बताएँ।

उहाँले ‘म एयरपोर्ट जाँदैछु नआत्तिनू, तर त्यहाँबाट हिँड्नू’ भन्नुभयो।

यस्तो सन्देश सहितको फोन आउँदा कत्तिको आत्तिनुभयो?
अलि–अलि आत्तिने त भइहाल्यो। योगेन्द्रजीले ‘फेक’ भनेपनि त्यस्तो कुरा आएपछि मन अलिअलि अप्ठेरो हुन थालिहाल्यो। योगेश दाई लगत्तै राजन दाईको फोन आयो। उहाँले सोध्नुभयो, ‘तँ कहाँ छस् त!’

मैले भनेँ, ‘म कीर्तिपुरमै छु दाई!’

‘अब निस्की’, उहाँले भन्नुभयो। त्यसबाहेक अरु केही भन्नुभएन।

योगेश दाईले ‘म एयरपोर्ट जाँदैछु’ भन्नुभएको थियो। राजन दाईले ‘अब निस्की’ भनेपछि म निस्केँ। मेरो शरीर अलिअलि काँप्न थाल्यो। त्यति छिटो आत्तिने मान्छे त होइन म। तर, ‘के भयो, के भयो’ भन्ने भयो।

अफिसमा मैले कोठाका फाइलहरु लथालिङ्गै पारेको थिएँ। फोन आउँदा म ती फाइलहरु मिलाउँदै थिएँ। शरीर अलिअलि काँपिरहेको थियो। त्यतिबेलै प्रशासन प्रमुखले भन्नुभयो, ‘मेडम, पौने दुई भइसक्यो, तपाईं चिया खानपनि जानुभएको छैन आज। भोक लागेन?’

घटनाबारे झ्याप्प उहाँलाई भन्न अप्ठेरो लाग्यो। मैले उहाँलाई ‘अलिक नजिक आउनुस् न’ भनेँ। उहाँलाई भनेँ, ‘हेर्नुस् न, मैले त के–के सुनेँ। चिया खाने होइन, म त अब जाने...!’

‘के सुन्नुभयो?’ उहाँले सोध्नुभयो।

‘हेलिकोप्टर हरायो रे भन्ने सुनेँ’, मैले भनेँ।

‘कस्को?’ एकदमै चिच्याएर उहाँले सोध्नुभयो।

खासमा त्यहाँ मलाई म रवीन्द्रजी वा मन्त्रीको श्रीमति हुँ भनेर कसैले चिन्दैनथे। मैले उहाँ मेरो श्रीमान् हो भनेर भनेकी थिइनँ। म आफ्नै हिसावले काम गर्थेँ।

‘मेरो श्रीमान् चढ्नुभएको हेलिकोप्टर हराएको हो, निस्केँ है म्याडम’ भनेँ।

उहाँले एकदम छिटो–छिटो ‘जानु न म्याडम, जानुस्–जानुस्’ भन्नुभयो।

त्यहाँबाट निस्केर मैले त्रिवि अनुसन्धान केन्द्रका डाइरेक्टर प्राध्यापक डा निलम शर्मालाई फोन गरेँ। रवीन्द्रजी उहाँको पनि विद्यार्थी। मैले घटनाबारे सुनाएपछि नीलम सर झन् आत्तिनुभयो। ‘बर्बाद भयो विद्या, गैहाल्नुस्’ भन्नुभयो।

पानी परिरहेको थियो। आफूसँग साधन थिएन। ‘ट्याक्सी चढ्छु’ भन्ने सोचेकी थिएँ, कीर्तिपुरमा ट्याक्सी पाउन गाह्रै हुने। अल्लि वर आउँदै थिएँ, बल्खु अफिसबाट रजिष्ट्रार सरको साथीले फोन गर्नुभयो।

उहाँले सोध्नुभयो, ‘तपाईं कहाँ हुनुहुन्छ।’

मैले भनेँ, ‘बल्खुमै छु, बाटोमै छु।’

‘गाडी छ?’ उहाँले सोध्नुभयो।

‘छैन, म हिँड्दै जाँदैछु’ भनेँ।

‘पर्खनुस्, गाडी आउँदैछ’,उहाँले भन्नुभयो।

म कुमारी क्लब अगाडि बसेँ। त्यो बेलासम्म कति फोन आयो–आयो। के भन्ने–भन्ने, मसँग जवाफ थिएन। तारन्तार फोन आइरहेपछि झन् आत्तिन थालेँ।

