माधव नेपाल भन्छन्: महाधिवेशनमा ओली र प्रचण्ड मिले पनि आकाश खस्दैन, पहाड फाट्दैन (अन्तर्वार्ता)




माधव नेपाल
माधव नेपाल

९ बैशाखमा भएको पार्टी मुख्यालय (हेडक्वार्टर) को बैठकमा बराबरी र सम्मानजक एकताको विषयमा एमाले बरिष्ठ नेता माधव नेपाल बाधक रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आरोपपछि एमाले–माओवादी केन्द्रभित्र पूर्व प्रधानमन्त्री समेत रहेका एकता संयोजन समितिका सदस्य नेपाल चर्चामा छन्। के नेपालले साँच्चिकै बराबरी र सम्मानजनक एकताको विपक्षमा भूमिका खेल्न खोजेका हुन्? पार्टी एकता, सरकारको काम कारवाही लगायतका विषयमा नेपालखबरका लागि सीताराम बरालले नेता नेपालसँग गरेको वार्ता:

‘समानताका आधारमा पार्टी एकता गर्ने कुरामा माधव नेपाल उदार हुनुहुन्न’ भन्ने प्रचण्डको बुझाई रहेछ। एकताको सन्दर्भमा तपाईंको खास दृष्टिकोण के हो?
प्रचण्डजीले त्यस्तो भन्नुभयो भन्ने कुरा मैले पनि पढें। र, यो कुरा मैले पनि उठाएँ। अस्ति उहाँले भाषण (९ बैशाख पार्टी स्थापना दिवस) गर्दापनि ‘माधव कमरेडले यो कुरा गर्नुभयो’ भन्दै हुनुहुन्थ्यो। त्यसैदिन माओवादी केन्द्रको बैठकमा ‘माधव नेपाल बाधक बनेको’ भनेर भन्नु भएको कुरा आयो।

यदि यस्तो कुरा भन्नु भएको हो भने गलत कुरा हो। यो गलत कुरामात्र होइन, यसले मलाई ‘प्रोभोक’ गर्ने कुरा पनि हुन्छ। मेरो स्वभाव सहेर बस्ने खालको छैन। तर ‘प्रोभोक’ भएर, यत्तिकै आँदो भएर लाग्ने स्वभाव पनि छैन।

अनुचित कुरा हो भने त्यसको विरोध गर्ने मेरो बानी छ। त्यसैले, उहाँले बोल्नु भएको हो, होइन। त्यो नबुझी मैले बोल्नु उपयुक्त हुँदैन।

माओवादी केन्द्रले समानताको आधारमा पार्टी एकता हुनुपर्ने भनेको छ। त्यो भनेको केन्द्रीय कमिटीपनि बराबर हुनुपर्छ भन्ने हो। माओवादीको कुरा त प्रष्टै छ नि, होइन र?
यस बारेमा मैले केही कुरा बोलेकै छैन। बाटोमा के के कुरा हुन्छन्, त्यस आधारमा टिप्पणी गर्ने बानी मेरो छैन । जबसम्म मकहाँ आधिकारिक कुरा आउँदैन, म बोल्दिन। मेरो कानमा ‘फष्ट ह्याण्ड’ परेको कुराको मात्र टिप्पणी गर्छु।

विवाद मिलाउने जिम्मेवारी दुई नेतालाई मात्र किन दिनु भएको हो नि! 
आफैले पार लगाउन सकिन्छ कि भन्ने भयो होला। आफैले लगाउँदा राम्रो पनि हुन्छ । धेरै जनाको बीचमा वार्ता छलफल गर्ने कुरालाई म पनि सिफारिस गर्दिन। किनभने, त्यहाँ अनेक प्रस्ताव आउँछन्, धेरै कुरा आएपछि मूल कुरा समाधान गर्न सकिन्न। त्यसैले, सानो ठाउँमा सीमित नेता बसेर समाधान गर्नुपर्ने अवस्था आउन सक्छ ।

