Galaxy Network

मुन्द्रेको ‘कमेडी क्लब’ हेर्ने लत बसेपछि



इन्फा चलचित्र एवार्ड २०१४ हङकङमा कुन्जना घिमिरे, बसन्त सापकोटा, जितु नेपाल, सीताराम कट्टेल, दिपक श्रेष्ठ र दिपाश्री निरौलासँग लेखक
इन्फा चलचित्र एवार्ड २०१४ हङकङमा कुन्जना घिमिरे, बसन्त सापकोटा, जितु नेपाल, सीताराम कट्टेल, दिपक श्रेष्ठ र दिपाश्री निरौलासँग लेखक
Disneyland
Alpha Travel

कपिलको कमेडी र मुन्द्रेको कमेडी क्लबसँगै रिलिज भए भने म मुन्द्रेको कमेडी क्लब पहिला हेर्छु। किनभने त्यसमा मेरो परिवेश, भाषा, संस्कृति अर्थात् आफ्नोपन पाउँछु, जुन जीवन्त लाग्छ।

चालीस एकचालीस सालतिर काठमाडौंको ताहाचल क्याम्पस पढ्दै गर्दा औँलामा गन्न पनि नपुग्ने विद्यार्थीमात्र मोटरसाइकल चढेर आउँथे। तीमध्ये भाष्कर राज कर्णिकार एक थिए। बोलचाल खासै हुँदैनथ्यो। काठमाडौंका रैथाने र बाहिरबाट आएकाहरूको छुट्टाछुट्टै ग्रुप हुन्थ्यो। थापाथलीको राम भण्डारका साहुका छोरा अरे भन्थे। पढ्नेभन्दा विद्यार्थी युनियनका नाममा पार्टीको राजनीति गर्ने थलो बढी हुन्थ्यो क्याम्पस।

कलेजका कक्षाकोठामा सूचना पढ्दा वा विद्यार्थी युनियनका कार्यक्रममा राजा वीरेन्द्रको हुबहु नक्कल गर्थे भाष्कर। अझ नेपाली कांग्रेस समर्थित विद्यार्थी संगठनको कार्यक्रमा उनको विशेष सांगीतिक टोलीको प्रस्तुति हुन्थ्यो– रक एन्ड रोल, विद्युतीय गीतार र ड्रमसेटसहित। जुन निकै चर्चित थियो उतिबेला।

कालिमाटीस्थित महेन्द्रको सालिकअगाडि घर भएका जीवन श्रेष्ठ पनि हाम्रा सहपाठी थिए। १९८४ अक्टोबर १९ को बिहान तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको अंगरक्षकबाटै हत्या भयो। भोलिपल्ट क्याम्पसबाट फर्किँदा यिनै जीवनको घरमा तलबाटै असाध्यै भीड देखियो। कुरा बुझ्दा त्यतिबेला उनको घरमा टेलिभिजन भएकाले इन्दिरा गान्धीको शव यात्राको प्रत्यक्ष प्रसारण हेर्न मानिस लाइन लागेका रहेछन्।

श्रद्धाञ्जली दिन नेपालका तर्फबाट राजा वीरेन्द्रको प्रतिनिधित्व गर्दै ज्ञानेन्द्र शाह दिल्ली गएका थिए। त्यसपछि नेपालमा हुनेखानेले ठूलै रंगीन र अरूले साना आकारका श्यामश्वेत टेलिभिजन फाट्टफुट्ट राख्न थाले। अरू त अरू सोल्टी क्राउन प्लाजा (उतिबेला सोल्टी ओबराय) मा समेत १९८७ नोभेम्बरको सार्क सम्मेलनमा मात्र टेलिभिजन भित्रियो। त्यो पनि विशिष्ट अतिथिहरू बस्ने प्रेसिडेन्सियल स्विट रुमहरूमा मात्र। उतिबेला म त्यहीँ काम गर्ने भएकाले कमलादीको राष्ट्रिय प्रज्ञा प्रतिष्ठान भवनमा सार्क सम्मेलन भइरहँदा प्रत्यक्ष हेरियो टेलिभिजनबाट पहिलोपटक।

