अन्तर्वार्ता

‘ओलीकै महत्वाकांक्षाले चीनको प्रयत्न विफल भयो’

एमाले नेता राधाकृष्ण मैनाली भन्छन्– दिल्लीको सरोकार पूरा नगरी वाम एकता अगाडि जान सक्दैन



राधाकृष्ण मैनाली
राधाकृष्ण मैनाली

दाउपेच र नयाँनयाँ ‘इश्यु’ निकाल्न प्रचण्ड माहिर छन्, ढाँटेर आफ्नो दुनो सोझ्याउनमा ओली अगाडि छन्। तर ओलीमा जति महत्वाकांक्षा छ, त्यो भन्दा बढी प्रचण्डमा छ।

एमाले र माओवादी केन्द्रलाई नजिकबाट बुझेका नेता हुन्, एमाले केन्द्रीय सदस्य राधाकृष्ण मैनाली। एमालेको जग मानिएको झापा आन्दोलनका एक अभियन्ता मैनाली एमालेको स्थायी समिति सदस्यसम्म भए। मोलाहिजा नगरी स्पष्टसँग कुरा राख्ने स्वभावका भएकै कारण ०५९ मा पार्टी स्थायी समितिबाट बर्खास्त गरिएका मैनाली कालान्तरमा शाही सरकारमा मन्त्री बन्न गए। लामो समय एमालेमा बिताएका मैनाली लोकतन्त्र र शान्ति प्रक्रिया सुरु भएपछि तत्कालिन एमाओवादीमा प्रवेश गरे। तर, त्यहाँपनि लामो समय टिक्न सकेनन्। पुरानै हैसियत दिने अध्यक्ष केपी शर्मा ओलीको आश्वासनपछि एमालेमा फर्के। तर आश्वासन बमोजिम स्थायी समितिमा राखिएनन्, केन्द्रीय समितिमै सीमित गरिए। एमाले र माओवादीमा रहेर दुवै पार्टी र यसका मुख्य नेताहरुलाई बुझेका राधाकृष्ण मैनालीसँग अहिले बनेको वाम गठबन्धनको सन्दर्भमा नेपालखबरले बुधबार बिहान गरेको वार्ताको सम्पादित अंश: 

एमाले–माओवादी केन्द्रबीचको एकताको रसायन के होला?
एमाले अध्यक्ष ओलीको एउटा राम्रो वा नराम्रो विशेषता के भने पार्टी अध्यक्ष भइसकेपछि बैठक गर्ने र हरेक बैठकमा अनुमोदन गर्ने शैलीले बैठक सुरु गरिदिने। प्रस्ताव राखिदिने। तर छलफल नगर्ने। यो शैलीले माधव नेपाल, घनश्याम भूषाल, वामदेव गौतम लगायतको टोली अप्ठ्यारोमा प¥यो। विरोध गरेर जाउँ, नाकाबन्दीको विपक्षमा अडान लिएका कारण ओली लोकप्रिय छन्, केही गर्न सक्ने स्थिति छैन। विरोध नगरौं, ओली आफूले जे मन लाग्यो, त्यही गरिरहनु भएको छ।

संकट परिसकेपछि उनीहरु सामु तीनवटा उपाय रहे। कि त पार्टी विभाजन गर्नुप¥यो, कि चुप लागेर बस्नुप¥यो कि तेश्रो कुनै उपाय खोज्नुप¥यो। यी तीन कुराले माधव पक्ष साह्रै अप्ठ्यारोमा प¥यो। विद्रोह गरेर अलग जानपनि नसक्ने र चुप लागेर बस्न पनि नसक्ने अवस्था आयो। तीनमध्ये एउटा बाटो नखोजी नहुने भएपछि तेश्रो विकल्पतर्फ लाग्नुभयो। त्यही सिलसिलामा नै यो पार्टी एकताको अभियान शुरु भयो। माओवादी आइसकेपछि केपी ओलीलाई कमजोर पार्न सकिने भयो। र, अब केपीलाई कमजोर पार्ने खेल एमालेभित्र शुरु भयो।

