Exclusive

हाम्रो राजदरबार कथा र उपन्यासको खानी नै रहेछः नगेन्द्र न्यौपाने (अन्तर्वार्ता)




नगेन्द्र न्यौपाने
नगेन्द्र न्यौपाने

‘दरबार बाहिरकी महारानी’ राज दरबारभित्रको गोप्य घटनामा आधारित उपन्यास हो। राजा महेन्द्र, उनकी सुसारे (श्रीमती) गीता र गीताबाट जन्मेका छोरा रवीन्द्र शाहको कथामा आधारित उपन्यासलाई धेरैले मन पराए र ‘बेस्ट सेलर’ बन्न सफल भयो। उपन्यासले जति चर्चा पायो, यसका लेखक नगेन्द्र न्यौपाने भने त्यति चर्चामा आएनन्। तत्कालिन राजनीतिक घटनाक्रम र शीर्ष नेताहरुलाई समेत समेटिएर तयार पारिएको उपन्यास कसरी लेखियो भन्ने जिज्ञासा आम पाठकमा कायम छ। यिनै विषयमा केन्द्रित रहेर लामो समयदेखि अमेरिका बस्दै आएका न्यौपानेसँग नेपालखबरका कृष्ण आचार्यले गरेको कुराकानीको सम्पादित अंशः

राजदरबारको कथा समेटिएको उपन्यास ‘दरबार बाहिरकी महारानी’ का पात्र र विषयवस्तु सत्य घटनामा आधारित छन्? छन् भने यसको वास्तविक स्रोत के हो?
२०४१ सालमा गोरखाबाट अध्ययनका लागि काठमाडौँ आएपछि कोठा खोज्दै भौँतारिएको थिएँ। सोही क्रममा मेरो भेट लक्ष्मी बस्नेत नाम गरेकी एक महिलासँग भयो। उहाँको सहयोगमा ठमेलमा कोठा लिएर बस्न थालेँ। पछि उनै लक्ष्मी दिदी ‘दरबार बाहिरकी महारानी’ को मुख्य स्रोत बन्न पुग्नुभयो। उहाँकै सहकार्य, सद्भाव र सूचनाका आधारमा यो उपन्यास तयार भएको हो।

उहाँ दरबारनिकटकी हुनुहुन्छ भन्ने थाहा पाएपछि मैले तरकारी किन्न जाँदा धेरैपटक उहाँसँग दरबारबारे सोधिरहन्थेँ। उहाँले अलिअलि सुनाउनुहुन्थ्यो। मलाई उहाँको कुरामा चाख बढ्दै जान थाल्यो। थप कुरा जान्न–बुझ्न म उहाँको कोठामा जान थालेँ। विस्तारै कहिलेकाहीँ उहाँ पनि मेरो कोठामा आएर दरबारभित्रका विविध पाटाहरु खोतल्न थाल्नुभयो।

उहाँले भनेका कुराहरु मैले टिप्दै गएँ। झन्डै एक वर्ष मैले उहाँसँग कुराकानी गरेर सूचनाहरु संकलन गरेँ। र, पछि त्यसलाई उपन्यासको रुप दिएँ।

उपन्यासलाई राजा महेन्द्रकी सुसारे (पर्दा पछाडिकी श्रीमती गीता) को कथा भन्दा फरक पर्ला कि नपर्ला?
उपन्यास राजा महेन्द्रकी सुसारे (श्रीमती) गीताकै कथा हो। उनकै जीवनमा आधारित रहेर उपन्यास लेखिएको हो। गीताको क्षमता, उनले पाएको अवसर, उनको भाग्य र त्यतिबेलाको राजनीतिक अवस्था उपन्यासमार्फत् चित्रण गरिएको छ। साथै, उनको धैर्यता र सहनशीलतालाई पनि उपन्यासमा प्रस्तुत गर्ने जमर्को गरेको छु।

झन्डै २७ वर्ष उपन्यासको खेस्रा पोको पारेर थन्काउनुभयो भन्ने छ। के यो सत्य हो?
राजाको शासन चलिरहेका बेला उपन्यास प्रकाशित गर्ने सम्भावना थिएन। राजाको ‘र’ मात्र लिँदा त जेल जानुपर्ने अवस्था थियो भने उपन्यास नै बाहिर आउँदा के हुन्थ्यो होला।