कलेज पढ्दै गर्दा घर घरमा टेलिभिजनमा के कार्यक्रम आयो भन्ने चर्चा हुन्थ्यो बिहान चियाको क्यान्टिनमा। खासगरी ‘हिजोआजका कुरा’ को चर्चा बढी हुन्थ्यो। आफ्नो डेरामा टेलिभिजन थिएन। बरू फुर्सदमा समाचार सुन्न भने पलेटी कसेर बसिन्थ्यो घरभेटीकोमा। रवि भवनपारि सुनार गाउँका मधुकर खड्काको घरमा ६० रूपैयाँमा करिब सय स्क्वायर फिटको कोठा मेरो पहिलो बासस्थान थियो काठमाडौं खाल्डोमा। आईए पास गरेपछि नेपाल टेलिभिजनमा समाचार प्रस्तोताका लागि विज्ञपान खुलेपछि दरखास्त दिएँ। तस्बिर (फोटो सेलेक्सन) का आधारमा म छानिएँ। अन्तर्वार्ताका लागि पर्खिरहँदा एउटा संयोज जुर्यो र हङकङ आइयो। पत्रकारिता मेरो सानैदेखिको इच्छा भए पनि परिस्थितिले पत्रकार वा समाचार प्रस्तोता बन्न दिएन।

हङकङ आएको पहिलो वर्षमै घर फर्किँदा सोनीको ३२ इन्चको रंगीन टिभी लिएर गएको थिएँ। त्यसपछि छिमेकीहरू हाम्रो घरमा पनि टेलिभिजन हेर्न आउन थाले। यो देखेर रमाइलो महसुस हुन्थ्यो। अझ पछि बग्रेल्ती भित्रिएका विदेशी च्यानलका लागि घरघरका छतमा डिस्क एन्टेनाले नै घर मालिकको वैभवता मापन हुने गथ्र्यो। अझ हाम्रो समाजमा बिहेका बेला त्यसले विशेष भूमिका खेल्थ्यो। साँझको समाचार र दुर्गानाथ शर्माले प्रस्तुत गर्ने ‘विश्व घटना’ नछुटाइ हेर्थेँ, काठमाडौं जाँदा।

समाचार वाचकचकहरू किताब पढेझैँ समाचार पढ्थे। मैले क्यारिकेचर (नक्कल) गर्ने रेडियो नेपालका मेरा प्रिय समाचार वाचक प्रविण गिरीलाई टेलिभिजनमा देख्दा रमाइलो लाग्यो। उतिबेलाकी समाचार वाचिका रमा सिंह र विश्व घटनाका सञ्चालक दुर्गानाथ शर्माले सीधै स्क्रिनमा हेरेर फरर्र बोल्दा चर्चा हुने गर्थ्यो कापीमा नहेरी बोले भनेर। नढाँटी भन्दा सन्तोष पन्तको ‘हिजोआजका कुरा’ चर्चित भए पनि मलाई चाहिँ ठीकै लाग्थ्यो। सायद कमेडी धेरै मनपर्ने भएर होला महजोडीका टेप क्यासेट, स्टेज प्रहसनदेखि सबै टेलिफिल्म र फिचर फिल्म छुटाइएको छैन। कमेडियन कुनै पनि भाषाको चलचित्र हुन् या आर्ट सिनेमा, फुर्सद पायो कि हेरिहाल्छु अहिले पनि।

हङकङमा कुनै बेला डीभीडी भाडामा लिन जाँदा समीरउद्दिन अहमद ‘कमल भाइ इसमें जोनी लिभर है, राजपाल यादव है, नाना पाटेकरका नयाँ मुभी आया’ भन्दै अगाडि सारिदिन्थे। प्रेम कहानी, फाइटभन्दा कादर खान, गोविन्दा, परेश रावल, ओमपुरी, अमरिस पुरी, नाना पाटेकर, मनोज वाजपेयी, नसुरिद्दन शाह भएका सिनेमा छानी–छानी हेर्थैँ फुर्सदमा।

