Galaxy Network

हङकङको बगैंचामा त्यो साँझ



हङकङ सेन्ट्रल लाइब्रेरीमा प्रगति राई
हङकङ सेन्ट्रल लाइब्रेरीमा प्रगति राई
Disneyland
Alpha Travel

अन्ततः मैले भनें, ‘देशलाई बेस्सरी गाली गर्नुहोस्। कसैलाई गाली गरिन्छ भने त्यहाँ माया अवश्य ज्यूँदो रहन्छ।’

फूल फुल्यो तोरी
नछुटोस् कहिल्यै मायाको डोरी

हङकङको जोर्डनस्थित बगैंचा रेष्टुरेण्टमा हुक्का तान्न सिक्दै नेपाल फाइनान्सका अध्यक्ष धिरज साम्पाङले यो गीत उन्नाइस पल्ट जति गाउँदा बिहानको चार बज्नै लागेको थियो। उता मेनुका मुकारुङले विद्रोह गरिरहेकी थिइन्, ‘पुरुष स्रष्टा हङकङ आउँदा रातारात रात्रीजीवन देखाउन लैजाने, महिला स्रष्टालाई चाहिँ कोठामा थुनेर राख्ने?’

थाहै नपाएजस्तो गरेर सबैजना बसिरहे। लहरमा थियौं, कविता पारखी श्याम सुनुवार, किरात राई यायोक्खाका अध्यक्ष हरिचन्द्र राई, बगैंचा डटकमका प्रधान सम्पादक नरेश सुनुवार, बगैंचा सञ्चारका प्रमुख सुवास पुमा राई, सुन व्यवसायी मेनुका मुकारुङ अनि म। बगैंचा सञ्चारको आयोजनमा मेरो कविता वाचन सकिएपछि भव्य खानपानको व्यवस्था थियो।

नेपालमा एक कप कालो चिया र बिस्कुटमा टारिन्छन् निम्तालुहरु। विदेशमा भने साहित्यिक जमघट पनि विवाह पार्टी जत्तिकै भव्य हुन्छन्। यसअघि कोरियामा पनि यस्तै भएको थियो।

खानपानपछि अरु सबै घर गइसकेका थिए। ‘प्रगतिलाई कोठासम्म पुर्याइदिनु’ भनेर किसन राई दाजु हिंडिहाल्नु भयो। अरु आफन्त पनि हिंडिसकेपछि हामी चार–पाँच जना बाँकी रह्यौं। त्यहाँ अब हामी केही मात्रै थियौं, र थियो धिरज साम्पाङको गीत, ‘फूल फुल्यो तोरी ...।’

‘नछुटोस् कहिल्यै मायाको डोरी’, मेनुका मुकारुङले गीतको हरफ पूरा गर्नुभो। सबैले मलाई नै पिलिक्क हेरेजस्तो लाग्यो। तर होइन होला। माया छुटेको मान्छे म। जतिखेर पनि एक्लोपन, विरह, पीडा आफ्नै अगाडि घुमिरहेजस्तो लाग्दोरहेछ।

यो माया भन्ने कुरा मान्छेको जीवनमा नभइ नहुने तर कहिल्यै साथमा नहुने वस्तु रहेछ। डोरीहरुमध्ये सबैभन्दा कफलो यै मायाको डोरी रहेछ। जोगाउँदा–जोगाउँदै चुँडिइजाने, गाँस्दा–गाँस्दै फुस्किजाने, तान्दा–तान्दै हराइ जाने। मायाको यो डोरीले मान्छेलाई सबैभन्दा धेरै अनिँदो, भोको र बिरामी गराउँदो रहेछ।

श्याम सुनुवारले कविता ‘वादी दिज्ञप्ति’ ज्यादै मन पराएका रहेछन्। उहाँको स्वरमा मेरो प्रशंसा सुन्न धीत मरेकै थिएन, बीच बीचमा ‘फूल फुल्यो तोरी’ ले उछिनी रह्यो। हङकङमै रहनु हुने किन्दर राई, कमल राई, नरजीत राईहरुले मेरा कविता तथा उपन्यासलाई अक्षरशः मनमा उतारेका रहेछन्। वहाँहरुको यति बिघ्न माया र सम्मान भरखर मात्रै थाहा पाएर मनमा थकथक लागिरह्यो। उहिल्यै जानेको भए, उहिल्यैदेखि खुशी हुँदै आउने थिएँ। हुन त ‘वादी विज्ञप्ति’ कविता सङग्रह नरेश सुनुवार दाईले नै प्रकाशन गरिदिनु भएको हो। उहाँको लगानी यति उपयोगी भयो कि, आज बाह्र बर्ष बितिसक्दा पनि त्यो कविता उत्तिकै नयाँ मानेर सुनिन्छन्, यसैले मलाई पनि कवि भनेर बचाइरहेको छ।

