अन्तर्वार्ता

‘लोकमानबारे निर्णय गर्न नसके कांग्रेसले राजनीति नगरे हुन्छ’

कांग्रेस नेता आनन्दप्रसाद ढुंगाना भन्छन्– ‘कांग्रेसलाई प्रस्तावबारे बेलैमा जानकारी दिइएन’



अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि सबैका नजर सबैभन्दा ठूलो दल कांग्रेसतिर सोझिएका छन्। कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पनि यही विषयमा केन्द्रित छ। यसै सेरोफेरोमा कांग्रेसका नेता आनन्दप्रसाद ढुंगानासँग सइन्द्र राईले गरेको कुराकानी–

संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसलाई लोकमानबारे निर्णय लिन किन सकस परेको?

सभापतिजीले प्रस्टसँग पहिले नै भनिसक्नु भएको छ। केन्द्रीय कार्यसमिति बैठकले निर्णय लिन्छ। बैठक जारी छ। बैठकको अन्त्यमा लोकमानविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावबारे कांग्रेसको धारणा आउँछ।

अर्काे कुरा, महत्वपूर्ण विषयहरुमा सभापतिले मात्रै निर्णय लिएर हुँदैन। यसका लागि सबै सांसद र नेताहरुको धारणा बुझ्नु लोकतान्त्रिक विधि हो। अझ, केन्द्रीय समितिको बैठक मात्रै होइन, यसबारे संसदीय दलको बैठक बस्नु पनि जरुरी हुन्छ। यसरी सम्पूर्ण कांग्रेसको धारणा एक भएपछि लोकमानबारे निर्णय हुन्छ। पार्टी पंक्तिलाई एक ठाउँमा नल्याई निर्णय हुँदैन।

तर, यसबारे कांग्रेसका सांसदहरु पहिलेदेखि नै संसदमा बोल्दै आएका थिए। अहिले महाअभियोग नै दर्ता भइसकेपछि भने कांग्रेसले छलफल गर्नुपर्ने त्यस्तो के पर्‍यो?

कांग्रेस नेपाली राजनीतिको मियो हो। हरेक परिवर्तनको नेतृत्व कांग्रेसले गर्दै आएको छ। लोकमानबारे पनि कांग्रेसले निर्णय मात्रै होइन, नेतृत्व नै गर्छ। अहिले नै आत्तिनु पर्दैन। कांग्रेस कहिले पनि हतारमा निर्णय गर्दैन।

चाँडै लोकमानबारे निर्णय हुन्छ। त्यसका लागि पहिले पूरै पार्टी पंक्तिलाई साथमा लिन कांग्रेसले चाहिरहेको छ।

फेरि, अहिलेको एजेन्डा लोकमान मात्रै होइन। संविधान संशोधन, कार्यान्वयनदेखि ०७४ माघ ७ भित्र तीनै तहको निर्वाचन गर्दै राजनीतिलाई सामान्यकालतिर लैजाने एजेन्डाबारे समेत यो बैठकले निर्णय गर्दैछ। लोकमान मात्रै अहिलेको छलफलको विषय होइन।

तपाईं लोकमानको एजेन्डा मात्रै महत्वपूर्ण होइन भन्नुहुन्छ। कांग्रेसभित्रकै कतिपय नेताहरु र जनमतको राय के छ भन्नेबारे सोच्नु भएको छ?

कसैले हात्ती चढ्यो भन्दैमा धुरी चढ्नु भएन। कुनै पार्टीले हतारमा निर्णय लियो। अब त्यसैलाई लिएर केही कुरा चल्यो भन्दैमा कांग्रेस पनि कुदिहाल्ने? यसको वास्तविकता कांग्रेसका तल्लो तहसम्म थाहा हुन जरुरी छैन?

संसदमा महाअभियोग प्रस्तावबारे प्रक्रिया चलिरहेको छ। सडकमा दबाव उस्तै देखिन्छ। त्यसो भए, कांग्रेस चाहिँ अझै सोचेरै बसिरहने हो?

