सचिवालयले लिड गर्न सकेन, अब स्थायी कमिटीबाट अगाडि बढ्छौंः घनश्याम भूसाल (अन्तर्वार्ता)




घनश्याम  भूसाल
घनश्याम भूसाल
प्रविन कोइराला

सांगठनिक रुपमा हामी हिजोको माओवादीको बाटोमा गयौं भने सत्यनासको बाटोमा जान्छौं। आजको नेकपाले हिजोको माओवादीको बाटो लियो भने यो पार्टी सकिन्छ।

रूपन्देही जिल्लाबाट निर्वाचित संघीय सांसद घनश्याम भूसाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य हुन्, जुन कमिटी गठन भएको करिब ६ महिना बितिसक्दा पनि एक पटक मात्रै बैठक बसेकाे छ। नेकपा र यसले तय गरेको समाजवादी कार्यदिशाका एक जना प्रखर विश्लेषक भूसाल र उनको टिम नेतृत्वले स्थायी कमिटी बैठक नबोलाए अब पार्टीमा आन्तरिक लोकतन्त्र पुनर्वहालीका लागि अभियान चलाउने तयारीमा देखिएका छन्।

यही क्रममा भूसालले कान्तिपुर दैनिकमा लामो आलेख प्रकाशित गरी बहस सुरु गरेका छन्। २२ केन्द्रीय सदस्यले बैठकको माग गर्दै पार्टीका अध्यक्षद्वयलाई ज्ञापनपत्र समेत बुझाएका छन्। नेकपाको अलमलिएको एकता प्रक्रिया र यसभित्र गहिरिँदै गएकाे बहसका विषयमा स्थायी कमिटी सदस्य घनश्याम भूसालसँग नेपालखबरका पूर्ण बस्नेतमणि दाहालले मंगलबार गरेको वार्ताः

नेकपा एकता प्रक्रियाले अझै पूर्णता पाएन। तल्लो तहमा एकता टुङ्ग्याउन आयोजना गरिएको सचिवालय बैठक पनि स्थगित भइरहेको छ। एकतामा किन अलमल भइरहेको हो?
पार्टीका बैठकहरू स्थगित हुने घटनाहरू भैराखेको हुनाले यसमा नियतको पनि कुरा जोडिन्छ। म यहाँ नियतको प्रश्न उठाउन चाहन्नँ। तर पार्टी एकता भएर दुई तिहाइको वाम सरकार बनेको कारण जुन असाधारण ऊर्जा र मनोविज्ञान सिर्जना भएको थियो त्यसलाई यसले कमजोर बनाएको छ। परिणामसँग जोडेर हेर्ने हो भने नियत राम्रो देखिएको छैन। अधिकार सबै सचिवालयमा राख्ने काम भएको छ तर त्यो राम्रोसँग चलेको छैन, परिणाम दिन सकेको छैन। सचिवालयले जिम्मेवारी पूरा गर्न सकेको छैन। जिम्मेवारी पूरा गर्न नसक्ने सचिवालयकै कारण समस्या आएको छ।

यो समस्यालाई पार्टीले अब कसरी छिचोल्छ?
अहिले स्थायी कमिटीको बैठक पर्खिएको अवस्था हो। जति ढिलो गरेपनि कुनै दिन स्थायी कमिटीको बैठक राख्नै पर्ने हुन्छ। स्थायी कमिटीमा सबै एजेन्डामा छलफल भएको अवस्थामा पार्टीको भावी गन्तव्यका धेरै विषय निर्धारण हुनेछन्। पार्टी एकताको सुरुमा भएका गल्ती-कमजोरीलाई स्थायी कमिटीले सच्यायो भने हुन्छ। त्यो भनेको पार्टी, संसदीय दल र सम्पूर्ण पार्टी पंक्तिलाई एकतावद्ध गर्ने कुरा हो। पार्टी एकता प्रक्रियामा अवरुद्ध भएको लोकतान्त्रिक प्रक्रियालाई सुरु गर्न सक्यौं र लोकतान्त्रिक प्रक्रियाबाटै नेकपाले खेल्नुपर्ने भूमिका निर्धारण गर्न सक्यौं भने अहिले खस्केको ऊर्जा र मनोविज्ञान दुई/तीन महिनामा फेरि उठाउन सकिन्छ। तर प्रश्न के हो भने स्थायी कमिटीले त्यो गर्छ कि गर्दैन वा गर्न दिइन्छ कि दिइँदैन? नेताहरू सचिवालयका गल्ली-कमजोरी ढाकछाेप गर्न स्थायी कमिटीलाई असफल बनाउन लागेनन् भने स्थायी कमिटीले (कोर्ष) करेक्सन गर्छ।