२०४२ सालमा म ठमेलबाट ज्ञानेश्वर सर्दै थिएँ। त्योबेला नेपालमा सत्याग्रह सुरु भएको थियो। नेताहरु धमाधम समातिँदै थिए। काठमाडौँको विभिन्न स्थानमा बम विष्फोट भएको सुनिन्थ्यो।

साँझ ढल्किसकेको थियो। म ठमेलबाट लत्ताकपडा र केही सामान ठेलामा राखेर नारायणहिटीको बाटो हुँदै ज्ञानेश्वरतर्फ जाँदै थिएँ। जय नेपाल हलनिर सादा पोसाकमा रहेका प्रहरीले समाते। प्रहरीले धेरै समय लगाएर सामानको खानतलासी गरे। ‘दरबार बाहिरकी महारानी’को खेस्रा पनि त्यहीँ थियो। मेरो मुटुको ढुकढुकी बढ्न थाल्यो।

म्याक्सिम गोर्कीको ‘आमा’, निकोलई औस्त्रोवस्कीको ‘अग्निदीक्षा’, कार्ल माक्र्स र लेनिनका थुप्रै पुस्तकहरु पनि मसँग थिए। उनीहरुले विदेशी लेखकका पुस्तक भेटे। मलाई उपन्यास पढ्नु हुँदोरहेछ, लेख्नु पनि हुन्छ कि? भनेर प्रश्न गरे। तर, म केही बोलिनँ। एक छिनपछि एक प्रहरीले किताबहरु आफ्नो साथीलाई दिँदै पढ्न आग्रह गरे।

तर, दरबार बाहिरकी महारानीको खेस्रा भने भेटाएनन्। नत्र मेरो हालत के हुन्थ्यो भन्ने मलाई नै थाहा छैन। त्यस्तो परिस्थितिमा दरबारको भित्री कुरा बाहिर ल्याउनु सम्भव थिएन। मलाई आफूसँग रहेको खेस्राको सुरक्षा कसरी गर्ने भन्ने संकट थियो। प्लाष्टिकमा पोको पारेर धेरै वर्ष दिदीको घर (ज्ञानेश्वर)मा राखेँ। करिब २० वर्ष त्यो पोको दराजमै बस्यो ।

२०६३ सालमा राजा ज्ञानेन्द्रले नारायणहिटी छाडेर हिँडेपछि बल्ल त्यो पोको खोलेँ। त्यसलाई काटछाँट गरेर उपन्यासको रुप दिन केही समय लाग्यो। त्यसपछि तत्काल पुस्तक प्रकाशन हुन सकेन। पोको खोलेको ५ वर्षपछि बल्ल उपन्यास बजारमा आयो।

उपन्यासमार्फत् दरबारभित्र लुकेका विकृति र संस्कारलाई बाहिर ल्याउने प्रयास गर्नुभएको छ। दरबारकै एक पूर्वकर्मचारीले दिएको सूचनामा सत्यता थियो भनेर पत्याउने आधार के?
विकृतिभन्दा पनि दरबारभित्रको चालचलन, रहनसहन र राजपरिवारभित्र हुने शक्तिको होडबाजीलाई देखाउन खोजिएको छ। ती कुराहरु राजपरिवारका सदस्य वा त्यहाँ काम गर्ने कर्मचारीबाहेक अरुलाई थाहा हुँदैन। त्यसैले लक्ष्मी दिदीको सहयोग लिएको हुँ।

तर, लक्ष्मी दिदीको भनाईलाई मात्र लिएर उपन्यास बनेको होइन। सुरुमा उहाँको भनाई मलाई गफजस्तो लागेको थियो। म लक्ष्मी दिदीको घरमा जाँदा दरबारका अन्य पूर्वकर्मचारीहरु त्यहाँ भेला भएको देख्न थालेँ। म उनीहरुले कुरा गरेको सुन्थेँ। प्राय कुराहरु राजदरबारको विषयमा नै हुन्थ्यो। मैले पनि लक्ष्मी दिदीका केही साथीहरुसँग कुरा गरेँ।

