Galaxy Network

समुद्रको छाल हेरेर सम्झिरहेछु आमा



आमासँग हङकङमा लेखक
आमासँग हङकङमा लेखक
Disneyland
Alpha Travel

‘अमेरिका लगे पनि केही हुँदैन अब। सायद आमा तपाईंको प्रतीक्षामा हुनुहुन्थ्यो।’ डक्टरका यी शब्द तिखो तीर झैँ मेरा कानबाट पसेर मनमा बिझे, नराम्रोसँग।

हङकङ विमानस्थल पारिपट्टि मकाउ र मुख्य भूमी चीनको चुहाईसम्म फैलिएको विशाल समुद्र, ससाना टापु र क्यास्टल पिक पहाडलाई वैशाखको तुवाँलोले ढाकेको छ। गर्मी ह्वात्तै बढेको छ। नेपालमा पनि यस्तै अनुभव हुन्थ्यो यस मौसममा। विदेश बसाई तीन दशक पुग्नलाग्दा पनि हरेक मौसममा मलाई बाल्यकालकै सम्झना आउँछ। यही मौसममा किताबको झोला खन्याएर मकैको बीउ राखेर हलो र गोरूको पछिपछि मकै रोपेको सम्झना आलै छ।

हली दाइले घाँटीको रूद्रघन्टी तलमाथि हुनेगरी एक करूवा पानी कलकल पिएको हामी आँखा नझिम्काई हेर्थ्याैं। नक्कल गर्न खोज्दा पानी सर्किएपछि आमाले पिठ्युँमा थपथपाउँदै दलिनतिर हेर्नु भनेको सम्झना ताजै छ।

हाम्रो ठेट चलनको ‘आमा ख्वाउने औंसी’ अर्थात् मातातीर्थ औंसी लगभग यही मौसममा पर्थ्यो। मलाई आमाको सम्झना आइरहेछ आज।
०००
‘बाबा, तिमी आज पनि आर्टिकल लेख्न थालेको?’

‘हो, छोरी।’

‘कत्ति आर्टिकल मात्रै लेखिरहन्छौ, यु आर सो बोरिङ। यु डन्ट ह्याभ टाइम फर मी,’ ऊ गनगनाउँदै मसँगै आएर बसी। अनि अगाडि सोधी, ‘केको बारेमा, मेरो बारेमा फेरि?’

‘हैन, मेरो आमाको बारेमा किनभने मदर डे आउँदै छ नेपालमा।’

‘तिम्री आमालाई तिमी यति माया गर्छौ हो?’ उसले दुवै हात फैलाएर सोधी।

‘हो नि, त्यो भन्दा पनि धेरै-धेरै।’

‘ममीको आमालाई जस्तै तिम्री आमालाई पनि भेट्न पाएको भए! मामुले भनेको म ढिलो जन्मेको भएर रे हो त?’ उसले निधार खुम्च्याई।

‘ऊ हेरन मेरा आमा बाबा पनि’, भित्तामा रहेको श्यामश्वेत तस्बिरतिर देखाएँ।

‘त्यति राम्रो छैन, यो हेरन’, दौडिँदै आएर उसले आमा हङकङ आउँदाको फोटो रहेको एल्बम पल्टाएर सोध्न थाली अनगन्ती प्रश्न।

हङकङसहित संसारभर मदर्स डे मनाइन्छ। हामी सानो छँदा मातातीर्थ औंसी वा आमाको मुख हेर्ने या आमा ख्वाउने औंसी भनिन्थ्यो, नेपालमा उतिबेला खासगरी आर्य समुदायमा। आमा बितेका मानिसले मातातीर्थ गएर आमाका नाममा श्राद्ध गर्थे भने जीवित आमा हुनेहरू चाहिँ आआफ्नो गच्छेअनुसार कोसेली खुवाएर आमासँग भेटघाट गर्थे, आशीर्वाद लिन्थे अक्सर।

चैत–वैशाखमा पर्ने भएकाले ऐसेलुको सिजन पर्थ्यो। बहिनी र मैले गाउँमा कचौराभरि ऐसेलु टिपेर ‘आज त हामीले ख्वाउने पालो ल खानुस्’, भन्दै आमालाई हातले ऐसेलु खुवाएको चार दशक बितिसकेछ। अनि बिहे भएकी ठूली दिदी कतिबेला घर आइपुग्छिन् भनेर घरअगाडि नागदहको डाँडोतिर हेरिरहन्थ्यौं बिहिनी र म आँगनको डिलमा उभिएर, औंसीमा दिदीले ल्याउने काठमाडौं असनको गुँदपाक, जिलेबी, ऐठे र पेडा सम्झँदै।

