बामदेव गौतमसँग अन्तर्वार्ताः ओली वाम विमानको मास्टर पाइलट, प्रचण्ड पाइलट, हामी को-पाइलट




वामदेव गौतम
वामदेव गौतम

‘केपी ओलीसँग जेलमा बसेदेखि नै मेरो दोस्ताना सम्बन्ध हो, त्यस्तो दोस्ताना माधव नेपाल र प्रचण्डसँग कहिल्यै भएन। केपी र मैले सँगै रक्सी खानेदेखि सँगै रुनेसम्म गर्‍यौं।’

३ जेठमा बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पूर्व घटकहरु एमाले र माओवादी केन्द्रबीचको एकताका एक सूत्रधार हुन्, पार्टीको शक्तिशाली ९ सदस्यीय सचिवालयका सदस्य बामदेब गौतम। उनी एकताअघि  एमालेको बरिष्ठ उपाध्यक्षका अलावा एकताका लागि गठित एकता संयोजन समितिको सदस्य थिए।

राजनीतिका अलावा समृद्धि र सुशासनका विषयमा समेत गौतमको चासो छ। र, यसै विषयमा केन्द्रित रहेर गौतमले ‘नेपाल निर्माणको महाअभियान’ नामक पुस्तकपनि लेखेका छन्। नेकपा अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको कम्युनिष्ट सरकारले शक्तिशाली विकास निर्माण प्राधिकरण गठन गरी त्यसको नेतृत्व गौतमलाई दिने योजनापनि बनाउँदैछ।

गौतमसँग एमाले–माओवादी केन्द्रबीचको एकताको आरोह अबरोह, बामपन्थी सरकारको प्राथमिकतामा परेको समृद्धिको कार्यक्रम, नेकपाको आगामी यात्रा, प्रधानमन्त्री ओली भारतसँगको सम्बन्ध लगायतका बिषयमा नेपालखबरका लागि सीताराम बरालले आइतबार गरेको वार्ताको सम्पादित अंशः

ओली-भारत सम्बन्ध
प्रधानमन्त्री ओलीको भारतसँगको सम्बन्ध कस्तो लाग्दैछ?
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीजी नेपाल भ्रमणमा आउँदा सदनमा बोल्नुभयो। चालिस मिनेटजति बोल्नुभो। मैले पनि चालिस पटक जति नै ताली बजाएँ। फर्केर जाँदा मेरा हात दुख्या’थे। मैले मोदीलाई त्यति सम्मान गरेको हो। उहाँले दुइटा कुरा भन्नुभएको थियो, ‘यो बुद्धभूमि हो, बुद्ध जन्मेको भूमि हो, म नमन गर्छु।’ त्यसो भनिदिँदा म धेरै खुसी भएँ। किनभने, भारतका अरु नेताले बुद्ध भारतमा जन्मेको भनेका थिए।

उहाँले यो पनि भन्नुभयो, ‘भारतले यस्तो लडाईं कहीँ लडेको छैन, जहाँ नेपाली गोर्खाको रगत नबगेको होस्।’ भनेपछि, भारत स्वतन्त्र हुनपनि गोर्खालीको रगत बगेको रहेछ। भारत निर्माण हुनपनि गोर्खालीको रगतको योगदान रहेछ। आजपनि कहीँ लडाईं सुरु भयो भने, भारतबाट जाने सबैभन्दा अग्रिम मोर्चामा गोर्खा फौज नै हुन्छ।

मोदीजीले यस्तो बोलेपछि ‘अब नेपालको मूल्याङ्कन हुन्छ’ भन्ने लाग्यो र खुसी भएँ। तर, अर्काे पटक त उहाँले नाकाबन्दी नै गर्दिनुभो। आज आएर उहाँले जे कुरा गर्नुभएको छ, ती कुरा पुरा हुन्छन् भन्ने मलाई विश्वास छैन। लागू भयो भनेमात्र विश्वास गर्छु।

धेरै अविश्वास किन?
०५४ मा म गृहमन्त्री थिएँ। मसँग भारतीयहरुले पुलिस एकेडेमी काभ्रेमा बनाउने भनेर भनेका थिए। भारतबाट गृहसचिव आएका थिए। तिनले यहाँ पुलिस एकेडेमी बनाउने भनेर गए। तर, आजसम्म बनेको छैन। हरेक पटक नेपालका कोही ठूला मान्छे भारत भ्रमणमा जाँदा पुलिस एकेडेमी बनाउने कुरा आउँछ, उताबाट ठूलो मान्छे कोही आयो भने फेरि त्यही पुलिस एकेडेमी बनाउने कुरा गर्छ। तर २ बर्षमा बन्नसक्ने एकेडेमीको प्रारुप आजसम्म बन्न सकेको छैन। एउटा २१ बर्षसम्म बन्न सकेन भने ‘आज के हुन्छ, भोलि के हुन्छ, यो गर्छु, त्यो गर्छु’ भनेको कुरामा विश्वास छैन।

हामी सम्बन्ध राम्रो राख्छौं। हामी चाहन्छौं, १९५० को सन्धि परिवर्तन गर्नुपर्‍यो। हाम्रो सीमाना दुरुस्त पार्नुपर्‍यो। सीमाना नियमित हुनुपर्‍यो। नाकाभन्दा बाहिरबाट आउने–जाने काम बन्द हुनुपर्‍यो।

अहिले दोस्रो पटक प्रधानमन्त्री भैसकेपछि प्रधानमन्त्री ओली भारतबाट धेरै नै आशावादी भएजस्तो लाग्दैन? 
मलाई के लाग्छ, त्यो अहिले म भन्दिन। सबै बोलेको ठीक गर्नुभा’ छ भनेर भन्दिन। बेठीक गर्नुभा’छ भन्ने बेलापनि भइसकेको छैन। म ‘क्रिटिकल्ली’ हेर्ने व्यक्ति हो, कुनै नेताको पुजारी भएर हिँड्ने मान्छे होइन।

तर, केपी ओली हाम्रो देशको प्रधानमन्त्री हो। भारतमा जानुभयो, भारतबाट निम्ता गरेर मोदीलाई नेपाल ल्याउनुभयो। मोदी यहाँ आइसकेपछि जे अभिव्यक्ति दिएका छन्, त्यो नेपालको हितको पक्षमा छ। कति बढाईचढाई गरेका छन्, त्यो आफैले भन्नुस्।

ओली मेरो पार्टी अध्यक्ष पनि हो, सम्माननीय प्रधानमन्त्री पनि हो। म उहाँलाई सधैंभरि सहयोग गर्छु, सकरात्मक ढंगले हेर्छु। खोतल्दै हेर्दा हरेक मान्छेको शरीरभरि के के छ के के। किन खोतल्नुपर्‍यो? तर ओलीले सारमा राम्रो गर्नुभा’छ।

पार्टी एकता 
एकताको घोषणा हुँदा केपी शर्मा ओलीले भन्नुभयो, ‘म र प्रचण्ड बाम विमानका पाइलट हौं।’ तपाईंहरु चाहिँ बाम विमानका ‘क्रु मेम्बर’ (चालक दलका सदस्य) होला। होइन? 
ठूलो प्लेनमा धेरै पाइलट, कोपाइलट हुन्छन्। त्यसैले, उहाँहरु दुईटा पाइलट, हामी ७ जना को–पाइलट।