त्यहीपनि हो कि होइन भन्ने लागिरहेको थियो। एकदिन राजकुमार रवीन्द्र शाहले चलाएको गाडीमा रानी गीता र लक्ष्मीलाई भेटेँ। मलाई देखेपछि लक्ष्मीले गाडी रोक्न लगाउनुभयो र मलाई पनि चढाउनुभयो। त्यसपछि बल्ल उहाँको औकात थाहा भयो र उहाँको कुरामा विश्वास लाग्यो।

यसमा आफू कत्तिको सफल भएजस्तो लाग्छ?
पुस्तक बाहिर आएपछि राजदरबारका कुनै सदस्यले झुटो विवरण आएको भन्ने दाबी गरेका छैनन्। यसमा रानी गीताको विषय जस्ताको त्यस्तै उनिएको छ। उनीप्रति भएको अपमान, उनले छोराका लागि गरेको संघर्ष र त्याग र आफ्नो श्रीमान्प्रति निभाएको कर्तव्यको यथार्थ चित्रण उपन्यासमा पाउन सकिन्छ।

साथै, त्यतिबेला राजपरिवारका सदस्यले नेपालको राजनीतिमा देखाएको शक्ति, त्यतिबेलाका दिग्गज राजनेताको चहलपहल र गीताले ती नेतासँग गरेको आशा उपन्यासमा समेटिएको छ। सबै कुरा मिलेका पनि छन्। त्यसैले सफल भएँजस्तो लाग्छ।

तर, दुःखको कुरा उपन्यास बाहिर आएदेखि लक्ष्मी दिदीसँग मेरो भेट भएको छैन। उहाँ कहाँ, के गर्दै हुनुहुन्छ भन्ने केही थाहा छैन।

उपन्यासका सहायक पात्रलाई बिपी, गिरिजा, गणेशमान, लोकनाथजस्ता राजनीतिमा राम्रो छवी बनाएका व्यक्तिको नाम दिइएको छ। काल्पनिक नाम राखिएका पात्रमात्र हुन् या साँच्चिकै उनीहरुको राजनीतिक चरित्र पनि देखाउन खोज्नुभएको हो?
त्यतिबेलाको राजनीतिक घटनाक्रम, राजा त्रिभुवनको शक्ति, युवराज महेन्द्रको उमेर साथै त्यो उमेरमा हुने उन्मादले के संकेत गर्छ भने ती पात्र सत्य हुन्। घटनाक्रम पनि सत्य नै हो। त्यतिबेला देखापरेका नेताहरु बिपी, गिरिजाप्रसाद, गणेशमान, पुष्पलाल, लोकनाथको साथ रानी गीतालाई थियो। उनीहरु गीतालाई हतियारको रुपमा प्रयोग गरेर त्यो हतियार लोकतन्त्र स्थापना गर्न प्रयोग गर्न चाहन्थे। तर, गीताले त्यो आँट गर्न सकिनन्।

उपन्यास पढ्दा जेजस्ता कुराहरु आउँछन्, त्यो र नेपालका नेताको चरित्र मिल्दोजुल्दो छ। नेता र उपन्यासको पात्रमा समानता देखिएको छ। विशेषतः गिरिजाप्रसाद र गणेशमान गीतालाई भेट्न उनकै निवास जानु, त्यसको भोलिपल्ट गीता र उनका छोरा रवीन्द्र नजरबन्दमा पर्नुले के संकेत गर्छ भने राजदरबारले हरेक पल कांग्रेसको निगरानी गरिरहेको हुन्थ्यो, जासुस खटाएको हुन्थ्यो। सोही कारण पनि लामो समय नेपालमा प्रजातन्त्र आउन नसेकेको हो भन्ने मलाई लाग्छ।

उपन्यासलाई कति प्रतिशत सत्य र कति प्रतिशत काल्पनिकता, बिम्बको प्रयोग मान्न सकिन्छ ?
यी कुरामा मैले गणितीय हिसाबकिताब निकालेको छैन। तर, एउटा कुरा के हो भने उपन्यास पूर्णरुपमा सत्य घटनामा आधारित छ र प्रसस्त मात्रामा बिम्बको प्रयोग भएका छ। उपन्यासमा बिम्बको प्रयोग भएन भने त्यो इतिहास वा दन्त्यकथाा जस्तो बन्न जान्छ। उपन्यासलाई रसिलो बनाउन बिम्बको प्रयोग गर्नुपर्छ। अरु त पाठकले पढ्दा अनुभव गर्ने कुरा हो।