हामीसँग संगठन चलाएको चालिसौं पचासौं बर्षको अनुभव छ। के के आधारमा कसरी संगठन चलाउने भन्ने कुरा हामीले बुझेका छौं। एकताका अनेक प्रक्रिया, चाप र चरणहरु हामीले देखेका छौं। त्यसैले, अहिले देखिएका समस्या समाधान गर्न नसकिने खालका छैनन्। माओवादीको भावनाको पनि कदर गर्नुपर्छ। र, न्यायोचित आधारमा पनि टुङ्ग्याउनु पर्छ।

न्यायोचित भनेको चाहिँ के हो?
योग्य व्यक्तिलाई उचित जिम्मेवारी दिने, एकिकृत पार्टीले मूल्याङ्कनमा अन्याय नगरी सबैमाथि न्याय गर्ने। कसलाई कुन ठाउँमा राख्दा पार्टी र आन्दोलनको सर्वाेत्तम हित हुन्छ भन्ने कुरालाई ध्यानमा राख्ने।

माले र मार्क्सबादी बीच ०४७ मा एकता हुँदा केन्द्रीय कमिटीमा ५०–५० राख्ने सहमति भएको रहेछ। अहिले पनि त्यही गर्दा हुँदैन ?
माले-मार्क्सबादीबीच एकता हुँदा दुबै पार्टी चुनावमा गइसकेका थिएनन्।

तर ०४३ मा त मालेले भाग लिएको थियो नि!
०४३ मा त को के थियो, थाहा थिएन । त्यो चुनावमा सबै पार्टीले भाग लिएको पनि होइन। मालेले पनि भाग लिएको होइन, मार्क्सबादीले पनि। भूमिगत रुपमा जनपक्षीय उम्मेदवारका रुपमा भाग लिएको हो।

अहिले पनि हामी न्यायोचित आधारमा एकता गर्न सक्छौं। यसका लागि एक एक व्यक्तिको मूल्याङ्कन गरौं र योग्य व्यक्तिहरुलाई केन्द्रीय कमिटीमा राखौं। कति ल्याउनु पर्ने हो, त्यसका आधारमा मूल्याङ्कन गरेर ल्याऔं भन्ने मेरो मान्यता हो।

नत्र एमालेको गाउँ कमिटीमा काम गरेको मान्छेलाई स्थायी कमिटीमा ल्याऊँ भनियो भने के हुन्छ ?

माओवादीले गाउँ कमिटीका मान्छेलाई केन्द्रीय कमिटीमा ल्याऊँ भनेको हो?
के थाहा? यस विषयमा कुराकानी भएकै छैन। मैले भनेको कुरा के हो भने, व्यक्तिको बारेमा मापदण्ड बनाएर जानुपर्छ। कहिलेदेखि केन्द्रमा आएका हुन्? केन्द्रीय योगदानको पक्ष के छ? भूमिकाको पक्ष के छ? कसरी उनीहरु केन्द्रीय कमिटीमा आए? यो कुरा बुझ्नुपर्छ।

यसको मतलव, प्रत्येक व्यक्तिको इतिहास खोजिनपर्‍यो। रोष्टर बनाउन थाल्नुपर्‍यो।

यसो गर्दा एकता लम्बिदैन?
लम्बिदैन। दुई तीन राउण्ड बस्नेबित्तिकै थाहा भइहाल्छ। सबैजना यही देशमा बसेका मान्छे त हुन् नि। नचिनेका, थाहा नपाएका, कोही पनि छैनन्। मैले थाहा नपाउँला, अर्काेले थाहा पाइहाल्छ। एक कल फोन गर्‍यो भने सम्बन्धित पार्टी कमिटीबाट जानकारी आइहाल्छ।

एकतामा अहिलेसम्म मिलेको विषय कति हो, मिल्न बाँकी कति हो?
दस्तावेजहरुमा नमिलेका ठूला विषय छैनन्। खालि केन्द्रीय कमिटी गठन गर्ने कुरामा ध्यान दिनपर्‍यो। त्यही अनुसार स्थायी समिति र पोलिटब्यूरो बनाउनुपर्‍यो। अरु कुन कुन पद राख्ने हो, त्यसको व्यवस्था गर्नुपर्‍यो।

जनयुद्ध, चुनाव चिन्हको कुरा नि! 
त्यस्ता विषयहरु हामी दस्तावेजमा मिलाएर जान्छौं। यी विषयहरु मिलिसकेका छन्।

