Galaxy Network

हङकङको आकाशमा निष उपाध्यायको ‘गुड फ्लाइङ’ (भिडियो)



हङकङको आकाशमा निष उपाध्याय
हङकङको आकाशमा निष उपाध्याय
Alpha Travel

‘आकाश आनन्दको अर्को संसार हो, जहाँ प्याराग्लाइडिङ गर्दा एउटा छुट्टै दुनियाँमा रम्न सकिन्छ। तर हङकङमा मौसमको भर छैन, धेरै सोचेर उड्नुपर्छ।’

नेपालको पोखरा जस्तै हङकङको मा ओन शान पिक साहसिक हवाई खेल प्याराग्लाइडिङका लागि प्रसिद्ध छ। हङकङका हाइकरहरु प्याराग्लाइडिङको दृश्यावलोकन गर्दै सुन्दर फोटो खिच्नकै लागि पनि साइकङको मा ओन शान रुट हिंड्ने गर्छन्। कतिपयको योजना नै हुन्छ– त्यहाँ पुगेर एकपटक प्याराग्लाइडिङ गर्ने।

हुन पनि मौसम सफा रहेको बेला मा ओन शानको आकाश प्याराग्लाइडिङले ढाकेको देखिन्छ। माथि आकाशमा बाक्लोसँग चरा उडेजस्तै देखिने यो दृश्यले धेरैको मन लोभ्याउँछ। हङकङको मा ओन शानको आकाशमा प्याराग्लाइडिङमा रमाउने चिनियाँसँगै धेरै नेपाली पनि छन्। र, झन् नेपाली नै पाइलट रहेका प्याराग्लाइडिङमा उड्न पाउँदा त नेपालीले पोखरा नै पुगेको अनुभूती गर्ने नै भए। हो, हङकङको आकाशमा नेपाली प्याराग्लाइडिङ पाइलटहरू पनि छन् र, पछिल्लो समय यो संख्या बढिरहेको छ। ती केही नाम हुन्– कृष्णराज भण्डारी, निष उपाध्याय, डोम पुन, सुन्दर गुरुङ र म सन्तोष तामाङ।

नेपाली पाइलटहरूमध्ये निष उपाध्याय हङकङमा प्याराग्लाइडिङ उडान गरिरहेका एकजना दक्ष र अनुभवी ‘टान्डम पाइलट’ हुन्। प्याराग्लाइडिङ सिक्दा र पाइलट नै भएर व्यवसायिक उडान गर्दा उनको अनुभव कस्तो छ? हङकङमा व्यवसायिक प्यराग्लाइडिङ पाइलट निष उपाध्यायले मसँग यसरी आफ्नो अनुभव बाँडेः 

तपाईंमा प्याराग्लाइडिङ गर्ने साहस कसरी आयो?
सानैदेखि प्याराग्लाइडिङ गर्ने मेरो सौख थियो। मेरो घरको छतबाट जब मैले काठमाडौं पोखरा हवाई जहाज आवातजावत भएको देखें, मैले पनि त्यसरी नै उडाउने सपना देख्न थालें। अनि पाइलट बन्न सकौँ भनेर भगवानसँग प्रार्थना पनि गरें। प्याराग्लाइडिङ मेरो अन्तरमनको इच्छा बन्यो। बसाईसराई गरेर पोखरा आएपछि त्यहाँको आकाशमा पहिलो पटक प्याराग्लाइडिङ देखेँ। अनि सिक्ने इच्छा तीब्र भएर आयो। एक पटक हङकङबाट नेपाल गएको समय पारेर प्याराग्लाइडिङ हेर्न सराङकोट गएँ। स्वदेशी विदेशी सबैको उडान देखेपछि झन् आकर्षण बढ्यो। हङकङ फर्केपछि सन् २०११ मा प्याराग्लाइडिङको तालिम सुरु गरेँ। पछि प्याराग्लाइडिङ तालिम गर्न धेरै पटक नेपाल गएँ। प्याराग्लाइडिङसँगै सेफ्टी कोर्स गर्न थाइल्यान्ड गएँ ४–५ पटक।