उपन्यासको आसय दरबारलाई नङ्ग्याउनु देखिन्छ। त्यसमा आफू कत्तिको सफल भएँ भन्ने लाग्छ?
दरबारलाई नङ्ग्याउनका लागि उपन्यास लेखिएको होइन। बरु त्यतिबेलाको दरबारभित्र लुकेको यथार्थतालाई बाहिर ल्याउन खोजिएको चाहिँ हो। त्यतिबेलाको नेपाली समाजमा बहुविवाह, शोषण तथा महिला र निमुखामाथि चरम अत्याचार हुन्थ्यो। यो कुरा दरबारमा नहुने कुरै थिएन। कसैले नेपाली समाजलाई केन्द्रबिन्दु बनाएर कथा वा उपन्यास लेख्छ भने मैले दरबारलाई बनाएर लेखेको हुँ। यसमा आफू सफल भएको जस्तो लाग्छ। पाठकले पनि निकै मन पराइदिनुभएको छ।

महेन्द्रकी सुसारे गीताले सुनाएका सबै विषय उपन्यासमा समेट्नुभएको छ या कुनै हालसम्म लुकेर नै रहेका छन्? छन् भने बताइदिनुस् न!
गीताजस्ता पात्रहरु दरबारभित्र प्रसस्त थिए। उनीहरुको आ–आफ्नै कथा–व्यथा छ। लक्ष्मी दिदीको जीवनमा आधारित छुट्टै अर्को उपन्यास पनि बन्न सक्थ्यो। मलाई यसमा अपशोच लाग्छ। उतिबेला केही गर्न सकिएन। अहिले उहाँ कहाँ हुनुहुन्छ भन्ने नै थाहा छैन।

साथै, लक्ष्मी दिदीले बयान गरेका सबै पात्रलाई मैले आफ्नो पुस्तकमा उतार्न सकेको छैन। उहाँले बयान गरेका, सुनाएका थुप्रै घटनाहरु थिए। तर, सबै पीडित र विद्रोही भने छैनन्। धेरैले त्यतिबेलाका राजकुमार–राजकुमारीको आड लागेर भविष्य उज्यालो पनि पारेका छन्। मैले बुझेअनुसार राजदरबार त कथा–उपन्यासको खानी नै रहेछ।

तर, त्यसका लागि विश्वसनीय श्रोतको खाँचो हुन्छ। दरबारको कर्मचारी वा राजपरिवारको सदस्यजस्ता श्रोत व्यक्तिलाई उपन्यास बनाउन चाख र सीप नहुने। रुचि भएको व्यक्ति दरबारभित्र छिर्न नसक्ने, त्यसकारण अझै पनि धेरै पात्र तथा कथाहरु लुकेरै रहेका छन्।

लक्ष्मी दिदीले भनेको एउटा कुरा किताबमा छुटेको छ। उहाँले मलाई राजा त्रिभुवनको मृत्युबारे पनि सुनाउनुभएको थियो। त्रिभुवनको शवलाई स्वीजरल्याण्डको जुरिच अस्पतालबाट काठमाडौँ ल्याएको, राजा महेन्द्रले क्रिया नगरेपनि आफूले क्रिया गरिदिएको उहाँले बताउनुभएको थियो। त्यो अनुच्छेद मसँग सुरक्षित छ। यसलाई अब अर्को संस्करणमा समेट्ने सोच छ।

तपाईंका दुई कथा ‘अन्तिम घुट्को’ र ‘अतिथि सत्कार’ सत्य घटनामा आधारित रहेर लेख्नुभएको हो भनिन्छ। आफ्ना कृतिमा समाजको यथार्थतालाई कसरी पस्कनुहुन्छ?
मेरा सबैजसो कथा र उपन्यास सत्य घटनामा आधारित छन्। अन्तिम घुट्कोका सबै कथाहरु सत्य नै हुन्। जसमा मेरी १५ वर्षीया भान्जीले गरेको दुस्सहासलाई समेत समेटेको छु। उनी सोही कारण उनी सदाका लागि यो संसारबाट विदा भइन्।