जनयुद्धको विषयमा कसरी सहमति जुट्यो?
जनयुद्धले आआफ्नो ठाउँमा भूमिका खेलेको छ। त्यही भूमिका खेलेकाले त माओवादी यो विन्दूमा आइपुगेको हो। माओवादीलाई यो विन्दूमा ल्याइपुर्‍याएकाले जनयुद्धको आफ्नै प्रकारको उपादेयता रह्यो। त्यसका कमीकमजोरी छन् भने समयमा समीक्षा गरौंला। आज कतिपय कुराहरु पाच्य हुँदैनन्, समयक्रममा ती कुरा पाच्य हुँदै जान्छन्।

महाधिवेशनपछिको अध्यक्षका लागि ओलीले तपाईंलाई बचन दिएपछि प्रचण्ड आशंकित हनुभयो र एकता प्रक्रिया लम्बियो भन्ने आशंका छ। ओली र तपाईंबीच भएको ‘सहमति’ के हो?
नानी हुनु कहिले कहिले कन्दनी बाट्नु अहिले? महाधिवेशन हुने कहिले हो, अहिले नै अध्यक्षका लागि कहीँ सहमति हुन्छ?

हामीले त्यस विषयमा कुनै सहमति त के, कुराकानी पनि गरेका छैनौं। भोलि के हुन्छ, कसो हुन्छ, त्यत्तिकै कसैले महाधिवेशनपछि यो गर्ने भनेर बचन दिन सक्छ? काम गर्दै जाऊँ न। कस्तो ‘सिष्टम’ बसाल्ने हो, कुन ढंगले जाने हो? नेताहरुको व्यवस्थापन कसरी गर्ने हो?

नेताहरुको व्यवस्थापन चाहिँ कसरी होला?
नेताहरुको व्यवस्थापन भनेको दुई (ओली र प्रचण्ड) जनाको व्यवस्था गरेपछि पुग्छ भनेको त होइन होला नि! हामीपनि त नेता नै हौं। हाम्रापनि इतिहास छन्, योगदान छन्। ती सबैको समुचित मूल्याङ्कन त  गर्नुपर्‍यो होला नि!

पार्टी कार्यकर्ताहरुको उचित व्यवस्थापन भएन भने उनीहरुमा निराशा पैदा हुन्छ। पार्टीको शक्तिको आधार कार्यकर्ताहरु हुन्। कार्यकर्ताहरुलाई न्यायोचित आधारमा कामको जिम्मेवारी दिनुपर्छ। कार्यकर्ताहरु निराश भए भने पार्टीको शक्ति र्‍हास हुन्छ। पार्टी शिथिल र कमजोर हुँदै ओरालो लाग्छ।

तर, नेता असन्तुष्ट भए भने के हुन्छ? पार्टी फुट्ने खतरा हुन्छ। त्यसैले, नेताहरुको व्यवस्थापन महत्वपूर्ण कुरा हो।

ओली–प्रचण्डलाई विवाद मिलाउने जिम्मा दिनुभएको छ। उहाँहरु ४–४ घण्टा वार्तामा बस्नुहुन्छ। तर विवाद मिल्दैन। खासमा उहाँहरुबीच के कुराकानी हुँदो रहेछ?
कतिपय कुरा मिल्छन् पनि। मिल्दै नमिलेको भए यहाँसम्म कसरी आइपुग्थ्यौं? कतिपय कुरा जटिलपनि हुन्छन्। ती विषय मिलाउन समय लाग्यो भन्दैमा आत्तिहाल्नु हुँदैन।

तर ९ बैशाखमा राष्ट्रिय सभागृहमा भएको बबण्डरपछि त सम्बन्ध तिक्ततातिर उन्मुख भएजस्तो लाग्दैन?
जीवनमा घाम–छायाँ भइरहन्छ। उज्यालो–अँध्यारो भइरहन्छ। त्यसैले, त्यो घटनापछि आकासै खस्यो भन्ने ठान्नुहुँदैन। तर, त्यस दिन जे भयो, त्यो उपयुक्त थिएन। अब त्यस्तो खालका गल्ती दोहोरिन दिनु हुँदैन।

