नेपाल–भारत सम्बन्ध अब सहज रुपमा अघि बढ्छ: केभी राजन



भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शुक्रबार दिल्लिस्थत हैदरावाद हाउसमा औपचारिक भेटवार्ता भएको छ। वार्तापछि तीन विषयमा सम्झौता भएको छ भने २५ बुँदे संयुक्त विज्ञपती पनि जारी भएको छ। नेपाल–भारत सम्बन्धले अब कुन मोड लेला त? यस विषयमा नेपालका लागि भारतका पूर्वराजदूत केभी राजनसँग नेपालखबरका चन्द्रलाल गिरीले दिल्लीमा गरेको वार्ताको सम्पादित अंश:

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणले दिल्लीमा कस्तो सन्देश दिएको छ?

प्रचण्डजीको यो भ्रमणले काफी सकरात्मक सन्देश प्रवाह भएको छ। नेपाल र भारतका बीचमा जुन ‘मिसअन्डरस्टाण्डिङ’ थियो। त्यसलाई घटाएर विश्वासको वातवरण सृजना गर्न यस भ्रमणले मद्दत पुगेको ठानेको छु। नेपाल र भारतबीच अब सहज रुपमा अघि बढ्ने आधार तयार भएको छ। अब नेपाल र भारतबीच आर्थिक र राजनीतिक सम्बन्ध थप सहज हुँदै जानेछ। नेपालको पुनर्निर्माणमा भारतले सहयोग बढाउनेछ। नेपाल र भारतबीच जुन विशेष सम्बन्ध छ, त्यसले गर्दा दुवै देश सम्बन्ध बलियो बनाउन संवेदनशिल भएर लागेका छन्।

तर नयाँ सहमति समझदारी केही नहुँदा प्रधानमन्त्रीको यो भ्रमण त सद्भावना भ्रमण जस्तो मात्र देखिएन र?

हरेक भ्रमणमा ठूल्ठूला सहमति समझदारी हुनुपर्छ भन्ने होइन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणले दुईवटा आधार तय गरेको छ। पहिलो, दुई देशबीच विश्वासको आधार खडा गरेको छ। दोस्रो, नेपालसँग विगतमा भएका सम्झौता सहमति लागू गर्ने महत्वपूर्ण समझदारी भएको छ।  नेपालसँग जहिले पनि सम्झौता सहमति हुने तर लागू नहुने समस्या थियो। त्यसले जनतामा अविश्वास बढेको थियो। त्यसैले अहिलेको सुरुवात एकदमै राम्रो छ। दुवै देशका नेताहरुले गरेको सहमतिमा परिपक्वता देखिएको छ।

भारतले यसपटक पनि नेपालको संविधानलाई खुलेर स्वागत गरेन, संविधानप्रति दिल्लीको रिजर्भेसन उस्तै छ हो?

नेपालको संविधान बरेमा भारतले जे भनेपनि हस्तक्षेप हुन्छ। स्वागत गर्दा वा अपूर्ण छ भन्दा पनि। त्यसैले छिमेकीको नाताले भारतले सबै पक्षलाई संविधानमा समेटेर लैजान सुझाव दिंदै आएको छ। नेपालको आन्तरिक मामिलामा भारतले धेरै हस्तक्षेप गरेको आरोप लाग्ने गरेको अवस्थामा संविधान कार्यान्वयन गर्न सबैलाई मिलाएर जान सुझाव दिने भन्दा अरु चासो भारतले राखेको छैन्।

मधेसी मोर्चाका माग संविधान संसोधन गरेर पूरा गरेपछि भारतीय राष्ट्रपतिले नेपाल भ्रमण गर्ने र त्यहीबेला संविधानको स्वागत गर्ने चर्चा छ, दिल्लीको सोच त्यही हो?

भविष्यमा के हुनसक्छ भनेर मैले अहिले नै केही भन्न सक्दिन। तर भारतले के अपेक्षा गर्दछ भने नेपालका सबै क्षेत्र, समूदायका जनतालाई संविधानमा समान अधिकार हुन सकोस्। सबैलाई मिलाएर नेपाली नेताहरु विश्वासका साथ अघि बढून्। बहूमत र अल्पमतको कुराभन्दा पनि आम जनताको समान अपनत्व संविधानमा हुन सकोस् भन्ने भारतको सुझाव छ। नेपालका सबै राजनीतिक दलहरु एकै ठाउँमा आएर सहकार्य गर्ने अवस्था होस् भन्ने भारतको सद्भाव छ।

ओली नेतृत्वको सरकार र अहिलेको सरकारप्रति भारतले फरक धारणा राखेको हो?

यी दुई सरकारलाई तुलना गर्नु उपयुक्त हो भन्ने मलाई लाग्दैन्। दुवै सरकार संसदबाट बहूमत प्राप्त नेपाली जनताले बनाएका सरकार हुन्। ओली सरकारसँग भारतको केही असमझदारी थियो। त्यस्तो हुँदै गर्छ। मुख्य कुरा त नेपालमा लोकतान्त्रिक सरकार छ। त्यही सिस्टमबाट प्रधानमन्त्रीहरु बनेका हुन्।

पहिलेको सरकारसँग भारतको असमझदारी अब हट्यो त?

