व्यापारमा कठोरता हुन्छ, साहित्यमा कोमलता: बसन्त चाैधरी (अन्तर्वार्ता)




बसन्त चाैधरी
बसन्त चाैधरी

बसन्त चौधरी अलिक भिन्न खालका मानिस हुन्। यसर्थ भिन्न कि, व्याापारिक-मारवाडी समुदायका भएपनि साहित्य-संगीतमा लागेका छन्। व्यापार-बंशको ‘लिगेसी’ धान्नका लागि छोरा हुनैपर्छ भन्ने मान्यता राख्ने समुदायका भएपनि एक छोरीको बुबा हुनुमा गर्व गरिरहेका छन्। स्वर–सम्राट नारायण गोपालको जीवनका अन्तिम समयका सहयोगी– सहयात्री यिनै बसन्त थिए। नारायण गोपालको सम्झना गर्नासाथ भक्कानिन थालिहाल्छन्। प्रस्तुत छः चौधरीसँग नेपालखबरका सीताराम बरालले नारायण गोपाल, व्यापार र साहित्य, पारिवारिक जीवन लगायतका विषयमा गरेको कुराकानी:

मारवाडी-व्यापारिक पृष्ठभूमि भएको परिवारको मान्छे, साहित्य सिर्जनामा लाग्नुभएको छ। के कारणले नेपाली साहित्यले आकर्षित गर्‍यो?
‘म यो गर्छु’ भनेर नहुने चिज रहेछ। त्यसैले म यसलाई नियति मान्छु। सबै व्यक्ति सबै चिजमा उत्कृष्ठ हुन्छ भन्ने छैन। कुन चिजले उसलाई बढी आकर्षित गराउँछ भन्ने कुरा थाहा हुँदैन।

व्यापारीको छोरा, व्यापारी नै हुनुपर्छ भन्ने पनि छैन। म आफूलाई अपवाद भन्दिन, किनभने ‘क्रस प्रोफेसन’ मा लागेका अरुपनि धेरै छन्। व्यापारका लागि आवस्यक पर्ने केही विशिष्ठ गुण सायद मैले ग्रहण र विकास गर्न सकिन कि!

‘व्यापारीको हृदय कठोर हुनुपर्छ, साहित्यमा कोमल’ भन्न खोज्नु भएको हो?
जे भनेपनि व्यापार भनेको आफ्नो लागि मात्र सोच्ने पेशा हो। जसरी हुन्छ, नाफा कमाउनु पर्छ व्यापारमा। व्यापारको अन्तिम परिणाम नै नाफा हुन्छ। त्यसक्रममा तपाईंले कसैलाई शोषण गर्नुपर्ला, कसैलाई झुठ पनि बोल्नुपर्ला। आफ्नो इच्छा पूर्तिका लागि अर्काको इच्छा विपरितका काम गर्नुपर्ला। सायद यो गुण ममा आएन कि जस्तो लाग्छ।

हो, म व्यापार गर्छु। अहिले पनि व्यापार गर्छु। व्यापार गरी नै रहेको छु। त्यसले मेरा आवश्यकता पूर्ति पनि गरेको छ। तर इमान्दारीपूर्वक व्यापार गर्दा मैले प्रतिफल पाउन सकिन भने, मलाई त्यसले विचलित चाहिँ गराउँदैन। ‘मैले मेरो कर्म गरेँ, त्यसबाट भएन’ भनेर चित्त बुझाउँछु। प्रतिफलका लागि गलत हथकण्डा प्रयोग गरेर पैसै कमाउनुपर्छ भन्नेतिर मेरो सोच हुँदैन।

म फर्केर हेर्छु आफ्नो पुस्ता-दरपुस्तातिर कोही साहित्यमा भिजेर लागेको कोही पनि पाउँदिन। हो, हाम्रो पुस्तामा आएपछि संगीत-साहित्य कहीँ न कहीँबाट छिरेको महसुस हुन्छ। किनभने, बिनोद (चौधरी) दाई पनि एक युगमा गीत गाउनु हुन्थ्यो। दाईले केही गीतहरु रेकर्ड पनि गराउनु भएको थियो।

यी उहाँका युवा अवस्थाका कुरा थिए, करिव ४० बर्ष अगाडिको कुरा गर्दैछु म। मलाई पनि यो क्षेत्रले तान्यो।