त्रुटि के कुरामा भयो?
के कुरामा त्रुटि भयो, यो कुरा पनि सडकमा बोल्दै हिँड्ने विषय होइन। जहाँ बोल्नु पर्ने हो, त्यहीँ बोलौंला। यो त्रुटि भयो भनौंला। त्रुटि भएर न त्यो समस्या आयो, झण्डै तमाशा जस्तो भयो। तरपनि समस्या समाधान गरियो। कार्यक्रम गर्ने जुन उद्देश्य थियो, कार्यक्रम भयो। दुईटै पार्टीका नेताहरुले पार्टी एकता हुने विषयमा निश्चिन्त हुन आग्रह गर्नुभयो।

एकता हुन अब कति समय लाग्ला?
हामीले भनेरमात्र हुँदो रहेनछ, समय लाग्दो रहेछ। एकता भन्ने कुरा मनोवैज्ञानिक पक्षपनि रहेछ। एकता त गर्ने, तर आफ्नो चाहिँ के हुने हो भन्ने हुँदोरहेछ। भाकपाका नेता सरोज दत्तले ‘मेरा क्या होगा?’ भन्ने एउटा प्रश्न खडा गर्नुभएको थियो। मान्छेको दिमागमा जब ‘मेरो क्या होगा? भन्ने प्रश्न खडा हुन्छ, त्यसपछि बर्बाद हुन्छ। त्यो व्यक्ति आन्दोनलको लागि निश्वार्थी मानिँदैन। तर, एमाले–माओवादी एकता ढिलाईमा ‘मेरा क्या होगा?’ भन्ने पक्षले पनि काम गरेको छ।

प्रचण्डले त दुई अध्यक्षको बेफुर्सदीले गर्दापनि एकतामा ढिलाई भएको हो भन्नुभएको छ। खासमा उहाँ (ओली–प्रचण्ड) एकताका लागि आवस्यक समय दिन नचाहनु भएको हो कि, साँच्चिकै नभ्याउनु भएको हो?
यो कामका लागि उहाँहरुले समय दिनैपर्छ। प्रधानमन्त्रीको व्यस्तता बुझ्न सकिन्छ। त्यो पदै यस्तो हो कि, यो काम छोडिदिऊँ भन्ने हुँदो रहेनछ। राज्यसञ्चालनको कुरामा हेलचक्र्याइँ गर्नुहुँदैन। तैपनि समय त निकाल्नुपर्छ।

अरु नेताहरु त जति व्यस्त हुनखोज्यो, त्यति व्यस्त हुन सकिन्छ। तर, पार्टी एकताजस्तो महत्वपूर्ण कामका लागि समय निकाल्नुपर्‍यो। यहाँ त एकले अर्काेलाई ‘तपाईंले समय निकाल्नुहुन्न’ भन्ने चलन नै बसिसक्यो। कहिले मलाई भन्दिया’ छ कि, ‘तपाईं कहाँ कहाँ व्यस्त हुनुहुन्छ’ भनेर। कहिले मैले अर्काेलाई भन्दिएको छु, ‘ख्वै, तपाईं खालि कहाँकहाँ घुमिराख्नु भएको छ।’

तर जेसुकै भएपनि अरु कार्यक्रम कटौति गरेर भएपनि एकताको कामलाई समय दिनुपर्छ।

सरकारको तर्फबाट काम भन्दा बढी कुरा भए भन्ने लाग्छ कि लाग्दैन?
नीति तथा कार्यक्रम तर्जुमा गर्ने बेला आउँदैछ। बजेट तयार गर्ने बेला आउँदैछ। अबको सम्पूर्ण ध्यान अहिलेसम्मका योजनाहरु लागू गर्ने, अनुगमन गर्नेतर्फ दिनुपर्छ। अहिले अनुगमन प्रणाली एकदम कमजोर छ। सरकारले अनुगमन प्रणालीलाई बढी सुदृढ बनाउने उपायहरु खोज्नुपर्छ। अनुगमन गर्नेमात्र होइन, मूल्याङ्कन गर्ने, प्रसंशा–पुरस्कृत वा दण्डित गर्ने कुरामा ध्यान दिनुपर्छ।