दुई जनामध्ये कुन पाइलट अलिक ‘स्मार्ट’ छन्?
त्यस्तो भन्न मिल्दैन। दुईटा पार्टी एकिकृत भएका छन्। दुईटा पार्टीका अध्यक्षलाई पाइलटका रुपमा अघि सारेको भनेर ओलीले भन्नुभएको हो।

दुईटा पाइलटबीच विवाद भयो भने जहाज दुर्घटनामा पर्दैन? 
त्यस्तो हुँदैन। दुईटा पाइलटमध्ये पनि एउटा ‘मास्टर पाइलट’ हुन्छ। अर्काे पाइलट हुन्छ। ‘मास्टर पाइलट’ ले नै बाँकी सबै पाइलटलाई नियन्त्रण गर्छ।

‘मास्टर पाइलट’ केपी ओली नै हो। किनभने, पार्टीले मर्यादाक्रमपनि तोकेको छ- १. केपी ओली, २. प्रचण्ड, ३. माधव नेपाल, ४. झलनाथ खनाल, ५. बामदेब गौतम, ६. नारायणकाजी श्रेष्ठ, ७. ईश्वर पोखरेल, ८. रामबहादुर थापा ‘बादल’ र ९. बिष्णु पौडेल।

यसरी तोकिसकेपछि त ‘कन्फयुजन’ नै भएन नि- को को के के भन्ने।

यस्तो पाराले बरियता नं ५ बाट उक्लेर १ नम्बर बरियतामा कहिले पुग्नुहुन्छ ख्वै! 
एकसे एक महारथीहरु हामीसँग छन्। मलाई १ नम्बर नदिने सम्भावनापनि हुन्छ। तर, पार्टीको अध्यक्ष हुन नपाएकोमा, सरकारको प्रमुख हुन नपाएकोमा ममा कुनै असन्तुष्टि-गुनासो, खिन्नता केही छैन। पार्टी अध्यक्ष हुन पाइन भनेपनि मलाई केही फरक पर्दैन।

म पार्टी अध्यक्ष हुन पाएँ भने चाहिँ साँच्चिकै कम्युनिष्ट पार्टी बताउँछु। सरकार प्रमुख हुन पाएँ भने आजसम्म कसैले फत्ते नगरेको काम गरेर देखाउँछु। त्यो नहुनपनि सक्छ। तर मलाई गर्न सक्छु जस्तो लाग्छ।

त्यस्तो अवसर आउला र अब? 
म अध्यक्ष हुनुपर्छ भनेर लागेको छैन। प्रधानमन्त्री हुनुपर्छ भनेरपनि लागिन। तर म प्रधानमन्त्रीको उम्मेदवार चाहिँ हो, आजपनि हो। चुनाव जितेर गएँ भने हो। चुनाव हारिसकेपछि त उम्मेदवार पनि भइएन।

राजनीतिक हिसावले नेपालका सबै राजनीतिक पार्टीका नेताहरुलाई एकै ठाउँमा राखियो भनेपनि बरिष्ठतामा म पनि पर्छु। त्यसैले, अबसर आउँदा ‘बामदेबजस्तो व्यक्तिलाई यो अबसर दिनुपर्छ’ भन्ने मानिसलाई लाग्छ।

एमालेको नबौं महाधिवेशन र त्यसअघि भएको संसदीय दलको निर्वाचनमा केपी ओलीलाई विजय गराउन तपाईंको भूमिका थियो। त्यतिबेलाको ‘भद्र सहमति’ अनुसार त तपाईं अध्यक्ष हुनुपर्ने होइन र अब! 
कमरेड केपी ओलीलाई संसदीय दलको नेता बनाउन मेरो भूमिका प्रमुख रह्यो। पार्टी अध्यक्ष बनाउन मेरै भूमिका निर्णायक रह्यो। पहिलो पटक प्रधानमन्त्री बनाउन पनि मेरो भूमिका निर्णायक हो। र, यसपटक प्रधानमन्त्री हुने कुरामा पनि मेरो भूमिका निर्णायक हो।

तर, ‘भद्र सहमति’ आदि, इत्यादितिर नजाऊँ अब। त्यसको चर्चापनि नगरौं।

यसपटक ओलीलाई प्रधानमन्त्री बनाउन तपाईंको भूमिका कसरी रह्यो र? 
एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल हुन नसकेको भए उहाँ प्रधानमन्त्री हुनुहुन्थेन। तालमेल भइसकेपछि सबैभन्दा ठूलो पार्टीको रुपमा एमाले आयो। उहाँ पार्टी अध्यक्ष हुनुहुन्थ्यो, प्रधानमन्त्री हुनुभयो।

पार्टी एकताका लागि पछिल्लो समय किन तपाईंलाई निर्णायक भूमिका दिइएन? 
हुन त, मुख्य भूमिकामा पार्टीका अध्यक्ष देखिन्छन्। किनभने, उनीहरु तयार नहुँदासम्म पार्टी एकता हुँदैन। तर, दुबै अध्यक्षलाई तयार गर्न आफ्नो ठाउँबाट प्रमुख भूमिका खेलेको छु। तर, म अहिलेपनि मुख्य भूमिकामा नै छु।

गत भदौदेखि हामीले फेरि पार्टी एकताको पहल सुरु गर्‍यौं। त्यो भन्दा अघि २ बर्ष नारायणकाजी श्रेष्ठले पहल गरिरहनु भएको थियो। भदौदेखि जनार्दन शर्मा आउनुभयो। र, एमालेबाट बिष्णु पौडेल सामेल हुनुभयो। तरपनि दुईटाको बीचमा परिचालन गर्ने काम गरेको मैले नै हो।

बिष्णु पौडेललाई सामेल नगरिकन एमालेलाई तयार गर्न सकिन्नथ्यो। त्यसैले, बिष्णु पौडेल प्रमुख बन्नुभो। बिष्णु पौडेललाई प्रमुख रुपमा भूमिका खेल्न प्रोत्साहित मैले नै गरें।

‘बिष्णु पौडेललाई सामेल नगरी एमालेलाई एकतामा सहमत गर्न सकिन्न’ भन्नाले...
तपाईंले नबुझेपनि यो अन्तर्वार्ता पढ्ने मान्छेले कुरा के हो भन्ने बुझिहाल्छन्।

मतलब, ओलीलाई एकताका लागि ‘कन्भिन्स’ गराउन बिष्णु पौडेल नै चाहिन्थ्यो। होइन? 
एकतामा उहाँ (विष्णु पौडेल) को भूमिका प्रमुख नै हो। केपी ओली तयार नभई पार्टी एकता हुन सक्दैनथ्यो। प्रचण्ड तयार नहुँदापनि एकता हुन सक्दैनथ्यो।

तर, यी (ओली र प्रचण्ड) त पार्टीका प्रमुख व्यक्तिहरु हुन्। एकता नहुँदासम्म ओली र प्रचण्ड दुईटा विचारका प्रबक्ता थिए। दुईटा विचारको नेतृत्व गरिरहेका प्रबक्ताहरुलाई ‘न्युट्रलाइज’ गर्ने र एकता गर्ने विन्दूसम्म पुर्‍याउन अरुहरुको भूमिका हुन्थ्यो। त्यो भूमिका निर्वाह गर्नेमा पछिल्लो कालमा हाम्रो पार्टीभित्र बिष्णु पौडेल मुख्य मानिस बन्नुभयो। माओवादी केन्द्रभित्र जनार्दन शर्मा प्रमुख मानिस बन्नुभयो।