आत्तिन थालेकै बेला गाडी आयो, चढेँ। सानेपा आइपुगेपछि एउटा फोन आयो। फोन एमफिल सँगै गरेको साथी निर्मलाजीको थियो। उहाँले भन्नुभयो, ‘दिदी, तपाईं कहाँ हुनुहुन्छ! नआत्तिनु है, हेलिकोप्टर ‘डाइभर्ट’ भएको भन्ने न्यूज आएको छ।’

दुखको बेला थियो, त्यत्ति कुराले थोरै भएपनि मलाई राहत भयो। उहाँले फोन राख्ने बित्तिकै शिव गुरुङले फोन गर्नुभयो, ‘विद्याजी, हेलिकोप्टर संखुवासभातिर ‘डाइभर्ट’ भएको भन्ने कुरा आएको छ। नआत्तिनुस् है, तपाईं आत्तिनु भएको होला भनेर मैले फोन गरेको।’

हेलिकोप्टर संखुवासभातिर ‘डाइभर्ट’ भएको भन्ने कुरा सुनेपछि केही भएको रहेनछ भन्ने भयो।

क्वार्टर (पुल्चोक मन्त्री निवास) कतिबेला पुग्नुभयो?
सिधै आएँ। क्वार्टरमा मानिसहरु आउने क्रम सुरु भइसकेको रहेछ। म आइपुग्दा सानो बाबु (छोरा स्वराज अधिकारी) स्कूलबाट आइसकेको थियो। ‘हेलिकोप्टर हरायो’ भन्ने कुरा सुन्यो भने उ डराउने भयो, उसले ‘यो न्यूज थाहा पायो कि!’ भन्ने कुराले मलाई डर लाग्यो।

मैले ‘बाबु!’ भनेर बोलाएँ। उसले ‘नर्मल’ हिसावले नै ‘हजुर’ भन्यो। ‘यसले थाहा पाएको रहेनछ, यो न्यूज उसलाई नभनौँ’ भन्ने भयो।

त्यसैबेला इन्दिरा (पन्त) जी र सीता (ओझा) दिदी आइपुग्नुभयो। तर, मैले उहाँहरुलाई के भनेँ भने, ‘डाइभर्ट भएछ नि है!’

उहाँहरु दुबैजनाले ‘हो’ भन्नुभयो। तर, त्यतिबेलासम्म हेलिकोप्टर दुर्घटना भएको र रवीन्द्रजीहरु त्यसमा परेको कुरा पुष्टि भइसकेको रहेछ। तर, यो कुरा उहाँहरुले मलाई भन्नुभएन।

‘रवीन्द्रजी रहनुभएन’ भन्ने कुरा कतिबेला थाहा पाउनुभयो?
साँझ पाँच बजेमात्र। करिव दुई घण्टा ‘कन्फ्युज्ड’ जस्तै थिएँ म। मानिसहरु आउने क्रम जारी थियो। उहाँहरु सबैले ‘आशा गरौँ, सकरात्मक होस्’ भनिरहनुभएको थियो। तर मलाई चाहिँ ‘के हो, के हो’ भइरहेको थियो।

त्यसबीचमा राजन दाई आउनुभयो। उहाँले निवासको माथि कोठामा बोलाउनुभयो। र, भन्नुभयो, ‘अब यस्तो भयो नानी....!’

त्यसपछि त म विक्षिप्त भइहालेँ।

परिवारलाई सम्झाउने स्थिति कस्तो रह्यो?
दुई–तीन दिन रहेन। आमा–बालाई हुने पीडा झन् ठूलो हुन्छ। आमा सम्हालिन खोज्नुभएको थियो, तर सक्नुभएन। बालाई त झनै धेरै विक्षिप्त हुनुभयो। म आफैपनि अरुलाई सम्हाल्न सक्ने स्थिति थिएन। यद्यपी, मैले बाहिर एकदमै रोएर पीडा देखाइनँ। त्यो स्थितिमा अरुलाई सम्हाल्न सक्ने स्थितिमा म आफै थिइनँ।

