भोट मलाई दिनुस्, विश्वप्रकाशलाई स्नेह: राम कार्की



राम कार्की
राम कार्की

राम कार्की झापा–१ बाट प्रतिनिधि सभामा माओवादी केन्द्रका प्रतिस्पर्धी हुन्। वामगठबन्धनबाट उम्मेदवार बनेका उनको प्रतिस्पर्धा नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मासँग हुँदैछ। कार्कीसँग नेपालखबरका लागि मनोज खतिवडाले गरेको चुनाव–वार्ताः

झापा–१ का मुख्य प्रतिस्पर्धी विश्वप्रकाश शर्मा र तपाईं दुवैजना वौद्धिक छवी भएका नेताको रुपमा परिचित हुनुहुन्छ। विश्वप्रकाश शर्मालाई प्रतिस्पर्धीका रुपमा पाउँदा कस्तो लागेको छ?

तपाईंले बौद्धिक भन्दा मलाई कुनै समय ‘को बौद्धिक’ भनेर नेपालमा चलेको बहसको स्मरण भयो। कमलप्रकाश मल्लजीहरुका बीचमा यो विवाद लामो समय चल्यो। मुख्य रुपमा हामीले के मान्छौं भने, जसले ‘इन्टलेक्चुअल कन्ट्रिब्युसन’ दिन्छ, त्यो मात्र बौद्धिक हो। विश्वप्रकाश शर्माजी बोलक्कड हुनुहुन्छ, यसमा कुनै दुईमत नै रहेन।

नेपाली जनतासँग सम्बन्धित विभिन्न नीतिहरु परिवर्तन गर्न राजनीतिक बैचारिक रुपमा आफ्नो मत अघि सार्ने व्यक्तिलाई बौद्धिक भन्दा राम्रो हुन्छ। विश्वप्रकाशजीले नेपाली कांग्रेसले लिने यस्ता नीतिमा फेरबदल ल्याउन कुनै विषय उठान गर्नुभएको भए उहाँलाई बौद्धिक भन्दा हुन्छ। मैले माक्र्सवादी आन्दोलनमा कुनै नयाँ विषय उठान गरेको छु भने मलाई बौद्धिक भन्दा हुन्छ।

प्रतिस्पर्धा कस्तो चल्दैछ?
पहिलादेखि नै चुनावमा मैले आफ्नो शालिनता र ‘डेमोक्रेटिक भ्यालु’ छाडेको छैन। मैले ०६४ मा ताप्लेजुङमा प्रतिस्पर्धा गरें, कांग्रेसका सूर्यमान गुरुङजीबाट पराजित भएँ। गुरुङजीसँग कुराकानी गर्नुभयो भनेपनि उहाँले मलाई कम्युनिष्ट पार्टीको असल मान्छेका रुपमा स्मरण गर्नुहुन्छ होला। उहाँले धेरै ठाउँमा मेरा बारेमा यही भन्ने गर्नुभएको छ। त्यसैले यहाँपनि, विश्वप्रकाशजी र ममा कुनै व्यक्तिगत कटुता छैन।

तल्लोस्तरमा ओर्लिएर अशिष्ट र छुद्र व्यवहार प्रदर्शन गर्ने मेरो राजनीतिक संस्कार र व्यक्तिगत स्वभाव होइन। म मर्यादित ढंगले नेपाली कांग्रेसको नीति र विचारको खण्डन गर्छु। व्यक्तिगत भेटमा शर्माजी र मेरो सम्बन्ध दाजुभाईको जस्तो एकदमै हार्दिक छ। मैले जनतालाई पनि भनेको छु, ‘विश्वप्रकाशजीलाई सबै प्रकारको स्नेह दिनुस्, राजनीतिक भोटचाहिँ नदिनुस्, त्यो किनभने त्यो मतले कांग्रेसलाई सघाउ पुग्छ। कांग्रेसको नीति जनमैत्री छैन। भोट मलाई दिनुस्।’

चुनावी स्थिति कस्तो छ?
अहिले झापा–१ मा तीब्र प्रतिस्पर्धा भन्ने प्रचार चलिरहेको छ। धरातलीय यथार्थचाहिँ त्यो होइन। यहाँ कांग्रेसको भन्दा वामपन्थीहरुको ११ हजार मत बढि छ। यसलाई ‘कडा टक्कर’ को अर्थ लाग्ने गरी प्रतिस्पर्धा नै भन्न नमिल्ला। यो बहुदलीय व्यवस्था हो त्यसैले सबै पार्टीहरुले उम्मेदवार उठाएका छन् र उहाँहरु सबैले प्रतिस्पर्धा गरिरहनुभएको छ।

