त्यो समय

‘जसले पञ्चायतकालमा भुँडी फुट्ने गरी खाए, तिनैले अहिले प्रज्ञामा नियुक्ति पाए’



Kshamadevi Group


देशभक्त खनाल
देशभक्त खनाल
फोटो/भिडियो: प्रबिन कोइराला

नेपाली अभिनय क्षेत्रमा परिचय दिइरहनु नपर्ने नाम हो, देशभक्त खनाल। तीसको दशकदेखि अभिनयको क्षेत्रमा निरन्तररूपमा समर्पित भई चार दर्जनजति नाटक र त्यति नै चलचित्रमा सशक्त अभिनय गरेर आफ्नो विशिष्ट परिचय बनाएका अभिनेता हुन् खनाल।

विद्यार्थीकालमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघबाट राजनीतिप्रति झुकाव राख्ने खनालले पछि वामपन्थी विचारधाराका कट्टर समर्थक भई गणतन्त्र स्थापनार्थ दुईवटै जनआन्दोलनमा सक्रिय भूमिका खेले। अहिले पनि उनी कर्मले लोकप्रिय अभिनेता र आस्थाले कट्टर वामपन्थी हुन्।

प्रस्तुत छ- यिनै प्रसंगमा खनालसँग गरिएको कुराकानीका सम्पादित अंशः

तपाई कसरी कम्युनिस्ट हुनुभयो?
राजनीतिरूप र सङ्गतमा दृष्टिले म नेपाली कांग्रेससँग नजिक थिएँ। लाकप्रिय पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीका श्रीमान् दुर्गा सुवेदी मेरो हाइस्कुलका हेडमास्टर नै हुनुहुन्थ्यो। उहाँ नेपाली कांग्रेसको सक्रिय कार्यकर्ता पनि हुनुहुन्थ्यो। त्यसपछि आचार्यहरूको परिवार- दुर्गा आचार्य (घिमिरे), महेश आचार्य, ज्योति आचार्यहरूसँग पनि संगत थियो, जो राजनीतिकरूपले नेपाली कांग्रेससँग आवद्ध थिए।

सुरुमा कांग्रेससँग सम्पर्क भयो, तर बन्नुभयो कम्युनिस्ट। कसरी भयो यस्तो!
सुरुमा म नेवि संघमै प्रवेश गरेको हुँ। मलाई दुर्गा दिदीले महेन्द्र मोरङ कलेज पढ्न थालेपछि नै नेवि संघमा आवद्ध गराउनु भएको हो मलाई। म नेवि संघमै राजनीतिकरूपले प्रशिक्षित भएको हुँ।

तर त्यहाँ सैद्धान्तिक वहस हुँदैनथ्यो। बढी त कम्युनिस्टकै आलोचना हुन्थ्यो। कम्युनिस्टका नेता नै छैनन् भन्ने गरिन्थ्यो। विशेषतः विश्वेश्वरप्रसाद कोइरालालाई केन्द्रमा राखेर कुरा गरिन्थ्यो। उहाँलाई ‘एसियाको लेनिन’ भनेर चिनाउने काम हुन्थ्यो। कोर्समा पनि विश्वेश्वरबाबु र भरत प्रसाईंका पुस्तकहरू पढ्नु पथ्र्यो। यी विभिन्न कारणहरूले म नेवि संघमार्फत् कांग्रेजनिकट हुन पुगेको हुँ।

कम्युनिस्टको आलोचना गरेकै कारणले हो त तपाईं कम्युनिस्ट हुनुभएको?
होइन। उहाँहरू (कांग्रेस) ले पनि आफूलाई ‘माक्र्सको चेलो’ नै भन्नु हुन्थ्यो। तर नेवि संघ र कांग्रेसका कार्यकर्ताहरूलाई आफ्नै झन्डा र त्यहाँ रहेका चार ताराको अर्थ थाहा थिएन। सामान्य कार्यकर्तामात्र होइन, जिल्ला स्तरका माथिल्लो तहको जिम्मेवारी पाएकाहरुलाई समेत थाहा थिएन। समष्टिमा त्यहाँ देशको समकालीन अवस्थाबारे वहस नै हुँदैनथ्यो।