बिष्णु पौडेललाई महासचिव बनाइएको त्यही कारणले हो? 
दुईटा अध्यक्षलाई महासचिवको आवस्यकता महसुस भयो। महासचिव पद दुबै पार्टीभित्रबाट आउनु भएका कमरेडहरुका लागि उपयुक्त र सहज व्यक्ति हुनुपर्छ, त्यस्तो सहज व्यक्तिका रुपमा बिष्णु पौडेल देखा पर्नुभयो। र, उहाँ (ओली र प्रचण्ड) हरुले महासचिवका रुपमा अघि सार्नुभयो।

दुबै पक्षबाट सर्बसम्मत रुपमा हो? 
सबैतिरबाट सर्बसम्मत भएको हो। पार्टी एकता संयोजन समितिमा पनि सर्बसम्मत भएको हो। एमालेको स्थायी समितिमा पनि सर्बसम्मत भएको हो। एमालेको केन्द्रीय कमिटीमा पनि सर्बसम्मत भएको हो। र, पछि बनेको नयाँ केन्द्रीय कमिटीमा पनि सर्बसम्मत रुपमा निर्णय गरिएको हो।

तपाईंलाई चाहिँ नेताद्वयले किन विश्वास गरेनन्?
‘यो कामका लागि मलाई यो पदको चाहना छ’ भन्ने मेरो माग हुँदैन, कहिलेपनि हुँदैन। मलाई कसैले टुप्पी समातेर नेता बनाएको पनि होइन। म आफ्नै बलुबुतामा, आफ्नै अध्ययनबाट, व्यवहारमा पनि आफ्नै किसिमले जोडबल गरेर कम्युनिष्ट पार्टीमा स्थापित भएको व्यक्ति हुँ। मेरो स्वभाव कसैसँग नमाग्ने, सबैले छोडेको जिम्मेवारी पुरा गर्ने हो।

भूमिगत कालमा को-अर्डिनेसन केन्द्रमा सामेल भएपछि नेकपा (माले) बनेको थियो। जेलबाट निस्केपछि मलाई सोधियो, ‘तपाईं कहाँ जानुहुन्छ?’ मैले भनें, ‘जहाँ नेकपा (माले) पुगेको छैन, जहाँ नेकपा (माले) को आधार छैन, त्यस्तो ठाउँको जिम्मेवारी मलाई दिनुस्। सुदुर पश्चिम हुन्छ कि, मध्य पश्चिम हुन्छ कि पश्चिम– त्यो ठाउँ मलाई दिनुस्।’

उहाँहरुले मलाई पश्चिम क्षेत्रका गण्डकी र धौलागिरीमा खटाउनुभयो। गण्डकी र धौलागिरीको पार्टीको जगमा मेरो पसिना छ, मेरो बुद्धि, बर्कत र साहसको भूमिका छ। धेरै ठाउँमा मैले त्यसरी काम गरेको छु।

मैले आफूलाई ‘केन्द्रीय कमिटीको सदस्य बनाउनुस्’ भनिन। पोलिटब्यूरो सदस्य बनें, आफैले ‘पोलिटब्यूरो सदस्य बनाउनुस्’ भनेको पनि होइन। मलाई स्थायी समिति सदस्य बनाइयो, त्यतिबेलापनि ‘मलाई स्थायी समिति सदस्य बनाउनुस्’ भनेर बनेको होइन। उपमहासचिव बनाइयो, ‘उपमहासचिव बनाउनुस्’ पनि भनेको होइन। नेतृत्वले आवस्यकता महसुस गर्‍यो, प्रस्ताव गर्‍यो। र, म आएँ।

सातौं महाधिवेशनमा केपी ओलीको प्यानलबाट म उठेको थिएँ। त्यो प्यानलले पाएको भोट भनेको २ सय ५० हो। म निर्वाचित भएँ। मलाई पराजित गर्न हुन्न भनेर माधब नेपालले भन्नुभयो। केपी ओलीलाई पनि पराजित गर्न हुन्न भनेर माधब नेपालले निर्वाचित गराएर ल्याउनुभयो।

यति हुँदाहुँदैपनि एमालेको नम्बर १ नेता बन्न नसक्नुको कारण के हो?
पार्टी र कम्युनिष्ट आन्दोलनमा मेरो नकरात्मक पक्ष भनेको पार्टी विभाजनमा म सामेल भएँ। त्यही हो। ममाथि आरोप लगाउने ठाउँ अरु छैन।

अरु बरिष्ठ नेताले आफ्नो व्यवस्थापन खोजे। तपाईंको व्यवस्थापन चाहिँ कसरी गर्ला पार्टीले?
मैले ‘मेरो व्यवस्थापन चाहिन्न’ भनें। ‘मेरो व्यवस्थापन मलाई चाहिन्न, मलाई जुन जिम्मेवारी दिनुहुन्छ दिनुस्, म काम गरेर देखाउँछु’ भनें।

काम गर्ने व्यक्तिलाई ठूलो पद दिँदैमा काम गर्ने, नत्र नगर्ने भन्ने हुँदैन। म त कम्युनिष्ट पार्टी खोज्दै गएको मान्छे। म कम्युनिष्ट खोज्दै जाँदा एकथरिले ‘यो कम्युनिष्ट हुनै सक्दैन’ भनेर गलहत्याएको गलहत्यायै गरिरहने।

७ बर्षको उमेरमा मैले कम्युनिष्ट पार्टीको झण्डा समातें। त्यसपछि त्यो झण्डा मैले कहिल्यै खसालिन। तर, २०२३ सम्म मलाई कम्युनिष्ट मान्न प्यूठानका कम्युनिष्टहरु तयार भएनन्। अनेक उपाय गर्दै रुपन्देहीमा गएर पार्टी सम्पर्क गर्ने कोशिष गरें। साथीहरु त्यहाँ पनि तयार भएनन्। जबर्जस्ती गरेर म पार्टीमा सामेल भएँ। मैले यसरी खोज्दैखोज्दै गएर २०२५ बल्ल पार्टी फेला पारें। २०१२ देखि कम्युनिष्ट पार्टी खोज्न हिँडेको मान्छे, २०२५ मा फेला पारें।

बडा दुख्खमा फेला पारेको पार्टी भएकाले कहिल्यै छाड्नुहुन्न भन्नेभयो। त्यसैले यो पार्टीप्रति मेरो धेरै मायाँ छ।

पार्टी विभाजन 
नेतृत्व पाउन पार्टी नै फुटाउनुपर्ने भयो। जस्तो, एमाले विभाजन गरी माले बनाएर मात्र महासचिव हुन पाउनुभयो...
नेतृत्व पाउन मैले पार्टी फुटाएको होइन। पार्टीमा बसेको भए नेतृत्व त मसँगै आइराख्या’ थियो नि! पार्टीभित्र उत्पन्न भएका विभिन्न अन्तर्विरोधहरुका कारणले पार्टी विभाजनको स्थितिमा पुगियो।