प्रधानमन्त्रीदेखि मन्त्री सम्मले काम गर्नुभन्दा आवस्यकता भन्दा बढी बोल्नुभएको हो कि!
सपना देख्नुपनि पर्छ, देखाउनु पनि पर्छ। अघि बढ्ने भावना जगाउनु पर्छ, आशावाद जगाउनु पर्छ। तर, धेरै आशामात्र जगाउने, काम चाहिँ नगर्ने हो भने त्यो निराशामा परिणत हुन्छ। परिस्थिति त्यो दिशातिर नजाओस्।

अहिले सरकार भर्खर गठन भएको छ। केही भावना त जगाउनै पर्‍यो। आशाको भावना त जगाउनै पर्‍यो। निराश जनतामा उत्साह भर्नुपर्‍यो। तर सँगसँगै काममा ध्यानपनि दिनुपर्‍यो।

आज (१३ बैशाख) म ठमेल गएको थिएँ। त्यहाँको स्थिति देख्दा मलाई दिक्क लाग्यो। बाटोको बेहाल। म भन्थें, ‘टुरिष्टहरु हिँड्ने बाटो सफा, चिल्लो हुनुपर्छ।’ आज गएर हेरेको त, बाफ रे बाफ । आधा पिच छ, आधा छैन। खाल्टैखाल्टा छन्। टुरिष्टहरु आइरहेकै छन्, उनीहरुले यस्तो देखेपछि के सन्देश जान्छ? त्यत्तिपनि गर्न नसक्ने? सरकारले नगरेको हो कि, महानगरपालिकाले नगरेको हो कि? मेलम्ची आयोजनाले नगरेको हो कि? ठेकेदारले नगरेको हो?

त्यो देखेपछि आज मैले भौतिक योजना मन्त्रीलाई भनें, ‘ध्यान दिनुस्।’ रमेश लेखकजी भौतिक योजनामन्त्री हुँदापनि मैले यो कुरा भनेको थिएँ। प्रचण्डजी प्रधानमन्त्री हुँदापनि भनेको थिएँ, ध्यान दिनुस्?

‘ध्यान दिनुस्’ भनेर त धेरैलाई भन्नुभएछ, ध्यान चाहिँ के कुरामा दिनुपर्ने हो?
सिंहदरवारबाट निस्कँदा त्यहाँका बाटाहरु खाल्टाखुल्टी नहुन्। कमसेकम भिआइपी र भिभिआइपी हिँड्ने बाटाहरु खाल्टाखुल्टीमुक्त गर्नुस्। टुरिष्टहरु जाने–आउने बाटाहरु खाल्टाखुल्टीमुक्त होउन्। मुख्य राजमार्ग खाल्टाखुल्टीमुक्त होउन्। धेरै मानिस हिँड्ने बाटापनि खाल्टाखुल्टीमुक्त होउन्।

मैले मेरो निर्वाचन क्षेत्र काठमाडौं–२ का मेयर र वडाध्यक्षलाई पनि भनेको छु, ‘२–३ वर्षभित्र आफ्नो मूलवस्ती भएका इलाकाका बाटाघाटा पिच गर्नुस्, खाल्टाखुल्टी पुर्नुस्।’

खाल्टाखुल्टी पुर्न धेरै समय लाग्दैन, खर्चपनि लाग्दैन। तर, कहीँपनि राम्रोसँग काम भइरहेको देख्दिन।

मेरै घर आउने बाटाघाटापनि देख्छु, हालत उस्तै छ। मेरो घरमा देशीविदेशी पाहुना आउँछन्। तिनीहरु आउँदा जाँदा गाडी कस्तो हुन्छ, कति अप्ठेरो हुन्छ। अझ तपाईं साँखु जानुस्, त्यहाँ जाँदा हाइजम्प, लङजम्प गर्नुपर्छ। तपाईंको टाउको फुट्लाजस्तो हुन्छ।

