Galaxy Network

सगरमाथा माथि लडाकु विमान उडाउने ती अमेरिकी सैनिकको धोको



अगष्ट २००७ मा हङकङ आएको अमेरिकी युद्धपोत कार्ल भिन्सन अवलोकन गर्ने क्रममा कमल पौड्याल
अगष्ट २००७ मा हङकङ आएको अमेरिकी युद्धपोत कार्ल भिन्सन अवलोकन गर्ने क्रममा कमल पौड्याल
Alpha Travel

‘कुनै दुर्घटना भएमा हामी जहाजको ककपिटबाट अटोमेटिकल्ली बाहिर फ्याँकिन्छौ। त्यो अवस्थामा हामी प्यारासुटको सहायतामा जमिनमा ओर्लने कोशीश गर्छौं। त्यतिबेला हामी शत्रुको धेरामा पनि हुन सक्छौं।’

यो शताब्दीको समयमा पृथ्वी ग्रहमा जन्मेर विकास क्रमको साक्षी हुन पाएकोमा म आफुलाई अति नै भाग्यमानी सम्झन्छु। यदि सम्पूर्ण ब्रह्माण्ड अर्थात् आकाश गङ्गा र तारापुञ्जबारे सोच्ने हो भने पृथ्वी आफै एउटा देश मात्र हो। र, हामी सबै मानव यो पृथ्वी देशका बासिन्दा। झण्डा, देश, सिमाना, वर्ग, धर्म, जात सबै मानव निर्मित कुरा न हुन्।

हङकङको तुङचुङदेखि डिस्कभरीबेसम्मको चार घण्टा लामो पदयात्राको क्रममा मैले धेरैपटक त्यो गोरेटो नापेको छु। यहाँ म जुन दृश्य देख्छु, त्यसले मलाई जहिल्यै मेरो जन्मस्थान धादिङ केवलपुरको चकमके डाँडाको सम्झना गराउँछ। तुङचुङ खोलामा कहिलेकाहीँ मूलको पानी लिन पुग्छु, जहाँ निहुरिएर पानीको कुल कुल सुन्दा मेरो जन्म गाउँको असारे खोलाको याद आउँछ। हङकङको अग्लो पहाड ताइमोशानमा चरेर उग्राइरहेका गाई–बाच्छा हुन वा लान्ताउ आइल्यान्डको पुइ ओ बिच वरिपरि देखिने भैंसीका बथान, सबैले चार दशक अगाडिको नेपालको सम्झना गराउँछन्। हङकङको माटोको बास्ना होस् वा चराचुरुंगी, जीवजन्तु र बनस्पती– नेपालभन्दा म केही फरक भेट्दिन।

फरक त हाम्रो सोचाई मात्रै हो।

बाँसको कलम, सिलोट र खरीबाट शुरु भएको मेरो जीवन आइफोनसम्म आइपुगेको छ। अहिले बृहस्पती र मंगल ग्रहमा मानव निर्मित यान अवतरण गरेको खबर घरको टेलिभिजन स्क्रिनमा हेर्दा ट्रकको पछाडि र ड्राइभर बस्ने माथि हुटमा वा ट्रयाक्टरमा उभिएर शुरु गरेको यात्राको याद आउँछ। हङकङ चेप लाक कोक विमानस्थल अगाडि ४६ तलामा रहेको आफ्नो बासस्स्थानबाट हरेक तीन मिनेटमा उडान र अवतरण गर्ने भीमकाय जहाज हेरेर बिहानको चिया पिउँदै म अतितमा हराउँछु कहिलेकाहीँ।