भनिसकेँ नि, कांग्रेसले लोकमानको महाअभियोगबारे नेतृत्व नै गर्दैछ। आत्तिनु जरुरी छैन। तर, संविधान कार्यान्वयनको जटिल समस्या पनि त भुल्नु भएन।

तपाईंहरुले निर्णयमा विलम्व गर्दा कांग्रेस लोकमानको पक्षमा त लाग्न आँटेन भन्ने संशय पनि छ नि?

कसले के भन्छ, त्यतातिर कुदेर मात्रै हुँदैन। लोकतन्त्रमा कुरा काट्नु ठूलो विषय नै होइन। जसले जे भन्छ, उतै कुद्ने हो भने राजनीति छोडे हुन्छ।

मैले भनिसकेँ, लोकमानबारे कांग्रेसले निर्णय चाँडै लिन्छ। हरेक परिवर्तनको नेतृत्व गर्दै आएको कांग्रेसले लोकमानबारे नै निर्णय लिन नसक्ने हो भने त कांग्रेसले राजनीति नगरे भइगयो नि। किन कांग्रेसले राजनीति गर्नुपर्‍यो?

संसदको ठूलो दल कांग्रेसकै निर्णयको प्रतिपक्षामा नेपाली राजनीति अडिएको छ नि त?

तपाईं साना–साना कुरामा अल्मलिरहनु भएको छ। महाअभियोग प्रस्ताव दर्ता गर्नेबारे एक त कांग्रेसलाई बेलैमा जानकारी दिइएन। पछि मात्रै थाहा भो। जब थाहा भयो, छलफल त भइरहेकै छ नि।

बैठक कहिले सकिन्छ र महाअभियोगबारे निर्णय आउँछ?

म ज्योतिष होइन, भविष्यवाणी गर्नलाई। गर्दै जाँदा निर्णय आउने हो।

एमालेले महाअभियोग प्रस्तावको जस लिने भय कांग्रेसमा देखिएकाले लोकमानबारे निर्णय लिन सकेको छैन, भन्ने पनि छ। साँचो हो?

एउटा घटना विशेषले मात्रै राजनीति चल्दैन। यसबारे कांग्रेसलाई राम्रो हेक्का छ। कसले जस लियो होइन, नेपाली जनताको चाहनाअनुसार कांग्रेस अघि बढ्छ।

महाअभियोगबारे कांग्रेसले गर्नसक्ने निर्णयको पछिल्लो अनुमान?

बैठकले फाइनल गर्छ। धारणा मिश्रित छन्। फेरि, अहिले लोकमान मात्रै राजनीतिक समस्या होइन भनिसकेँ नि।

प्रकाशित ७ कार्तिक २०७३, आइतबार | 2016-10-23 21:40:56

प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

रोचक

NepalKhabar Tweets

विशेष

  • बेइजिङमा खुल्यो नेपाली भाषा विशेषज्ञ समिति

    चीनको संस्कृति मन्त्रालयको वैदेशिक संस्कृति सम्पर्क व्यूरो तथा बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयको संयुक्त प्रयासमा सोमबार नेपाली भाषा...

  • बाबुराम भट्टराईका मामा चन्द्रप्रसाद न्यौपाने

    बाबुरामका मामा भन्छन्ः भाञ्जाको जीत हर्ष न बिस्मात!

    ‘हिजो म नराम्ररी झुक्किएछु। प्रकाश (कांग्रेसबाट गोरखा २ (ख) प्रदेशमा विजयी) ले बुवा हिँड्न सक्नुहुन्न गाडीमा चढ्नुस् भन्नुभयो, म चढेँ। कुनबेला...

  • जीतपछि प्रचण्ड हर्षित, परिवार भावुक (तस्वीर)

    जन्मदिनको अघिल्लो दिन चितवन–३ मा विजयी भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकै हर्षित देखिएका छन्। तर, उनका परिवारका सदस्यहरु...

  • यू-१६ नेपाली टोली

    नारायण जोशीको उत्कृष्ट बलिङमा नेपालको सहज जित

    एसीसी यू–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गतको सोमबार भएको पहिलो खेलमा नेपालले आयोजक थाइल्याण्डलाई १३३ रनले पराजित गरेको छ।