स्थायी कमिटी असफल भयो भने अन्तिम विकल्पका रूपमा रहने केन्द्रीय कमिटीले मात्रै हिजोका गल्ती सच्चाउन सक्छ। केन्द्रीय कमिटी पनि असफल भयो भने नेकपाका अगाडि ठूलो चुनौति खडा हुनेछ। सच्याउने संभावना समाप्त हुनेछ। त्यसपछि हामी चुनौतितर्फ मात्रै जान्छौं। नेकपाले जुन ऐतिहासिक भूमिका निर्वाह गर्नुपर्ने हो, त्यसमा असफल हुनेछौं।

पार्टी एकता प्रक्रियामा सच्याउनुपर्ने ती कमजोरी के-के हुन्?
पार्टी एकता प्रक्रियामा लोकतन्त्र अवरुद्ध भयो। तर ठूलो विषय प्राप्त गर्न हामीले त्यसो हुँदा पनि स्वीकार गर्दै आयौं। पार्टी एकता संयोजन समिति बन्यो तर त्यसपछि संगठित रूपमा धेरै काम हुन सकेन। त्यसले धेरै अधिकार अध्यक्षहरूलाई दियो। त्यहींदेखि नै पार्टीमा लोकतन्त्र अवरुद्ध हुँदै, खुम्चिँदै गयो। त्यो अहिलेसम्म पनि आफ्नो ट्रयाकमा फर्किन सकेको छैन। धेरै कमजोरीको सुरुवात यहीँबाट भयो। यसले तल्लो पंक्तिमा सिर्जना, आवाज र मतहरूलाई अवरुद्ध गरिदियो। सरकार कसरी चल्दैछ भन्ने विषयमा, संगठित छलफल र निर्णय नहुने, कसरी सुधार गर्ने भन्ने विषयमा पार्टी कार्यकर्ताले आफ्ना कुरा राख्न नपाउने, एकपछि अर्को कमजोरी हुँदै जाने र त्यसलाई ढाक्न कृत्रिम गतिविधि हुने भएको छ। भ्याइएन, व्यस्त भइयो भन्नु कृत्रिम गतिविधि नै हो। लोकतन्त्रलाई बहाल गरियो भने यो समस्या समाधान हुन्छ।

एकता प्रक्रियाको सुरुवातदेखि नै आन्तरिक लोकतन्त्र खुम्चिँदै गयो। पार्टी एकता घोषणा जेठ ३ गते भयो। ३ बजे निर्वाचन आयोगमा पार्टी दर्ता गर्नुपर्नेछ, १२–१ बजे चार, साढे चार सय जनाको बैठक बोलाइएको छ। त्यस्तो अवस्थामा एकता प्रक्रिया खलबलिन्छ कि भनेर बोल्न पनि नमिल्ने। एकीकृत पार्टीको अध्यक्ष दुई जना रहने निर्णय पूर्वएमाले र पूर्वमाओवादी केन्द्र दुवैले संस्थागत रूपमा गरेका थिए। त्यसबाहेक अन्य कुनै पद हुन्छ भन्ने थिएन। तर अचानक महासचिवको पद आयो। सचिवालयजस्तो संयन्त्र छँदै थिएन। त्यो हुलमुलमा आएको विषय थियो। पछि राजनीतिक र संगठनिक निर्णय गर्ने अधिकारसमेत सचिवालयमा छ भनेर भनियो। यो विषय कहीँकतै छलफलमा उठेकै थिएन। बीचमा एक पटक स्थायी कमिटी बैठक भएको थियो। त्यसमा पनि यो विषय उठेको थिएन। तर विधान छापिएर आउँदा अचानक सचिवालयमा यो अधिकार रहेको विषय आयो। आफै अधिकार सिर्जना गर्ने, आफू नै त्यसको अभ्यास गर्ने अलोकतान्त्रिक कामहरू गर्दै गयौं। 