थाहा छैन, किन हो कुन्नि आमाले हामी चार दिदीबहिनी दाजुभाइमध्ये सबैभन्दा बढी माया मलाई नै गर्छिन् भन्ने लाग्थ्यो मलाई। हुन त हामी सबै छोराछोरीलाई त्यस्तै लाग्नसक्छ। यो संसारमा सबैभन्दा पहिला प्रकृति र त्यसपछि बाबाआमा सबै सन्तानप्रति निष्पक्ष हुन्छन्। आमाका विषयमा सबै कुरा लेख्ने हो भने एउटा उपन्यास नै बन्छ।
०००
आज म आमाबारे जीवनको बीच भागबाट सुरु गर्छु।

बिहान कलेजबाट ११–१२ बजे घर आउँदा आमा, छतमा घाम तापिरहेकी हुन्थिन् सुकुलमा बसेर काठमाडौंको जाडोमा। रातभर खोकेको सुनिन्थ्यो। दमको दीर्घरोग, त्यसमाथि उच्च रक्तचाप र डायबिटीजले पछ्याइरहेको थियो। तल ढोका खोलेको आवाज सुन्नेबित्तिकै सकिनसकी भान्सामा छिर्थिन् आमा।

‘म पस्केर खाइहाल्छु नि, आराम गर्नुस्’, म भन्थेँ। आमाको मन मान्दैनथ्यो। सुक्खा नखाऊ, बुगुल्टो भयो भन्दै दाल थपिदिन्थिन्।

एकपटक हिक्क आउँदा ‘बिस्तारै खाऊ’ भन्दै पानीको ग्लास सारिदिँदै गाँस गनेर अगाडि बस्थिन् आमा। अलिकति पनि मीठो नभएको छनक पाए सिसीको घिउ र कोरकार गरेर अचार थपिदिन्थिन्। मैले मीठो मानेर खाँदा आमाको अनुहारमा सन्तोषको भाव देखिन्थ्यो। यही मौसममा कहिलेकाहीँ बिहान उठ्नेबित्तिकै मिश्रीपानीको माने कचौरा मेरो हातमा दिएर आमा भन्थिन्, ‘लौ रातभरि खोकेको छस्।’

भुइँकटहर र मेवा काट्दा मेरो भागमा धेरै राखिदिन्थिन् आमा, गर्मी जिउ छ भन्दै।

करिब २५ वर्ष त औषधिको सहाराले बचाएँ आमालाई। ६५ वर्षको उमरमै रोगले जित्यो, आमाले हारिन्, मैले हारेँ। हामी सबै परिवारले हार्यौं। आमा नास्तिक नै त हैन तर पनि त्यति धेरै धार्मिक पनि थिइनन्। अक्सर बूढेसकालमा छोराछोरीले चारधाम तीर्थ गराइदिउन् भन्ने इच्छा हुन्थ्यो सबै जसोका बाबा आमामा। तर मेरी आमाको त्यो इच्छा थिएन।

धर्मभन्दा कर्ममा विश्वास गर्थिन् मेरी आमा। म जीवनको कर्मथलो हङकङ आएपछि आमा धेरै बाँच्दिनन्, बरू एकपटक हङकङ देखाइदिन, घुमाइदिन पाए हुन्थ्यो भन्ने मनमा लागिरहन्थ्यो सधैँ। अक्सर मनले चाहेका कुरा पुगेकै छन् जीवनमा आहिलेसम्म।

आमालाई लिन हङकङको पुरानो एअरपोर्ट गएको थिएँ, सन् १९९२ अगस्टमा। आमा आइपुगिन्। मिसिक्क हाँसिन् मलाई देखेर। म पथप्रदर्शक आमा पर्यटकजस्तै हुँदै बासस्थान पुगियो। आमा औधी खुसी भइन् त्यो साँझ।
०००
अहिलेको नयाँ विमानस्थलको नामोनिसान थिएन। बिगबुद्ध निर्माण नभए पनि एउटा चर्चित पर्यटन स्थल भने थियो। जाने एउटै मात्र बाटो सेन्ट्रलबाट पानीजहाज चढ्दै मुइ ओबाट बसमा पुगियो। ओसियन पार्क पनि चर्चित थियो, गइयो। भिक्टोरिया पिक, स्टार फेरी, स्टेनली, साइ कुङ हङकङका सदाबहार पर्यटन स्थल भइहाले।