बच्चाहरु दुबै सम्हालिए। आमालाई त अझ सानो बाबुले सम्झायो। ठूलो बाबु इण्डियामा थियो, उपनि आयो। घटना सुन्ने बित्तिकै बरु उतै (इण्डिया) मै चार घण्टा बेस्सरी रोएछ। यता आइसकेपछि उसले हामी सामु आँसु–पीडा देखाएन।

दुर्घटनामाथि विभिन्न प्रश्न उठे, त्यसबारे तपाईंको धारणा के छ?
खासै बुझिनँ मैले। विभिन्न कुराकानीहरु त सुनेँ, यस्तो नभएको भए हुन्थ्यो भन्ने। तर, कोही बाँचेको थिएन। त्यसैले, तथ्यका विषयमा अनुमान गर्ने कुरामात्रै थियो। अनुमान गरेर बोल्ने कुरा कति तथ्यमा आधारित हुन्छ र?

घटना भइसक्यो, घटनाका कारण हामी आफै दर्दमा थियौँ। त्यो बेला के भन्नु? अहिले पनि ममा धेरै प्रश्नहरु उठेका छैनन्। आयोग बनेको छ, आयोगले छानविन गरिरहेको होला। उपकरण पुगेन भन्ने कुरा आइरा’थ्यो बीचमा।

अगाडि नै सोच्नुपर्ने कतिपय कुराहरु आफैमा नसोचिएको हो। त्यसलाई कति आशंकाको आँखाबाट हेर्ने? ‘यस्तो गर्दिया’ भए त्यस्तो हुन्नथ्यो’ भन्ने एउटा सद्भाव व्यक्त बाहेक गर्ने बाहेक अरु केही छैन।

त्यो दुर्घटना हुनुअघि आशंका सिर्जना गर्ने कुनै घटना परिवारमा भएको थियो?
त्यो घटना हुनुभन्दा पाँच दिनअघिको कुरा हो। उहाँ पोखरा जानुभएको थियो। बेडमा सानो बाबु र ममात्रै सुतेका थियौँ।

विहान उठ्नेबित्तिकै उसले भन्यो, ‘मामु, आज म ‘मुड अफ’ छु।

मैले सोधेँ, ‘किन बाबा?’

उसले भन्यो, ‘बाबाको प्लेन क्र्यास भयो, बाबा रहनुभएन।’

बाबा (रवीन्द्र) प्लेनमा हिँडिराख्ने, त्यसैले मैले भनेँ, ‘हैट्, बाबा धेरै प्लेनमा हिँड्नुहुन्छ। सोच्यो धेरै, अनि यस्तो भयो।’

‘उठ ल उठ, ब्रस गर’ पनि भनेँ।

उ उठ्यो र वाथरुम गयो। ब्रस गरेर आएपछि ‘दुध–चिउरा खाऊ’ भनेँ। खाएपछि उसले फेरि भन्यो, ‘मामु, मलाई गाली नगर्नु है! नहप्काउनु है!! त्यो कुरा मैले सपनामा देखेकै हो।’

‘म आज स्कूल जान्न है, कसरी जाऊँ भा’ छ’, उसले भन्यो।

बच्चाले भनेको कुरा, मैले धेरै विश्वास गरिनँ। सपना देख्यो नै भन्ने पनि लागेन। ‘धेरै कल्पना ग¥यो होला, अनि यस्तो भयो’ भन्ने भयो।

उ स्कूल गयो। स्कूलबाट उ फर्कंदा रवीन्द्रजी पोखराबाट काठमाडौँ आइसक्नुभएको थियो।

स्कूलबाट फर्किने बित्तिकै सोध्यो, ‘बाबा आउनु भयो?’