सचिवालयले अहिले नेकपालाई लिड गर्न सकेको छैन। तल्लो तहका कार्यकर्ताले आफ्नो कुरा राख्न पाएका छैनन्। देशभरका कमिटीहरूले जिम्मेवारी पाएका छैनन्। केन्द्रीय सदस्य, विभाग र तल्ला कमिटीहरूले जिम्मेवारी पाएका छैनन्। जसले गर्दा पार्टी काम र तीन वटै तहका सरकारका काम लथालिङ्ग अवस्थामा छन्। त्यसैले जहाँबाट बाटो बिराइएको थियो, लोकतन्त्रलाई खुम्चाउन सुरु भएको थियो, त्यहीँबाट सच्याउन सुरु गर्नुपर्ने हुन्छ। त्यसरी सुधार गर्दै जाने हो भने दुई/तीन महिनामा उल्टाउन सक्ने क्षमता नेकपामा छ। नयाँ आशा फेरि सिर्जना गरेर जान सक्छौं।

बुँदागत रूपमा भन्दा सुधारका सूत्र के-के हुन्?
ब्रेक डाउन गर्ने हो भने धेरै एजेन्डा बनाउन सकिन्छ। पहिलो बुँदा भनेको सचिवालयले आफ्नो हैसियत बुझ्नुप-याे। सचिवालय भनेको दैनन्दिन काम गर्ने मात्रै हो। चिठ्ठी लेख्ने, तल्लो तहका सूचनाहरू संकलन गर्ने र स्थायी कमिटीमा निर्णयका लागि पेश गर्ने निकाय हो सचिवालय। यदि योभन्दा बढी केही हो भने छलफल गर्नुप-याे। सचिवालयलाई अधिकार दिनुपर्यो भने त्यो कम्तीमा केन्द्रीय कमिटीबाट आउनु पर्यो। यो-यो कारणले सचिवालयलाई अधिकार दिनुपर्यो भन्ने हुनुपर्यो। मेरो माग लोकतान्त्रिक प्रणाली पुनर्वहाली गर्नुपर्यो भन्ने हो। लोकतान्त्रिक प्रक्रिया बहाल भएपछि स्थानीय, प्रदेश, केन्द्रस्तरमा देखिएका समस्याहरु हल हुन थाल्नेछन्। अहिले पार्टी, सरकार र संसदीय मोर्चा सबै कमजोर भएका छन्।

लोकतान्त्रिक प्रक्रियामा फर्किने अवस्था देखिएन भने एकता के हुन्छ, धरापमा पर्छ?
पार्टी विभाजित हुने संभावना छैन। तर लोकतान्त्रिक प्रक्रियामा फर्केनौं भने यो दुई तिहार्इले जे गर्नुपर्ने थियो त्यो हुँदैन। ६०–७० वर्षदेखि लोकतन्त्र, गणतन्त्र भएन भन्ने थियो। राजालाई फाल्यौं, त्यसपछि अस्थिरताले केही गर्न सकिएन भन्यौं। स्थिरता नभै विकास नहुने रहेछ, दुनियाँलाई स्थिरता चाहिन्छ भन्यौं। अहिले स्थिरताका लागि पर्याप्त राजनीतिक, संवैधानिक वातावरण जुटेको छ। अब यो असफल भयो भने लोकतान्त्रिक स्थिरताका साथ यो देशले विकास गर्ने संभावना छैन भन्ने डरलाग्दो मनोविज्ञान स्थापित हुनेछ।

विविधता धेरै सुन्दर कुरा हो। तर हाम्रो जस्तो भूराजनीति, हाम्रो जस्तो विविधतामा गरिबी मिसिएपछि बारुदको गोदाममा आगो लगाएजस्तो हुन्छ। त्यस्तो अवस्थामा अस्थिरताका निम्ति अनेक शक्तिहरु सक्रिय हुनेछन्। हामी एउटा नयाँ बहुपक्षीय अस्थिरता र द्वन्द्वतर्फ फर्किने छौं।