अनि यी सबै खेल केपी ओलीलाई थाहा छैन होला र?
ओलीलाई खेल थाहा छैन भन्न त सकिन्न। तर कहिलेकहिले धेरै बाठो हुँदाहुँदैपनि कतिपय कुरा थाहा नहुन सक्छ। दुई नम्बर प्रदेशको निर्वाचन हारिसकेपछि केपीजीलाई पनि हारेको हा¥यै गरेर कतै कांग्रेसले पाँचै वर्ष पो दपेटेर लाने हो कि भन्ने डर भयो होला। यो सबै कारणले उहाँपनि एकतामा जाने बातावरण बन्यो।

यही समय किन रोजियो होला त?
स्थानीय निर्वाचनमा माओवादी केन्द्र तेश्रो पोजिसनमा आयो। तर कमजोर तेश्रो पार्टीका रुपमा। यदि बलियो तेश्रो दलका रुपमा माओवादी आएको भए शायद यो एकता हुँदैनथ्यो। एकता नगर्ने हो भने माओवादीको अस्तित्व नै संकटमा पर्ने देखियो। कांग्रेससँगको सहकार्यले खासै माओवादीको भोट बढ्ने पनि देखिएन। यस्तै अवस्थामा बस्नै नसक्ने, अगाडि जानैपर्ने अवस्था आयो माओवादी।

जति काम गरेपनि जस नपाउने प्रचण्डको नियति रहेछ। एमालेका सबै नेतालाई प्रधानमन्त्री बनाउने भूमिका प्रचण्डले नै खेल्नु भयो। दुई ठाउँ चुनाव हारेका माधवलाई पनि प्रचण्डले आफ्नै पहलमा प्रधानमन्त्री बनाउनु भयो। सम्भावना नै नभएका झलनाथ खनालपनि प्रचण्डकै भूमिकाका कारण प्रधानमन्त्री बन्नुभयो। यदि प्रचण्ड सुशील कोइरालाको पक्षमा लागेका भए ओली प्रधानमन्त्री बन्न सक्नु हुन्थेन। त्यति गर्दापनि केपी प्रधानमन्त्री बन्दा प्रचण्डसँग जे समझदारी गरिएको थियो त्यसलाई पुरा गर्नु भएन। भद्र सहमति अनुसार प्रचण्डलाई प्रधानमन्त्री दिनु भएन।

केपीमा जति महत्वाकांक्षा छ, त्यसभन्दा बढि महत्वाकांक्षा प्रचण्डमा छ। कांग्रेसलाई कमजोर पारेर भारतको विरुद्धमा केपीसँग गठबन्धन गरेको भन्दै प्रचण्डलाई दबाब प¥यो होला। उहाँलाई भित्रबाट थ्रेटपनि आइरहेका थिए होलान्। यी सबैको बाबजुद प्रचण्डलाई ओलीले प्रधानमन्त्री बनाएको भए उहाँले सबै प्रतिकुलता झेलेर एमाले माओवादी गठबन्धनलाई निरन्तरता दिनुहुन्थ्यो होला। प्रचण्ड एमालेकै गठबन्धनमा बस्ने अवस्था थियो। तर ओली प्रचण्डलाई प्रधानमन्त्री पद दिँदै नदिने हुँदा प्रचण्ड एमालेको गठबन्धनमा रहन सक्नु भएन। उहाँ एमाले छाडेर कांग्रेसको मोर्चामा जानुभयो। मलाई लाग्छ, चिनियाँहरुले त्यतिबेला प्रचण्ड र ओलीलाई एकै ठाउँमा राख्न निक्कै ठूलो प्रयत्न गरे। केपीको महत्वाकांक्षाले त्यो प्रयत्न विफल भयो।