साहित्यमा त्यस्तो के छ र, जुन व्यापार-व्यवसायमा छैन?
साहित्यमा आत्मसन्तुष्टि छ, मेरालागि। व्यापारमा प्रतिफल हेरिन्छ- यति आम्दानी र उति र उति घाटा भने। तर साहित्यबाट पाइने प्रतिफल संख्यामा गणना गर्न सकिन्न। व्यापारमा गणित हुन्छ, साहित्यमा हुँदैन। व्यापारमा २ प्लस २ गर्दा ४ हुनैपर्छ। तर, सुखानुभूतिका बेला २ प्लस २ गर्दा ४ पनि हुनसक्छ, ८ पनि हुनसक्छ।

म गणितमा बाँधिन रुचाउँदिन। त्यही भएकाले होला, साहित्यमा मलाई ‘कम्फर्टेबल फिल’ हुन्छ।

व्यापारले साहित्य लेखनलाई वा साहित्य लेखनले व्यापारलाई अवरोध गरेको छ कि छैन?
अवरोधको परिभाषा कसरी गर्ने? जुन प्रतिस्पर्धा गर्नुपर्ने हो, व्यापारतिर त्यो खालको प्रतिस्पर्धा भएको छैन होला। तर आफ्नो आवस्यकता पूर्ति गर्नेगरी कमाउनु भएको छ भने त्यसले आत्मसन्तुष्टितिर नै डोर्‍याउँछ। पैसा कमाउने भनेको नशाजस्तै हो, जुन मदिरापान गरेपछि हुन्छ। मदिराको लत लागेपछि त्यो लत बढ्दै जान्छ। पैसा कमाउने भन्ने कुरापनि नसा नै हो, कमाउँदै गएपछि अझ बढी कमाऊँ भन्ने लाग्छ। त्यो नशामा लागेपछि मानिस मस्त हुन्छ। उसले यताउता कहीँकतै हेर्दिन।

त्यो नशा तपाईंलाई लाग्यो कि लागेन?
कहिले पनि लागेन। त्यसैले कतिपय साथीहरु मलाई भन्छन्, ‘तिमीमा कुनै ‘एम्बिसन’ छैन, त्यसैलाई ढाकछोप गर्न पैसा कमाउने मेरो लत होइन भन्छौ।’

दाजु बिनोद चौधरी विश्वका अर्बपतिहरुको सूचीमा हुनुहुन्छ। तपाईं पैसा कमाउने नशा ममा छैन भन्नुहुन्छ...
खुसी लाग्छ, मेरा दाजु अर्बपति हुनुहुन्छ। तर ईर्ष्या लाग्दैन कि, दाजुले मात्र कमाउनु भयो भनेर, न मलाई त्यसबाट हिनताबोध नै हुन्छ।

‘अरु दाजुभाई त्यस्तो कमाउने, तपाईं चाहिँ यस्तो..’ भनेर परिवारबाट कचकच त होला नि!
हुन्छ नि! तर ठीकै छ। परिवारले हेर्ने दृष्टिकोण फरक हुन्छ। तर आत्मसन्तुष्टिका दृष्टिले हेर्ने हो भने, अरुले के भनिराख्या’ छ भन्ने कुरामा अल्झिएर बस्नु हुँदैन। आफू कसरी सुखी छु भन्ने कुरा तपाईं आफैले अनुभव गर्ने हो।

मेरा यी भनाईहरु कृतिम जस्ता लाग्लान्। तर, मेरो जीवनको वास्तविकता यही हो।

चौधरी घरानामा तपाईंपछि साहित्यलाई निरन्तरता दिने कोही जन्मेला?
हामीपछिको पुस्ता साहित्य-कलामा मज्जासँग भिजेको छ। बिनोद दाईको जेठो छोरा (निर्वाण चौधरी) संगीतमा छ। आफै गीत रचना गर्छ। त्यसमा आफै संगीत हाल्छ, गाउँछ पनि। मेरी छोरी मेघापनि लेख्छे। विस्तारै हाम्रो परिवारलाई साहित्यले अँगालो हाल्न थालेको छ।

म्युजिक त हाम्रो परिवारमा छरपस्ट भएको छ, खासगरी हामीपछिको पुस्तामा। कोही भायोलिन बजाउन पोख्त छन्। मेरी छोरी सितार र किबोर्डमा पोख्त छे।