उसो भए कांग्रेसका चालामालाबाट वितृष्णा भएर कम्युनिस्ट हुनुभयो, होइन त?
यसको छुट्टै कथा छ। मैले सुरुमा हिन्दीका कुशवाह कान्त, रानू, गुलशन नन्दा आदिका उपन्यास पढेर साहित्यिक धित मार्ने गर्थें। त्यही बेला मेरो दाइका एकजना साथी इन्द्र काफ्लेले निकोलाई अस्त्रोवस्कीको ‘अग्निदीक्षा’, म्याक्सिम गोर्कीको हिन्दी अनुवाद ‘मा’, लियो टोल्सटोयको ‘युद्ध र शान्ति’ आदि रुसी र लु सुनका चिनियाँ साहित्यका पुस्तकहरू पढ्न दिनुभयो। यी पुस्तकहरू पढेपछि थाहै नपाई भित्रभित्रै म वामपन्थी विचारधारातिर आकृष्ट भइसकेछु। यद्यपि म त्यतिबेला पनि कांस्रेससँगै आवद्ध थिएँ। पार्टीको सदस्यता भने लिइसकेको थिइनँ।

अनि, कांग्रेसमै रहेछ त माक्र्सवाद भने किन वामपन्थी हुनुभयो?
मैले माक्र्स पढ्न थालेँ, माक्र्सलाई बुझ्न एन्जेल्स पढ्न थालेँ, लेनिन पढ्न थालेँ। किम इल सुङ, हो चि मिन्ह काका, फिडेल क्यास्ट्रोका जीवनहरू पनि पढ्न थालेँ।

उपरोक्त नेताहरुको पुस्तक पढेपछि म वैचारिकरूपले वामपन्थी भएँ। तर अझैपनि कम्यु्निस्ट पार्टीमा आवद्ध भएको चाहिँ थिइनँ।

नेवि संघमै हुनुहुन्थ्यो?
हो, म त्यति वेला नेवि संघमै आवद्ध थिएँ। कलेजको अध्ययन सकेर काठमाडौँ आएपछि मात्र मेरो नेवि संघसँगको सम्पर्क छुट्यो।

पञ्चायत विरोधी कसरी हुन पुग्नुभयो?
पञ्चायती व्यवस्था ठीक छैन भन्ने त हामीलाई त्यही बेलादेखि नै लागिसकेको थियो।

यद्यपि कुनै पनि व्यवस्था स्वयम्मा खराब हुँदैन। तर त्यसलाई चलाउने व्यक्तिहरूले त्यस व्यवस्थालाई खराब पार्छन्। मेरो विचारमा पनि सैद्धान्तिकरूपले त्यो व्यवस्था खराब थिएन।

अहिले भारतजस्तो गणतान्त्रिक मुलुकमा पनि पञ्चायत छ। यहाँ बरू मासियो। तर त्यहाँ अहिले पनि पञ्चायत चलेकै छ। हाम्रो पञ्चायतको हकमा ती व्यक्तिहरू निर्णयक तहमा हुञ्जेल हामीले सोचेजस्तो स्वतन्त्रता प्राप्त गर्न सक्तैनौँ भन्नेमा हामी विश्वस्त थियौँ।

त्यसपछि हामी पञ्चायती व्यवस्थालाई ढाल्न आन्दोलनमा लाग्यौँ। म २०४६ को आन्दोलनमा पनि लागेकै हुँ। चलचित्रको सुटिङ् हुँदाहुँदै पनि आन्दोलनामा लागेँ। आन्दोलन सफल भएपछि अलिक खुकुलो वातावरण सिर्जना भयो।

त्यसपछि म वैचारिकरूपले कम्युनिस्ट पार्टीमा आवद्ध भएँ। सदस्यता लिएरै कम्युनिस्ट भएँ। तर कलाकारिता भने आजसम्म छाडेको छैन।

२०६२-०६३ को जनआन्दोलनमा तपाईं मज्जाले लाग्नुभयो। गुरुकुलमा प्रहरीले तपाईंको टाउको नै फुटाइदियो। कति दिनसम्म खोरमा पनि थुन्यो। त्यसपछि तीनवटा प्रज्ञा–प्रतिष्ठान गठन गरिए। अनि तपाईंले आग्रह गर्नुभयो, ‘मलाई पनि सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानमा लगिनुुपर्छ।’ आन्दोलन गर्दैमा प्राज्ञ हुन पाइन्छ र?
आन्दोलन गर्दैमा प्राज्ञ हुनुपर्छ भन्ने मेरो आग्रह होइन।