आइसक्नु भयो बाबा त’ मैले भनेँ।

‘ओ हो, म त कस्तो खुसी भएँ’ भन्यो।

‘तिमीले अनेक अनेक सोचेकाले सपना देख्यौ, त्यस्तो सोच्न हुन्न है अब’, उसलाई भनेँ।

खासमा त्यो सपना मैले पनि बिर्सिसकेको थिएँ। उ त बच्चा न भयो, उसले पनि बिर्सिसकेको थियो।

यो कुरा रवीन्द्रजीलाई भन्नुभयो?
भनिनँ। मैले के ठानेँ भने, उसले के–के सोच्यो, किनभने बाबा हिँडेपछि उ एकदम ‘मिस’ गथ्र्याे। पानी पर्यो भने ‘पानी पर्यो, बाबा कसरी आउनुहुन्छ’ होला भनेर चिन्ता लिइराख्थ्यो। ‘बाबा आज आउनुहुन्न’ भन्यो भने असाध्यै पिर मान्ने गथ्र्याे।

त्यसैलेपनि उसको कल्पनाशीलताले काम गर्यो कि भन्ने लाग्यो मलाई।

तपाईंले पनि त्यस्तै कुनै सपना देख्नुभएको थियो कि!
मैले देखेको चाहिँ १५ दिनजति भएको थियो। सपनामा एउटा ठूलो चौर थियो, चौरमा ठूला रुख थिए। त्यो चौरको एउटा ठूलो पाटो नै बगाएको थियो।

आमा केही दिनअघिदेखि विरामी हुनुभएको थियो। २४ घण्टा नै अक्सिजन लिनुपर्ने स्थिति थियो। सपनालाई विश्वास गर्ने हो भने, यो आमातिर जान्छ भन्ने भयो मलाई।

म कहिलेकाहीँ यस्ता सपना देख्छु, सपनाको नकरात्मक परिणाम आएको पनि छ। त्यसैले, सपनालाई विश्वासै नगर्ने पनि होइन। ‘त्यस्तो सपना देखेँ, केही भइहाल्ने हो कि’ भन्ने चिन्ता लाग्यो।

तर, सपनाबारे धेरैबेर सोचेर बस्दिनँ म।

ठूलो छोराले पनि यस्तै सपना देखेको रहेछ। दुईजना दाजुभाई खाना खान बसेका रहेछन्। सानो भाई चाहिँ तल बसेको रहेछ। त्यसलाई के भन्ने खोई? तर, सानोले सपनामा जे दुर्घटना देखेको थियो, त्यस्तै भयो।

घटना घटिसकेपछि सानो बाबु ‘मलाई त्यही सपनाको याद आउँछ’ भन्दै कल्पेर रुन्थ्यो। त्यो सपना ५–६ दिनसम्म उसका लागि ‘ट्रमा’ भयो।

रवीन्द्रजीसँग भएका अन्तिम कुराकानी के के थिए?
अघिल्लो दिन (१४ फागुन) उहाँ निवास आइपुग्नुभयो। घटना भएको भोलिपल्ट उहाँको जर्मनी जाने तयारी थियो। सुटपाइन्ट लगायतका कपडा धुन दिएको थिएँ। उहाँले कपडाको स्थितिबारे सोध्नुभयो। मैले ‘सबै कपडा आइसके, सबै रेडी छ, भोलि मिलाउँला नि!’ भनेँ।

‘होइन, भोलि चुहानडाँडा (तेह्रथुम) जाने हो नि!’ उहाँले भन्नुभयो।

मैले भनेँ, ‘सधैँ यस्तै हतार हुन्छ है!’

उहाँले भन्नुभयो, ‘प्राइममिनिष्टरले त्यहाँ जाने भन्नुभएको छ, जानुपर्यो।’

त्यहाँ (तेह्रथुम) जाने कुराले उहाँ एकदम खुसी देखिनुहुन्थ्यो। ‘जाने हो, आइहालिन्छ नि!, पर्सि हो नि त फ्लाइट (जर्मनी जाने)’ भन्नुभयो।

उहाँ प्राय त्यस्तै हतारमा हिँड्ने हो। त्यसैले, मैले पनि त्यति ठूलो ठानिनँ। उहाँको ‘प्लान’ मा म कहिल्यैपनि हस्तक्षेप गर्दैनथेँ। ‘यस्तो गर्नुस्, यस्तो नगर्नुस्’ कहिल्यै भन्दैनथेँ।

उहाँमा कुनै समस्या थिए?
८–१० दिनदेखि उहाँलाई निद्रा नपर्ने भएको थियो। तर, अघिल्लो र त्यो दिन चाहिँ एकदम राम्रो निद्रा परेको थियो। बीचमा मुटुको परीक्षण पनि गर्नुभएको थियो। परीक्षणमा सबै कुरा ठीक देखियो।

त्यो घटना हुनुभन्दा अघिल्लो दिनमात्र उहाँले भन्नुभएको थियो, अब मलाई ‘हर्टअट्याक्’ हुँदैन। सब देखाएँ, राम्रो छ, अब मलाई केही हुँदैन।’

मुटुमा त्यस्तो कुनै समस्या थियो र?
त्यस्तो त थिएन। तर, अति व्यस्त मान्छे। कहिलेकाहीँ समस्या देखिन सक्छ नि!