परिवारमा गीत-संगीतको महफिल कत्तिको जम्छ?
जम्छ, मज्जासँग। साथीभाईसँग बसेका बेला गीत गाउने भइरहन्छ। हुँदाहुँदा मेरी ६ बर्षे नातिनी म्युजिक सुन्यो कि डान्स गर्ने भइसकी। हाम्रो पुस्ताले साहित्य-संगीतमा रुचि राखेकाले होला, हामीपछिको पुस्तापनि साहित्य संगीतमा अभ्यस्त हुन थालेको छ। फरक यत्ति हो, साहित्यमा मैले आफूलाई पूर्णकालिन बनाएको छु, अरुले चाहिँ शोखका रुपमा लिएका होलान्।

चाहे गीत होस्, चाहे संगीत- यदि हामी सिर्जनाको कुरा गर्छाैँ भने यसमा मेरा सबै दाजुभाईहरु देखिन्छन्।

मारवाडी परिवारमा आफ्नो व्यापारको उत्तराधिकारीका रुपमा छोराको उपस्थिति अनिवार्य हुन्छ भनिन्छ। तर, तपाईं एकमात्र छोरीका पिता हुनुहुन्छ...?
जब मेरी श्रीमति र मैले बच्चा पाउने योजना बनायौँ, त्यो बेला हाम्रो सोच थियो, जे हुन्छ, एउटा मात्र बच्चाको चाहना राख्ने। त्यसमा पनि छोरी भइदियो भने हामी अझ बढी सन्तुष्ट हुनेछौँ।

हामी दुबैलाई के लाग्थ्यो भने, दुई बच्चा भयो भने हाम्रो मायाँ बाँडिन्छ, त्यसले गर्दा बच्चाहरुको बीचको सम्बन्धमा फरक आउन सक्छ। हाम्रो सोचाई गलत पनि हुनसक्छ। तर हामीले त्यस्तो सोच्यौँ, योजना बनायौँ।

हाम्रो बुबाआमाको एक छोरी र हामी ३ दाजुभाई। त्यसैले, सायद बुबाआमाको मायाँ बाँडिएको थियो कि! र, ममा त्यस्तो सोचाई आएको हो कि? किटान गरेर त म भन्न सक्दिन। तर कुनै न कुनै किसिमले त्यस्तो भएको थियो कि। नत्र यस्तो कुरा दिमागमा आएर बस्दैनथ्यो भन्ने लाग्छ।

मेरो श्रीमतितर्फ पनि तीन जना दिदी, दुईजना दाजुभाई। उनलाई पनि कहीँ न कहीँ त्यस्तो अनुभूति भयो होला। जेसुकै होस्, हामीबीच सन्तानका विषयमा एकमत रह्यो। त्यसमाथि झन् भगवानले हाम्रो प्रार्थना सुनिदिनुभयो। छोरी नै जन्मिई।

छोरी नै हुन्छिन् भन्ने थाहा थियो?
थिएन। त्यो बेला अहिलेजस्तो छोरा कि छोरी भन्ने थाहा पाउने प्रविधि आइसकेको थिएन। त्यस्तो प्रविधि आएको भएपनि म त्यसको विरोधी हुँ।

म त्यो बेला २५ बर्षको मात्र त थिएँ। उनले गर्भधारण गरिन्। त्यो मेरालागि अत्यन्तै खुसीको कुरा थियो। सानै उमेरमा विहे भएको हो, अहिलेको हिसावले हेर्दा।

छोरी जन्मी। बडो खुसीको माहोल थियो हाम्रो परिवारमा। हुन त, विनोद दाईका दुई बच्चा भइसकेका थिए। तर, हामीलेपनि पायौँ। परिवारमा खुसीको सीमा नै थिएन।

झन् सुनमा सुगन्ध! उ छोरी भएर जन्मिई। उसका पाँचजना दाजुभाई भए, परिवारमा उ एकमात्र छोरी भएर आई।

हाम्रो ‘जेनेरेशन’ मा पनि हामी तीनजना दाजुभाईमा एकजनामात्र दिदी हुनुहुन्छ। अर्काे संयोग, बुबाको जेनेरेशनमा बुबा एक्लो र अर्काे एकजना फुपु हुनुुहुन्थ्यो। भनेपछि हाम्रो परिवारमा एउटा-एउटामात्र कन्या छन्। तीन पुस्तासम्म यस्तो भयो।
हामीपछिको पुस्ताहरुमा चाहिँ छोरीकै बाहुल्यता देखिएको छ। बडो खुसीको कुरा!