छैटौं महाविधेशन (०५४) मा माधब नेपालले मलाई ‘कार्यनीतिक दस्ताबेज लेख्नुस्’ भन्नुभयो। मैले लेखें। त्यो बेला ३४ जनाको केन्द्रीय कमिटी थियो। छलफलको दौरान ३४ मध्ये २६ ले समर्थन गर्नुभएको थियो, ‘एकदम ठीक विचार ल्यायो’ भनेर।

मैले ‘सामाजिक-आर्थिक कार्यक्रम नै कार्यनीति हुन्छ’ भन्ने प्रतिवेदन लेखेको थिएँ, जबकि त्यो बेला शान्तिपूर्ण संघर्ष वा सशस्त्र संघर्षलाई मात्र कार्यनीति मानिन्थ्यो।

‘सामाजिक-आर्थिक रुपान्तरणको कार्यक्रम एमालेको कार्यनीति हुनुपर्छ’ भनेर पहिलो पटक त्यो अवधारणा अघि सारें। दुनियाको कुनैपनि कम्युनिष्ट पार्टीले त्यसो भनेका थिएनन्। तर मैले भनें।

मदन भण्डारीले पाँचौं महाधिवेशनमा प्रस्तुत गरेको दस्ताबेजमा ‘अधिकतम प्रगतिशील सुधारको कार्यक्रम अबको कार्यनीति हुनेछ’ भन्नुभएको थियो। त्यसको आधारमा मैले कार्यनीतिक कार्यक्रम प्रस्तुत गरें। त्यसैले, अत्याधिक व्यक्तिले समर्थन गरे, प्रसंशा गरे।

तर, माधब नेपालले केपी ओलीलाई ‘तपाईंले पनि लेख्नुस्’ भन्नुभएछ। केपीलाई पनि भन्ने, मलाई पनि भन्ने। अनि ‘केन्द्रीय कमिटीमा प्रस्तुत गर्नुस्’ भन्नुभयो। मैले आजसम्म बुझेको छैन कि, उहाँले किन त्यस्तो गर्नुभयो!

मलाई ‘भो, तपाईंले नलेख्नुस्’ भन्नुभएको भएपनि लेख्ने थिइन। केन्द्रीय कमिटीमा प्रस्तुत हुँदा एक मतले केपी ओलीको कार्यनीतिले बहुमत पायो। यसले हाम्रो बीचमा विभाजन सुरु गरायो। त्यसले ‘इगो’ पैदा गरायो।

कस्तो ‘इगो’? 
त्यो कार्यनीतिक प्रतिवेदन पारितका लागि महाधिवेशनमा गयो। महाधिवेशनमा मलाई अपमान गरियो। अनेकअनेक भयो त्यहाँ। यहाँसम्म कि, ‘बामदेबका गुण्डाहरुले हामीलाई बलात्कार गर्न खोजे’ भनेर महाधिवेशन हलमा आरोप लगाइयो।

दुनियामा कहीँपनि हुँदैन, तर एमालेको महाधिवेशन हलले २ जना पार्टी सदस्य (योगेश भट्टराई र रुपनारायण श्रेष्ठ) लाई पार्टी सदस्यबाट निष्कासन गर्‍यो। त्यसले गर्दा झन्झन् टाढिने स्थिति सिर्जना भयो। र, पार्टी विभाजन भयो। मैले नेतृत्व खोजेकाले पार्टी विभाजन भएको होइन।

‘राजनीतिमा जति निर्मम बन्न सक्यो, त्यति सफल भइन्छ’ भनिन्छ। निर्मम बन्न नसकेकाले पछि परियो भन्ने लाग्दैन?
म जत्ति निर्मम छु, त्यति नै नरम पनि छु। मलाई कतिले नौनीपनि भन्छन्। नौनी चिसो ठाउँमा राख्दा डल्लो पनि हुन्छ, गर्मी ठाउँमा राख्दा फटक्कै पग्लिहाल्छ। मपनि त्यस्तै डल्लो हुने र पग्लिहाल्ने स्वभावको छु। 

मेरो जतिसुकै विरोध गरेपनि पार्टीभित्रका साथीलाई म आफ्नै परिवारका सदस्य ठान्छु। माफी दिनुपर्छ भन्ने लाग्छ मलाई। र, म माफी दिन्छु।

तपाईंको पुस्तक ‘नेपाल निर्माणको महाअभियान’ विमोचनको बेला प्रचण्डले भन्नुभएको थियो कि, तपाईं चुनाव हारेपछि उहाँ-कहाँ गएर विकास र समृद्धि सम्बन्धी कामको जिम्मेवारी दिए हुन्थ्यो भन्ने आशा गर्नुभएको थियो। तपाईंले कस्तो खालको जिम्मेवारी खोज्नुभएको हो?
त्यो कुरा मैले किताबमै लेखेको छु। विकास क्रमिक रुपमा हुन्छ भन्ने अवधारणा छ। तर, त्यो किताबमा मैले भनेको छु, ‘होइन, हामी तीब्र गतिमा विकास भइरहेका देशको बीचमा छौं। हामीले पनि तीब्र गतिमा विकास गरिएन भने हाम्रो अस्तित्व समाप्त हुनसक्छ। हामी रहन सक्दैनौं। अर्काको देशबाट मागेर खाने जुन स्थिति राज्यले सिर्जना गर्छ, त्यो देशको जनताले राज्यलाई मान्नुपर्ने कुनै आवस्यकता छैन।’

संसारमा एक पटक बनेका देशपनि खत्तम भएका छन्। त्यसैले, मैले भनें, ‘यो देशको अस्तित्वका लागि अभियानका रुपमा विकास गर्नुपर्छ।’

यो अवधारणा झलनाथ खनाल प्रधानमन्त्री हुँदा ०६७ मा राखें। त्यसपछि प्रचण्डकहाँ गएँ। आफ्नो कुरा प्रचण्डलाई भनें। प्रचण्डले ‘तपाईंको अबधारणा ज्यादै राम्रो छ’ भन्नुभयो। झलनाथले पनि भन्नुभयो। ‘लेखेर ल्याउनुस्’ भन्नुभयो। लेखेरपनि दिएँ। उहाँले हेर्ने फुर्सद पाउनुभएन। ३-४ महिनापछि त उहाँ आफै प्रधानमन्त्रीबाट हट्नुभयो। प्रचण्डले त्यही सन्दर्भ सम्झेर भन्नुभएको हो।

चुनाव त मैले हार्‍या’थें। तर यो किताव अनुरुपको देशको विकासको लागि मलाई जिम्मा दिने हो भने मैले हाँक्न सक्छु।

तपाईंले जिम्मेवारी पाउनुभयो भने कसरी हुन्छ त विकास? 
त्यो कुरा सबै किताबमा छ। त्यो किताब तपाईंहरुले पढ्नुपर्छ।

विकास निर्माण प्राधिकरण बन्नुपर्छ भन्ने हो? 
प्राधिकरण बन्नुपर्छ भन्ने कुरापनि किताबमै छ। सर्वाधिकार सम्पन्न प्राधिकरण बन्नुपर्छ। त्यसको मुख्य व्यक्ति प्रधानमन्त्री हुनुपर्छ। प्रधानमन्त्री नभैकन त्यो सर्वाधिकार सम्पन्न बन्न सक्दैन। प्रधानमन्त्रीको मातहत रहेर मलाई ‘डे टु डे’ काम गर्न दिए हुन्छ भनेर मैले भनेको थिएँ। त्यो उहाँले बताउनुभएको हो।