प्रधानमन्त्री त तपाईं आफैं पनि हुनुभयो, भौतिक योजना मन्त्रालय त्यतिबेला पनि थियो। त्यो बेला खाल्टाखुल्टी टाल्ने काम चाहिँ किन गर्नुभएन?
मेरो जिम्मा बाटो बनाउने र खाल्टाखुल्टी पुर्ने थियो? मेरो जिम्मा शान्ति प्रक्रियाको थियो। तरपनि हाइवेका खाल्टाखुल्टी पुर्ने कुरामा मेरो ध्यान गएको थियो। मैले जनता आवासको कार्यक्रम ल्याएँ। निजगढ विमानस्थल बनाउने निर्णय गरें। ‘फाष्टट्र्याक’ को शिलान्यास गरें। पूर्व–पश्चिम लोकमार्गमा १० वटा शहर निर्माण गर्ने योजना अगाडि सारें। भारत भ्रमणमा जाँदा हुलाकी राजमार्गका लागि त्यत्रो बजेट ल्याएर काम सुरु गरें।

‘२० मिनेट भन्दा बढी समय राजमार्ग अवरुद्ध भयो भने चार्ज गएर भएपनि राजमार्ग सुचारु गर्नुस्’ भनेर आदेश दिएँ। नबनेर थाति रहेका राजमार्गका पुलपुलेसा बनाउन लगाएँ। बनेपछि उद्घाटनपनि गरें।

यति हुँदाहुँदैपनि खाल्टा चाहिँ किन पुरिन सकेन?
कर्मचारीतन्त्रमा समस्या छ। कर्मचारीतन्त्रले टेर्दैन।

अब त, हाम्रा मन्त्रीहरुले अनुभव प्राप्त गरिसकेका छन्। के बुझ्नुपर्‍यो भने, भनेरमात्र हुँदो रहेनछ। मैले त आफ्नो अनुभवपनि सुनाइसकेको छु। भन्योमात्र, ढुक्क भएर बस्यो भने त्यो काम बिग्य्रो भन्ने बुझे हुन्छ।

मैले कतिपय कुराको अनुगमन गर्न मुख्यसचिवलाई जिम्मेवारी दिएको थिएँ, सचिव लीलामणि पौडेललाई जिम्मा दिएको थिएँ। प्रधानमन्त्री कार्यालय अन्तर्गत एउटा अनुगमन कमिटीपनि बनाएको थिएँ। बाटोघाटो, पुलपुलेशाको अनुगमन गर्न अनुगमन कमिटीलाई पठाउँथे। कति बाटो कस्तो बनाएको छ, कति गिट्टी राखेको छ, कति पिच राखेको छ, खनेर हेरेर, समयमा काम गरेको छ कि छैन भन्ने कुराका लागि मैले कडिकडाउ गरेको थिएँ। म आफै फिल्डमा गएँ।

हामीसँग पनि अनुभव छ। प्रधानमन्त्रीले हामीसँगपनि अनुभव लिनोस् न। अब त दुई दुई पटक प्रधानमन्त्री भइसक्नुभयो।

फेरि पार्टी एकतातिर नै फर्काैं। ०७२ मा राष्ट्रपति बन्ने अवसर पाउँदापनि हुनुभएन। के पार्टी अध्यक्ष नै बन्ने योजना हो?
मेरो के छ, के छैन भन्ने कुरा मैले सोचेर– २४ घण्टा माला जपेर हुन्छ? मेरो सम्पूर्ण उर्जा, बुद्धि–क्षमता देश र जनताका लागि पार्टीभित्र लगाइरहेको छु। म उर्जावान मान्छे हुँ, गतिशील मान्छे हुँ। गतिशीलतामा विश्वास गर्छु। क्रियाशीलतामा विश्वास गर्छु। परिणाममा विश्वास गर्छु। टाइमको पावन्द मान्छे हुँ, ‘समयमा काम सम्पन्न गर्नुपर्छ’ भन्ने मान्यता राख्छु। म यो सबै खालका खेलाँचीको पक्षमा छँदैछैन। यो देशमा अब साँच्चिकै काम गर्नुपर्ने बेला आएको छ।

तैपनि, राजनीति भन्ने कुरा निर्मम हुन्छ। यति सार्‍हो लाग्दालाग्दै महाधिवेशनमा ओली र प्रचण्ड मिलिदिए भने....
के हुन्छ त? आकाश खस्दैन, पहाड फाट्दैन। कार्यकताले के चाहन्छन्, समयले के माग गरिरहेको छ, त्यसको आधारमा जाने हो। मैले ‘प्रधानमन्त्री बन्न पाए’ हुन्थ्यो भनेको भए राष्ट्रपति भइसक्थें। ०७० मा नै म राष्ट्रपति भइसक्थें। रामबरणपछि मेरै नाममा जोड लगाएका होइनन् सबैले? विद्या भण्डारीको ठाउँमा मलाई पठाउन खोजेको हो। मैले नै नमानेको हो।