त्यो दिन राति सुतेर उठेपछि उहाँले भन्नुभयो, आज त म मज्जासँग निदाएँ नि! म एकदम फ्रेस देखिन्छु है?’

मैले ‘हो नि’ भनेँ।

त्यही दिन माइलो (रवीन्द्रका) भाई धनगढी जाँदै हुनुहुन्थ्यो। उहाँ भर्खर जापानबाट आउनुभएको थियो। उहाँले ‘दाईलाई भेटेर जान्छु’ भन्नुभयो। तीन दिनपछि फेरि उहाँ जापान फर्कने योजना थियो। धनगढीबाट फर्कंदा दाई जर्मनी गइसक्ने भएकाले उहाँले ‘भेटेर जान्छु’ भन्नुभयो।

तल बैठक कोठामा भाईले ‘दाई, म कुरिरा’को’ भन्नुभयो। उहाँले ‘राम्रो गर्, म जर्मनी जान्छु, त्यसपछि भेटौँला है! म उता (जापान) आउन पनि सक्छु’ पनि भन्नुभयो।

भाई जानुभयो। उहाँपनि नुहाउनतिर लाग्नुभयो। मेरो पनि ‘रिसर्च सेन्टर’ जानुपर्ने, पौने दश (९.४५) बजेतिर निस्कने गर्थेँ। मैले ‘मपनि माथि जान्छु’ भनेँ। उहाँले ‘हुन्छ, केही पर्यो भने बोलाउँला नि!’ भन्नुभयो।

त्यसदिन उहाँसँग विदावारी चाहिँ कसरी हुनुभयो?
कतै जाने बेला म जहिल्यै ‘शुभयात्रा’ भन्ने गर्थेँ। भ्याउँदा गफ गर्दा भन्थेँ। नभ्याएको बेला तल गएर ‘शुभयात्रा’ भन्थेँ।

त्यो दिन उहाँसँग छुट्टिएपछि म माथिको माथि नै रहेँ, तल झर्दै झरेनछु। ‘शुभयात्रा’ भन्नै पाइनँ।

सानो बाबुले चाहिँ जहिल्यै स्कूल जाने बेला बाबालाई अंकमाल गथ्र्याे, ‘चुप्पा’ गरेर हिँड्ने गथ्र्याे। त्यसदिन उसले पनि बिर्सेछ, तल झरिसकेको रहेछ।

तर, फेरि फर्केर आएछ र ‘चुप्पा’ गरेछ। यति गरे उ फर्कंदै रहेछ। मैले देखेँ। मैले उसलाई भनेँ, ‘तिमी त स्कूल गएकै रहेनछौ नि त!’

उसले भन्यो, ‘मैले बाबालाई चुप्पा गर्नै बिर्सेछु नि त मामु! फर्केर चुप्पा गरेँ, अब म जान्छु।’

त्यसदिन विहानसम्म हाम्रो परिवारमा यस्तो खुसियाली थियो। यस्तो खुसियालीको स्थितिमै उहाँ जानुभयो।

त्यो घटना जोकसैका लागि पनि अकल्पनीय थियो। उहाँ आफैले केही अघिसम्म उता (तेह्रथुम) मा ‘पानी परिरहेको छ, काठमाडौँ पुग्नैपर्नेछ’ भनेर बुझिरहनु भएको रहेछ। तर, कसैले नसोचेको कुरा भैदियो।