उसो भए टाउको फुटाउँदैमा प्राज्ञ हुन सकिँदैन?
आन्दोलन त परिवर्तनका लागि हो। त्यहाँ जान भनेर हामीले आन्दोलनमा भाग लिएका पनि होइनौँ। वैचारिकरूपले म वामपन्थी हुँ भने। तर, हामीलाई कहिल्यै पनि राजतन्त्रका हिमायती होइनौँ भनेर प्रशिक्षण दिइएन।

अनि वामपन्थीको उद्देश्य नै राजसंस्थाको समूल नष्ट गर्नु होइन र?
यी सबै गफाडी कुरा हुन्। राजतन्त्रले दुइटै विचारधारालाई प्रयोग ग¥यो। कांग्रेसलाई कम्युनिष्टको विरुद्धमा र कम्युनिस्टलाई कांग्रेसका विरुद्धमा प्रयोग ग¥यो। माओवादी आदोलनका चरणमा सबैले सबैलाई प्रयोग गरे। राजतन्त्रले माओवादीलाई लोकतन्त्रको विरुद्धमा प्रयोग ग¥यो। माओवादीले ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ भने। छाती भनेका कांग्रेस–एमाले थिए। टाउको भनेको राजतन्त्र थियो। यसरी माओवादीले कांग्रेसलाई पनि प्रयोग ग¥योे र एमालेलाई पनि। कांग्रेसले फेरि एमालेको धज्जी उडाएर माओवादीलाई कम्युनिस्ट पार्टी भनेको यो पो हो त भनेर आफ्नो स्वार्थअनुकूल प्रयोग गर्न खोज्यो।

भिडियाे:

कलाकर्मीका नाताले परिवर्तनका लागि जनआन्दोनमा सहभागी हुनुभयो। सबै विचारधारा र विधाका कलाकारहरू त्यसमा सहभागी भए, जो प्रजातान्त्रिक विचारधारानिकट पनि थिए र वामपन्थी विचारधारानिकटका पनि। के लोकतन्त्र आएपछि तपाईंहरूले सोचेजस्तो प्रजातान्त्रिक या वामपन्थी विचारधाराका कलाकारहरू सम्बन्धित ठाउँमा पुगे?
पुगेनन्। अलिक अघिसम्म चाहिँ पुरातनपन्थीहरूसँगै बसेर हामीले काम गर्नु परेको थियो। ‘हामी पूर्ण क्रान्तिकारी हुन सक्तैनौँ, पूर्णरूपमा परिवर्तन गर्न सक्तैनौँ’ भन्ने व्याख्या गरिन्थ्यो। कहिले कांग्रेससँग, कहिले माओवादीसँग मिलेर सरकार चलाई रहेको अवस्थामा यो व्याख्या गरिन्थ्यो। नेपाली कांग्रेसले बहुमत ल्याएर सरकार चलाइरहेको अवस्थामा त हाम्रो पार्टी विपक्षमा थियो, आशा गर्ने कुनै ठाउँ नै थिएन।

तर वामपन्थीको संयुक्त सरकार भएका बेला (यसअघि) पनि प्रज्ञा-प्रतिष्ठानमा प्राज्ञहरू नियुक्ति गरिए। त्यस बेला जेजस्ता व्यक्तिहरू त्यहाँ गए, ती सबै हिजो राजतन्त्रका हिमायती थिए। एकदलीय व्यवस्थाका हिमायतीहरू थिए, जो पञ्चायती व्यवस्थामा नै खाँदाखाँदा भुँडी फुट्ने अवस्थामा पुगेका थिए। तिनीहरू नै त्यहाँ गए।

भनेपछि, फेरि पनि पुराना सत्ताका मानिसहरू हावी भए, तपाईंहरूलाई किनारा लगाइयो!
तिनको त विचारै प्रगतिशील छैन ए बाबा! अनि तिनले कसरी प्रगतिशील कार्यक्रमहरू गर्छन् त? देशमा भएको परिर्वतनअनुरूप आफ्नो विचारधारालाई परिवर्तन गर्ने स्वभावका व्यक्ति नै थिएनन् तिनीहरू! अनि उनीहरूको मानसिकतामा हामी आन्दोलन गर्ने कलाकर्मीहरू सधैँ गलत हुन् भन्ने लाग्ने नै भयो। उनीहरूको रगतमा त यस्तै कीटाणु भरिएका थिए।