‘अतिथि सत्कार’ मा पनि अमेरिकी समाजमा श्रीमान्–श्रीमतीबीच हुने सम्बन्धबिच्छेदको कुरालाई उठाएको छु, जुन अमेरिकामा एउटा रोग नै बनेको छ। कथामा यसका विविध पाटोलाई केलाउने प्रयास गरेको छु। यसरी अमेरिकी र नेपाली समाज, परिस्थिति र वातावरणलाई समेटेर कथा तयार भएको छ।

बंगलादेशमा हिन्दुले पाएका दुःखका कथा पनि यसमा समावेश गरेको छु। कुनै समय नेपालमा भन्दा बंगलादेशमा हिन्दुको संख्या दोब्बर थियो। तर, अहिले नेपालको भन्दा आधा कम छ। यसरी वर्षैपिच्छे हिन्दुहरुको संख्या घट्नुमा त्यहाँका मुस्लिमहरुको हेपाई, अत्याचार सहन नसक्नु नै हो। त्यहाँ धर्म परिवर्तन गर्न बाध्य बनाइन्छ। यी कुराहरु त्यहाँ जाँदा मैले महसुस गरेँ पनि।

यसरी म आफूले देखेका, भोगेका र समाजमा घटेका घटनाक्रमलाई कथा वा उपन्यासको रुप दिन रुचाउँछु।

तपाईंका कथा र कविता खासै चलेनन्। पहिलो उपन्यास ‘उल्टो रिस’ ले पनि खासै सफलता हात पार्न सकेन। ‘दरबार बाहिरकी महारानी’ ले चाहिँ चर्चा बटुल्यो। तर, उपन्यास लेखनलाई नै निरन्तरता दिनुको साटो यात्रा संस्करण (कङ्गो र इथियोपियाको सेरोफेरो) लेख्नुभयो। एउटा लेखकले फरक–फरक विद्यामा हात हाल्दा पाठकलाई कत्तिको न्याय गर्न सक्ला?
२०३८ सालमा त्रिचन्द्र क्याम्पसमा आईएस्सी पढ्दा पहिलोपटक मेरो कविता ‘घण्टाघर’ पत्रिकामा छापिएको थियो। त्यसैबाट मेरो कविता यात्रा सुरु भयो। पछि २०६२ मा ‘हराएका कैदीहरु’ नामक कविता संग्रह निकालेँ।

२०४६ सालमा बस र रेल चढेर नेपाल–भारत हुँदै बंगलादेशसम्मको यात्रा गरेको थिएँ। यही यात्रालाई लिएर २०६३ सालमा ‘यात्राको बंगलादेश’ नामक संस्मरणात्मक पुस्तक निकालेँ।

२०६९ सालतिर मलाई अफ्रिका जाने मौका मिल्यो। एसियाको मान्छेलाई त्यहाँका हरेक वस्तु, रहनसहन, भेषभुषा नजौठो लाग्नु स्वभाविक थियो। र, मैले त्यहाँ देखेका, भोगेका र अनुभव गरेका कुरालाई ‘कङ्गो र इथियोपियाको सेरोफेरो’ को रुप दिएँ। फेरि कतै भ्रमण गर्ने मौका पाएँ भने अर्को किताब पनि निकाल्न सक्छु। तर, मेरो पहिलो प्राथमिता भनेको उपन्यास नै हो।

तपाईंले गर्नुभएको प्रश्न स्वभाविक हो। त्यसका लागि लेखक निकै होसियार हुनुपर्छ। तर, कहिलेकाहीँ पुस्तक सही पाठकको हातमा नपर्दा पनि त्यसले खासै चर्चा पाउँदैन। कतिपय अवस्थामा नराम्रा पुस्तकले पनि चर्चा पाइरहेका हुन्छन्। हल्लाको भरमा पुस्तकले चर्चा त पाउलान्। तर, त्यसले दीगो रुप लिन सक्दैन। मैले लेखेका पुस्तकहरु दिगो हुन् भन्नेमा म विश्वस्त छु।