वाइड बडी विमान प्रकरण

वाइड बडी विमान खरिद प्रकरणमा जोडेर उहाँमाथि प्रहार गरिँदै थियो। त्यसले उहाँलाई कत्तिको विचलित बनाएको थियो?
उहाँ विचलित हुनुभएको थिएन। हुन त, मिडियाले एकदम ठूलो गल्ती गरेको भन्ने ढंगले प्रस्तुत गरिरहेका थिए। कुनै गल्ती गरेको भए कसरी ढाक्ने भन्ने समस्या हुन्थ्यो होला। तर, ‘गल्ती गरेको छैन’ भन्ने कुरामा उहाँ स्पष्ट हुनुहुन्थ्यो।

त्यस विषयमा मसँग उहाँले २–३ वटा कुरा भन्नु भएको थियो।

एक, मैले तीन पटक लगातार चुनाव जितिसकेँ। दुई, म कामलाई प्राथकिता दिन्छु। कामलाई प्राथमिकता दिनेक्रममा म कतिपय जोखिमपनि मोल्ने गर्छु। त्यसक्रममा कतिपय ‘इन्ट्रेष्ट ग्रुप’ लाई म मन नपरेको हुनसक्छु।

तीन, काम गर्दै जाँदा ‘इन्ट्रेष्ट’ नमिल्नेहरुले मन नपराएपनि अरुले मन पराउन सक्छन्। त्यसैले, मेरो सामाजिक पहिचान ध्वस्त पार्न मलाई जोडेर ‘वाइड बडी’ जहाज खरिद प्रकरणलाई उछालिएको छ।

‘हवाई क्षेत्रमा पनि विभिन्न माफियाहरुको खेल छ। त्यो खेल मैले तोड्न खोजँे। त्यसैले,पनि यस्तो भएको हो। अर्काे कुरा, वाइड बडी खरिदबारे पहिल्यै प्रक्रिया सुरु भएको थियो। खरिदका लागि जे रकम गयो, त्यो सिष्टमबाट भएको कुरा हो’ भनेर उहाँले भन्नुभएको थियो।

अझ एकदिन त उहाँले के पनि भन्नुभयो भने, ‘विद्या, जुन अन्तिम किस्ता रकम गयो, त्यो गएको मलाई थाहै थिएन। कतिपय कुरा मन्त्रीलाई जानकारी नभैकन पनि हुने रहेछ। यस्तो कुरा मिडियामा भन्दा मन्त्री भएर पनि यस्तो कुरा भन्न पाइन्छ? भन्ने प्रश्न उठ्ने भयो। तर, वास्तविकता यही हो। मलाई थाहा नभइकन पनि काम हुने भएकाले मैले गएर संसदलाई थाहा थिएन भनेर आएँ।’

तपाईंले के प्रतिक्रिया जनाउनु भयो?
मैले भनेँ, ‘ब्युरोक्रेसीमा कतिपय ‘सिष्टम’ हुन्छन्। त्यो ‘सिष्टम’ बाट हुने कुरा मन्त्रीलाई थाहा नदिने हुन्छ। त्यसैले, अलिक बढी चासो दिँदै आफू प्रष्ट भएर बस्नुपर्छ। तपाईंलाई मैले धेरै कुरा के बताउनु पर्छ र?’

उहाँले भन्नुभयो, ‘कतिपय कुरा काम गर्दै जाँदा सिक्ने गइँदो रहेछ।’

अर्काे एकदिन मैले सोधेँ पनि, ‘त्यस्तो (वाइड बडी प्रकरणमा) केही भएको हो भने मलाई भन्दा हुन्छ।’

उहाँले भन्नुभयो, ‘होइन, यसमा त मेरो कहीँ कुनै गल्ती छैन। जानेर वा नजानेर मैले कुनै गल्ती गरेको छैन। यो ‘सिष्टम’ बाट गएको कुरा हो। यसलाई ‘इष्यु’ मात्र बनाइएको हो।’

‘यसले कुनै काम गर्न नसकोस्’ भनेर उहाँलाई रोकावट गर्न खोजिएको थियो। तर, आफू स्पष्ट भएकाले उहाँले बाहिर त्यस्तो उत्तेजना देखाउनु भएन।

‘राजिनामा गर्नुपर्छ’ भन्ने कुरापनि उठेको थियो, यसबारे कुनै कुरा भएको थियो?
एक पटक त मलाई पनि लागेको हो, राजिनामा दिँदा पो राम्रो हुने हो कि? अरु केही शुभेच्छुकले पनि ‘राजिनामा दिँदा राम्रो हुन्छ’ भन्ने सुझाव दिनुभएको थियो।