को-को थिए, त्यस्ता प्रतिगामी कीटाणु पालेका मानिसहरू। किटान गर्नसक्नु हुन्छ?
म यहाँ कसैको नाम लिन चाहन्नँ । तर यदि यस्तै प्रवृत्तिका पृष्ठपोषकहरूलाई त्यहाँ लगेर राख्ने हो भने तिनले दिने सल्लाह त गलत हुने नै भइहाल्यो। झन् तिनले परिवर्तित अवस्थामा देशलाई अघि बढाउने सल्लाह त दिँदै दिँदैनन्।

त्यस बेला तपाईंहरूले किन विरोध गर्नुभएन त!
हामीले सामान्य विरोध त ग¥यौँ। तर हामी यसकारण अलमलियौँ कि उतापट्टिको कारणले यस्तो भयो होला भन्ने भयो।

उतापट्टि भनेको को?
विपक्षीको। एमालेलाई भन्न गयो भने माओवादी या कांग्रेसको कारण देखाइयो। हामीलाई ‘उनीहरूले तपाईंलाई राख्न मानेनन्, हामीले मात्र गरेर नहुने’ भन्ने उत्तर दिन्थे। हामीलाई यस्तो जवाफ दिएर आफ्नै आसेपासेलाई लगियो।

तपाईंले सङ्केत गरेका ती कस्ता आसेपासे?
देख्दा मुखुण्डोचाहिँ वामपन्थीको हुने, तर वास्तवमा ती नितान्त आफ्ना आसेपासे थिए। नेताका वरिपरि बसेर समर्थनमा ताली बजाएर हिँड्ने आसेपासे।

अर्थात् चाकडी गर्नेहरू!
हो, चाकडी गर्नेहरू। जसले होटलमा लगेर दारुपानीमा खर्च गरिदिन पनि सक्छ।

कम्युनिस्टमा पनि यस्तो खारुपानी प्रवृत्ति चल्छ र?
एकदम चल्यो। प्रत्यक्ष चलेकै देखियो।

अनि अहिले त वामपन्थीकै एकमना सरकार छ। तपाईं यसपालिका प्राज्ञहरूलाई स्वीकार्नु हुन्न?
कसरी स्वीकार्नु। फेरि तिनै पुरातनपन्थी विचारधाराका व्यक्तिहरूलाई प्राज्ञ छनौट गर्ने सिफारिस समितिमा ल्याइयो। अब तपाईं नै भन्नूस्, सिफारिस समितिका यस्ता व्यक्तिहरूले पुरातनपन्थीलाई छाडेर कसलाई सिरफारिस गर्छन् त?

उसो भए तपाईंहरू पनि त प्राज्ञ हुन नै अयोग्य हुनुहुँदो रहेछ नि, होइन र? किनकी तपाईहरूलाई खालि क्रान्तिका लागि मात्र योग्य ठह¥याइयो!
वास्तवमा हामीलाई उपयोग मात्र गरेका अनुभूति भयो। तपाईंले भनेजस्तो अहिल्यै म अयोग्य भनेर ढ्याम्मै नभनूँ। म सधैँ आशावादी व्यक्ति हुँ। मभित्र यति आत्मविश्वास छ कि यिनीहरूले अवसर नदिँदैमा म अयोग्य हुने पनि होइन।

मेरो व्यक्तिगत कुरा गर्दाचाहिँ म अहिले पनि नाटक, चलचित्रमा त्यत्तिकै सक्तिय भएर लागिरहेको छु। अभिनय गरिरहेको छु.। यसैबाट मैले राम्रो जीविका गरिहरेको छु। अनि त्यहाँ नजाँदैमा मलाई के फरक पर्छ र?

अनि किन विरोध त!
सिद्धान्त, नियमको। नियमसंगत हुनुप¥यो भन्ने मात्र हो मेरो भनाई। परिवर्तनलाई आत्मसात् गर्न परिवर्तनशील व्यक्तिहरू त्यो ठाउँमा बस्नुप¥यो। होइन, हिजोकै पाखण्डीहरूलाई ल्याएर त्यहाँ राख्नुहुन्छ भने परिवर्तन आउँदैन।

वास्तवमा हाम्रा नेतृत्व तहका व्यक्तिहरूलाई आफ्ना मानिसहरूसँग कति क्षमता-योग्यता छ भन्ने नै थाहा छैन। हिजो डम्फू, सारंगी बजाएर हिँड्नेहरू नटुवाहरू हुन्, नौटंकी हुन्, गाइने हुन् भन्ने मात्र उनीहरू सोच भयो। तर यी भित्रपनि अतुलनीय योग्यता भएका मानिसहरू छन् भन्ने ज्ञान उनीहरूमा पटक्कै भएन।