कति समय तालिम गरेपछि आफै उड्न सक्ने हुनुभयो?
उड्ने हुनु ठूलो कुरा होइन। प्याराग्लाइडिङको टेक्निकल पक्षसँग परिचित हुनु ठूलो कुरा रहेछ। उड्नकै लागि त १० देखि १५ दिनको आधारभूत कोर्स गरे पुग्छ। कति समयमा टेकअफ गर्नसक्ने भन्ने कुरा इस्ट्रक्टर भन्दा पनि सिक्ने व्यक्तिमा भर पर्छ। उड्ने आँट नभएका हिम्मतहाराले यो क्षेत्रमा सफलता पाउन नसक्ने मात्र होइन, आफ्नै ज्यान पनि गुमाउन सक्छन्। टेक्निकल पक्ष थाहा पाएपछि डर, भय आफै हराएर जान्छ।

हङकङमा कसरी गर्दै हुनुहुन्छ प्याराग्लाइडिङ?
प्याराग्लाइडिङ उडेर प्रकृतिकको आनन्द लिने साहसिक हवाई खेल हो। हङकङमा नीजि क्षेत्रबाट संचालित आधा दर्जन बढी प्याराग्लाइडिङ प्रशिक्षण स्कुल छन्। जहाँ चिनियाँ र विदेशी प्रशिक्षकले उडाउने प्रशिक्षण दिन्छन्। प्याराग्लाइडिङ दुई किसिमले गर्न सकिन्छ– एउटा सेवाग्राही बनेर उडान गर्ने र, अर्को पाइलट कोर्स गर्ने अनि आफै उडाउने।

यसरी आकाशमा उड्दा दुर्घटनाको जोखिम कति हुन्छ?
प्याराग्लाइडिङ साहसिक खेल हो। मन्द हावा चल्ने, उडान क्षेत्रबाट अवतरण क्षेत्र देख्न सकिने, दुर्घटना भइहाले तत्काल उद्धार गर्न सकिने सुगम ठाउँ हुनुपर्छ प्याराग्लाइडिङका लागि। हङकङमा प्याराग्लाइडिङ टेकअफ गर्ने मुख्यतः ३ वटा पिक छ्न्। यी ठाउँ सबै हिसाबले अनुकुल छन्। त्यसैले प्याराग्लाइडिङका लागि खतरामुक्त ठाउँ हो हङकङ। अहिले हङकङको प्याराग्लाइडिङ ओन शानको आकाशमा बढी केन्द्रित छ। त्यहाँबाट दैनिक उडान हुन्छ। प्याराग्लाइडिङका लागि अहिलेको मौसम अनुकुल छ र यो क्रम ६–७ महिनासम्म रहन्छ।

प्याराग्लाइडिङको इतिहास पनि सायद लामो छैन। पछिल्लो समय नेपालमा प्याराग्लाइडिङको क्रेज निकै बढेको हो?
सन् १९६० को दशकमा डेविड ब्यारिसले पहिलो पटक प्याराग्लाइडिङ गरेको बताइन्छ। तर कसले र कहिले पहिलो पटक प्याराग्लाइडिङ गर्यो भन्ने विवाद छ। डेविड अमेरिकी अन्तरिक्ष संस्था नासाका लागि स्पेस क्याप्सुल रिकभरी डिभाइस सेल विङ बनाउने काम गरिरहेका थिए। त्यसै क्रममा उनले अमेरिकाको न्यूयोर्कमा रहेको हन्टर माउन्टेनमा पहिलो पटक व्यक्तिगत रुपमा प्याराग्लाइडिङ गरेको बताइन्छ। सन् १९८० को दशकमा फ्रान्सेली हिमालहरुमा पनि प्याराग्लाइडिङको प्रयोग भएको थियो। सन् १९८६ मा आएपछि प्याराग्लाइडिङलाई खेलका रुपमा स्थापना गर्ने सोच बनाइयो। यसलाई खेलका रुपमा विधिवत बनाउने काम युरोपले शुरु गर्‍यो। त्यसपछि युरोप, एशिया र अमेरिकामा प्याराग्लाइडिङमा प्रयोग गरिने सामाग्री बनाउने कामले तीब्रता पायो। विस्तारै यसले विश्वव्यापी रुप लिन थाल्यो। पछि यसलाई स्काई डाइभिङ र प्याराग्लाइडिङ गरी दुई विधामा विभाजित गरियो।