छोराको पिता हुनु र छोरीको पिता हुनुले हृदयमा कुनै असर पुर्‍याउँछ भन्ने लाग्छ?
साहित्य रचनाका लागि मन कोमल हुनैपर्छ। मेरो पहिलो साहित्य कृति नै छोरीको नाममा छ- मेघा।

छोरीको ‘एट्याच्मेन्ट’ पनि मप्रति असाध्यै छ, उसको मुमाप्रति भन्दा। मेरालागि पनि छोरी सबैभन्दा ठूलो कुरा हो। हरेक कुराको उदाहरण छोरी हो भन्न मन लाग्छ, चाहे जुनसुकै विषयमा होस्।

हाम्रो जीवन राम्रोसँग चल्दै गयो। छोरीको पनि विवाह भयो। उसले मन पराएकै केटासँग अन्तर्जातीय विवाह भयो। व्यापारको हिसावले हस्पिटल (नर्भिक) नै ठूलो लगानी र ठूलो प्रतिष्ठा बोकेको प्रोजेक्ट हो। त्यो प्रोजेक्ट मेघाले सम्हाल्न थालेकी छे।

एक्ली छोरी अन्माएर पठाउँदा कस्तो हुँदो रहेछ?
सबै छोरीका पिताको सम्बेदना एउटै हुन्छ। छोरी विहे भएर जाने घर चाहे एक किलोमिटर टाढा किन नहोस्, छोरी अन्मिएर जाँदा आफूसँग भएको सबैभन्दा प्रिय बस्तु झट्ट हराएर गएजस्तो हुँदो रहेछ। छोरी अन्मिँदा लाग्दो रहेछ, ‘यो जीवन केका लागि अब? जीवन सक्किएको हो कि त?’

म त्यो दिन निकै भक्कानिएँ।

तर, छोरी नजिक छे, रोजाना उसलाई देख्न सक्छु, भेट्न सक्छु। अझ त्यस्ती छोरी, जसले व्यापार सम्हालिदिएकी छे। त्यसैले, छोराको कुनै महसुस भएन। झन् अहिले त नातिनीपनि जन्मिएकी छे।

प्रधानसेनापति राजेन्द्र क्षेत्रीले नेपालखबरसँगको कुराकानीमा भन्नुभएको छ कि, ‘अवकासपछि मेरा लागि सबैभन्दा बढी महत्वपूर्ण कुरा नाति-नातिना खेलाएर बस्ने काम हुनेछ।’ किन यस्तो भावना आउँछ?
नाति-नातिना खेलाउनुको आनन्द शब्दमा व्यक्त गर्न सकिन्न। हेर्नुस्, मैले ६० वर्षको उमेरमा ८० प्रतिसत जस्तो व्यापारबाट ‘रिटायरमेन्ट’ लिइसकेँ। यसको नितान्त एउटा कारण नातिनीसँग खेल्न पाउँछु भनेर नै हो। उपनि त्यत्तिकै लोभिन्छे मसँग। मपनि उसँग खेल्न त्यत्तिकै लोभिन्छु। कतिबेला उसलाई भेटौँ भन्ने लाग्छ।

२५ बर्षको उमेरमा छोरीसँग खेल्नु र ६० बर्षको उमेरमा नातिनीसँग खेल्नुमा केही फरक हुँदो रहेछ?
उमेर जति होस्, बच्चामा देखिने छवी त एउटै हो। त्यसैले, छोरी र नातिनी एकै जस्तो लाग्छ। तर उनीहरु (छोरी र नातिनी) मा कहीँ न कहीँ प्रतिस्पर्धा चाहिँ हुँदो रहेछ। बाबाले मलाई त्यति मायाँ गथ्र्याे, अहिले उस (नातिनी) लाई मायाँ गर्न थालेको छ भन्ने लाग्दो रहेछ छोरीलाई।