काठमाडौंको नागार्जुन पहाड पछाडिबाट शुरू भएर धादिङको बैरेनीसम्म लम्पसार परेको लामिडाँडा पहाडको दायाँ बायाँ आकाश मार्ग हुँदै ससाना जहाज उडेको देख्दा आकाशतिर हेरेको हेर्यै भइन्थ्यो सानो छँदा। हाम्रो केवलपुर गाउँमाथिबाट ठूलो आवाज निकालेर जहाज उड्दा वल्लाघर पल्लाघरका साथीहरूले ‘हावजात’ आयो भनेर कराउँदा भात खाँदा खाँदै आँगनमा निक्लेर हेरेको अझैसम्म ताजै छ। कोल्पुखोला पारी नुवाकोट जिल्लाको पेटारेको लेक, बैद्यको बन र डाँडागाउँमाथि सिरान हुँदै ककनीतिर उड्ने हेलिकप्टरलाई ‘भटभटे’ आयो भन्दै आखाँले भ्याउन्जेल हेर्दा कति रमाइलो लाग्थ्यो।

खाली सलाईका बट्टा र चुरोटका प्याकेट त थिए हाम्रो बाल्यकालका खेलौना। पुरानो साइकलको टायर र फलामको रिङ नढलाइ पालैपालो खेलिन्थ्यो, एक घन्टा पैदल हिँडेर स्कुल जाने बाटोभरी।

घरमा छ वटा ठूला ब्याट्री लाग्ने स्पीडोला रसियन रेडियोमा पिताजी बिहान बेलुका बीबीसी नेपाली, हिन्दी र आकाशबाणी सुन्नुहुन्थ्यो। ब्याट्री महङ्गो भएकाले कहिलेकाहीँ दिउँसोको फर्माइस गीत कार्यक्रम, शनिबार एक बजेको रेडियो नाटक र शाही सैनिक कार्यक्रममा प्रस्तुत गरिने रूपकमा स्व. भीमबहादुर थापालाई सुन्न छिमेकका सबै रेडियो वरिपरि जम्मा हुन्थे। आनन्द पुरीले पढ्ने प्रहरी समाचार पनि चाख मानेर सुनिन्थ्यो। दाहाल यज्ञनिधिले सन्चालन गर्ने साहित्य संसार पिताजीले सुन्दै गर्दा मलाई पनि लत बसेको पत्तै भएन। ब्याट्री सकिन लाग्दा आवाजमा स्वाँ ... आउन थालेपछि पीताजीले निकालेर घरको पालीमाथि दिनभरी धाममा सुकाएर अरू केही दिन लम्ब्याउनु हुन्थ्यो ब्याट्रीको आयु। मैले कखगघ सिलोटमा खरीले लेख्न पिताजीबाटै सिकें। चक्की मसी पगालेर तीन रूपैयाँमा पाइने फ्लेम कलममा भरेर लेख्न कति रमाइलो लाग्थ्यो। स्कुलमा मसी सकिए थोपा थोपा सापट माग्नु पर्दथ्यो। बत्तीस पाने बैशाली कापी लेखिसकेर पाना गनेर आमालाई बुझाएपछि मात्र अर्को कापी दिनुहुन्थ्यो। चारूले कापीमा सानो एबीसीडी लेख्न चाहीँ आमाबाटै सिकियो। बर्खा लागेपछि जुत्ता पुछेर खोपामा राखिन्थ्यो, दशैंमा लगाउनु पर्छ भनेर।

स्कूल जाँदा ओछ्याउने चकटी आफै बोकेर जानुपर्थ्यो। सात कक्षा पुगेपछि बल्ल टेबल बेन्चको अनुभव गर्न पाइयो।

पहिलो पटक काठमाडौं जाँदा धार्केमा आमाले बस चढाउन खोज्दा सायद छ बर्षको उमेरमा डराएर भाग्दाको सम्झना ताजै छ, सतचालिस बर्षपछि पनि। अरू त अरू फाटेको टालेको लगाउनु गरिबी झलक मानिन्थ्यो त्यो जमानामा। अहिले सद्दे लुगा च्यातेर लगाएको देख्दा अचम्म लाग्छ।