उपप्रधानमन्त्री भइसकेको नेता, प्रम मातहतको प्राधिकरणमा गएर यस्तो काममा लाग्दा तपाईंको राजनीतिक भविष्य डाँवाडोल हुँदैन? 
केही फरक पर्दैन। देश विकास गरेर म देखाइदिन्छु। मलाई जिम्मामात्र दिनुपर्छ, मलाई के विश्वास छ भने, त्यो किताबमा जे छ, म सबै लागू गरेर देखाइदिन्छु।

संसारमा पैसाको अभाव छैन, प्रविधिको अभावपनि छैन। र, त्यो पैसा, प्रविधि र विज्ञान संसारभरिका जनताको हो, नेपालको पनि हो। र, मेरो पनि हो। म त्यसलाई ल्याउँछु र नेपाललाई विकास गरेर देखाउँछु।

तपाईंले जस पाउनेगरी त्यस्तो जिम्मेवारी देलान्? 
मलाई जस चाहिएको छैन। अहिलेपनि मैले के जस पाएको छु र? यो पार्टीमा मैले माओवादीसँग गरेको सम्बन्धका कारण कार्वाहीमा परेको छु म। ‘अबदेखि यस्तो नगर्नू’ भनेर मलाई लेखेर दिइएको छ। अनुशासन आयोगका प्रमुख अमृत बोहोराले लेखेर दिनुभएको छ।

कहिलेको कुरा हो यो?
लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री भएका बेला बाबुरामजी पहिलो पटक खुल्ला भएर आउनुभयो। त्यो बेला मैले भनें, ‘माओवादीको सम्बन्धमा कुरा गर्दा म त कार्वाहीमा परेको व्यक्ति हो।’ सभामा मलाई बोल्न ५-७ मिनेट समय दिइएको थियो। त्यहाँ मैले बोलें। त्यसैबापत मलाई पत्र लेखेर त्यसो गरिएको थियो।

२०६४ मा रोल्पामा माओवादीसँग ६ बुँदे सहमति गरिएको थियो। सहमति गर्न म आफैं रोल्पा गएको थिएँ। त्यहाँ ६ बुँदे सहमति गरेर आएपछि त ‘बामदेबलाई पार्टी सदस्यताबाट निलम्बन गर्नुपर्छ’ भन्ने प्रस्ताव नै आएको थियो।

कसले ल्याएको थियो त्यस्तो प्रस्ताव?
कमरेड केपी ओली र बिष्णु पौडेलले। उहाँहरु मलाई ‘कार्वाही गर्नुपर्छ’ भन्ने पक्षको नेता हुनुहुन्थ्यो। स्थायी समितिमा यो विषय आयो। त्यसबेला मलाई जोगाएको माधव नेपाल र झलनाथ खनालले हो।

ममाथि आरोप थियो, ‘बामदेब गौतमले एमालेलाई समाप्त पार्‍यो।’ त्यसको ब्याख्या कस्तो भने, ‘माओवादीले हतियार उठाइरहेको छ, जसरी माओवादीलाई संसारभरिका राजनीतिक पार्टी र सरकारहरुले हेर्छन्,  अब  हामीलाई पनि त्यसैगरी हेर्छन् र हामी काम नै गर्न नसक्ने हुन्छौं, त्यसपछि एमाले समाप्त हुन्छ। हामी हतियार समातेर हिँड्न सक्दैनौं। त्यसैले, पार्टी समाप्त पार्ने खेल सुरु गरेको हुनाले बामदेबलाई कार्वाही गर्नुपर्छ।’

त्यसबेला बोलाएको कार्यकर्ता भेलामा नै कार्वाहीको प्रस्ताव राखियो। चौध वटा अञ्चल प्रतिनिधिहरुले बोल्नुभएको थियो। त्यसमध्ये ८–९ वटा अञ्चलका प्रतिनिधिहरुले ‘बामदेबलाई कार्वाही गर्नुपर्छ’ भनेर बोले।

झलनाथलाई पनि लाग्यो, ‘बामदेबले गर्न नहुने काम गर्नुभयो’, ‘तर बामदेबलाई कार्वाही चाहिँ गर्नुहुन्न। जोगाउनुपनि पर्‍यो। तर सिंगो पार्टीपनि जोगिनुपर्‍यो। सिंगो पार्टी जोगिनका लागि नेपाली कांग्रेसलाई पनि कुनै उपायबाट माओवादीसँग वार्ता र सम्झौता गराउनुपर्‍यो। यसको उपाय निकालौं।’ भन्नुभयो।

त्यसपछि माओवादी र ७ राजनीतिक दलहरुबीच सहकार्यको प्रयत्न सुरुभएको हो।

१२ बुँदे सहमति
१२ बुँदे सहमतिको पृष्ठभूमि तपाईंमाथिको कार्वाहीको प्रस्तावको जगमा निर्माण भएको हो त! 
कांग्रेसलाई अन्तर्राष्ट्रिय शक्तिले ‘माओवादी भयो’ भन्न सक्दैनथ्यो। र, त्यसरी मुलुक १२ बुँदे सहमतितिर गयो।

‘हल्ला गर्न हुन्न, कांग्रेसले थाहा पाउनु हुन्न, हामी सबै गएर कांग्रेससँग कुरा गरौं’ भन्ने भयो। त्यसपछि सात पार्टी र माओवादीसँग १२ बुँदे सहमति भएको हो।

‘बामदेबको कारणले सिंगो पार्टी सकिनेभयो, पार्टी जोगाउने कसरी?’ भन्ने सम्बन्धमा छलफल हुँदा, कांग्रेस र माओवादीलाई पनि सहमतिमा हुल्ने, कांग्रेस-माओवादी, हामी सबै भएको स्थिति बनाएपछि त हामी सबै बराबर हुनेभयौं।

माधब नेपाल महासचिव हुनुहुन्थ्यो। त्यसपछि उहाँले रोल्पा जाने जिम्मेवारी मलाई दिनुभयो। म रोल्पा पुगें। माओवादीको सेनासँग सेटलाइट फोन थियो। त्यो सेटलाइट फोनबाट उहाँ (माधब नेपाल) सँग सम्पर्क गरेर मैले कुराकानी गरिरहेको थिएँ।

मविरुद्ध प्रश्न उठेपछि कार्यकर्ता भेलामा उहाँले भन्नुभयो, ‘मैले नै बामदेबलाई रोल्पा पठाएको हुँ। माओवादीसँगको सहमतिको हरेक बुँदामा उहाँसँग सेटलाइट फोनमार्फत् मेरो कुरा भइरहेको थियो। त्यो सहमतिको हरेक बुँदामा मेरो सहमति छ। बामदेब कार्वाहीमा पर्दैनन्। यो मैले गरेको हो।’