मैले भन्न खोजेको के हो भने, अहिलेको एकतामा माओवादी र एमालेको आन्तरिक कारण त छ नै। यसका अलावा पदीय भागवण्डालाई ग्यारेन्टी गर्ने ‘इलिमेन्ट’ के हो भन्ने पनि मुख्य विषय बनिरहेको छ।

के होला त त्यस्तो ‘इलिमेन्ट’?
यतिबेला धेरैले एमाले माओवादी केन्द्रबीचको एकतामा चिनियाँ हात देख्ने गरेका छन्। यसो भन्नेहरुलाई कम्युनिष्टले कम्युनिष्टलाई मिलायो भन्न सजिलो पनि भयो। तर मेरो विचारमा चिनियाँहरुले प्रयास गर्दैमा केपीप्रति प्रचण्डले विश्वास गर्ने स्थिति छैन। किनभने दुई तीन महिना अघिसम्म पनि दुई पार्टीबीच वार्ता चल्दाचल्दै ओली र प्रचण्डबीच हानाहान र मारामार चलिरहेको थियो। त्यसैले, मलाई के लाग्छ भने, दिल्लीले भनेको ओलीले पूरा गर्छन् भन्ने ग्यारेन्टी दिल्लीले गरेपछि यो एकता भएको हो।

भारतलाई पनि लागेको हुनुपर्छ– नेपाली कांग्रेस हिजोजस्तो हावी हुने अवस्था छैन। तालमेलबिना चुनावमा जाँदापनि कांग्रेसभन्दा माथि त एमाले नै हुने स्थिति थियो। एमालेको नेता केपी नै छन् त्यहाँ माधव नेपालहरुको स्थिति कमजोर छ। यो स्थितिमा एमालेलाई ‘प्रो इन्डियन’ हुन गाह्रो हुनेभयो। यस्तो अवस्थामा सायद माधव नेपालहरुले एमाले र माओवादी केन्द्र एक भएको खण्डमा ओली अल्पमतमा पर्छन् भन्ने विश्लेषण सुनाउनु भयो होला।

माओवादी केन्द्रसँग तालमेल गर्ने निर्णयसँगै केपी अल्पमतमा पर्ने देखिइसक्यो। एमाले ६० प्रतिशतमा झरिसक्यो। त्यो ६० प्रतिशतपनि केपीको मात्र होइन, त्यहाँ माधव नेपालहरुको पनि हिस्सा रहन्छ। त्यसले गर्दा केपीको हिस्सा अझ सानो हुने देखिन्छ। प्रचण्डहरु पनि आइसकेपछि भारतविरोधी अथवा राष्ट्रिय अडान राख्ने एमाले भन्दा भारतसँग सम्बन्ध राख्ने पक्ष बलियो हुन्छ।

राधाकृष्ण मैनाली

राधाकृष्ण मैनाली

भारतले यति धेरै खेल्छ र?
ठूला शक्तिहरुलाई सिद्धान्त र दर्शनको कुनै जरुरत हुँदो रहेनछ। म आफै मालेको तर्फबाट सरकारमा रहँदाको प्रसङ्ग सुनाउँछु। गिरिजाप्रसाद कोइरालासँग मिलेर नेकपा (माले) सहितको सरकार बन्यो। त्यतिबेला भारतले ‘मालेलाई सरकारमा नराख्नु, यो भारत विरोधी शक्ति हो’ भनेर गिरिजाप्रसाद कोइरालामाथि दबाब दिएछ। उहाँले ‘मालेले माक्र्सवाद लेनिनवाद के के मान्छ त्यो उसको कुरा हो। तर यसले जे जे मानेपनि भारतको अहित नगरे भएन? भारतको अहित गर्न नसक्ने अवस्थामा पुगे त भइहाल्यो। तपाईँहरुलाई त्यसभन्दा बढि के चाहियो? तपाईँहरुको सरोकार नेपाली कांग्रेसको सरकारले भारतको अहित नगरोस् भन्ने होइन? यस्तो जवाफ दिनु भएछ। पछि गिरिजाले नै मलाई यो कुरा सुनाउनु भएको थियो।