अहिले जस्तो ब्रान्ड थाहा थिएन त्यतिखेर। भर्खर हङकङ आएको मुठी खोलेर खर्च गर्न न आम्दानी, न त आँट नै। हरेक किनमेलमा नेपाली पैसा यति भनेर हिसाब लगाइ हालिन्थ्यो। जे होस् आमाको रोजाइका सारीहरू, सुनको सिक्री, ब्रासलेट, ब्याग, घडी किनिदिएँ। अनि २४ दिनपछि पुर्याउन गएँ उही पुरानो काइ ताक विमानस्थल।

आमा चढेको जहाज नउडुन्जेल बसिरहेँ एयरपोर्ट पछाडिको पार्कमा। जहाज उडेपछि आँखाले देखुन्जेल हेरिरहेँ। एक किसिमको ठूलो आत्मसन्तुष्टि भएथ्यो मलाई त्यसबेला। र, त्यो सन्तुष्टि अहिलेसम्म पनि भइरहन्छ, आमालाई बाँचुन्जेल खुसीसाथ राख्न सकेकामा।

संसारभर बस्ने नेपालीको नेपाल घरप्रति एउटै चिन्ता हुन्छ– सञ्चो बिसञ्चो। सास जाने अन्तिम समयमा आफु भइन्छ कि भइन्न? बाबाआमाको इच्छा पनि अन्तिम अवस्थामा छोराछोरी वरिपरि रहुन् भन्ने हुन्छ। तर भाग्यले यो अवसर कसैलाई जुराउँछ कतिलाई जुराउँदैन।

दीप श्रेष्ठको स्वरमा रहेको चर्चित यो गीत, मजस्तै विदेश बसेर देशमा बाबाआमाको पीर गरिरहनेहरूका लागि लेखिएको, गाइएको जस्तो लाग्छः

हर रात सपनीमा ऐठन हुन्छ
गाउँमा सायद पहिरो गयो कि
दिनरात सहरमा झरी पर्छ
गाउँमा सायद खेतै बग्यो कि
डाँडापारिको घामलाई हेर्छु
आमा र बाबा सम्झिरहन्छु
गाउँ छोड्दा बिझेको काँडा
परदेशमा बसी झिकिरहन्छु

यस्तै–यस्तै तर्कना गर्दै वर्षमा कम्तीमा एकपटक नेपाल गइन्थ्यो। सपना केही नराम्रो देखियो कि बिहानै फोन गरिन्थ्यो। आमाको स्वास्थको उही पीर सधैं। आमा, बाबा र हामीसँगै बस्नुभएको मावलीकी हजुरआमालाई पनि मेरो अनुपस्थिति नखट्किने गरी सेवा र हेरविचार गरेका थिए भाई विमलले।

डक्टर, अस्पताल, औषधि गर्दागर्दै आमाको शरीर जीर्ण भइसकेको थियो। एकदिन नेपालबाट फोन आयो– अब जतिसक्दो चाँडो आउँदा हुन्छ। अर्थात् आमा सिकिस्त भइछन्। आमाको दीर्घरोगका कारण मानसिक रूपमा कुनै पनि समयका लागि तयार भए पनि केही भइसक्यो कि, अन्तिम भेट नहुने नै हो त भन्दै मन उथलपुथल भयो। अक्सर विदेश बस्नेहरूलाई एक्कासी भन्दैनन् खास कुरा। सोमबार बिहानै हिँड्ने तरखर गरेँ। मेरो टिलपिल आँखा देखेर ‘तपाईं एक्लै नजानुस्, म पनि सँगै जान्छु’ भनेर श्रीमती बेन्जु पछि लागिन्। नेपाल एयरलाइन्सको उडान थिएन सोमबार। सीधै विमानस्थल गएर फूल फेयरको टीकट लिएर लागियो बैंकक हुँदै।

हरेकपटक काठमाडौं यात्रा कति रमाइलो हुन्थ्यो। घर अगाडि ट्याक्सीले हर्न बजाएपछि आमा ढोका खोल्न आउँथिन्। म सुटकेस खोलेर आमा र सबैलाई सामान दिन्थेँ। आमा सकिनसकी भान्सामा उक्लिएर मलाई मनपर्ने परिकार पस्किन्थिन्। राति ढिलोसम्म गफगाफ हुन्थ्यो।

तर आज म सीधै घर हैन, अस्पताल जानुपर्छ अथवा आर्यघाट पनि हुनसक्छ। बेलाबेला आमासँगको विगत सम्झेर भक्कानो छुट्थ्यो। बेन्जु सम्मझाउँथिन्। काठमाडौंमा आर्लेर विमानस्थलबाट बाहिर निक्लियौँ। कोही लिन आएका छैनन्। यसको मतलब आमा जीवितै छिन्। लामो सास फेरेँ। बेन्जुले ढाडस दिँदै थपथपाइन्, ‘केही भएको छैन आमालाई, निको हुनसक्छ, डक्टर पनि भगवान् त होइनन् नि, मर्ने बाँच्ने थाहा पाउने।’

सीधै अस्पताल पुगियो। आमाले पुलुक्क हेरिन्, मेरो हात समातिन। भनिन्, ‘बट्टाई पनि आइछ्यौ त?’