नेपालमा चाहिँ तत्कालिन शाही नेपाली सेनामा प्याराग्लाइडिङको प्रयोग भएको पाइन्छ। तर पछिल्लो समय कम भएको प्याराग्लाइडिङको क्रेज अहिले फेरि ह्वात्तै बढेको छ। नेपालमा यसलाई व्यवसाय नै बनाएर राम्रो नाम र दाम कमाउनेहरुको संख्या पनि उल्लेख्य नै छ। खेलका रुपमा भने अझै पनि प्याराग्लाइडिङ त्यत्ति अगाडी छैन। दैनिक जीवन चलाउनका लागि पाइलट बन्नेहरु नै खेलाडीका रुपमा स्वदेश तथा विदेशमा सहभागी हुने गरेका छन्। नेपालमा सन् २००० मा सनराइज प्याराग्लाइडिङ कम्पनी पहिलो पटक दर्ता भएको थियो। यो कम्पनीको स्थापना बेलायती नागरिक एडम हिल र एक जना पाइलटको सहयोगमा संभव भएको हो।

प्याराग्लाइडिङ कोर्स गराउन नेपालमा नेपाली पाइलट पनि छन्?
विदेशी पाइलटकै पछि लागेर नेपाली पाइलट निपुण भएका हुन्। विदेशी पाइलटको सहयोगी बनेर नेपालीले प्याराग्लाइडिङ गर्न सिके र विस्तारै उनीहरु व्यवसायिक पाइलट बने। यो संख्या ३०–३५ को हाराहारीमा हुन सक्छ। ३–४ वर्षअघि सरकारले प्याराग्लाइडिङ पाइलटका लागि व्यवसायिक लाइसेन्स दिने व्यवस्था गर्‍यो। व्यवसायिक पाइलटका लागि ‘म्यानुअल’ पनि तयार भयो। अहिले नेपालमा प्याराग्लाइडिङ पाइलट तयार गर्न निजी क्षेत्रबाट संचालित दुईवटा स्कुल छन्। एसएलसी पास गरेको र शारीरिक रुपमा फिट व्यक्ति पाइलट कोर्स गर्न योग्य हुन्छ। १५ दिनको आधारभूत कोर्स गरेपछि आफै उड्न सक्ने हुन्छन्। त्यसपछि उनीहरु खेलाडी बन्न सक्छन्। तर, व्यवसायिक पाइलट बनेर अरुलाई उडाउन सक्ने हुन लामो कोर्स गर्नुपर्छ। व्यवसायिक पाइलट बन्न आधारभूत कोर्स गरेर दुई सय घन्टा आकाशमा उडेको हुनुपर्छ। त्यसपछि मात्र एडभान्स पाइलट बन्न सकिन्छ। रेस्क्यु कोर्स, एसआइभी कोर्स र टेन्डेम कोर्स गरेपछि व्यवसायिक लाइसेन्सका लागि योग्य हुन्छ। आधारभूत कोर्स सुरु गरेको करिब १८ महिनाको अवधिमा व्यवसायिक पाइलटको लाइसेन्स प्राप्त गर्न सकिन्छ।

तपाईंको लाइसेन्स चाहिँ कस्तो हो?
म सुरुदेखि नै टेन्डम पाइलट हुँ। मसँग पीवन, पीटु, पीथ्री, पीफोर र पीफाइभ लाइसेन्स छ। जसले मलाई प्यासेन्जर उडाउने अनुमति दिन्छ।

हङकङमा कति वर्षदेखि पाइलट भएर प्याराग्लाइडिङ उडाउँदै आउनु भएको छ? यसरी पाइलट भएर प्यराग्लाइडिङ उडाउँदा एउटा उडानको कति पैसा पाउनु हुन्छ?
मैले हङकङमा सन् २०११ देखि प्याराग्लाइडिङ गर्दै आएको छु। प्याराग्लाइडिङको भाषामा प्यासेन्जर उडानलाई टेन्डम उडान भनिन्छ। मैले टेन्डम अर्थात प्यासेन्जर उडान नै गर्दै आएको छु, जसमा धेरै चिनियाँ हुन्छन्। अहिले नेपाली मूलका चिनेजानेका केही साथीहरूलाई पनि उडाइरहेको छु। तर यो पैसा लिएर होइन, साथीहरू सँगै उडौं भन्ने हिसावले उड्ने हो। पैसा लिएर व्यवसायिक रुपमा उडाएपछि धेरै प्यासेन्जर आउन सक्छन्। त्यसो गर्दा मैले अरु काम नै छाडेर यसैमा लाग्नुपर्ने हुन्छ। तर एक जना व्यक्तिले मात्र प्याराग्लाइडिङलाई व्यवसायिक बनाउन असम्भव छ हङकङमा। किनकि यो खेल महँगो छ र टिममा कम्तिमा ५–६ जना दक्ष पाइलट चाहिन्छ।

