Galaxy Network

हङकङका पत्रकार माइकल चुगानीसँग एक साँझ


Courses
Courses



हरि कार्की, माइकल चुगानी र कमल पौड्याल
हरि कार्की, माइकल चुगानी र कमल पौड्याल
Alpha Travel

इन्डियन चेम्बर अफ कमर्स हङकङका अध्यक्षले भने– सोहो, वानचाइ र सेन्ट्रल वरपरका धेरै रेष्टुरेन्ट तथा बार नेपालीले सञ्चालन गर्छन्। नेपाली इमान्दार र मेहनती छन्, लगानीकर्ता उनीहरूलाई विश्वास गर्छन्।

नेपाल चेम्बर अफ कमर्श हङकङको बार्षिकी आउँदै थियो। हङकङका नेपालीको यो पहिलो व्यवसायिक संस्थामा उपाध्यक्षको रूपमा म पनि सक्रिय थिएँ त्यसबेला। ‘हङकङका नेपाली व्यवसायी होइनन्, कामदार मात्रै हुन्’ भन्ने मान्यता यहाँको सरकार र व्यवसायीबीच रहँदै आएको छ। त्यसैले हामी व्यवसायिक संस्था मार्फत ‘हङकङमा व्यवसाय गर्ने नेपालीको ठूलै समूह छ, जसले हजारौंलाई रोजगार दिएको छ र सरकारलाई दशौं मिलियन डलर कर बुझाउँछ’ भन्ने सन्देश दिन चाहन्थ्यौं।

नेपालीले व्यवसाय बाहेक अन्य काम गर्नै हुँदैन वा काम गर्दा सानो भइन्छ भन्ने मान्यता कदापि होइन। विदेशमा बस्ने नेपालीमध्ये हङकङका नेपाली अधिकतम प्रतिव्यक्ति आम्दानी भएका र हङकङ सरकारलाई दशौं मिलियन डलर कर तिर्नेमा पर्छन्। अझ हङकङमा खासगरी निर्माण क्षेत्रमा राम्रो काम पाउनु भनेको आम्दानीका हिसाबले एउटा व्यवसाय गरे बराबर नै हो।

चेम्बरको कार्यक्रममा आमन्त्रित गर्ने अतिथीहरूको सूचीमा हामीले हङकङका चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता माइकल चुगानीलाई पनि राख्यौं। माइकल आउँदा हङकङका अन्य स्थानीय पत्रकार पनि आउने संभावना भएकाले हाम्रो कार्यक्रमले राम्रै मिडिया कभरेज पाउने चेम्बरका सहकर्मी हरि कार्कीले सुझाएका थिए।

भारतीय मूलका अमेरिकी नागरिक माइकल चुगानी हङकङको अंग्रेजी भाषाको टेलिभिजन च्यानल टिभिबी पर्लमा ‘स्ट्रेट टक’ कार्यक्रम सञ्चालन गर्छन्। अंग्रेजी दैनिक साउथ चाइना मर्निङ पोष्टमा उनको स्तम्भ म जस्ता पाठकबीच लोकप्रिय छ।

हङकङको राजनीतिमा बेइजिङ समर्थक र विरोधी दुबैसँग समानान्तर दुरी राख्ने उनी आफ्नो कार्यक्रमका अतिथीलाई प्रश्न सोधेर आच्छु आच्छु पार्न खप्पिस मानिन्छन्, कुनै बेला बीबीसी नेपालीका रवीन्द्र मिश्र जस्तै। सायद हङकङको क्यान्टोनिज भाषाको दखलले उनलाई यहाँको राजनीति र चिनियाँ समाज गहिरोसँग बुझ्न सहयोग गरेको छ।

सन् २००५ देखि नै हङकङमा नेपालीका लागि रोजगार भिषा रोकिएकाले त्यो कसरी फुकाउने भन्ने चर्चा हामीबीच हुने गर्छ। हाम्रो यो अप्ठेरो स्थानीय नेताहरू समक्ष पुगोस् भन्ने आशाले पनि हामी आफ्नो जमघटमा माइकललाई ल्याउन चाहन्थ्यौं त्यसबेला। सायद भारतीय मूलका भएर होला एशियालीप्रति उनी सधैं सकारात्मक लाग्छन् मलाई।

सन् २०१० तिर हुनुपर्छ फिलिपिन्सको राजधानी मनिलामा मानसिक सन्तुलन गुमाएका पूर्व प्रहरी अधिकृत रोनाल्डो मेन्डोजाले पर्यटक बसमाथि आक्रमण गरी सात जना हङकङका पर्यटकको हत्या गरे। त्यो घटनाले हङकङ र फिलिपिन्सबीच केही समय शीतयुद्ध चल्यो। हङकङका प्रजातन्त्रवादी नेताहरूले फिलिपिन्स सरकारले हङकङ विशेष प्रशासकीय प्रमुखसँग माफी माग्नु पर्ने अडान लिए।