तर, राजिनामा दिँदा त्यसैलाई बहाना बनाएर झन् ठूलो आरोप लगाइदिने हुनसक्थ्यो। वाइड बडी खरिद सम्बन्धी समाचार र लेखहरु पढ्दा अधिकांस विषय नियोजित रुपमै उठाइएका देखिन्थे। त्यसलाई राजनीतिक मुद्दा बनाइँदै थियो। राजिनामा दिँदा त्यसलाई प्रष्ट पार्ने ठाउँ हुँदैनथ्यो। ‘जिम्मेवारीमै रहेर प्रष्ट पार्न सहज हुन्छ’ भन्ने सुझाव मैले पनि दिएँ।

मेरै यस्तो सुझावले काम गरेको भन्ने चाहिँ होइन। ‘यो मामिलामा रवीन्द्रजी दोषी हुनुहुन्न’ भन्ने प्रधानमन्त्रीदेखि सबैलाई थाहा थियो। त्यसैले उहाँहरु सबैले रवीन्द्रजीको बचाउ गर्नुभयो।

खासमा त्यो घटनाले उहाँलाई झन् बलियो बनायो। जिम्मेवारीमा रहेपछि यस्ता चुनौतीपनि सामना गर्नुपर्दो रहेछ भन्ने जानकारी भयो। पर्यटन मन्त्रालय जहिले पनि विवादमा परिरहने ठाउँ, उहाँले पनि केही विवाद बेहोर्नुपर्यो।

तर, उहाँलाई विवादमा पारिरहे पनि उहाँको काम गराईप्रति सबैको प्रशंसा थियो। त्यसैलेपनि उहाँले त्यो चुनौती सामना गर्न सक्नुभयो।

पार्टीभित्रैका विभिन्न समूहहरुको संयोजित रुप हो, मन्त्रिमण्डल। उहाँ पर्न कसरी सफल हुनुभयो?
त्यसबारे चाहिँ मलाई धेरै जानकारी छैन। उहाँलाई पनि धेरै थाहा थियो जस्तो लाग्दैन। कसरी बन्नुभयो होला भने, कास्की– २ बाट उहाँले लगातार तीन पटक जित्नुभएको। त्यहाँका जनताको भावना पनि उहाँ एकपटक मन्त्री बन्नैपर्छ भन्ने थियो। ‘काम गर्ने मान्छे, एक पटक मन्त्री हुनैपर्छ र काम गरेर देखाउनुपर्छ’ भन्ने सबैको अभिमत थियो।

उहाँको एउटा राम्रो पक्ष के थियो भने, ‘त्यो (मन्त्री) प्राप्त नभई हुन्न, नहुँदा त्यो मेरो प्रतिष्ठाको विषय हो’ भन्ने भावना उहाँमा थिएन। उहाँमात्र होइन, परिवारका हामी कसैको पनि यस्तो भावना थिएन। यो कुरा भन्दा कति पत्याइन्छ–पत्याइन्न, त्यो भिन्दै कुरा हो। तर, ‘यहाँ (साँसद) सम्म पुगेँ, अब यहाँभन्दा माथि (मन्त्रिमण्डल) जानुपर्छ’ भन्ने भावना उहाँमा थिएन।

हुन त, वाइड बडीमा मुछिएपछि राजिनामा नदिँदा ‘पदलोलुप, शक्तिको पछाडि लाग्ने’ जस्ता आरोपपनि लागे। तर, राजिनामा दिँदा आफूमाथि लगाइएको गलत आरोप प्रष्ट पार्न कठिन हुने हो कि भनेर उहाँले राजिनामा नदिनु भएको हो। राजिनामा दिएपछि त्यस्तो आरोप लगाउनेहरुले ‘दोषी थियो र त राजिनामा दियो’ भनिदिन सक्थे।

मन्त्री भइसकेपछि केही भन्नुभयो?
मन्त्री बन्ने–नबन्ने बारेमा हामीबीच कुनै कुराकानी हुँदैनथ्यो। उहाँ मन्त्री बन्ने हुनुभएछ। म एउटा मिटिङमा थिएँ। उहाँले फोन गर्नुभयो, ‘आज घोषणा गर्ने (मन्त्रिमण्डल गठनको) जस्तो छ, आफू आउन (शपथ ग्रहणमा) भ्याइन्छ कि भ्याइन्न?’