उहाँ राजनेता बन्ने मान्छे होइन। तर, त्यहाँनिर बन्नुभयो। त्यसपछि मैले भनें, ‘माधब कमरेड, तपाईं साँच्चिकै नेता हो।’ किनभने मलाई जोगाउनुभयो नि! खटाएको मान्छेले काम गर्छ, काम गरेर आइसकेपछि ‘मैले गर्न लगाएको होइन’ भन्ने चलन छ यहाँ। त्यस्ता नेता हाम्रो पार्टीभित्र जत्तिपनि छन्। तर माधबले त्यसो गर्नुभएन।

माओवादीले ओलीलाई ‘राजावादी, आन्दोलन विरोधी’ भन्ने गरेको त्यही कारणले हो? 
माओवादीप्रति उहाँको जुन आलोचना थियो, त्यही घटनाबाट विस्तारै कम हुँदै गयो। १२ बुँदे सहमतिको बुँदा तयार गर्नेमा ओली पनि हुनुहुन्थ्यो। एमालेबाट ओली, माओवादीबाट बाबुराम भट्टराई, एकता केन्द्रबाट नारायणकाजी श्रेष्ठ र कृष्ण सिटौलाले १२ बुँदे सहमतिको ‘ड्राफ्ट’ गर्नुभएको हो।

ओली-प्रचण्डसँगको सम्बन्ध
माओवादीसँग सम्बन्ध राख्दा झण्डै कार्वाहीमा परेको त्यो घटनाबारे ओलीसँग आजकल कुराकानी हुन्छ?
म यस्तो कुरा ख्यालै गर्दिन। किनभने, केपीसँग मेरो सम्बन्ध उहाँ जेल (सेन्ट्रल) को सेल (गोलघर) भित्र बसेको बेला भएको हो। केपी ओली कस्तो मान्छे हो भन्ने कुरा बाहिर भनेर जान्ने भन्दापनि आफैले जानेको व्यक्ति हो।

जेलभित्र जोसँग सम्बन्ध हुन्छ, त्यो सम्बन्ध कहिलेपनि टुट्दैन। कांग्रेससँगको दोस्ती होस् कि अरुसँगको- त्यो दोस्ती कहिल्यै टुट्दैन। दुख्खको बेलाको साथी हुन्छ नि, त्यो सम्बन्ध अरु कसैले तोड्न सक्दैन।

केपीसँग त मेरो ‘दोस्ताना’ हो, त्यस्तो ‘दोस्ताना’ माधबसँग मेरो कहिलेपनि भएन। सँगै रक्सी खानेदेखि लिएर, सँगै रुनेसम्म हामीले गर्‍यौं। मलाई कार्वाहीको माग गरेपनि, त्यो दोस्ती त मसँग छँदैछ।

आजकलको सम्बन्ध केपीसँग भन्दा प्रचण्डसँग बढी हो? 
प्रचण्डसँग त्यस्तो ‘दोस्ताना’ त कहिलेपनि भएन। केपीसँग त पारिवारिक जस्तो सम्बन्ध भयो। एउटै परिवारको भइयो। एउटै परिवार भएपनि जोडकोणमा केहीकेही फरक परिहाल्छ। केपीसँगको सम्बन्ध त्यस्तै हो।

प्रचण्डसँगको सम्बन्ध चाहिँ पार्टी फुटेको बेला (२०५४-०५९) को सम्बन्ध हो।

प्रचण्ड र मबीच पहिलो भेट ०५५ मा भएको हो। पहिलो पटक भेट भएको बेला प्रचण्डले मलाई कस्तो ठान्नुभयो, थाहा छैन। त्यो बेला हाम्रो विचार मिलेन। हाम्रो पार्टी विभाजन भएको थियो। म नेकपा (माले) को महासचिव थिएँ। र, उहाँ माओवादीको अध्यक्ष हुनुहुन्थ्यो।

हामीबीच सिलगुडीमा बार्ता भयो। उहाँले मोहन बैद्यलाई ल्याउनुभएको थियो। यताबाट म र देबी ओझा थियौं। उहाँ झापामा कार्यरत हुनुहुन्थ्यो। झापाबाटै मसँग सामेल हुनुभयो।

त्यहाँ पहिलो पटक उहाँ (प्रचण्ड) ले के भन्नुभयो भने, ‘हामी दोस्ती गरौं।’

मैले ‘हुन्छ’ भनें।

उहाँले के भन्नुभयो भने, ‘हामी दुईबीचको सम्बन्ध पार्टीको संगठन बिगार्नेमा दुरुपयोग नगरौं है!’

यसको मतलब थियो, माओवादीलाई फुटाएर मालेमा नलैजाने, मालेलाई फुटाएर माओवादीमा नलैजाने। उहाँले जुन आन्दोलन गर्नुभएको थियो, त्यसको विरुद्ध म नजाने। मैले जे गरिरहेको थिएँ, त्यसको विरुद्ध पनि उहाँ नजाने।

उहाँले नै प्रस्ताव राख्नुभयो, मैले ‘हुन्छ’ भनें। त्यो सहमति मैले आजसम्म पालना गरेको छु। तर उहाँले अनेक पटक तोड्नुभयो। म फेरि पनि त्यो सहमति तोड्दिन। कहिलेपनि तोड्दिन।

माधब नेपालसँगको सम्बन्ध कस्तो हो? 
मान्छेले बुझ्न सक्दैनन् मलाई। म माधब नेपालको आलोचना गर्छु। तर माधब नेपालको विरुद्धमा खडा हुन्न। केपीका बिचारहरुसँग सहमत नहुँदा आलोचना गरें। तर ‘केपीको विरुद्ध के गर्नुपर्छ’ भनेर म लागिन। किनकी केपी अहिले मैले मानेको नेता हो। मैले एकपटक जुन मान्छेलाई नेता मान्छु, त्यस विरुद्ध म जाँदिन।

त्यसो भए प्रचण्डसँग तपाईंको ‘केमिष्ट्री मिल्छ’ भन्ने होइन? 
कहिलकाहीँ कस्तो हुन्छ भने, प्रचण्डले जे सोचिराख्नु भएको हुन्छ, मेरो सोचाई मिल्छ। जब हामी कुरा गर्छाैं, उहाँले भन्नुहुन्छ, ‘मेरोपनि त्यस्तै सोचाई छ।’ यस्तो भइराखेको हुन्छ। तर सँधै त यस्तो हुन्न फेरि।

जस्तो, उहाँले जुन सशस्त्र संघर्ष भनेर लाग्नुभयो, पहिलो भेटमा मैले ‘सशस्त्र संघर्ष आवस्यक छैन’ भनें। मैले त्यहीँ पहिलो पटक शान्ति वार्ताको प्रस्ताव राखें।

उहाँले के भन्नुभएको थियो भने, ‘हाम्रो शक्ति धेरै बढ्यो। हामीलाई नेपालको सत्ताले समाप्त गर्न सक्दैन। तर हाम्रो शक्तिले पनि प्रतिक्रियावादी राज्यको शक्तिलाई समाप्त गर्न सक्दैन। त्यसैले, हामी ठहरावको स्थितिमा पुगेका छौं। यो छ अवस्था।’

मैले भनें, ‘हो, अवस्था यस्तै छ। तर यो भन्दा अगाडि अवस्था यस्तो हुन सक्दैन।’

उहाँले सोध्नुभयो, ‘के गर्नुपर्छ यस्तो अवस्थामा?’