विश्वमा कम्युनिस्ट पार्टीको नाममा १९१८ बाट संगठन सुरुवात भयो। लेनिनले बोल्सेभिक पार्टी बनाएर क्रान्ति गरे। त्यसपछिको यो एक सय वर्षमा संसदीय निर्वाचनबाट दुई तिहाइ सिट जितेको कम्युनिष्ट पार्टी संसारमै नेकपा मात्रै हो। रुसमा बोल्सेभिक पार्टीले २४ प्रतिशत मात्रै मत प्राप्त गरेको थियो। नेपालमा लोकप्रिय मत नै करिब करिब ५० प्रतिशत ल्याएका छौं। एक सय वर्षको इतिहासमा संसदीय चुनावबाट आएको सबैभन्दा बलियो कम्युनिस्ट पार्टी हो यो। कम्युनिस्ट पार्टी शक्तिशाली भएर आएपछि देशमा विकास हुन्छ र समाजवादतर्फ जान्छ भन्ने हो भने काम गरेर संसारलाई देखाउने बेला यही हो। संसारको इतिहासमा नेपाल परीक्षामा छ।

लोकतान्त्रिक स्थिरताका साथ नेपालको विकास हुनसक्छ वा सक्दैन र बलियो कम्युनिस्ट पार्टीले समाजवादतर्फ लैजान्छ कि लैजाँदैन भन्ने अहिलेको महत्वपूर्ण विषय हो। नेकपा असफल हुँदा यी दुवै कुरा असफल हुन्छन्। नेकपा असफल हुँदा नेपाल राष्ट्र र कम्युनिस्ट पार्टीको इतिहासमा दुईवटा ठूला दुर्घटना निम्तिने छन्। यो प्रकारको गम्भीरता नेताहरुमा नदेखिनु, साना-साना कोटरी बनाउनु, माथि-माथि मात्रै छलफल गर्नु र त्यसबारे कार्यकर्तालाई थाहा नदिनु अहिलेको दुर्भाग्य हो।

नेतृत्वले पार्टी पंक्तिबाट सहयोग भएन भनिरहेका बेला अब संगठीत रुपमै नेतृत्व शैलीको विरोध हुन थाल्यो नि?

हामी भूमिगत कालमा पनि काम गरेर आएका हौं। मेरो संगठित जीवन २०३५ सालबाट सुरु भएको हो। भूमिगत कालदेखि अहिलेसम्म अान्तरिक लोकतन्त्रको यतिको बिजोग कहिल्यै देखेको थिइनँ मैले। म स्थायी कमिटी सदस्य हुँ। जेठ ३ मा पार्टी एकताको घोषणा गर्यौं, पछि असार-साउनतिर स्थायी कमिटीको २/३ घण्टाको परिचायात्मक छोटो बैठक गरियो। त्यसपछि ४५ सदस्यीय स्थायी कमिटीमा कसले के गर्दैछ कसैलाई थाहा छैन। स्थायी कमिटीको अवस्था यस्तो छ, तलसम्मको पार्टी पंक्तिको अवस्था के होला? नेतृत्वलाई हामीले गर्ने सहयोग भनेको के हो? यो भन्दा पनि निस्क्रिय भएर सहयोग गर्ने हो कि? केही बिग्रेको छैन भनेर सहयोग गर्ने हो कि? सबै अधिकार नेताहरुले राखेका छन्। हामीले ‘हाम्रो राजा राम्रा छन्, हाम्रै देश विशाल’ भनेर नारा लगाउँदै हिँड्ने हो कि?

एकता प्रक्रियाको सुरुबाट नै गल्ती हुन थालेको हो?
यसमा दुईवटा विषयहरु रहे। दुई दलहरु मूल रुपमा एकै स्थानमा आउँदै थिए। फरक-फरक दल भए पनि समाज र क्रान्तिको चरित्र, कार्यभारका बारेमा एकैतर्फ सोच्दै गएका थिए। सिद्धान्त, कार्यभार, संगठनको भविष्यबारे गहन छलफलमा गएर एकताको प्रक्रियामा प्रवेश गरेको भए तर्किक निस्कर्ष निस्कन्थ्यो। यो असाध्यै दिगो, अझै सहज, स्वाभाविक हुँदै जान्थ्यो। अहिलेका जस्ता समस्या आउँदैनथ्यो। तर सैद्धान्तिक, राजनीतिक विषय र अबको कार्यभारबारे नेतृत्वले सोच्दै सोचेन।