‘क्रान्तिवीर’ र ‘सलाम बम्बै’ अहिलेसम्म हेरेका सिनेमामध्ये उत्कृष्ट लाग्छन्। विदेशी भाषाका गीत, संगीत सिनेमाको विरोध गरेर आफूलाई ‘राष्ट्रवादी’ दर्ज गराउनुभन्दा त्यसको विकल्प दिन सक्नुपर्छ जस्तो लाग्छ। देशले फड्को मारे या नमारे पनि सिनेमा गीत, संगीत र सञ्चार, प्रविधि क्षेत्रले भने यो अढाई दशकमा ठूलो फड्को मारेको छ। जसका कारण मजस्ता सिनेमाका पारखीहरूले अब्बल दर्जाका नेपाली सिनेमा हेर्न पाउन थालेका छौँ। अझ अहिलेका नयाँ पुस्ता, खासगरी रंगमञ्चबाट आएका अभिनेता, अभिनेत्री, हास्य कलाकार र खलनायकको अभिनय हेर्दा कुनै बलिउडका पात्रभन्दा कम देखिँदैनन्। गीत, संगीतमा आएको ‘फ्युजन’ले हजुरबा, छोरा र नाती पुस्ता हुन् या सहरिया र गाउँले– एउटै स्टेजमा नाचेका भेटिन्छन्। करिब ३ वर्षयता हङकङको मेरै रेस्टुरेन्टमा आयोजना हुने समारोहमा नाचगान हुँदा हिन्दी गीत बज्न छाडेका छन्।

सबैको नाम लिँदा लामो हुनसक्छ, छुट्न सक्छ। धेरै नेपाली र अंग्रेजी समाचार प्रस्तोता र कार्यक्रम सञ्चालक तथा कार्यक्रमको गुणस्तर हेर्दा अन्तर्राष्ट्रिय स्तरसँग तुलना गर्न लायक भइसकेका छन्। यति विकसित भइसकेको छ हाम्रो सञ्चार जगत्। बीचमा राखिने विज्ञापन समय पनि त्यही स्तरकै राख्नुचाहिँ आवश्यक देखिन्छ। अहिलेका सामाजिक सञ्जाल र सञ्चार प्रविधिले गर्दा हङकङमा मुन्द्रेको ‘कमेडी क्लब’ हेर्ने लत लागेको छ अचेल। स्टेज कार्यक्रमका लागि धेरैपटक हङकङ आएका जितु नेपालसँग ‘इन्फा सिनेमा एवार्ड’ मा लामै भलाकुसारी भएको थियो। उनको कार्यक्रमको हङकङमा चर्चा हुँदा कति उपबुज्रुकहरू चाहिँ ‘कमेडी विथ कपिल’ को जस्तै नक्कल गर्यो पनि भन्छन्।

वास्तवमा जीवन नै एउटा नक्कल हो, सुरुदेखि अन्त्यसम्मै। स्वाभाविक रूपमै कतिपय हलिउड सिनेमाका कथावस्तु र कार्यक्रमबाट बलिउडले सिकेको छ। म एउटा रेस्टुरेन्ट व्यवसायी भएका नाताले अर्को कुनै रेस्टुरेन्टमा मनपर्ने नयाँ परिकार देखेँ र खाएँ भने म पनि मेरा सेफहरूलाई ‘त्यस्तै बनाऊ न’ भन्छु। अझ उनीहरूलाई नै लगेर त्यस्ता परिकार चखाउँछु पनि कहिलेकाहीं। त्यो पनि एक किसिमको नक्कलै त हो नि। फेसनदेखि प्रविधिसम्म नक्कलले नै अगाडि बढेका छन्। संसारको सबभन्दा ठूलो उदियमान अर्थतन्त्र बन्न अगाडि बढ्दै गरेको चीन, प्रविधिको नक्कल गर्न माहिर छ। हिजोअस्तिसम्म पश्चिमी मूलका गोरा छाला भएकाहरूलाई पैसावाल खर्चालु ग्राहक मान्थे हङकङे व्यवसायी। अहिले आफ्नो ढोकामा उभिएका गोराहरूलाई पर्खाएर ‘नि हाउ’ भन्दै स्वागत गरेर पहिला चिनियाँहरूलाई भित्र लैजान्छन् हङकङका ब्रान्डेड पसलहरू।