तपाईंओखलढुंगामा जन्मेको मान्छे, चुनाव लड्न कहिले ताप्लेजुङ पुग्नुहुन्छ, कहिले झापा। यो तपार्इंको शोख हो कि बाध्यता हो?
म चे ग्वेभाराबाट प्रभावित मान्छे हो। अहिले पनि मलाई चे ले असाध्य प्रभावित पार्छन्। उनी मेरो आदर्श पात्र पनि हुन्। समाजवादको लडाईं भनेको अन्तर्राष्ट्रिय लडाईं हो। यो एक देश, एक क्षेत्र वा एक ठाउँमा मात्र भएर हुँदैन। यो लडाईं संसारभर फैलिनुपर्छ। नेपालमा पनि कुनै विशेष क्षेत्र वा जिल्लासँग आफूलाई ‘आइडेन्टिफाइ’ गरेर हुँदैन। सिंगो नेपालकै, सिंगो दक्षिण एसियाकै प्रतिनिधित्व गर्न सक्नुपर्छ हामीले।

युद्धकालमा मैले पत्रकारहरुकै दक्षिण एसियास्तरको संगठन बनाएको थिएँ, साउथ एसियन पिपुल्स जर्नालिस्ट एसोसियसन भनेर। जसमा बंगलादेश, पाकिस्तान, भारत, श्रीलंका, भुटान लगायतका ठाउँका पत्रकारहरु सामेल थिए। त्यसैले एउटा निश्चित जिल्लासँग मात्र जोडेर मैले कहिल्यै आफूलाई ‘आइडेन्टिफाइ’ गरिन। नेपालमै पनि हामीले के देख्यौं भने, राजनीतिक मुद्धाको अभावमा जातका नाममा, धर्मका नाममा, लिङ्गका नाममा, क्षेत्रका नाममा भोट माग्ने स्थिति बन्यो। झापा–१ भनेको विभिन्न ठाउँबाट मान्छेहरु बसाई सरेर आएको विविधतायुक्त ठाउँ हो। यो क्षेत्रमा ओखलढुंगा र सोलुबाट झरेका मान्छेहरुको संख्या ३० प्रतिशतभन्दा कम छैन। त्यसैलेपनि म यहाँ उम्मेदवार बनेको हुँ।

तपाईंलाई टुरिष्ट भनेर प्रचार गरेका छन् नि?
उम्मेदवारलाई ‘टुरिष्ट’ भन्ने जस्ता सस्ता नाराले यो क्षेत्रका जनतालाई कुनै प्रभाव पार्दैन। किनभने, यो उन्नत राजनीतिक चेतनायुक्त जनताको बसोबास भएको ठाउँ हो।

पार्टीहरुले जसरी टिकट वितरण गरे, त्यो हेर्दा अब धनाढ्यहरुले मात्र निर्वाचन लड्न सक्ने देखियो। के चुनावी प्रतिस्पर्धा सर्वसाधारणको पहुँचमा छ?
यो चुनाव प्रणाली फेर्नुपर्छ। हामी ठूलो पार्टीको सहायतामा चुनाव लड्दैछौं र पनि धान्न गा¥हो भइसक्यो। गरिबभन्दा गरिब जनताले पनि लड्न सक्ने प्रणाली अपनाउनु प¥यो। धेरै ठूलो संगठन नभएको १०–१५ जना मान्छे संगठित भएकोले पनि लड्न सक्ने प्रणालीको विकास गर्नुपर्‍यो।

प्रकाशित २७ कार्तिक २०७४, सोमबार | 2017-11-13 14:03:18

प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

NepalKhabar Tweets

विशेष

  • प्रचण्डले भने: म त सम्हालिएको छु, परिवारलाई सम्हाल्न गार्‍हो छ (भिडियो)

    युद्ध र शान्तिको नेतृत्व गरेकाले जतिसुकै ठूला घटना सहन गर्ने क्षमता आफूमा भएपनि एक पछि अर्काे गर्दै छोरा–छोरीको निधनका कारण परिवारलाई सम्हाल्न कठिन...

  • ओलीसँगै उमेश गिरि (बायाँ)

    जसले एमालेको दुई करोड ‘खाए’, तिनै गिरीले ओलीको हातबाट टीका लगाए

    सत्ता टिकाउन एमालेसँग दुई करोड माग गरेको आरोप लागेका कांग्रेसका चर्चित नेता उमेश गिरी अन्तत एमालेमै प्रवेश गरेका छन्। सोमबार विहान बिराटनगरमा...

  • सिंहदरबार परिसर

    चुनावपछि मात्रै प्रदेशको अस्थायी राजधानी र गभर्नर

    आन्दोलन भएर निर्वाचनसमेत प्रभावित हुनसक्ने भन्दै सरकार प्रदेशको अस्थायी राजधानी तोक्ने र गभर्नर नियुक्त गर्ने कार्यबाट पछि हटेको छ। दुवै काम अब...

  • प्रकाशको निधनमा शंका छैन, छानविन गर्नुपर्दैन: प्रचण्ड

    ‘ज्वरो सामान्य नै थियो। त्यसलाई हामी सबैले सामान्य नै ठान्यौं। तर ज्वरो नघटेकाले आइतबार उपचार गर्न जाने योजना थियो। यदि ज्वरो नघटेको भए आइतबार...