चुनाव दैलोमा आइसकेको थियो तर दुवै एकले अर्कोलाई पछार्ने दाउमा थिए। एकले अर्कोलाई पछार्दा दुवै पछारिने संभावना देखिएपछि झल्याँस्स बिउँझिएर चुनावका लागि एकता गरियो। चुनावका लागि एकता गर्नुपर्ने हुँदा तलदेखि छलफल गरेर आउनु पर्ने विषयमा सम्झौता भयो। कार्यकर्ताहरू पनि पार्टी ठूलो हुन्छ, सरकारमा आइन्छ र धेरै कुरा त्यसले पूरा गर्छ भनेर चूप भए। राजनीतिक र सैद्धान्तिक रुपमा यी दुई दल अलग-अलग बस्न आवश्यक छैन, एकतामा जानुपर्छ भन्नेहरु आन्तरिक लोकतन्त्रमा अलिकति सम्झौता गरेर भए पनि उद्देश्यमा गए। राजनीतिक मुद्दा मामिलाका विषय एकीकरण भएपछि फेरि ल्याइनेछ र आउँछ भन्ने हिसाबले सबैले समर्थन गर्यौं। तर कार्यकर्ताको यो विचारलाई नेताहरुले आफ्नो सुविधा ठाने।

भनेपछि सुरुमा गल्ती त तपाईंहरूबाट पनि भएछ नि?
यस प्रकारको एकताले अपेक्षित परिणाम दिँदैन भनेर जान्दाजान्दै पनि हामीले यो कुरा भनेनौं। व्यावहारिक हिसाबले यो ठूलो गल्ती होइन। नेताहरुलाई दिएको शंकाको सुविधालाई उनीहरूले दुरुपयोग गरे।

सैद्धान्तिक विषयमा तपाईंले हालसालै कान्तिपुर दैनिकमा लेख्नु भएको छ, झण्डै दुई दर्जन केन्द्रीय सदस्यले संगठित रुपमै बोलेका छन्। अब कोर्स करेक्सन होला त?
पार्टीभित्र भएका कमी-कमजोरीबारे सानो स्वरमा भए पनि कुरा उठिरहेको छ र यो अझ बलशाली बन्दैछ। केन्द्रीय कमिटीका २२ जना साथीहरुले संगठित रुपमा कुरा उठाएर राम्रो गरे।

तपाईंहरुकै पहलमा यो सबै भएको हो?
साथीहरुले यस विषयमा चिन्ता जाहेर गर्नुभएको थियो। पार्टीको लोकतान्त्रीकरण गर्ने, पोलिटब्युरो गठन गर्ने, निर्णयलाई संस्थागत गर्ने, सरकार र पार्टीलाई प्रभाविकारी बनाउने विषय उठाउनु भएको छ। यो धेरै राम्रो कुरा हो। २२ जनाले केन्द्रीय कमिटीको ठूलो संख्याको प्रतिनिधित्व गर्छन्। स्थायी कमिटीमा भएका हामीहरुले पनि आफ्नो ठाउँमा यसलाई उठाउँदै आएका छौ।

आफ्नो ठाउँ भन्नाले कहाँ उठाउँदै आउनुभएको छ?
स्थायी कमिटीका सदस्यहरुबीच थोरै भए पनि प्रयत्न भएका छन्। कार्तिक १२ गतेको बैठक सरेको सूचना कार्तिक ११ मा आयो। त्यसबेला नै स्थायी कमिटीका सदस्यहरुबीच बैठक बसेर छलफल गरौं भनेर कुरा आएको थियो। जति जना सकिन्छ त्यति बसौं भन्ने थियो। संगठित रुपमा यो प्रयास सुरु होस् भनेर १२ गते नै बस्न चाहन्थ्यौं। योजना पनि थियो। तर १२ गते प्रधानमन्त्री तथा हाम्रो पार्टीका अध्यक्ष बिरामी हुनु भएपछि अहिले नबसौं भनेर छाड्यौं। त्यसपछि अहिले फेरि यस विषयमा छलफल गरिरहेका छौं। तर पार्टीलाई कसरी सुधार गर्न सकिन्छ भनेर टुङ्गोमा पुगिसकेका छैनौं। अहिले पनि सचिवालयलाई जबर्जस्ती समातेर ठीक ठाउँमा ल्याउनुभन्दा सचिवालय आफै ठीक ठाउँमा पुगिदिए हुन्थ्यो भन्ने आशा छ। त्यो हुँदा स्वयं सचिवालय, त्यसका नेता र पार्टीको समग्र स्वास्थ्यका लागि राम्रो हुन्थ्यो भन्ने हामीलाई लागेको छ।