भनेपछि तपाईंको विश्लेषण वाम गठबन्धन दिल्लीकै अनुकुल हुनेगरी बनेको छ भन्ने हो?
केपीलाई नियन्त्रण गर्न अथवा भोलिको संयुक्त कम्युनिष्ट पार्टी भारत विरोधी नबनोस् भन्ने उनीहरुको सरोकार हो। ‘यसले के नीति लिन्छ, यो चीनको कति नजिकमा जान्छ’ भन्ने भन्दापनि भारतको विरुद्धमा काम नगरोस् भन्ने मनशाय लुकेको छ। पार्टीको बहुमतले भारतप्रति सहानुभूति राखेपनि चीनसँग पनि सहकार्य त होला। तरपनि भारतको विरोध गरिदिएन भने त उनीहरुलाई पुगिहाल्छ। नयाँ पार्टीले माक्र्सवाद बोकोस् वा माओवाद–त्यो भारतीयहरुलाई मतलव हुँदैन। यहि प्रयोजनका लागि एकता गराइयो भन्ने मलाई लाग्छ।

आफै अल्पमतमा पर्ने गरी ओली किन एकताका लागि राजी भए होलान?
केपी ओलीलाई चाहिएको प्रधानमन्त्रीको पद हो। एकताबाट उहाँको प्रधानमन्त्री पद पक्का भयो। उहाँलाई सबैभन्दा ठूलो स्वाद के मा लागेको छ भने, एकतापछि म जसरीपनि प्रधानमन्त्री बन्ने भएँ। उहाँको दिमागमा झल्झल्ती प्रधानमन्त्री भन्दा अरु केहि नाचेकै छैन।

अनि प्रचण्ड नि?
पार्टी एकता भयो, निर्वाचनबाट बहुमत आयो र केपी प्रधानमन्त्री बने भने पार्टी अध्यक्ष त प्रचण्डलाई दिनै पर्छ नि। केपीले दुवै पद (पार्टी अध्यक्ष र प्रधानमन्त्री) आपैंmले लिन्छु भन्न थाल्नु भयो भने पार्टी एकता हुँदै हुँदैन। प्रचण्डलाई नदिँदा के हुन्छ भन्ने कुरा हिजो ओली सरकारबाट हात झिकेर आफै प्रधानमन्त्री बनेको घटना हेरे पुगिहाल्छ। त्यसैले प्रधानमन्त्री वा पार्टी अध्यक्ष दुईटा मध्ये एउटा पद ओलीले लिएपछि बाँकी रहेको पद प्रचण्डलाई दिनैपर्छ। यी दुवै पद महत्वपूर्ण छन्। दुईवटा पदलाई टार्गेट बनाएर जाँदा ओलीलाई प्रधानमन्त्री पद रुचिकर लाग्यो होला र प्रचण्डलाई पार्टी अध्यक्ष रुचिकर लाग्यो होला। त्यसरी बाँडफाँट नगर्ने हो भने प्रचण्डसँग आफ्नै चुनाव चिन्ह छ। धोका भयो भने पार्टी एकता नगर्न सक्ने चाबी पनि उहाँसँगै छ।

फेरिपनि सत्ता र पार्टीको चाबी प्रचण्डसँग हुनेभयो?
हो, प्रचण्डसँग सत्ता र पार्टी दुवैको चावी हुनेभयो। यतिमात्र होइन, उहाँसँग एकताको चाबीपनि हुनेभयो। एकता भएन भने उहाँको पार्टी उहाँसँगै रहन्छ । एकता भयो भने दुईमध्ये एक पद पाइहाल्नु हुन्छ।