तपाईंको उपन्यास ‘दरबार बाहिरकी महारानी’ जति चर्चित छ । त्यति नै तपाईं गुमनाम हुनुहुन्छ। किन होला?
म मिडियामा खासै आउन नचाहेकाले पनि होला। मलाई मिडियामा आउन त्यति रुचि पनि छैन। उपन्यासले चर्चा पाउँदैमा ‘के–के नै गरेँ, भयो’ भन्दै कराउनेहरुको भिडमा मिसिन मन पनि लागेन।

विदेशमा बसेर पनि लेखन कार्यलाई निरन्तरता दिइरनुभएको छ। यसका सहजता वा असहजता के–कस्ता छन्?
विदेशी भूमि साहित्य लेखनका लागि उत्तम स्थल हो। यहाँ परिवार संख्या र नातेदार सीमित हुने भएकाले चहलपहल त्यति हुँदैन। चाडवाड तथा भिडभाडको असर पनि कमै पर्छ। दैनिक आफ्नो रोजी रोटीको कामबाहेक बाहिरी वातावरणले त्यति खलबल गर्दैन। त्यसकारण लेखनका लागि प्रसस्त समय र अवसर प्राप्त हुन्छ।

तर, कथा र उपन्यासका लागि स्रोत र विषयवस्तु सीमित छन्। भाषा, स्थानीयहरुसँग घुलमिल, विषयवस्तुभित्र पस्ने हाम्रो क्षमता त्यति छैन। त्यसैले, स्रोतका हिसाबले लेखनका लागि आफ्नै जन्मभूमि उत्तम हुन्छ। त्यसैले विदेशी भूमि लेखनका लागि उचित छ भने विषयवस्तु र स्रोतका लागि जन्मभूमि नै उचित छ।

‘दरबार बाहिरकी महारानी’ पछि अर्को उपन्यास निकाल्नुभएन नि!
विषय वस्तुको अभावका कारण अर्को उपन्यास निकाल्न नसकेको हो। मेरो रुचि ऐतिहासिक घटनाक्रममा आधारित विषयमा छ। विदेशमा रहेकाले त्यसमा पहुँच पुग्न सकेको छैन। राजा वीरेन्द्रको बंशनास भएको घटनामा आधारित एउटा पुस्तक लेख्ने सोच बनाएको छु। हैरौँ, कति सफल भइन्छ।

प्रकाशित १ माघ २०७५, मंगलबार | 2019-01-15 16:41:46
Max TV
Max TV
Vianet

author photo

कृष्ण आचार्य नेपालखबर वरिष्ठ संवाददाता हुन्

@novelkrishna

कृष्ण आचार्यबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • घूस काण्डमा राजीनामा दिने पाठकलाई कसरी कारबाही?

    पाठकले हाकाहाक्की ७८ लाख घुस लिएको प्रकरण तेसै थन्किन्छ त? लेनदेन भएको आफैँमा प्रस्ट छ। यस सम्बन्धमा अतिरिक्त सुझबुझको आवश्यकता छ।

  • राजनारायण पाठक

    ‘ट्रिपल स्टिङ अपरेसन’मा परेका थिए पाठक

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम प्रभावकारी पार्ने एउटा माध्यम हो– स्टिङ अपरेसन।

  • पृथ्वीसुब्बा गुरुङ

    संघीय प्रणालीमा जो मूख्यमन्त्री हुन्छ उही पार्टी अध्यक्षः पृथ्वीसुब्बा गुरुङ (अन्तर्वार्ता)

    ‘नेपाल सरकारको मन्त्री हुन छाडेर यो पृथ्वीसुब्बा मूख्यमन्त्री बनेर बसिरहेको छ, संघीय सरकारले हेप्ने ठाउँमा छ भन्ने मलाई लागेकै छैन।’

  • देवी बनिन् त छयानब्बेकी मेरी आमा?

    ‘चौरासी गरिसकेपछि मानिसको देवत्वकरण हुन्छ, मानिसबाट देवतामा परिणत हुन्छन्’ भनेका थिए हाम्री आमाको चौरासी गर्ने एक पण्डितले। पण्डितको भनाइ मान्ने हो...