‘यस्तो अवस्थामा वार्ता भन्दा अर्काे विकल्प छैन। अब संघर्षको रुप फेरियो। तपाईंले अहिलेको शक्ति विकास गर्नुभएको छ। तर, के तपाईंलाई लाग्छ, तपाईं नेपालको सत्तालाई ध्वस्त गरेर जान सक्नुहुन्छ?’ मैले सोधें।

‘सक्दैन’, उहाँले भन्नुभयो।

मैले भनें, ‘यो ठहराव लामो समयसम्म रहँदैन, तपाईंलाई नोक्सान हुन्छ। अब तपाईंले आफ्नो शक्तिलाई सुरक्षित अवतरण गर्नुपर्छ। सुरक्षित अवतरण गर्न अब तपाईंको बर्ग संघर्ष वार्ता हो। युद्ध होइन, शान्तिवार्ता तपाईंको वर्ग संघर्ष हो। त्यो संघर्षमा तपाईंले जित्नुस्। तपाईं जे गर्न चाहनुहुन्छ, त्यो सबै वार्तामा गर्नुस्। तपाईंको प्रस्ताव सत्ताले मान्यो भने तपाईं नेता हुनुभो। मानेन भने तपाईंले अवसर पाउनुभयो। तबसम्म तपाईंले आफ्नो शक्ति सुदृढ गर्नुस्, मिलाउनुस्। विरोधीलाई सोच्न लगाउनुस्। त्यसपछि के गर्ने भनेर सोच्न सक्नुहुन्छ, नयाँ ढंगले जाने समय र अवसर पाउनुहुन्छ।’

त्यहाँ बाबुरामजीपनि हुनुहुन्थ्यो। उहाँले भन्नुभयो, ‘तपाईं संसदीय सरकारसँग वार्ता गर्ने? जसका विरुद्ध हामीले यत्रो संघर्ष गर्‍यौं।’

त्यो बेला जम्माजम्मी ५ हजार मानिस मारिइसकेका थिए, १७ हजार पुगेका थिएनन्। उहाँले थप्नुभयो, ‘५ हजारको बलिदान भइसक्यो। बामदेबजी, तपाईं कसरी सोच्नुहुन्छ हँ वार्ता गर्ने भनेर?’

मैले भनें, ‘मान्नुस् वा नमान्नुस्, मेरो सोचाई त यही हो। म तपाईंलाई नोक्सान गर्ने कुरा गर्दिन। तर, अब वर्ग संघर्ष बन्दुकमा होइन, वार्तामा गर्नुस्। वार्तामा जानुहुन्छ, जित्नुहुन्छ। जानुहुन्न, हार्नुहुन्छ।’

त्यसको एक महिनापछि उहाँहरुले वार्तामा जाने निर्णय गर्नुभयो। सरकारसँग वार्ता त उहाँहरुले ०५८ मामात्र गर्नुभयो। तर, वार्ता गर्ने निर्णय चाहिँ मसँगको भेटको १ महिनापछि नै गर्नुभयो।

प्रचण्डजी  ‘लजिकल’ मान्छे हो। ‘लजिक’ मा उहाँ सहमत हुनुहुन्छ।

ओली-प्रचण्डबीच के के समानता छन्, के के विभिन्नता? 
यो कुरा अहिले भन्न हुँदैन। अहिले म उहाँहरुको नेतृत्वमा रहेको ‘हाइकमान’ को सबैभन्दा विश्वसनीय व्यक्ति हुँ। मैले उहाँहरुको ‘यस्तो छ, उस्तो छ’ भन्न मिल्दैन, पुराना कुरामात्रै गर्ने हो। अहिलेका कुरा तपाईंले सोध्दापनि नसोध्नुस्, मैले भन्दापनि भन्दिन।

नेकपाको भविष्य 
एक बर्षपछि पार्टीभित्र अनेक खालका ‘पोलर’ (ध्रुब) बनिहाल्लान्। ओली–प्रचण्डका समानता–विभिन्नता त्यतिबेलामात्र भन्ने हो त? 
हुँदैन त्यस्तो ‘पोलोराइजेसन’। एउटै ‘पोलर’ हुन्छ। दुईटै (ओली र प्रचण्ड) लाई बराबर सम्मान दिइन्छ। दुईटाले एउटै ‘टार्गेट’ बनाउनु पर्छ। र त्यो ‘टार्गेट’ मा लगातार हिँड्नुपर्छ।

अहिलेपनि केपी ओली मर्यादामा १ नम्बर भएपछि हाम्रो त लाइन लागिसक्यो। केपी १ नम्बर, प्रचण्ड २ नम्बर, माधब ३ नम्बर। यसरी लाइन लागिसक्यो।

बाहिर हुने अनेक अनुमानका विषयमा नजाऊँ। हाम्रो ‘पोलर’ एउटै हो। दुईटा ‘पोलर’ हुने भए मिल्नै सकिन्नथ्यो। ‘पोलर’ पनि एउटै हो, ‘पोल’ पनि एउटै हो- समाजवाद। अब हामी यसमा लाइनबद्ध भयौं।

इतिहासबाट अनेक हण्डर-ठक्कर खाएर, रगत पसिना बगाएर बुद्धि खियाएर निर्माण भएका दुईटा नेता एक ठाउँमा आएका छन्। मर्यादाले पनि अब हामी सबैलाई लामबद्ध गराइदिएको छ। अब यसमा यताउता गरिन्न। एक भएर अघि बढिन्छ।

तरपनि कतिपय मानिसहरु ‘प्रचण्ड-बामदेब एकातिर हुन्छन्’ भन्छन्। किन होला?
कहाँ ‘मानिसहरु यसो भन्छन्’ भन्दै यस्तो कुरा गरिराख्या’? यो त गलत कुरा हो। एउटै पार्टीमा आइसकेपछि हामीले एक अर्काका कमिकमजोरी, सकरात्मक–नकरात्मक, उपलब्धिमूलक सबै कुराहरु देख्न पाइन्छ। यो त भइरहन्छ।

म यी सबै कामरेडहरु भन्दा ‘सिनियर’ व्यक्ति हुँ। गल्ती गरें भने अब सच्याउने ठाउँ छैन मसँग। त्यसैले, म उहाँहरु दुबैलाई दुईटा ‘पोलर’ हुनपनि दिन्न। दुईटा प्यानल खडा गर्नपनि दिन्न। सकेसम्म मिलाएर लिएर जाने हो। मिलाउनका लागि मैले खेलेको भूमिका प्रमुख हो। र, मिलाउन फेरिपनि मेरो भूमिका प्रमुख हुन्छ। एकातिर–अर्काेतिर म लाग्दिन।

तपाईंले कत्तिको ख्याल गर्नुभयो कुन्नि, नबौं महाधिवेशनपछि मेरो प्रयत्नले एमालेभित्र पोलिटब्यूरो सर्वसम्मत भएको हो, मेरै प्रयत्नले स्थायी समिति सर्बसम्मत भएको हो। म त केपीको प्यानलबाट जितेको व्यक्ति। तर, मैले ‘माधब र केपी प्यानल नभई को को योग्य छन्, उनीहरुबाट आउनु पर्छ’ भनेर भूमिका खेलें।