त्यसो भए यो एकताबाट दिल्लीको दिल खुस छ, होइन?
दिल्ली त खुसी हुने नै भयो। किनभने, नयाँ पार्टीमा भारत पक्षधरहरु नै बलिया हुन्छन्। तर, चीनपनि उत्तिकै खुसी छ। किनभने, चीन नेपालका कम्युनिष्टहरु एक भएको हेर्न चाहन्थ्यो। त्यो अहिले भएको छ। युरोपेली युनियनपनि खुसी छ। किनभने, उनीहरु धर्मनिरपेक्षता र गणतन्त्रलाई संस्थागत गर्न चाहन्छन्। यसो गर्दा क्रिश्चियानिटी बढाउन सजिलो हुन्छ भन्ने उनीहरुलाई लागेको छ। प्रचण्ड नै एकतामा आएपछि धर्मनिरपेक्षता र गणतन्त्र झन् संस्थागत हुने भइहाल्यो।

मानौं दुई पार्टीबीच एकता भयो, त्यसपछि गुटबन्दीको ‘डाइनामिक्स’ कस्तो होला?
मलाई लाग्छ, एमालेमा कहिल्यै गुट सकिँदैन। एकता भएको खण्डमा त्यो पार्टीमा ‘प्रो इन्डियन’ पक्ष हाबी हुन्छ। बाबुराम पनि त्यहीँ, हृदयश त्रिपाठी पनि त्यहीँ, प्रचण्ड पनि त्यहीँ, माधव नेपाल पनि त्यहीँ भएपछि एक्लो केपी हिजोको जस्तो रस्साकस्सी गरेर भारतको नाकाबन्दीलाई झेलेको बेलाझैँ जान सक्नुहुन्छ जस्तो लाग्दैन। अलिअलि चर्का कुरा गरेपनि भारतको अहितमा अथवा भारतको सरोकार पूरा नगरी अगाडि बढ्न सक्दैन नयाँ संयुक्त पार्टी। त्यसैले, संयुक्त पार्टीभित्र दुईवटा धार हुने सम्भावना देखेको छु। राष्ट्रिय धारमा अघि बढ्ने ब्लक एउटा र त्यसलाई कभर गरेर धेरै भारतविरोधी हुन नदिने धार अर्को।

आफ्नै गल्तीले गर्दा भारतीयहरु पूरै एमालेलाई ‘प्रो इन्डियन’ बनाउने अथवा पूरै एमालेलाई कमजोर बनाउने कुरामा असफल भए। नाकाबन्दीकै कारण देशमा एमालेले स्थानीय निर्वाचनमा बहुमत ल्याउन सक्ने अवस्था आयो। अब भारतका अगाडि दुईवटा अवस्था आयो। कि त उनीहरुले यहाँको लोकतान्त्रिक पद्धतिलाई पुरै भत्काउनु प¥यो। यिनीहरु त्यो गर्दै नगर्नेपनि होइनन्, गर्नपनि सक्थे। तर त्यसो गर्दा झन् ठूलो जोखिम मोल्नुपर्ने भयो। त्यो भन्दा त बरु एमालेलाई नै कसरी कब्जा गर्ने? कसरी एमालेलाई ‘प्रो इन्डियन’ बनाउने भन्नेमा उनीहरु लागे। मलाई लाग्छ, एमाले भित्रैबाट यो सुझाव गयो होला।

एउटा जंगलमा दुईवटा सिंह रहन सक्दैनन् भनिन्छ। केपी ओली र प्रचण्ड लामो समय एउटै पार्टीमा रहन सक्लान् त?
एकताको वातावरणले सकरात्मक भावना सिर्जना गरेको छ। यस्तो बेला यस्तो उस्तो भनेर आफूलाई एकता विरोधीका पक्षमा उभ्याउन म चाहन्नँ। लामो समयसम्म कम्युनिष्टहरु विभाजित भए। त्यसले देशलाई घाटा पु¥यायो। साना पार्टीहरुको बिगबिगीले संसदमा जुन गन्दगी शुरु भएको थियो, अब त्यो कमजोर भएर जाने भयो। देशमा दुई राजनीतिक ब्लक हुनेभए। एउटा पूँजिवादी धार र अर्को समाजवादी धार। दुईवटा धारमार्फत् बिस्तारै ‘टु पार्टी सिस्टम’ शुरु हुने भयो। साना पार्टीहरु कमजोर हुनेभए, ठूला पार्टीहरुको बोलवाला बढ्ने भयो।