ओलीजीले पनि भारत भ्रमणमा आएर केही असमझदारी प्रष्ट गरेर जानु भएको थियो। सम्बन्धलाई सही ठाउँमा ल्याउन अहिले दुवै देश संवेदनशिल भएर काम गरिरहेको अवस्था छ। प्रचण्डजीको यस भ्रमणले झन् विश्वासको वातवरण सृजना गरेको छ। धेरै बहूआयामिक सम्बन्ध भएका छिमेकीहरुमा यदाकदा यस्तो भइरहन्छ। कहिले सम्बन्ध घनिष्ठ हुने त कहिले उतारचढाव आउने हुन्छ। यसलाई स्वभाविक रुपमा लिनुपर्छ।

भारतले नेपालसँग जहिले पनि सुरक्षा चासो जाहेर गर्छ, त्यस्तो प्रतिकुल अवस्था छ र?

नेपालका कुनै पनि सरकार भारतको सुरक्षाको प्रतिकूल छन् भन्ने मलाई लाग्दैन। नेपालका कुनै पनि सरकार भारतको हित विपरीतभ जान्छन् भन्ने पनि भारतले ठानेको छैन्। हाम्रो बीचमा त्यो प्रकारको विश्वास छ। नेपाल र भारत दुवै विकासशिल देश हुन्। दुवै मिलेर विकासमा साझेदारी गर्नुपर्छ भन्ने कुरा प्रचण्डजीले पनि अनुभूति गर्नुभएको छ। खुला सीमा भएपनि सुरक्षामा नेपालप्रति भारतको भरोसा रहंदै आएको छ। खाँचो त आर्थिक साझेदारीको हो। नेपाल भारत सम्बन्धमा सुरक्षा चासो मुख्य होइन। नेपाललाई सुरक्षा परिधिको घेराबाट हेर्ने भारतको कुनै नीति छैन्। त्यो त ब्रिटिशकालीन नीति हो। दुवै देशको चाहना विकासमा सद्भाव, सहयोग र साझेदारी गर्ने हो। मलाई लाग्छ कि प्रचण्डजीलाई भारतको यो चाहना थाहा छ।

तर नेपालले चीनसँग व्यापार तथा पारवाहन सम्झौता गर्दा दिल्लीमा निकै ठूलो चर्चा भयो नि?

मलाई चीनसँग नेपालले गरेका सहमति सम्झौताको बारेमा भारतले कुनै चिन्ता र चासो लिएको भन्ने लाग्दैन्। भारतसँग जस्तै चीनसँग पनि सहमति सम्झौता गर्न नेपाल स्वतन्त्र छ। भारत र चीनका बीचमा पनि कतिपय व्यापारिक सहमति र सम्झौताहरु हुने गरेका छन्। नेपालले पनि चीनसँग त्यो फाइदा लिन सक्छ। नेपालका लागि चीन र भारत दुवै छिमेकी र मित्र हुन्। चीन र भारतसँग नेपालको सम्बन्धलाई तुलना गर्नु आवश्यक छ जस्तो मलाई लाग्दैन्।

उसो भए भारतको मुख्य चिन्ता के हो त नेपालमा?

नेपालसँग आर्थिक सम्बन्ध बढाउन भारतले जोड दिँदै आएको छ। विकासमा साझेदारी गर्ने नै मुख्य चासो हो। राजनीतिक स्थायीत्व भएन भने आर्थिक विकास हुनसक्दैन्। त्यसैले नेपालको स्थिरता भारतको हितमा छ।

प्रकाशित १ असोज २०७३, शनिबार | 2016-09-17 09:57:05

प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

रोचक

NepalKhabar Tweets

विशेष

  • बेइजिङमा खुल्यो नेपाली भाषा विशेषज्ञ समिति

    चीनको संस्कृति मन्त्रालयको वैदेशिक संस्कृति सम्पर्क व्यूरो तथा बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयको संयुक्त प्रयासमा सोमबार नेपाली भाषा...

  • बाबुराम भट्टराईका मामा चन्द्रप्रसाद न्यौपाने

    बाबुरामका मामा भन्छन्ः भाञ्जाको जीत हर्ष न बिस्मात!

    ‘हिजो म नराम्ररी झुक्किएछु। प्रकाश (कांग्रेसबाट गोरखा २ (ख) प्रदेशमा विजयी) ले बुवा हिँड्न सक्नुहुन्न गाडीमा चढ्नुस् भन्नुभयो, म चढेँ। कुनबेला...

  • जीतपछि प्रचण्ड हर्षित, परिवार भावुक (तस्वीर)

    जन्मदिनको अघिल्लो दिन चितवन–३ मा विजयी भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकै हर्षित देखिएका छन्। तर, उनका परिवारका सदस्यहरु...

  • यू-१६ नेपाली टोली

    नारायण जोशीको उत्कृष्ट बलिङमा नेपालको सहज जित

    एसीसी यू–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गतको सोमबार भएको पहिलो खेलमा नेपालले आयोजक थाइल्याण्डलाई १३३ रनले पराजित गरेको छ।