हङकङ चीनको विशेष प्रशासनिक क्षेत्र भएकाले एउटा सार्वभौमसत्ता सम्पन्न मुलुकले माफी नै माग्दा पनि बराबर हैसियतमा बेइजिङसँग मात्र हुन सक्ने तर्क कुटनीतिज्ञहरूले राखे। फिलिपिन्सका तत्कालीन राष्ट्रपति आक्वीनोले घटना दुखपूर्ण भन्दै परिवारप्रति समवेदना दिए र मानसिक सन्तुलन गुमाएको व्यक्तिको अपराधले देशको शीर निहुरिएको बताए। तर त्यसले पनि हङकङको चित्त बुझेन। त्यसबेला करिब एक लाख पचास हजार फिलिपिनो घरेलु कामदार हङकङमा थिए। उनीहरूलाई कामदार भिषा बन्द गर्न सरकारलाई दबाब दिनेदेखि हङकङको सार्वजनिक यातायातमा फिलिपिनोलाई नराम्रो व्यवहार गर्ने प्रयास समेत भए त्यसबेला।

त्यही सेरोफेरोमा माइकलले हङकङका तत्कालीन सुरक्षा सचिव (गृहमन्त्री) लाई कार्यक्रममा निम्त्याएर सोधे– केही बर्ष अगाडी इजिप्टको कायरोमा हट बेलुन दुर्घटना भएर हङकङका आठजना पर्यटकको मृत्यु हुँदा तपाईंहरूले त्यहाँका राष्ट्रपतिले माफी माग्नुपर्छ भनेर माग गर्नुभयो? अनि मनिलामा मानसिक सन्तुलन गुमाएको व्यक्तिबाट त्यो आक्रमण हुँदा चाहीँ किन माफी माग्नु पर्ने? फिलिपिन्स कमजोर देश र त्यहाँका नागरिक घरेलु कामदारका रुपमा हङकङमा काम गर्ने भएकाले यस्तो व्यवहार गरिएको त होइन? यस्तै घटना न्यूयोर्क वा लन्डनमा घटेको भए अमेरिकी राष्ट्रपति वा बेलायतका प्रधामन्त्रीले माफी माग्नुपर्छ भन्नुहुन्थ्यो?

माइकलका यी प्रश्नले त्यसबेला हङकङमा धेरै सर्वसाधारणको मन छोयो।

अहिले मेलबर्नमा रहेका हरि कार्की त्यसबेला हङकङको सोहोमा गुरू इन्डियन र डब्लुटिएफ स्पेनिस रेष्टुरेन्ट सञ्चालन गर्थे। आफ्ना व्यापारिक साझेदार मार्फत हरिले एक साँझ माइकलसँग भेटघाटको मेसो मिलाए। स्पेनिस कक्टेलको ग्लास जुधाउँदै हामी त्यो साँझ ढिलोसम्म हङकङको राजनीतिदेखि भूराजनीतिसम्मका गफ गर्दै बस्यौं।

अन्तमा हामीले हङकङको सुरक्षा र निर्माण क्षेत्रमा गोर्खा सैनिक तथा तिनका परिवारका सदस्यहरूको योगदानको चर्चा गर्दै नेपालीहरू कसरी व्यवसायतर्फ उन्मुख हुँदैछन् भन्नेबारे छलफल गर्यौं। यस क्रममा हङकङका सबैभन्दा धनी लि का सिंदेखि प्रोपर्टी ताइकुन वाल्टर कोकसम्मको सुरक्षा प्राथमिकतामा भूतपूर्व गोर्खा किन पहिलो रोजाइमा पर्छन् भन्ने विश्लेषण गर्यौं। साथै हङकङमा पछिल्लो समय व्यवसायतिर नेपालीको बढ्दो रुचीबारे चर्चा गर्दै चेम्बरको कार्यक्रममा उनलाई पनि आमन्त्रण गर्यौं।

हङकङक सरकारले सन् २००५ देखि उत्तर कोरिया, नाइजेरिया र नेपाललाई एउटै टोकरीमा राखेर रोजगार भिषा बन्द गरेपछि हङकङका नेपाली रेष्टुरेन्ट व्यवसायीले नेपालबाट कामदार, सेफ र म्यानेजर ल्याउन नपाउँदाको अप्ठेरोबारे छलफल भयो। र, आफन्तलाई हङकङ घुम्न बोलाउँदा पनि नानाथरी कागजात मागेर दुःख दिने सरकारको अध्यागमन नीतिबारे हामीले उनलाई अवगत गरायौं।

हङकङका दुई जना स्थानीय पत्रकारसहित माइकल चेम्बरको कार्यक्रममा आए। सेन्ट्रलको लेभल टु बारमा उदीयमान नेपाली व्यवसायी जोन रानाले विशेष सहुलियतमा खानपान सहित सभाहल उपलब्ध गराएका थिए। मैले स्वागत मन्तव्यमा भनें, ‘हामी यो कार्यक्रम हङकङका तारे होटलमा राख्न सक्थ्यौं तर नेपाल चेम्बर अफ कमर्सको कार्यक्रम नेपालीद्वारा संचालित ठाउँमै आयोजना गर्न पाएकोमा गर्व गर्छौं।’