हङकङ जत्रो खाली ठाउँ दिएर ‘यस्तै सहर बनाउनु’ भन्ने हो त्यसो गर्नसक्ने प्रविधि र जनशक्ति चीनसँग मात्रै छ, अहिलेको विश्वमा। जे होस्, त्यतापट्टि धेरै नजाउँ अहिले। राम्रो चिजको अनुकरण, अनुसरण जसले जति गर्दा पनि हुन्छ। अहिले अभिनेता राजेश हमालले चलाएको ‘को बन्छ करोडपति’ का कुनै ‘एपिसोड’ म छुटाउँदिनँ। आफ्नो मातृभाषामा सुन्नुको मज्जै छुट्टै हुन्छ। यदि कपिलको कमेडी र मुन्द्रेको कमेडी क्लबसँगै रिलिज भए भने म मुन्द्रेको कमेडी क्लब पहिला हेर्छु। किनभने त्यसमा मेरो परिवेश, भाषा, संस्कृति अर्थात् आफ्नोपन पाउँछु, जुन जीवन्त लाग्छ।

भर्खरै मुन्द्रेको कमेडी क्लबले अभिनेता राजेश हमाललाई निम्त्याएर आफ्नो २५औं भाग प्रस्तुत गर्यो। विभिन्न रंगमञ्च, टेलिसिरियल र सिनेमा यात्रादेखि विदेशका दर्जनौं स्टेज कार्यक्रमसम्म छुट्टै छाप छाड्न सफल जितु नेपाल याने मुन्द्रेको प्रस्तुती प्रशंसायोग्य छ। यो क्षेत्रमा उनी खारिएका इस्पात त नै हुन्। यस्तै नेपाली सिने जगतमा मलाई असाध्यै मनपर्ने अर्का चर्चित वरिष्ठ हास्य कलाकार हुन्, राजाराम पौडेल हुन्। उनको प्रस्तुति सधैं झैँ उत्तिकै जीवन्त र रमाइलो लाग्छ। घरभेटीबाका रूपमा उनको भूमिका जमेको छ। बरू कहिलेकाहीँ उनको प्रस्तुतिको समय छोटो लाग्छ।

नेपाली सिने जगत इतिहासमा दशकौँ लामो अनुभव बोकेर सफल अभिनेत्रीबाट सफल निर्देशक र निर्मात्री समेतमा दर्ज भएकी दीपाश्री निरौला अध्यक्षको कुर्सीमा सुहाएको पात्र बनेकी छन्। बरू उनले बीच–बीचमा मुक्तक, व्यंग्य, कविता, चुट्किला या अलि धेरै गफ्फिए सुनमा सुगन्ध हुने थियो। मुन्द्रेजस्तै क्यारिकेचरमा खप्पिस गुन्द्रुके याने राजेन्द्र नेपाली आफ्नो भूमिकामा जमेका छन्। अग्रज कलाकारहररू सँगको सामीप्यताले उनको अभिनय यात्रा उज्ज्वल देखिन्छ। उनले अझ धेरै सिकेर अभिनय तिखार्न सकिने ठाउँ भने बाँकी नै छन्। अरू त अरू ‘बाबाले आफ्नो प्रोग्राम मात्रै देखाउनु हुन्छ’ भन्दै ठुस्किने मेरी छोरी गुन्द्रुके र फूलन्देकी आमा आएपछि हाँस्दै टाँसिएर सोफामा बस्छिन् हामीसँग।