जीवनका आरोह अबरोह पार गर्दै हङकङ आएर आधा जिन्दगी बिताइयो। नयाँ प्रविधिको प्रयोगमा पछाडी भएपनि चाखमान्ने रमिते भने सानैदेखि थिएँ, खासगरी उड्यन प्रबिधिमा। अहिलेसम्मको सबैभन्दा ठूलो एयरबस ३८० ले व्यवसायिक उडान भर्नु धेरै पहिला एक दिन बिहान सात बजे नै हङकङको भिक्टोरिया हार्बरमा धेरै तलको आकाशबाट एयरबशले विज्ञापन उडान गरेको हेर्न गएँ म। त्यो देखेर ‘कमल बिहान चाँडो उठन जहाज नै तलबाट आउनुपर्छ’ भनेर हाँसो गर्थे मित्र जगन्नाथ ज्ञवाली।

राजनीतिको रमिते भएकाले हङकङमा बेलायती शासनकालदेखि नै एशिया प्रशान्त क्षेत्रमा उदीयमान शक्ति चीनको सामुन्ने आफ्नो सैनिक मसल प्रदर्शन गर्न आउने अमेरिकी लडाकु विमानबाहक युद्धपोत हेरिन्थ्यो। लाग्थ्यो, यसको खास उद्देश्य भनेको आफ्ना यस क्षेत्रका मतियारहरूलाई अमेरिकी संरक्षकत्वको आभाष दिलाउँदै चीनको हाउगुजी देखाएर हतियारको ब्यापार गर्नु हो। अक्सर युद्धपोत आएपछि हङकङको समाचार हेर्दा ढिलो भैसकेको हुन्थ्यो। दुई या तीन दिनका लागि हङकङको समुन्द्रमा रोकिने युद्धपोत एकदिन सर्वसाधारणका लागि खुला गरिन्थ्यो। चिनियाँ सम्प्रभुतामा हङकङ सारिएपछि बेइजिङको रक्षा र परराष्ट्र मन्त्रालयको स्वीकृतीमा अहिले पनि हङकङ आइनै रहन्छन् अमेरिकी युद्धपोत।

संयोगले १ मे २०११ मा पाकिस्तानी भूमिमा अमेरिकी कमाण्डोद्वारा मारिएका ओसामा बिन लादेनको शवलाई महासागरमा लगेर फालेको भनेर चर्चा बटुलेको कार्ल भिन्सन त्यस अघि नै २३ अगष्ट २००७ मा हङकङ आएको थियो। हङकङका मित्रद्वय प्रदीप थापा र सन्तोष घलेले विशेष पासको व्यवस्था गरे। बिहान ८ बजे नै हङकङस्थित चिनियाँ जनमुक्ति सेनाको मुख्यालय नजिकैबाट लाइन लागियो। फेरी पेयरमा सुरक्षा जाँचपछि करिब आधा घन्टामा अमेरिकी जलसेनाले व्यवस्था गरेको सानो पानी जहाजमा ओर्लियौं।

करिब चालिस जना सबैलाई एउटा ठूलो प्लेटफर्ममा उभिन भनियो। त्यसपछि हामी उभिएको सबैभन्दा माथिल्लो भागको पूरै हिस्सा लिफ्ट जसरी कार्ल भिन्सन युद्धपोतको सानो विमानस्थलमा उक्लियो। हङकङका अधिकांश चिनियाँ विदेशीसँग बोल्न धकाउने भएकाले फोटो खिच्नमै व्यस्त रहे। मैले मौकाको फाइदा उठाउँदै हामीलाई जहाजमा घुमाउने दुईजना पथ प्रदर्शकतिर हात बढाएँ।

अमेरिकी युद्धपोत कार्ल भिन्सन अवलोकन गर्ने क्रममा लडाकु विमानका पाइलटद्वयसँग कमल पौड्याल र सन्तोष घले