साहित्य सम्बन्धी कुराकानी गर्न आएको थिएँ, छोरी-नातिनी सम्बन्धी कुरा गर्दैछु। अप्ठेरो त लागेको छैन?
अहँ, छैन। कहिलेकाहीँ किशोर उमेरका विद्यार्थीहरुसँग कुराकानी गर्न मन लाग्छ। दुई दिनअघिमात्र ग्लोबल कलेज गएको थिएँ। ‘सकरात्मकता’ र ‘खुसी’ का विषयमा कुरा गर्छु, साथै आफ्ना कविता पनि सुनाउँछु, उनीहरुका कुरापनि सुन्छु भनेर गएको थिएँ। तपाईंले सोधेजस्तै प्रश्न एकजना नानीले त्यहाँ सोधिन्।

उनको प्रश्न थियो, ‘हुन त, तपाईं व्यापारको क्षेत्रबाट आउनु भएको मान्छे। तर, तपाईंको एउटैमात्र छोरी छिन्। अब तपाईंको परिवारको ‘लिगेसी’ कसले अघि बढाउँछ? छोरा नभएकोमा तपाईंलाई पछुतो लाग्दैन? जबकि हाम्रो समाजले ४-५ वटा छोरी भएपनि एउटा छोरा त हुनैपर्छ भन्ने मान्यता राख्छ।’

छोराको आवस्यकता हामी दुई कारणले देख्छौँ। एउटा वंशलाई अगाडि बढाउन। अर्को, मृत्युपछि आफ्नो काजक्रियाका लागि। मैले भनेँ, ‘यो काम त आजकल छोराले भन्दा छोरीले राम्रोसँग गर्छन्। अब छोरीहरुले क्रिया गर्न नहुने, व्यापार गर्न नहुने, घरमा भात पकाएरै बस्नुपर्छ भन्ने जमाना छैन। हाम्रो समाज त्यहाँभन्दा धेरै माथि आइसक्यो। अब पहिलेको बन्धनमा बस्न जरुरी छैन।’

तपाईंको साहित्य-सिर्जनामा प्रेमले धेरै ठाउँ पाउँछ। कुनै कारण त अवस्य होला?
अहँ, छैन।

तर, मेरो विहे सानो उमेरमा भयो, कलेज जीवन सकिनासाथ विहे गर्नुपर्‍यो। त्यो बेलाको समाज अहिलेजस्तो स्वच्छन्दपनि थिएन। सानो उमेरमा विहे भएपछि प्रणय सम्बन्ध राख्ने मौकापनि पाइएन।

दाजु बिनोदले जस्तै ‘भागी विहे’ गर्ला भनेर बुबाले चाँडै नै ‘मागी विहे’ गरिदिनु भएको हो?
पक्का हो। मेरो छिटो विहे हुनुको कारणै यही हो। मारवाडी समाज अलिक संकिर्णतामा विश्वास राख्छ। ‘यो पनि दाजुजसरी भड्केला’ भनेर होइन कि, ‘केही गरी यसले अन्तरजातीय विहे गरिदियो भने भाईका लागि राम्रो घरानिया प्रस्ताव आउन्न कि’ भन्ने ठूलो चिन्ता बुबामा थियो।

बुबाको चिन्तालाई मैले सम्मान गरेँ। र, भनेँ, ‘ठीक छ, खोज्नुस् न त केटी।’ पहिलो पटक मैले श्रीमतिलाई देखेको टीकाटालोको दिन नै हो। तर, न यो कुराले मेरो मनमा उदासिनता छ, न त असन्तुष्टि नै। त्यसैले, प्रेम-विछोडका गीत म लेख्छु भने, र कसैलाई मेरो विहेका कारणले होला भन्ने लाग्छ भने, यो संयोगमात्र हो।

पक्का हो?
पक्का। आफूले देखेका, बुझेका कुराहरुको प्रभावमात्र हो। आफूमाथिको कुनै घटनाहरुको प्रतिबिम्ब होइन।

विहे अघि कहीँकतै ‘अफेयर्स’ थिएन?
थिएन। त्यो मौका नै पाएको होइन। त्यो बेलाको उमेर र पारिवारिक रुपले संकीर्ण वातावरणमा हामी हुर्केकाले त्यस्तो भएन।

‘लभ म्यारिज’ भइदिएको भए दाम्पत्य जीवन झन् सुखी हुन्थ्यो जस्तो लाग्छ कि लाग्दैन?
मेरो अनुभवको कुरा गर्नुहुन्छ भने, ७० प्रतिसत एरेन्ज म्यारिजमा ‘ह्याप्पी इण्डिङ’ हुन्छ भने, ‘लभ म्यारिज’ त्यति नै प्रतिसत पीडामा गुज्रिएको हुन्छ। पाश्चात्य मुलुकमा हेर्‍यौँ भने देख्छौँ, ‘लभ म्यारिज’ को दुखद कहानी। ‘लभ म्यारिज’ जति दीगो हुन्छ, त्यति ‘एरेन्ज म्यारिज’ हुँदैन भन्ने कतिपयलाई लाग्ला। तर त्यस्तो होइन।