हाम्रो विवाहपछि सानो कदकी बेन्जुलाई आमाले मायाले ‘बट्टाई’ भन्थिन्। केही आशा पलायो। तीनचार दिनको अस्पताल बसाईले भाई धेरै अनिँदो र थाकेको थियो।

‘तिमी घर जाऊ, आज राति म बस्छु’, मैले भनेँ। साँझ सबै तितरबितर भएपछि डक्टर भट्टराईले मलाई इशाराले बोलाए।

‘विदेश बस्ने छोरा हो तपाईं?’

‘हजुर हो।’

‘तपाईंको आमाको यो करिब अन्तिम घडी हुनसक्छ। औषधिले काम गर्न छाडिसक्यो!’

‘अन्त कतै लगेर केही उपाय लगाउन सकिन्छ?’, मैले सोधेँ।

‘अमेरिका लगे पनि केही हुँदैन। सायद आमा तपाईंको प्रतीक्षामा हुनुहुन्थ्यो।’

डक्टरका यी शब्दहरू तिखो तीर झैँ मेरा कानबाट पसेर मनमा बिझे नराम्रोसँग।

फर्केर गएँ।

आमाले सोधिन्, ‘के भन्न बोलाएको रहेछ?’

‘केही हैन, बिस्तारै ठीक हुन्छ रे औषधिले’, मैले आँसु दबाएर ढाँट्ने कोसिस गरेँ।

आमाले भनिन्, ‘अब निको हुँदैन मलाई। मेरो सपना बिग्रेको धेरै भयो। भाई अझै केटाकेटी नै छ, हेरविचार गर्नू।’

रातभरि आमाको गोडा दबाएर बसेँ।

भोलिपल्ट आमाले भनिन्, ‘तिमी घर जाऊ, आज भाई बस्छ, तिमीलाई भन्दा उसलाई अनुभव छ।’

म घर गएँ।

भोलिपल्ट राति २ बजे फोन आयो, ‘तुरुन्त अस्पताल आउनू।’

अब भने मुटु धेरै हल्लियो। अस्पताल पुगेँ, आमाको बेडलाई बारिसकेको थियो। डराइ–डराइ भित्र पसेँ। अक्सिजन मास्क, सबै औषधिका पाइप हटाइसकेको रहेछ। आमाको मुख हँसिलो उज्यालो देखेँ मैले। निधार र गोडा छामेँ।

‘तातै छ त?’, नर्सलाई सोधेँ।

‘केही समय तातै रहन्छ। सि इज नो मोर।’

जेठो छोरो भएकाले म, आमाको मृत्युमा बेस्सरी रून पनि पाइनँ। अब आमामा विशेषण थपियो, ‘आमाको शव’। केही समयमै हामीले आमालाई शव वाहनमा राखिसकेका थियौं। न साइडमा असरल्ल औषधि, न तातो पानीको थर्मस, न माउथ स्प्रे, न थुकदानी, न रूमाल, आमा मस्त निद्रामा थिइन्।

बाटोमा शव लैजाँदै गरेको देखियो भने साइत पर्छ भन्छन् हिन्दु संस्कारमा। यसको मतलब हरेक मान्छेमा ‘म पनि एकदिन मर्नुपर्छ’ भन्ने सोचाइ आउँछ। एउटा अपराध नै गर्न जान लागेको मान्छेले पनि टक्क उभिएर सोच्छ होला, विचार बदल्छ होला सायद यसको वैज्ञानिक विश्लेशण चाहिँ।

बाटोमा कति मान्छेले आज मेरी आमाको शव देखेर साइत पर्यो भने होलान्। अरूका शव देख्दा त सजिलै भन्ने गर्छौं, उ लास देखियो, साइत पर्छ आज।’

तर आफैंलाई पर्दा कति पीडा हुँदोरहेछ, त्यो अनुभव गरेँ मैले त्यो दिन। आर्यघाटमा आफन्तहरू जम्मा भइसकेका थिए। आमाका लागि चिता बनाइँदै थियो।

