Galaxy Network

मिरा पछ्याउँदै हङकङ आइपुगेकी लचकदार ज्यानकी सिर्जना


Courses
Courses



हङकङमा सिर्जना राई
हङकङमा सिर्जना राई
Alpha Travel

शनिबार हङकङमा हुने क्युनेट गोर्खा ट्रैलब्लेजर प्रतियोगिताका लागि गाउँमै अभ्यास गर्ने क्रममा उनले खुट्टा मर्काइन। तथापी उनको जित्ने जोस् भने उत्तिकै छ। भन्छिन्, ‘तपाईंहरूलाई सकेसम्म निरास पार्ने छैन, हङकङमा नेपाली झन्डा फहराउने मेरो धोको छ।’

विकास, सूचना र प्रबिधिले छलाङ मारेको यो एक्काइसौं शताब्दीमा हातमा उपलब्ध मोवाइल सेटबाटै भर्चुअल संसार चहार्न सकिन्छ। पैदल हिंड्दा दिनौं लाग्ने शहर पुग्न सडक पुगेका गाउँबस्तीबाट अहिले ‘बाइरोडको बाटोमा धुलो उडाउँदै’ केही घन्टा भित्रै पुग्न सकिने भएको छ।

तर पूर्वी संखुवासभाको सभापोखरीमा जन्मेर मकालु हिमालसँग लुकामारी खेल्दै हुर्केकी सिर्जना राईको हकमा भने यो कुरा लागू भएन। अबिरल बगिरहने अरुण नदि काटेर आफु जन्मेको डाँडाबाट करिब १५० किलोमिटर मात्रै टाढा रहेको धरान शहर झर्न पनि सिर्जनाले जीवनका १९ बर्ष कुर्नु पर्यो। अर्थात एक बर्ष अगाडि इटहरीमा सम्पन्न राष्ट्रिय खेलकुद च्याम्पियनसिपमा ५ र १० हजार मिटरको दौडमा भाग लिन जाने क्रममा सिर्जनाले पहिलो पटक शहर देखिन। जुन दुबै प्रतियोगितामा उनले प्रथम स्थान हासिल गरिन।

शिक्षा विषय लिएर गाउँकै कलेजमा स्नातक पहिलो बर्षमा भर्ना भएकी २२ वर्षीय सिर्जनालाई दौड्न गाह्रो लाग्दैन।

‘घरमा घाँस–दाउरा, मेलापात सकेपछि हतार हतार खाना खाएर स्कुल जानु पर्थ्यो, ढिलो हुँदा कक्षा छुट्ने डरले ओरालै ओरालो एक घन्टा दौडिएर स्कुल पुगिन्थ्यो’, शुक्रबार सिर्जनाले हङकङमा आफ्नो विगत यसरी सम्झिइन, ‘स्कुलबाट फर्कंदा उकालो पर्ने र भोक पनि लाग्ने हुनाले उकालै उकालो घर पुग्न झन्डै ३ घन्टा लाग्थ्यो।’

ती अप्ठेरा दिन थिए सिर्जना राईका। तर त्यही अप्ठेरो सामना गर्दै जाँदा उनी खेलाडी बन्दै गइन। भन्छिन्, ‘त्यो दैनिकीले मेरो स्टामिना र इन्ड्युरेन्स बढेछ, अनि स्कुलको बार्षिकोत्षव जस्ता अवसरमा आयोजना गरिने दौडहरुमा अरुलाई उछिन्न थालें। त्यसपछि जिल्ला स्तरीय खेलमा छानिएँ।’

ती दौडमा विजयी हुँदै गएपछि सिर्जनाका लागि सफलताका ढोकाहरु खुल्दै गए। मोरङमा भएको एक सडक दौडमा भाग लिने मौका पाइन उनले र, त्यहाँ पनि पहिलो स्थान ल्याएपछि सबैको हाई हाई भइन। स्थानीय मिडियाबीच सिर्जनासँग अन्तर्वार्ता गर्न तँछाडमछाड भयो। सिर्जनालाई प्रश्न गरियो– के तिमी मिरा राई जस्तै दौडन चाहन्छौ?

सिर्जनालाई भने मिरा राई कुन चरीको नाम हो नै थाहा थिएन। कहिल्यै सुनेकी थिइनन् उनले मिराबारे। सुनेपछि उनलाई कौतुहलता जाग्यो अनि युट्याबमा खोज्न थालिन। अल्ट्रा रनर मिराको बारेमा थाहा पाउँदै गएपछि उनी झन् उत्प्रेरित बन्दै गइन। केही समयपछि मिरा आफैले सिधै फोन गरेपछि त आश्चर्यचकित नै बनिन् सिर्जना। मिराले तीन महिना अगाडी उनलाई अन्नपूर्ण १०० किलोमिटर अल्ट्रा ट्रैल रेसका लागि दौडन अफर गरेकी थिइन।