त्यो भनेको फेरि शंकाको सुविधा दिने?
हामीले पार्टी जीवनमा एउटा संस्कृति बनाएका छौं। राम्रो नराम्रो के हो भनेर छलफल हुँदै जाला। तर समग्रतामा पार्टी कमजोर हुन्छ कि भन्ने चिन्ताले बेला-बेलामा हामी आफै धेरै कमजोर बन्ने गरेका छौं। पार्टी जीवनमा मैले संगालेको संस्कार अनुसार भन्छु– हाम्रा नेताहरु लोकतान्त्रिक प्रक्रियामा आउनैपर्छ। उहाँहरुलाई त्यहाँसम्म ल्याउनु पर्ने हो कि आउनु पर्ने हो? सकेसम्म उहाँहरु आफै आउँदा राम्रो हुन्छ भन्ने धारणा हो।

स्थायी कमिटीका सदस्यहरुबीच अहिले कस्तो छलफल भैरहेको हो?
यो विषयमा तत्काल हामी बाहिर जाँदैनौं। अहिले गर्ने भनेको अब सचिवालयले स्थायी कमिटीको बैठक बोलाएन भने स्थायी कमिटीका सदस्यहरु एक ठाउँमा जुटेर सचिवालयलाई कसरी ठिक ठाउँमा ल्याउने भनेर छलफल सुरु गर्ने हो। त्यसपछि के गर्ने भन्ने विषय त्यसैले निर्धारण गर्छ। सामूहिक रुपमा छलफल भएर त्यसले आफ्नो कार्यभार तय गर्ला। सचिवालयले आफूलाई सच्याएन भने त्यो काम स्थायी कमिटीबाट गर्छौं।

भन्नाले अब बस्ने सचिवालयले स्थायी कमिटी बैठक तोकेन भने तपाईंहरू छुट्टै बसेर छलफल गर्नुहुन्छ?
आजभोलि सचिवालयको बैठक चल्दैछ। यो बैठकले स्थायी कमिटीको बैठक बोलाउँछ कि बोलाउँदैन हेर्न बाँकी छ। हामी बैठक गर्दै छौं भनेकाले छाडेको हो। अस्ति अध्यक्ष बिरामी हुनुभयो। त्यसपछि हामी बैठक गरिरहेका छौं भन्नु भएको छ। सारिराख्नु भएको छ तर पनि हामी पर्खिरहेका छौं। स्थायी कमिटीको बैठक बोलाउनुु भएन भने हामी स्थायी कमिटीका सदस्य बस्नुपर्ने हुन्छ। पार्टी र मुलुकका सामु आएको संभावना र चुनौतीरे निरपेक्ष रुपमा बस्न सकिँदैन। आज नेकपाका कुनै पनि सदस्यले गल्ती गर्छ भने त्यसले ऐतिहासिक संभावनालाई गुमाउँछ।

सचिवालय वा अध्यक्षद्वयलाई स्थायी कमिटी बैठक डाक्न कतिपय कुराले अप्ठेरो पनि पारिरहेको होला। तपाईं आफै नेतृत्वमा भएको भए पनि त्यति सहज त हुने थिएन होला नि?
पार्टी एकता प्रक्रियालाई जेठ ३ मा केन्द्रीय कमिटीले पारित गऱ्यो। तँ भए के गर्थिस् भनेर मानिसहरू मलाई प्रश्न गर्छन्। म भएको भए असार मसान्तसम्म वडा कमिटीसम्म एकीकरण गरिसक्थें। कति जिल्ला पूर्वमाओवादीले लिने, कति पूर्वएमालेले लिने, पहिला त्यसको निर्धारण गर्ने थियौं। त्यो संख्या टुङ्ग्याएपछि जुन एमालेले लिने हो, त्यसमा पूर्वएमालेको भागमा परेको कमिटीमा एमालेको कमिटीमा जो वरिष्ठ छ उही हुन्थ्यो। अध्यक्ष भए अध्यक्ष, अध्यक्ष अन्य जिम्मेवारीमा छ भने उपाध्यक्ष एकीकृत दलको जिल्ला कमिटीको अध्यक्ष हुन्थ्यो। त्यसैगरी सचिव नभए उपसचिवमा नेतृत्व पुग्थ्यो। माओवादीका जिल्ला अध्यक्ष त्यसका सचिव हुन्थ्यो। माओवादीको भागमा परेको कमिटीको पनि त्यस्तै हुन्थ्यो। एमालेको सचिव हुन्थ्यो। यसरी जिम्मेवारी दिएको भए निष्पक्ष पनि हुन्थ्यो। जुन मानिस एमाले र माओवादीका साविकका कमिटीका नेता छन्। ती कमिटीका म्यान्डेटबाट नेता भएका हुन्। एमालेका करिब-करिब सतप्रतिशत नेताहरु अधिवेशनबाट आएका हुन्। त्यसैले एकताको त्यो प्रक्रिया नै त्यो स्वाभाविक वैैधानिक लोकतान्त्रिक प्रक्रिया हुन्थ्यो।

