Galaxy Network

हङकङमा तिहारको खुशी: नेपालीको आफ्नै जूवा अड्डा, दशौं हजार डलर दक्षिणा



हङकङमा गत आइतबार आयोजित दशैं–तिहार पार्टीमा दुई युवती
हङकङमा गत आइतबार आयोजित दशैं–तिहार पार्टीमा दुई युवती
बिक्रम गुरुङ

‘कहिल्यै रात नपर्ने’ भनेर चिनिने उज्यालो शहर हङकङको नेपाली बसोबास क्षेत्रमा थप झिलिमिलि छाएको छ।

Alpha Travel

जोर्डन, याउमातेइ र चुनवान क्षेत्रमा नेपालीले नै कौडा हान्ने अड्डा चलाउँदै आएका छन् र ती अड्डामा लाखौं हङकङ डलरको जूवा खेलिन्छ, खासगरी तिहारको आसपास।

नेपालीको बाक्लो बसोबास रहेका जोर्डन, याउमातेइ, युनलोङ लगायत क्षेत्रमा तिहारको रौनक थपिएको हो। नेपालीले संचालन गरेका दर्जनौं किराना पसल, रेस्टुरेन्ट, सुन पसल बाहिर रङ्गीबिरङ्गी फुलका माला र बत्ति सजाइएका छन्। घर र कोठाका प्रवेशद्वार फुलमालासहित लक्ष्मीका तस्वीर र दिपावलीका पोस्टरले सिंगारिएका छन्।

थालीमा डलर राखेर सुन चाँदीका गहनाको पूजा गरिएको छ। व्यापार व्यवसायले नयाँ गति लिएको छ। रेस्टुरेन्ट र किराना पसल चलाउनेहरुलाई डलर थाप्न भ्याइनभ्याई छ।

जोर्डनको सांघाई स्ट्रिटमा लामो समयदेखि ॐ नमोबुद्ध स्टोर संचालन गर्दै आएका लक्ष्मण थापा ग्राहकको घुइँचोमा निकै व्यस्त भेटिए। पूजाका सामान, मालाको माग उच्च छ। व्यापार बढेपछि खुशी देखिएका थापा भन्छन्, ‘अहिले व्यापार ८० प्रतिशत बढेको छ, यो माछा मार्ने बेला हो।’

हङकङमा नेपालीले संचालन गरेका सुन पसलहरुलाई पनि मालामाल भएको छ। सांघाई स्ट्रिटमै रहेको बराह ज्वेलरीका स्टाफ सोनु लिम्बु र सम्झना राई अहिले फेसबुक चेक गर्न भ्याउँदैनन्। सम्झना भन्छिन्, ‘बिक्री पहिलेको तुलनामा ८० प्रतिशत बढेको छ, सुन चाँदीका झुम्का, चेन, रिङको माग बढी छ।’

हङकङ पोलिटेक्निक युनिभर्सिटिमा नर्सिङ एन्ड इन्फेक्सन कन्ट्रोल विषयमा मास्टर अध्ययन गरिरहेकी युनलोङ निवासी टिका रानाले बुधबार बाबा–आमासँग लक्ष्मी पूजा गरिन। आफ्ना दुई भाई हङकङमै भएकाले शुक्रबार बिहानै फुलमाला लगाइदिने तयराीमा छन् टिका।

‘नेपालमा जस्तो रौनक त यहाँ कहाँ छ र?’ नेपाल छँदा काठमाडौंमा पढाई भएपनि हरेक वर्ष तिहार मान्न बाग्लुङ जाने टिका भन्छिन्, ‘देउसी–भैलो खेलिन्थ्यो, त्यो क्षण सम्झँदा अहिले पनि आनन्द लाग्छ।’

धनाढ्यहरुले स्वास्थ्य चेकजाँच र उपचार गर्ने हङकङको पिकमा रहेको माटिल्डा अस्पतालकी स्वस्थ परिचारिका ईन्द्र थेगिमले दाजुभाईलाई माला नलगाइदिएको १६ वर्ष भयो। गतवर्षबाट रङ्गोलीमा चाख बढेको बताउने थेगिमले यसपाली कलात्मक रङ्गोली बनाइन र मज्जाले लक्ष्मी पूजा गरिन।

‘विवाह पछि माइतिलाई माला लगाउन नपाएको १६ वर्ष भयो, तिहारमा खुबै मिस गर्छु’, थेगिम भन्छिन्, ‘आफुले राम्ररी मनाउन नपाएपनि छोराछोरीलाई राम्ररी तिहार मनाउन तयारी गरिदिँदै छु।’

हङकङमा यसअघि धुमधामले तिहार मनाउने व्यवसायी राजेन्द्र कुमार थापाले यसपाली पितृशोक परेकाले मनाउने छैनन्।

‘त्यो क्षणको त कुरै नगरौं, यति घतलाग्दा पक्षहरु थिए कि पुस्तक नै तयारी हुनसक्छ’, नेपालमा तिहारको रौनक सम्झँदै थापा भन्छन्, ‘लेख्यो भने अहिलेको डिजिटल आधुनिक पुस्ताले फेरि पढ्ला कि नपढ्ला।’