हङकङले दिएको माया र सद्भाव एउटा पेजमा अटाउँदैन रहेछ। यसैले किराया, चुलाघर, ङामैचिमै, खाम्वातिमहरुलाई अझै ठूलो अर्को पेजमा लेख्ने छु।

फूल फुल्यो तोरी ...
नरेश सुनुवार, सुवास राई नै बगैंचा रेष्टुरेन्टका मालिक भएकाले जति रात छिप्पिँदै गयो उति नयाँ नयाँ स्वादका हुक्काहरु फेरिँदै गए। कालो तहको (ब्ल्याक लेवल) रक्सी सकिनै लागेको थियो, कालो नखानेलाई भण्डै मैजत्रो गिलासमा बियर थियो। त्यस्तो अग्लो गिलास मैले कहिल्यै देखेको थिइँन। पढेको चाहिँ थिएँ, केदार सुनुवारको पुस्तक ‘बुद्ध ल्याण्ड टु स्वीट्जरल्याण्ड’ मा बाँसको ढुङग्रोजत्रो गिलासमा पेरोनी (बियर) भन्ने। तर यहाँ आँखैले देख्न पाएँ। नरेश दाइलाई त्यस्तो गिलास उपहार मागिहालें। ‘बोक्नसक्दो लैजाऊ’ भन्नु भो। चारवटा मात्र बोक्न सकें।

‘नछुटोस् कहिल्यै मायाको डोरी’ मेनुका मुकारुङले गीतको बिट मार्दै कालो रक्सी थप्नु भो। फेरि काउन्टरबाट रातो तहको (रेड लेवल) लिएर आउनुभयो। म सुगरवाली भएकाले थोरै गिलासमा अरुलाई साथमात्रै दिइरहेकी थिएँ। मेरो दाहिनेपट्टि सुवास पुमा राई खाइलाग्दो ज्यान लिएर चुरोट रक्सी मनाही गर्दै बसिरहेका थिए। देब्रेपट्टि उसै सुन्दर शरीरकी धनी मेनुका फुपु (मेरी फुपुसासु) र बिचमा म थिएँ। मेरो न जीउ राम्रो, न अनुहार राम्रो, त्यै पनि नेपाली भाषा तथा साहित्य परिषद हङकङ र हङकङ नेपाली फाउण्डेशनले आयोजना गरेको पारिजात स्मृति दिवसमा पारिजात पुरस्कार प्रदान समारोहको प्रमुख अतिथि हुने अवसर पाएको थिएँ। जसका लागि व्यक्तिगत रुपमा किसन राई र बज्रकुमार थुलुङप्रति आभारी पनि छु।

पारिजात पुरस्कारबाट पुरस्कृत हुनुभएका ‘टाँकीका फूmलहरू’ का सर्जक गुरुङ दाजुले भने, ‘हामी नेपालीहरू जो जो विदेशिएका छौं, हुनेखाने नै विदेशिएका छौं, रहरले विदेशिएका हौं। हामीले देशलाई गाली गर्नु बेकार छ।’

दाजुको कुरा त सही नै हो। तर एक आख्यानकार भएको नाताले यति सजिलै बोल्न चाहिँ मिल्दैनथ्यो होला। भइरहेका नराम्रा कुराहरुलाई फालेर राम्रा कुरामा झन् पाइन् हालेर देखाउनु आख्यानको धर्म हो। जस्ताको तस्तै लेख्नु बोल्नु त रिपोर्टर हुनु हो। यथार्थ कुराको मात्र भरिया भयौं वा पुरानै कुरा मात्र दोहोर्यायौं भने हाम्रो आख्यान काम लाग्दैन। अन्ततः मैले भनें, ‘देशलाई बेस्सरी गाली गर्नुहोस्। कसैलाई गाली गरिन्छ भने त्यहाँ माया अवश्य ज्यूँदो रहन्छ।’

गीत त गाइरहियो, नछुट्ने मायाको तर नेपालीहरुले नै नेपालको माया यस्तरी मारिसकेका रहेछन् भन्ने कुरा गुरुङ दाजु एक उदाहरण मात्र हुन्। देशको माया कति लाग्छ भन्ने कुरा देश छाडेर बसेकालाई मात्र थाहा हुन्छ। म पनि विदेशमा बस्नेले देशको चिन्ता गरेको देख्दा पहिले बेस्मारी हाँसेर भन्थें, ‘यस्ताले देशमै बस्नु नि, किन जानु विदेश?’ 