सिर्जनालाई अल्ट्रा ट्रैल रेसको ज्ञान थिएन। मिराले सबै कुरा बताएपछि उनी दौडन राजी भइन। मिराले नै उनलाई लगाउने सामाग्री र जुत्ता जोहो गरिदिइन। जुन दौडमा सिर्जनाले तेस्रो स्थान हासिल गरिन।

‘त्यो दौडप्रति थोरै ज्ञान भएको भए सायद पहिलो स्थानमै आउँथे होला, केही थाहा नभई अन्धाधुन्ध दौडिएँ’, सिर्जना भन्छिन्, ‘तर त्यो दौडमा खुब मज्जा आयो, रमाइलो भयो।’

त्यही दौडमा मिरासँग सिर्जनाको पहिलो पटक भेट भयो।

डेढ महिनापछि सिर्जनाले फेरि ५५ किमिको पोखरा ट्रैल रेसमा भाग लिने मौका पाइन र, प्रथम नै भइन। त्यो सफलताले सिर्जनालाई अहिले हङकङसम्म ल्यायो। शनिबार हङकङमा आयोजना गरिने गोर्खा ट्रैलब्लेजरकी मुख्य आकर्षण बनेकी छन् उनी।

यी सबै सफलता सिर्जनाका लागि सपना जस्तै भएका छन्। केही दिन अगाडि मिराले क्युनेट गोर्खा ट्रैलब्लेजरमा दौडन हङकङ जानु पर्ने जानकारी गराएपछि सिर्जना पासपोर्ट बनाउन पहिलो पटक काठमाडौं खाल्डो छिरिन। आफ्नो पहिलो काठमाडौं अनुभवबारे भन्छिन्, ‘धरान र पोखराको तुलनामा काठमाडौं बढी प्रदुषित रहेछ, भिडभाड रहेछ।’

भिडियोः

दौड प्रतियोगिताहरूका लागि उनी गाउँमा आफै मेहनत गर्छिन्। धेरैलाई पत्याउन गाह्रो हुनसक्छ– सिर्जनाले अहिलेसम्म दौड सम्बन्धि कुनै प्रशिक्षण लिएकी छैनन् र डाइट पनि खाएकी छैनन्।

सिर्जना भन्छिन्, ‘अहिलेसम्म जुन जुन दौड जितें, पानी पिएरै जितेकी हुँ।’

हङकङ आइएला भनेर सिर्जनाले कहिल्यै सोचेकी पनि थिइनन्। गाउँको सुनसान आकाशमा आक्कल झुक्क्ल उडेको जहाज देख्ने गरेकी उनले काठमाडौं आउने क्रममा पहिलो पटक हवाइजहाज चढिन।

‘पहिलो पटक जहाज चढ्दा अचाक्ली डर लाग्यो, आकाशमा जहाजले हल्लाउँदा त अब मरिन्छ कि के हो जस्तो भयो’, आफ्नो अर्को रोमाञ्चक अनुभव बाँड्दै सिर्जना भन्छिन्, ‘ठूलो प्लेन चढेर हङकङ आउँदा चाहिँ शुरुमा डर लागे पनि रमाइलो नै भयो।’ 

शनिबार हङकङमा हुने क्युनेट गोर्खा ट्रैलब्लेजर प्रतियोगिताका लागि गाउँमै अभ्यास गर्ने क्रममा केही दिन अगाडी उनले खुट्टा मर्काइन। तथापी उनको जित्ने जोस् भने उत्तिकै छ।

‘खुट्टाले साथ नदिएपनि नेपालीहरुको साथ छ, त्यही साथलाई साहसमा बदलेर जित निकाल्ने कोशीश गर्नेछु’, सिर्जना भन्छिन्, ‘तपाईंहरूलाई सकेसम्म निरास पार्ने छैन, हङकङमा नेपाली झन्डा फहराउने मेरो धोको छ।’

स्वसाधनाले योगासन समेत गर्न सिकेकी सिर्जनाको शरीर रबर जस्तै लचकदार छ। सबै आसनको नाम थाहा नभए पनि उनी अनेकौं आसनहरु गर्न पोख्त छिन।

जीवनलाई संघर्षको अर्को रुप ठान्ने उनी केही गरेरै देखाउने धोको राख्छिन्। मिरा राईलाई सच्चा गुरु र आइडल मान्ने सिर्जना राई उनकै पदचाप पच्छ्याउने तयारीमा रहिछन्।

प्रकाशित २७ पुस २०७५, शुक्रबार | 2019-01-11 18:47:53

author photo

मगेन्द्र राई नेपालखबर हङकङका समाचार संयोजक हुन्

@RaiMagendra

मगेन्द्र राईबाट थप

प्रतिकृया दिनुहोस


Building Future
Building Future

Loading...
Alpha Travel

Blog

Special

NepalKhabar Tweets