एकताका अप्ठेरा पनि होलान् नि?
अहिले पनि यो एकता सत्तालाई केन्द्रमा राखेर गरिएको छ। दुई पार्टीबीच नीतिगत एकता भइसकेको छैन। जस्तै, जनयुद्धलाई नयाँ पार्टीले के भन्छ? झापा आन्दोलनलाई के भन्छ? एमाले पंक्ति अल्लि वैचारिक त छ। तर केपी ओली झापा आन्दोलनलाई समेत गलत भन्छन्। यस्ता केपी ओलीले जनयुद्धलाई लालसलाम भनेर अघि जालान् कि नजालान्? जबजलाई छाड्दै नछाड्ने केपी ओली एक्काइसौं सताब्दीको जनवादमा आउँछन् कि आउँदैनन्? यी अत्यन्त जटिल वैचारिक सवाल हुन्।

मलाई लाग्छ, एकतापछि नयाँ पार्टीले ‘जनयुद्ध गलत थियो’ भन्यो भने शान्ति प्रक्रियामा आएपनि हिजो हतियार बोकेका माओवादीका ९० प्रतिशत कार्यकर्ता त्यो स्वीकार्न तयार हुँदैनन्। किनभने माओवादी अररो छ, एमाले पंक्ति जस्तो लचिलो छैन। जनयुद्धमा हामीले जे ग¥यौँ, शतप्रतिशत ठिक ग¥यौँ भन्ने लाग्छ उनीहरुलाई। जनयुद्ध गलत थियो भनेपछि स्वयं प्रचण्डको भूमिका पनि सकिन्छ। यस्ता जटिलता नफुकाई एकता भएको छ। एकता पदलाई हेरेर, सत्तालाई हेरेर भएको छ।

ओली र प्रचण्डमध्ये दाउपेच र कुटिलतामा को अगाडि छन्?
मेरो विचारमा दाउपेच र नयाँनयाँ ‘इश्यु’ निकाल्न प्रचण्ड माहिर हुनुहुन्छ। यसै गरेर उहाँले आफ्नो पक्षमा माहोल सिर्जना गर्नुहुन्छ। अनि कुरा ढाँटेर गर्ने र दुनो सोझ्याउनेमा केपी अगाडि हुनुहुन्छ। उदाहरणका लागि पछि प्रचण्डलाई प्रधानमन्त्री दिन्छु भनेर गठबन्धनमा ल्याउनु भयो। सहमति कार्यान्वयन गर्नुपर्ने बेला ‘त्यस्तो सहमति भएकै छैन’ भनिदिनुभयो।