०६५ मा राष्ट्रपति बन्न त्यति रहर गरेको मान्छे ०७२ मा चाहिँ किन पछि हट्नुभयो?
रहर गरेको होइन, दबाबमा परेको हो। राष्ट्रपति (०६५ मा) बन्न यति धेरै दबाब दिइयो कि, मैले थेग्नै सकिन। ‘गणतन्त्रको पहिलो राष्ट्रपति तपाईं भइदिनुस्’ भनेर सबै नेताले भनेपछि ‘ल ठीकै छ’ भनेर मैले मानेको हो। ‘हुन्छ’ त भनें। तर धोका खाएँ।

पछि (२०७२ मा) म राष्ट्रपति बन्ने बेला भा’छैन भन्नुको अर्थ के हो भने, राष्ट्रपति भइसकेपछि राजनीतिमा निस्कृय हुनुपर्छ। तर, ममा गतिशीलता छ। राष्ट्रपति बनेर कहाँ सबैलाई ‘राम्रो गर्नु है’ भन्दै उपदेशात्मक कुरा गरेर बस्ने? त्यसैले, ‘बेला भा’ छैन’ भनें।

मेरो ज्ञानको, मेरो खुवीको, मेरो अनुभवको राष्ट्रले प्रयोग गर्छ भने गर्छ, गर्दैन भने म आफ्नै ढंगले प्रयोग गर्छु। म पढ्छु, अध्ययन गर्छु, संसार हेर्छु, संसार घुम्छु, संसारका नयाँनयाँ अनुभवहरु ल्याउँछु। नयाँ नयाँ युवाहरुलाई प्रशिक्षित गर्छु।

२०६५ मा राष्ट्रपति बन्न नपाउँदा तपाईंलाई नाफा-घाटा के भयो?
त्यो बेला माओवादीले ठूलो गल्ती गरे। माओवादीले गल्ती गरे कि, हाम्रै साथीहरुले गरे, त्यो पनि समीक्षाकै विषय हो। माओवादीले ‘एमालेकै तर्फबाट कमजोरी भएको हो’ भनेको छ। एमालेबाट ‘माओवादीबाट गल्ती भएको हो’ भन्ने छ। यस विषयमा अहिले धेरै गहिरो कुरा नगरौं।

तर, राष्ट्रपति नबन्दा मलाई केही बिग्रेन। राष्ट्रपति बनेको भए म प्रधानमन्त्री नै बन्ने थिइन। परिस्थिति र परिबन्दले मलाई प्रधानमन्त्री बनाइदियो। तर, केही मान्छेहरु अहिलेपनि रिस गर्छन्, ‘माधव नेपाल प्रधानमन्त्री बन्यो’ भनेर। रिस गरेर हुन्छ? तर अनेक टण्टा गर्छन्। तर, अरु भएको कुरामा केही बोल्दैनन्।

अरु भन्नाले....
चुनाव हारेको त कृष्णप्रसाद भट्टराईले पनि हो नि! उहाँ पराजित भएर सभामुख भएको (०१५) मा केही बोल्दैनन्। महन्थ ठाकुर पराजित भएरपनि मनोनित भएकोमा केही बोल्दैनन्। माधव नेपाललाई खोजी गरेको चाहिँ ठूलो विषय बन्छ। गिरिजाबाबुले पनि, प्रचण्डजीले पनि भनेको, एमाले पार्टीले पनि जोड गरेको कुरालाई चाहिँ ‘पोजेटिभ्ली’ लिँदैनन्।

यो संसारै त्यस्तै छ। त्यसैले, यो संसारको कुरा गर्दा कहिलेकाहीँ मलाई पनि हाँसो पनि लाग्छ, दिक्क पनि लाग्छ। तरपनि यी सबै कुरा हेरेर चल्ने होइन, आफू इमान्दार हुनुपर्छ। सबै कुरा ठीक हुन्छ।