मैले भनेँ, ‘५ बजे आइपुग्छु नि त!’

तर, आउने क्रममा बाटोमा जाम पर्यो, म पुग्न सकिनँ। यो कुरा उहाँलाई भनेँ। हरेक कुरालाई सहज रुपमा लिने उहाँको स्वभाव, त्यसलाई पनि सहजै रुपमा लिनुभयो। ‘आएको भए नभ्याउने स्थिति थियो, ठीकै भयो’ भन्नुभयो।

यति लामो कुराकानी गरियो, तर ‘कास्की– २ मा रवीन्द्रजीको उत्तराधिकारी को?’ भन्ने अनुमान लगाउने स्थिति रहेन। यसबारे के भन्नुहुन्छ?
म उहाँहरुसँगै छु। अहिलेपनि छु, भोलिपनि हुनेछु। के र कस्तो रुपमा आउने भन्ने भन्दापनि, कास्की–२ का जनताले रवीन्द्रजीलाई जसरी मायाँ गर्नुभएको छ, नेकपालाई मायाँ गरेर जसरी स्थापित गराउनु भएको छ, यो कुरा म कहिल्यै बिर्सन्नँ। म हिजो पार्टीकै कार्यकर्ता थिएँ। त्यस हिसावले म सधैँ उहाँहरुको साथमा छु। उहाँहरुले राख्नुभएका अपेक्षा पुरा गर्न सधैँ जुनसुकै स्थानमा रहुँ, सधैँ उहाँको साथ लागेर जानेछु।

अहिले रवीन्द्रजीको स्मृतिमा एउटा प्रतिष्ठान स्थापना गर्ने तयारी गरिरहेका छौँ। त्यसको तयारी गर्दैछौँ। त्यो प्रतिष्ठानमार्फत् पनि धेरै काम गर्न सक्छौँ। म कुन रुपमा आउँछु भन्ने कुरा ठूलो होइन, म उहाँहरुसँग हुन्छु कि हुन्न भन्ने कुरा ठूलो हो। मैले उहाँहरुको जुन सद्भाव, मायाँ र सहृदयता पाएको छु। साथै देशैभरिका जनताले रवीन्द्रजीप्रति जुन मायाँ देखाउनु भएको छ, त्यसैले गर्दा हामी परिवारका सदस्यहरुले आफ्नो विचार राख्न सक्षम भएका हौँ।

त्यसैले, उहाँहरुको साथ–सहयोगको दरिलो खम्बा बनेरै म अगाडि बढ्छु। मैले कास्की–२ का बुबा–आमा, दाजु–भाई, दिदी–बहिनीहरुलाई भन्ने कुरा यही हो।

प्रकाशित १५ बैशाख २०७६, आइतबार | 2019-04-28 19:40:52
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...

  • ड्वेट आइजनआवर र बीपी कोइराला

    वीपीलाई अमेरिकी राष्ट्रपतिको प्रश्नः नेपालका कम्युनिस्ट पढालेखा छन्?

    चीनको सिमानामा पाइला राखेको भन्दै एक नेपालीको हत्या चिनियाँ सेनाबाट भएको थियो। प्रधानमन्त्री कोइरालाले चीनसँगको सीमामा नेपाली सेनाको शिविर स्थापना...

  • सुख्खा बन्दरगाह

    कन्टेनर पर्खाइमा लार्चा बन्दरगाह (फोटो/भिडियो)

    तातोपानी नाका सञ्चालनका लागि सबैभन्दा महत्वपूर्ण मानिएको सुख्खा बन्दरगाह चीन सरकारको सहयोगमा निर्माण सम्पन्न भएको छ। लार्चास्थित यो बन्दरगाह केही...

  • २६ वर्षदेखि प्रयोगशालामै छन् मदन-आश्रितका अंग

    दुर्घटनामा पर्नुअघि नेताद्वयको शरीरमा विषको मात्रा थियो कि थिएन भन्ने तथ्य बुझ्न भिसेराका रुपमा राखिएका शरीरका टुक्रा अनिल आयोगले नयाँदिल्ली पठायो।...