आफ्नै कन्ट्रक्सन कम्पनी चलाउँदै आएका इन्जिनियर श्याम ईङनाम पनि परिवारको सदस्य गुमाएकाले तिहार सेलिब्रेसन गर्ने मुडमा छैनन्। तर पनि बिभिन्न संस्थाहरुमा नेतृत्वदायी भूमिकाको कारण साथीभाई भेटघाट र संघ संस्थाहरुको देउसी–भैलोमा सरिक हुने उनको योजना छ।

‘गाउँमा छँदा हामी ससानाहरु मिलेर देउसी–भैलो खेल्थ्यौं, त्यतिबेला गाउँमा लालटिन सम्मको जोहो गर्न नसकेर पुल्ठो बालेर खेल्थ्यौं’, ईङनाम सम्झन्छन्, ‘रातभर खेलेर जनही दुई रुपैयाँ बाँड्थ्यौं, त्यो दुई रुपैयाँको खुबै महत्व हुन्थ्यो त्यो बेला। अहिले महिनामै लाखौं डलर थाप्दा त्यस्तो चार्म छैन।’

हङकङस्थित नेलाल फाइनान्सका अध्यक्ष तथा सिइओ धिरज राईलाई भने यो वर्ष यस्ता चाडपर्व अलि महँगो सावित भएको छ। केही साताअघिको दशैंको सम्झना गर्दै रार्इ भन्छन्, ‘६० हजार डलर त दक्षिणा मात्र दिइएछ।’

आफ्नो बाबा हङकङ आएको मौकामा नातागोता धेरै भएकाले त्यसो भएको प्रष्ट्याउँछन् अध्यक्ष राई।

‘खुशीको कुरा हो, कहिल्यै नआउने नातागोता पनि यो पटक बाबाको आशीर्वाद थाप्न आए, रक्सीको कोशेली मात्रै ३०–३५ हजार डलरको ल्याए’, राई भन्छन्, ‘किराती परियो, अहिले महँगो रक्सीका बोतलले कोठा भरिएको छ।’

तिहारमा भने त्यत्ति ठूलो पैसा नसकिए पनि गतवर्ष भन्दा बढी नै खर्च हुने उनको भनाइ छ। बुधबार राईले नेपाल फाइनान्स, बगैंचा रेस्टुरेन्ट र हेल्लो किचनका स्टाफहरुसँग लक्ष्मी पूजा गरे।

हङकङमा व्यवसायिक रुपमा फोटो भिडियो खिच्ने ज्याप स्टुडियोको व्यापारको पारो अत्याधिक चढेको छ। ज्यापका प्रोप्राईटर तथा फोटो पत्रकार बिक्रम गुरुङ भन्छन्, ‘काममा यति व्यस्त छु कि सुत्ने समय पनि छैन, दैनिक १८ घन्टा खट्दा पनि काम सकिंदैन, चाडले गर्दा ५० प्रतिशत भन्दा बढी चाप थपिएको छ।’

हङकङमा व्यवसायिक रुपमा ब्यानर, ब्याज, पोस्टर, पारिवारिक फोटो तयार गरिदिने व्यक्तिको माग अत्याधिक बढेको छ।

कन्स्ट्रक्सनमा काम गर्ने लक्ष्मी पोमु ‘लक्ष्मी घर भित्रिने वा बाहिरिनेमा कुनै ठेगान नभएको’ बताउँछन्। यो पटक यमपन्चकमा कौडा हान्ने मुडमा छन् उनी। भन्छन्, ‘कात्तिके दान हो, १०–२० हजार डलरको कौडा हान्नु पर्ला।’

त्यत्रो पैसा जूवामा सक्ने? नेपालखबरको यो प्रश्न सुनेर लक्ष्मी उल्टै प्रश्न गर्छन् र भन्छ्न्, ‘यो के ठूलो रकम भो र? खेल्नेहरु सिरिखुरी हुने गरि खेल्छ्न्, लाखौं डलरको हानथाप गर्छन्।’

लक्ष्मीको भनाईमा जोर्डन, याउमातेइ र चुनवान क्षेत्रमा नेपालीले नै कौडा हान्ने अड्डा चलाउँदै आएका छन् र ती अड्डामा लाखौं हङकङ डलरको जूवा खेलिन्छ, खासगरी तिहारको आसपास।

एकातिर जूवा चलिरहेको छ भने देउसी–भैलो खेल्नेहरू पनि त्यत्तिकै सक्रिय छन्।

हङकङका नेपालीको तिहार मुड बुझ्दा लाग्छ, यो दोस्रो नेपाल हो। त्यसो त हङकङका नेपाली प्रायः नेपाली र अंग्रेजी चाड समेत धुमधामले मनाउँछन्। तीज र दशैंमा सामाजिक सन्जालमा अलि बढी भिड्ने यहाँका नेपाली तिहारमा भने एकमतजस्तो देखिन्छन्।

प्रकाशित २२ कार्तिक २०७५, बिहिबार | 2018-11-08 20:09:10

author photo

मगेन्द्र राई नेपालखबर हङकङका समाचार संयोजक हुन्

@RaiMagendra

मगेन्द्र राईबाट थप

प्रतिकृया दिनुहोस


Building Future
Building Future

Loading...
Alpha Travel

Blog

NepalKhabar Tweets