त्यही ज्ञान नभएका कारणले आज मन्त्रीहरूलाई सचिवहरूले फनफनी घुमाइरहेका छन्। ती सचिवहरूसँग हामीभन्दा धेरै शैक्षिक योग्यता भएका व्यक्ति होलान्। तर तिनीहरूले गलत कुरामा हामीलाई घुमाउन सक्तैनन्।

तपाईंले अघि ‘पाखण्डी’ शब्द प्रयोग गर्नुभयो। अहिले तीनवटै प्रज्ञा-प्रतिष्ठानमा गएका सबै प्राज्ञ पाखण्डी नै हुन् त?
सबैलाई त भन्न मिल्दैन। तर केही त्यस्ता पनि छन्। नाम नलिऊँ, तर कुनै बेला अख्तियार लागेका मानिसहरू पनि त्यहाँ पुगेका छन्। यो बेग्लै कुरा हो कि त्यसलाई पछि ढाकछोप गरियो। झन् यसभन्दा अघिल्लो सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा जाने मानिसहरूको ताल देखेर प्रधानमन्त्री स्वयम्ले यो तीनवटा एकेडेमी चाहिँदैन, एउटै बनाउँदा हुन्छ भन्नु भएको हो। उहाँलाई यो भन्ने वाध्यता किन आयो? किनभने उहाँहरूले छनौट गरेका व्यक्तिहरू अनुशासनहीन भएका कारणले नै हो। यसअघिको ललितकला प्रज्ञा–प्रतिष्ठान त उदारहण नै बन्यो।

यो त विरोधका लागि विरोध मात्र भएन र?
प्रवृत्तिमाथि त बोल्न पाइन्छ नि! आफ्ना अवधारणा त व्यक्त गर्न पाइन्छ नि! बोल्न पाइयोस् भन्नका लागि त हिजो लोकतन्त्रका लागि लडेको हो नि! हिजो बोल्न पाइन्नथ्यो। यसरी क्यामेरा तेस्र्याएर आफ्नो असहमति कहाँ प्रकट गर्न पाइन्थ्यो? अहिले त मैले बोल्न पाउँछु। म हिजो त्यसैका लागि लडेको थिएँ नि! लोकतन्त्रमा विरोध गर्न पाउनुपर्छ, त्यसैले म विरोध गरिरहेको छु।

अहिले प्रज्ञामा लगिएका व्यक्ति तपाईंहरूभन्दा योग्य छैनन् त! 
कोही अवसर पाएर लगातार खाइरहेको छ। हिजो चाप्लुसी गरेर छि¥यो र आजसम्म खाइरहेको छ। त्यहाँ गएका व्यक्तिहरूभन्दा व्यक्तिगतरूपमा मचाहिँ कुनै पनि दृष्टिले कमजोर छैन।

प्रकाशित १९ माघ २०७५, शनिबार | 2019-02-02 14:33:47
Max TV
Max TV
Vianet

author photo

रमण घिमिरे कला–साहित्य क्षेत्रका वरिष्ठ पत्रकार हुन्

रमण घिमिरेबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • अपहरण धन्दाका खुँखारहरुः भीमसेन पण्डित, उदय सेट्टी, अमर टण्डन र रोहित पालिवाल

    खुँखार अपहरणकारी पण्डितले सेट्टी भेट्न किन पठाए जेलमा दूत?

    अपहरण र फिरौतीलाई व्यवस्थित र व्यवसायिक बनाएका भिमसेन पण्डित, अमर टण्डन र उदय सेट्टीले एक अर्काबीच सम्पर्क बढाइरहेको गोप्य सूचना प्रहरीले पाएको छ।

  • बेइजिङमा भइरहेको ‘बेल्ट एण्ड रोड, नेपाली थाङ्का प्रदर्शनी’ कक्ष

    चीनमा चिनारी खोज्दै नेवारी पौभा

    ४ वर्षअघिसम्म चीनमा नेपाली हस्तकलाको ठूलो माग थियो। राष्ट्रपति सी चिनफिङले भ्रष्टाचार नियन्त्रणमा कडाई गर्न थाले। महँगा महँगा थाङ्का उपहार...

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...