प्रचण्ड र केपी ओलीजस्तै महत्वाकांक्षी मान्छे त अरुपनि छन् एमाले र माओवादीमा। उनीहरुको महत्वाकांक्षाको व्यवस्थापन कसरी होला?
चाहने हो भने व्यवस्थापन सजिलो छ। नयाँ पार्टीको केन्द्रीय कमिटी सानो बनाइदिने। त्यसो गर्दा माओवादीबाट पनि सानो संख्यामा आउँछन्, एमालेबाट पनि सानो संख्यामा केन्द्रीय कमिटीमा पर्छन्। चीनजस्तो अर्बाैं जनसंख्या भएको देशमा तीन सयको केन्द्रीय कमिटीले काम चल्छ भने नेपालमा किन चल्दैन? ८० जनाको केन्द्रीय कमिटी र १५ जनाको स्थायी समिति बनाउने हो भने पार्टी पनि मज्जासँग चल्छ। त्यसका लागि नेताहरुले पदीय महत्वाकांक्षा त्याग्नुप¥यो। लुरे पार्टीको स्थायी समितिको सदस्य हुनुभन्दा वलवाल र क्रियाशील पार्टीको केन्द्रीय सदस्य हुनु महत्वपूर्ण हो भन्ने दुवै पार्टीका नेताहरुले बुझ्नु प¥यो। यति गर्ने हो भने, नयाँ पार्टीले मज्जासँग चुनावपनि जित्न सक्छ। चुनाव जितेपछि राष्ट्रपति छ, उपराष्ट्रपति छ, प्रधानमन्त्री छ, सभामुख छ। यी सबै पदमा पार्टीकै मान्छे जाने हुन्। ७–७ जना त मुख्यमन्त्री नै हुन्छन्। यसरी १५–२० वटा राज्यका प्रमुख पदमा उनीहरु जान सक्छन्। त्यसबाहेक कति केन्द्रीय सदनमा आउँछन्, कति प्रदेशको सदनमा जान्छन्। कतिपयलाई स्थानीय निकायमा पठाउँदा हुन्छ। यसरी सबैको व्यवस्थापन गर्न सकिहालिन्छ।

एकथरिको मत के छ भने, एकले अर्कालाई निल्न नसकेर एमाले–माओवादी केन्द्र एकताको निर्णयमा पुगेका हुन्। कतै एकतालाई बलियो बनाउने भन्दा फेरि निल्ने खेल सुरु हुने हो कि?
निल्न सके भने त निलिहाले। सकेनन् भने ओकल्नु पर्छ। ओकलेपनि विरामी हुन्छ। त्यो बेला समस्या जटिल हुन्छ। मिल्न गएका हुन् भने दुवैको भलो हुन्छ। निल्न गएका हुन् भने ओकल्नु पर्छ। निल्ने भन्ने सोच्न थाले भने दुवै सिद्धिन्छन्।

 

प्रकाशित २५ असोज २०७४, बुधबार | 2017-10-11 21:09:39

प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

रोचक

NepalKhabar Tweets

विशेष

  • रोहित पौडेल

    ट्यालेन्ट हन्टबाट उदाएका रोहित

    २४.४ ओभरमा आठौ नम्बरको ब्याट्सम्यानका रुपमा मैदान प्रवेश गरेका रोहितले बाँकी पुरै ओभरमा भारतको डटेर सामना मात्रै गरेनन्, ६८ रनको अर्धशतकीय पारी र...

  • गोरखा-२ मा अन्तिम जोडबल गर्दै बाबुराम र नारायणकाजी

    वाम गठबन्धन बनेपछि यसले प्रायः नयाँ शक्तिका स्थानीय स्तरका नेता, कार्यकर्तालाई माओवादीमै फर्काएको छ भने नेपाली कांग्रेसले पनि माओवादी तथा एमालेका...

  • छोरा प्रकाशको मृत्युको खबरपछि झापाबाट काठमाडौं उड्नेबेला प्रचण्ड (फाइल फोटो)

    ‘सक्रिय राजनीतिका कारण मैले प्रकाशको लालनपालनमा न्याय गरिनँ’

    सानैदेखि उनी मेरा लागि छोराभन्दा पनि बढि सहकर्मी र सहयोद्धा थिए। म इमानदारीपूर्वक भन्छु, प्रधानमन्त्रीका रुपमा मेरो दोश्रो कार्यकाल उनको सहयोगबीना...

  • काठमाडौं १: सिंहको किल्लामा छापामार शैलीको घरदैलो

    एक, स्थानीय तह निर्वाचन परिणामका आधारमा एमाले–माओवादी केन्द्र यहाँ उत्तिकै बलिया छन्। दुई, छापामार स्टाइलमा घरघरमा घुसेर, प्रत्येक मतदातालाई भेटेर...