यही मापदण्डअनुसार नगर्दा अहिले ढिलो भइरहेको हो। आफ्नो खल्तीको मानिसलाई विभिन्न जिल्लामा फिट गर्नका लागि मात्रै ढिलाइ हुँदैछ। योबाहेक अर्को कारण देखेको छैन। ६ महिनादेखि हेरिरहेको छु, दुर्भाग्यले अर्को कारण भेटेको छैन।

दुई अध्यक्षका मानिस भन्न खोज्नुभएको? 
मैले जानेको हिजोको एमालेको हो। माओवादीको संगठन र त्यसका तरिका बारेमा धेरै थाहा छैन। हिजोको माओवादीबारे बोल्नु राम्रो नहोला। एमालेमा जुन प्रक्रियाबाट नेतृत्व चयन हुँदै आएको थियो, त्यसलाई बिथोल्नेबाहेक अर्को कुनै कारण देख्दिनँ। अन्यथा बाटोबाट आफ्नो मान्छे हाल्नेबाहेक अन्य समस्या केही पनि होइन।

हिजो एमालेमा चुनावबाट नेतृत्व चयन हुन्थ्यो भने माओवादीमा अधिकांश मनोनित नै गरिन्थ्यो। तपाईंको भनाइमा अब नेकपा बनेपछि हिजोको माओवादीकै शैलीमा मनोनित गर्न खोजिँदैछ?
सांगठनिक रुपमा हामी हिजोको माओवादीको बाटोमा गयौं भने सत्यानासको बाटोमा जान्छौं। युद्धबाट आएको माओवादीका लागि त्यो बाध्यता थियो होला। तर आजको नेकपाले हिजोको माओवादीको बाटो लियो भने यो पार्टी सकिन्छ। एमालेमा चाहिँ संगठन सत्तामा जाने बाटोका रुपमा मात्रै रह्यो। हामीले अपनाएको लोकतान्त्रिक प्रक्रियाको अन्तर्य के थियो खोजिएन। सैद्धान्तिक रुपमा क्रान्ति, अग्रगमन, सामाजको प्रगतिशील रुपान्तरणप्रति हाम्रो चेतना कमजोर हुँदै गएका थियो। स्वास्थानी कथा आयोजना गर्ने जस्तो बन्दै गएको थियो।

दुई अध्यक्षबीच संगठनमा भागबण्डा नमिलेर अप्ठेरो भइरहेको हो त?
संगठनात्मक एकीकरण नहुँदा, जिम्मेवारी नुहँदा जे-जे बिग्रिएका छन् त्यसको सबै दोष नेताहरुलाई नै लाग्ने हो। संगठनात्मक एकीकरण ढिलो गरेर नेताहरुले बदनामी कमाइरहेका छन्। प्रजातान्त्रिक प्रक्रियालाई खुम्च्याएर नेताहरुले कुनै किसिमको श्रेय पाउँदैनन्। यो कुरा हामीले नेताहरुलाई बुझाउन सकेनौं। यति सानो कुरा पनि बुझाउन नसक्ने स्थायी कमिटी सदस्यको हिसाबले मैले माफी माग्नुपर्ने हुन्छ।