होला, ‘एरेन्ज म्यारिज’ मा ‘एडजष्टमेन्ट’ मा केही समस्या होला। तर, त्यहाँ प्रतिस्पर्धाको भावना हुँदैन। प्रतिस्पर्धा हुन्छ भनेपनि ५०-५० को प्रतिस्पर्धा हुन्छ। अर्थात् ‘एरेन्ज म्यारिज’ मा लोग्ने स्वास्नीको हैसियत बराबर हुन्छ। तर, ‘लभ म्यारिज’ मा यस्तो हुन्न।

‘लभ म्यारिज’ मा माग धेरै हुन्छ, जस्तो- ‘हिजो यस्तो दिन्छु भनेको थिइस्, यो ख्वाव देखाइस्, अहिले किन यस्तो?’ भन्ने भावना हुन्छ। ‘हिजो किन यस्तो आश्वासन दिइस्, म किन झुक्ने?’ भन्ने खालको भावना ‘लभ म्यारिज’ मा ज्यादा हुन्छ।

नारायण गोपालसँगको सम्बन्धका आधारमा निधनको ३० बर्षपछि उहाँलाई कसरी सम्झनुहुन्छ?
जीवनको एउटा कालखण्डमा हामी नजिक भएका थियौँ। तर, त्यो निकटताको अवधि लामो थिएन। यसका बाबजुद आत्मीयताचाहिँ धेरै थियो। सम्बन्धमा समयको लम्बाई भन्दा एकअर्कालाई बुझ्न सक्ने क्षमता महत्वपूर्ण हुन्छ जस्तो लाग्छ।

भेट कसरी भयो?
उहाँ र मबीचको सम्बन्ध अत्यन्त केटाकेटीपनाबाट सुरुवात भयो। २०३६-०३७ तिरको कुरा हो। उहाँ सांस्कृतिक संस्थानमा महाप्रबन्धक हुनुहुन्थ्यो। म लियो क्लबको सभापति थिएँ। क्लबको तर्फबाट एउटा कार्यक्रम गर्नुपर्‍यो भन्ने सल्लाह साथीहरुबीच भयो। त्यसका लागि कुराकानी गर्न, प्रस्ताव राख्न म सांस्कृतिक संस्थान गएँ।

संस्थानभित्र छिरेँ। छिर्नासाथ उहाँले एकजनाले मलाई खाउँला जसरी हेर्याे। अत्यन्त रुखो स्वरमा ‘के हो, किन आएको यहाँ?’ भन्यो। मैले कार्यक्रम गर्न लागेको मात्र के बताएको थिएँ, उसले ‘हट्–डट्’ भन्दै हप्कायो। कलिलो उमेरको थिएँ, उसले हप्काएपछि डराएँ।

मलाई त्यसरी हप्काउने मान्छे नारायण गोपाल हुनुहुन्थ्यो। उहाँको बानी नै यस्तो रहेछ, स्वभाव नै यस्तो रहेछ।

उहाँको हप्काइले मलाई छोयो। सांस्कृतिक संस्थानबाट बाहिरिँदै गर्दा मलाई ईख जाग्यो, ‘यो मान्छेलाई कुनै न कुनै दिन आफै स्टेजमा त ल्याउँछु–ल्याउँछु।’

उहाँले आफ्नो स्वभाव अनुसार त्यसो गर्नुभयो। बिर्सनुभयो पनि। दिनहरु बिते। मनमा ईख छँदै थियो।

बिश्वम्भर प्याकुरेल (हाल श्रीलंकाका लागि नेपाली राजदूत) र म एकदम मिल्ने साथी। बिश्वम्भर युनिभर्सिटीको क्वार्टरमा बस्नुहुन्थ्यो। संयोगबस एकदिन प्याकुरेलकहाँ नारायण गोपालसँग मेरो भेट भयो। त्यो बेला म अलिक परिपक्व भइसकेको थिएँ। बिश्वम्भरले चिनजान गराउनुभयो। मैले पहिले भएको घटना सम्झाएँ। उहाँले ‘ए मैले त्यस्तो गरेँ है’ भन्नुभयो।