‘हामीलाई यो विशेष लडाकु विमानबाहक जहाज घुम्ने मौका दिनु भएकोमा धन्यवाद’ भन्दै परिचय आदान प्रदान भयो। ‘हामी नेपालबाट’ भन्ने बित्तिकै अफगानिस्तान र इराकमा बेलायती गोर्खाहरूसँग काम गरेको स्मरण उनीहरूले गरे। र, आफूहरू दुबै लडाकु विमान पाइलट भएको भन्दै ‘सगरमाथा माथि लडाकु विमान उडाउने धोको रहेको’ सुनाए।

मैले भनें, ‘सगरमाथा माथि लडाकु विमान उडाउने धोको पूरा हुन गाह्रो छ, किनभने अमेरिकी सेना र चिनियाँ जनमुक्ति सेनाबीच संयुक्त सैनिक अभ्यास सायद नहोला।’

र, थपें– सगरमाथा माथि लडाकु विमान उड्न कि त युद्ध नै हुनुपर्यो, जसको संभावना कम छ। अहिले त विश्वमा पहिला व्यापार त्यसपछि मात्र राजनीति छ। बर्षौंको माओवादी युद्धले थिलथिलो भएर तङ्ग्रीएको नेपालको सगरमाथा माथिको आकाशकमा लडाकु विमान उड्नु भनेको युद्ध हुनु नै हो, जुन तपाईं हामी कोही पनि चाहँदैनौं। बरू नेपाल घुम्न आउनुस्, माउन्टेन फ्लाइट लिएर हेर्न सक्नुहुन्छ।’

दुबै हाँसे।

उनीहरूले भने, ‘अफगानिस्तानको आकाशबाट धेरै पटक हेरियो तर सगरमाथा चिन्न सकिएन।’

अमेरिकी राज्य भर्जिनियाका कङ्ग्रेसम्यान कार्ल भिन्सनको अमेरिकी सेनाप्रतिको योगदानको कदर गर्दै उनकै नाम दिइएको रहेछ यो युद्धपोतलाई। यसका विशेषताहरू बताउँदै उनीहरूले लडाकु विमान पार्किङ स्थलतिर देखाउन लगे।

एफ सिक्सटिन विमानको टुँडो समाउँदै एक जनाले भने, ‘एशिया प्रशान्त क्षेत्रका अमेरिकाका सहयोगी देशलाई धेरै बेचिने लडाकु विमान यही हो। हो, हामी यही चलाउँछौं।’

डिसेम्बर २०११ मा फेरि हङकङ आएको अमेरिकी युद्धपोत कार्ल भिन्सन

उनीहरूले यो लडाकु विमानका विशेषता बताए। ककपिटदेखि बम फिट गर्ने ठाउँसम्म। फेरि देखाए सुपर सोनिक लडाकु विमान। दुई हजार पाउण्डको बम बोकेर प्रहार गर्न सक्ने एफ एटिन, ब्ल्याक हुक हेलिकोप्टर र मध्य आकाशमै तेल भर्न मिल्ने गिद्धको जस्तो टुँडो पसारिएको लडाकु जहाज।

बीचमा गोलाकार भएको नयाँ जहाज मैले कहिल्यै नदेखेको जस्तो लाग्यो। सोधेपछि उनीहरूले भने, पैंतालिस हजार फिट माथि आकाशमा टक्क अडिएर यसले जासुसी गर्छ र सूचना दिन्छ, आवश्यक परेको खण्डमा। युद्धपोतमा यस्ता बिबिध खाले साठी वटा लडाकु विमान रहेछन्।

यस्तो लाग्थ्यो कि हामी हतियार खरिदकर्ता हौं, उनीहरू बिक्रेता।

अन्तिमतिर बल्ल उनीहरूले सोधे, ‘बाइ द वे ह्वाट यु डु इन हङकङ?’