ओ हो, यो सोचाइ त एकदम नाजुक रहेछ। विदेश गएपछि देशको लागि जति निष्ठुरी हुन खोजे पनि झन् अचाक्ली माया लाग्दोरहेछ।

मैले यसो भनिरहँदा किराया अध्यक्ष हरिचन्द्र दाजुले ‘चित्त बुझ्यो’ भन्नुभो। धेरै विदेशबाट आएका नेपालीलाई नेपालीले नै परको व्यवहार गरेको कुरा त झन् सम्झँदा पनि मन अमिलो हुन्छ। घरदेखि देश, विवाहदेखि मृत्युसम्मको खर्च विदेशमा बस्नेले धानी दिनुपर्छ। तर त्यही खर्च पठाउने विदेशी घरदेश आउँदा कुनै मान्यता रहँदैन। यस्तो दुःख सुनाउन न कुनै गुनासोलय छ, न कुनै आफन्त कै मन पग्लन्छ। मायाको डोरी कहाँ कसरी छिनिइरहेको हुन्छ त्यो त दुःख गरिगरि माया गाँस्न चाहनेलाई मात्र थाहा हुन्छ।

म घर फर्कने बेलातिर मगेन्द्र राई नेपालखबर डटकमका लागि क्यामरा र संवाददाता अनोज रोक्कालाई लिएर आउनुभयो। हतारहतारमै मलाई प्रश्न गरियो, ‘विदेशमा जति बसिन्छ उति मात्रृभूमि प्रतिको माया उकुसमुकुस भएर आउँछ नि, तपाईलाई कस्तो लाग्यो?’

प्रश्नहरू सरदर यस्तैखाले थिए।

उत्तरमा भनें, ‘छोरीमान्छेलाई माइत प्यारो, माइतको भनेपछि कुकुर पनि प्यारो’ भनेर उल्ल्याउने गरिन्छ। अहिले पुरुषहरु पनि देश छाडेर जाने चलन छ। आफ्नो जन्मभूमि कति प्यारो हुन्छ, जन्मभूमिको कुकुर त के कुकुरको फोटो पनि कति प्यारो लाग्छ भन्ने कुरा पुरुषहरुले भर्खर मात्रै थाहा पाउँदै होलान्। हुन त मुग्लान जानेहरुले उहिल्यै पनि भोगिसकेका होलान् तर अहिलेजस्तो संवाद थिएन, उबेला। अनि, मानिरहियो जन्मभूमिको माया छोरीमान्छेलाई मात्र लाग्छ।

छोरीले जन्मघरको माया जति गरे पनि जन्मघरले छोरीलाई सधैं पराया देख्ने चलनजस्तै, विदेशमा बस्नेलाई उही छोरीको व्यवहार गरिँदै आएको छ। यो माया सम्मान भन्ने कुरा पुलिस लगाएर पाइन्नँ, गुण्डा लगाएर पनि पाइन्नँ। यसर्थ छोरीलाई जन्मघरले र विदेशमा बस्नेलाई स्वदेशमा बस्नेहरुले माया र सम्मान गराउनका लागि अब चाहिँ केही नयाँ तरिका गर्नै पर्दछ। एकोहोरो कामनाले मात्र मायाको डोरी खपिरहँदैन। यसलाई बलियो बनाउन एक–अर्कामा उत्तिकै आवश्यकीय हुनु जरुरी छ। जसरी जन्मघरले सम्मान गर्नको लागि छोरीलाई वंशको अधिकार कायम हुनुपर्छ भनेर हामी लेखिरहेका छौं, बोलिरहेका छौं।