त्यहाँपनि मैले एउटा प्रस्ताव राखेँ, ‘तपाईं ‘सोलो पर्फमेन्स’ (एकल साँझ) गर्नुस्’ भनेर। म त्यो बेला क्यान्सर रिलिफ सोसाइटीको महासचिव थिएँ। क्यान्सर रोगीका लागि सहयोग हुन्छ भनेर यस्तो प्रस्ताव राखेको थिएँ। तर नारायण गोपालले रुचि देखाउनु भएन।

‘सिद्धियो मेरो गाउने बेला’ भन्नुभयो। तर, त्यो भेटपछि हाम्रो मित्रता झाङ्गिदै गयो। म खिचापोखरीस्थित कार्यालयमा बस्थेँ। उहाँ त्यहाँ आउनुहुन्थ्यो। हामी कुराकानी गरेर समय बिताउथ्यौँ। यसरी नजिकिदै गयौँ।

उहाँको स्वास्थ्य प्रतिकूल देखिन थाल्यो। उहाँलाई पहिलो पटक ब्याङ्कक पठाउने आवस्यकता महसुस भयो। सामाजिक सेवा राष्ट्रिय समन्वय परिषदमा कालिप्रसाद रिजाल सदस्य-सचिव हुनुहुन्थ्यो, म कोषाध्यक्ष थिएँ। अध्यक्ष श्री ५ ऐश्वर्य हुनुहुन्थ्यो। ऐश्वर्य सरकारसमक्ष जाहेर गरियो, उहाँले आवस्यक खर्च मिलाइदिनुभयो।

मानिसहरुलाई परिसकेको थियो कि, ‘यसले सधैँ रक्सी खान्छ, गाउनपनि सक्दैन।’ ‘यस्तो धारणा चिर्नुपर्छ है’ भनेर कालिप्रसाद रिजालले पनि भनिरहनु हुन्थ्यो। ब्याङ्ककबाट उपचार गरेर आएपछि नारायण गोपाललाई पनि लाग्न थाल्यो कि, ‘मैले केही न केही त गर्नैपर्छ, गाउनै पर्छ।’

उपचार गरेर ब्याङ्ककबाट फर्केपछि एकल साँझ गर्ने मेरो प्रस्तावमा उहाँले सहमति जनाउनुभयो। एकल साँझका लागि उहाँले रियाज गर्न थाल्नुभयो। त्यसको नाम ‘स्वर्णिम सन्ध्या’ राखौँ भन्ने भयो, उहाँले सहमति जनाउनुभयो। मलाई लाग्यो, ‘नारायण गोपालको त्यो एकल साँझलाई नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशासन गर्ण पाए..!’

नेपाल टेलिभिजनको अध्यक्ष नीर शाह हुनुहुन्थ्यो। बिनोद दाईको उहाँसँग घनिष्ट सम्बन्ध थियो। नीर शाह हाम्रो घरमा आइरहनुहुन्थ्यो। मैले ‘नारायण गोपाल एकल साँझ’ राख्न लागिएको कुरा बताएँ। उहाँले ‘एकदम राम्रो’ भन्दै हौसला दिनुभयो। उहाँमापनि नारायण गोपालप्रति अपार श्रद्धा थियो।

मैले प्रत्यक्ष प्रशारणको प्रस्ताव राख्नासाथ उहाँले सहमतिमात्र जनाउनु भएन, रोयल्टी समेत दिने कुरा गर्नुभयो। कार्यक्रम गरियो। कार्यक्रम असाध्यै सफल भयो। नेपाल टेलिभिजनले आफ्नो लोगो राखेर नारायण गोपालको कार्यक्रम प्रशारण गर्न पायो। आजका पुस्ताले नारायण गोपाललाई देख्ने भनेको त्यही कार्यक्रम कार्यक्रमको रेकर्डिङबाट हो।

त्यसपछि उहाँ अस्वस्थ नै हुनुभयो। एकदम एक्लो महसुस गर्नुहुन्थ्यो। समय बिताउने उहाँसँग दुई उपाय थिए। एक, जमलस्थित सिर्जना आर्ट ग्यालरीमा बसेर कलाकार शशी शाहसँग चेस खेल्ने। दुई, मेरो खिचापोखरीस्थित कार्यालयमा बसेर अखबार पढ्ने, लेखपढ गर्ने।