‘रेष्टुरेन्ट व्यवसाय छ’, मैले भनें, ‘तर केएफसी र म्याकडोनाल्ड जस्तो ठूलो हैन, जिविकोपार्जनका लागि मात्र।’

उनीहरूले थपे– ५६ किलोमिटर प्रतिघन्टा समुन्द्रमा हिंडने करिब तीनवटा फुटबल मैदान बराबर लामो यो युद्धपोतमा पचास अमेरिकी प्रान्त र चालिस बिभिन्न देशका करिब तीन हजार पाँच सय पुरुष र एक हजार पाँच सय महिला काम गर्छन्। जहाँ प्रत्येक दिन ब्रेकफास्ट, लन्च र डिनर गरी पन्ध्र हजार मिल खाना पाक्छ। त्यो एरिया सायद तपाईंका लागि चाखलाग्दो हुनसक्थ्यो। तर तपाईहरुलाई केही सिमित एरिया मात्रै घुम्न अनुमति दिइन्छ। यो युद्धपोतभित्र न्युक्लियर रियाक्टरदेखि हजारौं टन बम स्टोरमा छन्, जहाँ सम्बन्धित व्यक्ति बाहेक हामीलाई पनि जाने अनुमति हुँदैन।

‘अनि घर कहिले फर्किनु हुन्छ’, मैले सोधें।

‘इन क्रिसमस, इफ एभ्रिथिङ गो स्मुथली अदरवाइज यु नो वी ह्याभ टु बी रेडी, एनी टाइम एनीह्वेयर।’

‘त्यस्तो नहोस, क्रिसमसको अग्रिम शुभकामना।’

हामीसँग निकै घनिष्ठ भैसकेका थिए, छोटो भेटघाटमै उनीहरू। सायद समुन्द्रको लामो पट्यारलाग्दो यात्रा, उही परिवेश र उही अनुहारसग दिक्क भएर हामीसँग धेरै झुम्मिएका होलान। मैल उनीहरूको लडाकु जहाज देखाउँदै सोधें, ‘तपाईंहरूलाई लाग्छ, यो जहाजबाट खसालिएका बमले कतै अर्को हिरोसिमा नागासाकी बल्न सक्छ।’

‘वी ट्राइ आओर वेष्ट, नट टु किल इनोसेन्ट पिपल।’

फेरि थपे, ‘कुनै दुर्घटना भएमा हामी जहाजको ककपिटबाट अटोमेटिकल्ली बाहिर फ्याँकिन्छौ। त्यो अवस्थामा हामी प्यारासुटको सहायतामा जमिनमा ओर्लने कोशीश गर्छौं। त्यतिबेला हामी शत्रुको धेरामा पनि हुन सक्छौं।’

‘हो, देखेको छु त्यो पनि। कसैको कसैसँग युद्ध नहोस्। लेट्स प्रे फर दयाट।’

उनीहरूको भनाइले केही वर्ष अगाडि सिरियामा आइएसआइद्वारा खसालिएको एफ सिक्सटीन विमानका युवा सैनिक टर्किस पाइलटलाई फलामको पिंजडामा राखेर जिउँदै जलाएको भिडयो झल्याँस सम्झें। युद्ध उन्मादले तहस नहस भएको अफगानिस्तान, इराक र सिरियामा निर्दोष महिला र बालबालिकाको जघन्य हत्या भएको आँखा अगाडि आयो।

अब हामी अन्त्यतिर आइपुगेका थियौं। विशेष समय दिएर हामीलाई आतिथ्यता र जानकारी दिएकोमा उनीहरूलाई धन्यवाद दिँदै बिदा भयौं। हामीलाई लिएर गएको उही सानो पानी जहाज पर्खिरहेको थियो। बाटोमा फर्किँदा आँखाले देखुन्जेल कार्ल भिन्सनलाई हेरिरहें, सानो छँदा केवलपुरको आकाशमा आँखाले भ्याउन्जेल ‘हावजात’ हेरे झैं।

 

प्रकाशित २० पुस २०७५, शुक्रबार | 2019-01-04 17:42:23

प्रतिकृया दिनुहोस


Building Future
Building Future

Loading...
Alpha Travel

Blog

NepalKhabar Tweets