मैले भनें, ‘मत विभाजन गरेर पोलिटब्यूरो र स्थायी समिति बनाउने हो भने म त्यसमा सहभागी हुन्नँ।’ त्यसैले, ‘पोलोराइजेसन’ गर्ने मेरो काम होइन। ‘पोलोराइजेसन’ त हुल्याहा, छुल्याहा, फटाहाहरुले गर्ने काम हो। म त त्यस्तो मान्छे होइन।

चुनावमा पराजय
तपाईंको नेतृत्वमा बनेको समृद्धि र सुशासन सम्बन्धी कार्यदलको प्रतिवेदन सरकारले कार्यान्वयन गरेको छ? 
हाम्रो जिम्मेवारी सुझाव दिने थियो। प्रतिवेदनमार्फत् हामीले सुझाव दिएका छौं। लागू गर्ने नगर्ने सरकारको कुरा हो। किन लागू गरेन, त्यो सरकारलाई नै सोध्नुपर्छ। योजना आयोगलाई सोध्नुस्, अर्थमन्त्रीलाई सोध्नुस्, प्रधानमन्त्रीलाई सोध्नुस्।

सुझाव हो, ग्रहण गर्नपनि सकिन्छ, नगर्नपनि सकिन्छ। किन गर्नुभएन भन्ने कुरा उहाँहरुलाई सोध्नुस्। तर, हामीले धेरै मिहिनेत गरेर, एक महिना लगाएर प्रतिवेदन तयार गरेका हौं।

मैले दुई महिना लगाएर साझा घोषणापत्र तयार गर्न समय लगाएँ। साझा घोषणापत्र बनाउन नपरेको भए मैले बर्दियाबाट चुनाव जित्थें। घोषणा पत्र बनाउन समय दिनु नपरेको भए मलाई चुनावमा खट्ने समय हुन्थ्यो। म आफ्नो क्षेत्रमा जान्थें, हेर्थें, बुझ्थें। बर्दियामा त्यस्तै (अन्तर्घात गर्ने) व्यक्तिहरु छन् भन्ने मैले बुझ्न सक्थें। बुझ्न पाएको भए म बर्दियामा उठ्ने थिइन, प्यूठानमा नै उठ्ने थिएँ।

अन्तर्घात केन्द्रबाट भएको हो कि जिल्लाबाट हो?
अन्तर्घात भएको हो कि के हो, पार्टीले छानविन गरिरहेको छ। के भएको हो, त्यहाँ कुराकानी गर्नुस्, मेरो मुखबाट बोल्न नलगाउनुस्।

कति समय छानविन गर्ने रहेछन्? 
खोई, थाहा छैन। छानविन हुन्छ कि हुँदैन! के हुन्छ, कस्तो हुन्छ, त्यो पार्टीका जिम्मेवारहरुले सोच्ने कुरा हो।

बर्दिया–१ मा स्थानीय तहको निर्वाचनमा एमाले र माओवादी केन्द्रले प्राप्त गरेको भोट भनेको ५६ हजार हो। एमालेले ३१ हजार र माओवादी केन्द्रले २६ हजार भोट प्राप्त गरेका थिए। कांग्रेसले जम्मा २४ हजार पाएको थियो। अरु सानातिना मधेशी पार्टीले कांग्रेसलाई केही केही भोट हाले होलान्। त्यसो हुँदा कांग्रेसको पक्षमा ४–५ हजार भोट बढी परेको हुनसक्छ र २७–२८ हजार पुग्नसक्छ।

तर, कांग्रेसका उम्मेदवारले जति भोट पाएर जिते, हाम्रो पाएको भोट पाएर जिते। त्यसैले, ममाथि अन्तर्घात भएको त पक्कै हो। त्यो त प्रमाणले देखायो। तर, अन्तर्घातको योजना कसले बनायो भन्ने मलाई थाहा छैन।

छानविन कमिटीले छानविन गर्‍यो, रिपोर्ट ल्यायो भने बल्ल थाहा हुन्छ। छानविन भएन भने त के हुन्छ, थाहा छैन।

सांसद विनाको राजनीति 
संसदमा नभएपछि कत्तिको फुर्सद–बेफुर्सद छ?
चुनावपछि समृद्धि र सुशासन सम्बन्धी कार्यदल बन्यो। त्यो कार्यदलको काममा लागियो। मलाई अहिले पनि किसान महासंघको अध्यक्षता दिइएकै छ। गर्छु भन्दा त्यहाँ काम छँदैछ। तर, पार्टी एकताको कुरा आएकाले हाम्रो पार्टी, संगठन कुनै चलेकै छैनन्। एकता हुन्छ भनेको छ, एकता हुँदैन। यस्तै गर्दैगर्दै ६–७ महिना बित्यो। र। बल्ल एकता भएको छ।

तपाईंलाई ‘किसान महासंघको आजिवन अध्यक्ष’ भनिँदो रहेछ नि!
त्यो (आजिवन अध्यक्ष) हुन पाए त गौरवको कुरा हुनेथियो मलाई। साँच्चिकै आजिवन राखिदिए हुन्थ्यो।

किसान महासंघको छैटौं महासम्मेलनले पास गरेको नेपाली कृषि क्रान्तिको कार्यक्रम सैद्धान्तिक रुपले, राजनीतिक रुपले, कृषि क्रान्तिको हिसाबले र प्राविधिक रुपले कृषिको विकासको हिसावले पनि पहिलो दस्तावेज हो, जो मैले अघि सारेको छु। अरु कसैले त्यस्तो दस्तावेज अगाडि सारेका छैनन्।

त्यस्तो किसान महासंघको म नै अध्यक्ष हुन पाउने र मर्ने बेलासम्म अध्यक्ष हुन पाउने हो भने, म त मर्दाखेरि कुनै दुखकष्ट नमानिकन सजिलो गरी मर्ने थिएँ।

 तस्वीर/भिडियो: प्रविन कोइराला

प्रकाशित ७ जेठ २०७५, सोमबार | 2018-05-21 17:03:54
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • विमानस्थललाई २५ करोड नबुझाई ‘सम्पर्कविहीन’

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मंसिर ११ मा सौर्य एयरलाइन्सका २ बम्बार्डियर सीआरजे जहाज ग्राउन्डेड गर्‍यो।

  • हेमन्तप्रकाश ओली (सुदर्शन)

    विप्लवका कमान्डर पक्रन टिपर चढेर प्रहरी काफलडाँडा पुग्दा

    विशेष ब्युरोमा २०५७-२०६० सम्म काम गरेका एसपी सोमेन्द्रसिंह राठौरलाई सो अपरेसनको नेतृत्व दिइयो। उनी सशस्त्र द्वन्द्वमा भएका यस्ता अपरेसनका अनुभवी...

  • परीक्षाकै सूचना हराएको त्रिवि

    पत्रकारिता तेस्रो सेमेस्टर अन्तिम परीक्षा आइरहेकाले भर्खरै बिग्रिएको मोबाइलको डिस्प्ले बनाउन मन लागेन।

  • हङकङको आकाशमा निष उपाध्याय

    हङकङको आकाशमा निष उपाध्यायको ‘गुड फ्लाइङ’ (भिडियो)

    ‘हङकङमा २०११ देखि व्यवसायिक रुपमा प्याराग्लाइडिङ उडाउँदै आएको छु। मैले उडाउने धेरै मानिस चिनियाँ र केही नेपाली साथीभाइ हुन्छन्। पैसा लिएर होइन,...