अझ बिरामी परेपछि उपचारको लागि मैले नै उहाँलाई लिएर नयाँदिल्ली गएँ। त्यो बेला मैले आफ्नै स्वतन्त्र व्यापार गर्न थालेको थिएँ। मैले कसैलाई सोध्न पर्दैनथ्यो। दुई–दुई पटक नयाँदिल्ली जाँदा उहाँबारे धेरै बुझ्न पाएँ।

के भन्नुभयो उहाँले?
उहाँ भन्नुहुन्थ्यो, ‘नेपालमा अर्केष्ट्रा नै भएन। यस्तो भएपछि कसरी संगीतको विकास हुन्छ? चारजनालाई भायोलिन बजाउन लगायो भने चार किसिमको सारङ्गी रेटेजस्तो रेटिदिन्छन्।’

उहाँको परिवारमा श्रीमतिबाहेक अरु कोही नभएकाले होला, उहाँमा एकाङ्कीपन अरु बढेको थियो। धेरै टोलाउन थाल्नुभएको थियो। कार्यविशेषका कारणले होला, उहाँका नजिकका साथीहरु पनि टाढिँदै गएका थिए। उहाँ झन् भन्दा झन् नराम्रो गरी विरामी पर्दै जानुभएको थियो।

अस्पताल पर्नुभयो। अस्पताल गएपछि त हामीले उहाँलाई बाहिर निकाल्नै सकेनौँ।

उहाँको निधनपछि कस्तो लाग्यो?
मैले आँसु थाम्न सकिन। मैले आफूलाई ‘हेल्पलेस’ ठानेँ। उहाँलाई बीर अस्पतालमै राखिएका बेलापनि नयाँदिल्लीबाट डाक्टर मगाएर उपचार गराइएको हो। तर बचाउन सकिएन।

उहाँको अन्तिम अवस्थामा हरिबंश आचार्य र म सँगै थियौँ। उहाँको बोल्न सक्ने स्थिति थिएन। डाक्टरले भनिसकेका थिए कि, ‘उहाँको बारे अब धेरै आश नगर्नुस् है!’

नियतिका अगाडि कसैको केही लाग्दो रहेनछ, उहाँ जानुभयो। तर जाँदाखेरि उहाँको अनुहारमा तेज चाहिँ थियो। बोल्न सक्नुहुन्नथ्यो, आँखाले चाहिँ बोल्न खोजेजस्तै लाग्थ्यो।

मलाई लाग्छ, उहाँ अत्यन्त पीडा महसुस गरिरहनु भएको थियो। र, ‘यो पीडामा म बाँच्न चाहन्न’ भन्न खोजिरहनुभएको थियो।

प्रकाशित २६ साउन २०७५, शनिबार | 2018-08-11 10:30:37
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • विमानस्थललाई २५ करोड नबुझाई ‘सम्पर्कविहीन’

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मंसिर ११ मा सौर्य एयरलाइन्सका २ बम्बार्डियर सीआरजे जहाज ग्राउन्डेड गर्‍यो।

  • हेमन्तप्रकाश ओली (सुदर्शन)

    विप्लवका कमान्डर पक्रन टिपर चढेर प्रहरी काफलडाँडा पुग्दा

    विशेष ब्युरोमा २०५७-२०६० सम्म काम गरेका एसपी सोमेन्द्रसिंह राठौरलाई सो अपरेसनको नेतृत्व दिइयो। उनी सशस्त्र द्वन्द्वमा भएका यस्ता अपरेसनका अनुभवी...

  • परीक्षाकै सूचना हराएको त्रिवि

    पत्रकारिता तेस्रो सेमेस्टर अन्तिम परीक्षा आइरहेकाले भर्खरै बिग्रिएको मोबाइलको डिस्प्ले बनाउन मन लागेन।

  • हङकङको आकाशमा निष उपाध्याय

    हङकङको आकाशमा निष उपाध्यायको ‘गुड फ्लाइङ’ (भिडियो)

    ‘हङकङमा २०११ देखि व्यवसायिक रुपमा प्याराग्लाइडिङ उडाउँदै आएको छु। मैले उडाउने धेरै मानिस चिनियाँ र केही नेपाली साथीभाइ हुन्छन्। पैसा लिएर होइन,...