प्याराग्लाइडिङ उडाउँदा त्यस्तो कुनै रोमाञ्चक अनुभव छ, जसले तपाईंलाई डर सिर्जना गरेको वा खुसी तुल्याएको होस्?
रोमाञ्चक क्षण पटकपटक आएको छ। आकाश आनन्दको अर्को संसार हो, जहाँ प्याराग्लाइडिङ गर्दा एउटा छुट्टै दुनियाँमा रम्न सकिन्छ। मौसम अनुकुल छैन अथवा टेकअफपछि मौसम प्रतिकुल बन्यो भने उडानका बेला डर त्रास हुन्छ। हङकङमा यसैपनि मौसमको भर छैन, धेरै सोचेर उड्नुपर्छ। समुद्रको आसपासमा कालो बादल मडारिइरहेको हुन सक्छ, जसले आकाशतिर तान्न सक्छ। यसबारे पाइलट अपडेट हुनुपर्छ।

व्यवसायिक पाइलटको कोर्स गर्न कत्तिको खर्चिलो छ?
अहिलेका निजी क्षेत्रका स्कुलले आधारभूत कोर्स गरेको १२ हजार हङकङ डलरसम्म लिने गरेका छन्। यसमा ग्लाइडरको व्यवस्था स्कुल आफैले गर्ने गरेको छ। अन्य इक्युपमेन्ट आफै खरिद गर्नुपर्छ। एउटा ग्लाइडरको ३५ हजार हङकङ डलरसम्म पर्छ। नयाँ ब्रान्डको ग्लाइडर सेटसहित ४०–४५ हजार हङकङ डलरसम्म पर्छ। एउटा ग्लाइडरको आयु दुई सय घन्टा र सेटका बाँकी सामानको आयु चार सय घन्टासम्म हुन्छ। आधारभूत कोर्सपछि पाइलट आफैले ग्लाइडर किन्नुपर्छ। यो क्षेत्रमा सफल बन्न चाहने पाइलटले आफ्नै ग्लाइडर उडाउन उत्तम मानिन्छ। यसरी हेर्दा दक्ष पाइलट अर्थात एड्भेन्चर कोर्स पूरा गर्न ३० देखि ४० हजार हङकङ डलरसम्म लाग्न सक्छ। 

तर हङकङमा सिकाउने स्कुल बाहेक व्यावसायिक उडानमा अन्य कम्पनी छैनन्। यहाँ  प्याराग्लाइडिङ कोर्स गर्न सक्ने दक्ष प्रशिक्षकको बजार चाहिँ राम्रो छ।

तपाईं हङकङ कहिले आउनु भयो?
हङकङ बसाई त ७ वर्ष मात्रै हुँदैछ मेरो। तर म हङकङ कसरी प्रवेश गरेँ भन्ने प्रसंग चाहिँ रोमाञ्चक छ। पढाईको शिलशिलामा म अस्ट्रेलिया गएँ। एउटै कलेजमा पढ्ने क्रममा क्लास फ्रेन्डसँग माया बस्यो। उनी अध्ययनकै लागि अस्ट्रेलिया पुगेकी हङकङको मुख्य समुदाय चिनियाँ रहिछन्। हो, उनी नै मेरो जीवन साथी बनिन् र आज म हङकङ बस्ने संयोग मिल्यो।

गुड फ्लाइङः हङकङको आकाशमा प्यासेन्जरसँग निष उपाध्याय (भिडियो):

प्रकाशित ७ चैत २०७५, बिहिबार | 2019-03-21 14:36:39

प्रतिकृया दिनुहोस


Building Future
Building Future

Loading...
Alpha Travel

Blog

NepalKhabar Tweets