यतिखेर कानुनले महिलालाई वंशको अधिकार त दिएको छ। यसैलाई छोरीको वंशाधिकार कायम भयो भनि समाजले मानेको छ तर छोरीलाई वंशाधिकार र महिलालाई वंशाधिकार भन्नुमा आकाश पातालको फरक छ। जस्तो, महिलालाई वंशाधिकार भन्नाले छोरीले पराइ घर गएर बच्चा जन्माइसकेपछि यदि श्रीमान तलमाथि केही भएमा वा बाउ पत्ता नलागेका महिलाले सन्तानलाई आफ्नो वंश दिन पाउनेछिन्। तर छोरीलाई वंशाधिकार भन्नाले जन्म घरमै बसेर, विवाह गरेर उनले सन्तानलाई आफ्नो वंश दिन पाउनु हो। छोरीले पनि वंश निरन्तर गर्न पाउने अधिकार भएपछि मात्र छोरीलाई जन्मघरको आधिकारिक सन्तान मानिनेछन्। आमाको नामबाट वंश लिन पाउने भएकाले कानुनले त रोक नलाउलान् तर समाजले भान्जाभान्जिलाई वंश मान्दैनौं भनि विस्थापित गर्न खोज्ने छन्। यिनै एकतर्फी न्यायलाई दुईतर्फी बनाउन हामीले ‘मूलबाटो प्रतिष्ठान, नेपाल’ गठन गरेर काम गरिरहेका छौं।

विदेशमा बस्नेले पनि देशका लागि खास आवश्यकीय काम गर्ने हो भने बल्ल देशबासीले विदेशी भूमिमा बस्नेको सम्मान गर्न थाल्नेछन्। जस्तो, राईहरुको संस्था किरात राई यायोक्खा विदेशमा बस्ने राईहरुलाई भोट दिने अधिकारसम्म दिन चाहँदैन। तर राईका लागि चन्दा भने विदेशमा बस्नेलाई नै ठेक्का लिन लगाउँछ। यस्तो अवस्थामा कम्तिमा पनि सबै विदेशमा भएका नेपालीहरुले एकै स्वर पारेर दायित्वसँगसँगै अधिकार पनि स्थापित गर्नुपर्छ भन्ने अडान राखेमा बल्ल देशमा बस्ने यायोक्खाले विदेशमा बस्ने राईको सम्मान गर्न सिक्नेछन्।

देशमा बर्षै पिच्छेजस्तो चुनाव भइरहन्छ। दलहरुले विदेशमा बस्नेहरुलाई आ–आफ्ना भातृ सङगठन बनाएर आर्थिक भार बोकाएका छन्। तर भोट दिन भने नेपाल नै आउनु पर्ने हुन्छ। पार्टीलाई जिताउन विदेशबाट पठाएको रकम सहर्ष स्वीकारिन्छ तर विदेशबाट गरेको भोट स्वीकार्य हुँदैन। ‘यदि भोट गर्न पनि पाउने हो भने मात्र आर्थिक सहयोग गरिन्छ’ भन्ने सारा विदेशमा रहने नेपालीले एकै स्वरमा भन्ने हो भने बल्ल पैसाको साथै मानिसको पनि मूल्य रहनेछ।

भाषा साहित्यको जुन कुरा छ, विदेशमा बस्नेले नेपालमाजस्तै पुरस्कारको संस्कार राखे कहिल्यै नेपालमा बस्ने साहित्यकारले ठूलो मान्दैनन्। भन्नाको मतलव, नेपालमा बस्ने साहित्यकारले गर्न नसकेका काम विदेशमा बस्ने नेपालीले गर्न सकेमा बल्ल नेपालका साहित्यकार सम्मान गर्न लालायित हुनेछन्। जस्तो, हङकङमा बस्ने साहित्यकारहरुले नेपाली साहित्यलाई चिनियाँ साहित्यसँग परिचित गराउने। चिनियाँ साहित्यकारले नेपाली साहित्य बारे बुझ्ने अवसर मिलाउने, नेपाली साहित्य अध्ययन, अनुसन्धान गरे बापत चिनियाँ सहित्यकारले नेपाली पुरस्कार पाउने आदि कामहरु गर्न सके बल्ल केही हुन्थ्यो होला। विदेशी भूमिमा नेपाललाई चिनाउन नेपाली संस्कार, साहित्य, राजनीतिप्रति जति पसिना परेको छ, त्यति सम्मान प्राप्त भएको छैन भन्ने मलाई सधैं लागिरहन्छ। पसिनाको मूल्य बढाउन केही नयाँ बाटो अपनाउनै पर्छ भन्ने लागिरहन्छ।

कामनाले मात्रै मायाको डोरी टिकिरहँदैन।

 

प्रकाशित २ जेठ २०७६, बिहिबार | 2019-05-16 13:18:42

author photo

प्रगति राई साहित्य सर्जक हुन्

प्रगति राईबाट थप

प्रतिकृया दिनुहोस


Building Future
Building Future

Loading...
Disneyland
Alpha Travel

Blog

Special

NepalKhabar Tweets