चुनावपछि एमालेले राष्ट्रपति, प्रधानमन्त्री, ४–४ वटा मुख्यमन्त्री, राष्ट्रिय सभाको अध्यक्षजस्ता महत्वपूर्ण जिम्मेवारी पाएको छ। एमालेले पाएका यी जिम्मेवारीको चयनप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ?
यो बाहिर धेरै बोल्ने विषय होइन। तर हाम्रो कामको तरिकामा धेरै सुधार हुनुपर्छ। पार्टीको बैठक नियमित बसाल्ने प्रचलन सुरु गर्नुपर्छ। बैठकबाट अधिकार लिनुपर्छ। नभए त गार्‍हो हुन्छ अब।

आफू मौन बस्दा यस्तो भएजस्तो लाग्दैन?
कराउनुपर्ने? विद्रोह गर्नुपर्ने? मारमुङ्ग्री गर्नुपर्ने? मुड्की बजार्नुपर्ने? कि के गर्नुपर्ने? ‘राम्रो गरौं, ठीक गरौं, तरिका पुर्‍याऊँ’ भन्ने कुरामा मैले सँधै जोड दिएको छु।

एउटा कुरा बुझ्नुहोला, म एउटा कुरामा विश्वास गर्छु। त्यो हो, न डराउनु, न बिराउनु। म कसैसँग डराउँदिन। कसैसँग डराउनुपर्ने कुनै कारण छैन। ज्यान त जोखिममा राखेर आएको इतिहास छ भने किन डराउनु?

सबैको सम्मान गर्छु। तर मेरो अपमान गरेको सहन सक्दिन। मेरो यो अर्काे पक्ष हो, ध्यान दिनुस्।

यदि पार्टीभित्र अनियमिता भइरहेको छ भन्ने लाग्छ भने किन नबोल्नु भएको त?
पार्टी एकतामा असर नपरोस् भन्ने कुरामा अहिले ध्यान दिइरहेको छु। तर तरिका (पार्टीभित्र) ठीक बसालिएको छैन। यस्तो तरिकाले चल्नुहुँदैन। यो चलन आफ्नै निम्ति भोलि ‘बुमेर्‍याङ’ हुन्छ। अरुले पनि यस्तै गर्न थाले भने के हुन्छ? आफूले गर्दा हुने, अर्काेले गर्दा के गर्ने? जहिले पनि आफूले गरिरहेको कुरा अर्काेले गर्‍यो भने के हुन्छ भन्ने कुरा सोचेर चल्नुपर्छ।

फेरि भन्छु, कुनै एउटा काम सम्पन्न गर्ने कुरा ठूलो होइन, ‘सिष्टम’ बसाल्ने भन्ने कुरा ठूलो हो। 

प्रकाशित १४ बैशाख २०७५, शुक्रबार | 2018-04-27 15:36:42
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • हङकङको आकाशमा निष उपाध्याय

    हङकङको आकाशमा निष उपाध्यायको ‘गुड फ्लाइङ’ (भिडियो)

    ‘हङकङमा २०११ देखि व्यवसायिक रुपमा प्याराग्लाइडिङ उडाउँदै आएको छु। मैले उडाउने धेरै मानिस चिनियाँ र केही नेपाली साथीभाइ हुन्छन्। पैसा लिएर होइन,...

  • दीपक नेपाल

    ट्वीटरका सेलिब्रिटी यी ट्याक्सी ड्राइभर

    ‘शैक्षिक प्रमाणपत्र सिरानीमुनि राखेर ट्याक्सी चलाइरहेको छु। होइन–होइन, जिन्दगी चलाइरहेको छु।’

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकलाई गोप्य नियन्त्रण लिएर ७ घन्टा बयान

    नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व मिलाइदिन्छु भनी ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकसँग...

  • मोहन कार्की (जीवन्त)

    आफ्नो मोवाइलबाट जसले ओली–प्रचण्डबीच पहिलो संवाद गराए

    नेपालमा भर्खरै भित्रिएले मोबाइल निकै दुर्लभ मानिन्थ्यो। प्रचण्डको प्रतिनिधि बनेका जीवन्त मोबाइल फोन बोकेर ओलीनिवास पुगेका थिए। जीवन्तले मोबाइलबाट...