सञ्चार क्षेत्रमा चिरपरिचित, ख्याति प्राप्त लुनिभा तुलाधरलाई ‘असली’ घरभेटीको भूमिकामा कार्यक्रममा ल्याउनसक्ने मुन्द्रेको ‘ट्यालेन्ट’ मान्नैपर्छ। ‘धाराप्रवाह जीवन्त व्यंग्य सम्वादको खानी’ यिनको प्रस्तुतिले मुन्द्रेको कमेडी क्लबको उचाइ अझ बढाएको छ। कार्यक्रम अवधिभर दर्शक मज्जाले बाँधिएरै बस्छन्। फूलन्देकी आमाको भूमिकामा पहिल्यै मनग्गे चर्चा कमाएका उमेश राईलाई यो कार्यक्रमको मुटु भन्दा अत्युक्ति नहोला। उनको अभिनय दक्षता कुनै अन्तर्राष्ट्रिय स्तरभन्दा कम देखिन्न। उनको वेशभूषा र परिवेशअनुसार ‘इनोसेन्ट’ सम्वाद शैलीले मन्त्रमुग्ध गराएर पेट मिचिमिची हाँस्न बाध्य बनाउँछ सधैँ। बहुमुखी प्रतिभाका धनी यिनलाई फरक वेशभूष र भूमिकामा हेर्न पाए कस्तो होला?

यो कार्यक्रममा नयाँ चलचित्र या गीत, संगीत प्रमोसन, मार्केटिङ र त्यसमा सम्बद्ध सबैलाइ निम्त्याउनु स्वाभाविक हो। कार्यक्रम सुरु भएको धेरै भएको छैन। अझ यसमा नेपाली चलचित्र, गीत, संगीत, रेडियो र टेलिभिजन सुरुवातका दिनमा योगदान दिएका पुरानो पुस्ताले करिब–करिब बिर्सन थालेका, नयाँ पुस्ताले नचिनेका, उमेरले नेटो काटेका विविध विधाका सर्जकहररूलाई पालो मिलाएर निम्त्याउँदा राम्रो होलाजस्तो लाग्छ मलाई। यसो गर्दा यो क्षेत्रमा आउने नयाँ पुस्तालाई धेरै कुरा सिक्न मद्दत पुग्नेछ अनि अग्रजहरूको सम्मान पनि महसुस गर्नेछन् सबैले। हुन त नेपाल टेलिभिजन, नेपाल सरकार मातहतकै हो। तसर्थ कार्यक्रम सञ्चालन गर्ने सीमारेखा होला नै। अझ कडा मिजासका सञ्चारमन्त्री भएका बेला त बच्नै गाह्रो। तर पनि समसामयिक विषयवस्तु, जनचासो तथा सरोकारका सवालहरूमा सरकारले राम्रो गर्दा राम्रो र नराम्रो गर्दा मुन्द्रेको व्यंग्यात्मक शैलीमा औंलो ठड्याउँदा कार्यक्रमको उचाइ बढ्ने देखिन्छ। भविष्यमा कार्यक्रम भव्यरूपमा नेपाली संस्कृति झल्किने मुन्द्रेको कमेडी क्लब आफ्नै भवनबाट प्रसारण होस्।

अन्त्यमा ‘धेरै हाँसौं, धेरै बाँचौँ’ मूल मन्त्रका साथ पर्दा अगाडि तथा पछाडिबाट कार्यक्रम उत्कृष्ट बनाउन आआफ्नो भूमिका खेल्ने निर्देशकलगायत सिंगो टिमलाई नै हार्दिक बधाई तथा निरन्तरताको शुभकामना हङकङबाट।

प्रकाशित २८ बैशाख २०७६, शनिबार | 2019-05-11 18:03:45

प्रतिकृया दिनुहोस


Building Future
Building Future

Loading...
Disneyland
Alpha Travel

Blog

Special

NepalKhabar Tweets