‘ए उहाँ त सदुवा हुनुहुँदो रहेछ रातो सारी ...’, पण्डितले अह्राए, ‘भए बिहेको, नभए कुनै।’

त्यसपछि चितामाथि आमालाई रातो सारीले बेरियो, सिन्दुरपोते लगाएर। मलाई झन्झन् गाह्रो भइसकेको थियो, आमाको भौतिक आकृति पनि केही बेरमै खरानी हुने सोचेर।

पण्डितले मन्त्र पढ्दै वाग्मतीको जल आमाको मुखमा हालिदिनु भने। काम्दै गरेको हातले एक अञ्जुली पानी लिएर आएँ। जल कम, ढल, मल बढी थियो।

‘यो पानी मैलो छ कसरी मुखमा हालिदिनु, त्यो धाराको पानी हाल्न मिल्छ?’

पण्डितले हुँदैन भने।

त्यो मैलो पानी आमाको मुखमा हालिदिन मनले मानेन। पानी लिएर बिस्तारै आमाको कुमनजिक छोडिदिएँ, कसैले थाहा नपाउने गरि।

‘सुन खै?’, पण्डितले सोधे।

‘फुली छ नाकमा’, आफन्तले भनिदिए।

‘लौ नाकबाट निकालेर मुखमा हालिदिनुस्।’

कोसिस गरें, आएन। जोडले तान्दा आमालाई दुख्छ भन्ने लाग्यो अझै।

‘अँ राखिदिएँ’, मैले भनें।

बाबा, भाई र म आपसमा हेराहेर गर्न सकेका थिएनौं। म आगो लिएर आमाको चिता वरिपरि घुम्न थालेँ। भाई मेरो पछि लाग्यो। पिताजीले डाँको छाड्नुभयो। हामी पनि सम्हालिन सकेनौं। आमा बल्दै गर्दा वाग्मती किनारमा बसेर आँसु सुकुन्जेल रोएँ म। अब आमाको आकृति थिएन। मात्र गोडा झुन्डिरहेका थिए, अस्ति मात्र मैले नङ काटिदिएर मालिस गरेको। निर्ममतापूर्वक बाँसको भाटोले खुट्टा पल्टाई दिएँ। एकैछिनमा आमा धुवाँ र खरानी बनेर उडिन्।

‘जेठो छोरो यता आउनुस्’ भन्दै पण्डितले थैली जत्रो सेतो टालोमा आमाको भौतिक शरीरको सानो अर्थी थमाइदिए। जीवनमा यो समय, यो दिन मेरा लागि सबैभन्दा दुःखद र पीडादायी बनेको थियो। पण्डितले अह्राएबमोजिम त्यो आमाको अर्थी वाग्मतीमा गाड्न खोजेँ। सायद भदौको भेल भएर होला एकैछिनमा उत्रिएर, सतहमा आयो। म एकोहोरो हेरेको हेर्यै भएँ। बिस्तारै बगेर गयो टाढा टाढा, धेरै टाढा, फेरि कहिल्यै नफर्किने गरी।

बचेखुचेका मेरा आँसुका ढिक्का पुनः वाग्मतीको भेलमा तपतप गर्दै आमालाई पछ्याउँदै बग्यो। पिताजी र भाई मलाई एकोहोरो हेरिरहेका थिए।
०००
आज पारि परसम्म धमिलो आकाशमुनि समुद्रको छाल हेरेर आमालाई सम्झिरहेछु। आँखा बन्द गर्दा आमाको भौतिक आकृति सजीव भएर उभिन्छ मेरो अगाडि। आज यो मौसममा आमा यहीँ मेरो छेउमै भइदिएकी भए!

फोटोमा हेरेँ, आमा पनि मलाई हेरिरहेकी थिइन्। आमाअगाडि एक अम्खोरा पानी राखेर एउटा मैनबत्ती बालिदिएँ। धिपधिप गर्दै मैनबत्ती बलिरह्यो। सोचेँ– मान्छेको जिन्दगी पनि यही मैनबत्तीजस्तै हो, मैन छउन्जेल बल्ने सकिएपछि बिस्तारै–बिस्तारै निभ्ने।

बस!!

प्रकाशित २० बैशाख २०७६, शुक्रबार | 2019-05-03 18:16:18

प्रतिकृया दिनुहोस


Building Future
Building Future

Loading...
Disneyland
Alpha Travel

Blog

Special

NepalKhabar Tweets