अध्यक्षहरूसँग भेटघाट त भइरहेकै होला, यसबारे प्रत्यक्ष छलफल भएको छैन?
अध्यक्षहरु एकदमै व्यस्त छौं भनिरहनुभएको छ। उहाँहरुलाई स्थायी कमिटी सदस्यका रुपमा भेट्ने कुनै चान्स पाएको छैन। केही चाहियो भनेर जाने हो भने व्यक्तिगत कुरा भयो। मेरा मानिसका लागि चारवटा राजनीतिक नियुक्ति छुट्टयाइदिनुस्, राजदूत बनाइदिनुस्, मलाई मन्त्री बनाइदिनुस, फलानोलाई लाभको पदमा पुर्याइदिनुस् तपाईंकै गुटमा हालिदिउँला भनेर जानेलाई बाटो होला। यी सबै काम भएकै छन्। त्यसबाहेक राजनीतिक हिसाबले जानका लागि राजनीतिक प्रक्रिया हुनुपर्यो। वैधानिक बाटो भनेको बैठकहरू डाक्नु पर्यो, हामीले छलफल गर्ने त्यहीँ हो।

सरकारको मूल्याङ्कनचाहिँ कसरी गर्नु हुन्छ?
यो सबैका अगाडि स्पष्ट छ। न यसमा बढाइँचढाइ गर्नुपर्ने छ न घटाउनुपर्ने छ। कोही प्रधानमन्त्री, मन्त्री भैदिएको, कसैले राजनीतिक नियुक्त पाइदिएको अवस्थामा यो सरकार चलेको छ। हिजोको सरकारसँग तुलना गर्दा यो सरकार ठीकै चलेको छ। तर सरकारलाई हिजोको जस्तो मात्रै चलाएर भएको छैन। हिजो अस्थिरताको बेला छ/छ महिनामा प्रधानमन्त्री बदलिने समयमा जति काम भएका थिए, त्यो भन्दा धेरै नै काम अहिले भएको होला। तर त्यस विषयमा पनि पार्टीभित्र छलफल भएको छैन। सरकारमा बसेकाले राम्रो राम्रो मात्रै देखेका छन्, बाहिरबाट त्यस्तो देखिएको छैन। मेरो कुरा के मात्रै हो भने बैठक डाकेर यो सरकारले यति यति काम गर्यो भनेर भनिदिने वातावरण तयार गरिदिनुस्। ताकि हामी तपाईंको प्रशंसा गर्न पाऊँ। तपाईंले गरेका कामहरुको जयजयकार गर्न पाऊँ।

सरकारका कामबारे सार्वजनिक रुपमै भन्दिनोस् न।
६–७ महिनामा सरकारले जे गर्यो त्यसको बेलिविस्तार वा व्याख्यातिर म जान्नँ। मेरो विश्लेषणको एक लाइन सार हो– हामीले राम्रो गरिरहेका छैनौं। जुन तरिकाबाट हामी जाँदैछौं त्यो तरिका गलत छ। त्यसलाई बदल्ने हो। बदल्नका लागि पार्टीको आन्तरिक लोकतन्त्र बहाल गर्ने हो। त्यसपछि नयाँ विचार, कार्यक्रम, कार्ययोजना आउँछ। त्यसलाई बोकेर सम्पूर्ण पार्टी पंक्ति हिंड्ने हो। पार्टीका १५–२० लाख सदस्यलाई विचारमा एकतावद्ध गर्न सक्यौं भने हामीले गर्न नसक्ने कुरा केही छैन।

कहिलेकाहीँ हामीलाई ‘म छु र न यी सारा मानिस पार्टीमा छन्’ जस्तो लाग्छ। जसले पनि सबैभन्दा बढ्ता आफैलाई चिन्छ। मानिसको शक्ति वा कमजोरी भनेको आफूलाई चिन्ने नै हो। मलाई के लाग्न सक्छ भने मैले सबैलाई जुटाएको छु। अचेल हाम्रा आत्मवृत्तान्तहरु पनि यही मनोविज्ञानमा लेखिएका छन्। यत्रो पार्टीलाई एकै स्थानमा ल्याउने भनेको विचारले नै हो। वैचारिक रुपमा मानिस एक स्थानमा उभिन्छ। कता जाने भन्ने निर्धारण विचारले गर्ने हो। कसरी जाने भन्ने बाटो संगठनले देखाउने हो।

प्रकाशित १२ मंसिर २०७५, बुधबार | 2018-11-28 10:53:04
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।