यद्यपि हामीसँग तारे होटलमा कार्यक्रम गर्ने बजेट थिएन। पब्लिकबाट पैसा उठाएर ‘तारे होटलमा कार्यक्रम गर्यौं’ भनेर दुनियाँलाई देखाउनु भन्दा सन्देश मूलक कार्यक्रम हुनुपर्छ भन्नेमा सचेत थियौं। आवश्यकता र औचित्य भएमा तारे होटलमा कार्यक्रम गर्नुपनि ठूलो कुरा होइन।

पाहुनासँग जम्दै गरेका माइकलले म मन्चबाट ओर्लिए लगत्तै सोधे, ‘कमल, वाउ दीस प्लेस वन बाइ नेप्लिज’ (ओहो, यो ठाउँ नेपालीको हो)?

मैले ‘यस इट इज’ भन्दै थिएँ, इन्डियन चेम्बर अफ कमर्स हङकङका अध्यक्षले थपे, ‘नट वन्ली दिस प्लेस, मेनी रेष्टुरेन्ट एण्ड बार अराउन्ड सोहो, वानचाइ एन्ड सेन्ट्रल इन हङकङ वन बाइ नेप्लिज’ (यो ठाउँ मात्र होइन, सोहो, वानचाइ र सेन्ट्रल वरपरका धेरै रेष्टुरेन्ट तथा बार नेपालीले सञ्चालन गर्छन्)।

उनले थपे, ‘नेप्लिज आर अनेष्ट एन्ड हार्ड वर्किङ पिपल, इन्भेस्टर ट्रस्ट देम’ (नेपाली इमान्दार र मेहनती छन्, लगानीकर्ता उनीहरूलाई विश्वास गर्छन्)।

करिब आधा मिलियन हङकङ डलर बढी भाडा तिरेर त्यस्तो प्राइम ठाउँमा लगानीको जोहो गर्ने जोन राना भेट्टाएपछि माइकल र अरू पत्रकार निकैबेर गफिए त्यो साँझ।

कार्यक्रमको केही दिनपछि ‘हङकङका नेपालीका समस्याबारे नीति निर्मातालाई सोध्नु पहिला हाम्रा कमजोरीहरू पनि विश्लेशण गर्न जरुरी छ’, माइकलले इमेलमा हरिलाई सुझाए। कतिपय मुद्दामा प्रश्न राख्दा आफ्नो समुदायको कमजोरी अझै उदाङ्गो हुनेमा सचेत माइकलले हङकङमा हाम्रो अवस्थाबारे सरकारी निकायले के सोच्छ भन्नेबारे सर्वे गरिसकेका रहेछन्।

हङकङमा घरेलु कामदारका रूपमा आएका कतिपय नेपालीले माओवादी जनयुद्धको कारण देखाएर करार अवधि नसकिंदै शरणार्थीको आवेदन दिने गर्थे सन् २००५ तिर। नेपालबाट चीनको ग्वान्झाओ हुँदै मध्यरातमा समुन्द्र कटाएर हङकङ छिराएर छोडिदिने मानव तस्करी गिरोहमा हाम्रै दाजुभाइ संलग्न थिए। आकर्षक तलब दिलाइदिने लोभमा हङकङ ल्याएर अलपत्र पारिएका नेपालीबारे हङकङ सरकार अनविज्ञ थिएन।

अझ बेलाबेलामा हङकङमा नेपाली मूलका दाजुभाइहरू बिभिन्न अपराधिक क्रियाकलापमा संलग्न भएको आरोपमा प्रहरीद्वारा पक्राउ परेको खबरले उनीहरूलाई यथेष्ट मसला पुग्छ। यद्यपि हङकङको समाज अपराध मुक्त भने पक्कै होइन। तर हरेक समाजमा असल र खराब मान्छे हुन्छन् र केही व्यक्तिको गल्तीको आक्षेप सिङ्गो समुदायलाई लगाउन मिल्दैन। हङकङका चिनियाँ मिडिया भने दक्षिण एशियाली समुदायका व्यक्तिहरू संलग्न रहेको पाए भने सानातिना घटनालाई बढी चर्काउने गर्छन्।

हङकङमा हाम्रो अवस्थाले ‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने उखान सम्झाउँछ। त्यसैले पहिला हामी आफैं सुध्रौं र असल बनौं। त्यससँगै चुगानी र अरु पत्रकारले हाम्रा प्रश्न सम्बन्धित ठाउँमा पुर्याउने छन्।

 

प्रकाशित ६ पुस २०७५, शुक्रबार | 2018-12-21 09:51:31

प्रतिकृया दिनुहोस


Building Future
Building Future

Loading...
Alpha Travel

Blog

NepalKhabar Tweets